विकासन्युज

एनआईसी एशिया बैंकद्वारा डोटी र सिन्धुपाल्चोकका दुई विद्यालयलाई शैक्षिक सामग्री सहयोग

काठमाडौं । एनआईसी एशिया बैंकले डोटी र सिन्धुपाल्चोकका दुई सामुदायिक विद्यालयलाई शैक्षिक तथा आवश्यक सामग्री सहयोग गरेको छ । बैंकले केआई सिंह गाउँपालिका–४, बगर वायल, डोटीस्थित श्री सरस्वती आधारभूत विद्यालयलाई वाटर डिस्पेन्सर तथा चौतारा साँगाचोकगढी नगरपालिका–१२, सिन्धुपाल्चोकस्थित श्री जन जागृति माध्यमिक विद्यालयलाई एक थान ल्यापटप, तीन थान डेस्कटप कम्प्युटर र एक थान प्रोजेक्टर प्रदान गरेको हो । डोटीस्थित श्री सरस्वती आधारभूत विद्यालयमा प्रारम्भिक बाल विकासदेखि कक्षा ५ सम्म अध्ययनरत ३६ भन्दा बढी विद्यार्थीमध्ये २१ जना बाबुआमा गुमाएका तथा सीमान्तकृत विद्यार्थीलाई आवासीय सुविधा उपलब्ध गराइँदै आएको छ । बैंकका दिपायल शाखा प्रमुख रमेश ओझाले एक कार्यक्रमबीच विद्यालयका प्रधानाध्यापक पदमसिंह विष्टलाई वाटर डिस्पेन्सर हस्तान्तरण गरेका हुन् । यस्तै, प्रारम्भिक बाल विकासदेखि कक्षा १२ सम्म अध्ययन हुने श्री जन जागृति माध्यमिक विद्यालयका करिब ४५० विद्यार्थीको प्रविधिमा पहुँच बढाउने उद्देश्यले बैंकले ल्यापटप, कम्प्युटर र प्रोजेक्टर उपलब्ध गराएको जनाएको छ । आयोजित कार्यक्रममा बैंकको ईएसजी एन्ड सस्टेनेबल बैंकिङ विभाग प्रमुख सोफी अधिकारी पौड्याल र बनेपा सर्कल हेड अमृतमान श्रेष्ठले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपेन्द्रप्रसाद नेपाल तथा प्रधानाध्यापक ध्रुवराज गिरीलाई संयुक्त रूपमा सामग्री हस्तान्तरण गरेका थिए । बैंकले उपलब्ध गराएको सहयोगबाट विद्यार्थीको पठनपाठन थप प्रभावकारी हुनुका साथै गुणस्तरीय शिक्षा र सूचना प्रविधिमा पहुँच विस्तार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।

बीमा सर्भेयरको पोर्टफोलियो कायम गर्न प्राधिकरणको निर्देशन

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा सर्भेयरको पोर्टफोलियो कायम गर्न निर्देशन जारी गरेको छ । प्राधिकरणले मंगलबार एक सूचना जारी गर्दै बीमा ऐन, २०७९, बीमा नियमावली, २०८१ तथा बीमा सर्भेयरसम्बन्धी निर्देशन, २०८३ बमोजिम इजाजतप्राप्त सम्पूर्ण बीमा सर्भेयरका नाममा पोर्टफोलियो काम गर्न निर्देशन दिएको हो ।  सूचना प्रकाशन भएको १० दिनभित्र पोर्टफोलियो कायम गर्न प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणले जारी सूचनाअनुसार सर्भेयरले  आईआरएमआईएस प्रणालीमा बीमा सर्भेयरको व्यक्तिगत विवरण (केवाईसी) स्पष्ट र बुझिने कागजात अपलोड गरी अद्यावधिक गर्नुपर्नेछ ।  बीमा ऐनको दफा ९१ को उपदफा (५) बमोजिम सबै व्यक्तिगत इजाजतपत्र प्राप्त गरेका बीमा सर्भेयरले बीम नियमावलीको नियम ४५ (१) अनुसार आफ्नो विशेषज्ञता रहेको रोजेको पोर्टफोलियोको इजाजतपत्र कायम गर्न पोर्टफोलियो उल्लेख गरी निवेदन पेस गर्नुपर्नेछ । त्यस्तै बीमा नियमावलीको नियम ४९ को उपनियम (२) बमोजिम सबै संस्थागत इजाजतपत्र प्राप्त गरेका बीमा सर्भेयरले वर्गविहीन इजाजतपत्र कायम गर्न निवेदन पेस गर्नुपर्नेछ । बीमा नियमावलीको नियम ४९ को उपनियम (१) खण्ड (ग) बमोजिम ‘ग’ वर्गको इजाजतपत्र कायम गर्न ‘घ’ वर्गका सबै व्यक्तिगत इजाजतपत्र प्राप्त गरेका बीमा सर्भेयरले निवेदन पेस गर्नुपर्नेछ ।  

