विकासन्युज

एमालेले मंसिर २७ मा ठूलो जनप्रदर्शन गर्ने

काठमाडौं । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले म‌ंसिर २७ गते काठमाडौँमा नेपालको इतिहासमै सबैभन्दा ठूलो जनप्रदर्शन गर्ने घोषणा गरेका छन् । सोमबार प्रेस चौतारी नेपालले आयोजना गरेको अन्तरक्रियामा बोल्दै उनले उक्त जनसभामार्फत जनता कसको पक्षमा छन् भन्ने स्पष्ट देखिने दाबी गरे । उनका अनुसार एमालेले देशव्यापी जनसम्पर्क अभियान सञ्चालन गर्दैछ । कार्त्तिक २२ गते सबै वडामा जनभेला, २५ गते पालिकास्तरमा जनर्‍याली, २९ गते जिल्लास्तरमा सभा र मंसिर ६ गते काठमाडौं उपत्यकामा विशेष सभा गरिनेछ ।  यसैगरी, मङ्सिर २७ गते ऐतिहासिक जनप्रदर्शन गरिने महासचिव पोखरेलले जानकारी दिए । मङ्सिर २७ को जनसभालाई एमालेको शक्ति प्रदर्शनका रूपमा हेरिएको छ । जसले आगामी निर्वाचन र राष्ट्रिय राजनीतिक समीकरणमा प्रभाव पार्न सक्छ ।  पार्टी स्रोतका अनुसार उक्त कार्यक्रममा देशभरबाट लाखौं कार्यकर्ता र समर्थकहरू सहभागी हुने अपेक्षा गरिएको छ ।

कथा लेखन प्रतियोगिता सञ्चालन गर्दै बीमा प्राधिकरण, यसरी दिन सकिन्छ आवेदन

काठमाडौं । नेपाल बीमा प्राधिकरणले कथा लेखन प्रतियोगिता सञ्चालन गर्ने भएको छ । प्राधिकरणले बीमा क्षेत्रको विकास, विस्तार, प्रवर्द्धन तथा पहुँच वृद्धि गर्न चित्रकथा निर्माणका लागि कथा लेखन प्रतियोगिता सञ्चालन गरिएको जनाएको छ । उक्त चित्रकथा लेखन प्रतियोगितामा भाग लिन इच्छुक बीमा क्षेत्रमा कार्यरत कर्मचारी तथा सरोकारवाला व्यक्तिहरूलाई नियमअनुसार आवेदन दिन प्राधिकरणले सूचना जारी गरी जानकारी गराएको छ ।  प्राधिकरणका अनुसार बीमाका विविध विषय समेटी नेपाल बीमा प्राधिकरणले तोकेको इमेलमार्फत पठाउन सक्नेछन् ।  कथाको विषयवस्तु तयार गरी मंसिर १५ गतेसम्म उपलब्ध गराउन प्राधिकरणले अनुरोध गरेको छ । कथा बढीमा ५ सय शब्दको हुनुपर्ने छ । मापदण्ड पुरा भएका १० वटा कथालाई प्राधिकरणले छनौट गरी चित्रकथा तयार गर्ने प्राधिकरणले जनाएको छ । छनोट भएका कथाको लागि प्राधिकरणले प्रतिकथा ८ हजार रुपैयाँ पारिश्रमिक प्रदान गरिने भएको छ ।

