अब सिटिजन्स बैंकको मोबाइल बैंकिङबाटै एसआईपी आवेदन गर्न सकिने
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ‘सिटिजन्स सदाबहार योजना’ (एसआईपी) मा डिजिटल माध्यमबाटै आवेदन दिने सुविधा सञ्चालनमा ल्याएको छ । बैंकले आफ्नो सहायक कम्पनी सिटिजन्स क्यापिटल लिमिटेडसँगको सहकार्यमा सर्वसाधारणमा नियमित तथा दीर्घकालीन लगानी संस्कृतिको विकास गर्ने उद्देश्यले उक्त सुविधा सुरु गरेको जनाएको छ । नयाँ व्यवस्थाअनुसार ग्राहकले बैंकको आधिकारिक वेबसाइट तथा ‘डीजी बैंक’ मोबाइल बैंकिङ सेवामार्फत सिधै एसआईपी आवेदन दर्ता गरी लगानी प्रक्रिया सुरु गर्न सक्नेछन् । बैंकका अनुसार यस सुविधाले एसआईपी आवेदन प्रक्रियालाई थप सरल, छिटो र सुरक्षित बनाउनेछ । साथै, ग्राहकलाई आफ्नो वित्तीय लक्ष्यअनुसार नियमित लगानी गर्न सहज हुने विश्वास गरिएको छ । सिटिजन्स क्यापिटल लिमिटेड सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सहायक कम्पनी हो । बैंकले डिजिटल लगानी सेवाको विस्तारसँगै ग्राहकलाई प्रविधिमैत्री वित्तीय सेवा उपलब्ध गराउने रणनीतिअनुसार यो सुविधा सञ्चालनमा ल्याएको जनाएको छ ।
नेपाल माइक्रो इन्स्योरेन्समा अध्यक्ष, सञ्चालक तथा कायममुकायम सीईओ नियुक्त
काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड (एनएमआईसी) ले नयाँ अध्यक्ष, सञ्चालकहरू तथा कायममुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको छ । कम्पनीको सञ्चालक समितिको अध्यक्षमा नारदकुमार लुइँटेल नियुक्त भएका छन् । त्यसैगरी, सञ्चालकहरूमा दामोदर सत्याल, चार्टर्ड एकाउन्टेन्ट (सीए) अशोक प्रसाद साह तथा दीपक कुमार मिश्र नियुक्त भएका छन् । यसैगरी, कम्पनीका डेपुटी प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) अनिल गिरीलाई कम्पनीको कायममुकायम प्रमुख कार्यकारी अधिकृत (एक्टिङ सीईओ) को जिम्मेवारी प्रदान गरिएको छ । नेपालका पाँचवटै माइक्रो इन्स्योरेन्स कम्पनीका सञ्चालक समिति तथा प्रमुख कार्यकारी अधिकृतहरू निलम्बनमा परेपछि सिर्जित विशेष परिस्थितिमा नेपाल बीमा प्राधिकरणको निर्देशन तथा नियामकीय व्यवस्थाको पूर्ण पालना गर्दै अत्यन्त छोटो अवधिमै रिक्त रहेका सम्पूर्ण नेतृत्वदायी पदहरूमा नियुक्ति सम्पन्न गर्ने नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी पहिलो माइक्रो इन्स्योरेन्स कम्पनी बनेको छ । नयाँ नेतृत्वको आगमनसँगै कम्पनीले सेवा विस्तार, सुशासन, डिजिटल रूपान्तरण, नवप्रवर्तन तथा संस्थागत विकासलाई थप प्रभावकारी बनाउँदै बीमित, सेयरधनी, कर्मचारी तथा सम्पूर्ण सरोकारवालाको विश्वासलाई अझ सुदृढ बनाउने विश्वास लिएको छ । कम्पनीले नवनियुक्त अध्यक्ष, सञ्चालकहरू तथा कायममुकायम प्रमुख कार्यकारी अधिकृतलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै उनीहरूको नेतृत्वमा नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले नयाँ उचाइ हासिल गर्ने विश्वास व्यक्त गरेको छ ।
