विकासन्युज

जापानी व्यवसायीलाई राष्ट्रपतिले भने- नेपालमा लगानी गर्दा नाफा पनि हुन्छ, धर्म पनि

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जापानी व्यापारिक समुदायलाई नेपालमा व्यापारिक अवसरको खोजीका लागि आह्वान गरेका छन्  । उनले जापानी व्यापारिक समुदायलाई नेपालमा लगानी र व्यापारका लागि हरसम्भव सहयोग प्रदान गर्न नेपाल सरकार कटिबद्ध रहेको विश्वास व्यक्त गरेको उनको सचिवालयले जनाएको छ । नेपाल र जापान बीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औं वर्षगाँठका अवसरमा जापानको टोकियोमा सोमबार आयोजित जापानका व्यापारिक समुदायका सदस्यहरूसँगको अन्तरक्रियात्मक कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सो आह्वान गरेका हुन् । उनले नेपाल जापानी निजी क्षेत्रसँग घनिष्ट साझेदारी निर्माण गर्न चाहेको बताए । ‘हामीले लगानीमा आकर्षक प्रतिफलका साथै नाफा र पुँजी फिर्तीका लागि सहज प्रक्रियासहितको स्थिर समष्टिगत आर्थिक वातावरण तयार गरेका छौं, नेपाल सरकार वैदेशिक लगानीमा पूर्ण सहयोग, निर्बाध सहजीकरण र सुरक्षा प्रदान गर्न  प्रतिबद्ध छ’, राष्ट्रपति पौडेलले भने ।  उनले नेपाल-जापान कूटनीतिक सम्बन्धको ७०औं वार्षिकोत्सव मनाउँदै गर्दा हाम्रा दुई पक्षबीच पारस्परिक लाभका क्षेत्रमा गहन सहकार्य अघि बढाउन यो उपयुक्त क्षण पनि भएको बताए ।  राष्ट्रपति पौडेलले गौतमबुद्धको दर्शनले हामी आल्हादित भएको र नेपाल र जापानको सम्बन्ध सांस्कृतिक रूपले आदिकालदेखि रहेको उल्लेख गर्दै भने, ‘गौतमबुद्धले भनेका थिए- शान्तिको विजय त्यो हो जसमा कसैको हार हुँदैन ।’ उनले नेपालमा निर्धक्कसँग लगानी गर्न र व्यापार गर्न आह्वान गर्दै कृषि, जलस्रोत र पर्यटनजस्ता क्षेत्रमा लगानी गरेर नेपाललाई पनि धनी बनाउन र जापानले पनि फाइदा लिन आग्रह गरे ।  ‘नेपालमा लगानी गरे धन पनि हुन्छ ! धर्म पनि हुन्छ,’ उनले भने, ‘नेपाल र जापानबीच सद्भाव, मित्रता र सहयोगमा आधारित उत्कृष्ट सम्बन्ध रहिआएको छ, आज यहाँको व्यापारिक समुदायको उत्साहजनक सहभागिता नेपाल र जापानबीच तीव्र व्यापार र लगानी सम्पर्क स्थापित गर्न फलदायी हुनेछ भन्ने मेरो विश्वास छ ।’  