विकासन्युज

दुई लाखले लिए श्रम स्वीकृति : दुबइले भिसा रोक्यो, अरु देशले पनि सुरक्षा चासो बढाउँदै

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो तीन महिनामै २ लाख १० हजारले  श्रम स्वीकृति लिएर रोजगारीका लागि विदेश उडेका छन् । वैदेशिक रोजगार विभागकाअनुसार चालु आर्थिक वर्षको पहिलो तीन (साउन–असोज महिनासम्ममा) २ लाख १० हजार ५ सय १६ जनाले श्रम स्वीकृति लिएका छन् ।  विभागकाअनुसार चालु आव २०८२/८३ को साउन, भदौ र असोजमा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएको जानेको यो संख्या अघिल्लो बर्षको तुलनामा बढेको देखिन्छ । गत आव २०८१/८२ को सोही अवधिमा १ लाख ७० हजार ६ सय ३ जनाले श्रम स्वीकृति लिएको तथ्यांक विभागसँग छ । चालु आवमा श्रम स्वीकृति लिएर विदेश जानेको संख्या ३९ हजार ९ सय १३ जनाले बढी रहेको विभागको तथ्यांकले देखाएको छ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि संयुक्त अरब इमिरेटस (युएई), साउदी, कतार, ओमान, बहाराइन, कुवेतमा नेपाली श्रमिक रोकिएको बताइएपनि ती देशमा जानेको संख्यामा कमी नआएको तथ्यले देखाएको छ । असोजमा मात्रै युएईका लागि साढे १८ हजारले श्रम स्वीकृति लिएको विभागको तथ्यांक छ । युएईपछि कतारका लागि ११ हजारभन्दा बढीले श्रम स्वीकृति लिएका छन् भने साउदीका लागि ८ हजार ७ सय ९१ जनाले श्रम स्वीकृति लिएका छन् । कुवेतका लागि चार हजार ५ सय २३ जना छन् । गत आवमा रोजगारी खोज्दै ८ लाख ३९ हजार बढी युवा बिदेसिएका थिए । वैदेशिक रोजगार व्यवसायीहरुका अनुसार जेनजी आन्दोलनको असर वैदेशिक रोजगारीमा अझै पूर्णतयता देखिएको छैन् । तर पनि आगामी दिनमा देखिन सक्छ । दुबईले भिसा रोकेको छ भने अरुले सुरक्षा चासो बढाएका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष भुवनसिंह गुरुङले जेनजी आन्दोलनपछि दुबइले भिसा रोकेको बताए । उनकाअनुसार अन्य देशले पनि सुरक्षामा चासो देखाइरहेका छन् । गुरुङले भने–‘दुबई इमिरेट्सलेले भिसा रोकेको छ । कामदारको मात्रै नभइ विद्यार्थी भिसा पनि रोकेको अवस्था छ । अन्यदेशको सन्दर्भमा नेपालका जेलबाट कैदीहरु भागेका कारण कतै अपराधी त आएको छैन् भनेर बुझाइका कारण ती देशहरुले चासो देखाइरहेका छन् । खासगरी दुबइ बाहेक अरु देशले धेरै नै कडाइ गरेको अवस्था छैन् ।’  पछिल्लो समय श्रम गन्तव्यबाट माग बढी आएका कारण वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढेको उनको भनाइ छ । विभागले पनि श्रम गन्तव्यमा गरिएको श्रमिकमैत्री कानून परिमार्जन, श्रम स्वीकृति सेवालाई पूर्ण अनलाइन र गन्तव्यमा श्रमिक अभावका कारण माग पनि बढेको विभागको अनुमान गरेको छ ।

एनआरएन इन्फ्रास्ट्रक्चरको सीईओ बन्न नेप्सेबाट बाहिरिए फुयाल, कम्पनी सचिवबाट पराजुलीले दिए राजीनामा

