विकासन्युज

प्रधानमन्त्री कार्की र सातै मुख्यमन्त्रीबीच संवाद सुरु

काठमाडौं । देशको संघीय अभ्यासलाई अझ प्रभावकारी बनाउन प्रधानमन्त्री सुशीला कार्की र सातै प्रदेशका मुख्यमन्त्रीबीचको महत्त्वपूर्ण उच्चस्तरीय बैठक बालुवाटारमा सुरु भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार, प्रधानमन्त्री कार्कीले हालको परिवर्तित अवस्थालाई ध्यानमा राख्दै संघ र प्रदेश सरकारबीच संवाद, सहकार्य र साझेदारीलाई सुदृढ बनाउन यो बैठक आह्वान गरेकी हुन् । बैठक केहीबेरअघि प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको हो । बैठकमा प्रदेश सरकारका प्रमुख चुनौती, संघीय समन्वयका अवरोध र आगामी कार्ययोजनासम्बन्धी विषयमा खुला छलफल र सुझाव आदान–प्रदान भइरहेको सचिवालयले जनाएको छ । बैठकमा सहभागी मुख्यमन्त्रीहरू कोशी प्रदेश हिक्मतबहादुर कार्की, मधेश प्रदेश जितेन्द्रप्रसाद सोनार, बागमती प्रदेश इन्द्रबहादुर बानियाँ, गण्डकी प्रदेश सुरेन्द्रराज पाण्डे, लुम्बिनी प्रदेश चेतनारायण आचार्य, कर्णाली प्रदेश यमलाल कँडेल र सुदूरपश्चिम प्रदेश कमलबहादुर शाह बैठकमा सहभागी रहेको प्रधानमन्त्री कार्कीको सचिवालयले जानकारी दिएको छ । बैठकले आगामी दिनमा संघीय शासन प्रणालीलाई अझ संवेदनशील, जनमुखी र परिणाममुखी बनाउन ठोस मार्गचित्र तयार गर्ने अपेक्षा गरिएको छ ।

गफले रोजगारी सिर्जना हुँदैन : हर्क साम्पाङ

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं धरान उपमहानगरपालिकाका प्रमुख(मेयर) हर्क साम्पाङको गफले मात्रै रोजगारी सिर्जना नहुने बताएका छन् । आइतबार निर्वाचन आयोगले श्रम संस्कृति पार्टीलाई दिएको मान्यताको प्रमाणपत्र बुझ्दै उनले यस्तो बताएका हुन् ।  उनले रोजगारी सिर्जनाको लागि उत्पादन बढाउनुपर्ने बताए । श्रम संस्कृति पार्टीले उत्पादन, निर्माण, सामाजिक रुपान्तरण र आर्थिक रुपान्तरणको लागि फिल्डमा खटेर काम गर्ने उनको भनाई छ । उत्पादन बढाउन नसक्दा प्रायः नेपाली बेरोजगार हुनुपरेको बताए । देश आफैँले बनाउने मौलिक शैली अपनाउने उल्लेख गरे । देश विदेशी ऋणले मात्रै नचल्ने बताउँदै उनले देश अब नेपाली आँफैले बनाउनुपर्नेमा जोड दिए । गरिबी, अभाव र यसकै कारणले हुने विभिन्न खालका ठगी, भ्रष्टाचार, बेइमानीलाई अन्त्य गर्ने बताए ।  उनले भने, ‘जुन काम आजसम्म भएन, यत्तिका वर्षसम्म । त्यो काम गर्ने हो । उत्पादन, निर्माण, सामाजिक रपन्तरणका लागि, आर्थिक रुपान्तरणको लागी हामी अब फिल्डमा निस्केर काम गर्छौं । अफिसका बसेर भाषणमा सिमित हुँदैनौँ । हामी चाँही पक्का फिल्डका काम गर्ने एउटा संगठन निर्माण गर्दैछौँ । पहिला त यो देशमा काम गर्नुपर्छ ।’  आफूहरुले दलको झण्डा नराख्ने बताए । दलको चुनाव चिन्ह भने माटोको ढिस्को राखिएको छ । लोकतन्त्रमा विश्वास राख्ने भएकोले आवधिक निर्वाचनमा पार्टीले भाग लिने उनको भनाई छ । निर्वाचनको लागि तयारी पनि भइरहेको उनले जानकारी दिए । परम्परागत राजनीतिक दलजस्तो आफ्नो पार्टी नहुने पनि दाबी गरे । हरेक टोलमा पार्टीले काम गर्ने श्रमदाता बनाउने उनले जानकारी दिए । निर्वाचन आयोगले साम्पाङको पार्टीलाई आइतबार मान्यता दिएको हो । साम्पाङले आइतबार आयोगमा पुगेर पार्टीको मान्यताको प्रमाणपत्र लिएका छन् । 

