विकासन्युज

सडकको दायाँ–बायाँ १५ मिटरभित्रका अतिक्रमण हटाउन अल्टिमेटम

काठमाडौं । सडक डिभिजन जनकपुरले माइस्थान-गौशाला-सम्सी तथा बर्दिबास-जलेश्वर सडक खण्डमा भएका अतिक्रमण ३५ दिनभित्र हटाउन अल्टिमेटम दिएको छ । कार्यालयले सार्वजनिक सडक ऐन, २०३१ बमोजिम सडकको केन्द्र रेखादेखि दायाँ-बायाँ १५/१५ मिटर क्षेत्राधिकारभित्र गरिएको सबै प्रकारका अतिक्रमण हटाउन निर्देशन दिएको हो । सडक क्षेत्रमा सवारी पार्किङ, व्यापारिक मालसामान राख्ने, निजी व्यवसायका विज्ञापन बोर्ड राख्ने, निर्माण सामग्री थुपार्ने, सडक किनारमा खुद्रा व्यापार सञ्चालन गर्ने तथा अस्थायी संरचना निर्माण गर्ने जस्ता गतिविधिले यातायात सञ्चालन, ट्राफिक व्यवस्थापन र सर्वसाधारणको आवतजावतमा बाधा पुगेको कार्यालयले जनाएको छ । त्यसैले आव सूचना प्रकाशित गरी अबका ३५ दिनभित्र सडक क्षेत्र खाली गर्न सम्बन्धित व्यक्ति तथा संस्थालाई आग्रह गरिएको छ । निर्धारित अवधिभित्र अतिक्रमण नहटाए सार्वजनिक सडक ऐन, २०३१ को दफा १९ र २० बमोजिम अनधिकृत संरचना भत्काउने तथा हटाउने प्रक्रिया अघि बढाइने डिभिजनले जनाएको छ । अतिक्रमण हटाउँदा लाग्ने सम्पूर्ण खर्चसमेत सम्बन्धित व्यक्ति वा संस्थाबाट सरकारी बाँकी सरह असुलउपर गरिने सूचनामा उल्लेख छ ।

विदेशी नागरिक कुटपिट गर्ने २ जना र पाथीभारा माता पक्राउ

काठमाडौं । विदेशी नागरिकलाई कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले काठमाडौंको लाजिम्पाटबाट दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी नायब उपरीक्षक कौशलकुमार बुढाथोकीका अनुसार काठमाडौंको लाजिम्पाटमा रहेको बलिउड डान्स क्लबबाट कञ्चनपुर बेलडाँडीका महेश रोकाया र नुवाकोटका सुरेन्द्र श्रेष्ठलाई पक्राउ गरिएको हो । सो डान्स क्लबले भारतीय नागरिकलाई कुटपिट गरी बढी बिल बनाई जबरजस्ती मोबाइल बैंकिङमार्फत बिल तिर्न लगाउने गरेको पाइएको छ । उनीहरूले प्रहरी कर्मचारीको काममा बाधा गरेको तथा हातपात गरेका थिए । उनीहरूको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  प्रहरी नियन्त्रणमा पाथीभारा माता जिल्ला प्रहरी कार्यालय सुर्खेतले पाथीभारा माता भनिने समीर थापालाई वीरेन्द्रनगर नगरपालिका-३ सुर्खेत एरिचोकबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक मगराठीको नेतृत्वमा गएको टोलीले थापालाई उनकै घरबाट पक्राउ गरेको जिप्रका सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक ठाकुरप्रसाद पोखरेलले जानकारी दिए ।  थापाले धर्मका नाममा झारफुक तथा हेराई मनाई गर्छु भन्दै एक महिलालाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । थापालाई फोटो तथा भिडियोहरू सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिरहेको अवस्थामा स्थानीयले टेलिफोनमार्फत जानकारी गराएका थिए । त्यस लगत्तै प्रहरीले थापालाई पक्राउ गरेको हो । उनको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

