विकासन्युज

डेटा किन्दा अब जीवन बीमा पनि, एनसेल र मेटलाइफको नयाँ साझेदारी

काठमाडौं । एनसेल र मेटलाइफ नेपालको साझेदारीमा ‘डाटासँगै जीवन बीमा’ नामक एक नवीन योजना सुरु भएको छ । यो सेवा लिने ग्राहकहरूले मोबाइल डेटाका साथै जीवन तथा घातक रोगको बीमा एकैसाथ पाउँछन् । नेपालमै पहिलोपटक सुरु भएको यो सेवाअन्तर्गत एनसेलका ग्राहकहरूले दुई विशेष प्याकेजहरूमध्ये कुनै एक रोजेर बीमाको फाइदा लिन सक्छन्, जसमा डेटा प्रयोगसँगै बीमा सुविधा पनि प्राप्त हुन्छ । दुई प्याकेजहरूमा पहिलोमा कर सहित ९९ रुपैयाँको प्याक रहेको छ । ३ दिन समयसीमा रहेको यो प्याकमा १०० एमबी डेटा, २ लाख बराबरको म्यादी जीवन बीमा र २ लाख बराबरको घातक रोग बीमा पाइन्छ । यो बीमा सुविधा प्याक खरिद गरेको मितिबाट ३० दिनसम्म मान्य रहन्छ । दोस्रोमा ३९ को प्याक रहेको छ । यो प्याकमा ग्राहकले ३ दिनका लागि १०० एमबी डेटा, ५० हजार बराबरको म्यादी जीवन बीमा र ५० हजार बराबरको घातक रोग बीमा पाउँछन् । यो बीमा सुविधा प्याक खरिद गरिएको मितिबाट ३० दिनसम्म मान्य रहन्छ । ग्राहकहरूले एनसेल एपमार्फत आफूलाई मनपर्ने प्याक छानी बीमाका लागि एउटा फाराम भरेर सजिलै यी दुई मध्ये एक प्याक लिन सक्छन् । यी प्याकहरू *१२३*४*६# डायल गरेर पनि लिन सकिन्छ ।  प्याक लिएका ग्राहकहरुको टर्म लाइफ इन्स्योरेन्स फारम बुझाउने बितिकै तुरुन्तै सुरु हुन्छ भने क्रिटिकल इलनेस (गम्भीर रोग) कभरेज ३० दिनको प्रतीक्षा अवधिपछि सक्रिय हुन्छ । यो साझेदारीले एनसेल प्रयोगकर्ताहरूका लागि बीमा पहुँच सहज बनाउने लक्ष्य राखेको छ । विशेषतः लामो समयदेखि यस्तो सेवाबाट बन्चित विकट दुरदराजका समुदायहरूलाई यसले ठूलो महत्त्व राख्दछ ।  सुलभ शुल्क, पूर्ण डिजिटल प्रक्रिया र प्रभावकारी बीमा सुविधासहितको ‘डाटासँगै जीवन बीमा’ योजनाले नेपालको वित्तीय समावेशिता र सामाजिक सुरक्षातर्फको यात्रामा महत्त्वपूर्ण यात्रा सुरु गरेको छ ।

