एनपीएको आयोजनामा स्मार्ट सहरी योजना र विकास सम्बन्धी सम्मेलन सम्पन्न
काठमाडौं । नेपाल विद्यावारिधी संघ (नेपाल पीएचडी एसोसिएसन एनपीए) नेपालमा स्मार्ट सहरी योजना र विकाससम्बन्धी दुईदिने राष्ट्रिय सम्मेलन सम्पन्न गरेको छ । सम्मेलनको उद्घाटन सत्रमा पूर्व मन्त्री गणेश साह, डा. घनश्याम गुरुङ, प्रज्ञा प्रधान, जानुका ढकाल, प्रा.डा. लेखनाथ शर्मा, गोपाल सिग्देल लगायतका वक्ताहरुले नेपालको सहरी विकास सम्बन्धमा आआफ्ना धारणा राखेका थिए । सम्मेलनमा मुख्य वक्ता नेपाल विश्वविद्यालयका चान्सलर विन्दुनाथ लोहनीले नेपालको सहरी विकासका समस्या, अवस्था र समाधानका बारेमा विचार राखेका थिए । नेपाल विद्यावारिधी संघका अध्यक्ष सुनिलबाबु श्रेष्ठले नेपालको सहरी विकासका जटिलताको चर्चा गर्दै यस विषयमा गहन अनुसन्धानको खाँचो औंल्याए । सहरी विकास मन्त्रालयका सहसचिव नवराज प्याकुरेलले नीति निर्माण भए पनि कार्यान्वयनमा समस्या आएको अनुभव सुनासँदै सम्मेलनबाट आएका सुझावलाई कार्यान्वयनमा ल्याउने प्रतिबद्धता जनाए । सम्मेलनमा उमेशबहादुर मल्ल, डा. जनार्दन पौडेल, दुर्गा उपाध्याय, रिजा जोशी, डा. विजयकृष्ण जोशी, स्मृति कायस्थ, डा. सुनिलबाबु श्रेष्ठ, डा. सञ्जय देवकोटा, डा. नदिरा खवाजा, प्रकाश पौडेल, आकृति राना, प्रकृति निरौला लगायतले पेपर प्रेजेन्टेसन गरेका थिए। दुई दिनको सम्मेलनमा सहरी विकास तथा योजना सम्बन्धमा गहन छलफल गरिएको थियो । छलफलबाट निस्किएका निष्कर्ष तथा सुझावहरुलाई सम्बन्धित निकायहरुमा पठाइने र त्यसले सहरी विकास योजना तथा नीति निर्माणमा सघाउ पुग्ने विश्वास नेपाल विद्यावारिधी संघले लिएको छ ।
टेस्लाको ढोका डिजाइन घातक ? ५ जनाको जलेर मृत्यु भएको एक वर्षपछि अनुसन्धान सुरु
काठमाडौं । टेस्लाविरुद्ध विस्कन्सिन राज्यमा भएको एक भीषण दुर्घटनापछि मुद्दा दर्ता गरिएको छ । उक्त दुर्घटनामा परी मोडल एस कारसँगै पाँचै यात्रुको जलेर मृत्यु भएको थियो । आरोप अनुसार कारको ढोका खोल्न नसक्नाले उनीहरू सवारीभित्रै फँसेका थिए । क्रान्डन, विस्कन्सिनका ५४ वर्षीय जेफ्री बाउर र ५५ वर्षीय मिशेल बाउर सवार मोडल एस नोभेम्बर १, २०२४ मा म्याडिसन नजिकको उपनगरीय क्षेत्र भेरोनामा सडकबाट बाहिर गई रूखमा ठोक्किएको थियो । उनीहरूको मृत्यु अर्को दिन भयो। शुक्रबार बाउर दम्पतीका चार सन्तानले दायर गरेको उजुरी अनुसार कारमा जडान गरिएको लिथियम–आयन ब्याट्री प्याकका कारण इलेक्ट्रोनिक ढोका प्रणाली निष्क्रिय भई उनीहरू भित्रै फँसेका थिए । सन्तानहरूले आरोप