सिटिजन्स बैंकद्वारा गौरव उप्रेतीलाई ‘एसपाइरिङ मेनेजर अवार्ड’ प्रदान
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले म्यान सिटिजन एसपाइरिङ मेनेजर अवार्ड–२०८२ गौरव उप्रेतीलाई प्रदान गरेको छ । उक्त अवार्ड नेपाल व्यवस्थापन संघ (एमएएन) द्वारा आयोजना गरिएको राष्ट्रिय व्यवस्थापन सम्मेलनमा माघ २४ गते प्रदान गरिएको हो । प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले कार्यक्रमकाबीच पुरस्कार प्रदान गरेका थिए । पुरस्कार छनोट प्रक्रिया सिटिजन्स बैंक, पूर्वाञ्चल विश्वविद्यालय तथा नेपाल व्यवस्थापन संघका पदाधिकारीहरूको संयुक्त समितिले गरेको हो। यस अवार्डले नेपालको व्यवस्थापन शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने र भविष्यका व्यवस्थापन पेशेवरहरूलाई प्रोत्साहित गर्ने विश्वास बैंकले लिएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नेपाल व्यवस्थापन संघबीच गत वर्ष एमबीए तहमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई सम्मान गर्ने उद्देश्यले सम्झौता भएको थियो । सो सम्झौताअनुसार प्रत्येक वर्ष पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत एमबीएमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई ५१ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ। सिटिजन्स बैंक ‘बैंक अफ द ईयर २०२४ र २०२५’ को उपाधि प्राप्त गर्न सफल भएको बैंक हो । यसअघि फोनपे सँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ भर्चुअल कार्ड सञ्चालनमा ल्याएको थियो । हाल बैंकले नवयुवालाई लक्षित ‘सिटिजन्स जेन–जी सेभिङ अकाउन्ट’, ‘सिटिजन्स डिजी बैंक सेवा’ तथा फ्रिलान्सर लक्षित ‘फ्रिलान्सर सेविङ्स अकाउन्ट’ सञ्चालनमा ल्याएको छ । साथै मोबाइल बैंकिङ एपमार्फत सेयर आवेदन, सीआरएन सेवा तथा क्रस बैंक टेलर सुविधासमेत उपलब्ध गराउँदै आएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले हाल देशभर ६१ जिल्लामा फैलिएका २०० शाखा, १६९ एटीएम, तीन विस्तारित काउन्टर तथा ४२ शाखारहित बैंकिङ इकाइमार्फत करिब १९ लाख ७६ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
सानिमा रिलायन्स लाईफले पायो अन्तर्राष्ट्रिय ‘बेस्ट स्ट्राटेजी’ अवार्ड
काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले छैठौं इमर्जिङ एसिया इन्स्योरेन्स कन्क्लेभ एण्ड अवार्ड्स २०२५ मा ‘बेस्ट स्ट्राटेजिज फर इन्स्योरेन्स कभरेज फर द इयर’ विधामा प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ । थाइल्याण्डको बैंककमा सम्पन्न उक्त कार्यक्रम इन्डियन चेम्बर अफ कमर्स (आईसीसी) द्वारा आयोजना गरिएको हो । एसियाका उदाउँदा बीमा बजारहरूमा नवीनता, रणनीतिक प्रभाव, बीमा पहुँच विस्तार तथा ग्राहक–केन्द्रित पहलहरूको मूल्याङ्कन गरी प्रदान गरिने यस अवार्डलाई