एक्सेल डेभलपमेन्ट बैंकद्वारा कृष्णद्वैपायन गुरुकुललाई फोटोकपी मेसिन प्रदान

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडद्वारा भद्रपुर–६, तेलीभिट्टा, झापास्थित श्री कृष्णद्वैपायन गुरुकुल वेद विद्याश्रमका विद्यार्थीहरुको शैक्षिक विकासको लागि एक थान रंगीन फोटोकपी मेसिन हस्तान्तरण गरेको छ । बैंकका बजार व्यवस्थापन अधिकृत गजेन्द्र ढकालले संस्थाका व्यवस्थापन समितिका अध्यक्ष शान्ता बराललाई एक कार्यक्रमबीच उक्त सामग्री हस्तान्तरण गरेका हुन् । सो कार्यक्रममा बैंकका चन्द्रगढी शाखाका कर्मचारी सोनाम वाङ्ग्चुक शेर्पालगायत बैंकका कर्मचारी तथा विद्यालय समितिका अन्य उच्च पदाधिकारी, शिक्षक र विद्यार्थीहरुको उपस्थिति रहेको थियो । यस कार्यक्रममा संस्थाकी अध्यक्ष शान्ता बरालले बैंकले गरेको कार्यले विद्यार्थीको सिकाइ क्रियाकलापमा अझ बढी योगदान पुर्याउने भएकोले उक्त सहयोगको लागि बैकंलाई धन्यवाद ज्ञापन गरे । बैंकका तर्फबाट गजेन्द्र ढकालले बैंकको यस्तो सहकार्यले शिक्षकहरूलाई शिक्षण प्रक्रिया सुदृढ बनाउन मद्दत गर्ने र स्थानीय समुदायमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास लिएको साथै बैंकले आगामी दिनहरूमा पनि यस्ता सामाजिक उत्तरदायित्वका कार्यहरू निरन्तर गर्दै, समाजको शैक्षिक, आर्थिक र सामाजिक विकासमा योगदान पुर्याउने दृढ प्रतिबद्धता व्यक्त गर्ने कुरा बताए । कोशी प्रदेश कार्यक्षेत्र रहेको एक्सेल डेभलपमेन्ट बैंकले आफ्ना ४७ वटा शाखा र ३ वटा एटिएमबाट २ लाख ५० हजार भन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ । हाल ८ जिल्लामा आफ्नो सेवा प्रदान गर्दै आएको एक्सेल डेभलपमेन्ट बैंकले थप शाखाहरु विस्तार गरेर आगामी दिनमा कोशी प्रदेशका अन्य जिल्लाहरुमा समेत सेवा प्रदान गर्ने जनाएको छ ।