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का कामु नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) निरञ्जन फुँयालले राजीनामा दिएका छन् । दसैँ अगाडि नै नेप्सेबाट आफूले राजीनामा दिएको फुयालले विकासन्युजसँग बताए । नेप्से सञ्चालक समितिको आइतबार बसेको बैठकले फुयालको राजीनामा स्वीकृत गरिसकेको छ । तर, नेप्सेका अध्यक्ष हेमन्त बस्यालको दबाबमा फुयालले राजीनामा दिएको नेप्सेका एक कर्मचारीले बताए ।  साथै, ती कर्मचारीका अनुसार मुराहरि पराजुलीले पनि नेप्सेको कम्पनी सचिव पदबाट राजीनामा दिएका छन् । विगत ४ वर्षदेखि पराजुली कम्पनी सचिवको जिम्मेवारी सम्हाल्दै आएका थिए । आठौं तहको सहायक प्रबन्धक पराजुली नेप्सेको सूचना अधिकारीमा भने कायमै छन् । नेप्सेबाट बाहिरिए सँगै फुयाल एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीको प्रमुख कार्यकारी अधिकृत बन्ने तयारी रहेको स्रोतको दाबी छ । एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनी गैरआवासीय नेपालीहरूको मुख्य लगानीमा स्थापना भएको कम्पनी हो । हेमन्त बस्यालले राजीनामा दिएर नेप्सेको अध्यक्ष बनेपछि एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको सीईओ पद रिक्त रहेको छ ।

निजी अस्पताल र सरकारसँग वार्ता गरेको एक दिनमै फेरि आन्दोलनमा फर्कियो नर्सिङ संघ

काठमाडौं । निजी अस्पताल र सरकारसँग वार्ता गरेको एक दिनमै नर्सिङ संघ फेरि आन्दोलनमा आएको छ । निजी अस्पतालमा कार्यरत नर्सहरूलाई सरकारी पाँचौ तहका नर्स सरह सुविधा उपलब्ध गराउन सर्तमा सरकारसँग सहमती भए पनि  आन्दोलनरत नर्सको दबाबमा फेरि आन्दोलनमा फर्केको हो ।   नर्सिङ संघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय १५ गते शनिबार निजी अस्पताल, कलेजका सञ्चालक र सरकारसँग वार्ता गरेर सहमती गरेको थियो ।  सहमति अनुसार निजी ठूला निजी मेडिकल कलेज र अस्पतालले कार्तिक महिनादेखि ३४ हजार ७ सय ३० रुपैयाँ दिने र अन्य निजी अस्पतालले २७ हजार ४ सय ८४ रुपैयाँ दिने र बिस्तारै अस्पतालको वर्गीकरण गर्दै सरकारी सरह सुविधा दिने सहमति भएको थियो ।  आन्दोलनरत नर्सले पिसिएल नर्सिङ र बिएस्सी नर्सिङलाई एउटै डालोमा राखेर सुविधा दिन नहुने र बाँकी थप समय काम गरेको पैसा पनि पाउनुपर्ने भन्दै असहमति जनाएको थियो । आन्दोलनरत नर्सको असहमति हुँदा पनि नर्सिङ संघले सहमति जनाएपछि आन्दोलनरत नर्सहरू थप आक्रोशित भएका थिए । उनीहरूले आइतबार नर्सिङ संघको कार्यालय नै घेराउ गरेपछि संघ सहमतिबाट पछि हट्दै आन्दोलनमा आएको हो । आन्दोलनरत नर्सले नर्सिङ संघले अभिभावकिए भूमिका नखेलेको बरु संघबाटै धोका दिएको भन्दै कार्यालय घेराउ गरेका थिए । नर्सहरूको दबाब पश्चात संघ फेरि आन्दोलनमा फर्किएको संघका महासचिव देवका आचार्यद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

