विकासन्युज

सेयर बजारमा साढे ४ अर्बको कारोबार

काठमाडौं । बुधबार सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ७.७९ अंकले घटेर २६८८ बिन्दुमा झरेको हो ।  नेप्सेका अनुसार ७० कम्पनीको सेयर मूल्य बढ्दा १९८ कम्पनीको सेयर मूल्य घटेको छ । ७ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन । बुधबार ३४३ कम्पनीको ९७ लाख कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार हिमालयन पावर पार्टनरको २२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।  साथै खानीखोला हाइड्रोको २१ करोड, रिलाइन्स स्पिीनिङको १७ करोड र सेन्ट्रल फाइनान्सको १६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । एभरेष्ट कलरको सेयर मूल्य १४.९९ प्रतिशतले बढेको छ ।  

महाधिवेशनपछि रास्वपाको पहिलो केन्द्रीय समिति बैठक सुरु

काठमाडौं । चितवनमा सम्पन्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनबाट निर्वाचित दोस्रो केन्द्रीय समितिको पहिलो बैठक बुधबार (आज) काठमाडौंमा सुरु भएको छ । वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालय ‘घण्टीघर’मा सभापति रवि लामिछानेको अध्यक्षतामा बैठक बसेको हो। बैठकको प्रारम्भमै महाधिवेशनका क्रममा पद तथा गोपनीयताको शपथ लिन छुटेका केही नवनिर्वाचित केन्द्रीय सदस्यलाई शपथ गराइएको पार्टीले जनाएको छ । महाधिवेशनपछिको पहिलो औपचारिक बैठक भएकाले संगठनलाई थप प्रभावकारी बनाउने रणनीति, महाधिवेशनको समग्र समीक्षा, आगामी राजनीतिक तथा सांगठनिक कार्यदिशा र समसामयिक राष्ट्रिय राजनीतिक घटनाक्रमबारे विस्तृत छलफल हुने कार्यसूची रहेको छ । यसैगरी, महाधिवेशनबाट पारित निर्णयहरूको कार्यान्वयन, पार्टीको संगठन विस्तार, विभाग गठन तथा आगामी कार्यक्रमहरूको रूपरेखाबारे समेत बैठकले आवश्यक निर्णय गर्ने अपेक्षा गरिएको छ ।

चिकित्सा शिक्षा आयोगको ६ अर्ब ५५ करोड बजेट स्वीकृत

काठमाडौं । चिकित्सा शिक्षा आयोगले आर्थिक वर्ष २०८३/८४ का लागि ६ अर्ब ५५ करोड २५ लाख ९८ हजार रुपैयाँ बराबरको कार्यक्रम तथा बजेट स्वीकृत गरेको छ । प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बुधबार (आज) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको आयोगको २७औं बैठकले नेपाल सरकारबाट विनियोजित ५ अर्ब ९९ करोड २१ लाख रुपैयाँ र आयोगको आन्तरिक स्रोतबाट ५६ करोड ४ लाख ९८ हजार रुपैयाँ बराबरको कार्यक्रम तथा बजेट अनुमोदन गरेको हो । बैठकले गत आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म आयोगको आन्तरिक स्रोतमा रहेको ९९ करोड ८५ लाख ९६ हजार २६७ रुपैयाँ बचत र चालु आर्थिक वर्षमा विभिन्न आन्तरिक स्रोतबाट प्राप्त हुने अनुमानित ३५ करोड रुपैयाँ गरी कुल १ अर्ब ३४ करोड ८५ लाख ९६ हजार २६७ रुपैयाँ मध्ये चालु आवमा ५६ करोड ४ लाख ९८ हजार रुपैयाँ खर्च गर्ने निर्णय गरेको छ । आयोगका अनुसार आन्तरिक स्रोतबाट विनियोजित रकममध्ये ४७ करोड ४२ लाख ९८ हजार रुपैयाँ चालु खर्च तथा ८ करोड ६२ लाख रुपैयाँ पुँजीगत खर्चका लागि छुट्याइएको छ । बैठकमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता, आयोगका उपाध्यक्ष प्रा. डा. देवेन्द्रबहादुर खत्री तथा सदस्य–सचिव एवं सहसचिव बसन्तप्रसाद कोइराला लगायतको सहभागिता रहेको थियो ।