महत्वपूर्ण अन्तर्राष्ट्रिय सम्मानका रूपमा लिइन्छ । यस विधामा सानिमा रिलायन्स लाईफको छनोट हुनु कम्पनीले अवलम्बन गरेको दीर्घकालीन, समावेशी तथा व्यवहारिक रणनीतिक सोचको प्रतिविम्ब भएको कम्पनीले जनाएको छ । अवार्ड ग्रहण गर्दै कम्पनीका अध्यक्ष रतनलाल केडियाले अन्तर्राष्ट्रिय स्तरको सम्मान प्राप्त गर्नु गौरवको विषय भएको बताए । उनले यो अवार्ड कम्पनीको रणनीतिक दृष्टिकोण, टिमको समर्पण र ग्राहक–केन्द्रित सेवाको मान्यता भएको उल्लेख गरे । साथै, सानिमा रिलायन्स लाईफ सधैं बीमालाई सरल, पहुँचयोग्य र विश्वासिलो बनाउने लक्ष्यमा केन्द्रित रहेको उनको भनाइ छ । यस उपलब्धिप्रति प्रतिक्रिया दिँदै प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले अन्तर्राष्ट्रिय अवार्डले कम्पनीलाई नेपालमा मात्र नभई एसियाली बीमा बजारमा समेत सक्षम, रणनीतिक र भरोसायोग्य जीवन बीमा कम्पनीका रूपमा थप स्थापित गरेको बताए । उक्त कार्यक्रममा नेपालसहित भारत, बंगलादेश, भुटान, श्रीलंका, म्यानमार र थाइल्याण्डका बीमा क्षेत्रका वरिष्ठ प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रमले एशियाली बीमा उद्योगमा सहकार्य, ज्ञान आदान–प्रदान र ग्राहक–केन्द्रित नवप्रवर्तन प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले डिजिटल सेवा विस्तार, दाबी प्रक्रिया सहजता, ग्राहक सम्पर्क प्रणाली सुदृढीकरण तथा दीर्घकालीन विश्वास निर्माणमार्फत आफूलाई नेपालको अग्रणी जीवन बीमा कम्पनीका रूपमा स्थापित गर्दै आएको छ । हाल कम्पनीले देशभर १६९ शाखामार्फत सेवा प्रदान गर्दै आएको छ । कम्पनीको पूँजी पाँच अर्ब रुपैयाँभन्दा बढी रहेको छ भने २० अर्ब रुपैयाँभन्दा बढी लगानी रहेको छ । साथै, २० हजारभन्दा बढी अभिकर्ताहरू कम्पनीमा आबद्ध छन् ।
म्याग्दीको घतानमा सडक पाँच महिना अघि नै सम्पन्न
म्याग्दी । जिल्लाको मध्यभागमा पर्ने बेनी नगरपालिका र रघुगङ्गा गाउँपालिकाका बस्तीहरूलाई सदरमुकाम बेनीसँग जोड्ने बेनी– पाखापानी सडकको भुतादैला–तोरीपानी खण्ड स्तरोन्नतिका लागि सञ्चालित योजना लक्ष्यअघि नै सम्पन्न भएको छ । म्याग्दीको रणनीतिक महत्वको यस सडकको स्तरोन्नति भएको क्षेत्र बेनी नगरपालिका–९ साविक घतान गाविसको भूगोलमा पर्छ । पूर्वाधार विकास कार्यालयमार्फत सञ्चालित बेनी–पाखापानी सडक योजनाअन्तर्गत बेनी नगरपालिका–९ भुतादैलादेखि नेप्टेचौर हुँदै तोरीपानी खण्ड स्तरोन्नतिको काम लक्ष्यभन्दा पाँच महिनाअघि नै सम्पन्न भएको हो । यो सडक योजना निर्माणका लागि २०८१ साल जेठ २० मा पूर्वाधार विकास कार्यालय र मङ्गलादेवी सुवास कन्स्ट्रक्सन प्रालि नुवाकोटले रु ११ करोड ७६ लाख १२ हजार ५४१ मा ठेक्का सम्झौता गरेको थियो । आगामी २०८३ जेठ २० गतेसम्मको म्याद रहेको योजना निर्माणकार्य माघको तेस्रो साता सकिएको निर्माण कम्पनीका सञ्चालक