दैनिक १ हजार थान राहदानी उपलब्ध गराइने
काठमाडौं । राहदानी विभागले दैनिक १ हजार थान राहदानी वितरण गरिने स्पष्ट पारेको छ । विभागले सोमबार साँझदेखि दैनिक (सार्वजनिक विदाको दिन बाहेक) राहदानी उपलब्ध गराउने जनाएको हो । विभागले विद्युतीय राहदानी आपूर्तिका लागि नयाँ आपूर्तिकर्तासँग गत साउनमा खरिद सम्झौता गरिसकेको र उक्त सम्झौताअनुसार आगामी फागुन ११ देखि राहदानी सेवा सुरु हुने गरी नयाँ पूर्वाधार तथा प्रणाली निर्माण भइरहेको आज जारी विज्ञप्तिमा उल्लेख गरेको छ । नयाँ आपूर्तिकर्ता र हालको आपूर्तिकर्ताबीच हुने सङ्क्रमणकालीन अवस्था (ह्याण्डओभर र टेकओभर) तथा राहदानी पुस्तिकाको सीमित सङ्ख्या र सेवाग्राहीको उच्च मागलगायतका कारणले राहदानी वितरणमा केही समस्या हुन गएको विभागले जनाएको छ । उक्त अवधिसम्म राहदानीको अभाव नहुने व्यवस्था गर्न आवश्यक पहल भइरहेको र अर्को सूचना नभएसम्मका लागि अत्यावश्यक पर्ने सेवाग्राहीले मात्रै राहदानीका लागि आवेदन गर्न विभागले सबैलाई आग्रह गरेको छ । राहदानीका विषयमा अनधिकृत व्यक्तिको भर नपर्न, त्यस्ता व्यक्तिबाट हुन सक्ने ठगीबाट सावधान रहन विभागले ध्यानाकर्षण गराएको छ ।
८ पार्टीबीच मर्जरको प्रारम्भिक सहमति, कात्तिक १९ गते एकता हुने
काठमाडौं । कात्तिक १९ गते विभिन्न ८ पार्टीबीच एकता हुने भएको छ । ती पार्टीले आइतबार ‘पार्टी एकता सहमति पत्र’ जारी गरी १९ गते एकता घोषणा गर्ने जनाएका हुन् । सहमति पत्रमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी, नेकपा (समाजवादी), जन समाजवादी पार्टी नेपाल, नेपाल कम्युनिष्ट पाटी नेकपा (माओवादी-समाजवादी), नेपाल कम्युनिष्ट पार्टी (चिरन पुन) र नेकपा (साम्यवादी) का नेताहरूले हस्ताक्षर गरेका छन् । सहमति पत्रमा भनिएको छ, ‘पार्टीको एकता राष्ट्रिय सम्मेलन एकता प्रक्रियामा सहभागी सबै घटकका केन्द्रीय समितिको संयुक्त भेलाको रुपमा एकता राष्ट्रिय सम्मेलनको आयोजना २०८२ कात्तिक १९ गते गरिने छ । एकता राष्ट्रिय सम्मेलनबाट पार्टी एकताको घोषणा, घोषणा पत्र र अन्तरिम विधान पारित र केन्द्रीय समितिको गठनलगायत कार्य गरिने छन् ।’ पार्टीको मार्गनिर्देशक सिद्धान्त माक्र्सवाद–लेनिनवाद, नेपाली क्रान्तिको कार्यक्रम नेपाली विशेषताको वैज्ञानिक समाजवाद, पार्टीको तत्कालीन कार्यनीति पुँजीवादी जनवादी क्रान्तिका उपलब्धिहरूको रक्षा, राष्ट्रिय स्वाधीनताको संरक्षण, सुशासन, सामाजिक न्याय, सामाजिक आर्थिक समृद्धि र रुपान्तरण गर्दै समाजवादको आधार तयार गरिने जनाइएको छ । पार्टी एकताबारे थप प्रष्ट पार्दै भनिएको छ, ‘पुँजीवादी जनवादी क्रान्तिको उपलब्धिको रूपमा रहेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, राष्ट्रिय स्वाधीनताको रक्षा, सुशासन, सामाजिक न्याय र आर्थिक सामाजिक रुपान्तरण गर्दै समाजवादी क्रान्तिको लक्ष्य पूरा गर्न बृहत् कम्युनिष्ट आन्दोलनको एकीकरण आजको वस्तुगत आवश्यकता हो ।’ आन्दोलनको स्वरूपमा आन्दोलन मूलतः शान्तिपूर्ण हुने र परिस्थितिअनुसार सडक, सदन र सरकारलगायत सबै मोर्चा प्रयोग गरिने उल्लेख छ । यस्तै, आगामी छ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशनको आयोजना गरिने सहमति पत्रमा जनाइएको छ । सहमति पत्रमा भनिएको छ, ‘केन्द्रीय समितिको गठन एकता प्रक्रियामा सहभागी भएका पार्टीहरूका साविकका केन्द्रीय समितिहरूलाई समायोजन गर्दै आपसी सहमतिको आधारमा केन्द्रीय समिति गठन गरिने छ, केन्द्रीय समितिभित्रको संरचना केन्द्रीय समिति, राजनीतिक समिति, सचिवालय, कार्यसंयोजन समिति हुनेछ ।’