सुरक्षित यात्राका लागि इनड्राइभले ल्यायो निःशुल्क अनलाइन ड्राइभिङ कोर्स

काठमाडौं । राइड–हेलिङ प्लेटफर्म इनड्राइभ नेपालले चालक साझेदारको सीप, आत्मविश्वास र सडक सुरक्षालाई सुदृढ बनाउने उद्देश्यले ‘सेफ ड्राइभिङ अनलाइन कोर्स’ सञ्चालनमा ल्याएको छ । कम्पनीका अनुसार मोबाइलबाटै सहज रूपमा अध्ययन गर्न मिल्ने गरी तयार गरिएको यो तालिमले चालक साझेदारलाई सुरक्षित यात्रा, सडक सुरक्षा तथा आपत्कालीन अवस्थाको व्यवस्थापनसम्बन्धी व्यावहारिक ज्ञान प्रदान गर्नेछ । हाल कोर्स सञ्चालनमा आइसकेको र धेरै चालकले पूरा गरिसकेको कम्पनीले जनाएको छ । अब यो कार्यक्रम नेपालभर रहेका एक लाखभन्दा बढी इनड्राइभ चालक साझेदारसम्म विस्तार गर्ने लक्ष्य राखिएको छ । करिब २० मिनेटमा पूरा गर्न सकिने यो कोर्स चालकहरूको व्यस्ततालाई ध्यानमा राखेर तयार गरिएको कम्पनीले जनाएको छ । कोर्समा तीन मुख्य विषय समेटिएका छन् । पहिलोमा प्लेटफर्म सुरक्षा र व्यावसायिक आचरण, दोस्रोमा राइड–हेलिङ सेवासम्बन्धी सडक सुरक्षा र सुरक्षित ड्राइभिङ तथा तेस्रोमा आपत्कालीन अवस्था, रिपोर्टिङ र एसओएस सुविधाको प्रयोगबारे प्रशिक्षण दिइन्छ । प्रत्येक मोड्युलमा छोटो शैक्षिक भिडियो र मूल्यांकनका लागि प्रश्नहरू समावेश गरिएको छ । कम्पनीका अनुसार सबै मोड्युल सफलतापूर्वक पूरा गर्ने चालकले प्रमाणपत्र प्राप्त गर्नेछन्। पहिलो प्रयासमा उत्तीर्ण हुन नसके पनि पुनः परीक्षा दिन सकिने व्यवस्था गरिएको छ । इनड्राइभ नेपालकी सिनियर ड्राइभर अपरेसन स्पेसालिस्ट सुनिता जिमी राईले चालकले एप प्रयोगमा मात्रै नभई सडकमा आउने हरेक परिस्थितिलाई सुरक्षित रूपमा सामना गर्न सकून् भन्ने उद्देश्यले कोर्स तयार गरिएको बताइन् । उनका अनुसार यो तालिम नियम पालना मात्र नभई चालक र यात्रु दुवैको सुरक्षाका लागि व्यावहारिक सीप विकासमा केन्द्रित छ । कम्पनीले यो पहलले चालकमा सुरक्षा सचेतना, जोखिम व्यवस्थापन क्षमता र कठिन परिस्थितिमा सही निर्णय गर्ने आत्मविश्वास बढाउने विश्वास व्यक्त गरेको छ ।

