चैते धान उत्पादनमा वृद्धि, मूल्यमा गिरावट
काठमाडौं । मोरङमा चैते धान उत्पादनमा वृद्धि भएको छ । गत वर्षभन्दा यस वर्ष २ हजार १९६ मेट्रिकटन बढी धान उत्पादन भएको कृषि ज्ञान केन्द्र मोरङले जनाएको छ । चैते धानको उत्पादन बढेपनि मूल्यमा गिरावटका कारण किसानले जनाएका छन् । जिल्लामा गत वर्ष १ लाख १ हजार ३७४.१० मेट्रिकटन धान उत्पादन भएकोमा यस वर्ष वृद्धि भई १ लाख ३ हजार ५७०.६० मेट्रिकटन उत्पादन भएको कृषि ज्ञान केन्द्रका सूचना अधिकृत आदर्श सिंहले जानकारी दिए । गत वर्ष १७ हजार ७५५ हेक्टर जमिनमा चैते धान लगाइएकोमा यस पटक वृद्धि भई १७ हजार ८५७ हेक्टर पुगेको उनले बताए । गत वर्ष ५.७१ उत्पादकत्व भएकोमा यसवर्ष वृद्धि भई ५.८० पुगेको हो । अघिल्लो साल चैते धानको मूल्य क्वीन्टल दुई हजार सात सयसम्म पुगेकोमा यस वर्ष घटेर क्वीन्टल २ हजार सम्मममा भइरहेको रङ्गेली नगरपालिका–१ का किसान चन्द्र अधिकारी बताउँछन् । चैते धानले लगानी पनि नउठेको गुनासो गर्दै बेलबारी ९ नलबारीका किसान नरबहादुर कटुवालले भने, ‘भण्डारणको समस्याले गर्दा पनि धान सस्तोमा बेच्नुपरेको छ, किसानको पहुचमा भण्डारण हुनेथियो भने यति सस्तोमा धान बेच्नुपर्ने थिएन ।’ कृषि ज्ञान केन्द्रका अनुसार १७ पालिकामध्ये सुन्दरहरैचा, बेलबारी, पथरीसनिश्चरे, उर्लाबारी, कानेपोखरी, रतुवामाई, सुनवर्षी, रङ्गेली र जहदाका किसानले विशेषगरी चैते धानको खेती गर्ने गरेका छन् ।
४-५ दिनमै देशभर मनसुन फैलिने, आज कोशीमा भारी वर्षा हुने
काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशको केही तथा लुम्बिनी प्रदेशको पूर्वी भेगका केही स्थानमा मनसुन वायुको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी अन्य क्षेत्रमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भेग तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण क्षेत्रमा आगामी चारदेखि पाँच दिनभित्र मनसुन विस्तार हुने सम्भावना छ । हाल देशका हिमाली तथा पहाडी क्षेत्रमा साधारणतया बादल लागेको छ भने तराई क्षेत्रमा आंशिक बादल लागेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा भइरहेको छ । महाशाखाले आज दिउँसो मुलुकका हिमाली तथा पहाडी क्षेत्रका साथै मधेश प्रदेश र कोशी प्रदेशको तराई क्षेत्रमा साधारणतया बादल लाग्ने बताएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका एक-दुई स्थानमा मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ । कोशी प्रदेशका तराई तथा मधेस प्रदेशका केही, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका एक-दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ । महाशाखाले लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा तातो हावा चल्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । यसैगरी, आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्ने तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लाग्ने पूर्वानुमान छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । कोशी प्रदेशका तराई तथा मधेस प्रदेशका केही स्थान, बागमती र गण्डकी प्रदेशका तराईका केही क्षेत्र तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका एक-दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । साथै, महाशाखाले कोशी प्रदेशका पहाडी तथा तराईका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले त्यसबाट हुन सक्ने जोखिमप्रति सतर्क रहन महाशाखाले आग्रह गरेको छ ।