तिब्बती तथा बौद्ध अध्ययन गोष्ठीमा ४० देशका प्राज्ञिक आउँदै

काठमाडौं । विश्वभरका प्रतिष्ठित विश्वविद्यालयका प्राध्यापक, प्राज्ञ तथा शोधकर्ताहरूको सहभागितामा नेपालमा १७ औं अन्तर्राष्ट्रिय प्राज्ञिक गोष्ठी आयोजना हुने भएको छ।  हरेक तीनदेखि चार वर्षमा विश्वका विभिन्न मुलुकमा आयोजना हुँदै आएको यो अन्तर्राष्ट्रिय गोष्ठी यसपटक सत्रौं संस्करणका रूपमा नेपालमा हुन लागेको हो । काठमाडौं विश्वविद्यालयअन्तर्गतको सेन्टर फर बुद्धिस्ट स्टडिज, राङ्जुङ येशे इन्स्टिच्युटको संयुक्त आयोजनामा हुन लागेको हो । आगामी भदौको ७ देखि १३ सम्म काठमाडौंमा ‘इन्टरनेसनल एसोसिएसन फर तिब्बती स्टडिज’ को सम्मेलन हुन लागेको हो । गोष्ठीको संयोजकमा रहेका प्रा.सागर शर्माले यस अन्तर्राष्ट्रिय सम्मेलनमा चीन, अमेरिका, युरोप तथा एसियाका विभिन्न ३५ देखि ४० भन्दा बढी मुलुकका विद्वान, अनुसन्धानकर्ता तथा विश्वविद्यालयका प्रोफेसरहरू सहभागी हुने जानकारी दिए ।  उनका अनुसार अमेरिकाको हार्वर्ड युनिभर्सिटी र चीनको पेकिङ युनिभर्सिटीजस्ता विश्वका प्राज्ञिक संस्थाका शोधकर्ताहरूले भाग लिने छन् । मुख्यतः तिब्बती बुद्धधर्म, बौद्ध दर्शन, भाषा, साहित्य र हिमाली संस्कृतिसँग सम्बन्धित विषयहरूमा ३ देखि ४ दिनसम्म विभिन्न प्यानलहरूमा शोधपत्र प्रस्तुत गरिने उनले जानकारी दिए ।  चार वर्षअघिदेखिनै पूर्वयोजना बनाएर तयारी भइरहेको यो सम्मेलनको अन्तिम कार्यक्रम तालिका इभेन्ट हुनुभन्दा करिब दुई हप्ताअगाडि सार्वजनिक गरिने शर्माले जानकारी दिए ।  विश्वभरका विद्वानहरूबाट प्राप्त शोधसार  छनोट र व्यवस्थापनको काम तीव्र गतिमा भइरहेको छ । यस सम्मेलनबाट नेपाललाई ठूलो प्राज्ञिक र पर्यटकीय लाभ मिल्ने आयोजकको भनाइ छ । यसैबीच, तिब्बत तथा बौद्ध अध्ययनसँग सम्बन्धित विश्वस्तरीय अन्तर्राष्ट्रिय सम्मेलन भएकाले छिमेकी मुलुक चीन, कूटनीतिक वृत्त तथा नेपालका सुरक्षा निकायहरूले समेत चासो व्यक्त गरेका छन् ।  यसबारे उनले यो कुनै राजनीतिक वा नीतिगत थिङ्क ट्याङ्क को भेला नभई विशुद्ध प्राज्ञिक तथा शैक्षिक सम्मेलन भएको प्रष्ट पारेका छन् ।  राज्य तथा छिमेकी मुलुकहरूले यस्ता विश्वचर्चित सम्मेलनबारे सोधपुछ गर्नु र चासो राख्नुलाई आयोजकले स्वाभाविक प्रक्रियाका रूपमा लिनुपर्ने उनले बताए ।

