डेबिट कार्ड र मोबाइल बैंकिङ प्रयोगकर्तालाई जय नेपाल सिनेमामा विशेष छुट
काठमाडौं । आइसीएफसी फाइनान्स लिमिटेडका ग्राहकले दरबारमार्गस्थित जय नेपाल सिनेमा हलमा चलचित्रको टिकट खरिद गर्दा १२ प्रतिशत छुट पाउने भएका छन् । आइसीएफसी फाइनान्स र बज इन्टरटेन्मेन्टअन्तर्गत सञ्चालित जय नेपाल सिनेमा हलबीच यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौताअनुसार फाइनान्सका डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ प्रयोगकर्ताले टिकट खरिद गर्दा कुल मूल्यमा १२ प्रतिशत छुट प्राप्त गर्नेछन् । सम्झौतापत्रमा आइसीएफसी फाइनान्सका तर्फबाट शाखा प्रबन्धक शैलेश कोइराला, बजार प्रमुख सञ्जोग गुरुङ र बजार प्रतिनिधि सरिना श्रेष्ठ तथा जय नेपाल सिनेमा हलका तर्फबाट प्रबन्ध निर्देशक रूपेश कुमार श्रेष्ठ र निर्देशक हरिकृष्ण लोहलाले हस्ताक्षर गरेका छन् । फाइनान्सले आफ्ना ग्राहकलाई बैंकिङ सेवासँगै विभिन्न क्षेत्रका आकर्षक छुट तथा सुविधामार्फत थप मूल्य प्रदान गर्ने उद्देश्यले यस्तो सहकार्य गरिएको जनाएको छ । सम्झौतापछि आइसीएफसी फाइनान्सका ग्राहकले जय नेपाल सिनेमा हलमा चलचित्र हेर्दा टिकटको कुल मूल्यमा १२ प्रतिशत छुटको सुविधा लिन सक्नेछन् ।
नेपाल माइक्रो इन्स्योरेन्सका निलम्बित सीईओ रिमाल धरौटीमा रिहा
काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सका निलम्बित प्रमुख कार्यकारी अधिकृत (सीईओ) मृगेन्द्रनाथ रिमाल धरौटीमा रिहा भएका छन् । विशेष अदालतमा मंगलबार भएको थुनछेकको बहस पछि न्यायाधीशहरु नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको संयुक्त इजलासले धरौटीमा छोड्ने आदेश जारी गरेको हो । रिमाल २५ लाख रुपैयाँ धरौटीमा रिहा भएका हुन् । सम्पत्ति शुद्धिकरण मुद्दामा गत साउन ७ गते पक्राउ परेका रिमाललाई मंगलबार थुनछेक बहसका लागि उपस्थित गराइएको थियो ।
संस्थापक दिवसमा दिवाकर गोल्छा अर्गनाइजेशनद्वारा स्वास्थ्य, शिक्षा र वातावरणमा योगदान
काठमाडौं । दिवाकर गोल्छा अर्गनाइजेशनले आफ्ना संस्थापक स्वर्गीय दिवाकर गोल्छाको ७२औं जन्मजयन्ती तथा संस्थापक दिवसका अवसरमा देशभर विभिन्न सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रम सञ्चालन गरेको छ । संस्थाले साउन १३ गतेलाई संस्थापक दिवसका रूपमा मनाउँदै आएको जनाएको छ । औद्योगिकीकरण, उद्यमशीलता विकास र स्वदेशमै रोजगारी सिर्जनामा स्वर्गीय गोल्छाले पुर्याएको योगदानको सम्मानस्वरूप प्रत्येक वर्ष यो दिवस विशेष कार्यक्रमसहित मनाउने गरिएको विज्ञप्तिमा उल्लेख छ । संस्थापक दिवसको अवसरमा उद्योगका विभिन्न कारखाना, काठमाडौंस्थित कर्पोरेट कार्यालय तथा अन्य शाखामा विविध कार्यक्रम आयोजना गरिएको थियो । सामाजिक उत्तरदायित्वअन्तर्गत निःशुल्क स्वास्थ्य शिविर, उत्कृष्ट कर्मचारी सम्मान, वृक्षारोपण, विद्यालय तथा वृद्धाश्रममा भोजन वितरणलगायतका कार्यक्रम सञ्चालन गरिएको संस्थाले जनाएको छ । यसै अवसरमा किर्तिपुर अस्पताललाई डायलाइसिस उपकरण पनि हस्तान्तरण गरिएको छ । संस्थाले स्वास्थ्य सेवा विस्तारमा सहयोग पुग्ने उद्देश्यले उक्त उपकरण उपलब्ध गराएको जनाएको छ । दिवाकर गोल्छा अर्गनाइजेशनका अनुसार स्वर्गीय गोल्छाको औद्योगिकीकरण र स्वदेशमै रोजगारी सिर्जना गर्ने सोचलाई निरन्तरता दिँदै