सुवासचन्द्र कार्कीले बताए । उनले भने, 'कालोपत्र भएको सडकमा रङरोगन र सङ्केतचिह्न तथा साइडबार लगाउने काम पनि सकिएको छ, बजेट अभावको असहज अवस्थाका बाबजुद पनि पर्याप्त मजदुर, उपकरण परिचालन र निर्माण सामग्री व्यवस्थापन गरेर लक्ष्यअघि नै योजना सम्पन्न गरिएको हो ।' निर्माण व्यवसायी कार्कीले काम सम्पन्न गरे पनि सरकारले विनियोजन गरेको बजेट सकिएकाले पूरै बिलको भुक्तानी नपाएको गुनासो गरे । कार्यालयका अनुसार यो योजनाका लागि रु एक करोड ५० लाख बजेट अपुग भएको छ । चार किलोमिटर दूरीमा स्तरोन्नति भुतादैलादेखि नेप्टेचौरस्थित वडा कार्यालयसम्म एक किलोमिटर ९०० मिटर दूरीमा प्रिमिक्स प्रविधिको कालोपत्र भएको छ । नेप्टेचौरदेखि तोरीपानीस्थित गलेश्वर मावि परिसरको थप दुई किलोमिटर दूरीमा सडक फराकिलो, ग्रेड, घुम्ती सुधार र अप्ठ्यारो ठाउँमा ढलान भएको पूर्वाधार विकास कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर डा महेन्द्र बानियाँले बताए। पाँच सय ५० मिटर दूरीमा ढलान र दुई किलोमिटर ५०० मिटर दूरीमा ग्राभेल भएको छ । यसअघि ३.५ मिटर चौडा सडकलाई कम्तीमा सात मिटर फराकिलो बनाइएको छ । म्याग्दी १(१) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले निर्माण व्यवसायीको इच्छाशक्ति, सम्बद्ध कार्यालयको समन्वय, जनप्रतिनिधि तहबाट सहजीकरण र समुदायस्तरमा साथ पाउने हो भने विकास आयोजनामा हुने ढिलासुस्ती हटाउन सकिने सन्देश बेनी–पाखापानी योजनामा लक्ष्यअघि नै भएको कामले दिएको बताए । “धेरै आयोजना समयमै सम्पन्न नहुँदा अलपत्र पर्ने, लागत बढ्ने र जनताले लाभ लिन नसकेको अवस्थामा लक्ष्यअघि नै योजना सम्पन्न हुनु हाम्रा लागि सकारात्मक विषय हो”, उनले भने, “जिल्लामा भित्रिएका योजनालाई निर्धारित समयमा गुणस्तरीय रूपमा सम्पन्न हुने वातावरण बनाएका छौँ ।” बेनी नगरपालिकाको ९, १०, रघुगङ्गा गाउँपालिकाको ५, ६ र ८ नं वडालाई बेनीबजारसँग जोड्ने बेनी–पाखापानी सडकलाई म्याग्दीको प्राथमिकताप्राप्त आयोजना घोषणा गरिएको छ । विसं २०५६ मा तत्कालीन जिल्ला विकास समितिले मार्ग खोलेको यो सडक २७ वर्षपछि स्तरोन्नति हुँदा स्थानीयवासीमा खुसीयाली छाएको बेनी नगरपालिका–९ का वडाध्यक्ष चक्र केसीले बताए । निर्माणकार्यको नागरिक तहबाट निगरानी र स्थानीय समस्यालाई समाधानका लागि सहजीकरण गर्न सरोकार समिति बनाइएको उनले बताए। सङ्घीयता कार्यान्वयन हुनुअघि तत्कालीन जिल्ला विकास समितिअन्तर्गतको ‘ड्रिलीप’ परियोजनामार्फत सञ्चालित योजनाले पूर्णता पाउन सकेको थिएन । यात्राअवधि छोटियो यात्राअवधि छोटिएको, झन्झट र कष्टपूर्ण यात्रा गर्नुपर्ने बाध्यता हटेको नेप्टेचौरका बासिन्दा क्षेत्रबहादुर चोखालले बताए । सफा सडकमा सहज रूपमा यात्रा गर्न पाउँदा खुसी लागेको उनले अनुभव सुनाए । यसअघि तोरीपानीदेखि बेनी पुग्न एक घण्टा