विकासन्युज

ट्रम्प-मोदीबीच व्यापार सम्झौता, ५०० अर्ब डलर अमेरिकी उत्पादन खरिद गर्ने प्रतिबद्धता

काठमाडौं । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०२५ फेब्रुअरी मा सुरु गरेको अमेरिका-भारत द्विपक्षीय व्यापार सम्झौता (बिटीए) वार्तालाई अगाडि बढाउन अन्तरिम व्यापार सम्झौताको घोषणा गरेका छन् । संयुक्त राज्य अमेरिका र भारत बीचको अन्तरिम सम्झौताले व्यापारमा ऐतिहासिक, आपसी हित र पारस्परिक सन्तुलित व्यापारको साझा प्रतिबद्धता प्रदर्शन गर्ने जनाइएको छ । सम्झौताको एक हिस्साको रूपमा भारतले सबै अमेरिकी औद्योगिक सामानहरू र अमेरिकी खाद्य र कृषि उत्पादनहरूको विस्तृत श्रृंखलामा शुल्क हटाउने वा घटाउने छ । जसमा सुकेको अन्न, रूख बदाम, ताजा र प्रशोधन गरिएका फलफुलहरू, सोयाबिन तेल, वाइन लगायत समावेश छन् । संयुक्त वक्तव्य अनुसार संयुक्त राज्य अमेरिकाले कपडा, छाला जुत्ता, प्लास्टिक, रबर, जैविक रसायन, घरको सजावट र केही मेसिनरी क्षेत्रहरूलाई समेट्ने सान्दर्भिक कार्यकारी आदेश अन्तर्गत भारतीय मूलका सामानहरूमा १८ प्रतिशतको पारस्परिक शुल्क लागू गर्नेछ । ‘अन्तरिम सम्झौताको सफल निष्कर्षमा, अमेरिकाले जेनेरिक फार्मास्यूटिकल्स, रत्न र हीरा, र विमानका भागहरू लगायत सामानहरूको विस्तृत श्रृंखलामा पारस्परिक शुल्क हटाउनेछ,’ सम्झौतामा उल्लेख छ ।  सम्झौताले आल्मुनियम, स्टिल र तामामा राष्ट्रिय सुरक्षा सम्बन्धी घोषणाहरू अन्तर्गत लगाइएका केही भारतीय विमान र विमानका भागहरूमा अमेरिकी शुल्क हटाउने पनि व्यवस्था गरेको छ । भारतले अमेरिकी राष्ट्रिय सुरक्षा आवश्यकता अनुरूप अटोमोटिभ पाट्र्सका लागि प्राथमिकता शुल्क दर प्राप्त गर्नेछ । अमेरिकी अनुसन्धानको नतिजाको आधारमा, भारत पनि जेनेरिक औषधि र औषधि सामग्रीका लागि वार्ताको नतिजाहरु प्राप्त गर्न तयार भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । दुवै देशहरू एक-अर्कालाई दिगो  आपसी हितका क्षेत्रहरूमा बजार पहुँच प्रदान गर्न र सम्झौताको लाभ संयुक्त राज्य अमेरिका र भारतलाई सुनिश्चित गर्न उत्पत्ति नियमहरू स्थापना गर्न प्रतिबद्ध रहेको जनाइएको छ ।  दुवै पक्षले द्विपक्षीय व्यापारलाई असर गर्ने गैर-शुल्क बाधाहरूलाई सम्बोधन गर्ने विज्ञप्तिमा उल्लेख छ । भारत अमेरिकी चिकित्सा उपकरण, सूचना र सञ्चार प्रविधि सामान, खाद्य र कृषि उत्पादन जस्ता क्षेत्रमा लामो समय देखि रहेका बाधाहरूलाई सम्बोधन गर्न कदम चाल्न छ महिना भित्र अन्तर्राष्ट्रिय मापदण्डको स्वीकृतिको समीक्षा गर्न सहमत भएको जनाइएको छ । अन्तरिम सम्झौता बाहेक, दुवै देशले बिटिए वार्ताको माध्यमबाट बजार पहुँच थप विस्तार गर्ने काम गर्ने बताएका छन् । वार्ताका क्रममा अमेरिकाले भारतीय सामानमा कर घटाउने प्रयास जारी राख्ने भारतको अनुरोधलाई विचार गर्ने बताएको छ । सम्झौताले आपूर्ति श्रृंखलामा लचिलोपन, लगानी समीक्षा, निर्यात नियन्त्रण, र तेस्रो पक्षहरूको गैर-बजार नीतिहरूको सम्बोधनमा सहयोग सहित आर्थिक सुरक्षालाई सुदृढ पार्ने जनाइएको छ । सम्झौता अनुसार भारतले आगामी पाँच वर्षमा ५०० अर्ब अमेरिकी डलर मूल्यका अमेरिकी ऊर्जा उत्पादनहरू, विमान र विमानका पुर्जाहरू, बहुमूल्य धातुहरू, कोइला खरिद गर्ने इच्छा व्यक्त गरेको छ । डाटा सेन्टरमा प्रयोग हुने ग्राफिक्स प्रशोधन एकाइसहित प्रविधि उत्पादन व्यापारमा उल्लेखनीय वृद्धि गर्न र संयुक्त प्रविधि सहयोग विस्तार गर्न दुवै पक्ष सहमत भएका छन् । संयुक्त राज्य अमेरिका र भारत डिजिटल व्यापारका बाधाहरूलाई सम्बोधन गर्न र बिटिए अन्तर्गत बलियो, पारस्परिक रूपमा फाइदाजनक डिजिटल व्यापार नियमहरूको लागि मार्ग प्रशस्त गर्न प्रतिबद्ध छन् । दुवै पक्षको सहमति अनुरूप व्यापक र पारस्परिक रूपमा फाइदाजनक द्विपक्षीय व्यापार सम्झौता सम्पन्न गर्ने दृष्टिकोणका साथ अन्तरिम सम्झौतालाई अन्तिम रूप दिन यथासिग्र काम गर्ने र यस सम्झौतालाई तुरुन्तै कार्यान्वयन गर्ने बताइएको छ ।