व्यापार समितिको सभापति बनेका नवीन रिजाललाई मोरङ उद्योग व्यापार संघको सम्मान

काठमाडौं । मोरङ उद्योग वाणिज्य संघले नेपाल उद्योग वाणिज्य महासंघमा नवीन रिजालले नयाँ जिम्मेवारी पाएकोमा बधाई तथा शुभकामना व्यक्त गरेको छ । संघले रिजालको नयाँ भूमिकाले महासंघ र निजी क्षेत्रको नेतृत्वलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरेको हो । संघले जारी गरेको विज्ञप्तिअनुसार महासंघको हालै गठित कार्यसमितिमा रिजालले महासंघको व्यापार समितिको नेतृत्वमा नयाँ जिम्मेवारी पाएका छन् । यसअघि पनि उनी महासंघको कार्यकारिणी समिति सदस्यका रूपमा सक्रिय रहँदै आएका थिए । मोरङ उद्योग वाणिज्य संघका अध्यक्ष अनुपम राठीको नेतृत्वमा आयोजित कार्यक्रममा रिजाललाई बधाई दिँदै उनको लामो अनुभव, नेतृत्व क्षमता र निजी क्षेत्रको हितमा खेलेको भूमिकाको प्रशंसा गरिएको छ । संघले उद्योगी–व्यवसायीका मुद्दा उठाउन र निजी क्षेत्रको हकहित संरक्षणमा उनले खेलेको भूमिका प्रेरणादायी रहेको जनाएको छ । अध्यक्ष राठीले रिजालको अनुभव, कार्यकुशलता र परिणाममुखी नेतृत्वका कारण महासंघले सक्षम नेतृत्व पाएको उल्लेख गर्दै उनको उपस्थितिले महासंघ तथा व्यापार समितिलाई थप सशक्त र क्रियाशील बनाउने विश्वास व्यक्त गरेका छन् । संघले रिजालको नयाँ जिम्मेवारीले मोरङ उद्योग वाणिज्य संघ मात्र नभई समग्र निजी क्षेत्रको प्रतिष्ठा र प्रतिनिधित्वलाई समेत थप मजबुत बनाएको विश्वास व्यक्त गरेको छ।

४५ अर्बको ऋणपत्र जारी गर्दैै राष्ट्र बैंक

काठमाडाै । नेपाल राष्ट्र बैंकले आज ४५ अर्ब रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने भएको छ । बैंकिङ प्रणालीमा अधिक तरलता व्यवस्थापन गर्न आज पनि बैंकले  ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ ख’ जारी गर्ने भएको हो । यो ऋणपत्रमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले आवेदन दिन पाउनेछन् । राष्ट्र बैंकका अनुसार ऋणपत्रको बोलकबोल आज दिउँसो ३ बजे अनलाइनबाट हुने छ । बोलकबोलका माध्यमबाटै यो ऋणपत्रको ब्याजदर निर्धारण हुनेछ । बैंकले जारी गर्न लागेको यो ऋणपत्र एक वर्षे अवधिको लागि हो । यसको साँवा भुक्तानी २०८४ असार १७ गते हुने भने ब्याज अर्धवार्षिक रुपमा भुक्तानी गरिनेछ । यस ऋणपत्रमा न्यूनतम ५ करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलपत्र पेस गर्न सकिनेछ। 

नेपाल लाइफले जित्यो उत्कृष्ट वार्षिक प्रतिवेदनको गोल्ड अवार्ड

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ‘नेसनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट (बीपीए) अवार्ड–२०२५’ अन्तर्गत गोल्ड अवार्डबाट सम्मानित भएको छ । कम्पनीले आफ्नो २५औँ वार्षिकोत्सवको अवसरमा यो उपलब्धि हासिल गरेको हो । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) ले आयोजना गरेको विशेष समारोहमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र नायब प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयालले संयुक्त रूपमा उक्त अवार्ड ग्रहण गरेका हुन् । आर्थिक वर्ष २०८१/८२ को वार्षिक वित्तीय प्रतिवेदनको उत्कृष्ट प्रस्तुति, वित्तीय पारदर्शिता, पर्याप्त खुलासा, वित्तीय प्रतिवेदन मापदण्डको प्रभावकारी पालना तथा संस्थागत सुशासनप्रतिको प्रतिबद्धताका आधारमा नेपाल लाइफलाई उक्त सम्मान प्रदान गरिएको कम्पनीले जनाएको छ । अवार्ड प्राप्तिपछि प्रमुख कार्यकारी अधिकृत पराजुलीले यो सम्मान सम्पूर्ण नेपाल लाइफ परिवारका लागि गौरवको विषय भएको बताउँदै यसले वित्तीय पारदर्शिता, सुशासन र उत्कृष्ट कार्यसम्पादनलाई अझ सुदृढ बनाउन प्रेरणा मिलेको प्रतिक्रिया दिएका छन् । उनले बीमित, अभिकर्ता, कर्मचारी, शेयरधनी, नियामक निकाय तथा अन्य सरोकारवालाप्रति आभार व्यक्त गरेका छन् । कम्पनीका अनुसार चैत मसान्त २०८३ सम्म ५२ लाख ४० हजारभन्दा बढी बीमालेख जारी गरिएको छ । नेपाल लाइफले २ खर्ब ६७ अर्ब रुपैयाँभन्दा बढीको जीवन बीमा कोष व्यवस्थापन गर्दै हालसम्म १ खर्ब १३ अर्ब रुपैयाँभन्दा बढी दाबी भुक्तानी गरेको जनाएको छ । त्यसैगरी कम्पनीले नेपाल सरकारलाई १७ अर्ब रुपैयाँभन्दा बढी राजस्व तथा कर बुझाइसकेको छ । साथै, इक्रा नेपालबाट ‘डबल ए माइनस (AA-)’ क्रेडिट रेटिङ प्राप्त गर्ने नेपालको पहिलो जीवन बीमा कम्पनी बनेको दाबी गरेको छ । हाल कम्पनीका ७७ वटै जिल्लामा १९७ कार्यालय र ६५ हजारभन्दा बढी सक्रिय अभिकर्ता सञ्जाल रहेको छ । नेपाल लाइफले आगामी दिनमा पनि ‘विश्वास, पारदर्शिता र उत्कृष्ट सेवा’लाई प्राथमिकतामा राख्दै नागरिकको आर्थिक सुरक्षा र समृद्ध भविष्य निर्माणमा योगदान दिने प्रतिबद्धता जनाएको छ ।