लाग्ने गरेकामा स्तरोन्नतिपछि २० मिनेटमै पुग्न सकिने भएको नेप्टेचौरका नरबहादुर चोखालले बताए । बेनीदेखि तोरीपानीसम्म अटोरिक्सा चल्न थालेको छ । सार्वजनिक यातायातको भाडादर समायोजन गर्न र तोरीपानीदेखि पात्लेखेत, झिँ, पाखापानीतर्फको सडक स्तरोन्नतिका लागि थप योजना र बजेटको व्यवस्था गर्न स्थानीयवासीले माग गरेका छन् । बेनीदेखि किराखोरसम्म करिब पाँच किलोमिटर सडक बेनी नगरपालिका र प्रदेश सरकारले यसअघि नै कालोपत्र र ढलान गरेका छन् । तोरीपानीदेखि पात्लेखेत र झिँ हुँदै पाखापानीतर्फ पनि स्तरोन्नतिका लागि थप बजेट व्यवस्थाका लागि प्रदेश सरकारमा पहल गरिएको प्रदेशसभा सदस्य भण्डारीले बताए । थप बजेट व्यवस्थापनका लागि कार्यालयमार्फत प्रदेश सरकारसँग पहल गरिएको उनले बताए। बेनी–पाखापानी–ठाडाखानी–मल्कवाङ–मराङ–बिम–दरवाङ–बेनी जोड्ने राहुघाट–म्याग्दी चक्रपथ सडक योजनाअनुसार यस वर्ष बिम–मराङ– मल्कवाङ खण्डमा स्तरोन्नतिका लागि प्रदेश सरकारबाट रु पाँच करोडको बहुवर्षीय ठेक्का आह्वानको तयारी भएको छ । रासस
यस्तो छ आइतबारका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ७६ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३६ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ७० पैसा र बिक्रीदर १७१ रुपैयाँ ४१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९६ रुपैयाँ ७२ पैसा र बिक्रीदर १९७ रुपैयाँ ५४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८६ रुपैयाँ ०९ पैसा र बिक्रीदर १८६ रुपैयाँ ८६ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०१ रुपैयाँ ०१ पैसा र बिक्रीदर १०१ रुपैयाँ ४३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०५ रुपैयाँ ७८ पैसा र बिक्रीदर १०६ रुपैयाँ २२ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११३ रुपैयाँ ६८ पैसा र बिक्रीदर ११४ रुपैयाँ १६ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ २२ पैसा र बिक्रीदर नौ रुपैयाँ २६ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ८६ पैसा र बिक्रीदर २० रुपैयाँ ९५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ६० पैसा र बिक्रीदर ३८ रुपैयाँ ७६ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३९ रुपैयाँ ७७ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ५८ पैसा र बिक्रीदर चार रुपैयाँ ६० पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३९ रुपैयाँ ५८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३६ रुपैयाँ ६७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८२ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ८७ पैसा र बिक्रीदर नौ रुपैयाँ ९१ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ९८ पैसा र बिक्रीदर १६ रुपैयाँ ०५ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ८६ पैसा र बिक्रीदर २२ रुपैयाँ ९५ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ५२ पैसा र बिक्रीदर १८ रुपैयाँ ६० पैसा, कुवेती दिनार एकको खरिददर ४७३ रुपैयाँ ६९ पैसा र बिक्रीदर ४७५ रुपैयाँ ६५ पैसा, बहराइन दिनार एकको खरिददर ३८३ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३८५ रुपैयाँ ५६ पैसा, ओमनी रियाल एकको खरिददर ३७६ रुपैयाँ ०२ र बिक्रीदर ३७७ रुपैयाँ ५८ पैसा रहेको छ । यस्तै,भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
नागरिक लगानी कोषको नाफा ६.९१ प्रतिशत बढ्यो, साढे ३१ अर्ब रुपैयाँ सेयरमा लगानी
काठमाडौं । नागरिक लगानी कोष (सीआईटी)को चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा खुद नाफा ६.९१ प्रतिशत बढेर बढेर ६६ करोड ५३ लाख २४ हजार रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा सीआईटीले ६२ करोड २२ लाख ८६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आवको दोस्रो त्रैमासमा सीआईटीको ब्याज आम्दानी १७ करोड ३६ लाख ४० हजार रुपैयाँ, सेवा शुल्क तथा कमिसन आम्दानी ८३ करोड ९४ लाख ८८ हजार रुपैयाँ, विविध आम्दानी ५ करोड ६२ लाख २० हजार रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १९ करोड ३३ लाख ७१ हजार रुपैयाँ ब्याज आम्दानी, सेवा शुल्क आम्दानी ८१ करोड १ लाख ९६ हजार रुपैयाँ, विविध आम्दानी ३ करोड ५९ लाख ६८ हजार रुपैयाँ गरेको थियो । समीक्षा अवधिमा कम्पनीले १ अर्ब ६ करोड ९३ लाख ४८ हजार रुपैयाँ कुल आम्दानी गरेको छ भने १८ करोड १८ लाख ३० हजार रुपैयाँ कुल खर्च गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ३ करोड ९५ लाख ३५ हजार रुपैयाँ कुल आम्दानी गरेर २० करोड ८६ लाख ५२ हजार रुपैयाँ कुल खर्च गरेको थियो । कुल खर्चमा १४ करोड २५ लाख ३४ हजार रुपैयाँ व्यवस्थापनमा र ३ करोड ९२ लाख ९७ हजार रुपैयाँ खर्च व्यवस्थामा खर्च भएको कम्पनीले जनाएको छ । पुस मसान्तसम्ममा ६ अर्ब ८० करोड ५७ लाख ९८ हजार रुपैयाँ चुक्ता पुँजी रहेको सीआइ्र्रटीको खुद कोष मौज्दातमा २ खर्ब ९४ अर्ब ६५ करोड ३३ लाख ९७ हजार रुपैयाँ रहेको छ । गत वर्षको पुसमा चुक्ता पुँजी ६ अर्ब ४८ करोड १७ लाख १२ हजार रुपैयाँ र खुद कोष मौज्दातमा २ खर्ब ६४ अर्ब ३५ करोड ९७ लाख ९८ हजार रुपैयाँ थियो । समीक्षा अवधिमा कम्पनीको लगानी २ खर्ब ९८ अर्ब ६७ करोड ८४ लाख ६३ हजार रुपैयाँ रहेको छ । गत वर्षको पुसमा २ खर्ब ६४ अर्ब ७७ करोड ७५ लाख ३८ हजार रुपैयाँ लगानी गरेको थियो । कम्पनीका अनुसार नेपाल सरकारको ऋणपत्रमा १३ अर्ब १२ करोड ७६ लाख ४५ हजार रुपैयाँ, बैंकको मुद्दती निक्षेपमा १ खर्ब ४५ अर्ब ४० करोड ५५ लाख ९ हजार रुपैयाँ, समयकालीन कर्जामा २६ अर्ब ३१ करोड ६७ लाख ५५ हजार रुपैयाँ, सहायक कम्पनीमा २ अर्ब ७२ करोड ४६ लाख ७५ हजार रुपैयाँ, सहभागी सापटी तथा आवास कर्जा ६५ अर्ब २३ करोड ९१ लाख ७१ हजार रुपैयाँ, ट्रेजरी बिलमा १४ अर्ब १७ करोड ९३ लाख ९६ हजार रुपैयाँ र संगठित संस्थाको सेयरमा ३१ अर्ब ६८ करोड ५३ लाख १३ हजार रुपैयाँ लगानी गरेको छ । कम्पनीको रिटर्न अन इन्भेष्टमेन्ट ४.