टुथपेष्टसहित सौन्दर्य सामग्रीमा सिसाको मात्रा अत्यधिक प्रयोग, कडा अनुगमनको माग

काठमाडौं । नेपाल चिकित्सक सङ्घले दैनिक प्रयोगमा आउने दन्तमञ्जन (टुथपेष्ट) सहित सौन्दर्य सामग्रीमा सिसाको मात्रा अत्यधिक रहेकाले कडा नियमन गर्न माग गरेको छ । सङ्घका महासचिव डा. सञ्जीव तिवारीले जारी गरेको विज्ञप्तिमा दैनिक प्रयोगमा आउने टुथपेष्ट लगायत मुख तथा दन्त सरसफाइका सामग्रीसहित अन्य विभिन्न सौन्दर्य सामग्रीमा मानव स्वास्थ्यका लागि हानिकारक सिसा (लिड) को मात्रा पाइएको भन्दै कडा अनुगमनको माग गरेको हो । जनस्वास्थ्य तथा वातावरण प्रवर्द्धन केन्द्र (सेफेड) ले हालै सार्वजनिक गरेको अध्ययन प्रतिवेदनले देशका विभिन्न सहरमा गरेको पसलको नमूना सङ्कलन गरी परीक्षण गरिएकामा ३१ प्रतिशत सङ्कलित नमूनामा स्वीकृत अन्तर्राष्ट्रिय  मापदण्डभन्दा बढी सिसा भेटिनु गम्भीर विषय रहेको सङ्घले जनाएको छ । दैनिक प्रयोग हुने दन्तमञ्जनका ४५ प्रतिशत नमूना र बालबालिकाका लागि बजारमा उपलब्ध केही सामग्रीमा सिसा भेटिएको सङ्घले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सङ्घले बालबालिकासहित आमनागरिकको स्वास्थ्यमा गम्भीर असर पुर्याउने यस्ता सामग्रीको गुणस्तर मापन गरी कडा नियमन गर्न सरकारसँग माग गरेको हो । विश्व स्वास्थ्य सङ्गठन लगायतका स्वास्थ्य सङ्घ सम्बन्धित निकायले सिसा मानिसको स्वास्थ्यका लागि अत्यन्त हानिकारक रहेको तथ्य प्रमाणित गरेका छन् । विज्ञप्तिमा बालबालिकामा सिसाको असरले बौद्धिक विकासमा अवरोध, सिकाइमा कठिनाइ, व्यावहारिक समस्या देखिनुका साथै दीर्घकालीन रूपमा दृष्टि, श्रवण र स्नायु प्रणालीमा गम्भीर नकारात्मक प्रभाव पार्ने वैज्ञानिक प्रमाणित तथ्य रहेको पाइएको छ । 

