गरिमा विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । गरिमा विकास बैंकको लाभांश सुरक्षित गर्ने आज कात्तिक १७ गते अन्तिम दिन रहेको छ । लाभांश तथा साधारण सभा प्रयोजनार्थ बैंकले भोलि अर्थात् कात्तिक १८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले कात्तिक आजसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भइ कायम सेयरधनीहरूले सभामा सहभागिता जनाई लाभांश प्राप्त गर्न सक्नेछन् । बैंक सञ्चालक समितिले कात्तिक २७ गते पोखरा, कास्कीमा १९औँ वार्षिक साधारण सभा बोलाएको छ । बैंकको सभाले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी ५ अर्ब ६८ करोड ५ लाख १७ हजार रुपैयाँको ६ प्रतिशतका दरले ३४ करोड ८ लाख ३१ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहितका लागि ४.५३ प्रतिशतका दरले २५ करोड ७३ लाख २७ हजार रुपैयाँ नगद गरी कुल १०.५३ प्रतिशत लाभांश प्रस्ताव सभाले पारित गर्नेछ । यस्तै, बैंकको सभाले सञ्चालक समितिको निर्णय बमोजिम मर्जर तथा एक्विजिसन प्रस्ताव पारित गर्नेछ । कुनै बैंक तथा वित्तीय संस्था गाभ्ने तथा प्राप्ति गर्ने, उपयुक्त बैंकसँग मर्जर तथा एक्विजिसन सम्बन्धी सहमति गर्ने, सम्पूर्ण चल अचल सम्पत्ति तथा दायित्व मूल्याङ्कन (डीडीए) गर्न मूल्याङ्कनकर्ता लेखापरीक्षक नियुक्त गर्न, नियामकसँग सहमति लिने लगायत सम्पूर्ण काम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ । सभाले बैंकको हाल कायम अधिकृत पुँजी वृद्धि गरी ६ अर्ब १० करोड रुपैयाँ कायम गर्ने, रजिस्टर्ड (केन्द्रीय) कार्यालय काठमाडौं महानगरपालिका-२, लाजिम्पाटबाट वडा नम्बर ३, बालुवाटारमा स्थानान्तरण गर्ने, बैंकको छाप तथा लोगो परिवर्तन गर्ने, सञ्चालकहरूलाई प्रदान गरिने बैठक भत्ता तथा टेलिफोन, पत्रपत्रिका र इन्टरनेट खर्च बापत प्रदान गरिने रकम वृद्धि गर्ने र प्रबन्ध पत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने सम्बन्धी प्रस्ताव पारित गर्नेछ । यस्तै, गत आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र चालु आव २०८२/८३ को लेखापरीक्षण गर्नका लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्नेछ ।
कोष व्यवस्थापन कम्पनीको १०.५२ प्रतिशत लाभांश घोषणा
काठमाडौं । कोष व्यवस्थापन कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको कात्तिक १३ गते बसेको बैठकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजीको १०.५२ प्रतिशतका दरले ३२ लाख ६८ हजार २०५ रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको हो । उक्त लाभांश प्रस्ताव पारित गर्न कम्पनीले मंसिर २० गते कृषि विकास बैंकको सभाहल रामशाहपथ काठमाडौंमा बिहान ११:३० बजे नवौं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको सभाले गत आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र चालु आव २०८२/८३ को लेखापरीक्षण गर्नका लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्नेछ । साथै, सञ्चालक समिति गठन गर्नेछ । कृषि विकास बैंकका कर्मचारी र सर्वसाधारण समेतको सहभागिता रहने गरी बैंकका कर्मचारीहरूको संचय कोषको रकम तथा अन्य पुँजी रकमलाई घर जग्गा व्यवसाय, संगठित संस्थाहरूको धितोपत्र तथा ऋृणपत्रहरू र अन्य सम्भाव्य क्षेत्रमा लगानी गरी उक्त लगानीमा अधिकतम प्रतिफल प्राप्त गर्ने उद्देश्यका साथ विसं २०५० चैत २३ गतेका दिन कम्पनी रजिष्ट्रारको कार्यलयमा दर्ता भई विसं २०५० चैत ३० गतेदेखी संचालनमा आएको हो ।
८ अर्ब ७० करोडका सवारी भित्रिँदा ७ अर्ब ७७ करोड रुपैयाँ राजस्व संकलन
काठमाडौं । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको ३ महिनामा ८ अर्ब ७० करोड रुपैयाँ पर्ने विभिन्न थरिका सवारी साधन भित्रिएका छन् । वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालु आवको ३ महिनामा सवारी साधनको आयातबाट ७ अर्ब ७७ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले चालु आवको ३ महिनामा सवारीसाधनको आयात र सोबाट प्राप्त हुने राजस्व दुवैमा वृद्धि भएको जानकारी दिए । जबकी गत आवको ३ महिनामा भने ६ अर्ब १९ करोड रुपैयाँ पर्ने विभिन्न थरिका सवारीसाधन आयात भएका थिए । गत आवको ३ महिनामा सवारीसाधनको आयातबाट ५ अर्ब ९५ करोड रुपैयाँ राजस्व सङ्कलन भएको थियो । चालु आवको ३ महिनामा ३ अर्ब ४१ करोड रुपैयाँ पर्ने २४ हजार ९३९ वटा अनएसेम्वल्ड मोटरसाइकल आयात भएको छ । ती अनएसेम्वल्ड मोटरसाइकलको आयातबाट ३ अर्ब २८ करोड राजस्व सङ्कलन भएको छ । त्यस्तै गत आवको ३ महिनाको अवधिमा भने २ अर्ब ४९ करोड रुपैयाँ पर्ने १९ हजार ४८९ अनएसेम्वल्ड मोटरसाइकल आयात भएको थियो । चालु आवको ३ महिनामा ६२ करोड २४ लाख रुपैयाँ पर्ने ३३० जीप, कार र भ्यानको आयात भएको छ । ती सवारी साधनको आयातबाट १ अर्ब ७५ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ । गत आवको ३ महिनाको अवधिमा भने ७६ करोड ५८ लाख रुपैयाँ पर्ने ४३२ जीप, कार र भ्यानको आयात भएको थियो । सो आवमा ती सवारी साधनको आयातबाट भने १ अर्ब ९६ करोड रुपैयाँ राजस्व सङ्कलन भएको थियो । चालु आवको ३ महिनामा वीरगञ्ज नाका हुँदै ६८ करोड ५ लाख रुपैयाँ पर्ने २२९ वटा विद्युतीय जीप, कार र भ्यान आयात भएका छन् । ती विद्युतीय जीप, कार र भ्यान आयातबाट ४५ अर्ब ७२ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ । गत आवको ३ महिनाको अवधिमा भने वीरगञ्ज नाका हुँदै १४ करोड ४९ लाख रुपैयाँ पर्ने ९७ वटा विद्युतीय जीप, कार र भ्यान आयात भएको थियो । सो अवधिमा विद्युतीय सवारी साधन आयातबाट ९ करोड ११ लाख रुपैयाँ मात्रै राजस्व सङ्कलन भएको थियो ।
