भैरहवा भन्सारबाट तीन महिनामा २७ अर्ब ७५ करोड राजस्व संकलन
देवदह । भैरहवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम तीन महिनामा २७ अर्ब ७५ करोड ५३ लाख ७८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । भन्सार अधिकृत सन्तोषकुमार न्यौपानेका अनुसार गत साउनमा नौ अर्ब दुई करोड ९४ लाख ३४ हजार रुपैयाँ, भदौमा नौ अर्ब ७० करोड ६३ लाख नौ हजार रुपैयाँ र असोजमा नौ अर्ब २८ करोड ६७ लाख २० हजार रुपैयाँ संकलन भएको छ । जेनजी आन्दोलनमा आगजनी र तोडफोडबाट क्षतिग्रस्त भन्सार कार्यालयले केही समय त्रिपालबाट सेवा प्रवाह गरेको थियो ।
सोफा हबको लक्की ड्र नतिजा सार्वजनिक, १० ग्राहकलाई थाइल्यान्ड भ्रमणको उपहार
काठमाडौं । देशका १० स्थानमा शाखा रहेको सोफा हब काठमाडौंले ल्याएको दशैं तिहार झड्का अफरको विजेता घोषणा गरेको छ । मंगलबार भक्तपुरमा आयोजित एक समारोहमा कम्पनीले 'लक्की ड्र' मार्फत थाइल्यान्ड भ्रमणको अवसर पाउने १० जना विजेताको घोषणा गरेको हो । जसअनुसार लक्ष्मी नेपाली, अर्जुन जोशी, विनोद लोध, प्रतीक्षा विक, कुशुमकला गणेश, विनोद गुरुङ, जमुना केसी, गोमा लामिछाने, तम बहादुर सुनार र माधव प्रसाद दुलालले थाइल्यान्ड भ्रमणको अवसर प्राप्त गरेको सोफा हबका सञ्चालक तारालाल धरेलले जानकारी दिए । उनका अनुसार केही समयमा ती विजेतलाई थाइल्याण्डको भ्रमण गराइने भएको छ । साथै गत वर्ष पनि कम्पनीले १० जना ग्राहकलाई युरोप भ्रमण गराएको थियो । कम्पनीले नेपालीहरूको महान् चाड दशैं, तिहार र छठलाई लक्षित गर्दै आफ्ना ग्राहकवर्गहरुसँग पर्वको खुसी साट्न सोफा वा अन्य फर्निचरका सामान खरिद गर्ने ग्राहक मध्ये १० जना भाग्यशालीले निःशुल्क थाइल्यान्ड भ्रमण उपहार योजना ल्याएको थियो । उक्त अवसरमा सीईओ धरेलले योजनामा सहभागीहरू सबैलाई विशेष धन्यवाद ज्ञापन गर्दै १० जना विजेताहरूलाई बधाई ज्ञापन गरे । साथै उनले आगामी दिनहरूमा पनि सोफा हब काठमाडौंले विभिन्न सुविधासहितको योजनाहरू लिएर ग्राहकहरू माझ आइरहने प्रतिबद्धता समेत व्यक्त गरे । दशैं तिहार, छठको अवसरमा १५ सय बढी ग्राहकले सोफा हबका विभिन्न शाखाबाट फर्निचर तथा सोफा खरिद गरेको सञ्चालक सदस्य जिवन पाण्डेले जानकारी दिए । कम्पनीको गोठाटार, कंलकी, सामाखुसी, बिर्तामोड, पोखरा, चितवन, नेपालगंज, धनगढी, बुटवल र हेटौंडा गरी १० वटा शाखा सञ्चालनमा रहेका छन्।
मितेरी डेभलपमेन्ट बैंकको १० प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज कात्तिक २० गते अन्तिम दिन रहेको छ । लाभांश तथा साधारण सभा प्रयोजनार्थ बैंकले कात्तिक २३ गतेदेखि मंसिर ६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गर्दैछ । त्यसैले आजसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भइ कायम सेयरधनीहरूले सभामा सहभागिता जनाई लाभांश