नेप्सेको ३ अर्ब रुपैयाँ पुँजी पुर्याउन तीन विकल्प प्रस्ताव

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को पुँजी वृद्धिका लागि विभिन्न तीन वटा विकल्प अघि सारिएका छन् । प्रकाश जङ्ग थापाको नेतृत्वमा गठित नेप्से पुनर्संरचना सम्बन्धी सुझाव समितिले अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिका लागि नेप्सेको पुँजी हालको स्तरमा अपर्याप्त रहेको र तीन वटा विकल्पसहित पुँजी वृद्धि गर्न सकिने सुझाव पेस गरेको हो ।  धितोपत्र बजार सञ्चालन नियमावली, २०६४ अनुसार दोस्रो बजार सञ्चालक संस्थाले न्यूनतम् ३ अर्ब रुपैयाँ चुक्ता पुँजी कायम गर्नुपर्ने व्यवस्था छ । यद्यपि, सो नियमावलीले नेप्सेलाई उक्त प्रावधानबाट उन्मुक्ति दिएको भए पनि आधुनिक र विकसित दोस्रो बजार सञ्चालकले प्रदान गर्नुपर्ने सम्पूर्ण सेवा र दायित्व वहन गर्नुपर्ने हुन्छ । प्रतिवेदनमा प्रविधि, मानव संसाधन, भौतिक पूर्वाधार, अनुसन्धान तथा विकास, सेवा विस्तार तथा सहायक संस्थाको विकासका लागि आगामी दिनमा उल्लेख्य लगानी आवश्यक पर्ने उल्लेख छ । हाल नेप्सेको पुँजी लगानी करिब १ अर्ब रुपैयाँ मात्र रहेको र यो दीर्घकालीन उद्देश्य पूरा गर्न पर्याप्त नदेखिएको समितिको ठहर छ । यस्ता छन् तीन विकल्प  समितिले नेप्सेको पुँजी वृद्धि गर्न तीन विकल्प सुझाएको छ । पहिलो विकल्पअन्तर्गत नेप्सेले अवितरित मुनाफालाई बोनस सेयरमार्फत पुँजीकरण गर्न सक्ने उल्लेख छ । आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरणअनुसार नेप्सेसँग २ अर्ब १७ करोड रुपैयाँ संचित मुनाफा र १ अर्ब ९५ करोड रुपैयाँ जगेडा कोष गरी कुल ४ अर्ब १२ करोड रुपैयाँ सञ्चिति रहेको छ । यसलाई बोनस सेयरका रूपमा पुँजीकरण गरेमा ३ अर्ब रुपैयाँ चुक्ता पुँजीको मापदण्ड सहजै पूरा गर्न सकिने समितिको भनाइ छ । यद्यपि, बोनस सेयर जारी गर्नुअघि रणनीतिक साझेदारसम्बन्धी स्पष्टता आवश्यक रहने उल्लेख गरिएको छ । दोस्रो विकल्पमा हकप्रद सेयर जारी गरी पुँजी जुटाउने प्रस्ताव गरिएको छ । यसमा विद्यमान सेयरधनीहरूले आफ्नो स्वामित्व अनुपातअनुसार थप लगानी गर्नुपर्ने हुन्छ । यस विकल्पबाट सेवा विस्तारका लागि आवश्यक नगद परिचालन हुने भए पनि सेयरधनीहरू थप लगानी गर्न अनिच्छुक हुन सक्ने जोखिम रहेको प्रतिवेदनमा औंल्याइएको छ । तेस्रो विकल्पअन्तर्गत नयाँ सेयर जारी गरी पुँजी वृद्धि गर्ने सुझाव दिइएको छ । यसबाट रणनीतिक साझेदार, संस्थागत लगानीकर्ता वा सर्वसाधारणलाई सेयर निष्कासन गर्न सकिने र प्रिमियमसहित थप पुँजी परिचालन हुने समितिको भनाइ छ । तर, यसले नेप्सेको विद्यमान स्वामित्व संरचनामा परिवर्तन ल्याउने सम्भावना रहने उल्लेख गरिएको छ । समितिका अनुसार पहिलो र दोस्रो विकल्प सञ्चालक समितिको निर्णयपछि अर्थमन्त्रालयको सहमति र साधारण सभाबाट पारित गरी छोटो अवधिमै कार्यान्वयन गर्न सकिने छन् । तेस्रो विकल्प भने सेबोनको स्वीकृति, सेयर मूल्याङ्कन र निष्कासन प्रक्रियासहित दुई वर्षसम्म लाग्न सक्ने प्रतिवेदनमा उल्लेख छ । समितिले नेप्सेको दीर्घकालीन सुदृढीकरण र सेवा विस्तारका लागि समयसापेक्ष रूपमा पुँजी वृद्धि अपरिहार्य रहेको निष्कर्ष निकालेको छ ।

भाटभटेनीको कोटेश्वर शाखा पुन: सञ्चालनमा, गुरुङ भन्छन्- ‘अब नेपाल उठ्छ’