४९ प्रतिशत, फण्ड इन्भेष्टमेन्ट रेसियो ९९.८१ प्रतिशत रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १९.५५ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ १४२.४० रुपैयाँ छ ।
निर्वाचन विरोधी गतिविधिमाथि निगरानी बढाइयो, ड्रोन प्रयोगमा प्रतिबन्ध
काठमाडौं । सरकारले आसन्न निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध लगाएको छ । गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेले आगामी फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय केन्द्रीय सुरक्षा समितिले गरिसकेको जानकारी दिए । उनले अहिले सामाजिक सञ्जालको दुरुपयोग बढ्दो क्रममा रहेकाले त्यसलाई रोक्न नेपाल प्रहरीले सञ्चालनमा ल्याएको अत्याधुनिक युनिटलाई थप प्रभावकारी बनाउने पनि जानकारी दिए । निर्वाचन आचारसंहिताको उल्लङ्घन हुने गरी मिथ्या/भ्रमपूर्ण सूचना र घृणास्पद अभिव्यक्ति दिने व्यक्तिको निगरानीमा पनि टोलीले काम गरिरहेको उनको भनाइ छ । निर्वाचन विरोधी गतिविधि गर्नेलाई कानुनी दायरामा ल्याउन सुरक्षा संयन्त्रले चुस्त निगरानी गरिरहेको जनाउँदै प्रवक्ता काफ्लेले निर्वाचन प्रहरीको बिमाका साथै सञ्चार सम्पर्क नहुने मतदानस्थलको पहिचान गरी उचित प्रबन्ध मिलाउने तयारी भइरहेको बताए । उनले गृह मन्त्रालयले सबै सुरक्षा संयन्त्र र प्रशासनिक निकायलाई निर्वाचनको सुरक्षामा कुनै कमीकमजोरी नगर्न र चुस्त व्यवस्थापनमा लाग्न निर्देशन दिइसकेको बताए । गृहमन्त्री ओमप्रकाश अर्यालले एकीकृत निर्वाचन सुरक्षा योजना-२०८२ बमोजिम जिम्मेवार निकायले सम्पादन गरिरहेका कार्य, जनशक्ति परिचालन तथा बन्दोबस्तीको योजनाबारे समीक्षा गरेर प्रभावकारी व्यवस्था गर्न आवश्यक निर्देशन दिनुभएको पनि प्रवक्ता काफ्लेले बताए । मन्त्रालयले सामाजिक सञ्जालको प्रयोगमा ध्यान दिन अनुरोध गर्दै मित्थ्या र भ्रमपूर्ण र कसैलाई लाञ्छना लगाउने जस्ता सूचना नराख्न अनुरोध गर्दै त्यस्ता गतिविधि गरेमा कारबाही हुने जानकारी गराएको छ ।
प्राधिकरणले कर्मचारीलाई भन्यो: सामाजिक सञ्जाल प्रयोग गर्दा संस्थाको मर्यादाको ख्याल गर
