ओलीसहितको सार्वजनिक बहसमा नआउने बालेनको अडान
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू सार्वजनिक राजनीतिक बहसका लागि तयार रहेको बताइरहँदा प्रधानमन्त्रीका सम्भावित उम्मेदवारका रूपमा चर्चा गरिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले भने त्यस्तो बहसमा सहभागी नहुने स्पष्ट प्रतिक्रिया दिएका छन् । अध्यक्ष ओलीले पछिल्ला दिनहरूमा विभिन्न सार्वजनिक कार्यक्रममा राजनीतिक दल र नेतृत्वबीच खुला बहस आवश्यक रहेको बताउँदै आएका छन् । देशको भविष्य, विकासको दृष्टिकोण र नेतृत्व क्षमताबारे जनतामाझ स्पष्टता ल्याउन सार्वजनिक डिबेट उपयोगी हुने उनको धारणा छ । यसै सन्दर्भमा ओलीले सार्वजनिक बहसको प्रस्ताव गरेपछि शाहले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएका हुन् । शाहले आफू अहिले सार्वजनिक राजनीतिक बहसभन्दा व्यवहारिक काम र परिणाममा केन्द्रित रहेको बताएका छन् । ओलीको सन्देशमा प्रतिक्रिया दिँदै शाहले लेखेका छन्, '७६ बालबालिकाको हत्या भएको घटनासँग जोडिएका व्यक्तिसँग एउटै मञ्चमा सहभागी हुनु भनेको आफू पनि त्यसमा संलग्न भएको मानिने भएकाले म त्यसमा सहभागी हुँदिन।' उनले थप आरोप लगाउँदै २३ गते भएको आतङ्ककारी घटनालाई ढाकछोप गर्न २४ गते आगजनी गरिएको दाबी गरेका छन् । शाहका अनुसार आगजनी गरिएका स्थान र नेताहरूका घरबारे जानकारी सम्बन्धित पक्षहरूलाई पहिल्यै थियो ।
निर्वाचन प्रचारप्रसारमा राष्ट्रिय झण्डाको प्रयोग गर्न नपाइने
काठमाडौं । राजनीतिक दल तथा उम्मेदवारले घरदैलो र सभा-सम्मेलनमा दशभन्दा बढी राष्ट्रिय झण्डा प्रयोग गर्न नपाउने भएका छन् । निर्वाचन आयोगका अनुसार दल तथा उम्मेदवारले प्रचारप्रसार गर्दा राष्ट्रिय झण्डाको प्रयोग गर्न पाउने छैनन् । 'दल वा उम्मेदवारले जुलुस, आमसभा, कोणसभा, घरदैलो भेटघाट वा जुनसुकै प्रकारको र्याली गर्दा दशभन्दा बढी झण्डा प्रयोग गर्न पाउने छैनन्,' आयोगले भनेको छ । पछिल्लो समय निर्वाचन लागि उम्मेदवारले घरदैलो कार्यक्रममा मत माग्न जाँदा वा सभा सम्मेलनमा राष्ट्रिय झण्डाको प्रयोग हुन थालेको छ । राष्ट्रिय झण्डाको गरिमा नबुझेको भन्दै सार्वजनिक रुपमै विरोध हुन थालेको छ ।
अण्डाको माग र मूल्य बढ्यो, प्रतिक्रेट चार सय ९५ रुपैयाँ पुग्यो
चितवन । प्रतिनिधिसभाको निर्वाचन नजिँकिदै जाँदा अण्डाको माग उच्च भएको छ । माग बढेसँगै अण्डाको मूल्य पनि क्रमशः बढ्दै गएको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले आइतबारदेखि लागू हुनेगरी अण्डाको मूल्यमा वृद्धि गरेको हो । यसअनुसार ठूलो अण्डा एक क्रेट (३० वटा)को फार्म मूल्य रु चार सय ९५ पुगेको छ । यसअघि प्रतिक्रेट रु चार सय ६५ मा बिक्री गरिएको ठूलो अण्डाको मूल्य रु ३० ले बढेको हो । यस्तै मझौला अण्डाको फार्म मूल्य रु चार सय ७५ कायम गरिएको छ । यसअघि यो अण्डा रु चार सय ४५ मा बिक्री हुँदै आएको थियो । गत मङ्सिरमा अण्डाको मूल्य हालसम्मकै उच्च भएको थियो । तत्कालीन समयमा फार्ममा ठूलो अण्डा रु पाँच सय ६५ प्रतिक्रेटमा बिक्री भएको थियो । मझौलाको रेट रु पाँच सय ५० थियो । सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार नेपालमा निर्वाचनको माहोल बन्नु, निर्वाचनसँगै सीमा क्षेत्रमा भएको कडाइका कारण अण्डाको मूल्यमा वृद्धि भएको हो । अण्डा उत्पादन गर्ने कुखुरामा कमी आउँदा अण्डा उत्पादन कम