काठमाडौं । कुनै पनि विपत्ति वा दुर्घटनाले मानिसलाई कमजोर बनाउन सक्छ, तर दृढ संकल्प भएको नेतृत्व छ भने त्यसले खरानीबाट पनि नयाँ जीवन पाउन सक्छ भन्ने उदाहरण बनेको छ, भाटभटेनी सुपरमार्केट । गत भदौकाे आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट क्षतिग्रस्त बनेको भाटभटेनीको कोटेश्वर शाखा शनिबारबाट पुनः सञ्चालनमा आएको छ । लामो समयको पुनर्निर्माणमा रहेको भाटभटेनी फेरि ग्राहकको सेवामा फर्किएको हो ।  कोटेश्वर शाखाको उद्‍घाटनका क्रममा भावुक तर उत्साहित देखिएका भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीन बहादुर गुरुङले भने, ‘एउटा ठूलो दुर्घटनाबाट हामी उठ्न सफल भयौं । एक कदम अगाडि बढ्ने हिम्मत गर्दा आज खुसी महसुस भइरहेको छ ।’ करिब ३ महिनाको तीव्र मिहिनेत र पछिल्ला दुई महिनाको रात दिनको परिश्रमपछि कोटेश्वर शाखा पुरानो लयमा फर्काएको छ । कोटेश्वरबाहेक भाटभटेनीका बाँकी ११ वटा शाखाहरू पनि क्रमशः पुनः सञ्चालन हुने उनको भनाइ छ । नक्सालको शाखामा केही समय लाग्ने उनी बताउँछन् । उनका अनुसार फागुनको दोस्रो साताभित्र महाराजगञ्ज शाखा र बैशाख महिनामा बौद्धको चुच्चेपाटी शाखा पुनः सञ्चालनमा ल्याइने तयारी छ ।  जेनजी आन्दोलनमा पूर्ण रूपमा ध्वस्त बनेको कोटेश्वर शाखालाई यसपटक पहिलाभन्दा अझ अत्याधुनिक, सुरक्षित र व्यवस्थित बनाएर पुनः सञ्चालनमा ल्याइएको छ ।  शाखाको भुइँतलामा सुरक्षा व्यवस्थालाई विशेष प्राथमिकता दिँदै नयाँ र मजबुत संरचनाको भवन निर्माण गरिएको छ । गुरुङले विशेष पूजाआजा गरी भाटभटेनीको उद्घाटन गरेसँगै पाँच महिनादेखि ठप्प भाटभटेनी सेवा सुचारु भएको हो । भाटभटेनीमा ३०० भन्दा बढी कर्मचारी काममा फर्किएका छन् ।  यस्तै, देशभरका २८ शाखाहरूमध्ये आन्दोलनको मारमा परेका १२ वटा शाखाहरू अहिले पुनर्निर्माणको चरणमा छन् । गुरुङका अनुसार आउँदो भदौसम्ममा र दशैं अगावै सबै शाखाहरू पूर्ण क्षमतामा सञ्चालनमा आउनेछन् । आन्दोलनको निशानामा निजी क्षेत्र पर्नु दु:खद रहेको बताउँदै गुरुङले निजी क्षेत्र नै देश विकासको संवाहक भएको उल्लेख गरे ।  ‘निजी क्षेत्रलाई पछाडि धकेलेर देश अगाडि बढ्न सक्दैन । यो अज्ञानताको उपज हो, ’ उनले भने, ‘म भगवानसँग प्रार्थना गर्छु कि मेरो देशमा अब उप्रान्त यस्ता घटना कहिल्यै नदोहोरिउन् ।’ अध्यक्ष गुरुङले विनाश र त्रासको बीचबाटै समृद्धिको नयाँ मार्ग प्रशस्त हुने विश्वास व्यक्त गरे । भदौ २३ गतेको दु:खद आगजनी र आक्रमणको घटनालाई बिर्सिएर अब पुनर्निर्माण र राष्ट्रिय समृद्धिको यात्रामा अगाडि बढ्ने उनले बताए ।  उनले भने, ‘जसरी दोस्रो विश्वयुद्धको महाविनाशपछि जापान विश्वकै विकसित मुलुक बन्यो र खरानी भएको कारखानाबाट बीएमडब्लु जस्तो विश्व प्रख्यात ब्रान्ड जन्मियो, त्यसरी नै भाटभटेनी पनि अझ सशक्त भएर उठ्नेछ ।’ गुरुङले सन् १९४५ मा जापानको हिरोसिमा र नागासाकीमा भएको बमबारी तथा १९४४ मा जर्मनीको म्युनिखमा ध्वस्त भएको विमान इन्जिन कारखानाको उदाहरण दिए । ‘विनाश नै अन्त्य होइन, यो त नयाँ सुरुवातको अवसर पनि हो,’ उनले भने, ‘जसरी ती देश र कम्पनीहरूले पुरानो घाउलाई कोट्याउनुको साटो भविष्य निर्माणमा ध्यान दिए, हामी पनि त्यसै गर्नेछौँ ।’ भदौ २४ जेनजी आन्दोलनको दोश्रो दिनको घटनालाई नेपालको नकारात्मकता जलेको दिनका रूपमा व्याख्या गर्दै अध्यक्ष गुरुङले अबको १५ वर्षभित्र नेपाललाई सम्पन्न देशको सूचीमा पुर्याउने सपना सुनाए । उनले भने, ‘भाटभटेनी मात्र उठ्दैन, अब नेपाल उठ्छ । नेपालीहरू अब अर्काको देशमा काम गर्न जाने होइन, आफ्नै सिर्जना र क्षमताले देश बनाउनेछन् । हामीसँग हिम्मत छ, हामी गर्न सक्छौं ।’ विपद्को समयमा पनि भाटभटेनीले आफ्ना १० हजार कर्मचारीहरूको साथ छोडेन । संरचना जलेर व्यवसाय ठप्प हुँदा पनि कुनै पनि कर्मचारीले रोजगारी गुमाउनु परेन । गुरुङका अनुसार बन्द रहेको समयमा पनि कर्मचारीहरूले सेवा-सुविधा र तलब पाइरहे । भाटभटेनीले व्यवसाय मात्र नभएर सामाजिक उत्तरदायित्वमा पनि अग्रणी भूमिका खेल्दै आएको गुरुङको भनाइ छ । उनका अनुसार शिक्षण अस्पतालको भवन निर्माणदेखि दुर्गमका विद्यार्थीलाई डाक्टर बनाउनेसम्म र भूकम्प-बाढीजस्ता प्राकृतिक विपत्तिमा अग्रपङ्क्तिमा रहेर सहयोग गर्दै आएको यो संस्था नेपालकै ठूलो करदाता र रोजगारदातामध्ये एक हो ।  गुरुङले युवाहरूलाई कडा परिश्रम र इमानदारिताको पाठ सिक्न आग्रह गरे । खोटाङबाट आएर शून्यबाट व्यवसाय सुरु गरेका उनले भने, ‘कडा परिश्रम बिना केही हुँदैन । हल्ला गरेर मात्र देश बन्दैन । यदि हामी इमानदार भएर लाग्यौं भने आगामी १५ वर्षभित्र नेपाललाई सम्पन्न मुलुक बनाउन सकिन्छ ।’ आगोले संरचना त जलायो, तर मीन बहादुर गुरुङको देशप्रतिको भक्ति र हिम्मत जलाउन सकेन । उनी भन्छन्, ‘मैले हार मानेको भए देशको अर्थतन्त्रमा ठूलो असर पर्थ्यो । तर, राष्ट्र प्रेमले मलाई अघि बढ्न प्रेरित गर्यो । अब नकारात्मकतालाई भदौ २३ सँगै जलाइ दिऊँ र देश निर्माणको सकारात्मक बाटोमा लागौँ । ’

