विकासन्युज

५२ जनाले तिरेनन् सरकारको रकम, तीनपुस्ते विवरण सार्वजनिक

काठमाडौं । सरकारलाई तिर्नुपर्ने रकम नतिरेका ५२ जनाको तीनपुस्ते विवरण सरकारले सार्वजनिक गरेको छ । महालेखा नियन्त्रकको कार्यालय अन्तर्गतको कुमारी चोक तथा केन्द्रीय तहसिल कार्यालय बबरमहलले व्यवसायीदेखि कर्मचारी, कृषि व्यवसायी, सशस्त्र प्रहरीलगायत विभिन्न क्षेत्रका व्यक्तिहरूको नामसहित तीनपुस्ते विवरण सार्वजनिक गरेको हो । कार्यालयले ५२ जनाको नाम, ठेगाना र तिर्नुपर्ने रकमसहितको विवरण सार्वजनिक गर्दै ३५ दिनभित्र साँवा र ब्याज बुझाउन आग्रह गरेको छ । तोकिएको समयभित्र रकम नतिरेमा उनीहरूको चल-अचल सम्पत्ति दाबी गरी प्रचलित कानुन बमोजिम असुल उपर गरिने चेतावनी पनि दिइएको छ । सार्वजनिक सूचनामा उल्लेख भएअनुसार सरकारी रकम तिर्न बाँकी रहेकाहरूको लगत कायम गरी उनीहरूको नाम वेबसाइटमा राखेर रकम बुझाउन आउन भनी विगतका वर्षहरूमा पनि पटक-पटक सूचना प्रकाशित गरिएको थियो । साथै सम्बन्धित व्यक्तिहरूको घर ठेगानामा पत्राचार गरी उपस्थित हुन समेत भनिएको थियो । तर, ती सबै सूचना र प्रयासका बाबजुद पनि सरकारी रकम बाँकी रहेकाहरूबाट रकम असुल हुन नसकेपछि बाध्य भएर तीनपुस्ते विवरण सार्वजनिक गरिएको केन्द्रीय तहसिल कार्यालयले जनाएको छ । 

रौतहटको जयनगरमा फर्निचर मेलामा उपभोक्ता र व्यवसायी आकर्षित

काठमाडौं । रौतहटस्थित गरुडा नगरपालिका-१ जयनगरमा काठ तथा फलामका सामग्रीको फर्निचर मेला जारी रहेको छ । श्रीपञ्चमीको अवसर पारेर शुक्रबारदेखि थालिएको सो मेलामा घरायसी प्रयोजनका काठका फर्निचरका साथै कृषिसँग सम्बन्धित फलामका विभिन्न सामग्री बिक्रीका लागि राखिएका छन् । मेला दुई महिनासम्म जारी रहने छ । विसं २०६५ देखि निरन्तर रूपमा आयोजना हुँदै आएको यो मेला हरेक वर्ष सञ्चालन हुँदै आइरहेको छ । ग्रामीण क्षेत्रमा लाग्ने यो मेला आकार, व्यापार र सहभागिताका हिसाबले देशकै ठूलो ग्रामीण फर्निचर मेलाका रूपमा परिचित हुँदै गएको नेपाल विश्वकर्मा लोहार सङ्घका अध्यक्ष विवेक शर्माले बताए ।  मेलामा पलङ, डाइनिङ सेट, कुर्सी, खाट, खटिया, चारपाई, बेञ्च, ढोका, टेबल, ड्रेसिङ टेबल, झ्याल, दराज, बालबालिकाका खेलौनालगायत घरायसी प्रयोगका प्रायः सबै प्रकारका काठका फर्निचर उपलब्ध छन् । त्यसैगरी फलामका कोदालो, हँसिया, कुटो, बन्चरो, खुकुरीलगायत सामग्री पनि बिक्रीका लागि राखिएको उनले जानकारी दिए । मेलामा रौतहट, सर्लाही, महोत्तरी, बारा, पर्सालगायत विभिन्न जिल्लाका दुई सयभन्दा बढी फर्निचर व्यवसायीले आफ्ना सामग्री बिक्रीका लागि ल्याएका छन् भने फर्निचर आउने क्रम अझै जारी रहेको अध्यक्ष शर्माले बताए । मेलामा नेपालका विभिन्न स्थानबाट मात्र नभई भारतको बिहार प्रान्तबाट समेत उपभोक्ता तथा व्यापारी आएर घरायसी प्रयोग र पुनः बिक्रीका लागि फर्निचर खरिद गर्ने गरेको उनले जानकारी दिए । जयनगर फर्निचर मेलामा अन्य स्थानको तुलनामा २५ प्रतिशतभन्दा बढी सस्तोमा फर्निचर उपलब्ध हुने र आफ्नै काठ प्रयोग गरी स्थानीय सीप र श्रमबाट फर्निचर निर्माण गरिने भएकाले मूल्य तुलनात्मक रूपमा सस्तो पर्ने अध्यक्ष शर्माको भनाइ छ । विवाहमा दाइजोका लागि फर्निचर खरिद गर्नेहरू तथा सस्तो र गुणस्तरीय सामान खोज्ने उपभोक्ताको पहिलो रोजाइ यो मेला बनेको छ । मेलाबाट रौतहट, सर्लाही, बारा, पर्सा, धनुषा, काठमाडौं, पोखरा, विराटनगर, जनकपुरलगायत नेपालका विभिन्न भाग तथा भारतको बिहार प्रान्तका सीतामढी, पूर्वी चम्पारण, मुजफ्फरपुर र पटनासम्म फर्निचर ढुवानी हुँदै आएको उनले बताए । यातायातको सहज पहुँच, गुणस्तरीय सामग्री र सस्तो मूल्यका कारण जयनगरको फर्निचर मेला उपभोक्ता र व्यवसायी दुवैका लागि आकर्षणको केन्द्र बन्दै गएको उनको दाबी छ ।