सिद्धार्थ र सिटिजन्स बैंकको मूल्य समायोजन, कतिमा खुल्नेछ कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सिद्धार्थ बैंक र सिटिजन्स बैंकको सेयर मूल्य समायोजन भएको छ । लाभांश तथा साधारण सभा प्रयोजनार्थ सिद्धार्थ र सिटिजन्स बैंकले बुकक्लोज गरेसँगै नेप्सेले सेयर मूल्य समायोजन गरि नयाँ मूल्य निर्धारण गरेको हो । सिद्धार्थ र सिटिजन्स बैंकको ५/५ प्रतिशत बोनस सेयर समायोजन गरिएको हो । समायोजन पश्चात सिद्धार्थ बैंकको सेयर मूल्य ३४९.५२ रुपैयाँ र सिटिजन्स बैंकको २०२ रुपैयाँ कायम भएको छ । समायोजित मूल्यमा आज सोमबार सेयर कारोबार खुल्नेछ । नेप्सेले आइतबारको अन्तिम मूल्यका आधारमा यी दुई बैंकको सेयर मूल्य समायोजन गरेको हो । आइतबार सिद्धार्थको सेयर प्रतिकित्ता ३६७ रुपैयाँ र सिटिजन्सको २१२.१० रुपैयाँमा अन्तिम कारोबार भएको थियो । सिद्धार्थ बैंकले कात्तिक ३० गते काठमाडौंमा २४औँ वार्षिक साधारण सभा बिहान १० बजे बोलाएको छ । बैंकको सभाले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजी १४ अर्ब ८ करोड ९९ लाख ८० हजार रुपैयाँको ५ प्रतिशतका दरले ७० करोड ४४ लाख ९९ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहित ५.५३ प्रतिशतका दरले ७७ करोड ९१ लाख ७५ हजार रुपैयाँ नगद गरी कुल १०.५३ प्रतिशत अर्थात् १ अर्ब ४८ करोड ३६ लाख ७४ हजार रुपैयाँ लाभांश प्रस्ताव पारित गर्नेछ । यस्तै, सिटिजन्स बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी १४ अर्ब ७६ करोड ९० लाख १२ हजार रुपैयाँको ५ प्रतिशतका दरले ७३ करोड ८४ लाख ५० हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशतका दरले ३ करोड ८८ लाख ६५ हजार रुपैयाँ नगद गरी कुल ५.२६ प्रतिशत अर्थात् ७७ करोड ७३ लाख १६ हजार रुपैयाँ लाभांश प्रस्ताव गरेको छ । उक्त लाभांश १९औँ वार्षिक साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरूलाई वितरण गरिने छ । तर, हालसम्म बैंकले साधारण सभा आह्वान गरिसकेको छैन ।
धेरै थरी जेनजी देखा परे, कतिपय बालुवाटर नै आएर चर्का कुरा गरेर जान्छन् : प्रधानमन्त्री कार्की
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मुलुक बनाउने जिम्मेवारी सबैको भएको बताएकी छिन् । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार सातै प्रदेशका मुख्यमन्त्रीसँग भएको बैठकमा उनले भने, ‘हामी सबै मिलेर मुलुक बनाउने हो । हामीले नसुधारे कसैले सुधारि दिँदैन । त्यसैले जेजस्ता समस्या छन्, मिलेर समाधान गरौँ ।’ प्रधानमन्त्री कार्कीले आफू राजनीतिक नेता नभएको र परिस्थितिले यहाँ ल्याइ पुर्याएको बताउँदै गत भदौ २३ गते अघिसम्म त यो परिस्थिति आउला भन्ने अनुमान पनि नभएको उल्लेख गरिन् । जेनजीहरूको सुरुको माग भ्रष्टाचार नियन्त्रण, सुशासन कायम र सामाजिक सञ्जालमाथिको प्रतिबन्ध फुकुवा रहेको बताउँदै उनले अहिले धेरै थरी जेनजी देखा परेका तथा धेरै माग आउन थालेको उल्लेख गरेकी छिन् । ‘कतिपय जेनजी यहीँ आएर चर्का कुरा गरेर जान्छन् । कतिपय यहाँ भित्र ठीकठाक हुन्छन्, बाहिर गएर मनोमानी बोल्छन् । जेसुकै भए पनि ती सबै हाम्रा छोराछोरी हुन्,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘सिक्दै छन् । कतिपय त निकै नै परिपक्व कुरा पनि गर्छन् । हामीले भन्दा धेरै कुरा उनीहरूले जानेका छन् ।’ प्रधानमन्त्री कार्कीले आफूहरू प्रदेश सरकारसँग सहकार्य गरेर नै अघि बढ्ने उल्लेख गर्दै संविधानले दिएको परिधिभित्रै रहेर काम गर्ने बताइन् । संविधानले बनाएका संरचनाको सम्मान गर्नुपर्ने उनको भनाइ छ । ‘स्थायित्वका लागि निर्वाचित सरकार नै चाहिन्छ । निर्वाचन र राजनीतिक दल एक अर्काका परिपूरक हुन् । राजनीतिक दल नभई यो व्यवस्था चल्दैन । त्यसैले स्वतन्त्र विज्ञ भनेर नाम चलेका व्यक्ति पनि चुनाव लड्न दल खोल्दै छन्,’ उनले भनिन्, ‘जेनजीहरूलाई पनि पार्टी खोलेर चुनावमा सहभागी होऊ र आफ्ना एजेन्डा जनताबाट अनुमोदन गराऊ भनेका छौँ । कोही कोही बरालिएका छन्, कोही उग्र पनि छन् । उनीहरूले यो समयको संवेदनशीलता र अन्तरिम सरकारका सीमा बुझ्नुपर्छ ।’ निर्वाचनको वातावरण बनाउने सरकारको मुख्य प्राथमिकता भएको बताउँदै प्रधानमन्त्री कार्कीले सुरक्षा निकायका लागि बन्दोबस्तीका सबै सामानको व्यवस्था गर्न लागेको जानकारी गराइन् । ‘प्रहरीका लागि तत्काल आवश्यक गाडी खरिदको प्रक्रिया अघि बढिसकेको छ । छिमेकी मुलुकहरूले पनि सवारी साधन उपलब्ध गराउँदै छन् । केही मित्र राष्ट्रले आर्थिक सहयोग गर्ने वचन दिएका छन्,’ उनले भनिन् । आन्दोलनमा क्षतिग्रस्त भएका प्रहरीका ९० प्रतिशत संरचना स्थानीय जनताले नै बनाइदिएको बताउँदै प्रधानमन्त्री कार्कीले यसले प्रहरीको मनोबल उकास्न र जनतासँगको सम्बन्ध थप कसिलो बनाउन मद्दत गरेको उल्लेख गरिन् । प्रधानमन्त्री कार्कीले भनिन्, ‘अहिले भन्दा निकै प्रतिकूल अवस्थामा पनि चुनाव भएको छ । जेनजीहरूले पनि चुनाव हुनुपर्छ र अहिलेको अवस्थामै गर्न सकिन्छ भनेका छन् । दलहरूसँगको संवादले अझै बढी चुनावका पक्षमा वातावरण बनेको महसुस भएको छ ।’ निर्वाचन आयोगलाई चाहिने १२० प्रकारका सामग्रीमध्ये ९० प्रतिशतभन्दा बढी उपलब्ध रहेको र बाँकी व्यवस्थापन गर्न लागेको प्रधानमन्त्री कार्कीले बताइन् । आयोगले पनि तोकिएकै समयमा चुनाव गराउन सकिनेमा पूर्ण विश्वास दिलाएको उनको भनाइ छ । लुटिएका र हराएका हतियार फेला पर्दै गएका र प्राप्त हुन बाँकी रहेका हतियारको पनि लोकेशन पत्ता लागिसकेको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले भागेका कैदी पनि फर्कन लागेका बताइन् । सुरक्षित वातावरण बन्छ भन्नेमा ढुक्क हुन आग्रह गर्दै उनले यस कार्यका लागि प्रदेश सरकारले पनि भूमिका खेल्नुपर्नेमा जोड दिइन् । स्थानीय सरकारले पनि हातेमालो गर्नुपर्ने र तीनै तहका सरकारसँग समन्वय गरेर नै अघि बढ्ने बताउँदै प्रधानमन्त्री कार्कीले अबको छलफल स्थानीय सरकारका प्रतिनिधिसँग गर्ने जानकारी गराइन् ।
५ हेलिकप्टर मार्फत मनास्लु क्षेत्रबाट अलपत्र ११० पर्यटकको उद्धार