फ्रान्सको शानदार जित, डेम्बेलेको ह्याट्रिक
काठमाडौं । फिफा विश्वकप फुटबलअन्तर्गत समूह ‘आई’ को अन्तिम खेलमा फ्रान्सले नर्वेलाई पराजित गरेको छ । फ्रान्सले नर्वेलाई ४-१ ले पराजित गरेको हो । यससँगै फ्रान्सले समूह विजेताका रुपमा नकआउट चरणमा स्थान पक्का गरेको छ । फ्रान्सका स्टार उस्मान डेम्बेलेले पहिलो हाफमै ह्याट्रिक गरेका थिए । ठूलो अन्तर्राष्ट्रिय खेलमा उनको यो पहिलो ह्याट्रिक हो । जारी विश्वकपमा उनले ४ गोल गरिसकेका छन् । जारी विश्वकपमा लियोनेल मेसी ५ गोलसहित शीर्ष स्थानमा छन्। पहिलो हाफमै फ्रान्सले ३-१ को अग्रता बनाउन सफल भएको थियो । नर्वेका लागि थिलो आसगार्डाले एक गोल फर्काए । खेलको अन्तिम समयमा फ्रान्सका डिजायर डउले चौंथो गोल गरेका थिए । फ्रान्सविरुद्धको खेलमा अर्लिङ हालान्ड र मार्टिन ओडेगार्डसहित १० खेलाडी थिएनन् । उनीहरुको साटो अर्कैलाई खेलाइएको थियो । सुरुवातबाटै उत्कृष्ट लयमा देखिएको फ्रान्सले दबदबा कायम गर्यो। डेम्बेलेले खेलको ३२औं मिनेटमै ह्याट्रिक पूरा गर्दै विश्वकप इतिहासकै दोस्रो सबैभन्दा छिटो ह्याट्रिक गर्ने खेलाडी बनेका छन् । यसअघि सन् १९५४ मा एरिक प्रोब्स्टले अस्ट्रियाका लागि चेकोस्लाभिया विरुद्ध २४औं मिनेटमै ह्याट्रिक गर्दै सर्वाधिक चाँडो ह्याट्रिक गर्ने खेलाडीको कीर्तिमान बनाएका थिए । त्यसैगरी, सेनेगलले इराकलाई ५-० ले पराजित गर्दै नकआउट पुग्ने सम्भावनालाई कायम राखेको छ ।
८ करोडभन्दा बढी हिनामिनाको आरोपमा कर्मा छेरिङ शेर्पा पक्राउ
काठमाडौं । विद्यालयको करोडौं रुपैयाँ हिनामिना गरेको तथा सम्पत्ति दुरुपयोग गरेको आरोपमा कर्मा छेरिङ शेर्पालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले शुक्रबार काठमाडौंको बुढानिलकण्ठ नगरपालिका-६, गणेशचोकबाट उनलाई नियन्त्रणमा लिएको हो । सीआईबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शमशेर जबराका अनुसार शेर्पाविरुद्ध ठगी र आपराधिक विश्वासघातसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि उनलाई पक्राउ गरिएको हो । प्रहरीका अनुसार टुङ्गरम इन्टरनेसनल एकेडेमी प्रालिका तर्फबाट अख्तियारप्राप्त रामचन्द्र बहाला श्रेष्ठले दिएको जाहेरीका आधारमा अनुसन्धान अघि बढाइएको हो । शेर्पाले विद्यालयको कार्यकारी प्रमुखका रूपमा एकल हस्ताक्षरबाट बैंक खाता सञ्चालन गर्ने जिम्मेवारी सम्हालेका बेला आफ्नो पदको दुरुपयोग गर्दै विद्यालयको सम्पत्ति र रकम विभिन्न प्रपञ्चमार्फत हिनामिना गरेको आरोप छ । सीआईबीका अनुसार उनले डर, त्रास र अनुचित प्रभाव प्रयोग गरी विद्यालयको करिब ८ करोड ७८ लाख ३० हजार ८०२ रुपैयाँ हिनामिना गरेको, भक्तपुरको दधिकोटस्थित विद्यालयको करिब २९ रोपनीभन्दा बढी जग्गा आफू सम्बद्ध कम्पनीहरूलाई