विकासन्युज

भोजपुरमा अवैध रूपमा काटिएको ५ लाखको खयरको काठ बरामद

भोजपुर । डिभिजन वन कार्यालय भोजपुरले अवैध रूपमा काटिएका खयरको काठ बरामद गरेको छ । गोप्य सूचनाका आधारमा कार्यालयको टोलीले जिल्लाको रामप्रसादराई गाउँपालिका–४ स्थित सहेँलेफेदी क्षेत्रबाट उक्त काठ बरामद गरेको हो ।      वन कार्यालयका अनुसार खयरको काठ काटी बाहिर निकासी गर्ने तयारी भइरहेको भन्ने सूचनापछि कर्मचारीसहितको टोली त्यसक्षेत्रमा पुगेको थियो । अनुगमनका क्रममा कुनै पनि कानुनी प्रक्रिया पूरा नगरी, अनुमतिबिना खयरको रुख काटी काठ सङ्कलन गरिएको अवस्थामा फेला परेको डिभिजन वन कार्यालयका प्रमुख खुद्रुस मियाँले जानकारी दिए ।      बरामद गरिएको काठ करिब ५०० क्युफिट रहेको जनाउँदै उनले यसको अनुमानित मूल्य करिब पाँच लाख रुपैयाँ बराबर रहेको उनले बताए । उनका अनुसार दुर्गम तथा भौगोलिक रूपमा अप्ठ्यारो स्थानबाट फेला परेकाले घटनास्थलमा प्रारम्भिक मुचुल्का तयार गरी काठ सुरक्षित तरिकाले वन कार्यालय ल्याउने काम भइरहेको छ ।      'निकासीका उद्देश्यले अवैध रूपमा काटिएका खयरको काठ बरामद गरेका छौँ', प्रमुख मियाँले भने, 'करिब ५०० क्युफिट काठ फेला परेको छ । यस विषयमा आवश्यक मुचुल्का तयार गरी थप अनुसन्धान अगाडि बढाइएको छ । कर्मचारी निरन्तर रूपमा घटनास्थलमा खटिएर प्रमाण सङ्कलन गरिरहेका छन् ।'      डिभिजन वन कार्यालयका अनुसार हाल काठका वास्तविक धनी तथा अवैध कटानमा संलग्न व्यक्तिहरूको खोजी भइरहेको छ । अनुसन्धान सम्पन्न भएपछि संलग्नलाई प्रचलित वन ऐन तथा नियमावलीअनुसार कानुनी कारबाही प्रक्रिया अघि बढाइने कार्यालयले जनाएको छ ।       विशेषगरी दुर्गम बस्ती, खोला किनार र सीमावर्ती क्षेत्रलाई लक्षित गरी अवैध काठ निकासी हुने गरेको सूचनाका आधारमा नियमित अनुगमन, गस्ती तथा आकस्मिक निरीक्षणलाई तीव्र बनाइएको छ ।      वन तथा वनजन्य सामग्रीको अवैध कारोबारले वातावरणीय सन्तुलनमा नकारात्मक असर पर्नुका साथै राज्यलाई ठूलो आर्थिक क्षति हुने भएकाले त्यसको नियन्त्रणलाई प्राथमिकतामा राखिएको कार्यालयले जनाएको छ । यस किसिमका अवैध गतिविधि नियन्त्रण गर्न स्थानीय तह, सुरक्षा निकाय तथा जनसमुदायसँग समन्वय भइरहेको प्रमुख मियाँले बताए ।      अवैध रूपमा बाहिर निकासी हुन लागेको काठ समयमै बरामद हुनु वन कार्यालयको महत्वपूर्ण सफलता भएको स्थानीय बताउँछन् । स्थानीयका अनुसार यस्ता कार्यले अवैध कारोबारमा संलग्नलाई निरुत्साहित गर्नुका साथै वन संरक्षणमा सकारात्मक सन्देश जाने अपेक्षा गरिएको छ । वन संरक्षणमा स्थानीयवासीको भूमिका महत्वपूर्ण हुने भएकाले अवैध गतिविधिबारे सूचना दिन सबैलाई आग्रहसमेत गरिएको छ । रासस   