एनटीसीको बिलिङ ठेक्का विवाद : पूर्वसचिव गेलालको संयोजकत्वमा ७ सदस्यीय छानबिन समिति गठन

काठमाडौं । नेपाल टेलिकमको बिलिङ प्रणालीसम्बन्धी ठेक्का प्रक्रियालाई लिएर पछिल्ला दिनमा उत्पन्न विवाद चुलिँदै गएपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सोमबार (आज) ७ सदस्यीय उच्चस्तरीय छानबिन समिति गठन गरेका छन् । मन्त्रालयका अनुसार पूर्वसचिव मणिराम गेलालको संयोजकत्वमा छानबिन समिति गठन गरिएको हो । यस समितिले नेपाल टेलिकमको बिलिङ ठेक्कासँग सम्बन्धित सम्पूर्ण प्रक्रिया प्रस्ताव मूल्याङ्कनदेखि ठेक्का वितरणसम्मका हरेक पक्षमा गहिरो अध्ययन गर्ने बताइएको छ । उक्त समितिका सदस्यहरूमा सञ्चार मन्त्रालयका सहसचिव गौरव गिरी सहित सहसचिवहरू कृष्ण पन्त, आदेश खड्का, राजेश थापा रहेका छन् । यसैगरी, नेपाल टेलिकमबाट कमल लामिछाने र दुर सन्चार प्राधिकरणबाट प्रदीप पौडेल सदस्य रहेका छन् । नेपाल टेलिकमले नयाँ बिलिङ प्रणालीको ठेक्का प्रक्रियामा पारदर्शिता नहुँदा र केही ठेकेदार कम्पनीहरूबीच असमान प्रतिस्पर्धाको आरोप लगिँदै आएको छ । केही प्रस्तावक कम्पनीहरूले मूल्याङ्कनमा असामान्य अंक विभाजन भएको दाबी गर्दै प्रक्रिया रोक्न माग गर्दै आएका थिए । नेपाल टेलिकमका भित्रका केही उच्च अधिकारीहरू र कर्मचारी संघहरूले पनि ठेक्का प्रक्रिया एकपक्षीय भएको आरोप लगाएका छन्। । कतिपयले मन्त्रालयको प्रत्यक्ष संलग्नता रहेको भन्दै छानबिन समिति गठनलाई स्वागत गरेका छन् । एनटीसीको बिलिङ ठेक्कामा नयाँ ‘ट्वीष्ट’, ह्वेल क्लाउडको पुर्नमूल्यांकन गर्न मन्त्री खरेलको निर्देशन  

अझै रोकिएन असुरक्षित गर्भपतन : आफूखुसी औषधि नखाऔँ

ढोरपाटन । बागलुङमा पछिल्लो समय सुरक्षित स्वास्थ्य सस्थाबाट नै गर्भपतन सेवा लिनेको सङ्ख्या बढ्दो छ । प्रदेश जनस्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा एक हजार ६४ जना महिलाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा सुचीकृत स्वास्थ्य सस्थामार्फत् सेवा लिएका थिए । सेवा लिएका मध्ये २७ जना २० वर्ष मुनिका रहेका बताइएको छ । आव २०८०/८१ मा एक हजार १५२ जनाले सुरक्षित गर्भपतन सेवा लिएका थिए । अर्कोतर्फ अझै पनि ‘लाज र डर’का कारण औषधि मार्फत् ज्यान जोखिममा पारेर असुरक्षित गर्भपतन गराउने कायम रहेको छ । यस्ता सेवा लिनेमा किशोरी र सम्बन्धविच्छेद गरेका महिला समेत छन् । जिल्लाका १० स्थानीय तहका २६ स्वास्थ्य संस्थाले सुरक्षित गर्भपतन सेवा प्रदान गर्ने गर्दछन् । ती मध्ये बागलुङमा ३ , गलकोटमा चार , जैमिनीमा