वित्तीय साक्षरतादेखि स्वास्थ्य सेवासम्म सिटिजन्स बैंकका सामाजिक अभियान

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले गत आर्थिक वर्ष संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत सञ्चालन गरेका विभिन्न कार्यक्रममार्फत देशभरका लाखौँ नागरिकलाई प्रत्यक्ष तथा परोक्ष रूपमा लाभान्वित गरेको जनाएको छ । बैंकले सीएसआरलाई परोपकारी सहयोगमा मात्र सीमित नराखी दिगो विकास, समावेशी वृद्धि र समुदायसँगको दीर्घकालीन सहकार्यको माध्यमका रूपमा अघि बढाउँदै आएको जनाएको छ । बैंकका अनुसार शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता, विपद् व्यवस्थापन तथा समुदायको समग्र उत्थानका क्षेत्रमा निरन्तर कार्यक्रम सञ्चालन भइरहेको छ । वित्तीय समावेशीकरण र वित्तीय सचेतना प्रवर्द्धन गर्ने उद्देश्यले बैंकले सातै प्रदेशमा रहेका आफ्ना १४८ शाखामार्फत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको थियो । उक्त अभियानबाट करिब १० हजार विद्यार्थी, महिला, किसान, मजदुर, वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका व्यक्ति तथा अन्य लक्षित वर्गलाई बचत, जिम्मेवार वित्तीय व्यवहार, डिजिटल बैंकिङ, साइबर सुरक्षा तथा वित्तीय व्यवस्थापनसम्बन्धी जानकारी प्रदान गरिएको बैंकले जनाएको छ । बैंकका अनुसार हालसम्म सञ्चालन गरिएका १०० भन्दा बढी सीएसआर कार्यक्रमबाट सातै प्रदेशका लाखौँ नागरिक लाभान्वित भएका छन् । यस्ता कार्यक्रमले बैंक र समुदायबीचको सम्बन्ध थप सुदृढ बनाउनुका साथै समावेशी तथा दिगो विकासप्रतिको बैंकको प्रतिबद्धता पनि झल्काएको जनाएको छ । स्वास्थ्य क्षेत्रमा बैंकले बाराको विश्रामपुर गाउँपालिकामा निःशुल्क आँखा परीक्षण तथा मोतिबिन्दु शल्यक्रिया शिविर सञ्चालन गरी करिब ८०० जनाको आँखा परीक्षण गरेको थियो । परीक्षणका क्रममा मोतिबिन्दु पहिचान भएका करिब १५० बिरामीको निःशुल्क शल्यक्रियाको व्यवस्थासमेत गरिएको बैंकले जनाएको छ । त्यसैगरी, म्याग्दीको भगवती स्वास्थ्य चौकीलाई अस्पताल बेड, बेबी वार्मर, औषधि ट्रली तथा स्वच्छ खानेपानी आपूर्तिका लागि आवश्यक एचडीपीई पाइप हस्तान्तरण गरिएको छ । उक्त स्वास्थ्य चौकीबाट वडा नम्बर १ र २ का चार हजार ३०० भन्दा बढी स्थानीयले आधारभूत स्वास्थ्य सेवा प्राप्त गर्दै आएका छन् । वातावरण संरक्षणलाई प्राथमिकता दिँदै बैंकले ‘एक खाता, एक रुख’ अभियानअन्तर्गत विश्व वातावरण दिवस २०२५ को अवसरमा काठमाडौंको बूढानीलकण्ठस्थित चौकीडाँडा पर्यटकीय पार्कमा करिब २५० बिरुवा रोपेको थियो । साथै कोशी, मधेश, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा समेत वृक्षारोपण कार्यक्रम सञ्चालन गरी देशभर एक हजार ५०० बिरुवा रोपिएको जनाएको छ । शिक्षा क्षेत्रमा बैंकले कर्णाली प्रदेशको हुम्लास्थित अदानचुली गाउँपालिका–३ को श्री छत्रपाल आधारभूत विद्यालयका २०५ विद्यार्थीलाई ट्र्याकसुट वितरण गरेको छ । साथै दृष्टिविहीन विद्यार्थीका लागि ब्रेल पेपर, ई–ग्रेड ब्रेल स्टाइलस, इन्टरपोइन्ट ब्रेल स्लेट, विद्यालय झोला तथा सफ्टवेयरसहितका शैक्षिक सामग्री वितरण गरी उनीहरूको अध्ययनलाई सहज बनाउन सहयोग गरेको जनाएको छ । बैंकले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वलाई संस्थागत संस्कृतिको अभिन्न अंगका रूपमा निरन्तरता दिँदै समाज, वातावरण र राष्ट्रको दिगो विकासमा थप प्रभावकारी योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेको छ ।

