मतदाता नामावली संकलन उत्साहजनक : निर्वाचन आयोग
काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि देशव्यापी मदाता नामावली संकलन जारी छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार पछिल्लो समयमा नागरिकको उत्साहजनक रुपमा मतदाता नामावली संकलन अगाडि बढीरहेको छ । यही कात्तिक ३० गतेसम्म मतदाता नामावली संकलन हुनेछ । आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन हुँदैछ । सो निर्वाचनका लागि मतदाता नामावलीमा नाम दर्ता भएकामध्ये फागुन २० गतेसम्म अठार वर्ष उमेर पूरा हुने मतदाताले मात्र मतदान गर्न पाउने छन् । आयोगका अनुसार सो मितिसम्म अठार वर्ष उमेर पूरा हुने र नागरिकताको प्रमाणपत्र प्राप्त गरेका सबै नेपाली नागरिकले यही कार्तिक ३० गते भित्र मतदाता नामावलीमा नाम दर्ता गराउन पुनः अनुरोध गरिएको छ । मतदाता नामावली दर्तामा अधिक सहभागिताका कारण मतदाता नामावली दर्ता सर्भरमा अत्यधिक चाप पर्न गई सेवाग्राहीलाई सेवा लिन असहज भएको गुनासो आउने गरेको आयोगले जनाएको छ । प्रतिनिधि सभा सदस्य निर्वाचन सम्पन्न भए पश्चात विगतमा जस्तै १६ वर्ष उमेर पूरा भई नागरिकताको प्रमाणपत्र प्राप्त गरेका सबै नेपाली नागरिकले मतदाता नामावलीमा नाम दर्ता गर्न पाउने छन् ।
नेपालको जलवायु प्रतिबद्धता, साझा सहकार्य र तत्कालीन कार्यको आह्वान
काठमाडौं । नेपालले जलवायु परिवर्तनका सम्बन्धमा विश्वसामु साझा सहकार्य, जलवायु न्याय र दिगो भविष्यका लागि तत्कालीन कार्यको आह्वान गरेको छ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका पक्ष राष्ट्रहरूको ३०औँ सम्मेलन (कोप–३०) पूर्वसन्ध्यामा यही कात्तिक २० र २१ गते भएको ‘लिडर समिट’मा नेपालले सो आह्वान गरेको हो । वन तथा वातावरण मन्त्रालयका सचिव डा राजेन्द्रप्रसाद मिश्रले नेपालको तर्फबाट वक्तव्य दिँदै नेपालले प्रकृतिमैत्री प्रणाली र वातावरणीय संरक्षणलाई सधैँ प्राथमिकतामा राखेको उल्लेख गरेका छन् । 'हाम्रो ४६ प्रतिशत भूभाग वनले ढाकिएको छ, जुन स्थानीय समुदाय र आदिवासी जनजातिको सक्रिय सहकार्यमा सुरक्षित गरिएको छ', उनले भने, 'सगरमाथा र हिमालय हाम्रो पहिचान मात्र होइन, अर्बौं जनताका लागि जैविक विविधता, स्वच्छ हावा र पानीका प्रमुख स्रोत हुन् । यस कारण नेपाल विश्व जलवायु प्रणाली सन्तुलनमा महत्त्वपूर्ण योगदानकर्ता हो ।' सचिव डा. मिश्रले नेपालको कार्बन उत्सर्जन अत्यन्त न्यून भए पनि बलियो नीति र कार्यमार्फत अग्रणी भूमिकामा रहेको उल्लेख गर्दै भने, 'हाम्रो एनडिसी ३.