आजको मौसम: उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपात र वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका उच्च पहाडी तथा हिमाली भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भागमा आंशिक बादल लाग्नेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थान तथा बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना छ । पूर्वी तथा मध्य तराई भू-भागका केही स्थानमा बिहानीपख हुस्सु रहनेछ । त्यसैगरी, आज राति सुदूरपश्चिम प्रदेशलगायत पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्नेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

१७ जना राष्ट्रिय सभा सदस्यका लागि आज सातै प्रदेशमा मतदान हुँदै

काठमाडौं । राष्ट्रिय सभामा २०८२ फागुन २० गतेदेखि रिक्त हुने १८ पदका लागि माघ ११ गते आज बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुने निर्वाचनको सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । कुल १८ पदमध्ये कोशी प्रदेशमा खस आर्यतर्फको एउटा पदमा निर्विरोध भएको र बाँकी १७ पदका लागि आज निर्वाचन हुन लागेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए । कोशी प्रदेशका खस आर्यतर्फका उम्मेदवार नेपाली कांग्रेसका सुनिल बहादुर थापा निर्विरोध निर्वाचित भएका हुन् । बाँकी १७ पदको मतदानका लागि सातै प्रदेशका मतदान स्थल तथा मतदान केन्द्र निर्धारण गरिएको छ । कोशी प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर विराटनगर मोरङ, मधेस प्रदेशको महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्र जनकपुर उपमहानगरपालिका-४ धनुषा, बागमती प्रदेशको भुटनदेवी माध्यमिक विद्यालय हेटौंडा उपमहानगरपालिका-४ मकवानपुरमा मतदान केन्द्र निर्धारण गरिएको हो । त्यसैगरी, गण्डकी प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर पोखरा कास्की, लुम्बिनी प्रदेशको कर्मचारी मिलन केन्द्र घोराही दाङ, कर्णाली प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर वीरेन्द्रनगर सुर्खेत र सुदूरपश्चिम प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर धनगढी कैलालीमा मतदान हुने तय भएको प्रवक्ता भट्टराईले जानकारी दिए । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि प्रदेशसभा सदस्य, नगर प्रमुख तथा उपप्रमुख एवं गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष मतदाता रहने व्यवस्था छ ।