इक्वेडरलाई हराउँदै मेक्सिको अन्तिम १६ मा प्रवेश

काठमाडौं । आयोजक राष्ट्र मेक्सिकोले फिफा विश्वकप २०२६ को अन्तिम ३२ चरणमा इक्वेडरलाई २–० ले पराजित गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ । मेक्सिको सिटी स्टेडियममा बुधबार बिहान भएको खेलमा घरेलु टोलीका लागि जुलियन किन्योनेस र राउल जिमेनेजले एक–एक गोल गरे । खेल सुरु हुनुअघि खराब मौसमका कारण केही समय ढिलाइ भए पनि त्यसले मेक्सिकोको लयमा कुनै असर पारेन । मेक्सिकोले पहिलो हाफमै खेल आफ्नो नियन्त्रणमा लिएको थियो । जुलियन किन्योनेसले उत्कृष्ट व्यक्तिगत प्रयासमा पहिलो गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाए । त्यसको केही समयपछि इक्वेडरका डिफेन्डरको गल्तीको फाइदा उठाउँदै अनुभवी फरवार्ड राउल जिमेनेजले दोस्रो गोल गरेपछि मेक्सिको २–० ले अघि बढ्यो । दोस्रो हाफमा इक्वेडरले खेलमा फर्कने प्रयास गरे पनि मेक्सिकोको सुदृढ रक्षापङ्क्ति र गोलरक्षकले कुनै अवसर सफल हुन दिएनन् । इक्वेडरका जोन येबोहको प्रहार पोस्टमा लागेर फर्किएको थियो भने इन्जुरी समयमा पिएरो हिन्कापिए रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भएको थियो । समूह चरणका तीनै खेलमा अपराजित रहँदै नकआउट पुगेको मेक्सिकोले अन्तिम ३२ मा पनि प्रभावशाली प्रदर्शनलाई निरन्तरता दिँदै लगातार चौथो जित र चौथो क्लिनसिट दर्ता गर्यो । घरेलु समर्थकको साथमा मेक्सिकोले खेलभर उत्कृष्ट लय कायम राख्दै अन्तिम १६ को यात्रा तय गरेको हो । यस जितसँगै मेक्सिकोले अन्तिम १६ मा स्थान बनाएको छ।  अब उसले इङ्ग्ल्यान्ड र डीआर कङ्गोबीच हुने अन्तिम ३२ चरणको खेलको विजेतासँग क्वार्टरफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ ।

कालीमाटी बजारको मूल्यसूची : उपभोक्ताले कुन वस्तु कति मूल्यमा पाउँछन् ?

काठमाडौं ।  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४५, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु १५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु २५, आलु रातो (लाम्चो) प्रतिकिलो रु ४०, आलु रातो (गोलो) प्रतिकिलो रु ३५, आलु रातो (मुढे) प्रतिकिलो रु ३५, आलु रातो (भारतीय) प्रतिकिलो रु ३०, सेतो आलु प्रतिकेजी ३०, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ५५ रहेको छ । यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु १००, बन्दा (लोकल) प्रतिकिलो रु ६०, काउली स्थानीय प्रतिकिलो रु ९०, रातो मूला प्रतिकिलो रु ३०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २०, भन्टा लाम्चो प्रतिकिलो रु २० र भन्टा डल्लो प्रतिकिलो रु ४० कायम भएको छ । समितिका अनुसार मकै बोडी प्रतिकिलो रु ५०, मटरकोसा प्रतिकिलो रु १३०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ६०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ६०, घिउ सिमी (राजमा) प्रतिकिलो रु ८०, टाटे सिमी प्रतिकिलो रु ५०, भटमास कोसा प्रतिकिलो रु १००, तीते करेला प्रतिकिलो रु ३०, लौका प्रतिकिलो रु ४०, परवर (लोकल) प्रतिकिलो रु ३०, परवर (तराई) प्रतिकिलो रु ३०, चिचिण्डो प्रतिकिलो रु ३०, घिरौँला प्रतिकिलो रु ४०, झिगुनी प्रतिकिलो रु ५०, फर्सी पाकेको प्रतिकिलो रु ६०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ५०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु २५, भिन्डी प्रतिकिलो रु ३०, सखरखण्ड प्रतिकिलो रु १२० र पिँडालु प्रतिकिलो रु १००, इस्कुस प्रतिकिलो रु ५० कायम भएको छ । रायोसाग प्रतिकिलो रु ४०, पालुङ्गो प्रतिकिलो रु ६०, चमसुरको साग प्रतिकिलो रु ६०, तोरीको साग प्रतिकिलो रु ५०, हरियो प्याज प्रतिकिलो रु १५०, च्याउ (कन्य) प्रतिकिलो रु २५०, च्याउ (डल्ले) प्रतिकिलो रु ४००, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकिलो रु १,००० निर्धारण भएको छ । कुरिलो प्रतिकिलो रु ३००, निगुरो प्रतिकेजी रु १००, ब्रोकाउली प्रतिकिलो रु ७०, चुकन्दर प्रतिकेजी रु ८०, सजीवन प्रतिकेजी रु २५०, रातो बन्दा प्रतिकिलो रु ५०, जिरीको साग प्रतिकिलो रु ९०, सेलरी प्रतिकिलो रु १६०, पार्सले प्रतिकिलो रु ३५०, सौफको साग प्रतिकिलो रु ६०, पुदिना प्रतिकिलो रु २००, गान्टेमूला प्रतिकिलो रु ६०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १६०, तोफु प्रतिकिलो रु १६० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकिएको छ । स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (नेपाली) दर्जन २५०, केरा (मालभोग) २००, कागती प्रतिकिलो रु २००, अनार प्रतिकिलो रु ४५०, आँप (मालदह) प्रतिकिलो रु ११०, आँप (दशहरी) प्रतिकिलो रु १२०, तरबुजा (हरियो) प्रतिकिलो रु ६०, जुनार प्रतिकिलो रु २३०, भुइँकटहर प्रतिगोटा रु २००, काँक्रो (लोकल) प्रतिकिलो रु ७०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ३०, काँक्रो (लोकलक्रस) प्रतिकिलो रु ६०, रूखकटहर प्रतिकिलो रु ५०, नासपाती (चाइनिज) प्रतिकिलो रु २५०, मेवा (नेपाली) प्रतिकिलो रु ९०, मेवा (भारतीय) प्रतिकिलो रु १२०, लिची (लोकल) रु २००, लिची (भारतीय) रु ३००, नरिवल (काँचो) प्रतिकिलो रु ७० नरिवल (हरियो) प्रतिकिलो रु १७०, अदुवा प्रतिकिलो रु १८०, सुकेको खुर्सानी प्रतिकिलो रु ५००, खुर्सानी हरियो (लाम्चो) प्रतिकिलो रु ३५, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ३०, माछे खुर्सानी प्रतिकिलो रु ५०, अकबरे प्रतिकिलो रु २५०, भेडेखुर्सानी प्रतिकिलो रु ९०, हरियो लसुन प्रतिकिलो रु २००, हरियो धनियाँ प्रतिकिलो रु १००, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २००, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु १७०, माछा सुकेको प्रतिकिलो रु १,०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३०० र ताजा माछा (छडी) प्रतिकिलो रु २५० निर्धारण भएको छ ।