साढे ९ लाख विदेशीले गरे नेपाल भ्रमण, अक्टोबरमा मात्रै १ लाख २८ हजार पर्यटक भित्रिए
काठमाडौं । यस वर्षको अक्टोबर महिनामा १ लाख २८ हजार ४४३ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो महिना पर्यटकीय यामसमेत भएकाले पर्यटकको आवागमन उल्लेख्य देखिएको छ । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्कअनुसार, दक्षिण एशियाबाट २९ हजार ६०, एशियाका अन्य देशबाट २३ हजार १२७, यूरोपबाट ४० हजार ५००, ओसियाना ६ हजार ८१४, अमेरिका १६ हजार ४०७, मध्यपूर्व ३ हजार ५४८, अफ्रिका ४४३ र अन्य देशबाट ८ हजार ४४४ पर्यटक नेपाल आएका छन् । बोर्डका अनुसार, गत जनवरीदेखि अक्टोबरस्म्म कूल ९ लाख ४३ हजार ७१६ जना पर्यटक नेपाल आएका छन् । अक्टोबरमा भारतबाट १७ हजार, २९८ पर्यटक नेपाल आएका थिए । यसैगरी अमेरिकाबाट १३ हजार २८६, बेलायतबाट ८ हजार ७१८, चीनबाट ६ हजार ७५५, जर्मनीबाट ६ हजार ३६६, अष्ट्रेलियाबाट ६ हजार १७७ जना नेपाल भ्रमणमा आएका थिए । यसैगरी, श्रीलङ्काबाट ५ हजार ५३५, फ्रान्सबाट ५ हजार ४५, बङ्गलादेशबाट ४ हजार ६४१ र म्यानमारबाट ३ हजार ३८ पर्यटक नेपाल भ्रमणमा आएका थिए ।
पश्चिमी वायुको प्रभाव कायमै, कोशी र गण्डकीमा वर्षा र हिमपात हुने
काठमाडौं । नेपालमा हाल पश्चिमी वायुको प्रभाव कायमै रहेकाले केही पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार देशका पहाडी भू-भागमा आशिंक बदली रहनेछ । यसैगरी धेरै जसो स्थानमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । बङ्गालको खाडीमा विकसित ‘मोन्था चक्रवातका’ का कारण वर्षा हुँदा केही दिन जनजीवन प्रभावित भएको थियो । हिमाली क्षेत्रमा वर्षासँगै हिमपातसमेत भएको थियो । हिमपातका कारण मनाङको डिस्याङ गाउँपालिका-९ स्थित तिलिचो तालको आधार शिविरमा आन्तरिक तथा बाह्य गरी १३ जना पर्यटक फसेका थिए । उनीहरुलाई सशस्त्र प्रहरीको पर्वतीय उद्धार तालिम केन्द्र शिक्षालय मनाङको टोलीले उद्धार गरेको थियो । राष्ट्रिय विपद् तथा जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यही कात्तिक १५ गते बिहानदेखि १६ गते बिहानसम्म देशभरका ३०१ वर्षा मापन केन्द्रमा वर्षाको विवरण मापन गरिएको थियो । त्यसमध्ये १८५ वटा वर्षा मापन केन्द्रले उल्लेख्य मात्रामा वर्षाको विवरण उपलब्ध गराएको छ । तीमध्ये सबैभन्दा बढी वर्षा लमजुङको बेंसीशहर केन्द्रमा ७१.१ मिलिमिटर वर्षा भएको थियो । वर्षा मापन गरिएका केन्द्रमध्ये ४ वटा केन्द्रमा ५० मिलिमिटर भन्दा बढी वर्षा भएको थियो ।
अवरुद्ध पृथ्वीराजमार्ग दुईतर्फी खुल्यो