लिपुलेक मुनिका छाङरु र तिङ्करका मतदातालाई सदरमुकाममै मतदानको व्यवस्था

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दार्चुलामा दुई अस्थायी मतदान केन्द्र कायम गरिएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार ब्यास गाउँपालिका-१ का छाङरु र तिङ्कर गाउँका मतदातालाई लक्षित गरी सदरमुकाम खलङ्गामा अस्थायी मतदान केन्द्र तोकिएको हो । मुख्य निर्वाचन अधिकृत भुवन गिरीका अनुसार भौगोलिक विकटता र मौसमी अवस्थाका कारण लिपुलेक मुनिका छाङरु तथा तिङ्करका मतदाता हाल खलङ्गामै बसोबास गरिरहेका छन् । सोही कारण उनीहरूलाई सहज रूपमा मतदान गर्न खलङ्गामै मतदान केन्द्र कायम गरिएको हो । छाङरुका मतदाताका लागि कैलाशपति आधारभूत विद्यालय र तिङ्करका मतदाताका लागि मोति महिला सङ्घ आधारभूत विद्यालयमा अस्थायी मतदान केन्द्र तोकिएको उनले बताए । निर्वाचन कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार कैलाशपति आधारभूत विद्यालयमा ३७५ र मोति महिला सङ्घ आधारभूत विद्यालयमा २४४ मतदाता सूचीकृत छन् । विसं २०७९ को निर्वाचनमा छाङरुमा ३८३ र तिङ्करमा २३४ मतदाता रहेका थिए । यसअघि स्थानीय तह निर्वाचन पनि ती क्षेत्रमै सम्पन्न गरिएको मुख्य निर्वाचन अधिकृत गिरीले बताए । यसपटक गत मङ्सिर महिनामै स्थानीय बासिन्दा सदरमुकाम झरेपछि यही माघ ५ गते मतदान केन्द्र खलङ्गामै राख्न माग गरिएको थियो । सो मागलाई मध्यनजर गर्दै अस्थायी मतदान केन्द्र कायम गरिएको मुख्य निर्वाचन अधिकृत गिरीले बताए । सदरमुकाममै मतदान केन्द्र तोकिँदा मतदाताको सहभागिता बढ्ने अपेक्षा गरिएको छ । जिल्लाभर प्रतिनिधिसभा निर्वाचनका लागि ११२ मतदानस्थल र १४३ मतदान केन्द्र तोकिएका छन् । प्रमुख जिल्ला अधिकारी अनिल पौडेलका अनुसार तीमध्ये १५ मतदानस्थल अतिसंवेदनशील, ३२ संवेदनशील र ६५ सामान्य अवस्थामा राखेर सुरक्षा योजना बनाइएको छ । मतदाता सङ्ख्याको विवरण अनुसार यसपटक दार्चुलामा कुल ९२ हजार ९४८ मतदाता रहेका छन् । तीमध्ये ४७ हजार ७५५ पुरुष र ४५ हजार १९३ महिला मतदाता रहेका छन् । निर्वाचनलाई व्यवस्थित, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सबै तयारी तीव्र पारिएको प्रजीअ पौडेलले बताए । 