लगाएका छन् कि टेस्लालाई यस खतराको जानकारी पहिलेका आगलागी घटनाबाट नै थियो, तर कम्पनीले ‘थाहा पाइसकेका र सम्भव सुरक्षात्मक उपायहरूबाट जानाजानी विचलन’ गरेको थियो । एलन मस्क नेतृत्वको अष्टिन, टेक्सासस्थित टेस्लाले सोमबारसम्म सो मुद्दाबारे कुनै प्रतिक्रिया दिएको छैन । उक्त कम्पनीमाथि अघिल्लो नोभेम्बरमा स्यान फ्रान्सिस्को नजिक साइबरट्रक दुर्घटनामा ज्यान गुमाएका दुई कलेज विद्यार्थीका परिवारहरूले पनि यस्तै कारणले मुद्दा दायर गरेका थिए । उनीहरू पनि ढोका ह्यान्डल डिजाइनका कारण जलिरहेको कारभित्र यात्रु फँसेका थिए भन्ने दाबी गर्छन् । अमेरिकी यातायात सुरक्षा निकायले टेस्लाको ढोका डिजाइनको छानबिन गर्दै गत सेप्टेम्बरमा राष्ट्रिय राजमार्ग यातायात सुरक्षा प्रशासन (एनएचटीएसए) ले केही टेस्ला मोडेलका ढोकामा सम्भावित त्रुटिको छानबिन सुरु गरेको थियो, किनकि रिपोर्टहरूमा ढोका ह्यान्डलले काम नगर्ने समस्या उल्लेख गरिएको थियो । बाउर दम्पतीका सन्तानका अनुसार टेस्ला मोडल एसको पछाडिका सिटमा बसेका यात्रुहरू- जस्तै मिशेल बाउर विशेष जोखिममा पर्थे । कारमा ढोका खोल्ने प्रणाली पूर्ण रूपमा विद्युतीय भएकाले दुर्घटनापछि जब गाडीमा विद्युत् आपूर्ति बन्द हुन्थ्यो, यात्रुहरू ढोका खोल्न असमर्थ हुने गर्थे । त्यस्तो अवस्थामा बाहिर निस्कनका लागि कार्पेट उठाएर मुनि लुकाइएको ‘धातुको ट्याब’ वा आपतकालीन ढोका खोल्ने ह्यान्डल खोज्नुपर्थ्यो । तर यो ट्याब सानो, लुकाइएको र सामान्य यात्रुका लागि सहज रूपमा नदेखिने भएकाले आपतकालीन अवस्थामा त्यसलाई फेला पार्नु अत्यन्तै कठिन हुने उनीहरूको भनाइ छ । यही कारणले दुर्घटनापछि यात्रुहरू गाडीभित्रै फँसेर मृत्यु हुन पुगेको आरोप परिवारले लगाएको छ । एक नजिकैका घरधनीले ९११ मा फोन गरी कारभित्रबाट कराउने आवाज सुनेको बयान दिएका छन् । उजुरीमा भनिएको छ, ‘टेस्लाको डिजाइन छनोटले यस्तो जोखिम सिर्जना गर्यो — दुर्घटनाबाट बचेका यात्रुहरू आगलागी भएको सवारीभित्रै फँस्ने ।’ अन्य प्रतिवादीहरूमा सवारी चालकको सम्पत्ति पनि समावेश छ, जसलाई बाउर सन्तानहरूले लापरवाहीपूर्वक ड्राइभिङ गरेको आरोप लगाएका छन् । यो मुद्दा विस्कन्सिन राज्यको डेन काउन्टी अदालतमा दायर गरिएको हो। एआईमा दौड, पैसा भने अनलाइन विज्ञापनमा बर्सिदैँ ! बफेटको कम्पनीमा पैसाको वर्षा, ५४.४ लाख करोड रुपैयाँभन्दा बढी नगद जम्मा ! सामसङ र एनभीडीयाको सहकार्यमा विश्वकै पहिलो एआई मेगाफ्याक्ट्री निर्माण हुने
बैंक तथा वित्तीय संस्थामा कति पैसा छ ?
