नेपाल व्यवस्थापन संघको सभापतिमा हेमकुमारी अधिकारी, यस्तो बन्यो नयाँ कार्यसमिति
काठमाडौं । नेपाल व्यवस्थापन संघ (म्यान) को ४५औँ वार्षिक साधारण सभाबाट हेमकुमारी अधिकारीको सभापतित्वमा नयाँ कार्यसमिति चयन गरिएको छ । निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत गुणराज भट्टका अनुसार माघ २४ गते सम्पन्न साधारण सभाले संघको २२औँ प्रबन्ध समिति निर्विरोध निर्वाचित भएका हुन् । भट्टका अनुसार उपसभापतिमा कर्मचारी सञ्चय कोषका प्रशासक जितेन्द्र धिताल र कृष्णप्रसाद आचार्य निर्विरोध निर्वाचित भएका छन् । महासचिवमा इन्द्रकुमार श्रेष्ठ तथा कोषाध्यक्षमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चंकी क्षेत्री निर्विरोध निर्वाचित भएका छन् । यस्तै, संघको कार्यकारी सदस्यमा मधु पौडेल, बुद्धि कुमार मल्ल, अनु जोशी, बाबुराम शर्मा, अरुण कुमार सिग्देल, धर्मानन्द अवस्थी, कृष्णप्रसाद शर्मा र कृष्णकुमार भट्टराई निर्विरोध निर्वाचित भएका छन् । संघको संस्थागत सदस्यमा साल्ट ट्रेडिङ कर्पोरेसनकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) उर्मिला श्रेष्ठ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) महेश शर्मा ढकाल, राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) देवेन्द्र रमण खनाल तथा नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की चयन भएका छन् । यसै अवसरमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको प्रमुख आथित्यतामा नेशनल म्यानेजमेन्ट कन्भेन्सन-२०२६ पनि सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानन्यायाधीश राउतले देशको समग्र विकास र सुशासनका लागि दक्ष तथा उत्तरदायी व्यवस्थापन अपरिहार्य रहेको बताए । कन्भेन्सनअन्तर्गत पहिलो सत्र ‘अल्टरनेटिभ फाइनान्सिङ इन नेपाल’ विषयमा केन्द्रित रहेको थियो । साथै नेपाल व्यवस्थापन संघले प्रदान गर्दै आएका प्रतिष्ठित अवार्डहरू पनि वितरण गरिएको छ । यस वर्षको म्यानेजर अफ द इयर अवार्ड नीलेश मान सिंह प्रधानले प्राप्त गरेका छन् भने लाइफटाइम कन्ट्रिब्यूसन अवार्ड डा. युवराज खतिवडालाई प्रदान गरिएको छ । यस्तै, म्यान-सिटिजन्स एस्पाइरिङ अवार्ड-२०२५ गौरव उप्रेतीलाई प्रदान गरिएको छ ।
बीमा प्राधिकरणले स्वीकृत गर्यो २२ बीमा कम्पनीको वित्तीय विवरण
काठमाडौं । नेपाल बीमा प्राधिकरणले २२ वटा बीमा कम्पनीहरूको आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण स्वीकृत गरेको छ । प्राधिकरणले पुस मसान्तसम्मको समयावधिमा १२ जीवन बीमा कम्पनी, ७ वटा निर्जीवन बीमा कम्पनी र ३ वटा लघु बीमा कम्पनीहरूको वित्तीय विवरण स्वीकृत गरेको हो । बीमा ऐन, २०७९ मा बीमकले प्रत्येक आर्थिक वर्षको लेखापरीक्षण भएको वासलात र नाफा नोक्सानको विवरण तयार गरी अर्को आर्थिक वर्षको ६ महिनाभित्र तोकिएको ढाँचामा प्राधिकरणमा पेश गर्नुपर्ने व्यवस्था छ । सोही