दुई मुलुकबीचको कूटनीतिक सम्बन्धको ऐतिहासिक ७०औं वार्षिकोत्सव भएको तथा हाम्रा सम्बन्धहरू सरकारी मात्र होइन जनस्तरमा पनि प्रगाढ हुँदै गएको सन्दर्भमा नेपालको सामाजिक–आर्थिक विकास प्रयासमा एक विश्वसनीय विकास साझेदारका रूपमा दशकौँदेखि जापानले गरेको सहयोगको उनले उच्च प्रशंसा गरे । राष्ट्रपति पौडेलले राजनीतिक स्थिरतासँगै नेपालको प्रयासहरू सामाजिक न्याय, सुशासन र जनताको समृद्धि प्राप्तिमा केन्द्रित रहेको बताए । साथै, यस वर्षको अन्त्यसम्ममा नेपाल अति कम विकसित मुलुकको हैसियतबाट स्तरोन्नति हुने तथा २०३० सम्ममा मध्यम आय भएको मुलुक बन्नु हाम्रो लागि अर्को महत्त्वपूर्ण उपलब्धि हुने उनको भनाइ थियो ।  ‘यस्तो अभियानमा ठूलो स्रोतसाधनको आवश्यकता पर्छ, अन्य कुराका अलावा राष्ट्रिय प्राथमिकताका क्षेत्रमा अत्यधिक विदेशी लगानी आकर्षित गर्ने, नेपालको व्यापार बढाउने, अन्तर-आबद्धता विविधीकरण गर्ने, पर्यटन प्रवद्र्धन गर्ने एवं उच्चस्तरीय प्रविधि हासिल गर्नेमा ध्यान केन्द्रित गरिएको छ,’ राष्ट्रपति पौडेलले भने ।  उनले आजको समयमा आन्तरिक रूपमा सरकार र निजी क्षेत्रले हातेमालो नगरी एवम् बाह्य रूपमा अन्य मुलुकसँग साझेदारी अघि नबढाई कुनै पनि देश समृद्ध हुन नसक्ने विचार व्यक्त गरे । उदार आर्थिक नीतिहरूको पालना गर्दै नेपालले उत्पादन, जलविद्युत्, पर्यटन, सेवा, सूचना प्रविधि, खानी र कृषिमा आधारित उद्योगलगायत लगभग हरेक क्षेत्रलाई विदेशी लगानीका लागि खुला गरेको तथा व्यापार सहज बनाउन, विदेशी लगानी आकर्षित गर्न र नवप्रवर्तनलाई प्रवद्र्धन गर्न व्यापक कानुनी, प्रक्रियागत तथा संस्थागत सुधारहरू गरेको उनको भनाइ थियो । ‘नेपाल लगानी बोर्डले ठूला लगानीकर्ताहरूलाई एकद्वार सेवा प्रदान गर्दछ, अन्तरराष्ट्रिय मुद्रा कोष, विश्व बैङ्क र प्रमुख अन्तरराष्ट्रिय मूल्याङ्कन एजेन्सीहरूले स्वतन्त्र मूल्याङ्कनमार्फत नेपालले दक्षिण एसियामै सबैभन्दा अनुकूलमध्येको एउटा व्यावसायिक वातावरण प्रदान गर्ने पुष्टि गरेका छन्’, राष्ट्रपति पौडेलले भने । विश्वका दुई उदीयमान अर्थतन्त्र भारत र चीनको बीचमा रहेको नेपालको अवस्थितिले सम्भावित लगानीकर्ताहरूलाई बृहत्तर फाइदा प्रदान गर्ने उनले विश्वास व्यक्त गरे । सो अवसरमा जापानका लागि नेपालका कार्यवाहक राजदूत हरिहरकान्त पौडेलले स्वागत गरेका थिए भने परराष्ट्र मन्त्रालयका  सचिव अमृतबहादुर राई र सहसचिव भृगु ढुङ्गानाले नेपालमा लगानीको सम्भाव्यताबारे प्रस्तुति राखेका थिए । कार्यक्रममा जापानी व्यापारिक समुदायका कतिपय सदस्यहरूले नेपालमा यति धेरै लगानीको अवसर रहेको थाहा पाउँदा खुसी लागेको र यसले लगानीको ढोका खोल्न योगदान पुग्ने धारणा व्यक्त गरेका थिए ।