रहेनन् अभिनेता सुनिल थापा, नेपाली कला जगत स्तब्ध

काठमाडौं । अभिनेता सुनिल थापाको आज ६८ वर्षको उमेरमा निधन भएको छ । आज बिहान अचानक स्वास्थ्यमा समस्या देखिएपछि अभिनेता थापालाई उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पताल लगिएको थियो । चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन निरौलाले अभिनेता थापाको हृदयघातबाट निधन भएको अस्पतालले जानकारी दिएको बताए ।  ‘बिहान चलचित्रको छायाङ्कनमा जानुपर्ने भएकाले आफूसँगै रहेका सहयोगीलाई चाँडै उठाउन भन्नुभएको रहेछ, ती सहयोगी बिहान उठाउन जाँदा अभिनेता थापालाई अचेत पाएपछि अस्पताल ल्याइएको रहेछ । अस्पतालले प्रारम्भिक जाँच गरेपछि मृत घोषणा गरेको हो,’ अध्यक्ष निरौलाले भने ।  अभिनेता थापाका श्रीमती, एक छोरा र एक छोरी छन् । ‘उहाँको परिवारका सदस्यहरू भारतको मुम्बईमा बस्नुहुन्छ, उहाँहरू आउँदै हुनुहुन्छ,’ अध्यक्ष निरौलाले भने ।  लामो समयदेखि नेपाली तथा भारतीय चलचित्रमा अभिनयमा सक्रिय रहेका थापाको असामयिक निधनले सम्पूर्ण नेपाली कला जगत स्तब्ध बनेको छ । चलचित्रमा खलनायक पात्रलाई पनि अभिनेता सरह चर्चा र सम्मान दिलाउन सफल थापा ‘राते काइँला’ पात्रमार्फत् विशेष रूपमा लोकप्रिय थिए । उनी शङ्खमूलस्थित अपार्टमेन्टमा बस्दै आएका थिए । 