० र एनएपीले पेरिस सम्झौताप्रतिको प्रतिबद्धता झल्काउँछन् । हामी जीवाष्म इन्धनको चरणबद्ध अन्त्य गर्दै विद्युतीय सवारी र स्वच्छ ऊर्जातर्फ तीव्र रूपान्तरणमा छौँ ।' सगरमाथा संवाद र साझा दृष्टिकोण सचिव डा मिश्रले यस वर्ष काठमाडौंमा सम्पन्न सगरमाथा संवादको स्मरण गर्दै सगरमाथा संवादले बहुपक्षीयता सुदृढ गर्ने र तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसभित्र सीमित राख्ने साझा प्रतिबद्धतालाई पुनः पुष्टि गरेको अवगत गराए । यी प्रयासहरूका बाबजुत नेपालमा जलवायु सङ्कट तीव्र बन्दै गएको उल्लेख गर्दै उनले यस वर्ष मात्र बाढी, पहिरो, खडेरी, हिमताल फुट्ने घटना र वन डढेलोका कारण तीन सयभन्दा बढी नेपालीले ज्यान गुमाउनुपरेको अवगत गराए । उनले पेरिस सम्झौताले परिणाम दिन थालेको तर आवश्यक गति र परिमाण भने अपेक्षानुसार नभएको उल्लेख गर्दै कमजोर देशका लागि वित्त र प्रविधिको पहुँच अझै जटिल र महँगो भएकाले यसलाई सहज र सबैका लागि सुलभ बनाउनुपर्नेमा जोड दिए । नेपालले यस सम्मेलनबाट १.५ डिग्री सेल्सियस तापक्रम लक्ष्यलाई मार्गमा राख्ने रोडम्याप कार्यान्वयन, ‘बाकु–बेलेम रोडम्याप’अन्तर्गत १.३ ट्रिलियन अमेरिकी डलर बराबरको जलवायु वित्त जुटाउने लक्ष्य पूरा, अनुकूलन कोषमा तीन गुणा वृद्धि र हानिनोक्सानीलाई पूर्ण रूपमा कार्यान्वयन गरी कमजोर देशहरूले सो कोषमा प्रत्यक्ष र सरल पहुँच पाउने व्यवस्थाको अपेक्षा गरेको उनले बताए । 'हामीसँग अब ढिलाइ गर्ने समय छैन । नेपाल विश्वव्यापी पहलहरूसँग कदम मिलाएर यो आपतकालीन अवस्थालाई सम्बोधन गर्न प्रतिबद्ध छ', सचिव डा. मिश्रले भने, 'आउनुहोस्, हाम्रो जनता, उनीहरूको जीविका र हाम्रो पृथ्वीको सुरक्षाका लागि अब मिलेर कार्य गरौँ ।' कोप–३० मुख्य सम्मेलन यही नोभेम्बर १० देखि २१ तारिख (यही कात्तिक २४ देखि मङ्सिर ५ गतेसम्म) सम्म आयोजना हुँदैछ । यसअघिका सम्मेलनमा उद्घाटनको पहिलो र दोस्रो दिन उच्चस्तरीय राजनीतिक नेतृत्वलाई आमन्त्रण गरी उच्चस्तरीय सत्र गरिन्थ्यो । कोप–३० मा भने सम्मेलनको तीन दिनअगाडि नै उच्चतस्तरीय सत्र आयोजना गरी राजनीतिक र प्राविधिक सत्रलाई अलग–अलग गरिएको छ । कृषिमन्त्री डा. परियारको नेतृत्वमा सहभागिता कोप–३० मा नेपालले मन्त्रिस्तरीय सहभागिता जनाउने गरी तयारी गरेको छ । वन मन्त्रालयका अनुसार मुुलुकको बदलिँदो राजनीतिक परिस्थितिका कारण नेपालले कृषि तथा पशुपन्छी विकासमन्त्री डा मदनप्रसाद परियारको नेतृत्वमा नौ सदस्यीय सानो र छरितो टिलीसहित सहभागिता जनाउने छ । सम्मेलनमा लागि मन्त्रीसहितको टोली यही कात्तिक २९ गते ब्राजिल प्रस्थान गर्ने वन मन्त्रालयको जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका प्रमुख एवं सहसचिव डा. महेश्वर ढकालले जानकारी