बमोजिम बीमकहरूबाट प्राप्त वित्तीय विवरण प्राधिकरणले स्वीकृत गरेको हो । वित्तीय विवरण स्वीकृत हुने जीवन बीमा कम्पनीहरूमा सिटिजन्स लाइफ इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स, आईएमई लाइफ इन्स्योरेन्स, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स रहेका छन् । त्यस्तै, सन नेपाल लाइफ इन्स्योरेन्स, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स, सूर्यज्योति लाइफ इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स कर्पोरेशन, मेट लाइफ र हिमालयन लाइफको वित्तीय विवरण प्राधिकरणद्वारा स्वीकृत भएको छ । वित्तीय विवण स्वीकृत भएका निर्जीवन बीमा कम्पनीहरुमा आईजिआई प्रुडुन्सियल, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, सगरमाथा लुम्बिनी इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी रहेको छ । त्यस्तै, गार्डियन माइक्रो लाइफ, प्रोटेक्टिभ माइक्रो र लिवर्टी माइक्रोको वित्तीय विवरण स्वीकृत भएको प्राधिकरणले जनाएको छ । प्राधिकरणबाट इजाजतपत्र लिएका जीवन बीमा कम्पनी १४ वटा, निर्जीवन बीमा कम्पनी १४ वटा, लघु बीमा कम्पनी ७ वटा र पुनर्बीमा कम्पनी २ वटा गरी जम्मा ३७ वटा बीमा कम्पनीहरू सञ्चालनमा रहेका छन् ।
स्वास्थ्य बीमा कार्यक्रमलाई राष्ट्रिय गौरवको कार्यक्रम बनाउने कांग्रेस सभापति थापाको घोषणा
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले स्वास्थ्य बीमा कार्यक्रमलाई राष्ट्रिय गौरवको कार्यक्रम बनाउने घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा थापाले बीमा कार्यक्रमलाई राष्ट्रिय गौरवको कार्यक्रम बनाउने घोषणा गरेका हुन् । थापाले आफू स्वास्थ्यमन्त्री हुँदा सुरु भएको कार्यक्रम अहिले बन्द हन्छ कि भन्ने अवस्थामा पुगेको बताउँदै कसरी प्रभावकारी बनाउने भन्ने विषयमा पार्टीले गहिरो छलफल अध्ययन गरिसकेको बताएका छन् । कार्यक्रम प्रभावकारी बनाउन थापाले केही एजेण्डा सार्वजनिक गरेका छन् । जसमा प्रत्येक नेपाली नागरिकलाई बीमामा आवद्ध गराउनै पर्ने उल्लेख गरेका छन् । सबै नागरिक आवद्ध नगराउँदासम्म यो कार्यक्रम चल्न नसक्ने उनको दाबी छ । उनी भन्छन्, ‘सबैलाई बीमामा यसमा आवद्ध गर्नुपर्छ र त्यसपछि एयर मार्क गरेर रक्सी चुरोट जस्ता थुप्रै कुरामा ट्याक्स लगाउनु पर्छ । जुन पैसा बीमाको लागि खर्च हुने गरी काम गर्नुपर्छ ।’ थापाका अनुसार कार्यक्रम प्रभावकारी बनाउन गर्नुपर्ने दोस्रो काममा जति पनि सामाजिक सुरक्षा, वा स्वास्थ्यसँग जोडिएका कार्यक्रम छन् ती सबै कार्यक्रमलाई एकीकृत गरेर सुदृढ बनाउनुपर्ने हुन्छ । ‘कार्यक्रम प्रभावकारी बनाउन तीन तहको सरकारलाई एकठाउँमा ल्याएर काम गराउनुपर्ने हुन्छ,’उनी भन्छन्, ‘प्राइमरी, सेकेन्डरी, ट्रसरी सेवा दिने फरक संस्थाहरूलाई कसर एक ठाउँमा ल्याउने, प्रिभेन्सन, प्रोभेन्सनका कार्यक्रमलाई पनि एकै ठाउँमा ल्याएर बाँध्नुपर्ने छ यसरी होलेस्टीक अप्रोचबाट हेर्यौं भने बल्ल बीमाको कार्यक्रम सफल हुन सक्छ ।’ थापाका अनुसार सरकारी र निजी सबै ठाउँबाट बीमाको सेवा सुविधा पाउने बनाउन सक्नुपर्नेछ । ‘बीमा कार्यक्रममा धेरै चुहावट छ यो रोक्नका लागि डिजिटल सिस्टम कसरी बनाउन सकिन्छ भनेर हामीले काम गरेका छौं,’ थापाले लेखेका छन्, ‘सेवालाई चुस्तदुरुस्त कसरी बनाउने, दाबीलाई कसरी ठिक बनाउने समयमा दाबी गरेकै समयमा भुक्तानी गर्ने, दोहोरो पन हुन नदिने यि सबै कुराको लागि बीमा बोर्डलाई बलियो कसरी बनाउने, यसको संरचनागत सुधार कसरी बनाउने भन्ने विषयमा गहिरो छलफल गरेका छौं ।’ यति काम गरिसकेपछि अबको निर्वाचन पछाडि पाँच वर्ष सरकार चल्दै गर्दा अहिलेको अस्तव्यस्त बीमा सच्चिने उनको दाबी छ । नेपाली नागरिकले आर्थिक अभावमा उपचारबाट वञ्चित हुनुपरेका, कतिपयले घर सम्पत्ति बेचेर घरवारविहीन हुनुपरेको अवस्थाबारे आफू जानकार रहेको बताउँदै थापाले अब बीमालाई सुधार गरी बीमाको कभरेज बढाउने बताए । एउटा नेपाली नागरिकले स्वास्थ्य बीमा लिसकेपछि जति खर्च लागेपनि केही बाहेक सबै रोगको उपचार बीमाले कभरेज गर्ने ठाउँसम्म पुर्याउन सकिने उनको दावी छ ।
ह्याम्स अस्पतालको शौचालयमा फेला पर्यो सुनको औँठी
काठमाडौं । मण्डिखाटारस्थित ह्याम्स अस्पतालको महिला शौचालयमा सुनको औँठी फेला परेको छ । काठमाडौं जिल्ला प्रहरी परिसरका अनुसार अस्पतालको महिला शौचालयमा सुनको बेरुवा औँठी र एउटा थैली भेटिएपछि आवश्यक प्रक्रिया पूरा गरी प्रहरी वृत्त महाराजगञ्जमा बुझाइएको छ । परिसरले उक्त औँठी तथा थैलीका वास्तविक धनीलाई आवश्यक प्रमाणसहित प्रहरी वृत्त महाराजगञ्जमा सम्पर्क गर्न अनुरोध गरेको छ । प्रहरीका अनुसार बिरामी तथा आफन्तहरूसँग सोधपुछ गर्दा कसैले पनि ती सामानहरू आफ्नो नभएको बताएपछि सुरक्षित रूपमा प्रहरी कार्यालयमा राखिएको हो ।
काठमाडौंको वायु प्रदूषण अस्वस्थ तहमा
काठमाडौं । काठमाडौं उपत्यकाको वायु प्रदूषण आइतबार अस्वस्थ तहमा पुगेको छ । हावाको गुणस्तर मापन गर्ने ‘एयर क्वालिटी इन्डेक्स’का अनुसार आज मध्याह्नसम्म काठमाडौं उपत्यकाको वायु प्रदूषण १७५ एक्युआई पुगेको छ । आइतबार काठमाडौं विश्वका सबैभन्दा प्रदूषित सहरमध्ये सातौँ स्थानमा सूचीकृत भएको छ । उक्त समयमा विश्वकै सबैभन्दा प्रदूषित सहर इजिप्टको कायरो छ, जहाँ वायु प्रदूषण २७३ एक्युआई मापन गरिएको छ । वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीका अनुसार मौसम सुक्खा रहनु, हावा नचल्नु, उद्योग–कलकारखानाको सञ्चालन तथा तीव्र विकास निर्माणका कारण वायु प्रदूषण बढेको हो । 