काठमाडौं । बैंक तथा वित्तीय संस्थामा कुल निक्षेप ७४ खर्ब ७५ अर्ब पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो समय निक्षेप बढ्ने क्रम बढिरहेको हो । कात्तिक दोस्रो हप्तासम्म वाणिज्य बैंकले मात्रै ६७ खर्ब १७ अर्ब निक्षेप संकलन गरेका छन् । यो अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले ५६ खर्ब ३५ अर्ब कर्जा प्रवाह गरेका छन् । वाणिज्य बैंकहरु मात्रै ५० खर्ब १२ अर्ब कर्जा प्रवाह गरेका छन् । राष्ट्र बैंकका अनुसार विकास बैंक तथा फाइनान्सले यो अवधिमा ७ खर्ब ५८ अर्ब निक्षेप संकलन गरेका छन् । उनीहरुले कर्जा प्रवाह भने ६ खर्ब २३ अर्ब गरेको तथ्यांकले देखाउँछ । यो अवधिमा बैंकिङ क्षेत्रमा कायम रहेको निक्षेप तथा कर्जा अनुपात (सीडी रेसियो) भने ७४.२५ प्रतिशत रहेको छ । बैंक तथा वित्तीय संस्थाहरुले कर्जा दिनसक्ने क्षमता अझै पनि धेरै रहेको रहेपनि कर्जा प्रवाह सुस्त छ । पछिल्लो समय कर्जाको माग निरन्तर घट्दो क्रममा रहेको छ । बैंकहरुले कर्जाको लागि निर्धारण गर्ने औसत आधार दर महिनैपिच्छे घट्दै आएको छ । कात्तिक महिनाको लागि बैंकहरुको औसत ब्याजदर ५.६७ प्रतिशत निर्धारण भएको छ । यो ब्याजदर निकै कम हो । यसमा निश्चित प्रतिशत प्रिमियम थप गरेर बैंकहरुले कर्जा लगानी गर्दै आएका छन् । पछिल्लो समय आधार दरमा निकै न्युनमात्रै प्रिमियम थप गरेर बैंकहरुले कर्जा लगानी गर्दै आएका छन् । तर पनि कर्जा प्रवाह बढ्नै सकेको छैन । खासगरी जेनजी आन्दोलनमा निजी क्षेत्रका घरनामाथि छानिछानि आक्रमण भएपछि लगानीकर्ताहरु त्रसित बन्दै आएका छन् । नेपाल उद्योग वाणिज्य महासंघसहितका निजी क्षेत्रका छातासंगठनले शान्ति सुरक्षाको प्रत्याभुति र लगानीकर्ताको मनोबल उठाउने खालका कार्य गर्न सरकारलाई बारम्बार आग्रह गर्दै आएका छन् । बैंक तथा वित्तीय संस्थाहरूबाट तत्काल ठूलो मात्रमा कर्जा प्रवाह हुने स्थिति नदेखिएपछि राष्ट्र बैंकले लामो समयका लागि निक्षेप तानिरहेको छ । पछिल्ला दिनहरूमा बजारमा कर्जाको माग धेरै बढ्न नसक्दा बैंक, वित्तीय संस्थाहरूमा लगानी योग्य रकम थुप्रिरहेको छ । यसैलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले लामोसमयका लागि मौद्रिक उपकरणको प्रयोग गरिरहेको छ । नेपाल राष्ट्र बैंकले आइतवार ४० अर्ब निक्षेप १ सय ७५ दिनका लागि खिचेको थियो भने अघिल्लो साताको बुधबार पनि राष्ट्र बैंकले बजारबाट १ सय ७५ दिन अवधिको निक्षेप संकलन उपकरणमार्फत ४० अर्ब रुपैयाँ उठाएको थियो । त्यसअघि राष्ट्र बैंकले यतिधेरै अवधिका लागि पछिल्ला वर्षहरूमा निक्षेप उठाएको थिएन । बैंकहरूले तत्काल कर्जा प्रवाह गर्ने छाटकाट नदेखाएपछि राष्ट्र बैंक दीर्घकालिन रुपमै निक्षेप व्यवस्थापनमा लागेको राष्ट्र बैंकका अधिकारीहरुले बताउँदै आएका छन् ।