गोरखाका किसानको २२ करोड आम्दानी, गत वर्ष भन्दा १५ प्रतिशत बढ्यो सुन्तला उत्पादन

काठमाडौं । गोरखामा यस वर्ष सुन्तला उत्पादन १५ प्रतिशतले वृद्धि भएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइका अनुसार जिल्लामा यो वर्ष ३ हजार १८७ मेट्रिक टन सुन्तला उत्पादन भएको हो । किसानले करिब २२ करोड रुपैयाँ आम्दानी गरेको एकाइकी सूचना अधिकारी पूजा रेग्मीले बताइन् । किसानले १ करोड ५० लाख रुपैयाँ बराबरको कागतीसमेत बिक्री गरेको उनको भनाइ छ । उनका अनुसार यो वर्ष गोरखामा १५ देखि २० प्रतिशतले सुन्तलाको उत्पादन बढेको छ । उत्पादन बढेसँगै किसान उत्साहित बनेका सूचना अधिकारी रेग्मीको भनाइ छ । ‘यस वर्ष मौसम अनुकूल भएकाले पनि उत्पादन बढेको हो, विगतका वर्षहरुमा रोपेको सुन्तलाले यस वर्षबाट उत्पादन दिन थालेकाले पनि उत्पादनमा वृद्धि आएको हो,’ उनले भनिन् ।  गत वर्ष जिल्लाभर जम्मा १९ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । यस्तै, आर्थिक वर्ष २०८०/८१ मा १ हजार ६०० मेट्रिक टन र आव २०७९/८० मा १ हजार ८०० मेट्रिक टन सुन्तला उत्पादन भएको सूचना अधिकारी रेग्मीले बताइन् । कृषि ज्ञान केन्द्रले पनि यो वर्ष जिल्लामा सुन्तलाको उत्पादन बढेको बताएको छ । कार्यालयका सूचना अधिकारी सुमन भट्टराईका अनुसार यो वर्ष जिल्लाभर १५ प्रतिशतले सुन्तलाको उत्पादन बढेको हो । कार्यालयले आम्दानीको विवरण भने नराखेको उनले जानकारी दिइन् । ‘मौसमको अनुकूलता र किसानको मेहनतका कारण यो वर्ष उत्पादन बढेको हो । कृषि ज्ञान केन्द्रले पनि आफ्नो ठाउँबाट प्राविधिक सहयोग गर्दै आएको छ,’ उनले भनिन् । जिल्लाको सुन्तला जात फलफूल खेतीलाई राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइले सघाउँदै आएको छ । कार्यालयले जिल्लामा सुन्तला जोन कार्यक्रम लागू गरेर सुन्तला खेती प्रवर्द्धन गर्दै आएको छ । गण्डकी, सहिद लखन, भीमसेन थापा गाउँपालिका र गोरखा नगरपालिकाका सबै वडा, पालुङटार नगरपालिकाका वडा नं ९ र १० तथा सिरानचोक गाउँपालिकाको वडा नं २, ४ र ५ लाई समेटेर सुन्तला जात फलफूल जोन घोषणा गरी कार्यान्वयन गरिरहेको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइका प्रमुख पूर्ण ढुङ्गाना बताउँछन् ।  ढुङ्गानाका अनुसार जिल्लामा सुन्तलाको उत्पादन बढाउन बगैँचा व्यवस्थापन तथा चक्लाबन्दी, क्षेत्र विस्तार, साना सिँचाइ पूर्वाधार निर्माण, उन्नत प्रविधिसहितको प्रदर्शनी, साना मेसिनरी वितरणलगायत कार्यक्रम सञ्चालन गरिएको छ । सुन्तला जोन बाहेकका क्षेत्रमा करिब १० प्रतिशत सुन्तला उत्पादन हुने गरेको  छ । सुन्तला जिल्लाको गण्डकी, भीमसेन थापा र सहिद लखन, सिरानचोक गाउँपालिका, गोरखा र पालुङटार नगरपालिका तथा उत्तरी गोरखाको धार्चेस्थित कासीगाउँमा फल्ने गर्छ । गण्डकीको ताङ्लीचोक, भुम्लिचोक, फलाटे, फुजेल र सहिद लखनको मनकामना, ताक्लुङ, मास्केछाप, तीनमाने, अँधेरीलाई सुन्तालको पकेट क्षेत्र मानिन्छ ।  त्यस्तै, भीमसेन थापाको तान्द्राङ, पालुङटारको बागडाँडा, शेरा र गोरखा नगरपालिकाको ताप्ले, नारेश्वर, फिनाम र भट्टबेँसीलाई पनि सुन्तला उत्पादनको पकेट क्षेत्रका रूपमा लिने गरिन्छ । जिल्लाको करिब १ हजार ९७ हेक्टर क्षेत्रमा सुन्तला खेती हुँदै आएको छ भने करिब ३ सय किसान सुन्तला खेतीमा आबद्ध छन् । जिल्लाका किसानले खाकु र स्थानीय जातको सुन्तला लगाउँदै आएका छन् ।