उम्मेदवारी पहाडमा प्रचार तराईमा

काठमाडौं । आसन्न फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनको चहलपहल बढ्दै जाँदा लुम्बिनी प्रदेशका पहाडी जिल्लाका उम्मेदवार मतदाता फकाउन तराईका जिल्ला झर्न थालेका छन् । लुम्बिनी प्रदेशका पहाडी जिल्लाका गुल्मी, पाल्पा, अर्घाखाँची र प्युठानका उम्मेदवार मतदातासँग भेटघाट र आफ्नो पक्षमा मतदाता फकाउन तराईका जिल्ला रूपन्देही र कपिलवस्तु केन्द्रित हुन थालेका छन् । उनीहरूले तराईका जिल्लामा आ-आफ्ना पार्टीका भेला, बैठक र मतदातासँग प्रत्यक्ष भेटेर मतदाता रिझाउने कार्यक्रम थालेका छन् । प्रदेशका १२ जिल्लामध्ये एउटा हिमाली जिल्ला पूर्वी रुकुम र अन्य पाँच पहाडी जिल्ला पर्छन् । पहाडी जिल्लाका धेरै मतदाता बसाइ सरेर रूपन्देही, कपिलवस्तु र काठमाडौँलगायत जिल्लामा आएका छन् । तर उनीहरूले मतदाता नामावली भने स्थानान्तरण नगरिसकेकाले निर्वाचनका समयमा उम्मेदवार मत माग्न यी जिल्लामा पुग्ने गरेका छन् । गुल्मी क्षेत्र न १ बाट नेकपा (एमाले)का उम्मेदवार प्रदीप कुमार ज्ञवाली, नेपाली कांग्रेसका उम्मेदवार चन्द्र भण्डारी, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सागर ढकाल र नेपाली कम्युनिष्ट पार्टीबाट सुदर्शन बराल लगायत १० राजनीतिक दलहरूसँगै ११ जना स्वतन्त्र उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । यस क्षेत्रमा एक लाख २२ हजार १८६ मतदाता रहेका छन् । उम्मेदवारहरूले बुटवल र भैरहवामा कार्यकर्ता भेला तथा बैठक गरेर फागुन २१ को निर्वाचनमा मतदान गर्न जिल्ला फर्कन आह्वान गरेका छन् । नेकपा एमालेको तर्फबाट यस क्षेत्रमा उम्मेदवार बनेका ज्ञवाली विगतका निर्वाचनको तथ्याङ्कलाई हेर्दा रूपन्देही, नवलपरासी र कपिलवस्तुलगायत क्षेत्रमा गुल्मी जिल्लाका झण्डै १० हजारको सङ्ख्यामा मतदाता रहेको अनुमान गर्छन् । जिल्ला बाहिरका मतदातालाई निर्वाचनमा मतदानका लागि आउने वातावरण बनाउन अन्य जिल्लामा पुगेर भेटघाट, भेला, छलफलजस्ता कार्यक्रमलाई प्राथमिकता दिइएको उनी बताउँछन् ।  यसअघिका स्थानीय तह निर्वाचन र सङ्घीय तथा प्रादेशिक निर्वाचनमा यसरी नै उम्मेदवारहरूले बेजिल्लामा रहेका मतदातालाई भेटेर मत माग्ने कार्यलाई अहिले निरन्तरता दिएका छन् । तर यसवर्ष जेनजी आन्दोलनपछिको विशेष परिस्थितिमा फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचनको घोषणा हुँदा उम्मेदवारलाई मतदाता खोज्न सकस परेको हो । नेपाली कांग्रेस गुल्मी क्षेत्र न। १ का उम्मेदवार चन्द्र भण्डारी विसं २०७९ को निर्वाचनमा नेकपा (एमाले) का नेता प्रदीप कुमार ज्ञवालीलाई पराजित गरेर निर्वाचित भएका थिए । विसं २०७९ को निर्वाचनमा रूपन्देही जिल्लाबाट मात्र आफूले ४ हजार ५०० मतदाता मतदानका लागि गुल्मी पुर्याएको बताउँछन् । यस पटक बुटवलमा एकपटक भेला गरी सकेको र यसलाई निरन्तरता दिने उनको भनाइ छ । जिल्लाको क्षेत्र नम्बर २ मा १० दल र १२ जना स्वतन्त्र उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । यस क्षेत्रबाट एमालेका उपाध्यक्ष एवं पूर्वमन्त्री गोकर्ण विष्ट, नेपाली कांग्रेसका लुम्बिनी प्रदेश उपसभापति भुवन श्रेष्ठ, नेकपाका श्रीराम महत र रास्वपाबाट गोविन्द पन्थी चुनावी मैदानमा रहेका छन् । उज्यालो नेपाल पार्टीबाट कर्ण बहादुर थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट जनक सेन, नेशनल रिपब्लिक नेपालबाट पदम थापामगर, मङ्गोल नेशनल अर्गनाइजेसनबाट बेदबहादुर थापा उम्मेदवार रहेका छन् । यस निर्वाचनमा १ लाख ७ हजार ३६३ जना मतदाता रहेका छन् । निर्वाचन प्रचारप्रसारका क्रममा नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका पार्टी उपाध्यक्ष विष्टले बुटवलमा तीन दिनसम्म आफ्नो निर्वाचन क्षेत्रका पालिका स्तरीय विभिन्न कार्यक्रम तथा मतदातासँग भेटघाट सकाएर बिहीबार जिल्ला फर्किएका छन् । उनले बुटवलमा तीन दिनसम्म झण्डै एक दर्जन कार्यक्रम सम्पन्न गरे । नेकपा एमाले पाल्पा क्षेत्र न २ का उम्मेदवार ठाकुर गैर आफ्नो क्षेत्रका धेरै मतदाता स्थायी बसोबास वा विभिन्न पेसाका लागि बुटवल, भैरहवा लगायतका क्षेत्रमा रहेकाले उनीहरूलाई निर्वाचनमा मतदानका लागि आउने वातावरण निर्माण गर्न पार्टीले कार्यक्रम गर्ने योजना रहेको बताउँछन् । नेपाली कम्युनिष्ट पार्टीका तर्फ बाट पाल्पा क्षेत्र नं २ मा उम्मेदवार बनेका सोम प्रसाद पाण्डेले माघ १८ गते बुटवलमा पत्रकार सम्मेलन गरेर पाल्पाबाट बुटवललगायत क्षेत्रमा बसेका मतदातालाई निर्वाचनमा मतदानका लागि निमन्त्रणा गरे । यससँगै उनले रूपन्देहीका विभिन्न स्थानमा कार्यकर्ता भेटघाट र भेला आयोजना गरेर मतदातालाई रिझाउने काम गरेका छन् ।  पाल्पा क्षेत्र नं २ मा १ लाख ९ हजार ५३ जना मतदाता रहेका छन् । जसमा ५३ हजार ७७५ जना पुरुष र ५५ हजार २७८ जना महिला मतदाता रहेका छन् । क्षेत्र नं २ मा ११८ मतदानस्थल र २५१ वटा मतदान केन्द्र रहेका छन् । यस निर्वाचन क्षेत्रमा १४ वटा राजनीतिक दलसहित दुई स्वतन्त्र गरी १६ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । एक मात्र निर्वाचन क्षेत्र रहेको अर्घाखाँची जिल्लामा एक महिलासहित १५ जना चुनावी प्रतिस्पर्धामा छन् । विभिन्न पार्टीका १२ जना र ३ जना स्वतन्त्र गरी १५ जना प्रतिनिधिसभाको निर्वाचनका लागि चुनावी प्रतिस्पर्धामा छन् । यस जिल्लामा नेपाली कांग्रेसबाट विष्णुप्रसाद खनाल र नेकपा एमालेबाट पिताम्बर भुसालको उम्मेदवारी दिएका छन् । त्यसैगरी नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट रामबहादुर चौहान, राष्ट्रिय स्वतन्त्र पाटीबाट हरिप्रसाद भुसाल, नेकपा माओवादीबाट खीमबहादुर घर्ती, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट झविन्द्र फुल्लेल, राष्ट्रिय जनमोर्चाबाट पशुपति ढकाल, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट पुस्करनाथ आचार्य र स्वतन्त्र उम्मेदवार रवि शाह उम्मेदवार रहेका छन् । अर्घाखाँची जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कूल १ लाख ७१ हजार ६५२ जना मतदाता रहेका छन् । जसमा पुरुष ८७ हजार १५७ जना र महिला ८४ हजार ४९५ जना रहेका छन् । यस जिल्लामा १०२ मतदानस्थल र २०९ मतदान केन्द्र रहेका छन् । उम्मेदवारहरूले जिल्लामा प्रचारप्रसारका कार्यक्रमसँगै बुटवल, भैरहवा, कपिलवस्तुलगायत ठाउँमा पुगेर मतदातासँग भेटघाट गरेका छन् । नेकपा एमालेका उम्मेदवार पिताम्बर भुसालले बुटवलमा एकचरण कार्यकर्ता भेला गरेर मतदाता रिझाउने काम सकाएको बताउँछन् । उनले आवश्यक परे फेरि विभिन्न कार्यक्रम आयोजना गरिने बताए । अर्घाखाँचीका धेरै मतदाता कपिलवस्तुमा बसोबास रहेको र यसबाहेक बुटवल, भैरहवा, काठमाडौं, दाङमा रहेका मतदातालाई निर्वाचनमा मतदानका लागि आह्वान गरिँदै आएको उनको भनाइ छ । उनले जिल्लाका कूल मतदातामध्ये झण्डै ४० प्रतिशत मतदाता जिल्ला बाहिर रहेको बताउँछन् । नेपाली कांग्रेसका उम्मेदवार विष्णुप्रसाद खनाल जिल्लामा मात्र केन्द्रित रहेर सबै मतदातासँग पुग्न नसकिने बताउँछन् । उनी आफ्ना चुनावी मुद्दा लिएर जिल्ला बाहिरका मतदातासँग पुग्ने क्रममा रहेको यसैअन्तर्गत पहिलो चरणमा बुटवलमा कार्यक्रम सम्पन्न गरेको बताउँछन् । उनले पोखरा, काठमाडौं, रूपन्देही र कपिलवस्तुलगायत क्षेत्रमा धेरै मतदाता रहेकाले तीनलाई निर्वाचनमा मतदानका लागि आउने वातावरण निर्माण गर्नुपर्ने बाध्यता रहेको उल्लेख गरे । निर्वाचन आयोगले जिल्ला बाहिर रहेका यस्ता मतदातालाई मतदानमा सहभागी हुन उत्प्रेरित गर्न निर्वाचन शिक्षा कार्यक्रम सञ्चालन गरिरहेको प्रदेश निर्वाचन कार्यालय, दाङका सूचना अधिकारी गेहेन्द्र कुँवर बताउँछन् । उनी मतदाता केन्द्रित निर्वाचन शिक्षा कार्यक्रम निर्वाचन आयोगले विभिन्न सञ्चार माध्यमबाट प्रकाशन र प्रसारण गर्ने काम हुँदै आएको यसका साथै राजनीतिक दलहरूले यस्ता कार्यक्रम गरिरहेको बताउँछन् । 