रसुवागढी नाकास्थित मितेरीपुल एक महिनामा बन्ने

रसुवा । रसुवागढीस्थित नेपाल–चीन जोड्ने मितेरी पुल एक महिनाभित्र बन्ने भएको छ । चिनियाँ अधिकारीहरूका अनुसार निर्माणाधीन अवस्थामा रहेको मितेरी पुलको निर्माण एक महिनाभित्र सम्पन्न हुनेछ । गत असारमा ल्हेन्देखोलामा आएको बाढीले बगाएपछि दुई देशबीचको आवतजावत बन्द भएको अवस्थमा चिनियाँ पक्षले निर्माण सो पुल निर्माण गरिरहेको छ । रसुवा जिल्लाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले चिनियाँ अधिकारीहरूसँगको छलफलपछि एक महिनाभित्र पुल निर्माण सम्पन्न हुने र पुनः बैठक बसी सञ्चालन मिति तय गरिने जानकारी दिए । चिनियाँ पक्षले प्रतिकूल मौसमका बाबजुद रसुवागढीस्थित मितेरी पुल निर्माणलाई प्राथमिकता दिएको बताउँदै काबुभन्दा बाहिरको परिस्थिति सिर्जना नभएमा एक महिनाभित्र यातायात सञ्चालन हुने जानकारी प्राप्त भएको उनल स्पष्ट गरे । मितेरी पुल बगाएसँगै सो नाकाबाट हुने आयात–निर्यात ठप्प हुँदा कम्तीमा रु १४–१५ अर्ब राजस्व गुमेको प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईले जानकारी दिए । गत आर्थिक वर्षको यसै अवधिमा रु १४ अर्ब भन्सार शुल्क असुली भएको थियो । ‘फिल्ड’मा कार्यरत प्राविधिकका अनुसार स्याफ्रुबेँसी–रसुवागढी सडकखण्डको १६ किमी राजमार्ग मर्मत तथा निर्माण भइरहे पनि पहिरो र नदीकटानका कारण अपेक्षा गरिएअनुसार काम अघि बढ्न नसकेको अवस्था छ । टिमुरे र तातोपानीबीचको पाखोमा पहिरो गहिरहने, लिङलिङ, कागतीवारि नजिकको भीर, घट्टेखोलाको दक्षिणी भागसहित कैयौँ स्थानमा नदीले सडक कटान गर्दा सोचेअनुसार मर्मतसम्भार चाँडो हुन नसकेको सडक विभागले जनाएको छ । गुणस्तरीय ढङ्गबाट यथासक्य चाँडो सो सडकखण्डको निर्माण सक्न विपद् ब्यवस्थापन समितिले निर्देशन दिएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ । रासस

दाउन्ने सडक : १७ किलोमिटरको जाम घटेर १ किलोमिटरमा, अवस्था सहज

काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्डको दाउन्ने भागमा भएको जाम अहिले क्रमशः घट्दै गएको छ । बिहीबारदेखि शनिबारसम्म परेको अविरल वर्षाका कारण सडक हिलाम्मे बनेपछि करिब १७ किलोमिटरसम्म जाम पुगेको थियो । उक्त जाम अहिले घटेर १ देखि १.५ किलोमिटरमा झरेको जिल्ला प्रहरी कार्यालय, नवलपुरका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) मधु नेपालले विकास न्युजलाई जानकारी दिए ।  उनका अनुसार अहिले सवारीसाधनहरू सामान्य गतिमा गुड्न थालेका छन् र ट्राफिक अवस्था बिस्तारै सहज बन्दै गएको छ । डीएसपी नेपालका अनुसार धुलो र कालो माटो मिसिएको सडक हिलाम्मे र चिप्लो बनेकाले ठूला गाडीहरूलाई घुम्तीमा मोड्न कठिन भएको र चालकहरूले लेन अनुशासन पालना नगरेकाले पनि समस्या थपिएको हो । ‘जाम नियन्त्रणका लागि बाहिरबाट २०–२५ जना प्रहरी र १०–१५ जना स्थानीय स्वयंसेवक परिचालन गरेका छौं,’ उनले भने, ‘उनीहरूले लेन अनुशासन कायम राख्ने, चिप्लो सडकमा गाडीलाई सहयोग गर्ने र शौचालय तथा खानेपानी सुविधा भएका ठाउँमा गाडीलाई केहीबेर रोक्दै पालैपालो पठाउने काम गरिरहेका छन् । अब यात्रुहरूलाई लामो समय जाममा बस्नुपर्ने अवस्था छैन ।’ दिउँसो घाम लागेपछि सडक क्रमशः सुक्दै गएको र अवस्था सहज हुँदै गएको पनि डीएसपी नेपालले जानकारी दिए ।  हाल करिब २०० सवारीसाधन क्यूमा रहेर बिस्तारै अघि बढिरहेका छन् । यदि आगामी दिनमा वर्षा नपरेमा सडक पूर्ण रूपमा सञ्चालनमा आउने अपेक्षा गरिएको छ। ठूला सवारीका लागि बुटवल–पाल्पा हुँदै स्याङ्जा–पोखरा र साना सवारीका लागि कालीगण्डकी करिडोर (जर्कोट–रामपुर) वैकल्पिक मार्गको व्यवस्था भए पनि अहिले मुख्य सडकमार्गमै सवारी आवागमन सहज भइरहेकाले वैकल्पिक मार्ग प्रयोगको खासै आवश्यकता नरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