प्राप्त गर्न सक्नेछन् । बैंकले मंसिर ६ गते बिहान ११ बजे धरान, सुनसरीमा २०औँ वार्षिक साधारण सभा बोलाएको छ । बैंकको सभाले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी १ अर्ब २१ करोड ७१ लाख रुपैयाँको करसहित १० प्रतिशतका दरले १२ करोड १७ लाख १० हजार रुपैयाँ नगद लाभांश प्रस्ताव पारित गर्नेछ । यस्तै, बैंकको सभाले कुनै एक वा सो भन्दा बढी उपयुक्त बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने र गाभिने सम्बन्धी सम्पूर्ण प्रक्रिया अवलम्बन गरी कार्य अघि बढाउन संचालक समिति तथा यस अन्तर्गतको मर्जर समितिलाई अख्तियारी प्रदान गर्नेछ । साथै, मर्जर प्रक्रियामा चल अचल सम्पति र दायित्व तथा कारोबारको मूल्याङ्कन गर्न मान्यता प्राप्त मूल्याङ्कनकर्ता नियुक्त गर्ने, निजको पारिश्रमिक तय गर्ने लगायतको सम्पूर्ण कार्य गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्नेछ । यस्तै, गत आर्थिक वर्षमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गरेको १ लाख रुपैयाँभन्दा बढिको खर्च अनुमोदन गर्ने र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ । सभाले गत आव २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षक प्रतिवेदन, चालु आव २०८२/८३ को लागि लेखापरीक्षक नियुक्त तथा पारिश्रमिक निर्धारण गर्ने र सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको निर्वाचन गर्नेछ ।
यस्तो छ बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४२ रुपैयाँ १६ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ ६३ पैसा र बिक्रीदर १६३ रुपैयाँ ३२ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८४ रुपैयाँ ३८ पैसा र बिक्रीदर १८५ रुपैयाँ १६ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७४ रुपैयाँ ७४ पैसा र बिक्रीदर १७५ रुपैयाँ ४८ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ७० पैसा र बिक्रीदर ९२ रुपैयाँ ०९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ १७ पैसा र बिक्रीदर १०० रुपैयाँ ६० पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपैयाँ ३१ पैसा र बिक्रीदर १०८ रुपैयाँ ७७ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ २१ पैसा र बिक्रीदर नौ रुपैयाँ २५ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ८६ पैसा र बिक्रीदर १९ रुपैयाँ ९५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९० पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३९ रुपैयाँ ०० पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ३५ पैसा र बिक्रीदर चार रुपैयाँ ३७ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३८ रुपैयाँ ७० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३३ रुपैयाँ ९२ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ७९ पैसा र बिक्रीदर नौ रुपैयाँ ८४ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ७७ पैसा र बिक्रीदर १४ रुपैयाँ ८३ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ७८ पैसा र बिक्रीदर २१ रुपैयाँ ८८ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ २१ पैसा र बिक्रीदर १८ रुपैयाँ २८ पैसा, कुवेती दिनार एकको खरिददर ४६० रुपैयाँ ८४ पैसा र बिक्रीदर ४६२ रुपैयाँ ७९ पैसा, बहराइन दिनार एकको खरिददर ३७५ रुपैयाँ ५० पैसा र बिक्रीदर ३७७ रुपैयाँ ०९ पैसा, ओमनी रियाल एकको खरिददर ३६७ रुयैयाँ ६७ पैसा र बिक्रीदर ३६९ रुपैयाँ २३ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको ‘वेबसाइट’ मा उपलब्ध हुने जनाइएको छ ।
जलवायु प्रतिरोधात्मक पूर्वाधार निर्माणमा दातृ निकायले सघाउने
काठमाडौं । नेपालमा विपद् जोखिम न्यूनीकरण, जलवायु परिवर्तन अनुकूलन तथा प्रतिरोधात्मक पूर्वाधार विकासकामा एसियाली विकास बैंक (एडिबी) विश्व बैंक समूहअन्तर्गतको अन्तरराष्ट्रिय विकास सङ्घ र स्वीस विकास सहयोग (एसडिसी) ले सहयोग गर्ने भएका छन् । तीन दातृ निकायले आगामी तीन वर्षसम्म प्रदान गर्ने सहायतासम्बन्धी समझदारीपत्रमा बुधबार यहाँ हस्ताक्षर गरेका यहाँस्थित विश्व बैंकको कार्यालयले जनाएको छ । त्रिपक्षीय समझदारीअनुसार जलवायुजन्य जोखिम मूल्याङ्कन, सूचना प्रणालीको सुदृढीकरण एवं जलवायु जोखिम व्यवस्थापनलाई प्राथमिकता दिइनेछ । नेपाल बाढी, पहिरो, खडेरी तथा हिमनदी पग्लनेजस्ता जलवायुजन्य जोखिममा रहेकाले सहायता अपरिहार्य भएको जनाउँदै उक्त कार्यालयले जारी गरेको प्रेस विज्ञप्तिमा त्यसबाट नेपालको आर्थिक विकासमा योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ ।
नबिल बैंकको खुद नाफा १ अर्ब ७५ करोड रुपैयाँ, निक्षेपसँगै बढ्यो कर्जा
काठमाडौं । नबिल बैंकको चालु आर्थिक वर्ष २०८२/८३ को तीन महिनामा खुद नाफा १४.५७ प्रतिशत घटेर १ अर्ब ७५ करोड ६९ लाख रुपैयाँ आर्जन गरेको छ । जबकि गत वर्षको असोजसम्ममा बैंकले २ अर्ब ५ करोड ६५ लाख ररुपैयाँ खुद नाफा गरेको थियो । चालु आवको असोजसम्ममा बैंकको खुद ब्याज आम्दानी ५.७७ प्रतिशत घटेर ३ अर्ब ९० करोड १२ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ४ अर्ब १४ करोड २ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । समीक्षा अवधिमा बैंकको खुद फि तथा कमिशन आम्दानी ६.२९ प्रतिशत बढेर ७९ करोड ८७ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी १.०३ प्रतिशत घटेर ५ अर्ब २७ करोड ४१ लाख रुपैयाँ, सञ्चालन नाफा १०.८४ प्रतिशत घटेर २ अर्ब ५७ करोड ९८ लाख रुपैयाँ गरेको छ । असोज मसान्तसम्मा बैंकको वितरणयोग्य मुनाफा ५ अर्ब ६३ करोड ५२ लाख रुपैयाँ रहेको छ । सो वितरणयोग्य नाफाका आधारमा बैंकले ३०.