हुनु, बन्द भएका विद्यालयहरू खुल्नुलगायत कारणले अण्डाको मूल्यमा क्रमिक सुधार आउन लागेको हो । अण्डाको उत्पादन लागत मूल्य प्रतिगोटा १९ रुपैयाँ १२ पैसा पर्न आउँछ । यसलाई हिसाब गर्दा किसानको लागत मूल्य प्रतिक्रेट पाँच सय ७४ रुपैयाँ छ पैसा पर्न आउँछ । लागत मूल्य नजिक पुगेको अवस्थामा पुनः अण्डाको मूल्य घटेपछि किसान निरास बनेका थिए । अब मूल्य बढ्ने आशमा किसान रहेका छन् । सङ्घले बजारको अवस्थाअनुसार अण्डाको समर्थन मूल्य तय गर्दै आएको छ ।
आइतबार यस्तो छ विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ८१ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४१ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७२ रुपैयाँ ३१ पैसा र बिक्रीदर १७३ रुपैयाँ ०२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९८ रुपैयाँ ५८ पैसा र बिक्रीदर १९९ रुपैयाँ ३९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८५ रुपैयाँ ६१ पैसा र बिक्रीदर १८६ रुपैयाँ ३७ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०० रुपैयाँ ५५ पैसा र बिक्रीदर १०० रुपैयाँ ९६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ५० पैसा र बिक्रीदर १०६ रुपैयाँ ९४ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११४ रुपैयाँ ७५ पैसा र बिक्रीदर ११५ रुपैयाँ २२ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ २७ पैसा र बिक्रीदर नौ रुपैयाँ ३१ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ०८ पैसा र बिक्रीदर २१ रुपैयाँ १७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ १५ पैसा र बिक्रीदर ३९ रुपैयाँ ३१ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ २८ पैसा र बिक्रीदर ४० रुपैयाँ ४५ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ७१ पैसा र बिक्रीदर चार रुपैयाँ ७२ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ९७ पैसा र बिक्रीदर ४० रुपैयाँ १३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३६ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८० पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ र बिक्रीदर १० रुपैयाँ ०४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ २७ पैसा र बिक्रीदर १६ रुपैयाँ ३४ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ०७ पैसा र बिक्रीदर २३ रुपैयाँ १६ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ८३ पैसा र बिक्रीदर १८ रुपैयाँ ९० पैसा, कुवेती दिनार एकको खरिददर ४८० रुपैयाँ ३२ पैसा र बिक्रीदर ४८२ रुपैयाँ २८ पैसा, बहराइन दिनार एकको खरिददर ३८९ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३९० रुपैयाँ ९८ पैसा, ओमनी रियाल एकको खरिददर ३८१ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३८२ रुपैयाँ ९१ पैसा रहेको छ । यस्तै,भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