कांग्रेसभित्र महाधिवेशनको मितिमा मतभेद, समाधानका लागि पदाधिकारीको बैठक जारी

काठमाडौं । नेपाली कांग्रेसका पदाधिकारीहरूको बैठक ललितपुरको धोविघाटस्थित कार्यालयमा सुरु भएको छ। पार्टीको १५औं महाधिवेशनको मितिमा संस्थापन र इतरपक्षबीच विवाद बढेपछि पार्टीको केन्द्रीय समिति बैठकसमेत अवरुद्ध अवस्थामा पुगेको छ ।  विगत दुई दिनदेखि स्थगित हुँदै आएको केन्द्रीय समिति बैठकलाई नियमित गर्ने र महाधिवेशनको मिति तोक्ने उद्देश्यले पदाधिकारीको बैठक बसे पनि अझै निकास निस्किन सकेको छैन ।  केन्द्रीय समितिको बैठक चलिरहेको अवस्थामा केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्न नमिल्ने भएकोले पदाधिकारी बैठक बसेको पार्टीका कार्यालय सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए

अर्थमन्त्री र कोरियाली राजदूतबीच शिष्टाचार भेट, आर्थिक साझेदारी अझ सुदृढ गर्ने सहमति

काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र नेपालस्थित कोरिया गणतन्त्रका राजदूत पार्क ते यङबीच सोमबार अर्थ मन्त्रालय, सिंहदरबारमा शिष्टाचार भेट सम्पन्न भएको छ । भेटका क्रममा अर्थमन्त्री खनालले नेपाल–कोरियाबीच कायम रहेको मैत्रीपूर्ण कूटनीतिक सम्बन्धको चर्चा गर्दै कोरिया सरकारले प्रदान गर्दै आएको निरन्तर सहयोगप्रति धन्यवाद व्यक्त गरे । उनले कोरियाको सहयोगमा सञ्चालित परियोजना तथा कार्यक्रमहरूको प्रगति सन्तोषजनक रहेको बताए र आर्थिक साझेदारीलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाए । सो अवसरमा राजदूत पार्क ते यङले कोरिया सरकारको सहयोग निकाय कोइका र नेपाल सरकारबीचको द्विपक्षीय सहकार्य ३० वर्ष पूरा भएको उल्लेख गर्दै यस अवधिमा भएको समन्वय र साझेदारीप्रति सन्तोष व्यक्त गरे । उनले कोरियाली लगानीकर्तालाई नेपालमा लगानी गर्न प्रोत्साहित गर्ने तथा नेपाली उत्पादनहरूको प्रवर्द्धनका लागि आवश्यक सहजीकरण गर्ने प्रतिवद्धता जनाए । यसैगरी, राजदूतले कोरिया सरकारले नेपाली कामदारलाई रोजगारीका लागि पठाउने प्रक्रिया सहज बनाउन छुट्टै भिसा सेन्टर स्थापना गर्ने तयारी गरिएको जानकारी गराए । साथै, ईपिएस प्रणाली अन्तर्गत कोरिया गएका र फर्किएका नेपाली कामदारहरूको उद्यमशीलता प्रवर्द्धनका लागि कोइकाको सहयोगमा कृषि विकास बैंकमार्फत सहुलियतपूर्ण ऋण उपलब्ध गराउने प्रक्रियामा सरकार अगाडि बढिरहेको उल्लेख गर्दै यसका लागि आवश्यक सहजीकरण गरिदिन अनुरोध गरे ।