राष्ट्रिय सभा निर्वाचन : मधेस प्रदेशमा मतदान जारी

काठमाडौं । नेपालको राष्ट्रिय सभाका रिक्त १७ सदस्यका लागि आइतबार सातवटै प्रदेशमा मतदान शुरु भएको छ । मधेस प्रदेशमा महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र, जनकपुरधाममा स्थापना गरिएको मतदान केन्द्रमा मतदान भइरहेको हो ।  मतदान बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ । राष्ट्रिय सभामा मार्च ४, २०२६ देखि रिक्त हुने १८ सिटमध्ये कोशी प्रदेशको एक सिट नेपाली काँग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भइसकेका छन् । बाँकी १७ सिटका लागि आइतबार मतदान हुनेछ ।  मधेस प्रदेशबाट यसपटक चार पद (महिला, दलित, अपाङ्गता/अल्पसंख्यक र अन्य क्लस्टर) का लागि निर्वाचन हुँदैछ । यहाँ नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उम्मेदवारहरुबीच प्रतिष्पर्धा छ । प्रमुख दलहरुबीचको गठबन्धनका कारण काँग्रेस–एमाले नेतृत्वको समीकरणले बहुमत प्राप्त हुने अपेक्षा गरिएको छ ।  काँग्रेसका उम्मेदवार धर्मेन्द्र पासवान र रञ्जित कर्ण र लोसपाका उम्मेदवार पार्टी अध्यक्ष महन्थ ठाकुर रहेका छन् । राष्ट्रिय सभाका कुल ५९ सदस्यमध्ये हरेक दुई वर्षमा एक तिहाइ सदस्यको कार्यकाल सकिने व्यवस्था छ ।    

मुस्ताङमा निर्वाचन प्रहरीको जागिर खाने भेटिएनन्, तेस्रोपटक म्याद थप

मुस्ताङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचन सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालयले तेस्रोपटक थप दुई दिन म्याद थप गरेको छ । जिल्ला प्रहरी कार्यालयले आवश्यक माग सङ्ख्याका लागि दुईपटक दरखास्त आह्वान गरेको थियो । तर दुई पटक म्याद थप गर्दा पनि छनोट प्रक्रिया सकिँदासम्म माग सङ्ख्या अपुग भएकाले पुनः तेस्रोपटक निर्वाचन प्रहरी भर्नाका लागि दरखास्त आह्वानको कार्यतालिका सार्वजनिक गरेको हो । यसअघि नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालको संयुक्त कार्यविधि २०८२ अनुसार मुस्ताङमा निर्वाचन प्रहरी छनोट, नियुक्ति तथा परिचालनका लागि योग्यता पुगेका नेपाली नागरिकबाट एकीकृत रूपमा दुई पटकसम्म निर्वाचन प्रहरी भर्नाका लागि दरखास्त आह्वान गरिएको थियो । जिल्ला प्रहरी कार्यालयले पहिलोपटक २५ पुसमा निर्वाचन प्रहरी भर्नाका लागि आवेदन खुला गरेको थियो । पुस २५ देखि माघ १ गतेसम्मको कार्यतालिका अवधिमा आवश्यक माग सङ्ख्या अपुग भएपछि पुनः दुई दिनको म्याद थप गरेको थियो । निर्वाचन सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालयले दुई सय ६६ जना र सशस्त्र प्रहरी बल नेपालले ४६ गरी तीन सय १२ जना निर्वाचन प्रहरीको माग गरी दरखास्त खुलाइएको थियो । दोस्रोपटक म्याद थप भई छनोट प्रक्रिया सकिँदा दुई सय ९० जना व्यक्तिमात्रै सम्पर्कमा आएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिए । आवेदन दिएकामध्ये केही छनोट प्रक्रियामा अनुउत्तीर्ण भएका र कतिपय सम्पर्कमै नआउँदा सङ्ख्या नपुगेकाले थप दुई दिनको म्याद थप्नुपरेको उनको भनाइ छ । जिल्लामा निर्वाचन प्रहरीमा भर्ना हुनका लागि मुस्ताङसहित जिल्ला बाहिरका उल्लेख्य व्यक्ति मुस्ताङ आएको बताए। निर्वाचन प्रहरी भर्ना हुनेमध्ये ८० प्रतिशत व्यक्ति जिल्ला बाहिरका रहेको प्रहरी निरीक्षक बस्यालको भनाइ छ । भर्ना हुनेमा अधिकांश सडक, कृषि र होटल मजदुर रहेको उनको भनाइ छ । निर्वाचन सुरक्षाका लागि छनोट गरिएका निर्वाचन प्रहरीलाई आवश्यक प्रक्रिया पूरा गरी नियुक्ति प्रदान गरिने र त्यसपछि माघ १५ देखि २५ गतेसम्म शारीरिक प्रशिक्षण तालिम सञ्चालन गरिने जनाइएको छ । रासस  

त्रिविका विद्यार्थीले अबदेखि अतिरिक्त क्रियाकलापको पनि शैक्षिक अङ्कभार प्राप्त गर्ने