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आफ्ना कर्मचारीलाई सामाजिक सञ्जाल प्रयोग गर्दा संस्थाको मर्यादा र गरिमाको ख्याल गर्न सचेत गराएको छ । प्राधिकरणमा कार्यरत कर्मचारीले प्राधिकरण कर्मचारी सेवा, सर्त, नियमावलीमा भएको आचरणसम्बन्धी व्यवस्थाको पालना सबै कर्मचारीको दायित्व भएको स्मरण गराएको छ । पछिल्लो समय सामाजिक सञ्जालमा तथ्य प्रमाणित नभएका काल्पनिक, समाज र कार्यालयको प्रतिष्ठामा आँच पुग्ने गरी सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा नकारात्मक प्रभाव बढाउने खालका पोष्ट र प्रतिक्रिया एवं कार्यालयका पत्रहरू समेत राख्ने प्रवृत्ति बढेकामा प्राधिकरणले आपत्ति जनाएको छ । प्राधिकरणका कार्यरत कर्मचारीमा त्यस प्रकारको प्रवृत्ति निरुत्साहित गरी सामाजिक सञ्जालको प्रयोगलाई मर्यादित, व्यवस्थित र रचनात्मक बनाउन सबै पक्षको सकारात्मक भूमिका आवश्यक रहेका प्राधिकरणका सह निर्देशक नारायणप्रसाद आचार्यले जानकारी दिए । प्राधिकरण कर्मचारी सेवा, सर्त नियमावली २०७५ मा व्यवस्था भए बमोजिमको आचरणको उल्लंघन हुने गरी सामाजिक सञ्जालमा कार्यालयको पत्र तथा अन्य अनावश्यक पोष्टहरु नराख्न सूचित गरिएको छ । अनावश्यक पोष्ट राखेमा वा प्रतिक्रिया दिएमा त्यस्ता कर्मचारीको विवरण संकलन गरी विनियममा भएको व्यवस्था बमोजिम विभागीय कारवाही समेत हुने सूचनामा स्पष्ट पारिएको छ ।
सुनकोशीको बङ्शिलाघाटमा अस्थायी बेलिब्रिज सञ्चालन
काठमाडौं । खोटाङको दक्षिणी क्षेत्रका बराहपोखरी गाउँपालिका-५ पौवासेरा र उदयपुरको चौदण्डीगढी नगरपालिका-१ चौदण्डीगढीको सिमानामा पर्ने सुनकोशी नदीको बङ्शिलाघाटमा जडान गरिएको अस्थायी बेलिब्रिज शनिबार सञ्चालनमा ल्याइएको छ । गुरुकुल विल्डर्स एन्ड सप्लायर्स प्रालिले जडानको जिम्मा लिएको अस्थायी बेलिब्रिज आगामी २०८३ साल जेठ पहिलो सातासम्म सञ्चालन गर्ने सहमति गरिएको छ । कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयको ५७ लाख रुपैयाँ लगानीमा जडान गरिएको बेलिब्रिजको लम्बाइ ५१.८१ मिटर लामो छ । बेलिब्रिजका लागि आवश्यक सामग्री कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयले १ करोड ८७ लाख रुपैयाँमा खरिद गरेर पूर्वाधार विकास कार्यालयलाई हस्तान्तरण गरेपछि निर्माण कम्पनीलाई प्रदान गरिएको कार्यालय प्रमुख विनम दाहालले जानकारी दिए । लामो समयदेखि झोलुङ्गे पुलमार्फत आवतजावत गर्दै आएका दक्षिणी क्षेत्रका स्थानीय बासिन्दा ढिलै भए पनि बङ्शिलाघाटमा अस्थायी बेलिब्रिज जडान भएपछि हर्षित भएका छन् । मोटरेबल पक्की पुलसमेत निर्माण भइरहेको बङ्शिलाघाटमा बेलिब्रिज जडानका लागि खोटाङका बराहपोखरी र जन्तेढुङ्गा गाउँपालिका तथा उदयपुरको चौदण्डीगढी नगरपालिकाका जनप्रतिनिधिले सङ्घीय सरकारसँग माग गरेका थिए । खोटाङ र उदयपुर जोड्ने गरी कच्ची सडक निर्माण गरेर यातायात सञ्चालन गरिँदै आएको बङ्शिलाघाटमा अस्थायी बेलिब्रिज जडानका लागि सङ्घीय सरकारले बजेट उपलब्ध नगराएपछि प्रदेश सरकारको लगानीमा जडान गरेर सञ्चालन गरिएको बराहपोखरी गाउँपालिका प्रमुख सालिकराम बञ्जराले जानकारी दिए । दक्षिणी क्षेत्रमा पर्ने तीनवटा स्थानीय तहका नागरिकलाई पूर्वी तराईका विभिन्न जिल्लासँग सिधा