‘मोस्ट वान्टेड’ सूचीमा टेलिग्रामका संस्थापक पाभेल डुरोभ

काठमाडौं । मेसेजिङ एप टेलिग्रामका संस्थापक तथा मालिक पाभेल डुरोभ अन्तर्राष्ट्रिय खोजी सूची (इन्टरनेशनल वान्टेड लिस्ट) मा परेका छन् । रुसको प्रमुख आन्तरिक सुरक्षा निकायले बुधबार आतंकवादमा सहयोग गरेको अभियोग लगाउँदै उनलाई इन्टरनेशनल वान्टेड लिस्टमा राखेको हो । रुसमा जन्मिएका तथा आफ्नो व्यवसायिक यात्रा त्यहीँबाट सुरु गरेका डुरोभ पछि विदेश बसाइँ सरेका थिए । रुसले देशकै सबैभन्दा लोकप्रिय सन्देश आदान–प्रदान एपमध्ये एक टेलिग्राममाथि थप प्रतिबन्ध पनि लगाइरहेको छ ।  यो कदम फेब्रुअरी २०२२ मा युक्रेनमाथि पूर्णस्तरीय आक्रमण सुरु गरेयता क्रेम्लिनले इन्टरनेटमाथि पूर्ण नियन्त्रण स्थापित गर्ने दीर्घकालीन प्रयासको निरन्तरता मानिएको छ । रुसको फेडरल सेक्युरिटी सर्भिस (एफएसबी) ले जारी गरेको विज्ञप्तिमा टेलिग्राम प्रशासनले ‘धेरै च्यानल, च्याट र बोट’ हटाउन असफल भएको आरोप लगाएको छ ।  ती माध्यमहरूलाई युक्रेनी गुप्तचर निकाय, आतंकवादी तथा अतिवादी संगठनहरूले रुसभित्र तोडफोड, आतंकवादी गतिविधि, सामूहिक हत्या तथा साइबर ठगीको योजना बनाउन र समन्वय गर्न सक्रिय रूपमा प्रयोग गरेको र यसका कारण धेरै मानवीय क्षति भएको एफएसबीको दाबी छ । एफएसबीले युक्रेनका सुरक्षा निकायहरूले टेलिग्राममा रहेको लोकप्रिय डेटिङ च्याटबोट प्रयोग गरेर रुसी नागरिकलाई तोडफोड तथा आतंकवादी गतिविधिमा संलग्न गराउन फकाउने र भर्ती गर्ने गरेको आरोप पनि लगाएको छ ।  सन् २०२५ को जुलाईयता उक्त च्याटबोट प्रयोग गरेका १२ देखि २२ वर्ष उमेर समूहका ४६ जनालाई रुसभरि पक्राउ गरिएको, उनीहरूविरुद्ध सुरक्षाकर्मीमाथि आक्रमण, आगजनीलगायतका आरोप रहेको एफएसबीले जनाएको छ । डुरोभले यस वर्षको सुरुमै रुसी अधिकारीहरूले आफूमाथि आपराधिक अनुसन्धान सुरु गरेको जानकारी दिएका थिए । उनले टेलिग्राममाथिको पहुँच सीमित गर्न कृत्रिम बहाना बनाइएको र यो व्यक्तिगत गोपनीयता तथा अभिव्यक्ति स्वतन्त्रताको अधिकार दबाउने प्रयास भएको आरोप लगाएका थिए । यदि उनी दोषी ठहरिएमा रुसमा आजीवन कारावाससम्मको सजाय हुन सक्नेछ । टेलिग्रामले यस विषयमा तत्काल कुनै प्रतिक्रिया दिएको छैन । कम्पनीको आधिकारिक वेबसाइटअनुसार टेलिग्रामको मुख्यालय दुबईमा रहेको छ । संयुक्त अरब इमिरेट्स (युएई) र फ्रान्सको दोहोरो नागरिकता भएका डुरोभ पनि दुबईमै बसोबास गर्छन् । राष्ट्रपति भ्लादिमिर