मन्त्रिपरिषद बैठक सुरु
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आह्वान गरेको मन्त्रिपरिषद बैठक सुरु भएको छ । बैठक शुक्रबार (आज) दिउँसो सवा २ बजेदेखि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसिरहेको हो । बैठकले महत्त्वपूर्ण निर्णय गर्ने जनाइएको छ ।
दुई साताभित्र बजारमा ‘फुल सिलिन्डर’ ग्यास आउने
काठमाडौं । बजारमा खाना पकाउने ग्यासको आपूर्ति सहज हुँदै गएकाले आगामी १० देखि १५ दिनभित्र उपभोक्ताले फुल सिलिन्डर (पूरा तौल भएको) ग्यास पाउने भएका छन् । आपूर्ति व्यवस्था पूर्ण रूपमा नियमित भएपछि मात्रै फुल सिलिन्डर ग्यास वितरण गरिने नेपाल आयल निगमले जनाएको छ । अहिले दैनिक ८० देखि ८५ बुलेट ग्यास नेपाल भित्रिरहेको निगमका प्रवक्ता मनोज कुमार ठाकुरले जानकारी दिए । बजारमा फुल सिलिन्डर ग्यास पठाउन दैनिक कम्तीमा १०० बुलेट आवश्यक पर्ने उनको भनाइ छ । प्रवक्ता ठाकुरका अनुसार यसका लागि इन्डियन आयल कर्पोरेसनसँग निरन्तर समन्वय भइरहेको छ । इन्डियन आयल कर्पोरेसन आफैले पनि आफ्नो कुल मागको ६० प्रतिशत ग्यास मध्यपूर्वी (मिडिल इस्ट) देशहरूबाट आयात गर्ने गर्दछ । हाल आपूर्ति प्रणाली सुचारु भइसकेकाले अबको दुई हप्ताभित्र बजारमा पूरा तौलकै सिलिन्डर उपलब्ध गराउन सकिने अपेक्षा निगमले गरेको छ । निगमका अनुसार हाल देशभर ग्यासको कुल खपत वार्षिक ३५ हजार देखि ३६ हजार मेट्रिक टनको हाराहारीमा रहेको छ । विगतमा आधा सिलिन्डर मात्रै वितरण गरिएको र उपभोक्ताहरूले पनि सुरुवाती चरणमा ग्यास सञ्चित (थुपारेर) राखेका कारण पछिल्लो समय बजारमा ग्यासको खपत केही घटेको देखिएको प्रवक्ताले स्पष्ट पारे । कुल खपत हुने ग्यासमध्ये झण्डै ५० देखि ६० प्रतिशत ग्यास काठमाडौं उपत्यकामा मात्रै खपत हुने गरेको छ । यस्तै, मध्यपूर्वमा उत्पन्न युद्धका कारण प्रभावित भएको ऊर्जा आपूर्ति क्रमशः सहज बन्दै गएपछि भारतले पेट्रोलियम ग्यास (एलपीजी) मा लगाइएको प्रतिबन्ध हटाएको छ । हर्मुज जलघाँटी पुनः सञ्चालनमा आएपछि ऊर्जा आपूर्ति सुधारिएको भन्दै भारत सरकारले सङ्कटकालीन नियन्त्रणहरू अन्त्य गरेको एएफपीले जनाएको छ । भारतको पेट्रोलियम मन्त्रालयले बिहीबार राति जारी गरेको विज्ञप्तिमा गैर-घरेलु प्याक गरिएको एलपीजीमाथिको प्रतिबन्ध हटाइएको र पश्चिम एसियामा सङ्कट सुरु हुनुअघिकै स्तरमा आपूर्ति पुनःस्थापित गरिएको जनाएको छ । मन्त्रालयका अनुसार सङ्कटको सुरुआतमा रोकिएको बल्क एलपीजी आपूर्तिलाई पनि पूर्ववत् उपभोगको ५० प्रतिशतसम्म पुनः सञ्चालन गरिएको छ । विश्वकै सबैभन्दा बढी जनसङ्ख्या भएको भारत एलपीजीको दोस्रो ठूलो आयातकर्ता हो । भारतमा प्रयोग हुने अधिकांश एलपीजी मध्यपूर्वी मुलुकहरूबाट आयात हुने भएकाले क्षेत्रीय द्वन्द्वले ऊर्जा आपूर्तिमा प्रत्यक्ष असर पारेको थियो । विश्वको करिब पाँचौं भाग तेल तथा ग्यास ढुवानी हुने हर्मुज जलघाँटी अमेरिका–इरान युद्ध सुरु भएपछि फेब्रुअरीको अन्त्यदेखि प्रभावित बनेको थियो । इरान र अमेरिकाबीच रणनीतिक जलमार्ग पुनः सञ्चालन गर्ने सहमति भएपछि हर्मुज हुँदै हुने ऊर्जा ढुवानीमा सुधार आएको छ । त्यसपछि भारतले आपूर्ति व्यवस्थालाई क्रमशः सामान्य अवस्थामा फर्काउन थालेको हो ।
विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते
काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलका तर्फबाट सर्वोच्च अदालतमा दायर गरिएको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ यही असार १६ गते हुने भएको छ । पौडेलकी श्रीमती दोमाया पौडेलले उनलाई गैरकानुनी रुपमा थुनामा राखिएको उल्लेख गर्दै यही असार १० गते अदालतमा रिट निवेदन दिएकी थिइन् । उक्त रिटका सम्बन्धमा न्यायाधीश श्रीकान्त पौडेलको इजलासले असार १५ गते महान्यायाधिवक्ताको कार्यालयसँग लिखित जवाफ माग गर्ने र असार १६ गते सुनुवाइ गर्ने आदेश दिएको हो । उपाध्यक्ष पौडेललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा यही असार ८ गते सुर्खेतबाट पक्राउ गरी यही असार ९ गते विशेष अदालत काठमाडौंमा उपस्थित गराइएको थियो । विशेष अदालतले अनुसन्धानका लागि सात दिन हिरासतमा राख्न अनुमति दिएको छ । नेता पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ ।
निर्जीवन बीमामा मोटरको हिस्सा ३०.२६ प्रतिशत
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को जेठ मसान्तसम्ममा निर्जीवन बीमा कम्पनीहरूले ४५ अर्ब रुपैयाँ बराबरको व्यवसाय आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार हाल सञ्चालनमा रहेका कम्पनीहरूले ३१ लाख ६ हजार ६२२ बीमालेख जारी गरेर ४५ अर्ब ५८ करोड ३४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन् । बीमा कम्पनीहरूले संकलन गरेको कुल व्यवसायमा मोटर बीमाको हिस्सा सबैभन्दा धेरै रहेको छ । समीक्षा अवधिमा बीमा कम्पनीहरूले मोटर बीमामार्फत १३ अर्ब ७८ करोड ६८ लाख रुपैयाँको कुल बीमाशुल्क संकलन गरेका छन् । जुन कुल निर्जीवन बीमा व्यवसायमा मोटर बीमाको हिस्सा ३०.२६ प्रतिशत हो । कम्पनीहरूले दोस्रो धेरै व्यापार सम्पत्ति बीमाबाट गरेका छन् । तथ्यांकअनुसार कुल निर्जीवन बीमा व्यवसायमा सम्पत्ति बीमाको हिस्सा २३.६३ प्रतिशत रहेको छ । जेठसम्ममा कम्पनीहरूले सम्पत्ति बीमामार्फत १० अर्ब ७७ करोड १४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । त्यस्तै, समीक्षा अवधिमा कम्पनीहरूले इन्जिनियरिङ र ठेक्कातर्फ ८ अर्ब ६३ करोड १७ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । जुन कुल निर्जीवन बीमा व्यवसायमा १८.