दिए। कोप–३० सम्मेलनमा नेपालले सगरमाथा संवादका निष्कर्षका साथ सम्मेलनका उपलब्धिको विश्वव्यापी समीक्षा, जलवायुजन्य हानिनोक्सानी, अनुकूलन, न्यूनीकरण, कार्बन वित्त र पेरिस सम्झौताको धारा ६ विषयमा आधारित रहेको आफ्ना एजेन्डा प्रस्तुत गर्ने तयारी गरेको छ । त्यस्तै जलवायु वित्त, जलवायुका विषयमा पारदर्शिता ढाँचा, पर्वत, क्षमता अभिवृद्धि र प्रविधि हस्तान्तरण तथा जलवायु न्यायका विषयमा आधारित रहेको एजेन्डा प्रस्तुत गर्ने तयारी रहेको डा. सहसचिव ढाललले जानकारी दिए । यसैगरी मन्त्रालयले सम्मेलनको तयारीका लागि सरोकारवाला सरकारी, गैरसरकारी, विकास साझेदारलगायतका प्रतिनिधिसहितको चरणबद्ध बैठक गरी राष्ट्रिय स्थितिपत्र तयार गरिसकेको छ । परिवर्तित जलवायुका कारण नेपालमा पछिल्लो समय मनसुनी वर्षाको प्रकृति, मात्रा तथा समय तालिकामा व्यापक हेरफेर देखिन थालेको छ । यसप्रकारको हेरफेरका कारण उत्पन्न हुने जलवायुजन्य प्रकोप र विपद्ले गर्दा नेपालले ठूला जलवायुजन्य हानिनोक्सानीको सामना गर्नुपरिरहेको छ । यस्तो अवस्थामा नेपालले कोप–३० मा जलवायुजन्य हानिनोक्सानीको विषयलाई बढी जोड दिनुपर्ने आवश्यकता देखिन्छ । रासस
त्रिवि चमेना गृह परियोजनामा अवरोध, व्यवसायीले भने– ‘अब मौन बस्दैनौं’
काठमाडौं । त्रिभूवन विश्वविद्यालय (त्रिवि) मा निर्माणाधीन चमेना गृह भवनको काममा अवरोध गर्ने विद्यार्थी नेताहरूलाई निर्माण व्यवसायीहरूले चेतावनी दिएका छन् । विद्यार्थी संगठनका नेताहरूले काम शुरु भएपछि विभिन्न बहानामा अवरोध गर्ने र पैसा असुल्ने गरेको आरोप लगाउँदै व्यवसायीहरूले आगामी दिनमा यस्तो गतिविधि भए मौन नबस्ने बताएका हुन् । निर्माण व्यवसायी समन महर्जनले त्रिवि बोर्डमा ठेक्का निर्णय प्रक्रियामा विद्यार्थी संगठनका प्रतिनिधिहरू सहभागी हुने गरेको तर काम शुरु भएपछि उनीहरू नै निर्माण रोक्ने र दबाब दिने गरेको आरोप लगाए । ठेक्का प्रक्रियामा विद्यार्थी नेताहरू बोर्डमा बसेर निर्णय गर्ने गरेको उनको भनाइ छ । तर काम शुरु भएपछि पैसा माग्ने गरेको महर्जनले बताए । यदि सो क्षेत्र वन वा हरियो क्षेत्र जोगाउनुपर्ने थियो भने ठेक्का अघि नै जानकारी दिनुपर्ने निर्माण व्यवसायी महर्जनको भनाइ छ । महर्जनले केही त्रिवि कर्मचारीले विद्यार्थीलाई उचालेर व्यवसायीसँग पैसा असुल्न लगाउने गरेको गम्भीर आरोप लगाए । व्यवसायी महर्जनले विद्यार्थीको नाममा गुण्डाहरूले धम्की दिने, थर्काउने र पैसा माग्ने काम गर्ने गरेको बताउँदै यस्ता गतिविधिमा संलग्नहरूलाई कीर्तिपुरवासीले ‘तह लगाउने’ चेतावनी दिएका छन् । उपकुलपति, शिक्षाध्यक्ष र रजिस्ट्रारको कार्यालयबीच निर्माण हुन लागेको चमेना गृह परियोजना गत मंगलबार विद्यार्थीको विरोधका कारण अस्थायी रूपमा रोकिएको थियो । साउनबाट शुरु भएको निर्माणमा विद्यार्थीले रुख नकाट्न र क्याफ्टेरिया नबनाउन दबाब दिँदै आएका थिए । मंगलबार विद्यार्थी र व्यवसायीबीच झडपको अवस्था सिर्जना भएको थियो । निर्माण व्यवसायीहरूले यस्ता अवरोधले परियोजनामा ठूलो क्षति पुग्ने भन्दै त्रिवि प्रशासनसँग तत्काल समाधान खोज्न माग गरेका छन् ।
टिग नास आईटी एक्सपो २०२५ को शनिबार अन्तिम दिन, निःशुल्क अवलोकन गर्न सकिने
काठमाडौं । नेपाल एसोसिएशन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीजको आयोजनामा शुक्रबारदेखि सुरू भएको टिग नास आईटी एक्सपो २०२५ को अन्तिम दिन कात्तिक २२ गते शनिबार सञ्चालन हुँदैछ । आयोजकहरूले सहभागिता र उत्साहका लागि सबैलाई समापन दिनमा उपस्थित भई सहभागिता जनाउन आग्रह गरेका छन् । ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा भइरहेको एक्पोमा ३५ बढी नेपाली सफ्टवेयर र आईटी सेवाहरू प्रदर्शनीमा रहेका छन् । शनिबार बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुने एक्सपो निःशुल्क अवलोकन गर्न सकिने छ भने प्रडक्ट वा सेवाहरूमा ५० प्रतिशतसम्म छुट पाउन सकिने छ । नास आईटीका अध्यक्ष गौरव राज पाण्डेले नेपाली प्रविधिहरूको बारेमा बुझ्न एक्सपोमा आउनु पर्ने बताए । ‘एक्सपोले व्यवसाय, नवप्रवर्तक र लगानीकर्तालाई एउटै प्लेटफर्ममा जोड्न सफल भएको छ । यो एक्स्पो केवल प्रविधिको प्रदर्शनी होइन, नवप्रवर्तन र अवसरबीचको पुल हो,’ उनले भने, ‘पहिलो दिन बहुराष्ट्रिय कम्पनीका साथै विदेशी नियोगका प्रतिनिधि समेत अवलोकन गर्न आउनु भएको थियो, जुन हाम्रा लागि गौरवको कुरा हो । प्रविधिमा इच्छुक तपाईहरू सबैलाई पनि अवलोकन गर्न अनुरोध गर्दछु ।’ कार्यक्रमको पहिलो दिन अर्थात शुक्रबार इजरायल, अष्ट्रेलिया, दक्षिण कोरिया लगायतका विभिन्न देशका राजदूतहरू, सरकारी निकायका प्रतिनिधि, बहुराष्ट्रिय कम्पनीका सदस्यहरू, तथा उद्यमी, कर्पोरेट लिडर, कार्यकारी अधीकारी लगायतले एक्सपो अवलोकन गरेका थिए । एक्स्पोको पहिलो दिन १ हजार बढीले अवलोकन गरेका छन् । आज २ हजार बढीले अवलोकन गर्ने आयोजकको अपेक्षा छ । विशेष गरी बिजनस टु बिजनेस लक्षित गरिएको एक्सपोमा प्रविधिमा चासो राख्नेहरू सबै आएर अवलोकन गर्न तथा विभिन्न प्रडक्ट र सेवा बारे जानकारी लिन सक्ने छन् । नास आईटीकी महासचिव अलिशा श्रेष्ठले एक्सपोमा उत्साहजनक सहभागीता रहेको बताउँदै यसले देशको समग्र टेक इकोसिस्टमलाई दिगो बनाउन सहयोग गर्ने बताइन् । कार्यक्रममको पहिलो दिन ओपन बैंकिङमा आधारित एपीआई