४५० मेगावाट बिजुली खेर गएको छैन, माग–आपूर्तिको सन्तुलनका कारण बिजुली व्यवस्थापन गरिएको हो : प्राधिकरण

काठमाडौं । नेपालमा बिजुली खेर गइरहेको र उद्योगहरूमा लाइन काटिएको भन्दै पछिल्लो समय सार्वजनिक चर्चामा आएका विषयमा नेपाल विद्युत प्राधिकरणले स्पष्टीकरण दिएको छ ।  प्राधिकरणले यो बिजुली खेर गएको नभई प्रणाली व्यवस्थापनको अनिवार्य पाटो र माग तथा आपूर्तिको सन्तुलनको परिणाम भएको बताएको छ ।  विभिन्न मिडिया र सामाजिक सञ्जालमा ४५० मेगावाटसम्म बिजुली खेर गइरहेको दावीलाई प्राधिकरणले तथ्यहीन भनेको हो । प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालका अनुसार कुनै पनि विद्युत प्रणालीलाई सन्तुलित र स्थिर राख्न स्पिनिङ रिजर्भ आवश्यक हुन्छ । ‘लगभग ४००० मेगावाटको प्रणालीमा १५/२० प्रतिशत अर्थात् ७००/८०० मेगावाट विद्युत ‘स्पिनिङ रिजर्भ’ का रूपमा राख्नै पर्ने हुन्छ,’ उनले भने ।   उनका अनुसार यो विद्युत खेर गएको नभई आकस्मिक लोड उतारचढाव व्यवस्थापनका लागि अनिवार्य व्यवस्था हो, ताकि प्रणाली अवरुद्ध नहोस् ।  उनले दशैं÷तिहार जस्ता चाडपर्वमा उद्योगहरू बन्द हुँदा विद्युतको माग स्वाभाविक रूपमा घट्ने र वर्षायाममा नदी प्रवाहमा आधारित विद्युत आयोजनाहरूबाट उत्पादन क्षमताभन्दा बढी हुन्छ, जसले गर्दा मागभन्दा आपूर्ति बढी हुन सक्ने जानकारी दिए । यस्तै, प्राधिकरणले विद्युत खरिद–बिक्री सम्झौता (पीपीए) अनुसार प्राधिकरणले उत्पादकहरूलाई प्रणालीको सन्तुलन कायम राख्न उत्पादन घटाउन वा बढाउन निर्देशन दिन सक्ने प्रावधान रहेको जनाएको छ ।  गत आर्थिक वर्षमा राष्ट्रिय पिक डिमान्ड लगभग १ हजार ६०० मेगावाट थियो, जबकि स्टोर क्यापेसिटी २६५० मेगावाट थियो । त्यतिबेला करिब १ हजार ९०० मेगावाट विद्युत स्पिल भएको थियो ।  हालको तथ्यांकअनुसार राष्ट्रिय पिक डिमान्ड २ हजार ५२५ मेगावाट पुगेको छ । राष्ट्रिय पिक १ हजार ७०० मेगावाट छ । जसको अर्थ करिब ८०० मेगावाट विद्युत निर्यात भइरहेको छ ।  स्टोर क्यापसिटी पनि ३ हजार ३०० मेगावाटबाट बढेर ३ हजार ९०० मेगावाट पुगेको छ । विद्युत खपत गत वर्षको १ हजार ९०० मेगावाटबाट बढेर २ हजार ५०० मेगावाटको हाराहारीमा पुगेको छ । जुन करिब ६०० मेगावाटको वृद्धि हो ।  केही आयोजनाहरु मर्मतसम्भारमा रहेका छन् भने १५०/२०० मेगावाटका आयोजनाहरू अस्थायी रूपमा बन्द रहेकाले पनि उत्पादनमा केही उतारचढाव आएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले उद्योगमा लाइन काटिएको कारणले ४५० मेगावाट बिजुली खेर गयो भन्ने कुरा तथ्यगत नभएको दाबी गरेको छ ।  प्राधिकरणका अनुसार प्रणालीको सञ्चालनमा कहिलेकाहीँ उत्पादन बढी वा कम हुनु सामान्य प्रक्रिया हो ।  प्रणालीलाई स्थिर र सुरक्षित राख्न स्पिनिङ रिजर्भ (विद्युत प्रणालीमा तुरुन्त प्रयोग गर्न सकिने अतिरिक्त उत्पादन) क्षमता अनिवार्य हुन्छ र यसलाई ऊर्जा खेर गएको मान्न नमिल्ने प्राधिकरणको भनाइ छ ।   

