फिनटेक, ओपन बैंकिङ, डिजिटल कारोबार मौद्रिक नीतिका महत्वपूर्ण एजेन्डा हुन् : पण्डित
काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यवाहक गभर्नर किरण पण्डितले मौद्रिक नीतिले सरकारले लिएको उच्च आर्थिक वृद्धिको लक्ष्यलाई सहयोग गर्ने भए पनि आर्थिक स्थायित्व कायम राख्ने चुनौतीलाई समान रूपमा सम्बोधन गर्नुपर्ने बताएका छन् । पण्डितले वित्त नीति र मौद्रिक नीतिबीच स्वाभाविक रूपमा अन्तरसम्बन्ध र कतिपय अवस्थामा द्वन्द्वसमेत देखिने भए पनि दुवै नीति समन्वयात्मक ढङ्गले अघि बढ्नुपर्नेमा उनले जोड दिए । उच्च आर्थिक वृद्धिको लक्ष्य प्राप्तिका लागि मौद्रिक नीतिले सहयोग गर्नुपर्ने भए पनि मुद्रास्फीति, वित्तीय स्थायित्व तथा अन्य आर्थिक सूचकहरूलाई वाञ्छनीय सीमाभित्र राख्ने दायित्व पनि उत्तिकै महत्वपूर्ण रहेको उनले बताए । पण्डितले राष्ट्र बैंकले आफ्ना लक्ष्य, मौद्रिक नीति सञ्चालनका आधार तथा संयन्त्रलाई ध्यानमा राखेर नीति निर्माण गर्ने स्पष्ट पारे । बजारमा मौद्रिक नीतिप्रति ठूलो अपेक्षा सिर्जना भएको उल्लेख गर्दै उनले ती अपेक्षालाई सावधानीपूर्वक व्यवस्थापन गर्नुपर्ने आवश्यकता औँल्याए । साथै, नियामकीय सुधार र मौद्रिक नीतिबीचको भिन्नतालाई स्पष्ट रूपमा बुझ्नुपर्नेमा पनि उनले जोड दिए । उनले बैंकिङ क्षेत्रसँग सम्बन्धित नीतिगत निर्णय र नियामकीय व्यवस्थाबारे स्पष्ट भाष्य निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताए । कोभिड-१९ महामारीका क्रममा लागू गरिएका कर्जा पुनर्संरचना तथा सहुलियतपूर्ण व्यवस्थाले बैंकिङ प्रणाली र पुँजी निर्माणमा पारेको प्रभावबारे गम्भीर समीक्षा आवश्यक रहेको उनको भनाइ छ । कार्यवाहक गभर्नर पण्डितले वित्तीय क्षेत्रमा तीव्र रूपमा विकसित भइरहेका डिजिटल चुनौतीहरूतर्फ पनि ध्यानाकर्षण गराए । फिनटेक, ओपन बैंकिङ, डिजिटल कारोबारको निगरानी तथा प्रविधिसम्बन्धी जोखिम व्यवस्थापनजस्ता विषयहरू अब मौद्रिक नीति र नियामकीय ढाँचाका महत्वपूर्ण एजेन्डा बनेको उनले बताए । उनले नीति निर्माण तह र सर्वसाधारणबीच रहेको दूरी हटाउनुपर्नेमा पनि जोड दिए । विशेषगरी युवा, किसान तथा तल्लो तहका नागरिकका वास्तविक आवश्यकता र समस्या नीति निर्माण प्रक्रियासम्म पुग्न नसकेको उल्लेख गर्दै उनले यस खाडललाई कम गर्न आवश्यक रहेको बताए । उनका अनुसार यस्ता छलफलले नीति निर्माता र सरोकारवालाबीच संवाद विस्तार गर्दै व्यावहारिक नीतिगत सुधारका लागि उपयोगी सुझाव प्रदान गर्ने भएकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिन आवश्यक छ ।
आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द
काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जभित्रको जङ्गल सफारी सेवा आजदेखि बन्द हुने भएको छ । निकुञ्जले वर्षातको समयमा भलबाढी आउने, रुख ढलेर बाटो अवरुद्ध हुनेजस्ता कारणले पर्यटकलाई असहज हुने जनाउँदै सफारी बन्द गरेको हो । निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार अर्को सूचना नगरिएसम्मका लागि सफारी सेवा बन्द गरिएको हो । उनले भने, ‘वन्यजन्तु र चराचुरुङ्गीको प्रजननका लागि वर्षायाम उपयुक्त समय हुने, निकुञ्जभित्रका कच्ची वनपथहरू बिग्रिने, जङ्गलमा भएका स-साना खोलाखोल्सीमा भलबाढी आउने, रुख ढलेर बाटो अवरुद्ध हुने जस्ता कारणले गर्दा सफारी बन्द गरेका हौँ ।’ निकुञ्जले हरेक वर्ष वर्षात्को समयमा सफारी बन्द गर्दै आएको छ । वर्षातको अवस्था हेरेर दसैँको आसपासबाट निकुञ्जभित्रको सफारी खोल्ने विगतको परम्परा छ । निकुञ्जभित्र हुने सफारी रोकिएको भए पनि सामुदायिक वनहरूमा हुने सफारी भने नरोकिने उनले बताए । चितवनको सौराहा, कसरा, मेघौली, माडी र नवलपरासीका विभिन्न ठाउँबाट जीप व्यावसायिक सफारीका लागि निकुञ्ज प्रवेश गर्ने गर्दछ । यहाँ घुम्न आउने पर्यटक जीपमा सफारी गरेर वन र वन्यजन्तु हेर्न रमाउँछन् ।
देशभर मनसुन सक्रिय हुँदै, ५ प्रदेशमा भारी वर्षाको चेतावनी
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भू-भाग, कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण भू-भागमा मनसुन विस्तार भएको छ । हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिकांश बादल लागेको छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लागेको छ । बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा कोशी प्रदेशको एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा भइरहेको छ जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर पूर्णतया बादल लाग्नेछ । देशका हिमाली भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । देशका पहाडी भू-भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा र हिमपातको तथा तराई भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । त्यसैगरी, राति देशभर पूर्णतया बादल लाग्नेछ । देशको हिमाली भू-भागको थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । देशको पहाडी भू-भागका केही स्थानमा र देशका तराई भू-भागको थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती र लुम्बिनी प्रदेशको पहाडी भू-भाग एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।
परीक्षा सकिएको सात दिनमै नतिजा
काठमाडौं । बागमती विश्वविद्यालयले विश्वविद्यलायअन्तर्गत सञ्चालित ३ वटा सङ्कायको पहिलो सेमेष्टरको परीक्षा सकिएको एक हप्ताभित्रमा नतिजा प्रकाशित गरेको छ । विश्वविद्यालयले समयसापेक्षा गुणस्तरीय शिक्षासँगै परीक्षा प्रणालीलाई पनि प्रभावकारी बनाउँदै परीक्षाफल समयमा नै प्रकाशन गर्ने लक्ष्यअनुरुप परीक्षा सम्पन्न भएको सातौँ दिनमा तीनवटै सङ्कायको पहिलो सेमेष्टरको परीक्षाफल प्रकाशन गरेको विश्वविद्यालय संरक्षक समिति (बोर्ड अफ ट्रष्टीज)का अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले जानकारी दिए । विश्वविद्यालयले एक वर्षयता व्यवस्थापन र कानुन (म्यानेजमेन्ट एन्ड ल), विज्ञान तथा प्रविधि (साइन्स एन्ड टेक्नोलोजी) का साथै शिक्षा तथा सामाजिक विज्ञान (एजुकेसन एन्ड सोसिएल साइन्स) सङ्कायमा स्नातक तहको कक्षा सञ्चालन सुरु गरेकामा तीनवटै सङ्कायको पहिलो सेमेष्टरको परीक्षाफल प्रकाशन गरेको उनले बताए । प्रकाशित परीक्षाफलमा व्यवस्थापन र कानुन सङ्काय (म्यानेजमेन्ट एन्ड ल) मा ७२.५८ प्रतिशत, विज्ञान तथा प्रविधि (साइन्स एन्ड टेक्नोलोजी) सङ्कायमा ७९.०३ प्रतिशत र शिक्षा तथा सामाजिक विज्ञान (एजुकेसन एन्ड सोसिएल साइन्स) सङ्कायमा ८९.४४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको विश्वविद्यालयले जनाएको छ ।