आईटी ग्यारेजबाट ८ वटा मोटरसाइकल नियन्त्रणमा, प्रहरीले बढायो निगरानी

काठमाडौं । काठमाडौं उपत्यकामा स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्दै ध्वनि प्रदूषण फैलाउने ८ वटा मोटरसाइकललाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ । उपत्यकाका विभिन्न क्षेत्रमा पछिल्लो समय चर्को आवाज निकाल्ने मोटरसाइकलका कारण स्थानीय बासिन्दा हैरान भएको गुनासो बढ्दै गएपछि ट्राफिक प्रहरीले विशेष चेकजाँच अभियान सञ्चालन गर्दै आएको छ ।  काठमाडौंको तारकेश्वर नगरपालिका-८ अन्तर्गत नेपालटार र डाँडागाउँ सडक खण्डमा गरिएको विशेष चेकजाँचका क्रममा ती ८ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । ‘तारकेश्वर क्षेत्रमा स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्दै मोटरसाइकल चलाउने गरेको भन्ने गुनासो आएपछि ट्राफिक प्रहरीले निगरानी बढाएको थियो । सोही क्रममा सम्बन्धित निकायमा दर्ता नभई सञ्चालन भइरहेको एक आईटी ग्यारेजमा चेकजाँच गर्दा ८ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको हो,’ उनले भने ।  उनका अनुसार ती मोटरसाइकलमा साइलेन्सर पाइप तथा अन्य संरचनामा अवैध रूपमा परिवर्तन गरिएको पाइएको र जसका कारण अत्यधिक ध्वनि उत्पन्न भई वातावरणीय प्रदूषण बढ्नुका साथै सर्वसाधारणको दैनिकीमा प्रतिकूल असर परेको थियो । चर्को आवाज निकाल्ने सवारीसाधनले ध्वनि प्रदूषण मात्र होइन, मानव स्वास्थ्यमा समेत गम्भीर नकारात्मक असर पुर्याउने गरेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले बताए ।  ‘अत्यधिक ध्वनिका कारण बालबालिका, वृद्धवृद्धा, बिरामी तथा विद्यार्थीहरू बढी प्रभावित हुने गरेका छन् । त्यसैले स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने सवारीसाधन नचलाउन सबै सवारी चालकलाई आग्रह गर्दछौँ,’ उनले भने ।  प्रवक्ता सुवेदीका अनुसार नियन्त्रणमा लिइएका ती सवारीसाधनलाई यातायात व्यवस्था ऐन, २०४९ अनुसार आवश्यक कानुनी कारबाही गरिनेछ । नियन्त्रणमा लिइएका मोटरसाइकललाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि अहिले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा राखिएको छ । ट्राफिक प्रहरीले सवारीसाधनलाई कानुनले तोकेको मापदण्डअनुसार सञ्चालन गर्न र अवैध रूपमा स्वरूप परिवर्तन नगर्न सबै सवारी चालक तथा ग्यारेज सञ्चालकलाई सचेत रहन आग्रह गरेको छ ।