'औद्योगिक गतिविधिबाट निस्कने धुवाँ–धुलो, सिमापार (क्रस बोर्डर) प्रदूषण र छिमेकी मुलुक भारतबाट आउने प्रदूषणले पनि प्रभाव पारेको छ', उनले भने, 'पानी नपरेसम्म प्रदूषण अझ बढ्ने सम्भावना छ ।' सुवेदीले वातावरणमैत्री विकासमा जोड दिन सरोकारवाला निकायलाई सुझाव दिइएको जानकारी दिए । विपद् व्यवस्थापनविद् डा धर्मराज उप्रेतीका अनुसार ० देखि ५० एक्युआई राम्रो (हरियो सङ्केत), ५१ देखि १०० सम्म सचेत रहनुपर्ने (पहेंलो सङ्केत) मानिन्छ । त्यस्तै, १०१ देखि १५० एक्युआई अस्वस्थ मानिन्छ, जसले श्वासप्रश्वास र मुटुरोगी बिरामीलाई असर गर्छ। १५१ देखि २०० एक्यूआई सबैका लागि अस्वस्थ, २०१ देखि ३०० एक्युआई धेरै अस्वस्थ तथा ३०० भन्दा माथि पुगेको अवस्था अत्यन्तै खतरनाक मानिन्छ । काठमाडौं उपत्यकाका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ अनुसार नेपाल सरकारले एक्युआई ३०० भन्दा बढी पुगेको अवस्थालाई विपद् मान्ने व्यवस्था गरेको छ । यस्तो विपद् न्यूनीकरणका लागि फोहोर बाल्ने कार्य रोक्ने, सडक सफाइका लागि ब्रुमर तथा भ्याकुमको प्रयोग बढाउने, बालबालिका, ज्येष्ठ नागरिक र बिरामीलाई विशेष सावधानी अपनाउन सार्वजनिक सूचना जारी गर्ने व्यवस्था कार्ययोजनामा उल्लेख छ । राष्ट्रिय वातावरण नीति, २०७६ अनुसार वायु प्रदूषण न्यूनीकरणका लागि जल, वायु, माटो, ध्वनि, विद्युत्–चुम्बकीय तरङ्ग, रेडियोधर्मी विकिरण तथा जोखिमपूर्ण रासायनिक प्रदूषण रोकथामसम्बन्धी राष्ट्रिय मापदण्ड तयार गरी कार्यान्वयन गर्ने सरकारी रणनीति रहेको छ । साथै प्रमुख सहर, औद्योगिक क्षेत्र तथा प्रदूषणको जोखिम रहेका स्थानमा गुणस्तर मापन केन्द्र स्थापना गरी वायु, जल र ध्वनि गुणस्तरको नक्शाङ्कन गरिने उल्लेख गरिएको छ ।
एशियन लाईफको एमडीआरटी अचिभर्स अवार्ड २०२६ सम्पन्न
काठमाडौं । एशियन लाईफ इन्स्योरेन्सले एमडीआरटी अचिभर्स अवार्ड २०२६ सम्पन्न गरेको छ । कम्पनीले होटल सोल्टीमा तीन दिनसम्म आयोजना गरेको अभिकर्ता सम्मेलन तथा सम्मान कार्यक्रममा देशभरका ३५० भन्दा बढी अभिकर्ताहरूको सहभागिता रहेको जनाएको छ । कार्यक्रममा प्रत्यक्ष बीमा गर्ने क्लब मेम्बर अभिकर्ता तथा आफ्नो मातहतका अभिकर्ता सञ्जालमार्फत व्यापार गरिरहेका उत्कृष्ट एजेन्सी म्यानेजरसहित सन् २०२६ का लागि एमडीआरटी योग्य भएका अभिकर्ताहरूलाई सम्मान गरिएको थियो । कम्पनीले एमडीआरटी (मिलियन डलर राउण्ड टेबल) योग्य अभिकर्ताहरूलाई एक–एक थान ल्यापटप, ५० हजार रुपैयाँको चेक तथा ब्लेजर कोट प्रदान गरेको थियो । समारोहका अवसरमा देशभरबाट उत्कृष्ट तीन जना क्लब मेम्बर र तीन जना एजेन्सी म्यानेजरलाई विशेष रूपमा सम्मान गरिएको छ । साथै, एक करोड रुपैयाँभन्दा बढी व्यवसाय योगदान गरेकामध्ये सर्वाधिक कारोबार गर्ने तीन जना एजेन्सी म्यानेजरलाई ‘सुपर बिजनेस म्यानेजर’ उपाधिबाट सम्मान गरिएको थियो । कार्यक्रमको पहिलो सत्रमा कम्पनीका बजार विभाग प्रमुख होमबहादुर श्रेष्ठले अभिकर्तालाई उत्कृष्ट बिक्रेता तथा सफल बीमा अभिकर्ताका रूपमा स्थापित हुन आवश्यक सीप र रणनीतिबारे प्रशिक्षण दिए । यसैगरी, बजार विभाग उपप्रमुख विजय पराजुलीले कम्पनीको लगानी विविधता, विभिन्न तहका क्लब मेम्बर तथा एजेन्सी म्यानेजरका सेवा–सुविधा र प्रोत्साहन व्यवस्थाबारे जानकारी गराए । सम्मान समारोहसँगै अभिकर्ताहरूको मनोरञ्जनका लागि सांस्कृतिक नृत्य, हास्यव्यङ्ग्य तथा लोकप्रिय गायक कालीप्रसाद बासकोटाको ब्याण्डसहितको प्रस्तुति पनि गरिएको थियो ।