१ करोडमा ‘डग होस्टेल’ सञ्चालन, पहिलो चरणमा २० कुकुर राखियो
काठमाडौं । बागलुङ नगरपालिकाले सामुदायिक तथा समस्याग्रस्त कुकुरलाई आवासीय सुविधासहित व्यवस्थापन सुरु गरेको छ । नगरपालिकाले ‘कुकुर होस्टेल’ स्थापना गरी कुकुरको उद्धार सुरु गरेको हो । बागलुङ बजारमा सामुदायिक कुकुरका कारण समस्या बढेपछि नगरपालिकाले दिगो व्यवस्थापनका लागि जग्गा व्यवस्थापन, आवास तथा कुकुर खेल्न सक्ने चौर निर्माण गरेको थियो । ५० वटा कुकुर राख्ने क्षमताको होस्टेलमा पहिलो चरणमा बेवारिसे, बिरामी तथा अशक्त भएका २० सामुदायिक कुकुरलाई राखिएको बागलुङ नगपालिकाले जनाएको छ । बागलुङ नगरपालिका-३ स्थित पाँच रोपनी जग्गामा १ करोड रूपैयाँ खर्चेर जग्गा तारबारसहित होस्टेल निर्माण गरिएको र कुकुरलाई हेरचाहका लागि कर्मचारी र खानपानको व्यवस्था मिलाइएको नगरपालिका पशु शाखा प्रमुख मित्रप्रसाद सापकोटाले जानकारी दिए । नगरपालिका-३ सिम्लेस्थित पाँच रोपनी सार्वजनिक जग्गामा बागलुङ नगरको ३५ लाख रुपैयाँ र मुख्यमन्त्री कार्यालयको ६५ लाख रुपैयाँ खर्च गरेर होस्टेल बनाइएको थियो । नगरपालिकाले दुई वर्षअघि नै सामुदायिक कुकुरको व्यवस्थापनका लागि नीति तथा कार्यक्रममा कुकुर होस्टेल निर्माण गर्ने लक्ष्य ल्याएको थियो । ‘कुकुर बन्ध्याकरणसमेत भइरहेको र छाडा कुकुरलाई होस्टेलमा खानपानसहित व्यवस्थापन गर्ने योजना छ,’ नगर प्रमुख वसन्तकुमार श्रेष्ठले भने, ‘घरपालुवा कुकुर बिरामी परेपछि बजारमा छोड्ने चलनले बजारमा यात्रुलाई टोकेर, दुर्घटना निम्ताउने समस्या भएकाले होस्टेल निर्माण गरिएको हो ।’ नगरपालिकाले घरमा पाल्ने कुकुरको दर्ता अनिवार्य गरेको छ । साथै कुकुरको पहिचान गर्ने र औषधि र खोपको समेत व्यवस्था मिलाएको छ । दर्ता गरेको कुकुर सडकमा आएमा घरधनीलाई जिम्मेवार बनाउन अनिवार्य दर्ताको व्यवस्था मिलाएको पशु शाखाले जनाएको छ । दर्ता गर्दा २०० रुपैयाँ शुल्क तिर्नुपर्ने छ ।
इतिहास रच्दै नर्वे विश्वकपको अन्तिम १६ मा
काठमाडौं । फिफा विश्वकप २०२६ मा नर्वेले इतिहास रच्दै पहिलो पटक विश्वकपको नकआउट चरणमा जित हात पारेको छ । मंगलबार अमेरिकाको डलास स्टेडियममा भएको अन्तिम ३२ को प्रतिस्पर्धामा नर्वेले अफ्रिकी टोली आइभरी कोस्टलाई २–१ ले पराजित गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको हो । नर्वेका लागि पहिलो गोल एन्टोनियो नुसाले ३९औं मिनेटमा उत्कृष्ट व्यक्तिगत प्रयासमार्फत गरे । पहिलो हाफमा अग्रता बनाए पनि दोस्रो हाफमा आइभरी कोस्टले खेलमा शानदार पुनरागमन गर्यो । दोस्रो हाफमा मैदान प्रवेश गरेका अमाद डियालोले ७४औं मिनेटमा बराबरी गोल गर्दै खेललाई रोमाञ्चक बनाएका थिए । खेल अतिरिक्त समयमा पुग्ने संकेत देखिइरहेका बेला स्टार फरवार्ड एर्लिङ हालान्डले ८६औं मिनेटमा निर्णायक गोल गर्दै नर्वेलाई ऐतिहासिक जित दिलाए । प्याट्रिक बर्गको लो–क्रसलाई उनले सहज रूपमा जाली चुमाएका थिए । यो जारी विश्वकपमा हालान्डको पाँचौं