बैंकिङ प्लेटफर्म ‘र्यापिड’ लगायतका प्रडक्ट समेत सार्वजनिक गरिएको थियो । प्रदर्शनीमा फिनटेक, साइबर सेक्युरिटी, सेफ्टवेयर एज अ सर्भिस तथा इन्टरप्राइज, एचआर लगायत क्षेत्रका प्रडक्ट तथा सेवा राखिएको छ । कम्पनीहरूले आफ्नो बिजनेसलाई प्रवर्द्धन र नेटवर्किङ गर्ने अवसरको रूपमा नास आईटी एक्सपोलाई लिएका छन् । नास आईटीले व्यवसायी, उद्यमी र प्रविधिप्रेमीहरूलाई नेपालमा विकास भएका अत्याधुनिक प्रविधिहरूको अवलोकन गर्न र डिजिटल इकोसिस्टम विकासमा योगदान गर्न आग्रह गरेको छ । एक्सपोको शीर्ष प्रायोजकमा टिग, सिल्भर प्रायोजकमा इसेवाका साथै र्यापिड, रिडक्ट, एनसेल बिजनेस, भायानेट कम्युनिकेसन, डेटा वर्ल्ड लगायतको सहकार्य रहेको छ । कार्यक्रममा दिगो विकास साझेदारमा ग्लोबल आईएमई बैंक र अर्किङ कलेज रहेका छन् ।
म्याग्दीमा सडक पूर्वाधारका ३२ योजना कार्यान्वयनमा
म्याग्दी । गण्डकी प्रदेश सरकारले म्याग्दीमा चालु आर्थिक वर्ष २०८२/८३ मा सडक पूर्वाधार सम्बन्धी ३२ योजना सञ्चालन गर्ने भएको छ । पूर्वाधार विकास कार्यालय म्याग्दी मार्फत कार्यान्वयन हुने सडक स्तरोन्नति, मोटरेबल र झोलुङ्गे पुल निर्माण सम्बन्धी योजनाका लागि प्रदेश सरकारले रु ६२ करोड बजेट विनियोजन गरेको छ । क्रमागत १७ योजनाका लागि रु ५२ करोड र नयाँ १५ वटा योजनाका लागि रु १० करोड बजेट प्राप्त भएको पूर्वाधार विकास कार्यालयका प्रमुख बिष्णु पौडेलले जानकारी दिए । यसअघिका वर्षमा ठेक्का सम्झौता भएका क्रमागत योजनाका निर्माण व्यवसायीहरु बर्खा र चाडपर्व सकिएपछि काममा फर्कन थालेका तथा नयाँ सालबसाली योजना कार्यान्वयनका लागि ठेक्का आव्हानका लागि सर्वेक्षण र लागत अनुमानको काम भैरहेको उनले बताए । धवलागिरि, मालिका र मङ्गला गाउँपालिका समेटिएको प्रदेशसभाको क्षेत्र १ (ख) का १८ योजनाका लागि रु। ४७ करोड र बेनी नगरपालिका, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका समेटिएको निर्वाचन क्षेत्र १ (क) का १४ योजनाका लागि १४ करोड ६२ लाख बजेट प्राप्त भएको छ । संघीय र प्रदेश सरकारको लागत साझेदारीमा गत वर्ष ठेक्का सम्झौता र यस वर्ष रु २३ करोड २२ लाख बजेट विनियोजन भएको दरवाङ–ताकम–शिवाङ–मुना–जलजला–ढोरपाटन सडक प्रदेश सरकार मार्फत म्याग्दीमा सञ्चालित सबैभन्दा ठुलो योजना हो । बिम–मराङ–मल्कवाङ–पाखापानी, जैसीखोर–खहरेखोला–रिसिन चौतारी हुँदै बैसरी सडक स्तरोन्नति र फापरखेत पहिरोको वैकल्पिक मार्गमा पर्ने म्याग्दीखोलामा बेलिब्रिज निर्माणका लागि एक/एक करोड बजेट विनियोजन भएको छ । म्याग्दी १ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य रेशम बहादुर जुग्जाली (सुविन) ले धवलागिरि गाउँपालिका–१ को गुर्जालाई सडक सञ्जालले जोड्ने लक्ष्य सहित प्रदेशबाट रु ५० लाख विनियोजन भएको जानकारी दिए । संघीय, प्रदेश सरकार, गाउँपालिका र समुदायको साझेदारीमा विकट गुर्जालाई यो वर्ष सडक सञ्जालमा जोडिने उनले बताए । मङ्गला गाउँपालिका–१ को तुसारेपानी–कुहुँ, गैराखेत–मालिका मन्दिर र दरवाङ–लामेला–अल्काचौर, दूधखोला–तोलावाङ र सराग्दी सडकका लागि ५०/५० लाख र मालिका गाँउपालिकको खतेन–ओखरबोट झोलुङ्गे पुललाई ३० लाख बजेट विनियोजन भएको छ । घारखोला–नेपाने र तिप्ल्याङ–बादुक बाख्रेनी डिल देखि धुपीचौर सडक रघुगंगा–२ र बगैचा रानीपौवा रिसिन चौतारी हुँदै बेगखोला जोड्ने सडक र रघुगङ्गा –१ को टोल नम्बर २ को ढल निकास योजनाका लागि रु। ५०/५० लाख बजेट विनियोजन भएको म्याग्दी १ (क) बाट निर्वाचित प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले बताए । ग्रामीण सडकहरूलाई ग्राभेल, ढलान र कालोपत्रे गरेर स्तरोन्नति गर्न योजनाहरू सञ्चालन भएको उनले बताए । सडक स्तरोन्नति भएपछि ग्रामीण क्षेत्रमा यातायातको सहज पहुँच बढ्ने र बसाइसराइ घट्ने अपेक्षा गरिएको छ । अन्नपूर्ण–५ पाउद्वाररदेखि कुरिलाबगर हुँदै वडा नं ६ बिरौटा सम्म सहिद सुरेश शेरपुजा र हिरालाल फगामी स्मृति मोटरबाटो र दोबा–भिरकाटे सडक, ज्ञानप्रकाश मावि देखि कोट खलंगा– हुँदै ठारा, भगवती–डाडाबारी–पिप्ले एकघरे सडक, कोटगाउँ–रायखोर– घ्यासीखर्क र पाखापानी– कालावाङ –ठाडाखानी र ठूलोगैरा – खबरा– बन्चरेढुंगा–भकुण्डे र आनन्दबगर– लामबगर – ढोडेनी सडकका लागि रु। ५०/५० लाख बजेट विनियोजन भएको छ । बेनी–दरवाङ–कल्लेनी–ताकम–मुना–जलजला, दरवाङ–अदिभारा–डाडागाउँ–सोले–तमान–बुर्तीवाङ, पखेर बरंजा ३ र ४ हुँदै महेश धापुङ ताराखोला गापा जोड्ने सडक, दरवाङ– मुना– ढोरपाटन, दरवाङ–बिम–दिच्याम, दरखोला सडक पुल, शिवरात्री खोला सडक पुल, रुम देखि ताराखोला जोड्ने सडक, दाङखोला पुल र साँवता थापाचौर झोलुङ्गे पुल निर्वाचन क्षेत्र १ (ख) का क्रमागत बहुबर्षीय योजनाहरू हुन् । निर्वाचन क्षेत्र १ (क) मा बेनी–तोरीपानी, हाँडेभिर–बगरफाँट –दूधेखोला– हल्लेगौडा– डोलेमुसुङ, गलेश्वर–पिप्ले – भगवति, गलेश्वर–पुलाश्रम, चित्रे– घोडेपानी, भगवति–सिजलगाउँ–बेग जोड्ने क्रमागत बहुबर्षीय सडक निर्माणाधीन छन् । रासस
लहानमा नौ करोडको लागतमा अत्याधुनिक ‘कार्निभल सिनेम्याक्स’ सञ्चालनमा