दुई , ढोरपाटनमा तीन , काठेखोलामा ७ , निसीखोलाा दुई , तमानखोलामा एक , ताराखोलामा दुई , बडिगाडामा एक र बरेङको एउटा स्वास्थ्य संस्था छन् । असुरक्षित यौन सम्बन्ध र अनिच्छित गर्भको कारण सेवाग्राहीले सूचिकृत स्वास्थ्य सस्थाबाट गर्भपतन सेवा लिने जनाइएको छ । कार्यालयका सूचना अधिकारी देवप्रकाश घिमिरेले चालु आर्थिक वर्षको तीन महिनामा १७२ जनाले सूचिकृत स्वास्थ्य सस्था मार्फत् गर्भपतन सेवा लिएको जानकारी दिए । उनका अनुसार जसमा २० वर्ष मुनिका छ जना रहेका छन् । सूचिकृत स्वास्थ्य संस्थामा भन्दा अन्यत्र गर्भपतन सेवा लिने जिल्लामा कायमै रहेको जनाइएको छ । सूचना घिमिरेले भने, 'कतिपयले आफ्नो स्वास्थ्य नै जोखिममा पर्ने गरी असुरक्षित गर्भपतन गराउने गरेको छन् । धेरै समस्या भएपछि सूचिकृत स्वास्थ्य सस्थामा आउने सेवाग्राही समेत हुन्छन् ।' बुर्तिबाङ अस्पतालकी नर्सिङ अधिकृत निरीक्षक पार्वती अर्यालले सूचिकृत स्वास्थ्य सस्थामा दोहोरिएर गर्भपतन सेवा लिन आउनेको पनि सङ्ख्यामा बृद्धि भइरहेको जानकारी दिए । उनका अनुसार पछिल्ला समय परिवार व्यवस्थापनका लागि स्थायी तथा अस्थायी साधन प्रयोग नगर्दा पछिल्लो समय गर्भपतन गराउने महिलाको सङ्ख्या मा बृद्धि भएको हो । अस्पतालमा अविवाहित किशोरी पनि गर्भपतन सेवाका लागि अस्पतालमा आउने गरेको जनाइएको छ । 'उमेर पुगेका महिलादेखि अविवाहित किशोरी र अन्य महिला पनि गर्भपतन सेवा लिन आउनुहुन्छ, अशिक्षा र असाबधानीका कारण गर्भपतन गराउनुपर्ने बाध्यतामा उनीहरु हुन्छन्' उनले भने 'असुरक्षित रुपमा गर्भपतन गराउनेको सङ्ख्यामा अहिले केही कमी आएको छ, तर अस्पताल बाहिर असुरक्षित रुपमा गर्भपतन गराउनेहरु पनि हुन्छन्, लाज र डरले गर्दा उनीहरु अस्पताल आउँदैनन्, औषधि खाएर गर्भपतन गराउँदछन् ।' औषधि पसलमा जथाभावि पाइने गर्भपतनका अनाधिकृत औषधि उपयोग गर्दा महिलाको ज्यान समेत जोखिममा पर्ने गरेको छ । औषधि व्यवस्था विभागले सूचीकृत गरेका औषधि पसलमा मात्र गर्भपतनका औषधि बिक्री गर्न पाइन्छ । तर अनाधिकृत औषधि पसलमा यस्ता औषधि बिक्री वितरण नरोकिएको बताइएको छ । पटक पटक गर्भपतन गराउँदा स्वास्थ्यमा समस्या बजारमा केही स्वास्थ्य संस्थाहरुले अनुमति नलिई असुरक्षित गर्भपतन गराउने र औषधि प्रयोग गर्ने गरेको पाइन्छ । यसले महिलाको स्वास्थ्यमा असर पार्ने धौलागिरि प्रादेशिक अस्पताल बागलुङका प्रमुख डा किरण तिवारीले जानकारी दिए । कतिपय महिलाले पटक–पटक गर्भपतन गराउने जनाउँदै यसले स्वास्थ्यमा गम्भीर असर पु¥याउने उनको भनाइ छ । असुरक्षित गर्भपतन गराउँदा अधिक रक्तस्राब भएर ज्यानसमेत जान सक्ने चिकित्सक बताउँदछन् । पटक पटक गर्भपतन हुँदा महिलाको शरीरमा रगतको कमी हुने र विभिन्न सङ्क्रमण हुनसक्ने जनाउँदै उनी पछि चाँहदा चाँहदै पनि गर्भ नरहे समस्या आउने उनस् बताउँछन् । प्रमुख डा तिवारी गर्भपतन गराउनुभन्दा परिवार नियोजनका अस्थायी तथा स्थायी साधनको प्रयोग गर्नु उत्तम विकल्प रहेको सुझाव दिन्छन् । 