पुटिनको नेतृत्वमा रुसले इन्टरनेटमाथि नियन्त्रण बढाउन विभिन्न उपाय अपनाउँदै आएको छ । सरकारले कडा कानुन लागू गरेको, नियम नमानेका वेबसाइट र डिजिटल प्लेटफर्ममाथि प्रतिबन्ध लगाएको तथा अनलाइन गतिविधिको निगरानी र नियन्त्रण गर्ने प्रविधि विस्तार गरेको छ । रुसमा फेसबुक, इन्स्टाग्राम र एक्स (पूर्व ट्विटर) जस्ता लोकप्रिय सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाइएको छ । युट्युबको सेवा सीमित गरिएको छ भने सिग्नल र भाइबरजस्ता मेसेजिङ एप अवरुद्ध गरिएका छन्। सबैभन्दा धेरै प्रयोग हुने ह्वाट्सएप र टेलिग्राममाथि पनि विभिन्न प्रतिबन्ध लगाइएको छ । डुरोभले टेलिग्राम सुरु गर्नुअघि स्थापना गरेको फेसबुकजस्तै रुसी सामाजिक सञ्जाल भीके अहिले क्रेम्लिन निकट कम्पनीहरूको नियन्त्रणमा पुगेको छ । रुसले सन् २०१८ देखि २०२० सम्म टेलिग्राम बन्द गर्ने प्रयास गरे पनि त्यसमा सफल हुन सकेको थिएन । यद्यपि भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) प्रयोग गरेर केही प्रतिबन्ध छल्न अझै सम्भव भए पनि यस्ता सेवामाथि पनि नियमित रूपमा अवरोध लगाइँदै आएको छ । यसैबीच, रुसले म्याक्स नामक ‘राष्ट्रिय’ मेसेजिङ एपलाई सक्रिय रूपमा प्रवद्र्धन गरिरहेको छ । आलोचकहरूका अनुसार यो एप निगरानीका लागि प्रयोग हुन सक्ने जोखिम छ ।  विकासकर्ता र सरकारी अधिकारीहरूले यसलाई सन्देश आदान–प्रदान, सरकारी अनलाइन सेवा, डिजिटल भुक्तानीलगायत सबै सुविधा एउटै प्लेटफर्मबाट उपलब्ध गराउने एपका रूपमा प्रचार गरेका छन् ।  प्रयोगकर्ताको जानकारी सरकारी निकायको मागअनुसार उपलब्ध गराइने कुरा यसले खुला रूपमा उल्लेख गरेको छ भने विज्ञहरूका अनुसार यसमा ‘एन्ड–टु–एन्ड इन्क्रिप्सन’ पनि प्रयोग गरिएको छैन । डुरोभ अन्य देशमा पनि कानुनी अनुसन्धानको सामना गरिरहेका छन् । सन् २०२४ मा उनको प्लेटफर्म मादक पदार्थ तस्करी तथा बाल यौन दुर्व्यवहारसम्बन्धी सामग्री वितरणजस्ता गैरकानुनी गतिविधिमा प्रयोग भएको आरोपमा उनलाई पेरिसमा पक्राउ गरिएको थियो । डुरोभले सन् २०२५ को मार्चमा फ्रान्समा केही महिना बिताएपछि आफू दुबई फर्किएको बताएका थिए । अन्य पठनीय सामग्रीहरू : इरानमाथि फेरि आक्रमणको संकेत ? ट्रम्पसँग नेतन्याहूको गोप्य छलफल हर्मुजमा इरानको पकड बलियो, सबै विदेशी जहाज तेहरानकै मार्गमा इरानका परमाणु केन्द्रमा धावा बोल्ने अमेरिकी योजना सार्वजनिक साउदीको परमाणु डिलपछि किन चर्चामा आयो पाकिस्तान ?