काठमाडौं । गोरखाको मनास्लु क्षेत्रबाट अलपत्र पर्यटकको उद्धार गरिएको छ । उक्त क्षेत्रबाट आइतबार ११० पर्यटकको उद्धार गरिएको छ । घाइते, बिरामी तथा खराब मौसमका कारण गन्तव्यतर्फ जान नसकेका पर्यटकको उद्धार गरिएको हो । ‘मौसम खुल्नासाथ उद्धार कार्य सुरु गरेका थियौँ । ५ हेलिकप्टर मार्फत पर्यटकको उद्धार गरियो । जसमध्ये ८५ प्रतिशत विदेशी पर्यटक थिए,’ निमित्त प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले भने । मौसम सफा भएसँगै केही पर्यटक लार्केपास गरी मनाङ झरेका छन् । केही भने आरु घाटतर्फ फर्कँदै गरेका सहायक प्रजीअ बरालले जानकारी दिए । एक/दुई दिनभित्रमा उद्धार कार्य सम्पन्न हुने उनको भनाइ छ । आइतबार मौसम खुलेपछि गाउँपालिका, मनास्लु संरक्षण क्षेत्र आयोजना, होटल व्यवसायी उपसमिति, स्थानीय युवा मिलेर बाटो खोल्ने काम गरिरहेका चुमनुब्री गाउँपालिका-१ साम्दोका पर्यटन व्यवसायी निमा दोर्जे लामाले बताए । उनीहरू गत मङ्गलबारदेखि परेको हिमपातले ढाकिएका र पहिरोले पुरिएका बाटो सफा गर्न गएका उनले जानकारी दिए । ‘आइतबार कतिपय पैदलमार्फत आरु घाटतर्फ झरे । बिरामी, अशक्तलाई हेलिकोप्टरबाट उद्धार गरियो । ३८० जना भने साम्दोबाट लार्केपास गर्न धर्मशालातर्फ गएका छन् । उनीहरू लार्केपास गरेर मनाङ झर्छन्,’ पर्यटन व्यवसायी लामाले भने । साम्दोमा पर्यटक आउने क्रम नरोकिएको उनको भनाइ छ । यो याममा (भदौ १६ देखि कात्तिक १५ सम्ममा) ६ हजार ४१४ पर्यटकले मनास्लु क्षेत्रको भ्रमण गरेका मनास्लु संरक्षण क्षेत्र आयोजनाको तथ्याङ्कमा उल्लेख छ । हाल उक्त क्षेत्रमा सयौं पर्यटक रहेका छन् । तातोपानीबाट ३५ पर्यटकको उद्धार गोरखाको तातोपानी क्षेत्रमा अलपत्र परेका ३५ स्वदेशी तथा विदेशी पर्यटकको उद्धार गरिएको छ । धार्चे गाउँपालिका-३ तातोपानीबाट नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले २० विदेशी र १५ नेपाली पर्यटकको सकुशल उद्धार गरेको सशस्त्र प्रहरी बलका केन्द्रीय प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । उनीहरू सामा गाउँबाट माछी खोलातर्फ आउने क्रममा पहिरोका कारण तातोपानीमा अलपत्र परेका हुन् । पर्यटक अलपत्र परेको जानकारी प्राप्त हुना साथ नेपाली सेना र सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस आरु घाटबाट खटिएको टोलीले उनीहरूको उद्धार गरी माछी खोलातर्फ पठाइएको थियो । उद्धार गरिएका पर्यटकको स्वास्थ्य अवस्था भने सामान्य रहेको बताइएको छ ।
३६ घण्टापछि खुल्यो कागबेनी-कोरला सडक
काठमाडौं । मुस्ताङको कोरला नाका जोड्ने कागबेनी-चैले सडक आइतबारदेखि सञ्चालनमा आएको छ । शनिबार बिहानदेखि सडक मर्मत सुरु गरिएकोमा कागबेनी-कोरला सीधा यातायात सेवा ३६ घण्टापछि सञ्चालनमा आएको हो । जिल्ला प्रशासन कार्यालयको समन्वयमा सुरक्षा निकाय र स्थानीय जनप्रतिनिधि तथा कालीगण्डकी करिडोर (बेनी-जोमसोम-कोरला) सडक आयोजनाको संयुक्त पहलमा कागबेनी-कोरला सडक सञ्चालनमा ल्याइएको हो । वर्षाका कारण कागबेनी-कोरला खण्ड अन्तर्गत कागबेनीदेखि चैलेसम्मको करिब १२ किलोमिटर दूरी सडकको विभिन्न स्थानमा सडक भत्किएको थियो । वर्षाका कारण कोरला सडक पूर्ण रुपमा अवरुद्ध हुँदा सवारीसाधन बारागुङ-३ को छुसाङ र चैलेमा थन्किएका थिए । बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका जनप्रतिनिधि, स्थानीय