'गर्भपतन महिलाको स्वास्थ्यसँग जोडिएको हुन्छ, यो आपत्कालीन अवस्थामा मात्रै गर्नुपर्छ, परिवार व्यवस्थापनको साधन प्रयोग गर्नुनै राम्रो हुन्छ, यत्ति सजकता अपनाइयो भने समस्या हुँदैन' प्रमुख डा तिवारीले भने 'धेरै पटक गर्भपतन गर्दा रगत बढी बगेर ज्यान जाने सम्भवना हुन्छ भने गर्भ पाठेघरभन्दा बाहिर बस्ने र शल्यक्रिया गर्नुपर्ने अवस्था आउन सक्छ ।' उनले पछिल्लो समय बजारमा जथाभावी रुपमा गर्भपतन गराउने विभिन्न औषधि पाइने र महिलाले आफूखुसी खाने गर्ने गरेको बताए । आफूखुसी गर्भपतनको औषधि खान नहुने जनाउँदै गर्भपतन गराउनै परे सूचिकृत स्वास्थ्य संस्थामा दक्ष स्वास्थ्यकर्मीको सुझाव लिएर मात्रै गर्नुपर्ने प्रमुख डा तिवारी बताउँछन् । रासस

एनआईसी एशियाको सीईओ बने सुजित शाक्य, यस्तो छ बैंकिङ अनुभव

काठमाडौं । एनआईसी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुजित शाक्य नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको कात्तिक १७ गते बसेको बैठकले सीईओमा शाक्यलाई नियुक्त गरेको कम्पनी सचिव दिपेन कार्कीले जानकारी दिए ।  यसअघि नबिल बैंकको वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) रहेको शाक्यलाई एनआईसी एशियाले ४ वर्षका लागि सीईओमा नियुक्त गरेको कार्कीले बताए । शाक्यले आगामी ३० दिनभित्र कार्यभार सम्हाल्ने उनले जानकारी दिए । भारतको लखनउस्थित इन्स्टिच्युट अफ प्रोडक्टिभिटी म्यानेजमेन्टबाट पोस्ट ग्य्राजुएट डिप्लोमा इन बिजनेश म्यानेजमेण्ट गरेका शाक्यले सन् १९९६ मा नेपाल श्रीलङ्का मर्चेन्ट बैंकबाट बैंकिङ करियर सुरु गरेका हुन् ।  उनले जुलाई १९९७ देखि १२ अप्रिल २००५ सम्म हिमालयन बैंक, १३ अप्रिल २००५ देखि १७ जुलाई २००७ सम्म लक्ष्मी सनराइज बैंक, १० अक्टोबर २००७ देखि २९ जुन २०१३ सम्म साबिक बैंक अफ एशिया नेपाल, ३० जुन २०१३ देखि १२ फेब्रुवरी २०१७ सम्म एनआईसि एसिया बैंकमा काम गरेका थिए ।  यस्तै, उनले १ मार्च २०१७ देखि १६ अप्रिल २०१९ सम्म साबि सिभिल बैंक,  २२ अप्रिल २०१९ देखि ५ डिसेम्बर २०१९ सम्म साबिक जनता बैंक र डिसेम्बर २०१९ देखि अगस्ट २०२० सम्म ग्लोबल आइएमई बैंकमा काम गरेको अनुभव छ । नेपाली बैंकिङ क्षेत्रमा ३ दशकको कार्यानुभव भएका शाक्यले आधा दर्जन बढी संस्थामा काम गरेर आफ्नो दख्खलता देखाइसकेका छन् । १६ अगस्ट २०२० देखि हालसम्म भने उनी नबिल बैंकको डीसीईओको रूपमा कार्यरत थिए । 

एआईमा दौड, पैसा भने अनलाइन विज्ञापनमा बर्सिँदै !