कुमारी बैंकको मोबाइल बैंकिङ एपबाट अब ई–सिम र अन्तर्राष्ट्रिय ड्राइभिङ परमिट सेवा

काठमाडौं । कुमारी बैंक लिमिटेडले नेपालस्थित प्रविधि कम्पनी निम्बजसँग सहकार्य गर्दै आफ्ना ग्राहकका लागि मोबाइल बैंकिङ एपमार्फत ई–सिम र अन्तर्राष्ट्रिय ड्राइभिङ परमिट (आईडीपी) सम्बन्धी सेवा उपलब्ध गराउने भएको छ । यससम्बन्धी समझदारीपत्र (एमओयू) मा दुवै पक्षबीच हस्ताक्षर भएको हो । सम्झौतापछि कुमारी बैंकका ग्राहकले मोबाइल बैंकिङ एपबाटै सहज रूपमा ई–सिम प्याकेज खरिद गर्न तथा अन्तर्राष्ट्रिय ड्राइभिङ परमिट (आईडीपी) का लागि आवेदन दिन सक्ने बैंकले जनाएको छ । विशेषगरी विदेश भ्रमण, अध्ययन, रोजगारी तथा व्यावसायिक प्रयोजनका लागि विदेश जाने नेपालीलाई यस सेवाबाट लाभ पुग्ने अपेक्षा गरिएको छ । बैंकका अनुसार ई–सिम सेवामार्फत विदेश पुगेपछि स्थानीय सिम कार्ड खरिद गर्न, सिम परिवर्तन गर्न वा डेटा सेवा सञ्चालन गर्नुपर्ने झन्झट हट्नेछ । त्यस्तै आईडीपी सेवाले अन्तर्राष्ट्रिय ड्राइभिङ अनुमति प्राप्त गर्ने प्रक्रियालाई थप सरल, छिटो र व्यवस्थित बनाउने विश्वास बैंकले लिएको छ । यस सेवाको अर्को विशेषता भनेको ई–सिम र आईडीपी सेवाको शुल्क कुमारी बैंकको मोबाइल बैंकिङ एपबाटै नेपाली रुपैयाँमा भुक्तानी गर्न सकिने व्यवस्था हो । यसले विदेशी मुद्रा भुक्तानीको झन्झट कम गर्दै सम्पूर्ण प्रक्रियालाई अझ सहज, सुरक्षित र ग्राहकमैत्री बनाउने बैंकको भनाइ छ । कुमारी बैंकले यस सहकार्यले ग्रामीण, अर्धशहरी तथा शहरी क्षेत्रका ग्राहकलाई अन्तर्राष्ट्रियस्तरका डिजिटल सेवामा पहुँच विस्तार गर्नुका साथै विदेश यात्रा, अध्ययन, रोजगारी तथा व्यवसायका लागि आवश्यक सेवा एउटै डिजिटल माध्यमबाट उपलब्ध गराउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।