१५ प्रतिशत लाभांश क्षमता राखेको छ । यसअवधिमा बैंकको चुक्ता पुँजी २७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ र जगेडा कोष ३.८० प्रतिशत बढेर ३८ अर्ब ७ करोड ५१ लाख रुपैयाँ रहेको छ । बैंकको निक्षेप संकलन ६.१० प्रतिशत बढेर ५ खर्ब ५६ अर्ब ६१ करोड ८५ लाख रुपैयाँ र कर्जा लगानी १.९९ प्रतिशत बढेर ४ खर्ब २१ अर्ब २ करोड ६६ लाख रुपैयाँ प्रवाह गरेको छ । नाफासँगै बैंकको प्रतिसेयर आम्दानी ३.८६ रुपैयाँ घटेर २५.९७ रुपैयाँमा सीमित भएको छ । असोज मसान्तसम्ममा बैंकको प्रतिसेयर नेटवर्थ २४०.७२ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात १९.९७ गुणा रहेको छ । गत वर्षको असोजसम्म ४.२४ प्रतिशत रहेको खराब कर्जा यस वर्ष घटेर ४.३१ प्रतिशतमा झारेको छ ।
धार्मिक पर्यटकीयस्थल तिनचुलेमा पूर्वाधार निर्माण
काठमाडौं । म्याग्दीको मङ्गला गाउँपालिका-५ र बागलुङको ताराखोला गाउँपालिका-४ को सिमानामा अवस्थित धार्मिक पर्यटकीय स्थल तिनचुलेमा पूर्वाधार निर्माण भएको छ । समुद्र सतहदेखि २ हजार ९३२ मिटर उचाइमा अवस्थित तिनचुले पुग्ने सडक, पद मार्ग, खानेपानी र आश्रय स्थलको व्यवस्था भएपछि त्यहाँको शिवालय मन्दिर, बराह तालमा पूजाआजा, हिमशृङखला, सूर्योदय र पहाडी भूगोलको दृश्यावलोकन गर्न आउनेको चहलपहल बढेको छ । पर्यटकीय क्षेत्र तिनचुले संरक्षण तथा प्रवर्द्धन समितिका अध्यक्ष धनबहादुर घर्तीले पूर्वाधार निर्माण भएपछि कात्तिक पूर्णिमाका दिन तिनचुले बराहमा तोरण तार्ने धार्मिक मेला भर्न र अन्य समय प्राकृतिक सौन्दर्यमा रमाउन आउनेको सङ्ख्या बढेको जानकारी दिए । ‘गण्डकी प्रदेश सरकार, ताराखोला, मङ्गला गाउँपालिका र समुदायको साझेदारीमा यहाँ पूर्वाधार निर्माण भएको हो । केही वर्ष अघिसम्म सुनसान तिनचुलेमा स्वदेशी पर्यटकको आगमन बढ्न थालेको छ,’ उनले भने । ताराखोला गाउँपालिकाको २० लाख रुपैयाँ बजेटबाट गत आर्थिक वर्षमा तिनचुलेको शिवालय मन्दिर पुनर्निर्माणका साथै माझ खर्कदेखि तिनचुलेतर्फ जाने २१० मिटर ढुङ्गा बिछ्याएर पदमार्ग निर्माण गरिएको थियो । स्थानीयले चन्दा सङ्कलन गरेर माझ खर्कमा वनभोजस्थल र आश्रयस्थल निर्माण गरेका छन् । अघिल्लो वर्ष ताराखोला गाउँपालिकाको ७ लाख रुपैयाँ बजेटबाट मन्दिर परिसरमा घेराबार पर्खाल र २०० मिटर पदमार्ग निर्माण भएको थियो । तिनचुलेमा दृष्यावलोकनस्थल निर्माणका लागि सामाजिक सञ्जाल फेसबुकमा सञ्चालन भएको अभियानबाट करिब ३ लाख रुपैयाँ सङ्कलन भएको थियो । गण्डकी प्रदेश सरकारको ७५ लाख रुपैयाँ र तालाखोला गाउँपालिकाको १० लाख रुपैयाँ लगानीमा ताराखोला गाउँपालिका-४ नागबेलीदेखि दावा हुँदै तिनचुले जोड्ने ५ किलोमिटर सडक निर्माण भएको छ । सडक बनेपछि २ घण्टाको बाटो २० मिनेटमा छोटिएको छ । यसैगरी, मङ्गला गाउँपालिका-५ देउरालीदेखि तिलचुले जोड्ने सात