राजदूत फिर्ता निर्णयमा सरकारलाई रोक, सर्वोच्चले दियो अन्तरिम आदेश

काठमाडौं ।  सर्वोच्च अदालतले सरकारले विभिन्न ११ देशमा कार्यरत नेपाली राजदूतहरूलाई फिर्ता बोलाउन गरेको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्चका न्यायाधीशहरू शारंगा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले शुक्रबार उक्त आदेश जारी गरेको हो ।  अदालतको फैसलामा सरकारको राजदूत फिर्तासम्बन्धी निर्णय कानुनी परीक्षण नहुँदासम्म कार्यान्वयन नगर्न भनिएको छ । दुई साताअघि सरकारले ११ मुलुकका नेपाली राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । सो निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर भएपछि आजको इजलासले अन्तरिम आदेश जारी गरेको हो । यससँगै ती देशमा कार्यरत राजदूतहरू हाल कार्यरत मुलुकमै रहने भएका छन् ।

सातै प्रदेशका मुख्यमन्त्री बालुवाटार पुगे

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा आइतबार (आज) सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग बैठक बसेकाे छ।  केहीबेरमै बैठक सुरु हुने तयारी भइरहेको प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलले जानकारी दिए । बैठकमा संघ–प्रदेश सम्बन्ध, विकास आयोजना र चालू आर्थिक वर्षको बजेट कार्यान्वयनको अवस्थाबारे छलफल हुने बताइएको छ ।

नर्सका विषयमा मन्त्रालय र नर्सिङ संघबीच भएको सहमतिमा संघर्ष समितिको आपत्ति

काठमाडौं । आन्दोलनरत नर्सहरूको माग सम्बोधन भएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाल नर्सिङ संघले गरेको निर्णयमा नर्स तथा स्वास्थ्यकर्मी संघर्ष समितिले आपत्ति जनाएको छ ।  मन्त्रालय, निजी अस्पताल संघ र नेपाल नर्सिङ संघबीच भएको सहमतिअनुसार मेडिकल कलेजहरूले कात्तिक महिनादेखि सरकार तहको पाँचौ तहका नर्स सरह ३४ हजार ७ सय ३० एकमुष्ट तलब र निजी अस्पतालहरूले ८० प्रतिशत २७ हजार ७ सय ८४ तलब दिने निर्णय गरेका छन् । संघर्ष समितिले य निर्णयप्रति आन्दोलनरत नर्सहरूको कुनै सहमति नभएको बताएको छ ।  ‘स्वास्थ्य मन्त्रालयले निजी क्षेत्रमा कार्यरत नर्सहरूको वास्तविक मर्म कहिल्यै बुझ्न सकेको छैन। निजी क्षेत्रमा कार्यरत नर्सहरूको समस्या दीर्घकालदेखि यथावत रहँदै आएको छ । नेपाल नर्सिङ संघले मुख्य रूपमा आफ्नो सदस्यहरूको हक अधिकारका लागि मात्र आवाज उठाउने गरेको कारण, संघमा सदस्य नभएका, तर ठूलो संख्यामा निजी क्षेत्रमा कार्यरत नर्सहरूको समस्या र पीडा पनि बेवास्ता हुँदै आएको छ। यद्यपि मन्त्रालयसँग पटक पटक सहमति गर्दै आएको देखिए पनि, त्यसबाट निजी क्षेत्रमा कार्यरत नर्सहरूको समस्या आजसम्म पनि समाधान हुन सकेको छैन, यो कुरा स्पष्ट रूपमा देखिन्छ,’ समितिले निकालेको विज्ञप्तिमा भनिएको छ ।   संघर्ष समितिले स्वास्थ्य संस्थाहरूमा कार्यरत सबै नर्सिङ एवम् अन्य स्वास्थ्यकर्मीहरूको लागि न्यूनतम पारिश्रमिक र सेवा सुविधा नेपाल सरकार सरह नघट्ने गरी लागू गर्नुपर्ने, तोकिएको समय भन्दा बढि कार्यको लागि अतिरिक्त भत्ताको व्यवस्था गर्नुपर्ने, स्वास्थ्य तथा शैक्षिक संस्थाले करार (नियुक्ति/सम्झौता) गरि राखुपर्ने, ज्यालादारीमा कार्य गराउन नपाइने, सक्कल शैक्षिक लब्धाङ्क पत्रहरू कार्यालयले राख नपाइने  माग राखेको छ । यस्तै अनुभवको पत्र प्रदान गर्नुपर्ने, नर्सिङ लगायतका अन्य स्वास्थ्यकर्मीहरूको पारिश्रमिक बैंकिङ्ग प्रणालीबाट मात्र उपलब्ध गराउनु पर्ने भनेको छ । यी माग पुरा नहुँदा सम्म नर्सहरूको आन्दोलन जारी रहने जनाइएको छ ।