'शिखर'मा शिखर, पछ्याउँदै सलिको

काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा निर्जीवन बीमकहरूले ५० अर्ब ६० करोड रुपैयाँ बढीको व्यापार गर्न सफल भएका छन् ।  नेपाल बीमा प्राधिकरणले बुधबार (आज) सार्वजनिक गरेको तथ्यांकअनुसार सञ्चालनमा रहेका १४ निर्जीवन बीमकले २९ लाख ६६ हजार १९५ वटा बीमालेख जारी गरेर ५० अर्ब ६० करोड ३१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन् । अघिल्लो आव २०८१/८२ को तुलनामा कम्पनीहरूको व्यापार १५.१२ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आवमा बीमा कम्पनीहरूले  २८ लाख ६४ हजार ९४५ वटा बीमालेख जारी गरी ४३ अर्ब ९५ करोड ८७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए । १ वर्षमा सबैभन्दा धेरै व्यापार भित्र्याउने बीमा कम्पनीमा शिखर इन्स्योरेन्स अगाडि रहेको छ । कम्पनीले १ वर्षमा ६ अर्ब ५१ करोड १२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । अघिल्लो आवमा कम्पनीले ५ अर्ब ७९ करोड ४२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । अघिल्लो आवको तुलनामा कम्पनीको व्यापार १२.३८ प्रतिशतले बढेको छ । १ वर्षको अवधिमा दोस्रो धेरै व्यापार भित्र्याउनेमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) अगाडि रहेको छ । गत आवमा कम्पनीले ५ अर्ब ४२ करोड २२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । अघिल्लो आवमा कम्पनीले ५ अर्ब २० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । अघिल्लो आवको तुलनामा कम्पनीको कुल बीमा शुल्क ८.४० प्रतिशतले बढेको छ । तेस्रो धेरै व्यापार भित्र्याउनेमा हिमालय एभरेष्ट इन्स्योरेन्स रहेको छ । एक वर्षमा कम्पनीले ५ अर्ब ३७ करोड ४१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।  अघिल्लो आवमा कम्पनीले ४ अर्ब १० करोड ४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । अघिल्लो आवको तुलनामा कम्पनीको व्यापार ३१.०६ प्रतिशतले वृद्धि भएको छ। त्यसैगरी, गत आवमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ४ अर्ब ५५५ करोड ११ लाख रुपैयाँ, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ४ अर्ब ३१ करोड ७४ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सले ४ अर्ब २० करोड ७९ लाख रुपैयाँ, नेको इन्स्योरेन्सले ३ अर्ब ६५ करोड ५० लाख रुपैयाँ, ओरिएन्टल इन्स्योरेन्सले ३ अर्ब २५ करोड २१ लाख रुपैयाँ र युनाइटेड अजोड इन्स्योरेन्सको ३ अर्ब ११ करोड ६२ लाख कुल बीमाशुल्क संकलन गरेका छन् । अघिल्लो आवको तुलनामा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको व्यापार १७.१३ प्रतिशत, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ०.१७ प्रतिशत, एनएलजी इन्स्योरेन्सको ३७.३० प्रतिशत, नेको इन्स्योरेन्सको ११.३७ प्रतिशत, ओरिएन्टल इन्स्योरेन्सको २०.२४ प्रतिशत र युनाइटेड अजोड इन्स्योरेन्सको ११.९५ प्रतिशतले बढेको छ । त्यस्तै सानिमा जीआईजी इन्स्योरेन्सले ३ अर्ब ८ करोड २० लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले २ अर्ब २१ करोड ६२ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सले २ अर्ब २ करोड २८ लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले १ अर्ब ५८ करोड ३७ लाख रुपैयाँ र नेसनल इन्स्योरेन्सले १ अर्ब २९ करोड ७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । अघिल्लो आवको तुलनामा सानिमा जीआईसी इन्स्योरेन्सको व्यापार  प्रतिशत १४.०१ प्रतिशत, नेपाल इन्स्योरेन्सको ८.७७ प्रतिशत, प्रभु इन्स्योरेन्सको ८.२१ प्रतिशत, राष्ट्रिय बीमा कम्पनीको १४.८३ प्रतिशत र नेसनल इन्स्योरेन्सको २१.५८ प्रतिशतले बढेको छ ।