आइसिएफसि फाइनान्सको १५.७८ प्रतिशत लाभांश घोषणा
काठमाडौं । आइसिएफसि फाइनान्सले लाभांश घोषणा गरेको छ । फाइनान्स कम्पनीको सञ्चालक समितिको कात्तिक २३ गते बसेको बैठकले सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । फाइनान्सले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी १ अर्ब १८ करोड ३४ लाख ७९ हजार रुपैयाँको करसहित १५.७८ प्रतिशतका दरले १८ करोड ६८ लाख ६४ हजार रुपैयाँ नगल लाभांश प्रस्ताव गरेको हो । फाइनान्सले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिने कम्पनी सचिव लक्ष्मण प्रसाद जैसीले जानकारी दिए ।
१३ प्रतिशत लाभांश बाँड्ने शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको घोषणा
काठमाडौं । शाइन रेसुङ्ग डेभलपमेण्ट बैंकले लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको कात्तिक २१ गते बसेको बैठकले १३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी ४ अर्ब ८७ करोड ५७ लाख १ हजार रुपैयाँको ३ प्रतिशतका दरले १४ करोड ६२ लाख ७१ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहित १० प्रतिशतका दरले ४८ करोड ७५ लाख ७० हजार रुपैयाँ नगद गरी कुल १३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ ।
निर्माण व्यवसायीको ढिलासुस्तीले बेलौरी–कलुवापुर सडक अलपत्र
कञ्चनपुर । जिल्लाको दक्षिणी क्षेत्र जोड्ने बेलौरी–कलुवापुर सडक कालोपत्र अझै पूरा हुनसकेको छैन । सडकखण्डको बन्साह वनक्षेत्र हुँदै कलुवापुरसम्मको सडक अझै कालोपत्र हुन बाँकी छ । झण्डै तीन किलोमिटर सडक कालोपत्र नहुँदा स्थानीयवासी धुलाम्मे र खाल्डाखुल्डी सडकमा सास्ती खेप्न बाध्य छन् । विसं २०७८ मा निर्माण कम्पनीले सडक कालोपत्र गर्ने ठेक्का लिएको हो । निर्माण व्यवसायीको ढिलासुस्तीका कारण कामले गति लिनसकेको छैन । कालोपत्रका लागि स्थानीय बासिन्दाले पटकपटक सडक बन्द गरेर दबाब दिँदै आएका छन् । कलुवापुरका व्यवसायी अक्कलबहादुर विष्ट ठेक्का लिएर पनि निर्माण व्यवसायीले कार्य गरेजस्तो गर्ने तर नगर्ने परिपाटीका कारण कार्य अलपत्र परेको बताए । 'तीन किलोमिटर सडक कालोपत्र गर्न पाँच वर्ष लाग्नु विडम्बना हो', उनले भने, 'काम नगर्ने ठेक्का तोडिनुपर्छ, क्षतिपूर्ति असुल गर्नुपर्छ ।' शुक्लाफाँटा नगरपालिका–१२ का टुङ्के बोहराले राजनीतिक संरक्षणका कारण निर्माण व्यवसायीले वर्षौँदेखि काम ढिला पारेको आरोप लगाए । 'राजनीतिक पहुँच नभएको भए अहिलेसम्म काम सकिनुपर्ने थियो', उनले भने, 'यस्ता कार्य नगर्ने निर्माण व्यवसायीलाई कालोसूचीमा राख्नु पर्छ ।' पूर्वाधार विकास कार्यालयका प्रमुख योगेन्द्रबहादुर अधिकारीका अनुसार कार्यालयले पटकपटक निर्माण व्यवसायीलाई कार्य अगाडि बढाउन ताकेता गर्दै आएको छ । उनले भने, 'गत वर्ष एक करोड २५ लाख रुपैयाँ विनियोजन गरिएको बजेट कार्य नहुँदा फिर्ता भयो, यस वर्ष रु ५० लाख विनियोजन गरिएको छ, बजेटको अभाव छैन, निर्माण व्यवसायीले मात्र काम अगाडि बढाउनुपर्छ, रकमान्तर गरेर पनि सडक कालोपत्रका लागि आवश्यक बजेटको व्यवस्था हुन्छ ।' अधिकारीका अनुसार आउँदो चैतसम्म ठेक्का सम्झौताको म्याद बाँकी छ । 'निर्धारित समयभित्र कार्य सम्पन्न नभए ठेक्का तोड्नेबारे विचार भइरहेको छ', उनले भने । करिब चार दशकअघि निर्माण थालिएको सो सडकका केही भाग कालोपत्र भइसके पनि वन्साहदेखि कलुवापुरसम्मको तीन किलोमिटर र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको चानदेवदेखि स्याली नदीसम्मको पाँच किलोमिटर क्षेत्रमा पनि सडक स्तरोन्नति र कालोपत्रको कार्य हुनसकेको छैन । सडकको कालोपत्र गरिएका विभिन्न ठाउँमा सडक फुट्ने र खाल्डाखुल्डी हुने समस्या निरन्तर देखिँदै आएको छ । मर्मतसम्भारको पर्खाइमा रहेका ती भाग पनि बिग्रँदै गएका छन् । रासस