काठमाडौं । प्रविधि क्षेत्रका ठूला कम्पनीहरूले कृत्रिम बौद्धिकता (एआई) मा अचम्मलाग्दो रूपमा बढ्दो लगानी गरिरहेका बेला तिनीहरूको डिजिटल विज्ञापन व्यवसाय पनि तीव्र गतिमा अगाडि बढिरहेको छ । यो हप्ताका त्रैमासिक नतिजा विवरणहरूले मेटा, अमेजन, अल्फाबेट र माइक्रोसफ्ट सबैले विज्ञापनबाट उल्लेख्य आम्दानी गरेको देखाएका छन् । अनलाइन विज्ञापन बिक्रीमा भएको वृद्धि यस वर्षको सुरुवातमा देखिएका चिन्ताहरूलाई कम गरेको छ, जसमा राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार नीतिले बढाएको आर्थिक अस्थिरताले विज्ञापन बजेटमा नकारात्मक असर पार्ने आशंका गरिएको थियो । ‘मलाई लाग्छ डिजिटल विज्ञापन बजार बलियो छ,’ स्केलेबल नामक क्रिएटर इकनमी मिडिया फर्मकी सह–संस्थापक जस्मिन एनबर्ग भन्छिन्, ‘आर्थिक अस्थिरता र उतारचढाव अहिले धेरैका लागि सामान्यजस्तै भइसकेको छ, मानौं यो नै नयाँ सामान्य अवस्था हो ।’ यस त्रैमासमा मेटाले आफ्ना प्रतिस्पर्धीहरूलाई पछाडि पार्दै विज्ञापन आम्दानी वृद्धिमा अग्रता हासिल गर्यो । मेटाको कुल तेस्रो त्रैमासिक आम्दानी जसको ९८ प्रतिशत अनलाइन विज्ञापनबाट आउँछ, गत वर्षको तुलनामा २६ प्रतिशतले बढेर ५१.२४ अर्ब डलर पुगेको छ । जुन सन् २०२४ को पहिलो त्रैमासपछि कम्पनीको सबैभन्दा उच्च बिक्री हो । अमेजनको अनलाइन विज्ञापन इकाइको आम्दानी पनि वर्षको तुलनामा २४ प्रतिशतले बढेर १७.७ अर्ब डलर पुगेको छ, जुन कम्पनीको एडब्ल्यूएस क्लाउड कम्प्युटिङ इकाइको २० प्रतिशत वृद्धिभन्दा बढी दर हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एन्डी ज्यासीले अमेजनको आय कलमा बताएअनुसार कम्पनीले आफ्नो विज्ञापन(केन्द्रित डिमान्ड–साइड प्लेटफर्म (डीएसपी) लाई थप तेस्रो पक्षका एप्स र साइटहरूमा विस्तार गरिरहेको छ । ‘हामीले गरेका केही साझेदारीहरू हेर्दा रोकुसँगको साझेदारीले हामीलाई अमेरिकाको सबैभन्दा ठूलो ‘कनेक्टेड टिभी’ नेटवर्क दियो,’ ज्यासीले भने,’ र त्यसमा थप्दै हामीले हालै नेटफ्लिक्स, स्पोटिफाई र सिरियसएक्सएमका विज्ञापन सूचीहरूसँग हाम्रो डीएसपी ग्राहकहरूलाई एकीकृत हुने अवसर दिएका छौं । यो निकै शक्तिशाली संयोजन हो ।’ अल्फाबेटको तेस्रो त्रैमासिक विज्ञापन आम्दानी १३ प्रतिशतले बढेर ७४.१८ अर्ब डलर पुगेको छ । युट्युबको अनलाइन विज्ञापन आम्दानी १५ प्रतिशत बढेर १०.२६ अर्ब डलर पुगेको छ । माइक्रोसफ्टको सर्च र न्युज विज्ञापन इकाइले कम्पनीको आर्थिक पहिलो त्रैमासमा ३.७ अर्ब डलर आम्दानी र्गयो जुन गत वर्षको ३.२ अर्ब डलरभन्दा १४ प्रतिशत बढी हो । इमार्केटरका वरिष्ठ निर्देशक जेरेमी गोल्डम्यानका अनुसार आर्थिक अनिश्चितताका कारण केही कम्पनीहरूले विज्ञापन बजेट घटाए पनि सम्भवतः उनीहरूले पत्रपत्रिका जस्ता परम्परागत माध्यमहरूबाट बजेट सारेर डिजिटल विज्ञापन प्लेटफर्महरूमा लगानी गरेका छन्। ‘मलाई लाग्छ यो स्पष्ट निर्णय हो,’ गोल्डम्यानले भने, ‘तपाईंको पैसा सामाजिक सञ्जालमा, खुद्रा विज्ञापनमा र सर्च विज्ञापनमा लगाउनु नै बुद्धिमानीको कुरा हो ।’ यस हप्तामा ठूला कम्पनीहरू मात्र होइन अन्य पनि अनलाइन विज्ञापन आम्दानीमा उल्लेख्य वृद्धि देखिए । रेडिटले बिहीबार तेस्रो त्रैमासिक आम्दानीमा ६८ प्रतिशत वृद्धिको घोषणा गर्‍यो जुन  विश्लेषकहरूको अनुमानभन्दा बढी थियो । कम्पनीका अनुसार विश्वव्यापी दैनिक सक्रिय प्रयोगकर्ता १९ प्रतिशत बढेर ११६ मिलियन पुगे, जुन अनुमानित ११४ मिलियनभन्दा माथि हो । स्न्याप र पिन्टरेस्टले आफ्नो परिणाम अर्को हप्तामा सार्वजनिक गर्नेछन् ।  एआईमा ठूला लगानी यी प्रविधि कम्पनीहरूले स्पष्ट रूपमा देखाएका छन् कि उनीहरूले एआईमा लगानी घटाउने कुनै कारण देख्दैनन् बरु पूँजीगत खर्च अझ बढाउने घोषणा गरेका छन् — एआई ‘बबल’ को चिन्ताबीच पनि । अल्फाबेट, मेटा, अमेजन र माइक्रोसफ्टले संयुक्त रूपमा यस वर्ष ३८० अर्ब डलरभन्दा बढी पूँजीगत खर्च हुने अपेक्षा गरेका छन् जुन ओपनएआईले हालै एनभीडीया, ओरेकल र ब्रोडकमसँग गरेको करिब १ ट्रिलियन डलरको डेटा सेन्टर र क्लाउड सम्झौताभन्दा सानो हो । तर लगानीकर्ताहरू अमेजन र गूगलप्रति सकारात्मक भए पनि माइक्रोसफ्ट र विशेष गरी मेटाप्रति त्यति उत्साहित देखिएनन् । मेटाको सेयर बिहीबार ११ प्रतिशत घट्यो जब कम्पनीले पूँजीगत खर्चको न्यूनतम सीमा ६६ अर्ब–७२ अर्ब डलरको दायराबाट बढाएर ७० अर्ब–७२ अर्ब डलर बनाउने घोषणा गर्‍यो । ओपेनहाइमरका विश्लेषकहरूले मेटाको