बिक्री गरेको तथा विद्यालयका लागि छुट्याइएको रकमबाट व्यक्तिगत तथा आफू सम्बद्ध कम्पनीका नाममा जग्गा र सवारीसाधन खरिद गरी संस्थालाई ठूलो आर्थिक नोक्सानी पुर्याएको आरोप लगाइएको छ । सीआईबीले शेर्पालाई पक्राउ गरी ठगी र आपराधिक विश्वासघातसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जनाएको छ । प्रहरीले यस घटनामा संलग्न अन्य व्यक्ति तथा आर्थिक कारोबारबारे पनि अनुसन्धान जारी रहेको जनाएको छ ।
दुर्व्यसनका विरुद्धमा (कविता )
लागेर कुलतमा भागेर आफैदेखि कहाँ पुग्छौं र ? युवा ! हुँदैन कुनै समस्या समाधान गरेर लागूपदार्थ सेवन भो नगर दोमन । क्षणिक लतमा फसेर, बसेर साथी भनिएका, बनिएकाहरुसँग जीवन बर्बाद नगर।। तनाव भुल्ने, बहानामा झुल्न हुँदैन नशामा सिर्जनाका अनेक आयाम छन् मन लगाऊ त्यसैमा र सजाऊ जिन्दगीको रङ्गमञ्च आउने छैन पुनः यो गुलाबी उमेर मात्र छुटाउने छ यसले असल मित्रता, आफन्त बाआमाका सुन्दर सपना तिम्रो आफ्नै लक्ष्य हराउने छ कुहिरोको काग बन्नेछौ त्यति बेला एक्लै हुनुको पश्चातापले तड्पिदै रुनुको अर्थ रहँदैन ।। कमजोर तन,मन लिएर कहाँ सकिन्छ ? दूर सफर गर्न जिन्दगीको । गाह्रो पर्नेछ दुनियाँको छिछिदुर्दुर सहन न अर्थ रहन्छ न कोही सहन्छ ? समय नदीजस्तै बहन्छ ।। भो, छाडिदेऊ कुलत नभाग समस्यासँग डराएर आऊ एक भएर लागौँ सिर्जनामा यो धर्ती सिँगार्नु तिम्रो पनि कर्तव्य होइन र ?।। क्राेध,ईर्ष्या र द्वेषले सक्छ आफैलाई नलगाऊ त्यता मन नफाल व्यर्थ धन जोगाएर पन, फुलाऊ जीवन ।। कहाँ छ हार ? कि जितिन्छ कि सिकिन्छ भो यसै खेर जान नदेऊ सार्थक पार्ने प्रण गर जिन्दगी।। कमजोर, खत्तम भन्नेहरुलाई गरेर देखाइदेऊ उद्यम अल्झेर वादविवादमा खेर नफाल समय यो सिर्जनाको याम हो ।। आवाज बुलन्द पारौं, बाचौं र बचाऊँ विरुद्धमा लागौं लागूपदार्थ दुर्व्यसनको ।। -गोपाल खनाल दाङसिङ,नुवाकोट
भेनेजुएला भूकम्प: मृतकको संख्या ५८९ पुग्यो, घाइते २९८०
काठमाडौं । भेनेजुएलाका अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजले बुधबारको भूकम्पबाट मृत्यु भएकाको संख्या ५८९ पुगेको र २ हजार ९८० जना घाइते भएको बताएकी छन् । रोड्रिगेजले भूकम्पबाट सबैभन्दा बढी पीडित क्षेत्रमध्ये एक ला गुएरालाई नियन्त्रणमा लिन सेनालाई आदेश पनि दिएका छन् । बीबीसीका अनुसार अस्पतालहरू घाइतेले भरिएका छन् । संयुक्त राष्ट्रसंघले घटनास्थलमा १ हजारभन्दा बढी अन्तर्राष्ट्रिय खोज तथा उद्धारकर्मी खटाइएको बताएको छ । संयुक्त राष्ट्रसंघका मानवीय प्रमुख टम फ्लेचरले बीबीसी रेडियो ४ को टुडे कार्यक्रममा भनेका छन्, ‘म भेनेजुएलाका मानिसहरूलाई मद्दत आउँदै छ भन्ने जानकारी गराउन चाहन्छु । ’ स्थानीय समयअनुसार बुधबार साँझ भेनेजुएलामा सुरुमा ७.२ म्याग्निच्युड र यसको केही सेकेन्डपछि अझ शक्तिशाली ७.५ म्याग्निच्युडको भूकम्प गएका थिए । भूकम्प गएलगत्तै अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) ले १० हजारभन्दा बढी मानिसको मृत्यु हुने सम्भावना ४४ प्रतिशत रहेको अनुमान गरेको थियो । स्थानीय सञ्चारमाध्यमका अनुसार मृतकको संख्या अझै बढ्ने सम्भावना छ ।