निगममा फोर्स लगाएर भर्ती भएका कमर्चारीलाई तत्काल हटाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायु सेवा निगममा पहुँचका आधारमा भर्ती गरिएका करारका कर्मचारीलाई तत्काल हटाउन निर्देशन दिएकी छन् । पर्यटनमन्त्रीका हैसियतमा प्रधानमन्त्री कार्कीले आज निगमको सञ्चालक समिति र व्यवस्थापनका अधिकारीहरूलाई सिंहदरबारमा बोलाएर यस्तो निर्देशन दिएकी हुन् । उनले भनिन्, ‘जेनजीहरूले यत्रो रगत बगाएको केका लागि हो ? यस्तै नातावाद, कृपावाद, विभेद अन्त्यका लागि होइन ? यता यत्रो आन्दोलन भइरहेको छ, उता भटाभट आफ्ना मान्छे भर्ती गरेको छ । अवकाश पाएर घर जान लाग्दा पनि मनपरी गर्न छाडिएको छैन। कतिसम्मको बेथिति हो यो ?’ कुनै समय गौरव गर्नलायक बनेको संस्था अहिले दर्दनाक अवस्थामा पुगेको भन्दै निगमभित्रका बेथिति हटाउन कसैको मुख नहेरी कठोर रूपमा लाग्न पनि उनले निर्देश गरिन् । यस्तै अहिलेसम्म निगम सुधारका लागि बनेका प्रतिवेदनहरूसुझाव कार्यान्वयन गर्न योजनासाथ अघि बढ्नुपर्ने उनको निर्देशन छ । बैठकमा निगमका निमित्त महाप्रबन्धक जनकराज कालाखेतीले १७ अर्ब रुपैयाँभन्दा बढीको सञ्चित नोक्सानीमा रहेको विवरण प्रस्तुत गरेका थिए । प्रधानमन्त्री कार्कीले निगमको अहिलेको अवस्था धनाढ्यको बिग्रेको घरसँग तुलना गर्दै भनिन्, ‘हेर्दाखेरि सबैथोक छ तर भित्र दर्दनाक अवस्था छ । नाफा वा घाटा केही नभएर चलेको मात्र भए पनि रोजगारी दिएको छ भनेर चित्त बुझाउन हुन्थ्यो । त्यो पनि छैन ।’ उनले कतैबाट आउने अनुचित र गैरकानुनी दबाब नसुन्न पनि सुझाव दिइन् । ‘राजनीतिक मान्छेहरूले दबाब दिन्छन्। तपाईँहरु किन खुरुखुरु त्यस्तो दबाब मान्ने? भोलि कारबाहीमा पर्ने त तपाईँहरू हो नि,’ प्रधानमन्त्री कार्कीको भनाइ थियो, ‘तपाईंहरू विधिसम्मत तरिकाले चल्ने हो भने कसैले पनि कारबाही गर्दैन। राम्रो काम गर्दा अख्तियारसँग पनि डराउनुपर्दैन । अख्तियारलाई बहाना बनाएर हात बाँधेर पनि नबस्नुहोस् ।’ निगमको आफ्नो जहाजको इन्जिन मर्मत गर्न पठाएर नल्याउने, भाडाको इन्जिन चलाएर ठूलो खर्च लेख्ने प्रवृत्तिमाथि पनि उनले प्रश्न उठाइन् । ‘यो घाटा त जनताले बेहोरेको घाटा हो नि,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘अब यो संस्था सुधार्न कठोर कदम चाल्नुपर्छ । अप्रिय निर्णय गर्न पनि तयार हुनुपर्छ ।’ निजी क्षेत्रका सेवा प्रदायकले ठूलो नाफा कमाइरहँदा निगम घाटामा जानुको कारण के हो भनेर पनि उनले प्रश्नसमेत गरिन् । निगम सञ्चालक समितिका कार्यवाहक अध्यक्ष विक्रम राईले केही दिनमै देखिने गरी सुधारका कदम चाल्ने प्रतिबद्धता जनाए । कार्यक्रममा अर्थमन्त्री रामेश्वर खनाल, मुख्यसचिव एकनारायण अर्याल लगायत अधिकारीको उपस्थिति थियो ।