सेयरलाई ‘बाय’ बाट घटाएर ‘होल्ड’ मा राखे किनभने उनीहरूको भनाइमा मेटाले गरेको एआई लगानीले क्लाउड सेवा चलाउने प्रतिस्पर्धीहरूको जस्तै प्रत्यक्ष लाभ दिने कुनै स्पष्ट संकेत देखाएको छैन । ‘अज्ञात आम्दानी स्रोतहरूबीचको सुपरइन्टेलिजेन्समा ठूलो लगानी सन् २०२१/२०२२ को मेटाभर्स खर्चजस्तै देखिन्छ,’ विश्लेषकहरूले लेखेका छन् । उनीहरूले मेटाको सुपरइन्टेलिजेन्स ल्याब्समा भइरहेको एआई लगानीको तुलना कम्पनीको घाटामा गएको रियालिटी ल्याब्स (भीआररएआरप्रविधि) सँग गरे । मेटाकी वित्त प्रमुख सुसान लीले बुधबारको ‘अर्निङ कल’ मा भनिन्, ‘एआईसम्बन्धी डेटा सेन्टर र तेस्रो पक्षका क्लाउड सेवामा लगानी नगरे कम्पनी पछि पर्न सक्छ ।’ उनले सीईओ मार्क जुकरबर्गको भनाइ दोहोर्याउँदै थपिन्, ‘कम्पनीको उच्चतम प्राथमिकता एआईमा नेतृत्व लिने उद्देश्यले स्रोतहरू लगानी गर्नु हो । त्यसैले नजिकिँदै गरेको अवधिमा हाम्रो नाफामा केही उतारचढाव देखिन सक्छ ।’ मेटाले बारम्बार भनिरहेको छ कि एआई लगानीले उसको अनलाइन विज्ञापन व्यवसाय सुधार गरिरहेको छ, तर भविष्यमा यसले कम्पनीलाई कसरी फाइदा र्पुयाउँछ भन्ने देखाउन कठिन भइरहेको छ। ‘हामीले हरेक त्रैमासमा एउटै कुरा सुन्दै आएका छौं — मेटाले एआईलाई आफ्नो विज्ञापन व्यवसायमा समावेश गरेर वृद्धि इञ्जिनको रूपमा प्रयोग गरिरहेको छ,’ एनबर्गले भनिन्, ‘तर त्यसपछि के हुन्छ भन्ने कुरा बुझाउन कठिन र लगानीकर्ताहरूका लागि कम देखिने खालको छ ।’ यद्यपि मेटाले नयाँ उत्पादनहरूमा केही वृद्धि देखिरहेको छ जस्तै ‘मेटा एआई’ एप जसमा ‘भाइब्स’ नामक एआई–समर्थित छोटा भिडियो सेवा छ । गोल्डम्यानका अनुसार कम्पनीले भविष्यमा सदस्यता मोडेल विस्तार गर्न वा निगमहरूका लागि एआई सेवा प्रदान गर्न सक्छ जुन क्षेत्रमा उसले अहिलेसम्म प्रवेश गरेको छैन । हालका लागि मेटाको डिजिटल विज्ञापन इकाइ नै उसको मुख्य व्यवसाय रहन्छ । तर अघिल्ला त्रैमासहरूजस्तै अर्थतन्त्रले विज्ञापन बजेटमा कस्तो असर पार्ने हो भन्ने अझै स्पष्ट छैन । बफेटको कम्पनीमा पैसाको वर्षा, ५४.४ लाख करोड रुपैयाँभन्दा बढी नगद जम्मा ! सामसङ र एनभीडीयाको सहकार्यमा विश्वकै पहिलो एआई मेगाफ्याक्ट्री निर्माण हुने