मतदाताको गोपनीयता सार्वजनिक नगर्न आग्रह, उल्लङ्घन गरे कारबाही हुने
काठमाडौं । सामाजिक सञ्जालको प्रयोग गरी र केही अनलाइन सञ्चारमाध्यमले सर्वसाधारण तथा मतदातासँग कसलाई मत दिनुहुन्छ भनेर मतदाताको गोपनीयता भङ्ग गरेकोमा जिल्ला निर्वाचन कार्यालय काठमाडौंले आपत्ति जनाएको छ । निर्वाचन कार्यालयले निर्वाचन आचारसंहिताको पालना गर्न ध्यानाकर्षण गराउँदै मतदाताको गोपनीयता भङ्ग गर्ने कार्य नगर्न/नगराउन अनुरोध गरेको हो । निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ बमोजिम आचारसंहिता उल्लङ्घनको कार्य गरेको पाइएकाले त्यस्ता कार्यहरू नगर्न/नगराउन अनुरोध गर्दै त्यस्ता कार्य नरोकिए प्रचलित कानुनबमोजिम कारबाहीको प्रक्रिया अघि बढाइने उल्लेख गरेको छ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मतदान हुने दिनभन्दा १७ दिन अघिदेखि मात्र निर्वाचन प्रचारप्रसार गर्न पाइने व्यवस्था छ । त्यसमा जुलुस, आमसभा वा कोणसभा गर्न, सञ्चारमाध्यममा कुनै प्रकारको प्रचारप्रसार सामग्री प्रकाशन वा प्रसारण गर्न, निर्वाचन प्रचारप्रसारका लागि घरदैलो कार्यक्रम गर्न पाइने व्यवस्था छ । आचारसंहिताको यो व्यवस्था पूर्ण पालना गर्नका लागि पटकपटक छलफल, अन्तक्रिर्या र सूचना प्रकाशन गरी जानकारी गराइ सकिएको भए तापनि कतिपय राजनीतिक दल, तिनका प्रतिनिधि र उम्मेदवारले उक्त व्यवस्थाको उल्लङ्घन गरिएको निर्वाचन कार्यालयले जनाएको छ । निर्धारित समय अगावै कोणसभा गर्ने, प्रचारप्रसार गर्ने, प्रचारप्रसार सामग्री प्रकाशन तथा प्रसारण गर्ने र घरदैलो कार्यक्रम गरी मतदातालाई प्रभाव पार्ने काम गरिरहेको भन्ने जानकारी प्राप्त भएकाले त्यस्तो कार्य नगर्न÷नगराउन निर्वाचन कार्यालयले ध्यानाकर्षण गराएको छ । कोही कसैबाट आचारसंहिताको उल्लङ्घन गरी कुनै पनि तरिकाले प्रचारप्रसार गरेको प्रमाण प्राप्त भएमा प्रचलित कानुनबमोजिम तत्काल कारबाही प्रक्रिया अघि बढाइने निर्वाचन कार्यालयले सूचित गरेको छ । आचारसंहिता अनुगमन अधिकृतहरू मुक्तिराम रिजाल, शिवराम भट्टराई, रोमाकान्त काफ्ले, मुनकुमार केसी, सुनिता सुवेदी र रुक्मागत अर्यालले संयुक्त रूपमा निर्वाचन आचारसंहिताको सम्पूर्ण पक्षका बारेमा ध्यानाकर्षण गराए ।
महाशिवरात्रिका लागि १७१ सदस्यीय मूल समारोह समिति गठन
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषदका अध्यक्ष अनिलकुमार सिन्हाको अध्यक्षतामा महाशिवरात्रि २०८२ को तयारीका लागि १७१ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ । यस वर्षको महाशिवरात्रि पर्वको तयारीका लागि गठन गरिएको समिति काठमाडौं महानगरपालिका, वडा नं ८ कार्यालयलगायत सरोकार भएका निकायका प्रतिनिधिलाई पनि सदस्य राखिएको छ । समिति पशुपति क्षेत्रमा महाशिवरात्रि पर्वको तयारीका लागि काम गर्ने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । मूल समारोह समितिअन्तर्गत ९ वटा विषयगत उपसमिति बनाएर पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारीका लागि काम भइरहेको कोषका कार्यकारी निर्देशक एवं प्रवक्ता सुभाषचन्द्र जोशीले जानकारी दिए । मूल समारोह समितिअन्तर्गत सुरक्षा उपसमितिको बैठक शुक्रबार बसेको थियो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलको अध्यक्षतामा बसेको सुरक्षा उपसमितिको बैठकमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागका अधिकारीहरूको पनि उपस्थिति थियो । बैठकमा महाशिवरात्रि पर्वमा सुरक्षा व्यवस्था मिलाउने बारेमा छलफल भएको उनको भनाइ छ ।
तराईमा हुस्सु लाग्ने, पहाडी भागमा आंशिक बादल
काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल तराई भूभागका केही स्थानमा हुस्सु लागेको छ भने कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी र हिमाली भू-भागमा आंशिक बादल लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो तराई भागका केही स्थानमा हुस्सु/कुहिरो रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भागमा आंशिक बादल लाग्नेछ भने अन्य भागको मौसम सफा रहने छ । कोशी प्रदेशका उच्च पहाडी र हिमाली भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । त्यसैगरी आज राति तराई भू-भागका केही स्थानहरूमा बादल लाग्ने छ । कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भू-भागमा आंशिक बादल लाग्ने छ र बाँकी भागको मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
मस्कको नयाँ कदम: अन्तरिक्षमा डाटा सेन्टर र एआई
काठमाडौं । एलन मस्कले अन्तरिक्षमा सूचना केन्द्र स्थापना गर्ने योजना सार्वजनिक गरेका छन् । करिब एक लाख उपग्रहलाई आकाशमा राखेर सूर्यको ऊर्जाबाट चल्ने सूचना केन्द्र निर्माण गरिनेछ, जसले कृत्रिम बुद्धिमत्ता प्रणाली र संवादात्मक कार्यक्रमहरू सञ्चालन गर्दा बिजुली संकट रोक्न मद्दत गर्नेछ । यसको लागि उनले आफ्नो अन्तरिक्ष संस्था र एआई व्यवसायलाई एकसाथ जोडेर ठूलो सार्वजनिक प्रस्ताव गर्ने योजना बनाएका छन् । तर विज्ञहरूले चेतावनी दिँदै भने, ‘अन्तरिक्षमा सूचना केन्द्र स्थापना गर्न धेरै प्राविधिक, आर्थिक र वातावरणीय चुनौतीहरू छन् । कम्प्युटर चिपहरूले धेरै तातो उत्पादन गर्छन् र अन्तरिक्षको शून्य हावामा तातो बाहिर जान कठिन हुन्छ । यस समस्याको समाधानका लागि विशाल रेडिएटर प्यानलहरू बनाउने योजना छ, तर यस्ता संरचना अहिलेसम्म कहिल्यै निर्माण भएका छैनन् ।’ अन्तरिक्षमा उपग्रह बिग्रिनुको सम्भावना पनि उच्च छ, जसले आपतकालीन सञ्चार र मौसम पूर्वानुमानमा असर पार्न सक्छ। मस्कका अनुसार आगामी ३०-३६ महिनाभित्र अन्तरिक्ष नै बुद्धिमत्ता प्रणालीको सबैभन्दा उपयुक्त स्थान बन्नेछ । तर विज्ञहरूले भनेका छन्, ‘बिग्रेका उपकरण मर्मत गर्न मानिसहरू पुग्न नसक्ने र सूर्यको उच्च ऊर्जा कणले उपकरणमा असर पार्ने चुनौती रहन्छ । अन्य कम्पनीहरू पनि अन्तरिक्षमा सूचना केन्द्र स्थापना गर्ने प्रयास गर्दैछन् । विशेषज्ञहरूले यसलाई अन्तरिक्ष क्षेत्रमा शक्ति प्रदर्शनको रूपमा पनि व्याख्या गरेका छन् ।’
मधेसलाई नबुझी नेतृत्व गर्न सकिँदैन, काठमाडौंलाई बुझाउन उम्मेदवारी दिए: सभापति थापा
काठमाडौं । सर्लाही क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले काठमाडौंलाई मधेस बुझाउन सर्लाहीबाट उम्मेदवारी दिएको बताएका छन् । गोकर्णेश्वर नगरपालिकामा बसोबास गर्दै विभिन्न व्यापार, व्यवसाय तथा पेसामा संलग्न रहेका सर्लाही क्षेत्र नं ४ का मतदातासँग आज आयोजित अन्तरक्रिया कार्यक्रममा सभापति थापाले मधेस र काठमाडौंलाई जोड्न आफूले उम्मेदवारी दिएको बताए । उनले भने, ‘मेरो परिवार पहाडबाट काठमाडौं आउनुभयो, मैले आमाबाट पहाड बुझेँ । म काठमाडौंमा हुर्किएकाले सहर बुझेँ । अहिले पार्टी सभापति भएसँगै कांग्रेसलाई हुर्काउने र बढाउने मधेसलाई नबुझी राष्ट्रिय नेतृत्व गर्न सकिँदैन भन्ने लागेर मधेस आएको हुँ । म जस्तै काठमाडौंले मधेसलाई सतही रूपमा चिनेको छ, म आगामी पाँच वर्षमा काठमाडौँलाई मधेसको महत्व बुझाउने छु ।’ आगामी पाँच वर्षमा मधेसको समग्र विकासमा योजनाबद्ध काम गरेर आमनागरिकको दैनिकीमा परिवर्तन ल्याउने प्रतिबद्धता जनाए । ‘सर्लाही–४ मा मेरो शिक्षा, स्वास्थ्य, प्रविधि, कृषिलगायत टोलीले अध्ययन गरेर त्यहाँ गर्नुपर्ने कार्यका बारेमा सुझाव दिनुभएको छ, आगामी पाँच वर्षमा त्यहाँ आवश्यकताका आधारमा काम गर्नेछु । जसरी अहिले मलाई काठमाडौँ–४ का बासिन्दाले यहीँ चुनाव लड्नुस् भनेर आग्रह गर्नुभएको थियो, आगामी पाँच वर्षमा सर्लाही–४ का बासिन्दाले पनि त्यस्तै आग्रह गर्ने गरी काम गर्नेछु,’ सभापति थापाले भने । उनले आफ्नो ज्ञान र नेटवर्कको प्रयोग गरेर शिक्षा, स्वास्थ्य र उद्यमशीलताका विषयमा काम गर्ने भएकाले विस्तारै समस्या कम हुँदै जाने विश्वास व्यक्त गरे ।
नेपालगन्जमा ई-ड्राइभ नेपालको सेवा शुभारम्भ, ७ करोड बढी लगानी
काठमाडौं । लुम्बिनी प्रदेशमै पहिलो अनलाइन माध्यमबाट सञ्चालन हुने ट्याक्सी तथा मोटरसाइकल सेवा ‘ई-ड्राइभ नेपाल’ले आजदेखि नेपालगन्जमा औपचारिक रूपमा आफ्नो सेवा शुभारम्भ गरेको छ । नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले आज उक्त सेवाको शुभारम्भ गरेका हुन् । उक्त सेवा आजदेखि बाँके र बर्दियामा सुरु भएको हो । सो अवसरमा नगर प्रमुख विष्टले भने, ‘प्रविधिमैत्री यस्ता सेवाले शहरको यातायात सेवालाई सहज बनाउनुका साथै नागरिकलाई सुरक्षित र भरपर्दो सेवा उपलब्ध गराउने विश्वास छ ।’ नेपालगन्जमा सुरु गरिएको विद्युतीय ट्याक्सी सेवाले आफ्नै देशमा काम गर्ने वातावरण सिर्जना गरेको उनको भनाइ छ । १८ महिना अघि बुटवल-भैरहवा क्षेत्रबाट सुरु गरिएको ई-ड्राइभ सेवा अब बाँकेको प्रमुख सहर नेपालगन्जमा विस्तार गरिएको ई-ड्राइभ लुम्बिनीका निर्देशक विजय भण्डारीले जानकारी दिए । उनअनुसार आजदेखि बाँके र बर्दियामा एकसाथ ई-ड्राइभ नेपालको सेवा विस्तार भएको छ । निर्देशक भण्डारीले भने, ‘समयअनुसार सेवा प्रणाली प्रविधियुक्त डिजिटल बन्दै गइरहेको सन्दर्भमा ट्याक्सी सेवालाई पनि प्रविधिसँग जोडेर अनलाइन माध्यमबाट सुरक्षित, सहज र सुलभ सेवा प्रदान गर्ने उद्देश्यले नेपालगन्जमा सेवा सञ्चालनमा ल्याएका हौँ ।’ कार्यक्रममा ई-ड्राइभ लुम्बिनीका अध्यक्ष राजकुमार गुप्ताले युवाहरूलाई स्वदेशमै स्वरोजगार बनाउने र रोजगारी सिर्जना गर्ने लक्ष्यसहित यो सेवा सुरु गरिएको बताए । उनले भने, ‘युवालाई विदेश जान बाध्य पार्नुका सट्टा स्वदेशमै रोजगारी सिर्जना गर्ने हाम्रो उद्देश्य हो । आगामी दिनमा ई-ड्राइभ सेवालाई देशभर विस्तार गर्ने योजना बनाएका छौँ ।’ हाल ई-ड्राइभ लुम्बिनीले ७ करोड रुपैयाँभन्दा बढी लगानी गरेको छ । हाल रुपन्देहीमा ११० ट्याक्सी तथा ५ सयभन्दा बढी मोटरसाइकल चालकमार्फत सेवा दिँदै आएको ई-ड्राइभले नेपालगन्जमा प्रारम्भिक चरणमा १५ विद्युतीय ट्याक्सीमार्फत सेवा सुरु गरेको ई-ड्राइभ लुम्बिनीका निर्देशक भण्डारीले बताए ।
झापा-४ मा मतदाताको एउटै प्रश्न- कन्काई पुल कहिले बन्छ ?
काठमाडौं । हुलाकी राजमार्ग अन्तर्गत झापा गाउँपालिका-२ र गौरीगञ्ज गाउँपालिका-१ जोड्ने कन्काई नदीमा पुल निर्माण थालिएको १४ वर्ष भइसकेको छ तर त्यो अझै पूरा भएको छैन । ‘डिजाइन एण्ड बिल्ड’ ढाँचामा करसहित ३४ करोड ९ लाख रुपैयाँको लागतमा थालिएको ७२३ मिटर लामो पुलको निर्माण प्रगति भने ५६ प्रतिशत मात्र छ । निर्माण कम्पनीको ढिलासुस्तीबाट आजित भएको सडक विभागले ठेक्का रद्द गरेपछि अब पुल कहिले पूरा हुन्छ भन्ने अनिश्चितता बढेको छ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यासी भएकाहरूसँग यस क्षेत्रका मतदाताको एउटै प्रश्न छः कन्काई पुल कहिले बन्छ ? नेपाली कांग्रेस झापाका सभापतिसमेत रहेका प्रतिनिधिसभा सदस्यका उम्मेदवार देउकुमार थेवे लिम्बूले भने, ‘हामी प्रतिनिधिसभा सदस्यका उम्मेदवारले मतदाता भेट्न पुग्नासाथ आफ्ना एजेन्डा सुनाउनु पूर्व नै स्थानीयले पुल निर्माणको विषय उठाउने गरेका छन् । विकासको दृष्टिकोणले पछि परेको झापा-४ को विकास एजेन्डा नै हाम्रो पहिलो प्राथमिकता हो ।’ झापा गाउँपालिका-१ सितुमारीका छवि पौडेल भन्छन्, ‘अब मत माग्न आउने उम्मेदवारले विगतमा सुनाएजस्तो आश्वासनमा हामी अल्मिलिदैनौँ ।’ झापा-४ मा १ लाख ३० हजार ७१२ मतदाता छन् । यस निर्वाचन क्षेत्रमा १६ जना उम्मेदवारले चुनावी मैदानमा रहेका छन्, जसमा नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र अन्य वैकल्पिक दलका उम्मेदवार रहेका छन् । विसं २०४८ को पहिलो आम निर्वाचनदेखि झापा-४ राजनीतिक रूपमा मुख्य रूपमा कांग्रेस र एमालेबीचको प्रतिस्पर्धाको केन्द्रमा रहँदै आएको छ । विगतका निर्वाचन परिणामले देखाउँछ कि परम्परागत दुई दल अझै बलिया छन्, तर नयाँ राजनीतिक शक्ति र वैकल्पिक धारप्रति मतदाताको आकर्षण बढ्दै गएको छ । विसं २०७४ र २०७९ को प्रतिनिधिसभा निर्वाचनमा एमालेको वर्चस्व कायम रह्यो, तर राष्ट्रिय स्वतन्त्र पार्टी र वैकल्पिक दलहरूको प्रभावले पुराना र नयाँ शक्तिबीचको चुनावी समीकरणलाई रोचक बनाएको छ । फागुन २१ पछि मात्र झापा-४ मा परम्परागत राजनीतिक शक्ति कायम रहनेछ वा नयाँ राजनीतिक धारको उदय हुनेछ भन्ने टुङ्गो लाग्ने छ ।
पाँचथरमा मुख्य दल दबाबमा, नयाँ दलले बढाए प्रतिस्पर्धा
काठमाडौं । एक मात्रै प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेको पाँचथरमा नयाँ दलहरूको प्रभावले आगामी निर्वाचनको प्रतिस्पर्धालाई रोचक बनाएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचनका लागि पाँचथरमा १५ राजनीतिक दलका उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । मतदातामाझ नयाँ राजनीतिक दलहरूको बढ्दो प्रभावले प्रतिस्पर्धालाई बहुपक्षीय बनाउने सङ्केत गरेको छ । पाँचथरमा नेपाली कांग्रेसका नरेन्द्र कुमार केरुङ, नेकपा (एमाले) का अइन्द्रसुन्दर नेम्बाङ, नेपाली कम्युनिष्ट पार्टीका हर्कबहादुर नेम्बाङ, राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्रविक्रम थाम्सुहाङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका तेजकुमार कुरुम्बाङ र जनता समाजवादी पार्टी नेपालका मचिन्द्रप्रसाद बेघा चुनावी प्रतिस्पर्धामा छन् । यस्तै प्रगतिशील लोकतान्त्रिक पार्टीका प्रकाश काफ्ले, श्रम संस्कृति पार्टीका हस्तराज शेर्मा, नेपाल मजदुर किसान पार्टीका लक्षुमन तामाङ, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का विजय नेम्बाङ, मङ्गोल नेसनल अर्गनाइजेसनका रामकुमार तुम्रोक, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका भानुभक्त फियाक, नेपाल जनमुक्ति पार्टीका नरेन्द्रप्रसाद कुरुम्बाङ, राष्ट्रिय परिवर्तन पार्टी उज्यालो नेपाल पार्टीबाट संयुक्त रुपमा टेकबहादुर सुब्बा र राष्ट्रिय मुक्ति पार्टी नेपाल (एकल चुनाव चिह्न) का मित्र लिङ्देन चुनावी प्रतिस्पर्धामा छन् । विसं २०७९ मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पाँचथरमा रोमाञ्चक प्रतिस्पर्धाबाट नेकपा (एमाले) का वसन्तकुमार नेम्बाङ विजयी भएका थिए । नेम्बाङ र कांग्रेसहितको तत्कालीन गठबन्धनका उम्मेदवार भीष्मराज आङ्देम्बेले प्राप्त गरेको मतको अन्तर केवल ४६ मात्रै थियो । नेम्बाङले ३२ हजार १३५ मत प्राप्त गर्दा आङ्देम्बेले ३२ हजार ८९ मत पाएका थिए । उक्त निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका कमलबहादुर चेम्जोङले १ हजार ५७८ मत, जनता समाजवादी पार्टी नेपालका प्रेमराज लावतीले १ हजार २७४ मत र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका जसबहादुर योङहाङले १ हजार ११ मत पाएक थिए । अन्य उम्मेदवारले १ हजारभन्दा कम मात्रै मत पाएका थिए । उक्त निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ समेत पाँचथरमा एमाले पहिलो पार्टी बनेको थियो । एमालेले २६ हजार ५९२ मत प्राप्त गर्दा कांग्रेसले १९ हजार ४४ मत, तत्कालीन नेकपा (माओवादी केन्द्र) ले १२ हजार १६९ मत, तत्कालीन नेकपा (एकीकृत समाजवादी)ले ३ हजार ३८७ मत, राप्रपाले २ हजार ४४२ मत, राष्ट्रिय स्वतन्त्र पार्टीले १ हजार ९४८ मत, जसपा नेपालले १ हजार ७११ मत र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले १ हजार ६४० मत पाएका थिए । सङ्घीय व्यवस्था लागू भएपछिका दुवै निर्वाचनमा एमालेका नेम्बाङ र कांग्रेसका आङ्देम्बेको प्रतिस्पर्धाले धेरै मतदाता उहाँहरुकै प्रभावमा देखिन्थे । तर बिरामी परेर उपचाररत नेम्बाङ र समानुपातिक बन्दसूचीमा रहनुभएका आङ्देम्बेको प्रतिस्पर्धात्मक उपस्थिति नहुँदा मतदाताको रुझान कुन दल र उम्मेदवारतर्फ हुन्छ भन्ने यकिन हुन चुनावी परिणाम पर्खनै पर्ने अवस्था बनेको छ । पाँचथरमा २०७४ साल र २०७९ सालको निर्वाचनमा पहिलो दल बनेको एमालेलाई आफ्नो विरासत जोगाइ राख्नुपर्ने चुनौती छ । विसं २०७९ मा गठबन्धनका उम्मेदवारलाई पराजित गरेको एमाले आफ्नो मत कायम गराउन लागिपरेको देखिन्छ । दुवै पटक कुनै पनि उम्मेदवारलाई विजयी गराउन नसकेको कांग्रेस यस पटक जित निकाल्ने ध्याउन्नमा छ । विशेष महाधिवेशनबाट पाएको ऊर्जालाई कांग्रेसले मतदातामाझ पुर्याउने प्रयास गरिरहेको छ । तत्कालीन माओवादी केन्द्र र एकीकृत समाजवादीको एकतापछि पाँचथरमा नेपाली कम्युनिष्ट पार्टी पनि प्रतिस्पर्धी शक्तिका रुपमा स्थापित भएको छ । कतिपय पहिचान पक्षधर व्यक्तिलाई पनि समेट्न सफल भएका कारण नेकपा उत्साहित देखिन्छ । तर पाँचथरमा मुख्य गरी राष्ट्रिय स्वतन्त्र पार्टी, श्रम संस्कृति पार्टी र उज्यालो नेपाल पार्टी एवं राष्ट्रिय परिवर्तन पार्टीले मुख्य दलहरुलाई चुनौती दिइरहेका छन । यी दलका तीन उम्मेदवारले मुख्य तीन दलकै मतदातालाई क्रमशः प्रभावित गरिरहेका छन् । तीनवटै दलले चुनाव जित्ने दाबीसहित चुनाव प्रचारसँगै गाउँगाउँमा सङ्गठन निर्माण गरेपछि मुख्य दलको वास्तविक शक्ति यकिन हुन सकेको छैन । नयाँ दलको प्रभावले दबावमा परेका मुख्य दलसहित सबै दलका उम्मेदवार मतदाता भेट्न गाउँगाउँ पुगिरहेका छन् । वडा, टोल तथा बस्तीसम्म पुगेर उम्मेदवारले चुनावी माहौल तयार गरिरहँदा मतदाता पनि मतदानका लागि उत्साहित बन्न थालेका छन् । पाँचथरमा १ लाख ४३ हजार ४०८ मतदाता रहेका छन् । पुरुष मतदाता ७६ हजार ७८ र महिला मतदाता ६७ हजार ३३० रहेका छन् ।