सन नेपाल लाइफको आई.एस.ओ/आई.ई.सी २७००१ः२०२२ प्रमाणपत्र नवीकरण
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले यूकेएएसबाट मान्यता प्राप्त एमटिभो लिमिटेड यूकेबाट आइ.एस.ओ/आई.ई.सी २७००१ः२०२२ को प्रमाणपत्रमा निरन्तरता प्राप्त गरेको छ । कम्पनीले गत महिना गराएको सम्परीक्षणमा कम्पनीले आफ्नो हरेक सुचनाहरुको सुरक्षा प्रणालीहरुको अन्तराष्ट्रिय मापदण्ड बमोजिम उचित व्यवस्थापन गरेकोले सो प्रमाणत्र नवीकरण भएको हो । यस मानकले कम्पनीले अन्तराष्ट्रिय मापदण्डमा परिभाषित असल अभ्यासहरूको पालना गरेको छ भन्ने कुरा स्पष्ट पार्दछ । कम्पनीले जोखिममा आधारित जीवन बीमा ब्यवसाय प्रणाली तथा संस्थागत सुशासन सम्बन्धी नियामकीय ब्यवस्था प्रभावकारी किसिमबाट पालना गर्न अन्तराष्ट्रिय मापदण्डको आधारमा आइ.एस.ओ/आई.ई.सी २७००१ः२०२२ सम्परीक्षण नवीकरण गरेको हो । नेपालको बीमा ब्यवसायमा यसरी अन्तराष्ट्रिय मापदण्ड आइ.एस.ओ÷आई.ई.सी २७००१ः२०२२ प्राप्त गर्ने पहिलो र एकमात्र जीवन बीमा कम्पनी हो । आइ.एस.ओ/आई.ई.सी २७००१ः२०२२ को नवीकरण मान्यता प्राप्त गरेसँगै कम्पनीले निरन्तर रुपमा यसको पालना र अभ्यासहरुबाट कम्पनीको सूचना सुरक्षा प्रणाली निरन्तर मजबुत बनाउँदै लाने प्रतिबद्धता जाहेर गरेको छ ।
सुनको मूल्य तोलामा १४ सयले गिरावट
काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य केही घटेको छ । सुन प्रतितोला एक हजार ४०० रुपैयाँ र चाँदी प्रतितोला ४५ रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार सुन प्रतितोला दुई लाख ३८ हजार ३०० रुपैयाँ र चाँदी प्रतितोला तीन हजार १५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार मंगलबार अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔंस तीन हजार ९८० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
बाढीपहिरोबाट इलाममा ११ अर्ब ८१ करोड रुपैयाँको क्षतिको आकलन
इलाम । गत १८ र १९ असोजको वर्षापछिको बाढीपहिराले इलाममा ११ अर्ब ८१ करोड रुपैयाँ बढीको क्षति भएको छ । जिल्लास्थित विभिन्न सडक, पुल, भवन, खानेपानी, सिँचाइ, पशुपन्छी, कृषिजन्य क्षेत्रमा इलाममा ११ अर्ब ८१ करोड ७९ लाख ८५ हजार ७०३ रुपैयाँ बराबरको क्षति भएको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिइन् । जिल्ला प्रशासन कार्यालयले सडक डिभिजन, पूर्वाधार विकास कार्यालय, नेपाल विद्युत् प्राधिकरण, जलस्रोत तथा सिँचाइ डिभिजनसहित सम्बन्धित ११ वटा विषयगत कार्यालयबाट सङ्कलन गरेको क्षतिको प्रारम्भिक विवरणअनुसार सो परिमाणमा क्षति भएको प्रजिअ नेपालले बताइन् । बाढीपहिरोबाट सडक डिभिजनअन्तर्गत विभिन्न ११ आयोजनामा पहिरो गई ६ अर्ब ९६ करोड ४५ लाख रुपैयाँको क्षति भएको छ । पूर्वाधार विकास कार्यालयअन्तर्गत ६२ सडकमा २ अर्ब ३४ करोड ६५ लाख रुपैयाँ, २५ वटा पुलमा ८५ करोड रुपैयाँ र छवटा भवनमा ४ करोड रुपैयाँ बराबरको क्षति भएको छ । जिल्ला प्रशासनका अनुसार नेपाल विद्युत् प्राधिकरणअन्तर्गत पाँचवटा आयोजनाको एचटी लाइन, एलटी लाइन र ट्रान्सफर्मरमा २ करोड ४७ लाख ३५ हजार ९५२ रुपैयाँ बराबरको क्षति भएको छ । त्यसैगरी, जलस्रोत तथा सिँचाइ विकास डिभिजनअन्तर्गत १६ नदी नियन्त्रण आयोजनाको १३ करोड ४६ लाख ६९ हजार रुपैयाँ, पाँचवटा पहिरो नियन्त्रण आयोजनाको १ करोड ७४ लाख २२ हजार रुपैयाँ र ७२ सिँचाइ आयोजनामा १७ करोड ७१ लाख ५९ हजार रुपैयाँ बराबरको क्षति भएको छ । त्यसैगरी, भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रअन्तर्गत २ हजार ५२० वटा पशुपन्छीमा २ करोड ३५ लाख ७६ हजार रुपैयाँ र २४४ वटा गोठ र पोखरीमा १ करोड ९७ लाख ५४ हजार रुपैयाँ बराबरको क्षति भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभाग धनकुटा फिल्ड एकाइ कार्यालयअन्तर्गत २९ वटा खानेपानी आयोजनामा २८ करोड ७५ लाख रुपैयाँ र खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भद्रपुर झापाअन्तर्गत २२३ आयोजनामा २८ करोड १ लाख रुपैयाँ बराबरको क्षति भएको प्रजिअ नेपालले जानकारी दिइन् । त्यस्तै, कषि ज्ञान केन्द्रअन्तर्गत ३ हजार ४०९ किसानले ८९२.३२ हेक्टर क्षेत्रमा लगाएको खाद्य तथा नगदेबालीमा २७ करोड ४९ लाख ९५ हजार ७५० रुपैयाँ र राष्ट्रिय चिया तथा कफी विकास बोर्ड चिया विस्तार योजनाअन्तर्गत २५ चिया बगानमा ४ करोड ७५ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको जनाइएको छ । नेपाल टेलिकमअन्तर्गत १० अप्टिकल फाइबर तथा केवलमा ५ लाख ८ हजार रुपैयाँ र सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना गैँडे झापाअन्तर्गत ३१ वटा आयोजनामा पहिरोबाट ३२ करोड ९० लाख १६ हजार रुपैयाँ बराबरको क्षति भएको छ । क्षतिको विवरण जानकारी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, गृह मन्त्रालय र सम्बन्धित विषयगत मन्त्रालयमा पठाइसकिएको प्रजिअ नेपालले बताइन् । ‘जिल्लाभित्रका विषयगत कार्यालयबाट सम्बन्धित पालिकाको समन्वय र सहजीकरणमा क्षतिको प्रारम्भिक विवरण सङ्कलन गरिएको छ’, प्रजिअ नेपालले भने, ‘क्षतिको विवरण राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, गृह मन्त्रालय र सम्बन्धित विषयगत मन्त्रालयमा पठाएका छौँ ।’ बाढीपहिरोबाट इलाममा ३९ जनाको ज्यान गएको थियो भने २६ जना घाइते भएका थिए । एक जना अझै बेपत्ता छन् । बाढीपहिरोबाट जिल्लामा ७११ घरपरिवार विस्थापित भएका छन् । यसमध्ये ७०० परिवार आफन्तको घरमा र ११ परिवार सामुदायिक भवनमा बसिरहेको जिल्ला प्रशासनले जनाएको छ । बाढीपहिरोबाट जिल्लाको १० स्थानीय तहमा तीन सय ६५ घर पूर्ण र ९४० घरमा आंशिक क्षति पुगेको थियो । रासस
अक्टोबरमा ७० हजारभन्दा बढी सवारी बिक्री गर्दै लीपमोटर शीर्ष स्थानमा