आइएमई लाइफलाई एशिया इमर्जिङ इन्स्योरेन्स अवार्डमा तीन उपाधि
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले इण्डियन च्याम्बर अफ कमर्शद्वारा आयोजित एशिया इमर्जिङ इन्स्योरेन्स अवार्ड्समा तीनवटा विधामा उपाधि हात पारेको छ । कम्पनीले उत्कृष्ट ग्राहक–मुखी सेवा, बीमा नेतृत्वमा महिला तथा बीमामा पहुँच विस्तारका लागि उपाधि प्राप्त गरेको हो । साथै, उत्कृष्ट रणनीति विधामा सानिमा रिलायन्स लाइफ र आइएमई लाइफ इन्स्योरेन्सले संयुक्त रूपमा उपाधि हासिल गरेका छन् । यस सम्मानले बीमा जागरूकता विस्तार, आधुनिक प्रविधि–सञ्चालित सेवा प्रदान तथा बीमा क्षेत्रमा महिला नेतृत्वलाई प्रोत्साहन गर्ने कम्पनीको प्रयासलाई पहिचान गरेको छ । शुक्रबार थाइल्याण्डको राजधानी बैंककमा आयोजित सम्मान समारोहमा सञ्चालक समिति अध्यक्ष डा. रामहरि अर्याल र प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्काले संयुक्त रूपमा उपाधि ग्रहण गरेका हुन् । समारोहका अवसरमा प्रमुख कार्यकारी अधिकृत खड्काले डिजिटल र एआई प्रविधिको प्रयोगमार्फत अभिकर्ताको भूमिकालाई सशक्त बनाउने विषयमा विचारकका रूपमा नेपालको प्रतिनिधित्वसमेत गरेका थिए । उनले नेपालमा प्रविधिमैत्री सेवाहरू विस्तार गर्ने कम्पनीको रणनीतिबारे पनि धारणा राखेका थिए । गत वर्ष पाँचौं संस्करणमा पनि आइएमई लाइफले उत्कृष्ट जीवन बीमक, बीमा नेतृत्वमा महिला तथा बीमामा पहुँच विस्तारका लागि उत्कृष्ट रणनीति विधासहित तीनवटा उपाधि जितेको थियो । सन् २०२३ मा आइएमई लाइफ उक्त समारोहमा उत्कृष्ट जीवन बीमकको उपविजेता बनेको थियो ।
नेपाल व्यवस्थापन संघको कोषाध्यक्षमा चंकी क्षेत्री निर्विरोध
काठमाडौं । नेपाल व्यवस्थापन संघको प्रबन्ध समितिको कोषाध्यक्ष पदमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चंकी क्षेत्री निर्विरोध निर्वाचित भएका छन् । दुई वर्षे कार्यकालका लागि उनीसहित पाँच सदस्यीय नयाँ प्रबन्ध समितिको चयन गरिएको हो । संघको सभापति पदमा हेमकुमारी अधिकारी निर्विरोध निर्वाचित भएकी छिन् । यस्तै, उपसभापति पदमा जितेन्द्रप्रसाद धिताल र कृष्णप्रसाद आचार्य तथा महासचिवमा इन्द्रकुमार श्रेष्ठ चयन भएका छन् । संघको विधानअनुसार प्रारम्भमा ६ जना संस्थागत र ११ जना व्यक्तिगत गरी १७ सदस्यीय कार्य समिति गठन गरिन्छ । यसरी चयन भएका कार्य समिति सदस्यहरूमध्येबाट निर्वाचनमार्फत पाँच सदस्यीय प्रबन्ध समितिका पदाधिकारीहरूको चयन हुने व्यवस्था रहेको छ । ४५औं राष्ट्रिय व्यवस्थापन सम्मेलनका अवसरमा नवनिर्वाचित कार्य समितिका पदाधिकारीहरूलाई निर्वाचनको प्रमाणपत्र वितरण तथा सपथ ग्रहण गराइएको छ ।