कीर्तिपुर । त्रिभुवन विश्वविद्यालयका विद्यार्थीले अब शैक्षिक प्रमाणपत्रमा पढाइसँगै उनीहरूले गरेका अतिरिक्त क्रियाकलापमा देखाएको प्रतिभा र योगदानको समेत अङ्क प्राप्त गर्ने भएका छन् । विश्वविद्यालयले देशमै पहिलोपटक अतिरिक्त क्रियाकलापलाई औपचारिक रूपमा शैक्षिक अङ्कभार (एकाडेमिक क्रेडिट)मा समावेश गर्ने नीति अघि सारेको छ । विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक डा. दीपेन्द्र पराजुलीका अनुसार विद्यार्थीले सामाजिक सेवा, विपद् व्यवस्थापन, खेलकुद, ललितकला, विज्ञान–प्रविधि, नवप्रवर्तन, उद्यमशीलता तथा व्यवस्थापनजस्ता क्षेत्रमा उत्कृष्ट प्रदर्शन गरेमा त्यसको मूल्याङ्कन गरी शैक्षिक प्रमाणपत्रमै अङ्कका रूपमा समावेश गरिनेछ । उनले  भने, 'विद्यार्थीले विश्वविद्यालयभित्र वा बाहिर प्रतियोगिता, कार्यक्रम वा अवसरमा उत्कृष्ट प्रदर्शन गरेको प्रमाणपत्र पेस गरेकै भरमा अङ्क प्रदान गरिँदैन । त्यसअघि विद्यार्थीको सम्पूर्ण गतिविधि केन्द्रीय संयन्त्रमार्फत अनुगमन, अभिलेखीकरण र प्रमाणीकरण गरिनेछ ।' यस प्रयोजनका लागि प्रत्येक क्याम्पसस्तरमा राष्ट्रिय सेवा योजना, राष्ट्रिय सेवा दल, उपकुलपति कप खेलकुद, ललितकला तथा विज्ञान, नवप्रवर्तन, प्रविधि र उद्यमशीलता कार्यक्रमका संयोजकहरूले हरेक सेमेस्टरमा विद्यार्थीको सहभागिता, संलग्न समय (घण्टा) तथा कार्यसम्पादनसम्बन्धी आधिकारिक अभिलेख पेस गर्नुपर्ने व्यवस्था गरिएको छ । ती विवरणहरू त्रिभुवन विश्वविद्यालयको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयबाट प्रमाणीकरण र स्वीकृत गरिनेछ । साथै, विद्यार्थीका सम्पूर्ण गतिविधि, सहभागिता घण्टा र प्राप्त क्रेडिट अङ्क अभिलेख गर्न केन्द्रय डिजिटल प्रणाली विकास गरिनेछ । गुगल फर्म/गुगल सिटमा आधारित एकीकृत ड्यासबोर्डमार्फत विद्यार्थीगत रूपमा आर्जित क्रेडिट, कार्यक्रमअनुसार आवश्यक घण्टा पूरा गरेका विद्यार्थी तथा क्याम्पसहरूबीचको तुलनात्मक अवस्था स्पष्ट रूपमा देखिनेछ । केन्द्रीय रूपमा अनुगमन र प्रमाणीकरण भइसकेपछि मात्र विद्यार्थीले पेस गरेको प्रमाणपत्रका आधारमा प्राप्त उपलब्धि उनीहरूको शैक्षिक प्रमाणपत्रमा अङ्कका रूपमा समावेश गरिनेछ । यस नीतिबाट विद्यार्थीको समग्र ग्रेड वृद्धि हुनेमात्र नभई विभिन्न क्षेत्रमा लुकेका प्रतिभाको पहिचान, विकास र संस्थागत प्रोत्साहनमा ठूलो सहयोग पुग्ने डा. पराजुलीले बताए । विश्वविद्यालयले शैक्षिक कार्यक्रममा समावेश गरिसकेको राष्ट्रिय सेवा योजना, राष्ट्रिय सेवा दल, उपकुलपति कप खेलकुद, ललितकला तथा आइटिएई कार्यक्रमअन्तर्गत उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरू यस प्रणालीबाट प्रत्यक्ष लाभान्वित हुनेछन् । त्यसैगरी, हरेक केन्द्रीय विभागमा उत्कृष्ट अङ्क प्राप्त गर्ने विद्यार्थीलाई शिक्षण सहायक वा अनुसन्धान सहायकका रूपमा नियुक्त गरी विश्वविद्यालयभित्रै सेवा गर्ने अवसर प्रदान गर्ने नीति पनि अघि सारिएको छ । साथै, विश्वविद्यालय बाहिर विभिन्न विधामा उत्कृष्टता प्रदर्शन गरेका विद्यार्थीलाई भर्ना प्रक्रियामा विशेष सुविधा प्रदान गर्ने व्यवस्थासमेत प्रस्ताव गरिएको छ । यस सम्बन्धमा अवधारणापत्र तयारीको चरणमा रहेको जानकारी दिँदै डा पराजुलीले उक्त नीति प्राज्ञिक परिषद्बाट पारित भएपछि औपचारिक रूपमा कार्यान्वयनमा आउने बताए । 'देशमै पहिलोपटक अतिरिक्त क्रियाकलापलाई शैक्षिक अङ्कभारमा समावेश गर्दैछौँ', उनले भने ।      