डोल्पामा ३२८ मेगावाटको भारबुङ आयोजना बन्ने, लागत १ खर्ब ३ अर्ब

काठमाडौं । डोल्पा जिल्लामा जलाशययुक्त प्रकृतिको भारबुङ जलविद्युत् आयोजना निर्माण हुने भएको छ । विकास र समृद्धिका हिसाबले पछाडि परेको मानिएको डोल्पामा कुल ३२८ मेगावाट क्षमताको सो आयोजना निर्माणका लागि विद्युत् विकास विभागले आवश्यक अध्ययन तथा वातावरणीय प्रभाव मूल्याङ्कनको प्रक्रिया अगाडि बढाएको छ । डोल्पाको छार्का ताङसोङ गाउँपालिका र काईके गाउँपालिकामा भौतिक संरचना निर्माण हुने गरी भारबुङ र तातु खोलाको पानी प्रयोग गरिने विभागले जनाएको छ । जलायशुक्त प्रकृतिको सो आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन स्वीकृतिका लागि ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको सिफारिससहित आवश्यक विवरण वन तथा वातावरण मन्त्रालयमा पेस भएको छ ।  विवरणअनुसार भारबुङ नदीमा निर्माण हुने ३२५ मेगावाट क्षमता र तातु खोलाको १.१२ क्युसेक पानीलाई नदी प्रवाहमा आधारित प्रणालीबाट उपयोग गरी थप ३.१० मेगावाट क्षमताका २ वटा प्रणालीमार्फत विद्युत् उत्पादन गरिनेछ । डोल्पाको छार्का ताङसोङ गाउँपालिका-४ र ५ तथा काईके गाउँपालिका-१ का भूभाग प्रभावित हुनेछन् । विवरणअनुसार छार्का ताङसोङ गाउँपालिका-४ मा १६९ मिटर अग्लो बाँध, ७६६ मिटर लामो डाइभर्सन सुरुङ, इन्टेक र १६ किलोमिटर लामो हेडरेस सुरुङ निर्माण हुनेछ । सोही गाउँपालिकाको ४ र काईके गाउँपालिका-१ मा भूमिगत विद्युतगृह र पानी निकास नहर निर्माण गरिनेछ ।  आयोजनाको जलाशयले छार्का ताङसोङ गाउँपालिका-५ का केही भू-भाग डुबानमा पर्नेछ । आयोजनाको दुवै प्रणालीबाट वार्षिक ९३३.१९ गिगावाट घण्टा विद्युत् उत्पादन हुनेछ । आयोजनास्थल डोल्पाको जुफाल विमानस्थलबाट १२ किलोमिटर टाढा रहेको छ । आयोजनाबाट उत्पादित बिजुली प्रस्तावित दुनै सबस्टेशनमा जोडिनेछ । सो आयोजनाको कुल लागत १ खर्ब ३ अर्ब ३१ करोड ९ लाख ३१ हजार रुपैयाँ बराबर रहनेछ । प्रतिमेगावाट लागत २८ करोड ५० लाख ९३ हजार ९८० रुपैयाँ बराबर रहेको छ ।  यस्तै, कास्कीको माछापुच्छ्रे गाउँपालिकामा ३२ मेगावाट क्षमताको करुवा सेती जलविद्युत् आयोजना निर्माण हुने भएको छ । झ्यामोलोङ्गा हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले प्रवर्द्धन गर्न लागेको सो आयोजनाको पूरक वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयार पार्ने उद्देश्यले वन तथा वातावरण मन्त्रालयले आवश्यक सुझाव दिन आग्रह गरेको छ ।  मन्त्रालयले सार्वजनिक सूचनामार्फत सो आयोजनका कारण पर्ने वातावरणीय प्रभावका बारेमा आवश्यक सुझाव एवं सल्लाह दिन आग्रह गरेको छ । सो आयोजनाको हेडरेस सुरुङको लम्बाइ घटेको, पेनस्टक पाइपको लम्बाइ बढेको तथा विद्युतगृह क्षेत्र स्थानान्तरण भएकाले वातावरणीय प्रभाव मूल्याङ्कनको प्रक्रिया अगाडि बढाइएको हो ।  आयोजना अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्नेछ । अन्नपूर्ण संरक्षण क्षेत्रको ९.६५ हेक्टर वन क्षेत्र र निजी स्वामित्वको ०.९५ हेक्टर, स्वीकृत परिमार्जित वातावरणीय व्यवस्थापन योजनाअनुसार स्वीकृत गरिएको थियो । सो स्वीकृत प्रतिवेदनमा केही जमिन थप गर्नुपर्ने भएकाले मन्त्रालयले आवश्यक सुझाव एवं सल्लाह दिन आग्रह गरेको हो ।

उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक गरेको छ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएकाहरूको वैयक्तिक विवरण सार्वजनिक गर्नुपर्ने प्रावधान रहेको छ । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ निर्धारित मितिमा मनोनयन पत्र दर्ता कायम रहेका उम्मेदवारको प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका, २०८२ को दफा २२ (१) बमोजिम मनोनयन पत्रसँगै पेस गरेको वैयक्तिक विवरण आयोगले सार्वजनिक गरेको हो ।  निर्वाचन प्रक्रियालाई पारदर्शी, निष्पक्ष तथा विश्वसनीय बनाउनका लागि उम्मेदवारका वैयक्तिक विवरणहरू सार्वजनिक गर्नु आवश्यक रहेकाले आयोगले कानुनी व्यवस्थाअनुसार सबै उम्मेदवारको विवरण सार्वजनिक गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । यसले मतदाता, सरोकारवाला निकाय, सञ्चारमाध्यम तथा आमनागरिकलाई उम्मेदवारसम्बन्धी आवश्यक जानकारी प्राप्त गर्न सहज बनाउने उद्देश्यअनुरुप सो विवरण आयोगको वेबसाइटमा प्रकाशित गरिएको छ । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ देशका १६५ निर्वाचन क्षेत्रमा तीन हजार ४८६ उम्मेदवारी दर्ता भएको छ । माघ ६ गते देशभर एकैपटक मनोनयन पत्र दर्ता सम्पन्न भएको हो । कुल ३ हजार ४८६ उम्मेदवारीमध्ये ३ हजार ८९ पुरुष, ३९६ महिला तथा अन्य १ जना रहेका छन् ।