३ दिनमै ५२ हजार ७०० ले घट्यो सुनको मूल्य

काठमाडौं । ऐतिहासिक रेकर्ड कायम गरेको सुनचाँदीको मूल्य पुनः ओरालो लाग्न थालेको छ । पछिल्ला ३ दिनमा सुनको मूल्य प्रतितोला ५२ हजार ७ सय रुपैयाँले ओरालो लागेको छ ।  माघ १५ गते सुन ३ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भई ऐतिहासिक रेकर्ड कायम गरेको थियो । उक्त दिन सुन तोलामा २० हजार ५ सय रुपैयाँले उकालो लागेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तीन दिनमा चाँदी २ हजार ३०५ रुपैयाँले ओरालो लागेको छ । बिहीबार चाँदी प्रतितोला ७ हजार ५०५ रुपैयाँ कायम भएको थियो । आज बजारमा छापावाल सुन २ लाख ८६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबारको तुलनामा सोमबार छापावाल सुन प्रतितोला १३ हजार ४ सय रुपैयाँले घटेको हो । आइतबार छापावाल सुन प्रतितोला १८ हजार ८ सय रुपैयाँले घटेर तीन लाख रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदी प्रतितोला पाँच हजार २ सय रुपैयाँ तोकिएको छ । आइतबारको तुलनामा आज चाँदी ३ सय रुपैयाँले घटेको छ । आइतबार चाँदी १५ सय ६५ रुपैयाँले घटेर ५ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।  गत शुक्रबार छापावाल ३ लाख १८ हजार ८ सय रुपैयाँ चाँदी सात हजार ५ सय कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार ९०० डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका प्रथम उपाध्यक्ष दियसरत्न शाक्यले सुनको मूल्यमा यति धेरै उतारचढाव हुनुको कारण विश्वव्यापी परिदृश्य  र अनलाइनमार्फत गरिने गोल्ड तथा सिल्भर ईटीएफ ट्रेडिङ रहेको बताए । उनका अनुसार लगानीकर्ताहरूले नाफा बुक गर्नका लागि धेरै मात्रामा सुन बिक्री गरेका छन् । यसरी सेलिङ प्रेसर र बाइब्याक सेलका कारण बजारमा सुनको मूल्यमा उतारचढाव हुने गरेको उनको  भनाइ छ ।  उपाध्यक्ष शाक्यले एकदिन ह्वात्तै बढ्नु र अर्कोदिन त्यही रकमले बढ्दा बजार बढी प्रभावित हुने गरेको बताए ।  ‘हिजो १८ हजार ५ सय रुपैयाँले बढ्ने र आज त्यही रकमले घट्दा बजारमा ठूलो प्रभाव पर्छ,’ शाक्यले भने, ‘यसरी सुनमा उतारचढाव हुँदा ग्राहकले पत्याउनै गाह्रो मानिरहेका छन् ।’  उनका अनुसार ग्राहक र व्यापारी दुवै ‘पर्ख र हेर’ को स्थितिमा रहेको उनले बताए ।  सुनको मूल्य ह्वात्तै घटबढ हुँदा कारोबार, विशेषगरी किन्न वा बेच्न धेरै गाह्रो हुने गरेको सुन व्यवसायीहरू बताउँछन्। उपाध्यक्ष शाक्यका अनुसार यस्तो समयमा पसल र ग्राहकबीच आपसी सहमति र वार्ता गरेर काम गर्नुपर्ने हुन्छ।  सुनको मूल्य अझै ओरालो लाग्छ कि फेरि उकालो भन्ने चासो धेरैको छ । सुनचाँदी व्यवसायीहरूले भने अब करिब एक साता अझै सुनको मूल्य ओरालो लाग्ने र त्यसपछि बजार केही स्थिर हुने अपेक्षा गरेका छन् ।

चुनाव आउन ३१ दिन बाँकी: मतदाता फकाउन घरदैलोमा उम्मेदवार

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन मिति नजिकिएसँगै राजनीतिक दलले उम्मेदवारसहित घरदैलो अभियान तीव्र पारेका छन् । फागुन ४ गतेअघि आमसभा तथा खुला कार्यक्रम गर्न नपाउने भएपछि उम्मेदवार मतदाताको घरदैलो कार्यक्रममा छन् । माघ ६ गते उम्मेदवारी दर्ता गरेपछि मतदाता समक्ष पुगेर भोट माग्न उम्मेदवार व्यस्त देखिन्छन् । दुई निर्वाचन क्षेत्र रहेको बागलुङमा यसपाली २३ जना चुनावी मैदानमा छन् । क्षेत्र नम्बर १ मा ११ र क्षेत्र नम्बरमा २ मा १२ जना उम्मेदवार छन् । उनीहरु सबै दूरदराजका बस्तीदेखि सहर बजारका चोक र गल्लीमा भोट मागी रहेको भेटिन्छन् । निर्वाचन हाँक्न दलले नेतृत्व पनि चयन गरिसकेका छन् । सबै दलले निर्वाचनका लागि सम्पर्क कार्यालय खोलेर नेता कार्यकर्ता परिचालन गरिसकेका छन् । क्षेत्रीय तहमा निर्वाचनका कमान्डर बनाएर प्रचार अभियान थालिएको हो ।  नेपाली कांग्रेसले क्षेत्र नम्बर १ मा चण्डीप्रसाद शर्माको नेतृत्वमा दुई वटा प्रदेश क्षेत्रका सभापतिसहित पदाधिकारीलाई निर्वाचन परिचालन समितिमा राखेर काम थालिएको छ । नेकपा (एमाले)ले पूर्वसांसद् सूर्य पाठकलाई निर्वाचन परिचालनको कमान्डर बनाएको छ भने राष्ट्रिय जनमोर्चाले तिलक थापा तथा राष्ट्रिय स्वतन्त्र पार्टीले रोशन खड्काको नेतृत्वमा प्रचार अभियान थालेका छन् ।  पहिलो चरणमा निर्वाचनमा होमिएका उम्मेदवारले घर घरमा पुगेर जनतालाई भेट्ने, राजनीतिक प्रशिक्षण गर्ने र आफ्नो दलको उद्देश्य र लक्ष्यबारे बताउन थालेका छन् । निर्वाचन लक्षित गरेर राजनीतिक दलहरूले एक हजार पाँच सय जनासम्म सदस्य रहेको निर्वाचन परिचालन समिति पनि गठन गरेका छन् ।  निर्वाचन क्षेत्र नम्बर २ मा कांग्रेसले क्षेत्रीय सभापति जोकलाल बुढा, एमालेले विष्णुप्रसाद भुसाल, नेकपाले फमलाल निउरे र रास्वपाले ढालेन्द्र रायमाझीलाई प्रचार संयोजक बनाएको छ  । प्रारम्भिक चरणमा क्षेत्र नम्बर २ मा पनि दलले घरदैलो कार्यक्रम गरिरहेका छन् । उम्मेदवारी दर्तापछि दैनिक विभिन्न दलका नेता तथा उम्मेदवार भोट माग्न आउने गरेको बागलुङ नगरपालिका-७ की सकुन्तला सापकोटले बताए ।  सापकोटाले भने, ‘उम्मेदवार धेरै रैछन्, दिनदिनै आउँछन् भोट मलाई भन्छन्, हामीहरुले जनताको काम गर्छ, सशासन कायम गर्छ उसैलाई भोट दिन्छौं भनेको छौं, चुनाव आउन अझै एक महिना बढी छ, तर भोट माग्ने आउने नेताहरुको कारण चुनाव आइसके जस्तो भइरहेको छ ।’ ढोरपाटन नगरपालिका-१ का खगेश्वर खत्रीले भोट माग्ने नेता तथा उम्मेदवारका कारण चुनावी सरगर्मी बढेको बताए । यस क्षेत्रमा १२ जना उम्मेदवार रहेको भन्दै दिनहुँ जसो मत माग्ने आउने गरेको उनको भनाइ छ ।

कर्णालीमा पहिलोपटक १३२ केभी प्रसारण लाइन, उद्योग सञ्चालनको बाटो खुल्यो

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कर्णाली प्रदेशमै पहिलो पटक १३२ केभी प्रसारण लाइन सञ्चालनमा ल्याएको छ । प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले कोहलपुर-सुर्खेत-दैलेख १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गतको कोहलपुर-सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालनमा आएसँगै उक्त प्रदेशको आर्थिक वृद्धिमा मद्दत पुग्ने विश्वास गरे ।  उनले विगतमा ३३ केभी क्षमताको प्रसारण लाइनबाट कर्णाली प्रदेशमा विद्युत् आपूर्ति भइ ओभरलोड हुने, छिनछिनमा बत्ती गइरहने र लो-भोल्टेजको समस्यामा उल्लेख्य सुधार हुने बताए । आयोजनाको सञ्चालनसँगै कर्णालीमा ठूला उद्योगधन्दा सुरु हुने र उनीहरुले सबैभन्दा बढी विद्युत् उद्योगमा खर्च हुन सक्ने उनको भनाइ छ। पुसको तेस्रो साता स्थलगत अवलोकन गरेर कार्यकारी निर्देशक शाक्यले आयेजनाबाट छिटो चार्ज गराउने गरी काम गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिएका थिए । आयोजनाका प्रमुख रविकुमार चौधरीले करिब ५२ किलोमिटर लामो कोहलपुर-सुर्खेत खण्डको काम प्राधिकरणले दिएको जिम्मेवारी बमोजिम छिटो सम्पन्न गर्न सम्भव भएको बताए ।  अब दोस्रो खण्डको सुर्खेत-दैलेख खण्डको काम तीव्र गतिमा अघि बढ्ने उनले जानकारी दिए ।

१३ हजार ४ सयले घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ । सोमबार (आज)  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोलामा १३ हजार ४०० रुपैयाँले घटी २ लाख ८६ हजार ६ सयमा कारोबार भइरहेको छ ।   आइतबार प्रतितोला सुन ३ लाख रुपैयाँमा कारोबार भएको थियो भने शुक्रबार सुन ३ लाख १८ हजार ८ सयमा कारोबार भएको थियो । त्यसैगरी, आज चाँदी ५ हजार २ सयमा कारोबार भइरहेको छ । आइतबार दिन ५ हजार ५ सयमा कारोबार भएको थियो भने शुक्रबार चाँदी ७ हजार ६५ मा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार ९०० डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । 

कास्की जिल्ला अदालतमा निःशुल्क आँखा शिविर, २१५ जना लाभान्वित

काठमाडौं । नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित  हिमालय आँखा अस्पताल पोखराद्वारा कास्की जिल्ला अदालत परिसरमा सञ्चालित निःशुल्क आँखा शिविरमा २१५ जना लाभान्वित भएका छन् । परीक्षण गरिएका मध्ये १५६ जनालाई सामान्य आँखाको समस्या देखा परेकाले निःशुल्क औषधि वितरण गरिएको थियो भने २४ जनालाई थप उपचारका लागि हिमालय आँखा अस्पताल ‘रिफर’ गरिएको थियो ।   शिविरको  जिल्ला अदालत कास्कीका प्रमुख न्यायधीश हिमलाल वेलबासेले शुभारम्भ गरेका थिए । अस्पतालका बाह्य कार्यक्रम  प्रमुख सुभाष नेपालले शिविरमा उच्च अदालत र जिल्ला अदालतमा सेवारत र नेपाल बार कास्कीमा  आवद्ध व्यक्तिले आँखा जाँच गराएका थिए ।  अस्पतालले विभिन्न साझेदारसँगका सहकार्यमा गण्डकी प्रदेश तथा कर्णाली प्रदेशमा निःशुल्क शिविर सञ्चालन गर्दै आइरहेको छ ।  नेपाल नेत्रज्योति सङ्घका महासचिव भरतबहादुर चन्दले  ‘हाम्रो कर्तव्य, हाम्रो जिम्मेवारी-आँखा सेवामा साझेदारी’ भन्ने मूल नाराकासाथ सङ्घले विभिन्न निकायसँगको सहकार्यमा अस्पतालको पहुँचभन्दा टाढा रहेका नागरिकलाई लक्षित गरी वार्षिक आँखा शिविर सञ्चालन गर्दै आएको जानकारी दिए ।      उनले ग्रामीण क्षेत्रका न्यून आयस्तरका, गरिब तथा विपन्न नागरिक आर्थिक तथा भौगोलिक पहुँचको अभावका कारण स्वास्थ्य समस्या हुँदाहुँदै पनि उपचारबाट वञ्चित हुने अवस्थालाई मध्यनजर गर्दै सङ्घले उनीहरूको घरआँगनमै पुगेर गुणस्तरीय आँखा उपचार सेवा प्रदान गरिरहेको उल्लेख गरे ।      त्यसैगरी, नेपाल नेत्रज्योति सङ्घका कार्यकारी निर्देशक डा. शैलेशकुमार मिश्रका अनुसार सङ्घले हालसम्म देशका ६७ जिल्लामा स्थायी आँखा उपचार संरचना स्थापना गरिसकेको छ, भने ७७ वटै जिल्लाका नागरिकलाई आँखा उपचार सेवा प्रदान गर्दै आएको छ ।      सङ्घले स्थापना कालदेखि सन् २०२४ को अन्त्यसम्म २८ आँखा अस्पताल तथा २२६ आँखा उपचार केन्द्रको सञ्जालमार्फत नेपाली नागरिकसहित विभिन्न देशका गरी कूल चार करोड ६८ लाख ६८ हजार ६० जनालाई आँखा उपचार सेवा प्रदान गरिएको छ । यस अवधिमा ५३ लाख ९२ हजार २२४ जनाको आँखाको शल्यक्रिया सम्पन्न भइसकेको सङ्घले जनाएको छ । 

नेपालको वित्तीय समावेशीकरण सूचकांक ०.५३ पुग्यो

काठमाडौं । नेपालमा वित्तीय पहुँच, प्रयोग र सेवाको गुणस्तरमा उल्लेख्य सुधार भएके तथ्याङ्कले देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय समावेशीकरण सूचकांक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०२४/२५ मा नेपालको समग्र वित्तीय समावेशीकरण सूचकांक ०.५३ पुगेको छ । अघिल्लो वर्ष यो सूचकांक ०.४७ रहेको थियो । राष्ट्र बैंकका अनुसार सूचकांक मानव विकास सूचकांकको गणना विधिअनुसार ० देखि १ को स्केलमा मापन गरिन्छ, जहाँ उच्च अंकले उच्च वित्तीय समावेशीकरण जनाउँछ । सूचकांक पहुँच, प्रयोग र सेवाको गुणस्तर गरी तीन आयाममा आधारित ५५ वटा सूचक प्रयोग गरेर तयार पारिएको हो । प्रतिवेदनअनुसार पहुँच सूचकांक ०.४७ बाट ०.५३, प्रयोग सूचकांक ०.४९ बाट ०.५४ र गुणस्तर सूचकांक ०.४१ बाट ०.५० पुगेको छ । यसले वित्तीय संस्थाको विस्तार, डिजिटल सेवाको प्रयोग वृद्धि र ग्राहक अनुभवमा सुधार भएको संकेत गर्ने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले वित्तीय समावेशीकरणमा आएको सुधारले समावेशी आर्थिक वृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै डिजिटल पूर्वाधार सुदृढीकरण र वित्तीय साक्षरता प्रवर्द्धनमा अझै प्रयास आवश्यक रहेको औंल्याएको छ । 

३ कम्पनीले माछापुच्छ्रे बैंक छोड्दै, बिक्रीमा राखे ३१ लाख कित्ता सेयर

काठमाडौं । माछापुच्छ्रे बैंकका तीन ठूला संस्थापक सेयरधनी बैंकबाट बाहिरिने भएका छन् । आफ्नो नाममा रहेको ३१ लाख कित्ता संस्थापक सेयर बिक्री गर्दै उनीहरू बैंकको सेयर स्वामित्वबाट बाहिरिन लागेका हुन् ।  बैंकका अनुसार के.एम.सी. अटोमोबाइल्स प्रालिले १३ लाख ५८ हजार १०३ कित्ता, एसोसिएटेड अटोमोबाइल्स प्रालिले ९ लाख ९७ हजार ८३१ कित्ता र हिमालयन इन्टरप्राइजेज प्रालिले ७ लाख ४१ हजार ४४६ कित्ता गरी कुल ३० लाख ९७ हजार ३८० कित्ता संस्थापक सेयर बिक्रीमा राखेका छन् । बैंकका अनुसार उक्त संस्थापक सेयरमा हालका विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरूले ३५ दिनभित्र आवेदन दिनुपर्ने व्यवस्था गरिएको छ । उक्त अवधिभित्र संस्थापक सेयरधनीबाट आवेदन नआएमा सो सेयर सर्वसाधारण लगानीकर्तालाई बिक्री गरिने बैंकले जनाएको छ । के.एम.सी. अटोमोबाइल्स, एसोसिएटेड अटोमोबाइल्स र हिमालयन इन्टरप्राइजेजको अध्यक्ष अरुण कुमार चौधरी हुन भने सञ्चालक शिला चौधरी ।  के.एम.सी.र एसोसिएटेड अटोमोबाइल्स गाडीका पाटपूर्जा आयात गर्ने उद्देश्यले संचालनमा आएका हुन् भने हिमालयन इन्टरप्राइजेज सबै प्रकारका मालसामान, खरिद–बिक्री आयात, निर्यात गर्ने उद्देश्यले सञ्चालनमा आएको हो ।