अमेरिका र चीनबीचको एआई प्रतिस्पर्धा अब क्रिप्टोमा पनि फैलिँदै

काठमाडौं । कम्तीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत बिहीबार चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको भेटपछि दिएको बयानले यही संकेत गर्छ । उक्त भेट व्यापारसम्बन्धी वार्ता थियो, जसलाई विश्वभर नजिकबाट हेरिएको थियो । ‘म अमेरिकाका लागि क्रिप्टोलाई महान बनाउन चाहन्छु,’ ट्रम्पले सीबीएस न्युजसँग भने, ‘जसरी हामी कृत्रिम बौद्धिकता (एआई) मा नम्बर एक छौं, त्यसैगरी क्रिप्टोमा पनि नम्बर एक छौं । र म यो स्थिति यथावत राख्न चाहन्छु ।’ ‘म चीन वा अरू कसैलाई यो खोस्न दिन चाहन्न,’ उनले थपे । ट्रम्पले साँच्चै नै बेइजिङलाई गम्भीर प्रतिस्पर्धीको रूपमा हेर्छन् वा होइनन् भन्ने स्पष्ट छैन । तर उनका यी भनाइ चीनले क्रिप्टोसम्बन्धी आफ्नो महत्त्वाकांक्षाको नयाँ संकेत दिइरहेको समयमा आएका हुन् ।  चीनले सन् २०२१ देखि घरेलु क्रिप्टो कारोबारमा प्रतिबन्ध लगाएको छ, तर चीनकै विशेष प्रशासनिक क्षेत्र हङकङले डिजिटल सम्पत्तिको विकासलाई प्रोत्साहन दिने व्यवस्थापन प्रणाली कायम राखेको छ । सोमबार हङकङले आफ्ना नियमहरू झन् खुकुलो बनायो—जसअनुसार इजाजतप्राप्त भर्चुअल सम्पत्ति ट्रेडिङ प्लेटफर्महरूले अब विश्वव्यापी क्रिप्टो एक्सचेन्जहरूसँग सिधा जोडिन सक्नेछन् । तिनले नयाँ डिजिटल सम्पत्ति र हङकङ नियमनअन्तर्गतका स्थिर मुद्राहरू (स्टेबलकोइन्स) सूचीबद्ध गर्न पनि पाउनेछन्, जसका लागि १२ महिनाको कारोबारी इतिहास देखाउनुपर्ने छैन । यो घोषणा हङकङमा आयोजित १०औँ फिनटेक हप्ताको सुरुवातसँगै भयो, जसले दक्षिण कोरियामा भइरहेको राजनीतिक र व्यापारिक चमक धमकलाई केही ओझेलमा पार्यो । परम्परागत वित्त र विकेन्द्रित वित्तको संगम हङकङमा हङकङले वाशिङ्टनको कदमलाई चाँडै पछ्याएको छ । गत वर्ष यसले स्पट बिटकोइन ट्र्याक गर्ने एक्सचेन्ज–ट्रेडेड फन्ड (ईटीएफ) अनुमति दियो र त्यसपछि तीन महिना अगाडि नै स्पट इथर ईटीएफ कारोबार गर्न पनि स्वीकृति दियो । बिटकोइनलाई प्रायः ‘डिजिटल सुन’ भनेर तुलना गरिन्छ । यो सबैभन्दा परिचित क्रिप्टोकरन्सी हो । इथर भने इथेरियम नेटवर्कमा चल्ने अर्को प्रमुख डिजिटल मुद्रा हो, जसको प्रयोग भुक्तानीका साथै कम्प्युटिङ कार्य र  ‘स्मार्ट कन्क्ट्रयाक्ट’ चलाउन ग्यास शुल्कका रूपमा गरिन्छ । इथेरियम फाउन्डेशनका सह–कार्यकारी निर्देशक तोमास्क के. स्तान्चाकले हङकङ फिनटेक हप्ताको अवसरमा आयोजित डिजिटल सम्पत्ति फोरममा भने, ‘६० प्रतिशतभन्दा बढी स्थिर मुद्राहरू जुन सरकारी मुद्रासँग आबद्ध हुन्छन्, इथेरियम नेटवर्कमै प्रयोगमा छन् ।’ डिजिटल सम्पत्ति लगानी कम्पनी एसएनजी होल्डिङ्सका प्रमुख लगानी अधिकारी ग्याभिन वाङका अनुसार करीब ३०० दर्शकहरूबीच आयोजित उक्त कार्यक्रममा करिब ७० प्रतिशत सहभागी परम्परागत वित्तीय क्षेत्रका प्रतिनिधि थिए । वाङका अनुसार यसअघि यस्ता कार्यक्रममा प्रायः सफ्टवेयर विकासकर्ताहरूको सहभागिता बढी हुन्थ्यो । तर यो पटक परम्परागत वित्तीय जगतका प्रतिनिधिहरूको उपस्थिति देखियो ।  कार्यक्रममा ‘इथेरियम हङकङ हब’  नामक को–वर्किङ स्पेसको घोषणा पनि गरियो, जसले क्रिप्टोसम्बन्धी स्टार्टअपहरूलाई इन्क्युबेट गर्नेछ । यसले हङकङलाई एशियाको क्रिप्टो प्रवेशद्वारका रूपमा बलियो बनाइरहेको संकेत गर्छ । ठूला उद्योगहरू पनि हङकङतर्फ आकर्षित हुँदैछन् । उत्तर अमेरिकाको सबैभन्दा ठूलो क्रिप्टो सम्मेलनमध्ये एक ‘कन्सेन्सस’ ले यस वर्ष पहिलोपटक हङकङमा विस्तार गरेको छ र सन् २०२६ मा पुनः फर्कने योजना बनाएको छ । क्रिप्टोका चुनौतीहरू तर पनि डिजिटल सम्पत्तिहरू अझै परम्परागत बजारको तुलनामा प्रारम्भिक चरणमै छन् । सबै क्रिप्टोकरन्सीको कुल मूल्य हालसम्म ४.