ट्रान्सफर्मर चोरी प्रकरण : जिल्ला अदालतमा मुद्दा दर्ता, ४ लाख रुपैयाँ बराबरको बिगो माग दाबी

काठमाडौं । गुल्मी जिल्लाको धुर्कोट गाउँपालिकामा सञ्चालनमा रहेका लिफ्टिङ खानेपानी आयोजनामा जडान गरिएको ट्रान्सफर्मर चोरी भएको घटनामा संलग्न व्यक्तिहरूविरुद्ध अदालतमा मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालय, गुल्मीका प्रवक्ता तथा सहन्यायाधिवक्ता महेश अर्यालका अनुसार पक्राउ परेका अभियुक्तहरूविरुद्ध जिल्ला अदालत गुल्मीमा मुद्दा दर्ता गरिएको हो । अर्यालले दिएको जानकारीअनुसार सरकारी वकिल कार्यालयले अभियुक्तहरूविरुद्ध ३ लाख ९४ हजार ३ सय १३ रुपैयाँ बराबरको बिगो, क्षतिपूर्ति माग दाबी गर्दै आइतवार मुद्दा दायर गरेको हो । धुर्कोट गाउँपालिकामा रहेका खानेपानी आयोजनाको ट्रान्सफर्मर चोरी भएपछि स्थानीयवासीहरू लामो समयदेखि खानेपानी समस्यामा परेका थिए । ‘सार्वजनिक प्रयोजनका सामग्रीमा गरिएको चोरीलाई गम्भीर आपराधिक गतिविधिको रूपमा लिइँदै घटनाको अनुसन्धानपछि अभियुक्तहरूलाई अदालतमा पेश गरिएको हो,’ प्रवक्ता अर्यालले जानकारी दिए । अर्यालका अनुसार नेपाल विध्युत प्राधिकरणका करारका कर्मचारी विष्णु पोखरेल, विष्णु भुसाल र मधु नेपालीसहित भारतीय नागरिकहरू बिकेस, पवन र अनिल कुमार बिरुद्ध मुद्धा दर्ता गरिएको हो । आज सोमवार प्रतिवादीहरुको बयान र भोलि मंगलबार थुनछेक बहस हुने उनले जानकारी दिए । प्रहरीले यसअघि उक्त घटनामा संलग्न भएको आशंकामा केही व्यक्तिहरूलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो । गुल्मीको धुर्कोटमा ट्रान्सफर्मर चोरी काण्ड, गाउँपालिका अध्यक्षका दाइसहित ६ जना पक्राउ