किलोमिटर सडक निर्माण भएको छ । गण्डकी प्रदेश सरकारको २१ लाख रुपैयाँ लगानीमा सौर्य ऊर्जाको प्रयोग गरी चैतेथरीको मुहानबाट २ हजार २०० मिटर लामो पाइपबाट पानी लगेर ५ हजार लिटर क्षमताको ट्याङ्कीमा सङ्कलन र २ वटा धारा बनाएर वितरणको व्यवस्था मिलाइएको छ । समुद्र सतहबाट २ हजार ९२२ मिटर उचाइमा रहेको तिनचुलेबाट सिस्ने, चुरेन, गुर्जा, धौलागिरि, मानापाथी, नीलगिरि, अन्नपूर्ण, माछापुच्छे«, हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ । तिनचुलेको शिवालयमा पूजाअर्चना गरेमा मनोकाङ्क्षा पूरा हुने विश्वास जनविश्वास छ ।
नेपाल एयरलाइन्सको अध्यक्ष बने विक्रम राई, कार्यभार सम्हाल्दै दिए यस्तो निर्देशन
काठमाडौं । नेपाल वायुसेवा निगमको सञ्चालक समिति अध्यक्षको जिम्मेवारी निगमकै उपाध्यक्ष विक्रम राई र प्रवक्तामा निगमका ‘कर्पोरेट डाईरेक्टर’ अनिल घिमिरेलाई दिइएको छ । निवर्तमान अध्यक्ष युवराज अधिकारीको कार्यकाल सकिएसँगै अर्को अध्यक्ष नियुक्त नभएसम्मका लागि राईलाई नै अध्यक्षको जिम्मेवारी दिइएको हो । अध्यक्ष राईलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका निमित्त सचिव इन्दु घिमिरेले मङ्गलबार मन्त्रालयमा पद तथा गोपनीयताको शपथ गराइन् । शपथ ग्रहणपछि अध्यक्ष राईले निगम सञ्चालक समितिको कार्यालयमा कार्यभार सम्हाल्दै प्रधानमन्त्री र जेनजी आन्दोलनको चाहना अनुसार निगममा देखिने गरी सुधार गर्ने प्रतिबद्धता जनाए । उनले हाल ए३२० जहाजमा प्रयोग हुँदै आएको भाडाको एउटा इन्जिन सम्बन्धित कम्पनीलाई फिर्ता गर्दै मर्मतका लागि इजरायल पठाइएको निगमको इन्जिन जडान १५ दिनभित्र टुंग्याउन निर्देशन दिए । उनले बेलाबेलामा जनमानसमा उठ्दै आएको ‘विजनेस क्लास’को टिकटलाई ‘अपग्रेड’ गर्ने प्रवृत्ति तत्काल बन्द गर्न, यात्रु ‘ब्यागेज’ नीतिमा समयानुकूल परिमार्जन गर्न र यात्रु ब्यागेज टुटफुट सम्बन्धमा आएको जन गुनासो यथा शीघ्र सम्बोधन गर्न पनि निर्देशन दिए । अध्यक्ष राईले प्रश्न उठेका करार तथा ज्यालादारीमा नियुक्त गरिएका कर्मचारीको नियुक्ति नियम सङ्गत बदर गर्न समेत निर्देशन दिए । उनले निगमको व्यवस्थापकीय कार्यमा आफ्नो कुनै हस्तक्षेप नरहने स्पष्ट पारे । नवनियुक्त अध्यक्ष राईले कार्यभार सम्हालेसँगै उनलाई स्वागत गर्दै निगमका निमित्त महाप्रबन्धक जनकराज कालाखेतीसहित विभागीय प्रमुखहरूले आ-आफ्नो विभागबाट भइरहेका कामका बारेमा जानकारी गराए । निमित्त महाप्रबन्धक कालाखेतीले मङ्गलबार नै निगमको कर्पोरेट विभागका निर्देशक अनिल घिमिरेलाई प्रवक्ताको जिम्मेवारी दिए । झण्डै २ दशकदेखि निगमका विभिन्न जिम्मेवारीमा रहेका घिमिरेले संस्थाको सूचना तथा सन्देश नागरिकका बीचमा पुर्याउन, संस्थाको छवि सकारात्मक बनाउन र सञ्चार माध्यमहरुसँग समन्वय गर्न प्रभावकारी भूमिका निर्वाह गर्ने बताए ।