५ ट्रिलियन डलर नाघेको छैन, जबकि विश्वका सेयर बजारहरूको कुल मूल्य १०१.५२ ट्रिलियन डलर पुगेको छ । अन्तिम केही हप्तामा बिटकोइनको मूल्य तीव्र रूपमा घट्यो । यसको कारण अमेरिक–चीन व्यापार तनाव र एआई कम्पनीहरूको उच्च मूल्याङ्कनका कारण लगानीकर्ताहरूमा उत्पन्न चिन्ता थियो । बिटकोइन जुन महिनापछि पहिलोपटक १ लाख डलरभन्दा तल र्झयो । ‘मलाई लाग्छ एआई र क्रिप्टोमा लगानी गर्ने समूह प्रायः उस्तै छन्,’ एशिया–आधारित क्रिप्टो फन्ड ‘नेक्सजेन डिजिटल भेन्चर’ का संस्थापक साझेदार जेसन ह्वाङले भने, ‘जब एआई बजार केही शान्त हुन्छ, क्रिप्टो फेरि माथि आउँछ ।’ ह्वाङको १० करोड डलरको कोषले मार्च २०२५ सम्म दुई वर्षमा ३७५.५ प्रतिशत नाफा कमायो । यो बिटकोइनभन्दा ६० प्रतिशत बढी प्रदर्शन थियो । अहिले उनी दोस्रो फन्ड सुरु गर्दैछन् । उनका अनुसार उनका धेरै लगानीकर्ता धनी चिनियाँहरू हुन् । हालैको बजार घटबढका बाबजुद लगानीमा वृद्धिसमेत भइरहेको उनले बताए । ह्वाङका अनुसार गत महिनाको ठूला बजार–धक्का (लिक्विडेशन) को समयमा समेत उनको कोष एकल अंकमा मात्र घट्यो । उनले भने, ‘त्यो दिन एफटीएक्स एक्सचेन्जको पतनभन्दा पनि ठूलो क्रिप्टो क्लिनअप थियो।’ अबको प्रतिस्पर्धा सम्भवतः टोकनमा होइन, नियन्त्रणमा केन्द्रित हुनेछ । सरकारहरू आफ्नै मुद्राले ब्याक गरिएका स्थिर मुद्राहरूमार्फत बजार नियन्त्रण गर्न इच्छुक छन् । हङकङमा डिजिटल सम्पत्तिप्रति देखिएको नयाँ उत्साह यस वर्षको स्थिर मुद्रा पहलसँग सम्बन्धित छ । यसले अमेरिकी ‘जिनियस आर्ट’ लाई पछ्याएको हो, जसले अमेरिकी डलरसँग आबद्ध स्थिर मुद्रालाई समर्थन गर्छ । यसरी अमेरिकी डलर र चिनियाँ युआनबीचको प्रतिस्पर्धा अब डिजिटल युगमा प्रवेश गर्दैछ । ‘दुवै देशले आफ्नो मुद्रा प्रयोग बढाउँदै विश्वव्यापी प्रयोगकर्ता इकोसिस्टम निर्माण गर्न खोजिरहेका छन्,’ न्युयोर्क विश्वविद्यालयका कानुनका सहयोगी प्राध्यापक विन्सटन मा भन्छन् । ‘तर यो सजिलो छैन । चीनले आफ्नै केन्द्रीय बैंकद्वारा जारी गरिएको डिजिटल युआनलाई जनस्तरमा अपनाउन अझै सफल भएको छैन,’ उनले थपे । चीनले पछिल्ला वर्षहरूमा डिजिटल युआन प्रवर्द्धनका प्रयास गरेको छ, तर यो अझै मुख्यधारमा प्रवेश गर्न सकेको छैन । ‘अमेरिकी डलर–आधारित स्थिर मुद्राहरू पनि उस्तै चुनौतीमा पर्न सक्छन्,’ माले भने । अन्तर्राष्ट्रिय वित्तीय सन्देश प्रणाली स्वीफ्टका अनुसार सेप्टेम्बर महिनामा विश्वव्यापी भुक्तानीको करिब आधा हिस्सा अमेरिकी डलरमा भएको थियो जबकि चिनियाँ युआन ३.१७ प्रतिशत हिस्सा हासिल गर्दै पाँचौँ स्थानमा पुगेको थियो । गत हप्तामा चीनका केन्द्रीय बैंकका गभर्नर पान गोंगशेङले डिजिटल युआनको प्रवर्द्धन गरे । तर उनले स्थिर मुद्राप्रति अपेक्षाकृत सतर्क दृष्टिकोण देखाउँदै क्रिप्टोकरेन्सीमा सट्टेबाजी निषेध गर्ने चीनको पुरानो नीतिलाई दोर्होयाए । त्यो हुँदाहुँदै पनि बिटकोइन ब्लकचेनका तथ्यांकहरूले देखाउँछ—चीन अझै विश्वकै तेस्रो ठूलो बिटकोइन माइनिङ केन्द्र हो । अमेरिका र रसिया मात्रै यसभन्दा अघि छन् । यो तथ्य ट्रम्पले बेवास्ता गर्ने सम्भावना कम छ । फोर्ब्सका अनुसार अमेरिकी राष्ट्रपति स्वयंले करिब ८७ करोड डलर बराबरको बिटकोवाइन राखेका छन् — यो विश्वका सबैभन्दा ठूलो निजी बिटकोइन होल्डिङमध्ये एक हो । एआईमा दौड, पैसा भने अनलाइन विज्ञापनमा बर्सिँदै !  