रास्वपाको नयाँ नेतृत्वले लियो शपथ, महाधिवेशनपछि पाटीले समात्यो नयाँ गति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट निर्वाचित नयाँ पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । महाधिवेशनस्थलमै आयोजित विशेष समारोहमा नवनिर्वाचित नेतृत्वले शपथ लिएसँगै रास्वपाले औपचारिक रूपमा नयाँ नेतृत्वको जिम्मेवारी हस्तान्तरण गरेको हो । महाधिवेशनबाट सभापतिमा रवि लामिछाने सर्वसम्मत निर्वाचित भएका थिए भने खुला उपसभापतिमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका हुन् । निर्वाचनमार्फत महिलातर्फ उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य तथा सहमहामन्त्रीमा खुलातर्फ हरि ढकाल र असिम शाह विजयी भएका छन् । महिलातर्फ सहमहामन्त्रीमा निशा डाँगी निर्वाचित भएकी छन् । महाधिवेशनअन्तर्गत पहिलो चरणमा केन्द्रीय सदस्यहरूको निर्वाचन सम्पन्न भएको थियो भने दोस्रो चरणमा पदाधिकारी चयनका लागि मतदान भएको थियो । शपथग्रहणसँगै रास्वपाको नयाँ नेतृत्वले आगामी संगठन विस्तार, पार्टी सुदृढीकरण र राजनीतिक जिम्मेवारीलाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता जनाएको छ । प्रथम महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन र शपथग्रहण सम्पन्न भएपछि रास्वपाले आफ्नो संगठनात्मक यात्रामा नयाँ अध्याय सुरु गरेको छ ।
संघर्षबाटै रास्वपाको यात्रा सुरु भएको हो, अब परिपक्व भएर अघि बढ्छौं: रवि लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले हरेक राजनीतिक दलको आफ्नै संघर्षको इतिहास हुने भन्दै रास्वपा पनि फरक पृष्ठभूमिबाट संघर्ष गर्दै यहाँसम्म आइपुगेको बताएका छन् । चितवनमा सम्पन्न प्रथम महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरूको शपथग्रहण समारोहलाई सम्बोधन गर्दै लामिछानेले रास्वपाको राजनीतिक यात्रा परम्परागत दलभन्दा फरक रहेको उल्लेख गरे । ‘हरेक राजनीतिक दलका आ-आफ्नै संघर्षका कथा हुन्छन् । पछिल्लो समयको हाम्रो राजनीतिक संघर्ष अलिक फरक ढंगले अघि बढिरहेको छ । हामी फरक पृष्ठभूमिबाट राजनीतिमा आएका हौं,’ उनले भने । लामिछानेले नेपालको वर्तमान राजनीतिक उपलब्धि अघिल्ला पुस्ताका नेताहरूको संघर्षकै परिणाम भएको उल्लेख गर्दै उनीहरूको योगदानको सम्मान गर्नुपर्ने बताए । ‘देशमा भएका अनेक राजनीतिक द्वन्द्व र उतारचढाव पार गर्दै आजको अवस्था आएको हो । अग्रज राजनीतिज्ञहरू व्यवस्था परिवर्तनको अग्निकुण्डमा नहोमिएको भए हामी आजका उपलब्धिसम्म पुग्न सक्ने थिएनौं,’ उनले भने । रास्वपाले अब नयाँ जिम्मेवारीसहित परिपक्व र उत्तरदायी राजनीतिक शक्तिका रूपमा अघि बढ्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे । ‘प्रथम ऐतिहासिक महाधिवेशनबाट राजनीतिक रूपमा वैधानिकता प्राप्त गरेको रास्वपा अब परिपक्व भएर अघि बढ्नेछ । हामी प्रतिबद्धताका साथ जनताको अपेक्षा पूरा गर्न अगाडि बढ्छौं,’ उनले भने । महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएसँगै रास्वपाले आफ्नो संगठनात्मक संरचनालाई थप सुदृढ बनाउँदै आगामी राजनीतिक यात्रालाई नयाँ ढंगले अघि बढाउने संकेत दिएको छ ।