देशका विभिन्न स्थानमा जस्तापाता तथा पाइप, जुट, चिनी, खाद्यान्न, एल्युमिनियम, स्टिलका भाँडाकुँडा, जीआई, कपर वायर तथा इलेक्ट्रोनिक्स सामग्री उत्पादन गर्ने उद्योग सञ्चालन भइरहेका छन् । ती उद्योगमार्फत करिब २० हजार जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । संस्थाले नेपालकै पहिलो स्टिल उद्योगका रूपमा स्थापित हुलास स्टिल इन्डस्ट्रिज लिमिटेडले ४५ वर्षको यात्रामा देशको औद्योगिक विकास, अर्थतन्त्र र रोजगारी सिर्जनामा उल्लेखनीय योगदान पुर्याएको जनाएको छ । दिवाकर गोल्छा फाउन्डेसनमार्फत विभिन्न संघसंस्था तथा सामाजिक क्षेत्रमा आर्थिक सहयोगसहितका कार्यक्रम सञ्चालन हुँदै आएको उल्लेख गर्दै संस्थाले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।
नेपालको पहिलो हाइड्रो आफै उज्यालोको पर्खाइमा
काठमाडौं । नेपालको आधुनिक ऊर्जा विकासको इतिहास फर्पिङ जल विद्युत परियोजनाले ११६ वर्ष पार गरेको छ । १९६८ जेठ ९ गते उद्घाटन भएको यो आयोजना एसियाकै दोस्रो जलविद्युत परियोजनाका रूपमा परिचित छ । तर नेपालमा विद्युत उत्पादनको इतिहासको साक्षी रहेको यो धरोहर अहिले संरक्षणको अभाव, सरकारी बेवास्ता र स्पष्ट दीर्घकालीन योजनाको कमीका कारण जीर्ण बन्दै गएको छ । पाँच सय किलोवाट क्षमताको फर्पिङ लघु जलविद्युत आयोजना तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेर राणाको पहलमा गेहेन्द्र शमशेरको नेतृत्वमा निर्माण गरिएको थियो । यसको उद्घाटन तत्कालीन राजा पृथ्वी वीरविक्रम शाहले विसं १९६८ जेठ ९ गते गरेका थिए । त्यसबेला यस केन्द्रबाट उत्पादित विद्युतलाई श्री चन्द्रज्योति प्रकाश नाम दिइएको थियो । काठमाडौं उपत्यकाबाट करिब १२ किलोमिटर दक्षिण-पश्चिममा अवस्थित यस परियोजनाको निर्माणमा त्यतिबेला सात लाख १३ हजार रुपैयाँ खर्च भएको थियो । आयोजनाका लागि आवश्यक सम्पूर्ण आर्थिक सहयोग तत्कालीन बेलायत सरकारले उपलब्ध गराएको थियो । उत्पादन भएको विद्युत ११ केभी वितरण प्रणालीमार्फत काठमाडौं उपत्यकामा आपूर्ति गरिन्थ्यो । विद्युत वितरणलाई व्यवस्थित बनाउन त्यसबेला बिजुली अड्डासमेत स्थापना गरिएको थियो । फर्पिङ जलविद्युत गृह नेपालको ऊर्जा इतिहासको एउटा महत्त्वपूर्ण परिचय हो । भारतको दार्जिलिङपछि एसियामा विद्युत उत्पादन गर्ने दोस्रो आयोजना मानिने यस परियोजनाले नेपाललाई आधुनिक ऊर्जा युगमा प्रवेश गराएको थियो । विसं १९६४ मा बेलायत भ्रमणबाट फर्किएपछि चन्द्रशमशेरले नेपालमा जलविद्युत उत्पादन गर्ने योजना अघि सारेका थिए । बेलायती र नेपाली इन्जिनियरहरूको संयुक्त प्रयासमा करिब २० महिनाको निर्माणपछि आयोजना सञ्चालनमा आएको थियो । कुटली खोला, सातमुले र शेषनारायण क्षेत्रको पानीलाई एकीकृत गरी निर्माण गरिएको यस आयोजनाबाट राजधानीका दरबार, सरकारी कार्यालय तथा उद्योगमा विद्युत आपूर्ति गरिएको थियो । त्यसबेला विद्युत उत्पादनका हिसाबले नेपाल चीन र जापानभन्दा समेत अगाडि रहेको ऐतिहासिक तथ्य यस आयोजनासँग जोडिएको छ । फर्पिङ जलविद्युत गृहले करिब ६० वर्षसम्म काठमाडौं उपत्यकालाई विद्युत आपूर्ति ग‍रेको थियो । तर २०३८ सालमा फर्पिङ क्षेत्रको पानी राजधानीको खानेपानी आपूर्तिका लागि प्रयोग गर्न थालिएपछि विद्युत उत्पादन बन्द गरियो । त्यसयता आयोजना निष्क्रिय बन्दै गएको