सुनको मूल्य तोलामा दुई लाख ३७ हजार ८०० पुग्यो

काठमाडौं । स्थानीय बजारमा बुधबारको तुलनामा बिहीबार सुनचाँदीको मूल्यमा केही वृद्धि भएको छ । बिहीबार सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार एक तोला सुनको मोल दुई लाख ३७ हजार ८०० रुपैयाँ र त्यति नै परिमाणको चाँदीको मूल्य तीन हजार १० रुपैयाँ निर्धारण भएको छ । बुधबार एक तोला सुन दुई लाख ३७ हजार २०० रुपैयाँ र चाँदी दुई हजार ९९० रुपैयाँमा खरिदबिक्री भएको थियो ।  बजार विश्लेषकहरूले सुनचाँदीको मूल्यमा दैनिक उतारचढाव भइरहेका कारण लगानीकर्ताले सतर्क हुनुपर्नेमा जोड दिएका छन् । सुनचाँदीमा लगानी गर्दा बजारको प्रवृत्ति र मूल्य परिवर्तनमा ध्यान दिनु आवश्यक भएको उनीहरूको कथन छ । आगामी दिनहरूमा पनि मूल्यमा उतारचढाव हुने उनीहरूको विश्लेषण छ ।    

बेमौसमी वर्षा : गुल्मीमा पाँच करोडको धानबाली नष्ट

तम्घास । हालैको बेमौसमी वर्षाले गुल्मीमा पाँच करोड रुपैयाँको धानबाली नष्ट भएको छ । जिल्लामा यस वर्ष सात हजार ९८८ हेक्टर क्षेत्रफलमा धानखेती गरिएकोमा २२ हजार हजार ९०९ मेट्रिक टन उत्पादन हुने प्रक्षेपण गरिएको थियो ।  कृषि ज्ञान केन्द्रका सूचना अधिकारी टीकाराम न्यौपानेका अनुसार वर्षाले एक हजार २६० मेट्रिक टन धान नष्ट भएको छ । त्यसलाई सरकारले निर्धारण गरेको समर्थन मूल्यमा हिसाब गर्दा पाँच करोड रुपैयाँ बराबरको क्षति भएको हो । गुल्मीको सबैभन्दा धेरै धान उत्पादन हुने चौरासी फाँटमा ९९९ हेक्टरमा लगाइएको धानमध्ये ४० प्रतिशत नोक्सान भएको उनले बताए । इस्मा गाउँपालिका–६ का  कृष्णप्रसाद घिमिरेको काटिसकेको १८ रोपनी खेतको धानमा पनि क्षति भएको छ ।  त्यसैगर, अर्का किसान निराजन भण्डारीको पनि १९ रोपनी खेतमा काटेको धान भिजेको छ । उनी यो वर्षको प्राकृतिक विपत्तिबाट अधिक पीडित भएको स्थानीयले बताएका छन् । 

कृषि विकास बैंकको १३ प्रतिशत लाभांश घोषणा, बोनसभन्दा नगद धेरै

काठमाडौं । कृषि विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको कात्तिक १९ गते बसेको बैठकले १३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।  बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी १८ अर्ब ८८ करोड ४३ लाख ८६ हजार रुपैयाँको ३.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहितका लागि ९.७५ प्रतिशत नगद गरी कुल १३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।  बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरूलाई वितरण गरिनेछ ।  यस्तो लाभांश इतिहास बैंकले अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा सेयरधनीहरूलाई १०.५३ प्रतिशत लाभांश वितरण गरेको थियो ।  यस्तै, बैंकले आव २०७८/७९ मा १३ प्रतिशत, आव २०७७/७८ मा २१.०५ प्रतिशत, आव २०७६/७७ मा १५.७८ प्रतिशत, आव २०७५/७६ मा ३० प्रतिशत लाभांश वितरण गरेको थियो ।  यस्तै, आव २०७४/७५, आव २०७३/७४, आव २०७२/७३ मा २१.०५ प्रतिशत, आव २०७१/७२ मा १५.७९ प्रतिशत, आव २०७०/७१ मा १५ प्रतिशत र आव २०६९/७० मा ३१.५८ प्रतिशत लाभांश वितरण गरेको थियो ।  

तीन महिनामा जीवन बीमा कम्पनीको कुल व्यवसाय ४९ अर्ब २२ करोड, कसले कति कमायाे ?