सुदूरपश्चिममा १८ जना महिला उम्मेदवार चुनावी मैदानमा

महेन्द्रनगर । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुदूरपश्चिम प्रदेशबाट दुई जना स्वतन्त्रसहित १८ जना महिला उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । यहाँका नौ जिल्लामा रहेका १६ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र छन् । सुदूरपश्चिमका सात पहाडी जिल्लामा महिला उम्मेदवारी न्यून रहे पनि तराईका जिल्लामध्ये कैलाली र कञ्चनपुरमा उल्लेख्य सहभागिता छ ।      प्रदेश निर्वाचन कार्यालयका प्रवक्ता दिलीप भाटका अनुसार यहाँ सबैभन्दा बढी कैलालीमा ११, कञ्चनपुरमा छ र डोटीमा एक जना महिला आसन्न निर्वाचनमा होमिएका छन् । सुदूरपश्चिममा कूल २१० जनाको उम्मेदवारी परेकामा एक जनाको रद्द भएको जनाउँदै उनले तीन जनाले उम्मेदवारी फिर्ता लिएका बताए ।      महिला उम्मेदवारमध्ये कञ्चनपुरको निर्वाचन क्षेत्र नं १ मा नेपाली कम्युनिष्ट पार्टीकी बिना मगर, आमजनता पार्टी (एकल चुनाव चिह्न) सीता विक, स्वतन्त्रबाट मञ्जुदेवी सुनार र रुपादेवी विष्टले उम्मेदवारी दिएका प्रवक्ता भाटले बताए ।       कञ्चनपुर निर्वाचन क्षेत्र नं २ मा नागरिक उन्मुक्ति पार्टी नेपालबाट प्रेमवती राना तथा क्षेत्र नं ३ बाट आमजनता पार्टीकी लक्ष्मीकुमारी विष्ट (भट्ट) चुनावी मैदानमा छन् ।      यसैगरी, कैलाली निर्वाचन क्षेत्र नं १ मा आमजनता पार्टीकी रुपाकुमारी चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टीकी कोमल ज्ञवाली र नेपाल मजदुर किसान पार्टीकी सुनिता भण्डारा उम्मेदवार छन् । क्षेत्र नं २ मा मितेरी पार्टी नेपालकी सम्झना विष्ट थापा र नेपाल मजदुर किसान पार्टीकी लक्ष्मी पुन मगरको उम्मेदवारी परेको छ ।      कैलाली क्षेत्र नं ३ मा  मितेरी पार्टी नेपालकी सुशीला थापामगर र नेपाल मजदुर किसान पार्टीकी जुनु महतारा शाही उम्मेदवार भएर चुनावी प्रचारप्रसारमा व्यस्त छन् । निर्वाचन क्षेत्र नं ४ मा नेपाल मजदुर किसान पार्टीकी अमृता भुल, क्षेत्र नं ५ मा मितेरी पार्टी नेपालबाट राधिकाकुमारी कार्की, राष्ट्रिय जनमोर्चाबाट शोभामणि जोशी र नेपाल मजदुर किसान पार्टीबाट तृषण पुनमगर रहेका छन् ।      सुदूरपश्चिमका सात पहाडी जिल्लामध्ये एउटा निर्वाचन क्षेत्र रहेको डोटीमा एक जना मात्रै महिला उम्मेदवार छन् । यहाँबाट मितेरी पार्टी नेपालकी सरस्वतीकुमारी पाल (मल्ल)ले उम्मेदवारी दिएका छन् । सुदूरपश्चिममा कूल १७ लाख १६ हजार ६६० मतदाता रहेका प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । रासस