सिरहा । सिरहाको लहान नगरपालिका–३ स्थित हस्पिटलचोक नजिकै नौ करोड लगानीमा सुविधासम्पन्न र अत्याधुनिक प्रविधियुक्त ‘कार्निभल सिनेम्याक्स’ सिनेमा हल सञ्चालनमा आएको छ । स्थानीय मुरारका परिवारको लगानीमा निर्माण भएको यो सिनेमा हलको सिरहा जिल्लाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले शुक्रबार साँझ एक समारोहबीच उद्घाटन गरेका छन् । कार्निभल सिनेम्याक्सका अध्यक्ष अभिनव मुरारकाले यो सिनेमा हल पूर्वाञ्चल क्षेत्रकै पहिलो एडभान्स प्रविधिमा बनेको दाबी गरेका छन् । उनका अनुसार, नवनिर्मित सिनेमा हलको क्षमता १३८ सिट रहेको छ । अध्यक्ष मुरारकाले यो हललाई मनोरञ्जनको साधन मात्र नभई पर्यटकका लागि नयाँ गन्तव्यको रूपमा प्रस्तुत गरेका छन् ‘यो एउटा सिनेमा हलमात्रै होइन, लहानमा पर्यटन प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने आकर्षक गन्तव्य पनि हो’, उनले भने, ‘समयको माग र दर्शकको चाहनालाई सम्बोधन गर्दै अत्याधुनिक प्रविधिबाट मनोरञ्जन दिन खोजिएको हो ।’ उनका अनुसार, यस हलमा एडभान्स साउन्ड सिस्टम र ‘प्रोजेक्टर’ जस्ता उच्च प्रविधियुक्त सुविधा उपलब्ध छन् । दर्शकहरूका लागि टिकटको मूल्य ३०० देखि ९०० रुपैयाँसम्म निर्धारण गरिएको छ, र मनोरञ्जनका लागि हलमा दैनिक चार ‘सो’ सञ्चालन गरिनेछ । मधेस प्रदेशमा वीरगञ्जबाहेक अन्यत्र सुविधासम्पन्न हल नभएको अवस्थामा लहानमा खुलेको यो हलले सिरहा, सप्तरी र उदयपुर आसपासका बासिन्दालाई लक्षित गरेको छ । यसअघि स्तरीय सिनेमा हल नहुँदा यी क्षेत्रका दर्शक फिल्म हेर्न वीरगञ्ज वा विराटनगरसम्म पुग्नुपर्ने बाध्यता थियो । यसका साथै, भारतीय सीमा क्षेत्र नजिक रहेकाले सीमावर्ती जिल्लाका लाखौँ भारतीय नागरिकलाई पनि आकर्षित गर्ने निर्माण पक्षले अपेक्षा गरेको छ । नयाँ सिनेमा हल सञ्चालनमा आउँदा स्थानीय, उद्योगी, व्यवसायी र जनप्रतिनिधिहरू उत्साहित भएका छन् । यस सन्दर्भमा उद्योग वाणिज्य सङ्घ सिरहा, लहानका अध्यक्ष विकास सारडाले खुसी व्यक्त गर्दै भने, ‘मोफसलमा ‘गतिलो हल छैन’ भन्ने सिरहावासीको गुनासोको अन्त्य भएको छ । यसलाई गौरवको रूपमा लिनुपर्छ, यसले लहानको पर्यटन तथा आर्थिक विकासमा महत्त्वपूर्ण योगदान दिनेछ ।’ लहान नगरपालिका–७ का वडाध्यक्ष राम औतार शर्माले कार्निभल सिनेम्याक्सजस्ता उद्योगमा भएको लगानीले देशलाई समृद्धिको दिशातिर अग्रसर गराउने बताउँदै नेपाललगायत भारतबाट आउने दर्शकले लहान बजारलाई चलायमान बनाउने विश्वास व्यक्त गरे । रासस
बाढीपहिरोबाट भएको क्षतिको ३ अर्ब ७८ बराबरको बीमा दाबी