नेपाल एसबिआई बैंकका अध्यक्ष वेंकट वंसीधर कुंचाले लिए शपथ

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा वेंकट वंसीधर कुंचा चयन भएका छन् । बैंक सञ्चालक समितिको कात्तिक १४ गते बसेको बैठकले स्टेट बैंक अफ इण्डियाको तर्फबाट प्रतिनिधित्व गर्दै आएका सञ्चालक वेंकट वंसीधर कुंचालाई सर्वसम्मतिले बैंकको नयाँ सञ्चालक समिति अध्यक्ष चयन गरेको हो । नवनियुक्त अध्यक्ष वेंकट वंसीधर कुंचालाई नेपाल राष्ट्र बैंकका गर्भनर प्रा.डा. विश्वनाथ पौडेलले आइतबार केन्द्रीय कार्यालय, बालुवाटारमा आयोजित समारोहबीच पद तथा गोपनीयताको शपथ ग्रहण गराए । अध्यक्ष कुंचा हाल भारतको मुम्बईस्थित स्टेट बैंक अफ इण्डिया (एसबीआई) को प्रधान कार्यालयअन्तर्गत अन्तर्राष्ट्रिय बैंकिङ समूहमा मुख्य महाप्रबन्धकको जिम्मेवारी सम्हालिरहेका छन् । उनले एसबीआईको २९ देशमा फैलिएको अन्तर्राष्ट्रिय व्यवसाय तथा कूटनीतिक वित्तीय सम्बन्धहरू सम्हाल्ने महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् । सपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर डा. नीलम ढुङ्गाना तिम्सिना र बमबहादुर मिश्र, कार्यकारी निर्देशक गुरु प्रसाद पौडेल, कार्यवाहक कार्यकारी निर्देशक राजन विक्रम थापा, निर्देशकहरू राजेन्द्र भट्टराई, ईश्वरी प्रसाद भट्टराई तथा शरणकुमार अधिकारी उपस्थित थिए । त्यसैगरी, नेपाल एसबिआई बैंकतर्फबाट सञ्चालक रितेश सिन्हा, भरतराज वस्ती, अप्सरा उप्रेती, डा. गोपाल प्रसाद भट्ट, प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारी, नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन अधिकृत विकास आनन्द, प्रमुख वित्तीय अधिकृत राजेशकुमार पण्डा र कम्पनी सचिव खगेश्वर भट्टलगायतको उपस्थिति रहेको थियो ।

दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिष्ट्रारका लागि आवेदन आह्वान

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले खुला प्रतिस्पर्धाबाट सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रारका लागि आवेदन आह्वान गरेको छ । सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन, २०८२ बमोजिम उपकुलपति र रजिष्ट्रार नियुक्तिका लागि मन्त्रालयले आवेदन मागेको हो ।  उम्मेदवारलाई आवेदनका साथ अवधारण र रणनीतिकपत्रसमेत पेस गर्न मन्त्रालयले आज १५ दिने सूचना जारी गरेको छ ।  साविक गेटा मेडिकल कलेज सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय हो ।