आज बस्दै प्रतिनिधिसभा बैठक, यस्ता छन् कार्यसूची

काठमाडौं । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । सङ्घीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहान बजे बस्दैछ । आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । यस्तै, सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका पूर्वसदस्य एवम् संविधानसभा सदस्य गोपालमान श्रेष्ठको निधनका शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । यस्तै, विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । बिहान ११ बजेका लागि तय भएको समितिको बैठकमा ‘सङ्घीयतामा विधायिकी अन्तरसम्बन्धः नेपालमा अभ्यास, आवश्यकता र चुनौती’ विषयमा अभिमुखीकरण हुनेछ ।

मनसुनी वायुको प्रभाव: आज पनि भारी वर्षाको उच्च जोखिम

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू-भागमा सरदर स्थानको आसपासमा तथा नेपालको पश्चिम भू-भागमा सरदरभन्दा उत्तरतर्फ रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लागेको छ । मधेस, बागमती र गण्डकी प्रदेशका तराई भू-भागमा आंशिक बादल लागेको छ । बागमती प्रदेशका केही स्थान तथा कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशको हिमाली भू-भागका थोरै स्थानमा मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । देशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।  कोशी र सुदूरपश्चिम प्रदेशको तराईको केही स्थान, मधेस प्रदेश तथा बागमती, लुम्बिनी र गण्डकी प्रदेशका तराईका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाद्वारा मौसम बुलेटिमा उल्लेखछ ।  कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भू-भागका तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ । महाशाखाका अनुसार आज राति देशभर साधारणतया बादल लाग्नेछ । देशको हिमाली र पहाडी भू-भागका थोरै स्थानमा मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशको तराईको केही स्थान, मधेस प्रदेश लुम्बिनी प्रदेशका तराईका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । यसैगरी  कोशी प्रदेशको पहाडी र तराई भू-भाग साथै बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

विद्युत् नियमन आयोग पठाउने गरी नयाँ महसुल दर तयार पारिँदै

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुल संरचनालाई समयानुकूल बनाउन पुनरावलोकन प्रक्रिया अघि बढाएको छ ।  विद्युत्को अधिकतम उपयोग, आन्तरिक विद्युत् खपत विस्तार तथा उपभोक्तामैत्री महसुल प्रणाली विकास गर्ने उद्देश्यसहित प्राधिकरण सञ्चालक समितिले समिति गठन गर्ने निर्णय गरेको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा बुधबार बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले हालको महसुल संरचनाको समग्र समीक्षा गरी नयाँ प्रस्ताव तयार गर्न १५ दिनको समय सीमासहित समिति गठन गरेको जनाएको छ ।  समितिले तयार गर्ने प्रतिवेदनका आधारमा नयाँ महसुल निर्धारणका लागि विद्युत नियमन आयोगसमक्ष प्रक्रिया अघि बढाउनेछ । प्राधिकरणका सञ्चालक समिति सदस्य अंशुकिरण शाहीका अनुसार अनुसार पछिल्ला वर्षहरूमा जलविद्युत् उत्पादन उल्लेख्य रूपमा बढ्दै गएको छ ।  विशेषगरी वर्षायाममा उत्पादन भएको विद्युत् पूर्ण रूपमा खपत हुन नसक्दा आन्तरिक उपभोग बढाउने नीति आवश्यक देखिएको छ ।  सोही सन्दर्भमा घरायसी तथा औद्योगिक क्षेत्रलाई लक्षित गरी महसुल संरचनामा सुधार गर्ने तयारी गरिएको हो । प्राधिकरणले गार्हस्थ्य उपभोक्तालाई थप सहुलियत प्रदान गर्ने तथा उच्च विद्युत खपत गर्ने उत्पादनमूलक उद्योगलाई उपयुक्त दरमा विद्युत् उपलब्ध गराउने लक्ष्य राखिएको जनाएको छ । यसबाट उपभोक्ताको मासिक विद्युत् खर्चमा कमी आउनुका साथै उद्योगहरूको उत्पादन लागत घट्ने अपेक्षा गरिएको छ । महसुल पुनरावलोकनका लागि सञ्चालक समितिका सदस्य अंशु किरण शाहीको संयोजकत्वमा समिति गठन गरिएको छ ।  समितिमा ऊर्जा मन्त्रालयका प्रतिनिधि, नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधि, ऊर्जा तथा वित्त क्षेत्रका विज्ञ, उपभोक्ता प्रतिनिधि तथा नेपाल विद्युत् प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक सदस्य-सचिव रहने व्यवस्था गरिएको छ ।  त्यस्तै, सञ्चालक समितिले विगतका खरिद प्रक्रिया र सञ्चालनमा रहेका परियोजनासम्बन्धी उजुरी तथा गुनासोको अध्ययन गर्न अर्को छुट्टै छानबिन समिति पनि गठन गरेको छ ।  सञ्चालक समितिका सदस्य शम्भु केसीको संयोजकत्वमा प्राविधिक, कानुनी तथा सार्वजनिक खरिदसम्बन्धी तीन जना विज्ञ सदस्य रहनेछन् भने प्राधिकरणले तोकेको उपकार्यकारी निर्देशक सदस्य सचिव रहनेछन् । छानबिन समितिलाई विगतका खरिद प्रक्रिया, सञ्चालन परियोजना तथा प्राप्त उजुरीहरूको अध्ययन गरी सुधारका सुझावसहित दुई महिनाभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ ।