‘गाउँमै बस्ने वातावरण बनाइदिने नेतालाई भोट’

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै उम्मेदवारलाई मतदाता रिझाउन भ्याइनभ्याइ छ । बिहानैदेखि साँझसम्म मतदाताका घरदैलो र बारीमै पुगेर उम्मेदवारले मत मागी रहेका छन् । पटकपटक आश्वासन मात्रै पाएका मतदाताले यसपालि एजेन्डा र प्रतिबद्धता खोज्न थालेका छन् ।​​​​​​​ बागलुङको काठेखोला गाउँपालिका-६ का कृष्णप्रसाद सापकोटाले किसानको उत्पादनलाई बजारीकरणको प्रबन्ध मिलाउन सक्ने नेतालाई भोट दिने बताए । हरेक वर्ष दसौँ लाखको तरकारी र फलफूल उत्पादन गर्न भए पनि बजारको अभावमा उचित मूल्य पाउन नसकेको उनको गुनासो छ । आफू विसं २०४८ देखि निरन्तर मतदानमा सहभागी हुँदै आएको सुनाउँदै अहिलेसम्म किसानका माग पूरा गर्ने नेता पाउन नसकेको कँडेलले बताए ।  कँडेलले भने, ‘पहिले-पहिले घरको काम छोडेर नेतालाई जिताउनुपर्छ भनेर हिँडियो, उनीहरूले चुनाव जितेर सांसद मन्त्री भए, हाम्रो समस्या जहाँको त्यही रहे, अहिले त किसानका काम गर्नु भन्नेलाई मात्रै मत दिने हो, पहिलेको जस्तो झुटा कुरा पत्याएर पछि हिड्न छोडियो, हाम्रा समस्या धेरै छन्, समयमा बीउ, मल पाइँदैन, उत्पादन गरेको वस्तुले मूल्य पाउँदैनन् ।’ बरेङ गाउँपालिका-१ का तमबहादुर थापाले गाउँको बसाँइसरा रोकेर उद्यमसँग जोड्न सक्ने उम्मेदवारलाई जिताउनु पर्ने बताए । बसाइँसराइले हरेक वर्ष गाउँबाट बजार झर्नेको संख्या बढ्दै गएको भन्दै यसलाई रोक्न कुनै नेताको ध्यान नगएको उनको भनाइ छ । गाउँमै कृषि, उद्यम गर्छ भन्ने किसान र युवालाई प्रोत्साहन नहुँदा विदेश पलायन र बसाइँसराइ हुने गरेको थापा बताउँछन् । ‘हामी गाउँका किसानले नेताबाट ठूलो अपेक्षा छैन, हामीहरूलाई गाउँमै बस्ने र उद्यम गर्ने वातावरण मिलाइ दिए हुन्छ, काम गरेर जीविका चलाउने कर्तव्य हाम्रो हो,’ थापाले भने, ‘अघिल्लो चुनावहरूमा नेताको चिल्ला कुरा धेरै सुनियो, अब हामीहरूलाई प्रतिबद्धता चाहिन्छ, हामी गाउँमै बस्न चाहन्छौं, यहीँ केही गर्न चाहन्छौं, त्यो वातावरण तयार बनाइ दिने नेताको खाँचो छ ।’ बागलुङमा सबैभन्दा बढी बसाइँसराइ हुने पालिका जैमिनी हो । जैमिनीबाट हरेक वर्ष बसाइँसराइ गर्नेको सङ्ख्या ठूलो छ । गाउँमा लघु उद्यम, कृषि र राम्रो शिक्षाको सुविधा दिलाउन सक्ने उम्मेदवारलाई भोट दिने स्थानीय तोषिका विकले बताइन् । हुने खानेहरू सबै बजार झरि सकेको सुनाउँदै अहिले गाउँमा सामान्य परिवार मात्रै रहेको उनको भनाइ छ ।