काठमाडौं । गत असोजमा गएको बाढी पहिरोका कारण पुगेको क्षतिका कारण बीमा कम्पनीहरुमा तीन अर्ब ७८ करोड ४० लाख ९० हजार बराबरको दाबी परेको छ । गत असोज १७ गतेदेखि १९ गतेसम्म परेको अविरल वर्षाका कारण जनधनको क्षति भएको थियो । प्राधिकरणका अनुसार कबुल ४३४ वटा बीमा दावीको आवेदन परेको छ । प्राधिकरणका अनुसार सम्पत्ति बीमा ३८२, इञ्जिनियरिङ तथा ठेकेदार जोखिम ९२, कृषि तथा बाली बीमा २०९, मोटर बीमा निजीतर्फ ३७, मोटर बीमा सार्वजनिक १०, अन्य बीमा एक र सामुन्द्रिक बीमाका तीन वटा आवेदन परेको छ । कुल ३७ जिल्लामा भएको क्षतिको क्षतिपूर्तिका लागि बीमा दावीको आवेदन परेको छ । सबैभन्दा बढी १९७ वटा बीमा दावीको आवेदन सुनसरीमा परेको छ । यस्तै, इलाममा ६०, काठमाडौं ८०, मोरङ ९०, झापा २०, पर्सा ७१, रौतटहमा २८ वटा बीमा दावीको आवेदन परेको छ । प्राधिकरणका अनुसार गत भदौ २३ र २४ गतेको आन्दोलनका कारण भएको क्षतिको २३ अर्ब २३ करोड बराबरको बीमा दावीको आवेदन परेको छ । यस्तै, गत असारको बाढी पहिरोका कारण भएको क्षतिको कारण रु ९८ करोड ५९ लाख बराबरको बीमा दावीको आवेदन परेको थियो । प्राकृतिक जोखिमबाट हुने क्षतिमा भएको बृद्धिसँगै बीमा कम्पनीमा बीमा दावीको आवेदन पनि उल्लेख्य रूपमा बढेको छ । हाल नेपालमा १४ वटा निर्जीवन बीमा कम्पनी, चार वटा निर्जीवन लघुबीमा कम्पनीमा बीमा दावीको आवेदन परेको हो । रासस
हुन्डाईको ‘अपग्रेड टु द पर्फेक्ट ईभी’ अभियान : पुरानो गाडी साटेर नयाँ क्रेटा ईभी घर लैजाने अवसर
काठमाडौं । हुन्डाई नेपालले 'अपग्रेड टु द पर्फेक्ट ईभी' नामक नयाँ अभियान सुरु गरेको छ, जसअन्तर्गत ग्राहकहरूले आफ्नो पुरानो गाडी साटेर नयाँ हुन्डाई क्रेटा ईभी घर लैजान सक्ने अवसर पाउनेछन् । यो अफर कात्तिक २१ गते शुक्रबारदेखि नेपालभर रहेका सबै हुन्डाई शोरूमहरूमा लागू भएको कम्पनीले जनाएको छ । हुन्डाई क्रेटा ईभीमा कम्पनीको अत्याधुनिक प्रविधि, आकर्षक डिजाइन र दमदार प्रदर्शनको संयोजन गरिएको छ, जसले विद्युतीय सवारीसाधनमा रूपान्तरण गर्न चाहनेका लागि उत्कृष्ट विकल्प प्रस्तुत गर्छ । प्रत्येक खरिदसँगै ६ वर्षको निस्शुल्क सर्भिस र ३ वर्षको वारन्टी उपलब्ध हुनेछ, जसले ग्राहकलाई थप निश्चिन्तता प्रदान गर्छ । अफरअन्तर्गत ग्राहकहरूले १ लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस, ७५ हजार रुपैयाँको विशेष छुट र २५ हजार रुपैयाँको लोयल्टी बोनस प्राप्त गर्न सक्नेछन् । साथै, यस अफरमा १ वर्षको कम्प्रिहेन्सिभ इन्स्योरेन्स र रोड ट्याक्स पनि समावेश गरिएको छ, जसले नयाँ क्रेटा ईभी खरिदलाई अझ सुविधाजनक बनाउँछ । हुन्डाई क्रेटा ईभीले एकपटक चार्जमा ३९० किलोमिटरको ड्राइभिङ रेञ्ज र २०० एमएम ग्राउण्ड क्लियरेन्स प्रदान गर्छ, जसले नेपाली सडकमा पनि सहज र आत्मविश्वासपूर्ण ड्राइभिङ सुनिश्चित गर्छ । कम्पनीका अनुसार यो सीमित अवधिको अफरले विद्युतीय गाडीमा स्विच गर्ने योजना बनाइरहेका उपभोक्ताका लागि उत्कृष्ट अवसर प्रदान गर्नेछ ।