गोल पनि हो । आइभरी कोस्टले उत्कृष्ट प्रदर्शन गरे पनि निर्णायक क्षणमा अवसरको सदुपयोग गर्न नसक्दा प्रतियोगिताबाट बाहिरिन बाध्य भयो । बराबरी गोल गरेपछि पनि रक्षापंक्तिमा आएको सानो कमजोरी नर्वेले पूरा उपयोग गर्दै अन्तिम १६ को यात्रा तय गर्यो । यो जितसँगै नर्वेले विश्वकप इतिहासमै पहिलो पटक नकआउट चरणको खेल जित्ने कीर्तिमान बनाएको छ । अब नर्वेले अन्तिम १६ मा पाँच पटकको विश्व विजेता ब्राजिलसँग प्रतिस्पर्धा गर्नेछ ।
एम्बाप्पेको दुई गोलमा फ्रान्स अन्तिम १६ मा, अब पाराग्वेसँग भिड्ने
काठमाडौं । फिफा विश्वकप २०२६ को अन्तिम ३२ चरणमा फ्रान्सले स्विडेनलाई ३–० ले पराजित गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ । बुधबार बिहान न्यु जर्सी स्टेडियममा सम्पन्न खेलमा कप्तान केलियन एम्बाप्पेले दुई तथा ब्राडली बार्कोलाले एक गोल गर्दै फ्रान्सलाई सहज जित दिलाए । यो जितसँगै उपाधि दाबेदार फ्रान्सले अन्तिम १६ मा जर्मनीलाई पेनाल्टी सुटआउटमा स्तब्ध पार्दै अघि बढेको पाराग्वेसँग भेट पक्का गरेको छ । फ्रान्सले खेलभर बल नियन्त्रण र आक्रमणमा स्पष्ट वर्चस्व कायम राख्यो । पहिलो हाफको इन्जुरी समयमा एम्बाप्पेले उत्कृष्ट व्यक्तिगत कौशल प्रदर्शन गर्दै गोलको खाता खोले । त्यसअघि पनि उनले एक प्रहार पोस्टमा लागेका थिए भने अर्को गोल अफसाइडका कारण मान्यता पाउन सकेको थिएन । खेलको ५३औं मिनेटमा माइकल ओलिसेको सटिक पासमा बार्कोलाले शक्तिशाली प्रहार गर्दै फ्रान्सको अग्रता दोब्बर बनाए। त्यसपछि ७४औं मिनेटमा फेरि ओलिसेको सिर्जनात्मक पासलाई सदुपयोग गर्दै एम्बाप्पेले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै खेलको नतिजा सुनिश्चित गरे । ओलिसेले खेलमा दुई असिस्ट गर्दै उत्कृष्ट प्रदर्शन गरे । यो खेलमा दुई गोल गरेसँगै एम्बाप्पेले जारी विश्वकपमा आफ्नो गोल संख्या ६ पुर्याएका छन् । यससँगै उनी गोल्डेन बुटको दौडमा लियोनेल मेसीको बराबरीमा पुगेका छन् । साथै विश्वकप इतिहासमा उनको कुल गोल संख्या १८ पुगेको छ, जसले उनलाई सर्वाधिक विश्वकप गोलकर्ताको सूचीमा मेसीभन्दा केवल एक गोलले पछि राखेको छ । फ्रान्स लगातार प्रभावशाली प्रदर्शन गर्दै उपाधिको बलियो दाबेदारका रूपमा प्रस्तुत भइरहेको छ । प्रशिक्षक डिडिएर डेसच्याम्प्सको टोलीले समूह चरणपछि नकआउटको पहिलो खेलमा पनि उत्कृष्ट लय कायम राख्दै स्विडेनलाई कुनै मौका नदिई अन्तिम १६ को यात्रा तय गरेको हो ।
पेट्रोलको मूल्य प्रतिलिटर २० र डिजेलको मूल्य ३० रुपैयाँले घट्यो
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । मंगलबार बसेको निगम सञ्चालक समितिको निर्णयानुसार बुधबार बिहान १ बजेदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाइएको हो । निगमका अनुसार साबिकको खुद्रा बिक्री मूल्यमा पेट्रोलमा प्रतिलिटर २० रुपैयाँले, डिजेल/मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँ, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ४० रुपैयाँ र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौंको लागि प्रतिकिलोलिटर अमेरिकी डलर २६५ ले र एल.पी. ग्याँस प्रतिसिलिन्डर १०० रुपैयाँले घटाइएको छ ।