संवेदनशील मुद्दाको प्रत्यक्ष प्रसारण नगर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले कानुनले गोपनीयता कायम गर्न भनिएका संवेदनशील मुद्दाको प्रत्यक्ष प्रसारण नगर्न आदेश गरेको छ । न्यायाधीशद्वय विनोद शर्मा र शान्तिसिंह थापाको संयुक्त इजलासले मङ्गलबार उक्त विषयमा प्रत्यक्ष प्रसारण नगर्न आदेश दिएको हो ।  आदेशमा भनिएको छ, “कानुनअनुसार गोपनीयता कायम गर्नुपर्ने विषय, बन्द इजलासबाट सुनुवाइ गर्नुपर्ने विषय, मुद्दाका पक्ष, विपक्ष तथा निजहरूका तर्फबाट कानुन व्यवसायीले गोपनीयता कायम गरियो, प्रत्यक्ष प्रसारण नगरियोस् भनेर अनुरोध गरिएको विषय र अदालत/इजलासबाट प्रत्यक्ष प्रसारण गर्न उपयुक्त नरहेको भनेर ठर्‍याइएको विषय वा मुद्दामा प्रत्यक्ष प्रसारण नगर्नु ।” अदालतले प्रत्यक्ष प्रसारणका विषयमा नीति/निर्देशिका/मापदण्ड तयार भई अदालतबाट सम्पादन हुने कामकारबाहीको प्रत्यक्ष प्रसारणको मार्गदर्शन लागू नहुँदासम्म यी मुद्दाको प्रत्यक्ष प्रसारण नगर्न आदेशमा भनिएको  छ ।  आदेशमा प्रत्यक्ष प्रसारण गरिएका अन्य कामकारबाहीहरुलाई अनुचितरूपमा सम्पादन, तोडमोड वा दिग्भ्रमित हुने गरी बनाइएका श्रव्यदृश्य सामग्री समेत प्रसारण नगर्न भनिएको छ । अधिवक्ता जीवनकुमार शाहीले अदालतहरूले केही मुद्दाको बहसको प्रत्यक्ष प्रसारणको अभ्यास थालेको विषयविरुद्ध रिट निवेदन दायर गरेका थिए ।   

रास्वपाको वरिष्ठ नेतामा प्रधानमन्त्री बालेन मनोनीत, सचिवालय गठन र क्यान्डिडेट क्लब घोषणासहित १२ निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्रीसमेत रहेका बालेन्द्र शाह (बालेन) लाई  पार्टीको वरिष्ठ नेता मनोनित गरेको छ । पार्टी सभापति रवि लामिछानेको प्रस्तावमा शाहलाई सर्वसम्मत रूपमा वरिष्ठ नेता बनाउने निर्णय गरिएको हो । बैठकले पार्टी विधान बमोजिम सभापतिसहित निर्वाचित पदाधिकारीहरू रहने गरी पार्टी सचिवालय गठन गरेको छ ।  सचिवालयमा उपसभापतिद्वय डा. स्वर्णिम वाग्ले र सोबिता गौतम, महामन्त्री विपिन कुमार आचार्य तथा सह-महामन्त्रीत्रय असिम शाह, हरि ढकाल र निशा डाँगी रहेका छन् । महाधिवेशनको विस्तृत समीक्षा गर्दै रास्वपाले वडादेखि केन्द्रसम्मका कमी-कमजोरीबाट पाठ सिकेर अघि बढ्ने निर्णय गरेको छ ।  आगामी स्थानीय तह निर्वाचनका लागि योग्य उम्मेदवार छनोट गर्न भाद्र १ गतेदेखि क्यान्डिडेट क्लबका लागि आवेदन खुल्ला गर्ने र मन्त्रीहरूसँग महिनाको कम्तीमा एक दिन पार्टी कार्यालयमा अनिवार्य संवाद गर्ने निर्णय पनि गरिएको छ । यसैगरी, अन्तर्राष्ट्रिय युवा दिवस २०२६ मनाउन कविन्द्र बुर्लाकोटीको संयोजकत्वमा समिति गठन गरिएको छ भने नागरिकका समस्या सुन्न केन्द्रीय, प्रदेश र जिल्ला कार्यालयहरूमा पार्टी प्रतिनिधिहरूको दैनिक उपस्थिति अनिवार्य गरिएको छ ।  बैठकले आत्महत्या वा आत्मदाह जस्ता दुःखद घटनाका सामग्री सामाजिक सञ्जालमा सेयर नगर्न आफ्ना सदस्यहरूलाई कडा निर्देशन समेत दिएको छ ।

ठूलो ब्याट्री र प्रिमियम फिचर्ससहित नेपाली बजारमा नयाँ टाटा पन्च ईभी

काठमाडौं । टाटा मोटर्सले नेपाली बजारमा ठूलो ब्याट्री क्षमता, आकर्षक डिजाइन र अत्याधुनिक प्रविधिसहितको नयाँ टाटा पन्च ईभी सार्वजनिक गरेको छ ।  कम्पनीका अनुसार नयाँ संस्करणले लामो रेन्ज, शक्तिशाली प्रदर्शन र थप स्मार्ट फिचर्समार्फत विद्युतीय सवारी प्रयोगकर्तालाई नयाँ अनुभव दिने लक्ष्य राखेको छ । नयाँ टाटा पन्च ईभीमा प्रिमियम इन्टेरियर, आधुनिक कनेक्टिभिटी फिचर्स तथा आरामदायी ड्राइभिङ अनुभवलाई प्राथमिकता दिइएको छ ।  उच्च ग्राउन्ड क्लियरेन्सका कारण यो सवारी नेपाली सडकको विविध भूगोल र यात्राका लागि उपयुक्त हुने कम्पनीको दाबी छ । सुरक्षालाई समेत प्राथमिकतामा राखिएको यस विद्युतीय एसयूभीले ५-स्टार सुरक्षा रेटिङ प्राप्त गरेको छ । कम्पनीका अनुसार यसले चालक र यात्रुको सुरक्षासँगै विश्वसनीय प्रदर्शन सुनिश्चित गर्नेछ । लामो रेन्ज, ठूलो ब्याट्री क्षमता र एसयूभीको आकर्षक डिजाइनका कारण नयाँ टाटा पन्च ईभी नेपाली बजारमा विद्युतीय सवारीको विकल्पका रूपमा थप प्रतिस्पर्धी बन्ने अपेक्षा गरिएको छ । आरामदायी इन्टेरियरका साथै अझै धेरै स्मार्ट तथा प्रिमियम फिचर्सहरू समावेश गरिएकाले यसले चालकलाई उत्कृष्ट एवं सुरक्षित ड्राइभिङ अनुभव प्रदान गर्नेछ।