पाल्पा सिमेन्टको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । पाल्पा सिमेन्ट इण्डष्ट्रिजको आईपीओमा आवेदन दिने आज माघ ११ गते अन्तिम दिन रहेको छ । पुस २५ गतेदेखि बिक्री खुला गरेको कम्पनीको आईपीओमा उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूले आजसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले जारी पुँजी १ अर्ब ७५ करोड रुपैयाँको २० प्रतिशत अर्थात् ७५ करोड रुपैयाँको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य दरमा ७५ लाख कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुलाई बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । जसमध्ये उद्योग प्रभावित क्षेत्र पश्चिम नवलपरासी (साविकको नवलपरासी जिल्ला) र खानी रहेको क्षेत्र पाल्पाका स्थानीय बासिन्दाहरूलाई जारी पुँजीको ५ प्रतिशत अर्थात् १८ करोड ७५ लाख रुपैयाँको १८ लाख ७५ हजार कित्ता सेयर बिक्री गरिनेछ । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । स्थानीय बासिन्दाले उद्योगसँगै नबिल बैंकको तानसेन, बर्दघाट, बुलिबटार, गैँडाकोट, प्रभु बैंकको पाल्पा, बर्दघाट, परासी, बेलातारी, सिद्धार्थ बैंकको पाल्पा, बर्दघाट र परासी शाखाबाट आवेदन दिन सक्नेछन् ।
सांग्रिला बैंकको नाफामा ५३.९४ प्रतिशत उछाल, कर्जा ३.६९ प्रतिशत बढ्दा निक्षेप घट्यो
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा खुद नाफा ५३.९४ प्रतिशत बढेर ३० करोड २५ लाख ९७ हजार रुपैयाँ गरेको छ । गत वर्षको दोस्रो त्रैमासमा बैंकले १९ करोड ६५ लाख ६१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आवको पुस मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी १८.४१ प्रतिशत बढेर १ अर्ब ८ करोड ८० लाख ७२ हजार रुपैयाँ गरेको छ । गत वर्षको पुसमा बैंकले ९१ करोड ८२ लाख ९८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । चालु आवको दोस्रो त्रैमासमा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी ११.२९ प्रतिशत बढेर १२ करोड ५३ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी १९.४६ प्रतिशत बढेर १ अर्ब २५ करोड ७२ लाख ८५ हजार रुपैयाँ र सञ्चालन नाफा ५९.३१ प्रतिशत बढेर ४५ करोड १३ लाख १३ हजार रुपैयाँ रहेको छ । पुस मसान्तसम्ममा बैंकको वितरणयोग्य नाफा ९ करोड ४६ लाख ६१ हजार रुपैयाँ रहेको छ । सो आधारमा बैंकको लाभांश क्षमता ५.०७ प्रतिशत रहेको छ । गत वर्षको सोही अवधिमा बैंकको वितरणयोग्य नाफा २५ करोड २५ लाख रुपैयाँ थियो । समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी ५ प्रतिशत बढेर ३ अर्ब ७३ करोड ४० लाख ६८ हजार रुपैयाँ, जगेडा कोषमा १ अर्ब ८९ करोड ३३ लाख २७ हजार रुपैयाँ रहेको छ । दोस्रो त्रैमाससम्ममा बैंकको निक्षेप संकलन ०.५० प्रतिशत घटेर ५४ अर्ब ३९ करोड २४ लाख ४६ हजार रुपैयाँ र कर्जा लगानी ३.६९ प्रतिशत बढेर ४४ अर्ब ४० करोड ८३ लाख २३ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधि सम्ममा बैंकले ५४ अर्ब ६६ करोड ८४ लाख ९४ हजार रुपैयाँ निक्षेप संकलन गरी ४२ अर्ब ८२ करोड ३८ लाख ९५ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो । यस अवधिमा बैंकको खराब कर्जा (एनपीएल बढेर ६.८७ प्रतिशत पुगेको छ । गत वर्षको पुसमा ४.९९ प्रतिशत रहेको खराब कर्जा थियो । यस्तै, बैंकको आधार दर ६.१७ प्रतिशत, कर्जा निक्षेप अनुपात ८३.५५ प्रतिशत रहेको छ ।
५२ जनाले तिरेनन् सरकारको रकम, तीनपुस्ते विवरण सार्वजनिक
काठमाडौं । सरकारलाई तिर्नुपर्ने रकम नतिरेका ५२ जनाको तीनपुस्ते विवरण सरकारले सार्वजनिक गरेको छ । महालेखा नियन्त्रकको कार्यालय अन्तर्गतको कुमारी चोक तथा केन्द्रीय तहसिल कार्यालय बबरमहलले व्यवसायीदेखि कर्मचारी, कृषि व्यवसायी, सशस्त्र प्रहरीलगायत विभिन्न क्षेत्रका व्यक्तिहरूको नामसहित तीनपुस्ते विवरण सार्वजनिक गरेको हो । कार्यालयले ५२ जनाको नाम, ठेगाना र तिर्नुपर्ने रकमसहितको विवरण सार्वजनिक गर्दै ३५ दिनभित्र साँवा र ब्याज बुझाउन आग्रह गरेको छ । तोकिएको समयभित्र रकम नतिरेमा उनीहरूको चल-अचल सम्पत्ति दाबी गरी प्रचलित कानुन बमोजिम असुल उपर गरिने चेतावनी पनि दिइएको छ । सार्वजनिक सूचनामा उल्लेख भएअनुसार सरकारी रकम तिर्न बाँकी रहेकाहरूको लगत कायम गरी उनीहरूको नाम वेबसाइटमा राखेर रकम बुझाउन आउन भनी विगतका वर्षहरूमा पनि पटक-पटक सूचना प्रकाशित गरिएको थियो । साथै सम्बन्धित व्यक्तिहरूको घर ठेगानामा पत्राचार गरी उपस्थित हुन समेत भनिएको थियो । तर, ती सबै सूचना र प्रयासका बाबजुद पनि सरकारी रकम बाँकी रहेकाहरूबाट रकम असुल हुन नसकेपछि बाध्य भएर तीनपुस्ते विवरण सार्वजनिक गरिएको केन्द्रीय तहसिल कार्यालयले जनाएको छ ।
रौतहटको जयनगरमा फर्निचर मेलामा उपभोक्ता र व्यवसायी आकर्षित
काठमाडौं । रौतहटस्थित गरुडा नगरपालिका-१ जयनगरमा काठ तथा फलामका सामग्रीको फर्निचर मेला जारी रहेको छ । श्रीपञ्चमीको अवसर पारेर शुक्रबारदेखि थालिएको सो मेलामा घरायसी प्रयोजनका काठका फर्निचरका साथै कृषिसँग सम्बन्धित फलामका विभिन्न सामग्री बिक्रीका लागि राखिएका छन् । मेला दुई महिनासम्म जारी रहने छ । विसं २०६५ देखि निरन्तर रूपमा आयोजना हुँदै आएको यो मेला हरेक वर्ष सञ्चालन हुँदै आइरहेको छ । ग्रामीण क्षेत्रमा लाग्ने यो मेला आकार, व्यापार र सहभागिताका हिसाबले देशकै ठूलो ग्रामीण फर्निचर मेलाका रूपमा परिचित हुँदै गएको नेपाल विश्वकर्मा लोहार सङ्घका अध्यक्ष विवेक शर्माले बताए । मेलामा पलङ, डाइनिङ सेट, कुर्सी, खाट, खटिया, चारपाई, बेञ्च, ढोका, टेबल, ड्रेसिङ टेबल, झ्याल, दराज, बालबालिकाका खेलौनालगायत घरायसी प्रयोगका प्रायः सबै प्रकारका काठका फर्निचर उपलब्ध छन् । त्यसैगरी फलामका कोदालो, हँसिया, कुटो, बन्चरो, खुकुरीलगायत सामग्री पनि बिक्रीका लागि राखिएको उनले जानकारी दिए । मेलामा रौतहट, सर्लाही, महोत्तरी, बारा, पर्सालगायत विभिन्न जिल्लाका दुई सयभन्दा बढी फर्निचर व्यवसायीले आफ्ना सामग्री बिक्रीका लागि ल्याएका छन् भने फर्निचर आउने क्रम अझै जारी रहेको अध्यक्ष शर्माले बताए । मेलामा नेपालका विभिन्न स्थानबाट मात्र नभई भारतको बिहार प्रान्तबाट समेत उपभोक्ता तथा व्यापारी आएर घरायसी प्रयोग र पुनः बिक्रीका लागि फर्निचर खरिद गर्ने गरेको उनले जानकारी दिए । जयनगर फर्निचर मेलामा अन्य स्थानको तुलनामा २५ प्रतिशतभन्दा बढी सस्तोमा फर्निचर उपलब्ध हुने र आफ्नै काठ प्रयोग गरी स्थानीय सीप र श्रमबाट फर्निचर निर्माण गरिने भएकाले मूल्य तुलनात्मक रूपमा सस्तो पर्ने अध्यक्ष शर्माको भनाइ छ । विवाहमा दाइजोका लागि फर्निचर खरिद गर्नेहरू तथा सस्तो र गुणस्तरीय सामान खोज्ने उपभोक्ताको पहिलो रोजाइ यो मेला बनेको छ । मेलाबाट रौतहट, सर्लाही, बारा, पर्सा, धनुषा, काठमाडौं, पोखरा, विराटनगर, जनकपुरलगायत नेपालका विभिन्न भाग तथा भारतको बिहार प्रान्तका सीतामढी, पूर्वी चम्पारण, मुजफ्फरपुर र पटनासम्म फर्निचर ढुवानी हुँदै आएको उनले बताए । यातायातको सहज पहुँच, गुणस्तरीय सामग्री र सस्तो मूल्यका कारण जयनगरको फर्निचर मेला उपभोक्ता र व्यवसायी दुवैका लागि आकर्षणको केन्द्र बन्दै गएको उनको दाबी छ ।