एक तोला सुनको मूल्य तीन लाख ३ हजार ८ सय रुपैयाँ पुग्यो

काठमाडौं । स्थानीय बजारमा आइतबार पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ । शुक्रबारको तुलनामा आइतबार प्रतितोला सुन दुई हजार ४०० रुपैयाँ र चाँदी दुई सय ९० रुपैयाँले बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार एक तोला छापावाल सुनको मूल्य तीन लाख तीन हजार ८०० रुपैयाँ त्यति नै चाँदीको मोल छ हजार ४८० रुपैयाँ कायम भएको छ ।  गत शुक्रबार एक तोला छापावाल सुनको मूल्य तीन लाख एक हजार ४०० रुपैयाँ र त्यति नै चाँदीको मोल छ हजार १९० रुपैयाँ कायम भएको थियो ।      अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आइतबार अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ९८७ र त्यति नै परिमाणको सेतो धातु १०३ अमेरिकी डलरमा कारोबार भइरहेको छ । 

नेपाल एसबिआई बैंकद्वारा पशुपति वृद्धाश्रमका ६४ वृद्धवृद्धालाई सहयोग

काठमाडौं । नेपाल एसबिआई बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत काठमाडौंको पशुपति स्थित समाज कल्याण केन्द्र वृद्धाश्रममा आश्रित ६४ जना वृद्धवृद्धालाई न्यानो कपडा, ब्ल्याङ्केट, क्लथ ड्रायर, तन्ना, इलेक्ट्रिक केटल, न्यानो चप्पललगायत अत्यावश्यक सामग्रीहरू प्रदान गरेको छ । यस किसिमको पहलबाट आश्रममा रहेका वृद्धवृद्धाहरूको तत्काल आवश्यकताहरू पूरा गर्ने लक्ष्य बैंकले लिएको जनाएको छ । कार्यक्रमका अवसरमा बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारीले समाज कल्याण केन्द्र वृद्धाश्रम, पशुपतिका प्रमुख शशी पौडेललाई सहयोग सामग्री औपचारिक रूपमा हस्तान्तरण गरेका थिए । कार्यक्रममा पशुपति विकास कोषका सदस्य–सचिव प्रकाशमणि शर्मा भुसाल, कोषाध्यक्ष श्रीधर सापकोटा, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन अधिकृत विकास आनन्द, प्रमुख वित्तीय अधिकृत राजेशकुमार पण्डा, प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत प्रविण मुनि बज्राचार्यलगायत बैंक तथा सम्बन्धित संस्थाका पदाधिकारीहरूको उपस्थिति रहेको थियो । बैंकले समुदायस्तरमा सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता सहयोग तथा मानवीय गतिविधिहरू समय–समयमा गर्दै आएको जनाएको छ ।

ओलीसहितको सार्वजनिक बहसमा नआउने बालेनको अडान

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू सार्वजनिक राजनीतिक बहसका लागि तयार रहेको बताइरहँदा प्रधानमन्त्रीका सम्भावित उम्मेदवारका रूपमा चर्चा गरिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले भने त्यस्तो बहसमा सहभागी नहुने स्पष्ट प्रतिक्रिया दिएका छन् । अध्यक्ष ओलीले पछिल्ला दिनहरूमा विभिन्न सार्वजनिक कार्यक्रममा राजनीतिक दल र नेतृत्वबीच खुला बहस आवश्यक रहेको बताउँदै आएका छन् । देशको भविष्य, विकासको दृष्टिकोण र नेतृत्व क्षमताबारे जनतामाझ स्पष्टता ल्याउन सार्वजनिक डिबेट उपयोगी हुने उनको धारणा छ । यसै सन्दर्भमा ओलीले सार्वजनिक बहसको प्रस्ताव गरेपछि शाहले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएका हुन् । शाहले आफू अहिले सार्वजनिक राजनीतिक बहसभन्दा व्यवहारिक काम र परिणाममा केन्द्रित रहेको बताएका छन् । ओलीको सन्देशमा प्रतिक्रिया दिँदै शाहले लेखेका छन्, '७६ बालबालिकाको हत्या भएको घटनासँग जोडिएका व्यक्तिसँग एउटै मञ्चमा सहभागी हुनु भनेको आफू पनि त्यसमा संलग्न भएको मानिने भएकाले म त्यसमा सहभागी हुँदिन।' उनले थप आरोप लगाउँदै २३ गते भएको आतङ्ककारी घटनालाई ढाकछोप गर्न २४ गते आगजनी गरिएको दाबी गरेका छन् । शाहका अनुसार आगजनी गरिएका स्थान र नेताहरूका घरबारे जानकारी सम्बन्धित पक्षहरूलाई पहिल्यै थियो ।