काठमाडौं । चिनियाँ नयाँ ऊर्जा सवारी (एनईभी) स्टार्टअप लीपमोटरले अक्टोबर २०२५ मा ७० हजार २८९ भन्दा बढी सवारी बिक्री गर्दै बिक्रीको शीर्ष स्थानमा उक्लिएको छ। कम्पनीले गत वर्षको तुलनामा ८४ प्रतिशतले वृद्धि गरेको बिक्री नतिजा सार्वजनिक गर्दै यसलाई आफ्नो अहिलेसम्मकै उत्कृष्ट उपलब्धि बताएको छ । यो उपलब्धिले लीपमोटरलाई लगातार आठौं महिनासम्म चीनको सबैभन्दा बढी बिक्री हुने एनईभी स्टार्टअपको रूपमा स्थापित गरेको छ । कम्पनीका अनुसार यो रेकर्डले नवप्रवर्तन, उच्च गुणस्तर र दिगो गतिशीलतामा आफ्नो अटुट प्रतिबद्धता प्रमाणित गरेको छ । लीपमोटरले चीनमा मात्र होइन, नेपालसहित विश्वका विभिन्न बजारहरूमा पनि आफ्ना उन्नत, दक्ष र उच्च प्रदर्शन क्षमता भएका विद्युतीय सवारीसाधनहरू उपलब्ध गराउँदै आएको छ । कम्पनीले विश्वव्यापी रूपमा दिगो यातायाततर्फको संक्रमणलाई समर्थन गर्दै विद्युतीय गतिशीलताको भविष्यलाई अघि बढाउने आफ्नो लक्ष्य पुनः दोहोर्याएको छ ।
सारडा र राठी ग्रुपको प्रिमियर स्टीलले गर्याे साढे ४ अर्ब रुपैयाँको व्यापार
काठमाडौं । सारडा ग्रुप र राठी ग्रुपको प्रिमियर स्टीलले एक वर्षमा साढे ४ अर्ब रुपैयाँ बराबरको कारोबार गरेको छ । सन् २०२५ मा ४ अर्ब ४१ करोड २० लाख रुपैयाँको कारोबार गरेको कम्पनीले जनाएको छ । जुन गत वर्षको तुलनामा कम हो । सन् २०२४ मा कम्पनीले ४ अर्ब ५६ करोड ९० लाख रुपैयाँको कारोबार गरेको थियो । यस्तै, कम्पनीले सन् २०२३ मा ४ अर्ब ७ करोड ४० लाख रुपैयाँ, सन् २०२२ मा ५ अर्ब ८४ करोड ६० लाख रुपैयाँको कारोबार गरेको थियो । प्रिमियर स्टील प्रालि अगस्ट १, २०१६ मा स्थापना भएको कम्पनी हो, जुन सन् २०२३ मा प्रिमियर स्टील लिमिटेडमा परिणत भएको थियो । कम्पनीमा सारडा ग्रुपका शिवरतन शारडा र राठी ग्रुपको मुख्य लगानी रहेको छ । कम्पनीको सुनसरी दुहबीमा १ लाख ८० हजार टन बार र १ लाख २० हजार टन बिलेट उत्पादन प्लान्ट रहेको छ । जुलाई २०२५ को मध्यसम्म वीरेन्द्र राठी र प्रदीप कुमार शारडाको कम्पनीमा ११ प्रतिशत सेयर स्वामित्व छ भने बाँकी अन्य सेयरधनीहरूको स्वामित्व कायम छ । इन्फोमेरिक्स रेटिङले कम्पनीलाई दीर्घकालिन ऋणका लागि डबल बी माइनस र अल्पकालिन ऋणका लागि एफोर रेटिङ प्रदान गरेको छ । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट दीर्घकालिन १ अर्ब ५६ करोड १३ लाख रुपैयाँ दीर्घकालिन र ३ अर्ब १७ करोड रुपैयाँ अल्पकालीन गरी कुल ४ अर्ब ७३ करोड १३ लाख रुपैयाँ ऋण लिएको छ । नेपालको सबैभन्दा पुरानो वायर तथा केबल उत्पादक कम्पनीमा प्रिमियर स्टीलले जीआई वायर, ग्याबियन बक्सेस, एसीएसआर कन्डक्टर, पीभीसी केबल र अन्य स्टीलजन्य वायर, कपर वायर, कन्डक्टर र केबल उत्पादन गरी नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ ।