विकासन्युज

सन नेपालको नाफा सामान्य बढ्यो, महाविपत्ति कोषमा २३ करोड ६१ लाख

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको दोस्रो त्रैमासमा खुद नाफा सामान्य रूपमा बढेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को पुस मसान्तसम्मको वित्तीय विवरणअनुसार कम्पनीले दोस्रो त्रैमासमा २८ करोड ५४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको यही अवधिमा कम्पनीले २२ करोड २२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको खुद नाफा १.११ प्रतिशतले बढेको छ । दोस्रो त्रैमाससम्ममा कम्पनीले २ अर्ब ३५ करोड ५८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ४.१२ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको यही अवधिमा कम्पनीले २ अर्ब ४५ करोड ७१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । त्यस्तै, कम्पनीले दोस्रो त्रैमाससम्ममा २ अर्ब २६ करोड ५८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा कम्पनीले २ अर्ब १८ करोड ६२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । अघिल्लो वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमाशुल्क ३.६४ प्रतिशतले बढेको छ । समीक्षा वर्षमा कम्पनीको महाविपत्ति कोषमा २३ करोड ६१ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यही अवधिमा कम्पनीको महाविपत्ति कोषमा २० करोड ४६ लाख रुपैयाँ थियो । कम्पनीको रिटेन्ड अर्निङमा ८४ करोड ८५ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्षको यही अवधिमा कम्पनीको रिटेन्ड अर्निङ ५४ करोड ८५ लाख रुपैयाँ थियो भने सोभन्दा अघिल्लो वर्ष १ अर्ब ५ करोड रुपैयाँ रहेको थियो । कम्पनीको अन्य इक्विटी २९ करोड २० लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीको अन्य इक्विटी ३० करोड ४९ लाख रुपैयाँ थियो । ५ अर्ब ३ करोड १२ लाख रुपैयाँ सेयरपुँजी रहेको कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) ११.३० रुपैयाँ रहेको छ । कम्पनीको पीई रेसियो ४१.९५ गुणा र प्रतिशेयर नेटवर्थ १४७.२८ रुपैयाँ रहेको छ । 

अब बेनीदेखि दिल्लीसम्म बसमा सरर, पोखरा जानुपर्ने बाध्यता हट्यो

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीदेखि भारतको दिल्ली बस सेवा सुरुआत भएको छ । मोडर्न इरा टुर्स एन्ड ट्राभल्स र सृष्टि यातायात प्रालिले आजदेखि बेनी कालिपुल बासपार्कबाट स्याङ्जा, वालिङ, भैरहवा, अयोध्या, आग्रा हुँदै नयाँ दिल्लीसम्मको यात्रा गर्न सकिने बस सेवा सञ्चालनमा ल्याएको हो ।  बस सेवाको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले शुभारम्भ गरे । म्याग्दी, मुस्ताङको धार्मिकस्थललाई भारतसँग जोड्न त्यहाँका पर्यटकलाई समेत भित्र्याउन सेवाले महत्वपूर्ण भूमिका खेल्ने मोडर्न इरा टुर्स एन्ड ट्राभल्सका अध्यक्ष केशवप्रसाद अधिकारीले जानकारी दिए ।  'बेनीदेखि दिल्लीसम्म २७ घण्टामा यात्रा गर्न सकिन्छ', उनले भने, 'बेनीदेखि हरेक दिन बिहान ६ः४५ बजे र दिल्लीको सरोजनी नगरबाट साँझ ४ः०० बजे बस छुट्नेछ ।' बेनीबाट नयाँ दिल्लीसम्मको प्रतियात्रु शुल्क ५४ सय रुपैयाँ र नयाँ दिल्लीबाट ३२ सय सय भारु भाडादर कायम भएको छ ।  बसको क्षमता ४५ जनाको रहेको छ । बेनी–दिल्लीको दूरी १४ सय किलोमिटर छ । यस सेवाबाट म्याग्दी, बागलुङ, पर्वत र मुस्ताङका सर्वसाधारण लाभान्वित हुनेछन् । यसअघि म्याग्दीबाट भारत जान पोखरा पुगेर गाडी चढ्नुपर्ने समस्या थियो । एक दिनअघिनै पोखरा पुगेर बास बसी भोलिपल्ट बस चढेर दिल्ली जानुपर्ने समस्या हटेको मङ्गला गाउँपालिका–१ भरजुलाका सुसन किसानले बताए ।  बेनी नगरपालिकाका प्रमुख केसीले दिल्लीसँग म्याग्दीको यातायात सम्पर्क स्थापना भएपछि पर्यटक विकासमा पनि सहयोग पुग्ने बताए । म्याग्दीको गलेश्वरधाम, पुलहआश्रमका साथै मुस्ताङको मुक्तिनाथ मन्दिरको दर्शनका लागि आउने भारतीय पर्यटकलाई बस सेवाबाट सहज हुने नगर प्रमुख केसीले बताए ।  सृष्टि यातायात प्रालिका अध्यक्ष कृष्णप्रसाद पौडेलले नेपाल–भारतमैत्री बस सेवा कार्यक्रमअन्तर्गत दिल्लीदेखि कालीगण्डकी कोरिडोरको सडक भएर म्याग्दी हुँदै चीनको सिमानामा रहेको कोरला नाकासम्म यातायात सञ्चालनका लागि पहल गरिएको बताए ।  मुस्ताङको मुक्तिनाथ मन्दिरमा वार्षिक एक लाख जनाभन्दा बढी भारतीय दर्शनका लागि आउने गरेका छन् । म्याग्दीबाट रोजगार, शिक्षा, उपचारसहित अन्य विभिन्न कामले भारत जाने यात्रुलाई भारतीय क्षेत्रमा रेलमा लाग्नेभन्दा निकै सस्तो भाडा, लुटिने जोखिमसमेत कम हुने यातायात व्यवसायी ऐनबहादुर शाहीले बताए । रासस

सुनसान बस्तीमा चहलपहल, म्याग्दीमा बढ्यो चुनावी सरगर्मी

ध्रुवसागर शर्मा गलेश्वर । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति ३० दिनमात्र बाँकी रहँदा म्याग्दी जिल्लामा पनि चुनावी सरगर्मी बढेको छ । राजनीतिक दल, उम्मेदवार, प्रमुख निर्वाचन अधिकृतको कार्यालय, स्थानीय प्रशासनलगायत सम्बन्धित निकायहरु निर्वाचनको लगभग अन्तिम तयारीमा जुटेका छन् भने नागरिकहरु मतदानको प्रतीक्षामा छन् ।   माघको चिसोमा शरीरभरि न्यानो कपडा लगाएर उम्मेदवारहरू आफ्ना एजेन्डासहित मतदाताको घरदैलोमा पुग्न थालेपछि लामो समयदेखि सुनसान देखिने गाउँबस्ती, सदरमुकाम बेनी बजार, सार्वजनिकस्थल र चिया पसलहरूमा चुनावी बहस सुरु भएको छ ।  एकमात्र निर्वाचन क्षेत्र रहेको म्याग्दीमा एक जना स्वतन्त्रसहित विभिन्न राजनीतिक दलका गरी १२ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । नेकपा (एमाले)बाट हरिकृष्ण श्रेष्ठ, नेपाली कांग्रेसबाट कर्णबहादुर भण्डारी र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट अर्जुनबहादुर थापा उम्मेदवार रहेका छन् । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट युवराज रोका, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट डम्बरबहादुर सुवेदी, राष्ट्रिय जनमोर्चाबाट छेमबहादुर विक, श्रम संस्कृति पार्टीबाट विनोद राना, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बाट क्षेत्रबहादुर घिमिरे, मङ्गल नेशनल अर्गनाइजेसनबाट भीमबहादुर लामा, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट देवेन्द्र कामी, नेशनल रिपब्लिकन नेपालका तुलप्रसाद गर्बुजा र स्वतन्त्रबाट महावीर पुन चुनावी प्रतिस्पर्धामा रहेका छन् । दलहरू घरदैलोमा सक्रिय निर्वाचन नजिकिँदै जाँदा यहाँ राजनीतिक गतिविधि तीव्र बन्दै गएको छ । ठूलादेखि साना दल र स्वतन्त्र उम्मेदवारले मतदाताको समर्थन जुटाउन घरदैलो, आन्तरिक छलफल, भेला तथा समन्वय बैठकहरू सञ्चालन गरिरहेका छन् । नेकपा (एमाले)ले वडादेखि टोलस्तरसम्म छलफल, भेला र बैठक गर्दै सङ्गठनात्मक गतिविधि तीव्र बनाएको जनाएको छ । पार्टीले निर्वाचन परिचालन कमिटी गठन गरी प्रचारप्रसारलाई गति दिएको र मतदाता भेटघाटमा व्यस्त रहेको नेकपा एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदीले बताए । एमालेले जिल्ला बाहिर (पोखरा) मा रहेका मतदाताहरुसँग उम्मेदवारसहितको टोली पोखरामा नै पुगेर मतदाता भेटघाट गरेको जनाएको छ ।      नेपाली कांग्रेसले पनि घरदैलो गरी मतदाता भेटघाट कार्यलाई तीव्र बनाएको छ । रघुगङ्गा गाउँपालिका र बेनी नगरपालिकाका केही वडामा पुगेर मतदाता भेटघाटपछि उम्मेदवार भण्डारीसहित नेपाली कांग्रेसका नेता कार्यकताहरु सोमबार मतदाता भेटघाटका लागि पश्चिम म्याग्दीतर्फ लागेका नेपाली कांग्रेस म्याग्दीका नेता विक्रम बोगटीले बताए । त्यसैगरी नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले पनि मतदाता भेटघाट, आन्तरिक भेला, जनवर्गीय सङ्गठनका बैठक तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिरहेको छ । पोखरामा रहेका मतदाताहरुसँग भेटघाट गरी जिल्ला फर्केको नेकपाको टोली यतिबेला गाउँका मतदाताहरु भेट्न व्यस्त छ । स्वतन्त्र उम्मेदवार डा महावीर पुनलगायत अन्य दलका उम्मेदवारहरु पनि मतदाता भेटघाट गरी आफ्ना योजना तथा विचारहरु सुनाउन घरदैलो अभियानमा व्यस्त रहेका छन् । मुख्य तीन दल र स्वतन्त्र उम्मेदवार पुनबीच प्रतिस्पर्धा म्याग्दीमा कांग्रेस, एमाले, नेकपा र स्वतन्त्र उम्मेदवार महावीर पुनबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । विसं २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा (खम्वीर) ले २४ हजार २१ मत प्राप्त गरेका थिए भने उनका प्रतिद्वन्द्वी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले २० हजार, १८९ मत प्राप्त गरेका थिए । उक्त निर्वाचनमा नेपाली कांग्रेसलाई तत्कालीन माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतका दलले समेत सर्मथन गरेका थिए । यस पटकको निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीसँगै  स्वतन्त्र उम्मेदवार डा. पुन पनि रहेका छन् । यसपटक प्रतिस्पर्धा थप चुनौतीपूर्ण हुने आकलन गरिएको स्थानीयको भनाइ छ । यहाँका मतदाताले प्रत्येक निर्वाचनमा स्वविवेकको आधारमा फरक–फरक दललाई अवसर दिँदै आएको देखिन्छ । यही कारण यसपटकको निर्वाचन परिणाम २०७९ सालको भन्दा फरक हुन सक्ने अनुमान गरिएको छ ।  पूर्व शिक्षामन्त्री डा पुन भित्रिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले भने मैदान छोडेको छ । स्वतन्त्र पार्टीका जिल्ला सभापति युवराज रोकाले पार्टीको सहमतिमा उम्मेदवारी फिर्ताको घोषणा गरे पनि हालसम्म जिल्ला, प्रदेश र केन्द्रीय समितिले समर्थनको पत्र सार्वजनिक गरेको भने छैन । पुराना दल नेकपा एमाले, नेपाली कांग्रेस र नेकपासँग स्वतन्त्र उम्मेदवार डा. पुन नै प्रमुख प्रतिस्पर्धी मानिएको छ । म्याग्दीका राजनीतिक दलले डा पुनको उपस्थितिको सुरुमा कल्पना नगरेपनि अन्तिममा उनले उम्मेदवारी दिएका थिए ।  एक मात्र निर्वाचन क्षेत्र रहेको म्याग्दीमा एक नगरपालिका र पाँचवटा गाउँपालिका रहेका छन् । जिल्ला निर्वाचन कार्यालय म्याग्दीका अनुसार एक नगरपालिका र पाँच गाउँपालिकामा समेटिएको यस जिल्लामा प्रतिनिधिसभाका लागि एउटा मात्र निर्वाचन क्षेत्र छ । यहाँ कूल ८६ हजार ३९७ मतदाता कायम भएका छन् । निर्वाचनका लागि जिल्लामा ८२ वटा मतदानस्थल र १२० मतदान केन्द्र कायम गरिएको छ ।  बदलिँदो राजनीतिक परिवेश विसं २०७९ पछि सरकार परिवर्तन, गठबन्धन फेरबदल, नीति विवाद र जनआक्रोशका घटनाले राजनीतिक माहोल बदलिएको छ । युवा मतदाताको सक्रियता, सामाजिक सञ्जालको प्रभाव र नयाँ मतदाताको प्रवेशले २०८२ को निर्वाचनलाई थप चासोपूर्ण बनाएको देखिएको छ । घोषित निर्वाचन मिति नजिकिँदै जाँदा म्याग्दीमा राजनीतिक गतिविधि झन सक्रिय बन्दै गएको छ । गत भदौको ‘जेनजी’ आन्दोलनपछि केही समय सुस्त देखिएको दलीय गतिविधि पुनः पुरानै लयमा फर्किएको स्थानीयहरू बताउँछन् । सुरुमा विगतमा झैँ नेकपा एमाले र नेपाली कांग्रेसको मुख्य प्रतिस्पर्धाको अनुमान गरिएको भए पनि अहिले परिस्थिति फेरिएको धेरैको अनुमान छ । नेकपा एमालेको २०४६ सालयता बलियो आधार मानिएको अन्नपूर्ण गाउँपालिका ८, राम्चे, नाँगीका स्थायी बासिन्दा रहेका छन् डा. पुन । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका एमालेको बलियो मत भएको क्षेत्रमा डा पुनको उपस्थितिले नयाँ तथा पुराना मतदाताहरूको सोचमा पनि फेरबदल आउन सक्ने देखिन्छ ।  यस्तो छ निर्वाचनको तयारी  आसन्न निर्वाचनका लागि मतदाताको सुरक्षा, मतदानस्थलको निरीक्षणलगायत आवश्यक सम्पूर्ण तयारीहरु तीव्र गतिमा रहेको जिल्ला निर्वाचन कार्यालय म्याग्दीले जनाएको छ । जिल्लामा ८२ वटा मतदान स्थल र १२० मतदान केन्द्रमध्ये माघ १९ गते (आइतबार)सम्म एकसय मतदान केन्द्रको अनगुमन तथा निरीक्षण गरेर आवश्यक तयारी गर्न सुरु गरिएको छ ।  जिल्ला प्रशासन कार्यालय म्याग्दीका अनुसार जिल्ला न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापा, प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्य, जिल्ला निर्वाचन अधिकारी विमलप्रसाद गौतमलगायत सुरक्षा अधिकारीको टोलीले मतदानस्थलको अनुगमन तथा निरीक्षण गरेको हो । टोलीले मतदानस्थलको भौतिक पूर्वाधार, सडक, खानेपानी, शौचालय, घेराबार, विद्युत्लगायतको अवस्थाका बारेमा अनुगमन तथा निरीक्षण गरेको जिल्ला निर्वाचन अधिकारी विमलप्रसाद गौतमले जानकारी दिए । म्याग्दीका प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यका अनुसार निर्वाचनलाई शान्तिपूर्ण, सुव्यवस्थित र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि मतदानस्थलको भौतिक पूर्वाधार र सुरक्षाका विविध पक्षमा अनुगमन गरिएको हो ।  'मतदानस्थलमा पानी, बिजुली, मतपत्र ढुवानीको सहजता, मतदातालाई सुविधालगायत समग्र पूर्वाधारको अवस्थाका बारेमा अनुगमन निरीक्षण  गरेका छौँ', प्रजिअ आचार्यले बताए । सबै मतदानस्थलको अनुगमन सकेपछि सुधार गर्नुपर्ने देखिएका मतदानस्थलको तत्काल सुधारको काम पनि थाल्ने योजना बनाएको उनले बताए । निर्वाचन प्रहरी छनोट तथा प्रशिक्षण  आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा ८६१ जना निर्वाचन प्रहरी छनोट भएका छन् । जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक सूर्यबहहादुर थापाका अनुसार शारीरिक परीक्षण र लिखित परीक्षामार्फत छनोट भएका निर्वाचन प्रहरीहरूलाई आवश्यक निर्देशन र प्रशिक्षण दिन सुरु गरिएको छ ।  निर्वाचन प्रहरीको वैकल्पिक सूचीमा छनोट भएका २८६ जनामध्ये २१२ जना छिमेकी जिल्ला बागलुङमा पठाइएको छ । छनोट भएका निर्वाचन प्रहरीहरुका लागि आइतबारदेखि तालिम सञ्चालन गरिएको छ ।  निर्वाचनको शान्ति सुरक्षाको व्यवस्थापनमा खटिने नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई सघाउनका लागि निर्वाचन प्रहरी नियुक्त गरिएको हो । जिल्ला सुरक्षा समितिले म्याग्दीमा कायम भएका ८२ मतदानस्थलमध्ये आठ वटालाई अति संवेदनशील, २९ संवेदनशील र ४५ स्थललाई सामान्य वर्गमा विभाजन गरेर निर्वाचन सुरक्षा रणनीति बनाएको सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले बताए । मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापा, प्रजिअ आचार्यसहित सुरक्षा अधिकारीहरुको टोलीले मतदानस्थलको निरीक्षण कार्यलाई अन्तिम चरणमा पुर्याएको जनाइएको छ । प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्यमा दुई, छ वटा स्थानीय तह र ४५ वटा वडा रहेको म्याग्दीमा ८२ मतदानस्थलमा १२० मतदान केन्द्र कायम गरिएको छ । रासस

सूर्यज्योति लाइफको खुद बीमा शुल्क आर्जन १४ प्रतिशतले बढ्यो, यस्ता छन् अन्य वित्तीय सूचक

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमास (साउन–पुस)को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।  वित्तीय विवरणअनुसार ६ महिनामा कम्पनीले ५ अर्ब ७१ करोड २ लाख लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा १४ दशमलव ६२ प्रतिशतले बढेको छ । कम्पनीले अघिल्लो आवको सोही अवधिमा ४ अर्ब ९८ करोड १५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । दोस्रो त्रैमासमा कम्पनीको नाफा २० करोड १८ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आवमा कम्पनीले १९ करोड ६१ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । अघिल्लो आवको तुलनामा कम्पनीको नाफा २.९० प्रतिशतले बढेको छ ।  ६ महिनामा कम्पनीले ५ अर्ब ७९ करोड ८७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा १४.४९ प्रतिशतले बढेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीले ५ अर्ब ६ करोड ४७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो ।  त्यस्तै, दोस्रो त्रैमाससम्ममा कम्पनीको महाविपत्ति कोषमा ४४ करोड २ लाख रुपैयाँ रहेको छ। अघिल्लो आवको यही अवधिमा कम्पनीको महाविपत्ति कोषमा ४२ करोड रुपैयाँ थियो ।  कम्पनीको रिटेन्ड अर्निङमा ४५ करोड २९ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीको रिटेन्ड अर्निङमा ९२ करोड ३६ लाख रुपैयाँ थियो ।  यसैगरी, समीक्षा अवधिका कम्पनीको अन्य इक्विटीमा २७ करोड ६० लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीको अन्य इक्विटीमा ३१ करोड ८४ लाख रुपैयाँ थियो । ६ महिनाको अवधिमा  कम्पनीको जीवन बीमा कोषमा ४६ अर्ब १७ करोड १० लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष यही अवधिसम्म जीवन बीमा कोषमा ३७ अर्ब ७३ करोड ४० लाख रुपैयाँ थियो । ५ अर्ब १ करोड रुपैयाँ सेयर पूँजी रहेको कम्पनीको सेयरपुँजी वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ८ रुपैयाँ ०६ पैसा, पीई रेसियो ५५.६९ गुणा, प्रतिसेयर नेटवर्थ १२३ रुपैयाँ ३३ पैसा रहेको छ रहेको छ । 

काठमाडौं-८ का उम्मेदवारको सम्पदा संरक्षण र पर्यटन प्रवर्द्धन मुख्य मुद्दा

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौं निर्वाचन क्षेत्र नं ८ मा शहरी व्यवस्थापनका साथै यहाँ रहेका विश्व सम्पदाहरूको संरक्षण र प्रवर्द्धन गर्ने विषयलाई उम्मेदवारले प्रमुख प्राथमिकतामा राखेका छन् ।  काठमाडौंको केन्द्रमा रहेका यस निर्वाचन क्षेत्रमा विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार स्क्वायरसहित विभिन्न मूर्त/अमूर्त सम्पदा छन् । नेपालको पर्यटन क्षेत्रका प्रमुख आधारका रूपमा रहेका यिनै सम्पदाको संरक्षण, प्रवर्द्धन र प्रचारप्रसारलाई उम्मेदवारले केन्द्रित गर्ने प्रतिबद्धता गरेका हुन् । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार सुमन सायमिले सांस्कृतिक शहरका रूपमा रहेको क्षेत्र नं ८ मा सम्पदा संरक्षणसँगै सांस्कृतिक भूमि अतिक्रमणलगायत एजेन्डा लिएर आफू निर्वाचनमा केन्द्रित भएको बताए । ‘जनताको जीवनस्तर उकास्ने यी विषय एक दशकभन्दा बढी समयदेखि उठाउँदै आइरहेको छु । यसपटक बोल्नेलाई होइन काम गर्नेलाई मत दिने मतदाताको चाहना छ’, उनले भने, ‘मतदाताले स्वशासित र कर्मशील नेता खोजेका छन् । भोट दिएपछि नफर्कने नेता खोजेको होइनन् । जनताको पीडालाई सम्बोधन गर्न सक्दो प्रयास गर्नेछु ।’ नेपाली कांग्रेसका उम्मेदवार सपना राजभण्डारीले सांस्कृतिक सम्पदाको संरक्षण, खानेपानी र सवारी व्यवस्थापनका मुद्दा लिएर मतदाताका माझ जाने योजना बनाएको बताइन् । अनौपचारिक प्रचारप्रसार तथा मतदातासँगको साक्षात्कारमा जनताले प्रश्न गर्न थालेका भन्दै विगतका तुलनामा पछिल्लो समय मतदाता धेरै सचेत भएका उनको अनुभूति छ । कांग्रेस नेत्री राजभण्डारीले भनिन्, ‘निर्वाचनका समयमा मतदातालाई विभिन्न आश्वासन दिए पनि त्यसलाई पूरा गर्न नेताले पहल नगरेकाप्रति नागरिकको गुनासो छ, ‘तपाईंले जितेपछि पार्टीले के कस्ता विषय पूरा गर्छ त्यो स्पष्ट पार्नुस्’ भनेर उहाँहरूले प्रश्न गर्नुहुन्छ ।’ नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उम्मेदवार राजेश शाक्यले प्रदेशसभा सदस्य हुँदा आफूले गरेको कामप्रति मतदाता जानकार रहेकाले मतदाताको आफूप्रति सहानुभूति रहेको बताए । विश्वसम्पदा सूचीमा सूचीकृत सम्पदाले भरिपूर्ण निर्वाचन क्षेत्र भएकाले आफू सम्पदाको प्रचारप्रसार र प्रवर्द्धनमा गुरुयोजना बनाएर लाग्ने उनको भनाइ छ । उम्मेदवार शाक्यले रञ्जना लिपीको प्रवर्द्धन, पर्यटन ‘हव’को विकास, परम्परागत सीपलाई कानुनी मान्यता तथा स्वास्थ्य, शिक्षा र सूचना प्रविधिको विकासमा जोड दिने प्रतिबद्धता व्यक्त गरे । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार विराजभक्त श्रेष्ठले मतदाताले सुशासन र आत्मसम्मानका विषय बढी उठाएकोले नीतिगत सुधार र कर्मचारी संयन्त्रको व्यवस्थित परिचालनका मुद्दा यसपटक मतदाताले राखेको बताए । ‘देशका लागि राम्रो नीति बनाउनुस्, भ्रष्टाचारविरुद्ध कठोर नीति लिनुस् भन्ने मतदाताको आग्रह छ’, उनले भने । भित्री शहरमा मूर्त तथा अमूर्त सम्पदाको संरक्षण र सहर बाहिर खानेपानीको समस्या समाधान तथा सार्वजनिक सम्पत्ति संरक्षण आफ्नो एजेन्डा भएको बताए । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौं निर्वाचन क्षेत्र नं ८ मा शहरी व्यवस्थापनका साथै यहाँ रहेका विश्व सम्पदाहरूको संरक्षण र प्रवर्द्धन गर्ने विषयलाई उम्मेदवारले प्रमुख प्राथमिकतामा राखेका छन् ।  काठमाडौंको केन्द्रमा रहेका यस निर्वाचन क्षेत्रमा विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार स्क्वायरसहित विभिन्न मूर्त/अमूर्त सम्पदा छन् । नेपालको पर्यटन क्षेत्रका प्रमुख आधारका रूपमा रहेका यिनै सम्पदाको संरक्षण, प्रवर्द्धन र प्रचारप्रसारलाई उम्मेदवारले केन्द्रित गर्ने प्रतिबद्धता गरेका हुन् ।  नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार सुमन सायमिले सांस्कृतिक शहरका रूपमा रहेको क्षेत्र नं ८ मा सम्पदा संरक्षणसँगै सांस्कृतिक भूमि अतिक्रमणलगायत एजेन्डा लिएर आफू निर्वाचनमा केन्द्रित भएको बताए । ‘जनताको जीवनस्तर उकास्ने यी विषय एक दशकभन्दा बढी समयदेखि उठाउँदै आइरहेको छु । यसपटक बोल्नेलाई होइन काम गर्नेलाई मत दिने मतदाताको चाहना छ’, उनले भने, ‘मतदाताले स्वशासित र कर्मशील नेता खोजेका छन् । भोट दिएपछि नफर्कने नेता खोजेको होइनन् । जनताको पीडालाई सम्बोधन गर्न सक्दो प्रयास गर्नेछु ।’  नेपाली कांग्रेसका उम्मेदवार सपना राजभण्डारीले सांस्कृतिक सम्पदाको संरक्षण, खानेपानी र सवारी व्यवस्थापनका मुद्दा लिएर मतदाताका माझ जाने योजना बनाएको बताइन् । अनौपचारिक प्रचारप्रसार तथा मतदातासँगको साक्षात्कारमा जनताले प्रश्न गर्न थालेका भन्दै विगतका तुलनामा पछिल्लो समय मतदाता धेरै सचेत भएका उनको अनुभूति छ ।  कांग्रेस नेत्री राजभण्डारीले भनिन्, ‘निर्वाचनका समयमा मतदातालाई विभिन्न आश्वासन दिए पनि त्यसलाई पूरा गर्न नेताले पहल नगरेकाप्रति नागरिकको गुनासो छ, ‘तपाईंले जितेपछि पार्टीले के कस्ता विषय पूरा गर्छ त्यो स्पष्ट पार्नुस्’ भनेर उहाँहरूले प्रश्न गर्नुहुन्छ ।’  नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उम्मेदवार राजेश शाक्यले प्रदेशसभा सदस्य हुँदा आफूले गरेको कामप्रति मतदाता जानकार रहेकाले मतदाताको आफूप्रति सहानुभूति रहेको बताए । विश्वसम्पदा सूचीमा सूचीकृत सम्पदाले भरिपूर्ण निर्वाचन क्षेत्र भएकाले आफू सम्पदाको प्रचारप्रसार र प्रवर्द्धनमा गुरुयोजना बनाएर लाग्ने उनको भनाइ छ ।  उम्मेदवार शाक्यले रञ्जना लिपीको प्रवर्द्धन, पर्यटन ‘हव’को विकास, परम्परागत सीपलाई कानुनी मान्यता तथा स्वास्थ्य, शिक्षा र सूचना प्रविधिको विकासमा जोड दिने प्रतिबद्धता व्यक्त गरे ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार विराजभक्त श्रेष्ठले मतदाताले सुशासन र आत्मसम्मानका विषय बढी उठाएकोले नीतिगत सुधार र कर्मचारी संयन्त्रको व्यवस्थित परिचालनका मुद्दा यसपटक मतदाताले राखेको बताए । ‘देशका लागि राम्रो नीति बनाउनुस्, भ्रष्टाचारविरुद्ध कठोर नीति लिनुस् भन्ने मतदाताको आग्रह छ’, उनले भने । भित्री शहरमा मूर्त तथा अमूर्त सम्पदाको संरक्षण र सहर बाहिर खानेपानीको समस्या समाधान तथा सार्वजनिक सम्पत्ति संरक्षण आफ्नो एजेन्डा भएको बताए ।  पाँच स्वतन्त्रसहित २२ उम्मेदवार प्रतिस्पर्धामा   काठमाडौं निर्वाचन क्षेत्र नं ८ मा अहिले पाँच स्वतन्त्रसहित २२ जना उम्मेदवार चुनावी मैदानमा छन् । एमालेबाट राजेश शाक्य, नेपाली कांग्रेसबाट सपना राजभण्डारी, नेकपाबाट सुमन सायमि, रास्वपाबाट विराजभक्त श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नवीन शाही, जनता समाजवादी पार्टी, नेपालबाट सरोजराज वैद्य र नेपाल मजदुर किसान पार्टीबाट बन्दना श्रेष्ठ चुनावी प्रतिस्पर्धामा छन् ।   त्यस्तै, नेपाल जनता संरक्षण पार्टीबाट दिनेश शाही, संयुक्त नागरिक पार्टीबाट रेमशबहादुर सुनार, नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)बाट राजेन्द्रप्रसाद शाह, श्रम संस्कृति पार्टीबाट शिवसुन्दर कर्माचार्य, नेपाल कम्युनिस्ट पार्टी (माओवादी)बाट सलामसिंह लामा, उज्यालो नेपाल पार्टीबाट राजन खड्गी, नेपाल संघीय समाजवादी पार्टीबाट विजय डङ्गोल, राष्ट्रिय मुक्ति आन्दोलन नेपालबाट छत्रकुमार पाख्रिन, राष्ट्रिय मक्ति पार्टीबाट मुक्तिनाथ शर्मा र आमजनता पार्टीबाट खगेश रञ्जितकारको उम्मेदवारी परेको छ ।  क्षेत्र नं ८ मा स्वतन्त्र रूपमा तुलसा श्रेष्ठ महर्जन, मुना न्यौपाने (पाण्डे), विकास खड्गी, सुशीला नेपाली र सुनिता महर्जन निर्वाचनको मैदानमा छन् ।  २०७९ का विजेता र निकटतम पुनः प्रतिस्पर्धामा  अघिल्लो निर्वाचनमा काठमाडौं क्षेत्र नं ८ बाट रास्वपाका श्रेष्ठ १० हजार ११२ मत ल्याएर विजयी भएका थिए । हाम्रो नेपाली पार्टीबाट चुनावी मैदानमा उत्रिएका सायमिले ६ हजार १७९ मत प्राप्त गरी निकटतम प्रतिस्पर्धी बनेका थिए ।  उक्त निर्वाचनमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का उम्मेदवार जीवनराम श्रेष्ठले ४ हजार ८८१, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार प्रकाश रिमालले ४ हजार ३८८, एमालेका उम्मेदवार शिवसुन्दर राजवैद्यले ३ हजार ८९१ मत प्राप्त गरेका थिए । सो निर्वाचनमा क्षेत्र नं ८ बाट १९ जना चुनावी मैदानमा उत्रिएका थिए । रास्वपा उम्मेदवार श्रेष्ठ, नेकपाका उम्मेदवार सायमि र संघीय समाजवादीका उम्मेदवार डङ्गोल यसपटक पनि चुनावी प्रतिस्पर्धामा छन् । ​​​​​​​ गत निर्वाचनमा समानुपातिकतर्फ रास्वपा पहिलो  २०७९ को निर्वाचनमा सो क्षेत्रमा समानुपातिकतर्फ रास्वपा ८ हजार १०४ मतसहित पहिलो दल हुँदा हाम्रो नेपाली पार्टीले ५ हजार २३, राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ हजार ९५५, नेपाली कांग्रेसले ४ हजार ८०७, एमालेले ४ हजार ५५, तत्कालीन नेकपा (एकीकृत समाजवादी)ले १ हजार १६९ मत प्राप्त गरेका थिए ।  त्यसअघि २०७४ सालमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सो क्षेत्रबाट नेकपा (एमाले)का उम्मेदवार जीवनराम श्रेष्ठ १३ हजार ३९७ मत ल्याई विजयी भएका थिए । उनको निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार नवीन्द्रराज जोशीले १२ हजार ९५३ र विवेकशील साझा पार्टीका उम्मेदवार पुकार बमले चार हजार ४१४ मत पाएका थिए ।  निर्वाचन क्षेत्र नं ८ मा बाफल, कालीमाटी, टङ्केश्वरी, ताहाचल, छाउनी, भुइँखेल, शोभाभगवती, लखुतीर्थ, माल्चाटार, विजेश्वरी, स्वयम्भू, यट्खा, ढोकाटोल, भीमसेनस्थान, भगवतिवारी, वसन्तपुर, इटुम्बहाल, हनुमानढोका, लाम्पाखा, सोल्टी दोबाटो, हरिसिद्धी र छकडोललगायतका क्षेत्र पर्छन् ।  काठमाडौं– ८ मा ५७ हजार ८११ जना मतदाता रहेका छन् । सो निर्वाचन क्षेत्रमा काठमाडौं महानगरपालिका र नागार्जुन नगरपालिकाका ८ वटा वडा रहेका छन् । काठमाडौं महानगरपालिकाको १३, १५, १९, २०, २३ र २४ नं वडा, तथा नागार्जुन नगरपालिकाको ४ र ५ नं वडा सो निर्वाचन क्षेत्रमा पर्छन् । उक्त निर्वाचन क्षेत्रमा २३ वटा मतदानस्थलमा ६५ वटा मतदान केन्द्र रहेको निर्वाचन आयोगले जनाएको छ ।  स्थानीय तह निर्वाचन ०७९ मा कामपा वडा नं १३ र २३ मा एमाले, वडा नं १९, २० र २४ मा नेपाली कांग्रेस तथा वडा नं १५ मा तत्कालीन एकीकृत समाजवादीका उम्मेदवार विजयी भएका थिए । यस्तै, नागार्जुन  नगरपालिका वडा नं ४ मा कांग्रेस र ५ मा राप्रपाका उम्मेदवार विजयी भएका थिए । रासस     

विश्वकै धनी व्यक्ति मस्कको हार, अमेरिकी एसईसीको मुद्दा खारेज गराउने प्रयास असफल

काठमाडौं । मंगलबार एक संघीय न्यायाधीशले सन् २०२२ मा ट्वीटर (हाल एक्स) का सेयर खरिदबारे जानकारी सार्वजनिक गर्न ढिलाइ गरेको आरोप लगाउँदै अमेरिकी सेक्युरिटिज एन्ड एक्सचेन्ज कमिसन (एसईसी) ले दायर गरेको मुद्दा खारेज गर्न एलन मस्कले याचिका अस्वीकार गरेका छन् । वाशिङ्टन डीसीस्थित अमेरिकी जिल्ला न्यायाधीश स्पार्कल सुक्नाननले मस्कले पेश गरेका कुनै पनि तर्कले मुद्दा खारेज गर्न आधार नदिने बताए । एसईसीले आफूलाई आलोचना गरेकै कारण दण्डित गर्न अधिकारको अति प्रयोग गरेको भन्ने मस्कको दाबीसमेत अस्वीकार गरियो । मस्कका वकिलहरूले टिप्पणीका लागि गरिएका अनुरोधमा तत्काल प्रतिक्रिया दिएनन् । एसईसीका प्रवक्ताले पनि टिप्पणी गर्न अस्वीकार गरेको रोयटर्सले जनाएको छ । एसईसीले जनवरी २०२५ मा मस्कविरुद्ध मुद्दा दायर गर्दै सन् २०२२ को मार्च अन्त्य र अप्रिल सुरुतिर ट्वीटरमा आफ्नो प्रारम्भिक ५ प्रतिशत स्वामित्वबारे जानकारी दिन ११ दिन ढिलाइ गर्दा मस्कले कृत्रिम रूपमा कम मूल्यमा ५० करोड अमेरिकी डलरभन्दा बढीका सेयर किन्न सकेको आरोप लगाएको छ । एसईसीले मस्कले अनभिज्ञ लगानीकर्ताहरूको खर्चमा बचत गरेको भनिएको १५ करोड अमेरिकी डलर फिर्ता गर्नुपर्नेका साथै नागरिक जरिवाना तिर्नुपर्ने माग गरेको छ । मस्कले उक्त ढिलाइ अनायासै भएको बताएका छन् । साथै उनले एसईसीको मुद्दालाई संघीय सेक्युरिटिज कानुनको ‘चयनात्मक कार्यान्वयन’ भन्दै अमेरिकी संविधानको पहिलो संशोधनअन्तर्गत सुरक्षित अभिव्यक्ति स्वतन्त्रताका रूपमा पर्ने ‘सरकारी अधिकारको अति प्रयोग’माथि गरेको आलोचनाका कारण आफूलाई लक्षित गरिएको दाबी गरेका छन् ।  उनले १५ करोड अमेरिकी डलरको भुक्तानीलाई अत्यधिक जरिवाना भन्दै समान प्रकृतिका अन्य मुद्दामा एसईसीले माग गरेको करिब १ लाख अमेरिकी डलरको जरिवानाभन्दा धेरै ठूलो भएकाले संविधानको आठौं संशोधनको उल्लङ्घन हुने पनि बताएका छन् । एसईसीका अनुसार सेयरधारकले ५ प्रतिशत स्वामित्व पुगेपछि १० क्यालेन्डर दिनभित्र त्यसको खुलासा गर्नुपर्छ ताकि अन्य लगानीकर्ताहरू अन्धकारमा नपरी आफ्नो सेयर बिक्री गर्ने निर्णय गर्न सकून् । ४५ पृष्ठ लामो फैसलामा न्यायाधीश सुक्नाननले उक्त प्रावधान कम्पनीको नियन्त्रण लिन खोज्दा सस्तो मूल्यमा सेयर किन्ने अभ्यास रोक्न कंग्रेसको उद्देश्य देखिने बताएका छन् । ‘कम्पनीको नियन्त्रण लिन प्रयास गर्दै गर्दा सेयर मूल्य बढाउन सक्ने जानकारी खुलासा गर्नुपर्ने अवस्थाबाट जोगिन श्री मस्क चाहनु स्वाभाविक हो,’ न्यायाधीशले लेखेका छन्, ‘तर कंग्रेसले तय गरेको सन्तुलन ‘ पहिलो संशोधनको उल्लङ्घन होइन ।’ मस्क लामो समयदेखि एसईसीसँग विवादमा रहेका छन् । सन् २०१८ मा उनले ट्वीटरमार्फत आफ्नो विद्युतीय कार कम्पनी टेस्लालाई निजी बनाउने र त्यसका लागि वित्तीय स्रोत सुनिश्चित भइसकेको दाबी गरेपछि नियामक निकायले मस्कविरुद्ध मुद्दा दायर गरेको थियो । उक्त मुद्दामा मस्कले २ करोड अमेरिकी डलर नागरिक जरिवाना तिरेर, टेस्लाका वकिलहरूलाई केही ट्वीटर पोस्टहरू अग्रिम समीक्षा गर्न दिने सहमति जनाएर र टेस्लाको अध्यक्ष पद त्यागेर समाधान गरेका थिए । मस्कले अक्टोबर २०२२ मा ४४ अर्ब अमेरिकी डलरमा ट्वीटर खरिद गरी यसको नाम परिवर्तन गरेर ‘एक्स’ राखे । सोमबार मस्कले आफ्नो रकेट तथा स्याटेलाइट निर्माता कम्पनी स्पेसएक्सले उनको कृत्रिम बौद्धिकता कम्पनी एक्सएआई अधिग्रहण गरेको बताएका छन्, जसको सम्पत्तिमा एक्स पनि समावेश छ । उक्त मर्जरपछि करिब १.२५ ट्रिलियन अमेरिकी डलर मूल्यांकनसहित विश्वकै सबैभन्दा मूल्यवान निजी कम्पनी बनेको छ । फोब्र्स पत्रिकाका अनुसार मस्कको नेटवर्थ ८५१.६ अर्ब अमेरिकी डलर छ, जुन दोस्रो स्थानमा रहेका गुगलका सह–संस्थापक ल्यारी पेजको २७७.५ अर्ब अमेरिकी डलर सम्पत्तिभन्दा तीन गुणाभन्दा बढी हो ।

नेपाल लाइफ र इसेवाको सहकार्यमा ‘सुपर टर्म लाइफ इन्स्योरेन्स’ योजना सार्वजनिक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले डिजिटल भुक्तानी सेवा प्रदायक संस्था इसेवासँगको सहकार्यमा ‘सुपर टर्म लाइफ इन्स्योरेन्स’ शीर्षकमा म्यादी जीवन बीमा योजना सार्वजनिक गरेको छ । अप्रत्याशित घटनाका कारण परिवारमा पर्न सक्ने आर्थिक जोखिम न्यूनीकरण गर्ने उद्देश्यसहित कम्पनीले उक्त योजना बजारमा ल्याएको हो । यस योजनाको मुख्य उद्देश्य बीमित व्यक्तिको अनुपस्थितिमा परिवारलाई दीर्घकालीन आर्थिक सुरक्षा प्रदान गर्नु हो । जीवनको अनिश्चितता र बढ्दो आर्थिक दायित्वलाई मध्यनजर गर्दै तयार गरिएको यस योजनाले न्यून प्रिमियम दरमै उच्च बीमा सुरक्षा उपलब्ध गराउनेछ । विशेषगरी सीमित आम्दानी भएका तथा पहिलो पटक जीवन बीमा लिन चाहने वर्गका लागि यो योजना उपयोगी हुने अपेक्षा गरिएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले ‘सुपर टर्म लाइफ इन्स्योरेन्स’ योजनाले संकटको समयमा परिवारलाई पर्याप्त आर्थिक सहारा प्रदान गर्ने बताए । सहज, सुलभ तथा किफायती प्रिमियममा उपलब्ध यस योजनामार्फत सबै वर्गका नागरिकलाई जीवन बीमाको पहुँचमा ल्याउने लक्ष्य रहेको उनले उल्लेख गरे । जीवनमा आइपर्न सक्ने अनपेक्षित जोखिमबाट परिवारको भविष्य सुरक्षित गर्न यो योजना प्रभावकारी हुने जानकारी दिए । नेपाल लाइफ इन्स्योरेन्सले बीमा साक्षरता अभिवृद्धि गर्दै आम नागरिकलाई वित्तीय सुरक्षाको दायरामा ल्याउने उद्देश्यका साथ नवीन तथा ग्राहक–मैत्री बीमा योजनाहरू निरन्तर रूपमा सार्वजनिक गर्दै आएको छ । ‘सुपर टर्म लाइफ इन्स्योरेन्स’ पनि सोही प्रतिबद्धताको महत्वपूर्ण कदमका रूपमा लिइएको छ । यो एक वर्षे टर्म लाइफ इन्स्योरेन्स योजनाको प्रिमियम वार्षिक ७२५ रुपैयाँदेखि सुरु हुनेछ । यसअन्तर्गत बीमितले पाँच लाख रुपैयाँदेखि २० लाख रुपैयाँसम्मको जीवन बीमा सुरक्षा प्राप्त गर्न सक्नेछन् । साथै, १८ वर्षदेखि ६० वर्षसम्मका नागरिकले यो बीमा योजना लिन सक्नेछन् । ‘सुपर टर्म लाइफ इन्स्योरेन्स’ अन्तर्गत बीमितको आकस्मिक तथा दुर्घटनाजन्य मृत्यु दुवै अवस्थामा बीमा सुरक्षा प्रदान गरिनेछ । यस योजनाले आकस्मिक जोखिमको अवस्थामा परिवारलाई आर्थिक रूपमा सुरक्षित राख्दै दैनिक जीवनयापन, ऋणको भार तथा भविष्यका आवश्यकतामा आर्थिक सहारा प्रदान गर्ने विश्वास गरिएको छ । ग्राहकहरूले यो बीमा योजना इसेवा एपमार्फत सहजै खरिद गर्न सक्नेछन् । खरिदपछि पोलिसी तुरुन्तै इमेलमार्फत प्राप्त हुनेछ ।

आसन्न निर्वाचनमा करिब ३२ अर्ब खर्च हुने सरकारको अनुमान

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले तोकिएको समयमै निर्वाचन सम्पन्न हुने बताएकी छन् । सरकारले जसरी पनि निर्वाचन गराउन लागिपरेको उनको भनाइ छ । उनले कुनै कारणवश निर्वाचन अवरुद्ध भए दोस्रो चरणमा भए पनि सम्पन्न गराइने बताइन् । हिमाली जिल्लामा चिसोका कारण केही जटिलता आए सवारीसाधन प्रयोग गर्न सकिने स्थानसम्म मतदातालाई ओसारेर भए पनि निर्वाचन गराइने उनले स्पष्ट पारिन् । निर्वाचन जसरी पनि सम्पन्न हुने र नयाँ प्रतिनिधि चयन भएपछि नयाँ सरकारलाई सत्ता हस्तान्तरण गरिने प्रधानमन्त्री कार्कीले बताइन् । यसपटकको निर्वाचनमा करिब ३२ अर्ब रुपैयाँ खर्च हुने अनुमान रहेको जानकारी पनि उनले दिइन् । उनले भनिन्, 'सरकारले जसरी पनि निर्वाचन गराउँछ । कतै रोकिए दोस्रो चरणमा गराइन्छ । केही स्थानमा सवारीसाधन प्रयोग गरेर मतदातालाई ओसारेर पनि मतदान गराइनेछ । अत्यन्त जटिल अवस्था आएमा त्यसअनुसार निर्णय गरिनेछ । निर्वाचन गराउनैपर्छ । जनताले मत दिएर प्रतिनिधि छान्छन् र उनीहरूले देश चलाउँछन् । चुनाव सर्दैन । ३१–३२ अर्ब खर्च हुन्छ, यो समयमा ।' प्रधानमन्त्री कार्कीले शान्तिपूर्ण र निष्पक्ष निर्वाचन गराउन सरकार गम्भीर र सतर्क रहेको पनि बताइन् ।