बसले ठक्करदिँदा पैदलयात्रीको मृत्यु
बागमती । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९ मास्टरचोकमा गए राति यात्रुवाहक बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । जनकपुरबाट काठमाडौंतर्फ गइरहेको बाप्र०३–००१ख २६५६ नम्बरको यात्रुवाहक बसले ठक्कर दिँदा पैदलयात्री रुपन्देहीको देवदह नगरपालिका–८ का ३७ वर्षीय रामबहादुर बोहराको मृत्यु भएको मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । बसको ठक्करबाट गम्भीर घाइते बोहरालाई उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पठाइएकामा तत्काल चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक बोगटीले बताए । ठक्कर दिने बस र चालक महोत्तरीको रामगोपालपुर नगरपालिका–६ का ३३ वर्षीय सुजयकुमार सिंहलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यस्तो छ आइतबार विदेशी मुद्राको विनिमय दर, कुन देशको कति?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४२ रुपैयाँ १६ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ६१ पैसा र बिक्रीदर १६४ रुपैयाँ ३० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ ६६ पैसा र बिक्रीदर १८६ रुपैयाँ ४४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७५ रुपैयाँ ६५ पैसा र बिक्रीदर १७६ रुपैयाँ ४० पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ७४ पैसा र बिक्रीदर ९२ रुपैयाँ १३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ३० पैसा र बिक्रीदर १०० रुपैयाँ ७३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपैयाँ ६७ पैसा र बिक्रीदर १०९ रुपैयाँ १४ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ २५ पैसा र बिक्रीदर नौ रुपैयाँ २९ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ८८ पैसा र बिक्रीदर १९ रुपैयाँ ९६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९० पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३९ रुपैयाँ कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ३८ पैसा र बिक्रीदर चार रुपैयाँ ३९ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३८ रुपैयाँ ७० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ ९० पैसा र बिक्रीदर ३४ रुपैयाँ ०४ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ७० पैसा र बिक्रीदर नौ रुपैयाँ ७४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ८० पैसा र बिक्रीदर १४ रुपैयाँ ८६ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ९१ पैसा र बिक्रीदर २२ रुपैयाँ ०१ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ २० पैसा र बिक्रीदर १८ रुपैयाँ २८ पैसा, कुवेती दिनार एकको खरिददर ४६१ रुपैयाँ २३ पैसा र बिक्रीदर ४६३ रुपैयाँ १८ पैसा, बहराइन दिनार एकको खरिददर ३७५ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ०८ पैसा , ओमनी रियाल एकको खरिददर ३६७ रुपैयाँ ६७ पैसा र बिक्रीदर ३६९ रुपैयाँ २३ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन : विभाग