छ । ऊर्जा उत्पादन बन्द भएसँगै ऐतिहासिक संरचनाको संरक्षणमा पनि सरकारी ध्यान पुग्न सकेन । फलस्वरूप नेपालकै औद्योगिक इतिहाससँग जोडिएका मेसिन, संरचना र पूर्वाधार क्रमशः जीर्ण बन्दै गएको स्थानीय राजु श्रेष्ठले जानकारी दिए । एक सय १६ वर्ष पुरा गरेको फर्पिङ जल विध्युत क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने, पार्क निर्माण गर्ने तथा जलविद्युत सङ्ग्रहालय स्थापना गर्ने घोषणा गरिएपनि यस क्षेत्रमा राज्यको ध्यान नगएको श्रेष्ठले बताए । बारम्बार सरकार र मन्त्री परिवर्तन हुने राजनीतिक अस्थिरताका कारण यस्ता दीर्घकालीन सम्पदा संरक्षणका कार्यक्रमले निरन्तरता नपाएको उनको भनाइ छ । स्थानीय तारा बलामी फर्पिङ जलविद्युत आयोजना नेपालको आधुनिक विकासको जीवित इतिहास भए पनि राज्यको प्राथमिकतामा पर्न सकेको बताइन् । उनले भनिन्, ‘फर्पिङ जलविद्युत गृह केवल एउटा पुरानो संरचना होइन, यो नेपालको आधुनिक विकास यात्राको सुरुआतको प्रतीक हो । यसको संरक्षणका लागि दीर्घकालीन योजना, पर्याप्त बजेट र निरन्तर सरकारी प्रतिबद्धता आवश्यक छ । तर अहिलेसम्म त्यसअनुसारको काम हुन सकेको छैन ।’ उनका अनुसार ऐतिहासिक सम्पदाको संरक्षणलाई सरकारले प्राथमिकतामा नराख्दा यस्तो महत्त्वपूर्ण धरोहर क्रमशः उपेक्षामा पर्दै गएको छ । ऊर्जा क्षेत्रका जानकार तथा सम्पदा संरक्षणकर्मीहरूले फर्पिङ जलविद्युत आयोजनालाई राष्ट्रिय ऊर्जा सम्पदाका रूपमा संरक्षण गर्नुपर्ने बताउँछन् । यसलाई जलविद्युत सङ्ग्रहालय, अनुसन्धान केन्द्र तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नु नगरपालिकाले सरकारलाई अनुरोध गरेको दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेत बताउँछन् ।
मन्त्रिपरिषद बैठक सुरु
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आह्वान गरेको मन्त्रिपरिषद् बैठक सुरु भएको छ । बुधबार (आज) अपरान्ह ३ बजे बस्नेगरी बोलाइएको बैठक ढिलागरी सुरु भएको हो । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बस्ने बैठकले विभिन्न निर्णय गर्ने जनाइएको छ ।
संसदीय सुनुवाइबाट प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की अनुमोदित
काठमाडौं । संघीय संसदअन्तर्गतको संसदीय सुनुवाइ समितिले प्रमुख निर्वाचन आयुक्तका लागि प्रस्तावित मानबहादुर कार्कीको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको छ । समितिको बुधबार बसेको बैठकले कार्कीको नाममा सर्वसम्मत सहमति जनाएको हो । अब संवैधानिक प्रक्रियाअनुसार राष्ट्रपतिबाट नियुक्तिपछि उनले प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी सम्हाल्नेछन् । यस्तै, निर्वाचन आयोगका आयुक्तका लागि प्रस्तावित गुरु वाग्ले र डा. राजीव सुब्बाको नाम पनि समितिले सर्वसम्मत रूपमा अनुमोदन गरेको छ । संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएसँगै प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको नियुक्तिको संवैधानिक प्रक्रिया अघि बढ्ने भएको छ ।
कर्णालीमा सत्ता परिवर्तनको औपचारिक सुरुवात, शाहीले लिए मुख्यमन्त्रीको शपथ
सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले बुधबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष आयोजित समारोहमा शाहीले मुख्यमन्त्रीका रूपमा शपथ लिएका हुन् । नेकपा कर्णाली प्रदेश संसदीय दलका नेता शाही एमालेको समर्थनमा मंगलबार मुख्यमन्त्री नियुक्त भएका थिए । ४० सदस्यीय कर्णाली प्रदेश सभामा एमालेका सभामुखबाहेक ९ र नेकपाका १४ गरी २३ सांसदको समर्थन प्राप्त भएपछि उनी सरकारको नेतृत्वमा पुगेका हुन् । शाही यसअघि कर्णाली प्रदेश सरकारमा भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्रीको जिम्मेवारी सम्हालिसकेका अनुभवी नेता हुन् । उनको नेतृत्वमा अब नयाँ मन्त्रिपरिषद् गठनको प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ । कर्णालीमा सरकार परिवर्तन केन्द्रमा नेकपा र एमालेबीच भएको तीनबुँदे राजनीतिक सहमतिपछि सुरु भएको पहिलो सत्ता फेरबदल हो । सातवटै प्रदेशमा सत्ता समीकरण पुनर्गठन गर्ने सहमतिअनुसार कर्णालीबाट नयाँ समीकरण कार्यान्वयनमा आएको हो । यसअघि मुख्यमन्त्री रहेका एमालेका यामलाल कँडेलले केन्द्रमा भएको नयाँ राजनीतिक समझदारी कार्यान्वयनको बाटो खुला गर्दै पदबाट राजीनामा दिएका थिए । उनको राजीनामापछि शाहीलाई नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
४ लघु बीमाको व्यापार १ अर्बमाथि, सबैभन्दा धेरै प्रोटेक्टिभको
काठमाडौं । लघु निर्जीवन बीमकहरूले गत आर्थिक वर्ष २०८२/८३ मा १ अर्ब ३१ करोड रुपैयाँ बढीको व्यापार भित्र्याउन सफल भएका छन् । नेपाल बीमा प्राधिकरणले बुधबार (आज) सार्वजनिक गरेको तथ्यांकअनुसार गत आवमा ४ वटा लघु निर्जीवन बीमकले ५ लाख ९७२ बीमालेख जारी गरेर १ अर्ब ३१ करोड ९३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन् । एक वर्षको अवधिमा सबैभन्दा धेरै व्यापार भित्र्याउनेमा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स अगाडि रहेको छ । कम्पनीले एक वर्षमा १ लाख ४३ हजार ६८१ वटा बीमालेख जारी ३७ करोड ५२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । अघिल्लो आवमा कम्पनीले २४ करोड ९३ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको थियो । अघिल्लो आवको तुलनामा कम्पनीको व्यापार ५०.४६ प्रतिशतले वृद्धि भएको छ । एक वर्षको अवधिमा दोस्रो धेरै व्यापार भित्र्याउनेमा नेपाल माइक्रो इन्स्योरेन्स रहेको छ । कम्पनीले १ लाख २० हजार २१३ वटा बीमालेख जारी गर्दै ३२ करोड ५२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । अघिल्लो आवमा कम्पनीले २६ करोड २८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आवको तुलनामा समीक्षा वर्षमा कम्पनीको व्यापार ३९.९० प्रतिशतले बढेको छ । यसैगरी, स्टार माइक्रो इन्स्योरेन्सले एक वर्षमा १ लाख ३९ हजार ७१ वटा बीमालेख जारी गर्दै ३१ करोड ८१ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । कम्पनीले अघिल्लो आवमा २२ करोड ७४ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको थियो । अघिल्लो आवको तुलनामा कम्पनीको व्यापार ४०.३४ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै, ट्रस्ट माइक्रो इन्स्योरेन्सले ९८ हजार ७ वटा बीमालेख जारी गर्दै ३० करोड ७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । अघिल्लो आवमा सो कम्पनीले २१ करोड २२ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको थियो । समीक्षा वर्षमा कम्पनीको व्यापार ४०.३४ प्रतिशतले वृद्धि भएको छ ।