प्रशासन, सुरक्षाकर्मी, आयोजना लगायतको सहयोगमा कागबेनी-कोरला सीधा यातायात सेवा सञ्चालनमा ल्याउन सफल भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जानकारी दिए । कागबेनीदेखि २ किलोमिटर उत्तरको कोरला सडकमा साबिक सडकको विकल्प तत्कालका लागि करिब १०० मिटर बढी सडक डाइभर्सन निर्माण गरिएको छ । अवरुद्ध चैले सडकको भासिएको स्थानमा तत्कालका लागि उपकरण प्रयोग गरी माटो फिलिङ गरेर सडक सञ्चालनमा ल्याइएको बारागुङ-१ वडाध्यक्ष प्रमेश गुरुङले जानकारी दिए । अन्य स-साना स्थानका सडकमा पहिरो पन्छ्याएर सडक सञ्चालनमा ल्याइएको हो । कागबेनी-कोरला सडक पूर्ण रुपमा खुलेसँगै कोरला नाका पुगेर फर्किँदा बाटोमै थन्किएका झन्डै १०० सवारी साधन गन्तव्यतर्फ प्रस्थान गरेको इलाका प्रहरी कार्यालय छुसाङले जनाएको छ । बारागुङ मुक्तिक्षेत्र-३ का वडाध्यक्ष विनोद गुरुङले कागबेनी-कोरला सडक अस्थायी कामचलाउका रुपमा सञ्चालनमा आएको जानकारी दिए । उनका अनुसार कोरला सडक पूर्ण रुपमा खुलाउन आयोजनाको समन्वयमा ४ उपकरण एकैसाथ परिचालन गरिएको थियो । अर्का वडाध्यक्ष कर्मा घ्याचो गुरुङले तत्कालका लागि हलुका सवारीसाधन मात्रै आउजाउ गर्नसक्ने बनाइएको ठूलो माल बाहक सवारीसाधनले कोरला नाका आउजाउ गर्न समस्या हुने बताए । जोमसोम-कागबेनी सडक भने मर्मतपछि शनिबारदेखि सञ्चालनमा आएको थियो ।
मुस्ताङको नरसिंह खोला नुन खानी खोँचमा थुनियो, आज निकास दिने
काठमाडौं । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-३ स्थित नुन खानी खोँचमा पहिरो जाँदा नरसिंह खोला थुनिएको स्थानीय प्रशासनले जनाएको छ । शनिबार रातिदेखि खोला थुनिएर थुनिएको स्थान भन्दा मुनी पानी सुकेको स्थानीयले आइतबार बिहान जानकारी गराएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जानकारी दिए । ‘खोलाको पानी पुरै थुनिएको छ, अलिअलि मात्रै रसाएको देखिन्छ । आइतबार दिउँसो नेपाली सेनाको ड्रोनमार्फत थुनिएको स्थान खोजी गर्याे । नुन खानी नजिक दुईतर्फी पहिरो गएर खोलाको पानी ताल बनेको पाइयो,’ प्रजीअ भुसालले भने । सेनाले खोला थुनिएर ताल बनेको स्थानको तत्काल विश्लेषण गर्दा सोमबारसम्म ताल नभरिने र नफुट्ने जानकारी प्राप्त गरेको प्रजीअ भुसालले बताए । सेनाको ड्रोनमार्फत लिएको तस्बिर हेर्दा खासै ठुलो ताल बनेको जस्तो नदेखिएको उनको भनाइ छ । खोलाको पानी सुकेसँगै खोलातर्फको सडकबाट आउजाउ गर्ने सवारी साधन नचलाउन र मानिसलाई ओहोरदोहोर नगर्न जिल्ला प्रशासनले सूचना जारी गरेको छ । वारागुङ-३ स्थित प्राचीन नुन खानी तेताङ गाउँको उत्तर/पूर्वमा पर्छ । तेताङबाट पैदल एक घण्टा यात्रामा पुग्ने सकिने नुन खानी दुई अग्ला अग्ला विशाल पहाडको खोँचमा पर्छ । ‘थुनिएको खोलाको ताल फुटेर तल छुसाङको तटीय बस्तीमा हुने जोखिम कम भएको हामीले विश्लेषण गरेका छौँ, आज बिहान नुन खानीमा पुगेर थुनिएको स्थानलाई निकास दिने विकल्प खोज्छौँ,’ प्रजीअ भुसालले भने । सो स्थान छुसाङबाट डेढ घण्टाको पैदल दुरीमा पर्छ ।