काठमाडौं । देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । जल तथा मौसम विज्ञान विभागका अनुसार आइतबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतयाः सफा रहनेछ । विभागद्वार जारी मौसम बुलेटिनका अनुसार कोशी र गण्डकी प्रदेशका हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । राति कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने बताइएको छ ।
एसवाई प्यानलको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । एसवाई प्यानल नेपालको आईपीओमा आवेदन दिने आज कात्तिक २३ गते अन्तिम दिन रहेको छ । कात्तिक १९ गतेदेखि बिक्री खुला गरेको कम्पनीको आईपीओमा सर्वसाधारण लगानीकर्ताहरुले आजसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले जारी पुँजी १ अर्ब ३० करोड ८१ लाख ३७ हजार १ सय रुपैयाँको ४० प्रतिशत अर्थात् ५२ करोड ३२ लाख ५४ हजार ८ सय रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ५२ लाख ३२ हजार ५४८ कित्ता सेयर जारी गर्नेछ । जसमध्ये २ प्रतिशत अर्थात् २ लाख ६१ हजार ६२७ कित्ता सेयर उद्योग प्रभावित क्षेत्र चितवनको रत्ननगर नगरपालिकाका स्थानीय बासिन्दा, १० प्रतिशत अर्थात् ४ लाख ९७ हजार ९२ कित्ता सेयर विदेशमा रोजगार गरिरहेका नेपालीलाई बिक्री गरिसकेको छ । बाँकी रहेको ४९ लाख ७० हजार ९२१ कित्ता सेयरमध्ये ३ प्रतिशत अर्थात् १ लाख ४९ हजार १२७ कित्ता कर्मचारीहरूलाई, ५ प्रतिशत अर्थात् २ लाख ४८ हजार ५४६ कित्ता सामूहिक लगानी कोष र ४० लाख ७६ हजार १५६ कित्ता सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री खुला गरिएको कम्पनीले जनाएको छ । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयर वेब तथा एपबाट पनि आवेदन दिन सक्नेछन् ।
फाइजरले १० अर्ब डलरमा मेटसेरालाई किन्ने
काठमाडौं । डेनिस प्रतिद्वन्द्वी नोभो नोर्डिस्कले बोलकबोल रोक्ने घोषणा गरेपछि मेटसेरालाई अधिग्रहण गर्ने तयारी गरेको फाइजरले जनाएको छ। मोटोपन उपचारमा विशेषज्ञता हासिल गरेको अमेरिकी फर्म मेटसेरा अमेरिकी औषधि दिग्गज फाइजर र नोभो नोर्डिस्कबाट बढ्दो प्रस्तावहरूको विषय बनेको थियो । तर नोभो नोर्डिस्क पछि हटेपछि तौल घटाउने औषधि वेगोभी र मधुमेह प्रतिरोधी औषधि ओजेम्पिक उत्पादन गर्दै आएको मेटसेराको सेयर मूल्य किनेर गाभ्ने तयारी गरेको फाइजर बताएको छ । एक प्रेस विज्ञप्तिमा मेटसेराले भनेको छ, ‘फाइजरले प्रति सेयर ८६.२५ सम्ममा यसलाई प्राप्त गर्न सुधारिएको प्रस्ताव गरेको बताएको छ। यसरी हेर्दा मेटसेराको सबै सेयर किन्न करिब ४१० अर्ब अमेरिकी डलरको सम्झौता भएको छ।’ मेटसेराको सम्झौताका लागि जिम्मा पाएको सञ्चालक समितिले स्टकहोल्डरहरूले संशोधित फाइजर मर्जर सम्झौतालाई स्वीकार गर्न र मर्जरलाई अनुमोदन गन ‘सर्वसम्मतिले सिफारिस गरेको बताएको छ । सेयरधनीहरूको नोभेम्बर १३ को बैठकपछि ‘तुरुन्तै’ सम्झौता कार्यान्वयनमा लाने अपेक्षा गरिएको छ। फाइजरको पछिल्लो प्रस्तावले सेप्टेम्बरमा कम्पनीहरूले गरेको प्रारम्भिक सम्झौताको तुलनामा यसको मूल्याङ्कन दोब्बर हुनेछ । डेनिस फर्म नोभो नोर्डिस्कले भनेको छ, ‘कम्पनीले ‘मेटसेरा’ अधिग्रहण गर्ने प्रस्ताव गर्ने कुनै थप चाहना राख्नेछैन।’ फाइजरले ‘व्यापार विकास र अधिग्रहणका लागि अवसरहरूको मूल्याङ्कन गर्ने कार्यलार्ई जारी राख्नेछ र अधिग्रहणपछिको रणनीतिक उद्देश्यहरूलाई अगाडि बढाउने बताएको छ । विश्व स्वास्थ्य सङ्गठनले सन् २०२२ सम्ममा विश्वभर १ अर्बभन्दा बढी मानिसहरू मोटोपनको साथ बाँचिरहेका र ८० करोडभन्दा बढी मानिसहरू मधुमेहको समस्यासाथ बाँचिरहेका बताएको समय यससम्बन्धी औषधी उत्पादन गर्ने मेटसेराको अधिग्रहणलाई फाइजरले विशेष चासोका साथ हेरेको थियो ।