यातायात सेवामा जोड्नका लागि सुनकोशीको धाप्लाङघाटमा निर्माणाधीन मोटरेबल पुलको कामले समेत पछिल्लो समय गति लिएको छ । ठेकेदारको लापरवाहीले लामो समयसम्म अलपत्र परेको धाप्लाङघाटको मोटरेबल पुल निर्माणको कामले केही समय अघिबाट गति लिएसँगै नागरिकमा आशा जगाएको छ । धाप्लाङघाट पुल निर्माण ४३ प्रतिशत सकिएको सडक विभाग पुल सेक्टर धरानका इन्जिनियर नवीन साहले जानकारी दिए । उनका अनुसार धाप्लाङघाटमा वेल फाउन्डेसन प्रविधिको पुल निर्माण सुरु गरिएको थियो । त्यो सम्भव नभएपछि गत वर्ष डिजाइन परिवर्तन गरेर पाइल फाउन्डेसन प्रविधिको पुल निर्माण सुरु गरिएको छ । स्ल्याब ढलानका लागि पानी सुकाउने काम भइरहेको छ । पानी चाँडै सुकाउन सके यो वर्ष थप दुइवटा स्ल्याब ढलान सकिन्छ । सङ्घीय सरकारको २१ करोड ६५ लाख रुपैयाँ लगानीमा धाप्लाङघाटमा २०० मिटर लामो मोटरेबल पक्की पुल निर्माणका लागि २०७३ साल असार ३० गते निर्माण कम्पनीसँग सम्झौता भएको थियो । करिब ९ वर्षदेखि निर्माणाधीन अवस्थामा रहेको धाप्लाङघाटको मोटरेबल पक्की पुल अलपत्र हुँदा दक्षिणी क्षेत्रका नागरिक निरास थिए । पछिल्लोपटक थपिएको म्यादअनुसार २०८४ साल जेठ १९ गतेसम्ममा धाप्लाङघाटको पुल निर्माण सम्पन्न गर्नुपर्छ । विसं २०८३ चैतभित्रमा धाप्लाङघाटबाट सवारीसाधन वार पार गराउने गरी निर्माणको कामलाई तीव्रता दिइएको निर्माण कम्पनी रसुवा कन्स्ट्रक्सन प्रालिले जनाएको छ । सुनकोशीकै फोक्सिङटारमा जडान गरिएको अस्थायी बेलिब्रिज यसअघि नै सञ्चालनमा ल्याइएको छ । खोटाङको खोटेहाङ गाउँपालिका-९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका-५ आँपटार जोड्ने सुनकोशीको फोक्सिङटारमा मोटरेबल पक्की पुल बाढीले बगाएपछि अस्थायी बेलिब्रिज जडान गरेर सञ्चालनमा ल्याइएको हो । फोक्सिङटारको अस्थायी बेलिब्रिज सञ्चालनमा आएसँगै घुर्मी-कटारी हुँदै घुमाउरो मार्ग प्रयोग गर्नुपर्ने बाध्यता हटेको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले जानकारी दिए । निर्माण कम्पनी एमएएस आर्यन कन्स्ट्रक्सन मल्टी पर्पोज प्रालि कटारी-३ उदयपुरले मूल्य अभिवृद्धि करसहित ९६ लाख ७७ हजार ९३७ रुपैयाँमा ठेक्का सम्झौता गरेर बेलिब्रिज जडान गरेको हो । गत वर्ष असोज १२ गतेको अविरल वर्षाका कारण सुनकोशी नदीमा आएको भीषण बाढीले फोक्सिन्टारको १२० मिटर लामो मोटरेबल पक्की पुल बगाएको थियो । फोक्सिङटारको मोटरेबल पक्की पुल बाढीले बगाएपछि दिक्तेल–गाईघाट सिधा यातायात पूर्ण रूपमा विच्छेद भएको थियो । करिब १३ वर्ष लगाएर निर्माण भएको आर्क डिजाइनको पुल बाढीले बगाएपछि गत वर्षको पुसमा जडान गरिएको बेलिब्रिज वर्षा याम सुरु भएसँगै निकालिएको थियो । बेलिब्रिज निकालिएसँगै यातायात सेवा विच्छेद भएपछि पूर्वी तराई आवतजावत गर्ने यात्री झोलुङ्गे पुलमार्फत गन्तव्यमा पुग्ने गरेका थिए ।