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को असोजसम्ममा जीवन बीमा कम्पनीहरूले कुल ४९ अर्ब रूपैयाँ बढी बीमा शुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणले बुधबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार १४ जीवन बीमा कम्पनीहरूले १ करोड १४ लाख ३८ हजार २७३ वटा बीमा पोलिसी बिक्री गरी कुल ४९ अर्ब २२ करोड ९३ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका हुन् । जीवन बीमा कम्पनीहरुले असोजमा मात्रै ४ लाख १४ हजार ५२८ पोलिसी जारी गरेर १३ अर्ब ९७ करोड ९६ लाख रुपैयाँको व्यवसाय आर्जन गरेका छन् । असोज मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुमध्ये नेपाल लाइफले सबैभन्दा धेरै व्यवसाय गरेको छ । तथ्यांकअनुसार तीन महिनामा कम्पनीले १६ लाख ७४ हजार ६८१ बीमालेख जारी गरेर १३ अर्ब ४५ करोड ५० लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । दोस्रोमा नेशनल लाइफ १३ लाख ५८ हजार ७९८ पोलिसी बिक्री गरेर ५ अर्ब ६८ करोड ४७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।  तेस्रोमा लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआइसी नेपाल) ले ४ अर्ब ९८ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।  असोज मसान्तसम्ममा राष्ट्रिय बीमा कम्पनीले ४ अर्ब ५३ करोड रुपैयाँ, हिमालयन लाइफले ४ अर्ब ४३ करोड रुपैयाँ, सूर्यज्योति लाइफले २ अर्ब ८८ करोड, एशियन लाइफले २ अर्ब २६ करोड रुपैयाँ, सिटिजन लाइफले २ अर्ब १७ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् । त्यसैगरी सिटिजन लाइफले २ अर्ब १७ करोड रुपैयाँ, सानिमा रियलायन्स लाइफले १ अर्ब ८१ करोड रुपैयाँ, मेट लाइफले १ अर्ब ६६ करोड रुपैयाँ, आइएमई लाइफले १ अर्ब ५१ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको प्राधिकरणको तथ्यांक छ ।  तीन महिनाको अवधिमा रिलायबल नेपाल लाइफले १ अर्ब ४५ करोड रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले १ अर्ब ४० करोड रुपैयाँ र  सन नेपाल लाइफले ९५ करोड ७२ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् । 

१७ करोडको लागतमा कालीगण्डकीमा पुल निर्माण हुँदै

पर्वत । कालीगण्डकी करिडोरअन्तर्गत पर्वतको कुश्मा नगरपालिका र बागलुङ नगरपालिका जोड्ने कालीगण्डकी माथि मोटर सञ्चालन गर्न मिल्ने पक्की पुल निर्माणको प्रारम्भिक प्रक्रिया प्रारम्भ भएको छ ।  प्रदेश सरकारअन्तर्गत गण्डकी पूर्वाधार विकास निर्देशनालयले कुश्मा नगरपालिका–२ नयाँपुल र बागलुङ नगरपालिका–१३ कालाखोला जोड्नेगरी १०० मिटर लामो पक्की  पुल निर्माण सुरु गरेको हो ।  पुलको लागत १६ करोड ९५ लाख २५ हजार छ । पुल निर्माणस्थलको माटो परीक्षण भइरहेको निर्देशनालयले जनाएको छ । माटो परीक्षण प्रतिवेदन प्राप्त हुनासाथ निर्माण थालिने छ ।  निर्देशनालयले निर्माण कम्पनीसँग २०८२ असार १७ गते उक्त रकममा पुल बनाउने सम्झौता गरेको हो । सम्झौताअनुसार तीन वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने छ । पुल एक सय मिटर लामो र ११ मिटर चौडा हुने छ ।