७३ प्रतिशत हो । यसैगरी, कुल निर्जीवन बीमा व्यवसायमा विविधको हिस्सा १० प्रतिशत रहेको छ । विविधतर्फ कम्पनीहरूले ४ अर्ब ५५ करोड ८१ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् । जेठ मसान्तसम्ममा बीमा कम्पनीहरूले सामुन्द्रिकतर्फ २ अर्ब ८० करोड ४० लाख रुपैयाँ, हवाईतर्फ २ अर्ब २८ करोड ४८ लाख रुपैयाँ, कृषि तथा बालीतर्फ १ अर्ब ५३ करोड ७३ लाख रुपैयाँ र लघुतर्फ १ अर्ब २० करोड ८९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । निर्जीवन बीमाको कुल व्यवसायमा सामुद्रिकको ६.१५ प्रतिशत, हवाईको ५.०१ प्रतिशत, कृषि तथा बालीको ३.३७ प्रतिशत र लघुको २.६५ प्रतिशत हिस्सा रहेको छ ।
यस्तो थियो खामेनेईको 'सुरक्षा बंकर’
काठमाडौं । इरानका पूर्व सर्वोच्च नेता अली खामेनेईको तेहरानस्थित निवास नजिकै एउटा ठूलो भूमिगत संरचना (अन्डरग्राउन्ड स्ट्रक्चर) बनाइएको थियो । मध्य तेहरानमा बनेको यस भूमिगत बंकर कम्प्लेक्समा एउटा ब्लास्ट –रेसिस्टेन्ट (बम विष्फोट प्रतिरोधी) कोठा र भाग्नका लागि धेरै सुरुङहरू समावेश थिए । अमेरिका र इजरायलले फेब्रुअरी २८ मा गरेको हवाई आक्रमणमा अली खामेनेई तेहरानस्थित आफ्नै घरमा मारिएका थिए । त्यस समयमा उनी कुनै पनि सुरुङभित्र नरहेको कुरा बाहिर आएको थियो। इजरायली वेबसाइट ‘जेरुसेलम पोस्ट’ ले ‘इरान इन्टरनेसनल’लाई उद्धृत गर्दै अली खामेनेईको सुरक्षाका लागि कस्तो प्रकारको आर्किटेक्चरल प्लानमा काम गरिएको थियो भन्ने कुरा बताएको छ । रिपोर्टका अनुसार हबिब इब्राहिमी नामको यो कम्प्लेक्स अली खामेनेईको सरकारी निवासको ठ्याक्कै नजिक बनाइएको थियो । इस्लामिक रिभोल्युसनरी गार्ड कप्र्स (आईआरजीसी) ले अली खामेनेईको स्वीकृतिमा सन् २००९ मा यो साइट निर्माण गराएको थियो । ‘खातम अल–अम्बिया कन्स्ट्रक्सन हेडक्वार्टर’ले यसका लागि कोष (फन्ड) जुटाएको थियो । यस संरचनाको प्रवेशद्वारबाट कारहरू भित्र जान सक्थे र जमिनमुनि ३० मिटरको गहिराइसम्म पुग्थे । यस कम्पाउन्डमा २७ मिटर लामो एउटा सुरुङ रहेको दाबी गरिएको छ, जुन कुनै आपतकालीन अवस्थामा यहाँबाट भागेर टाढा जाने उद्देश्यले बनाइएको थियो । यो सुरुङ धेरै फरक–फरक बाटोसँग जोडिएको थियो । यसमा अर्को दोस्रो सुरुङ पनि थियो, जुन मध्य तेहरानको ‘एंगेलाब स्क्वायर’ नजिकैको एउटा पार्किङ ग्यारेजसम्म पुग्थ्यो । इरानसँग युद्ध सुरु भएपछि मार्चमा इजरायली सेनाले आफ्नो गुप्तचर एकाइ (इन्टेलिजेन्स युनिट) ८२०० र ९९०० को सूचनाका आधारमा यसको पहिचान गर्न यो भूमिगत बंकरलाई निशाना बनाएको थियो । इजरायलले ५० वटा विमानबाट बमबारी गर्दै तेहरानको यस भूमिगत ठेगानामा आक्रमण गरेको थियो । ‘इरान इन्टरनेसनल’ ले अगाडि बताएअनुसार धेरै तस्बिरहरूमा सर्वोच्च नेताको कार्यालयसँग जोडिएका वरिष्ठ अधिकारीहरूका लागि पाँच तले भूमिगत कार्यालय कम्प्लेक्स (अन्डरग्राउन्ड अफिस कम्प्लेक्स) पनि देखाइएको थियो । परियोजनासँग जोडिएका स्रोतहरूले यो साइट एउटा स्पोर्ट्स सेन्टर (खेलकुद केन्द्र) मुनि लुकाइएको बताएका छन् । यसरी यसलाई विश्वको नजरबाट टाढा राखिएको थियो । तेहरानस्थित यस सुविधामा कथित रूपमा तीन तले पार्किङ ग्यारेज, एउटा टारगेट रेन्ज (निशानाबाजी क्षेत्र) र जमिनको सतहभन्दा ३० र ३५ मिटर मुनि दुईवटा शेल्टर (आश्रयस्थल) सामेल थिए । एउटा शेल्टरमा खामेनेईलाई मिसाइलहरूबाट जोगाउन एउटा ब्लास्ट–रेसिस्टेन्ट (विष्फोट प्रतिरोधी) कोठा पनि थियो । आक्रमणको समयमा अली खामेनेई यस कोठामा भएको भए उनको ज्यान बच्न सक्थ्यो । (अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूको सहयोगमा तयार पारिएको सामग्री )
बसाइँसराइले रित्तिँदै गाउँ, किसानलाई अनुदानमा कृषि औजार
गुल्मी । पहिले गाउँका प्रत्येक घरघरमा खेतबारी जोत्नका लागि गोरु पाल्ने चलन थियो । खेतीपाती गर्नका लागि गोरु नै किसानको मुख्य सहारा थिए । आजभोली ति दिन विस्तारै सम्झनामा सीमित हुँदै गएको छ । गाउँका युवा रोजगारीका लागि सहर र विदेशतिर पसेका छन् । गाउँमा काम गर्ने मानिस अभाव छ । जसका कारण किसानले गोरु पाल्न विस्तारै छोडिसकेका छन् । यस्तै समयको गतिसँगै बदलिँदो ग्रामीण परिवशेको यथार्थ समस्यालाई मध्यनजर गर्दै मुसिकोट नगरपालिकाले किसानलाई यान्त्रिकीकरण मार्फत किसानलाई कृषि उत्पादनतर्फ उन्मुख गराउने प्रयास थालेको छ । नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत ९० जना कृषकलाई ७५ प्रतिशत अनुदानमा कुटानी–पिसानी मिल र हाते ट्रयाक्टर वितरण गरेको छ । कृषिमा बढ्दो श्रम अभावको न्यूनीकरण, उत्पादन लागत घटाउने र समयको बचत गर्दै खेतीलाई थप व्यावसायिक बनाउने उद्देश्यले किसानहरुलाई उक्त प्रविधि हस्तानत्रण गरिएको नगरप्रमुख जीवलाल खरेल जीवनले बताए । उनले बसाइँसराइका कारण गाउँमा खेती गर्ने जनशक्ति घट्दै गएको, गोरु पाल्ने चलन पनि कम हुँदै गएकाले परम्परागत खेती प्रणालीलाई आधुनिक प्रविधिसँग जोड्नु अहिलेको आवश्यकता बनेको बताए । मुसिकोट‐२ का किसान बुद्धीराम खरेलले भने, 'गाउँमा अहिले गोरु पाल्न सम्भव छैन, खेत जोत्नका लागि मान्छे खोज्दा भेटिँदैनन्, यस्तो अवस्थामा आफूले थोरै लगानी गरेर अनुदानमा हाते ट्याक्टर पाउँदा निकै खुसी लागेको छ ।' हाते ट्याक्टर र कुटानी–पिसानी मिलले किसानको श्रम, समय र लागत कम हुने तथा बाँझो जमिनको उपयोग बढाउन मद्दत पुग्नेछ । पचहत्तर प्रतिशत अनुदानमा मेसिनरी औजार प्राप्त गरेपछि कृषकहरू पनि उत्साहित देखिएका छन् । अर्का कृषक कृष्णकुमारी कार्कीले कुटानी–पिसानी मिलले आफूलाई घरमै अन्न पिस्न सजिलो हुने भएको भन्दै यसले समय र ढुवानी खर्चमा समेत बचत हुने बताए । नगरपालिकाकी कृषि प्राविधिक अस्मिता आचार्यले कृषकले औजारको सही प्रयोग र नियमित मर्मतसम्भारमा ध्यान पुर्याउन सकेका यसबाट लामो समयसम्म फाइदा लिन सकिने बताइन् । गाउँ रित्तिँदै गएको वर्तमान अवस्थामा मुसिकोट नगरपालिकाले गाउँमा बाँकी रहेका किसानलाई आधुनिक प्रविधिमार्फत कृषि पेसालाई टिकाइराख्न यस्ता प्रकारका आधुनिक यान्त्रिकीकरण वितरणबाट थप मद्दत पुग्ने अपेक्षा गरिएको जनाएको छ । रासस