काठमाडौं । सुक्खा पहिरोका कारण अवरुद्ध पृथ्वीराजमार्गमा दुईतर्फी नै यातायात सेवा सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार राजमार्ग अन्तर्गत इच्छाकामना-३ चुमखोलामा आइतबार राति ९ बजे पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको थियो । सडक विभागको उपकरणले पहिरो पन्छ्याएपछि गएरातिदेखि नै सडक दुईतर्फी सञ्चालनमा आएको कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए ।
राष्ट्र बैंकको कार्यकारी निर्देशकमा बढुवा भए राजन विक्रम थापा
काठमाडौं । नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक (ईडी) मा राजन विक्रम थापा बढुवा भएका छन् । यसअघि राष्ट्र बैंकको निर्देशक रहेका थापा वष्ठितमका आधारमा स्वतः कार्यकारी निर्देशकमा बढुवा भएका हुन् । डा. गुणाकर भट्ट अनिवार्य अवकाशमा गएसँगै प्रशासन सेवातर्फको एउटा कार्यकारी निर्देशक (अधिकृत विशिष्ट श्रेणी) पद रिक्त रहेको थियो । राष्ट्र बैंक कर्मचारी सेवा विनियमावली, २०६८ को विनियम ५२ बमोजिम सम्भाव्य भएका निर्देशक पदमा कार्यरत अधिकृतमध्येबाट सोही विनियमावलीको विनियम ६५ को उपविनियम (२) अनुसार थापालाई ईडीमा बढुवा गर्ने निर्णय भएको मानव संसाधन व्यवस्थापन विभाग प्रमुख तथा कार्यकारी निर्देश विश्रुत थापाले जानकारी दिए । थापालाई गभर्नरको कार्यालयको जिम्मेवारी प्रदान गरिएको उनले बताए । विसं २०५९ साउन २७ गते सहायक निर्देशक पदमा पदोन्नति भएका थापा वि.सं २०५३ मा सहायक पदबाट बैंक प्रवेश गरेका थिए । साउन २७ गते सहायक निर्देशक पदमा हालका डेपुटी गभर्नर बम बहादुर मिश्रसहित २० जना राष्ट्र बैंकमा प्रवेश गरेका थिए । सोही समूहमा थापा पनि थिए । तर, आन्तरिक परीक्षा र बढुवा प्रक्रियाबाट मिश्र डेपुटी गभर्नर बनेका छन् भने अन्य केही व्यक्ति कार्यकारी निर्देशक । थापासँगै राष्ट्र बैंक प्रवेश गरेका २० जनामध्ये १४ जना राष्ट्र बैंकको व्यवस्थापन तहमा छन् । थापा समकालीन विषयवस्तुमा लेखहरू लेख्छन् भने साहित्यिक र गीतहरूमा समेत रूची राख्छन् । उनी सामाजिक कार्यमा समेत अग्रसर रूपमा काम गरिरहेका छन् ।
गोरखाको तातोपानीमा अलपत्र परेका ३५ जना पर्यटकको उद्धार
काठमाडौं । गोरखा जिल्लाको धार्चे गाउँपालिका–३ स्थित तातोपानी इलाकामा अलपत्र परेकाहरूको नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले सकुशल उद्धार गरेको छ। गोरखाको सामा गाउँबाट माछीखोलातर्फ आउँदै गरेका २० जना विदेशी र १५ जना नेपाली गरी ३५ जना पर्यटक पहिरोको कारण सोही ठाउँमा अलपत्र परेका थिए । सोबारे जानकारी प्राप्त हुनासाथ नेपाली सेना र सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस आरुघाटबाट खटिएको टोलीले उनीहरूको उद्धार गरी माछीखोलातर्फ पठाएको छ । उद्धार गरिएकाहरूको अवस्था भने सामान्य रहेको छ ।
नास आइटी एक्स्पो किन ? आयोजकले खुलायो यी चार उद्देश्य
काठमाडौं । नेपाल एशोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनिज (नास आईटी) ले यही कात्तिक २१ र २२ गते ‘नास आईटी एक्सपो २०२५’ आयोजना गर्दैछ । कम्पनीले पहिलोपटक यस्तो प्रकारको एक्स्पोको आयोजना गर्न लागेको हो । एक्स्पो ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा हुने आयोजकले जानकारी दिएको छ । आयोजकले एक्स्पो गर्नुको मुख्य चार कारण खुलाएको छ । आयोजक कम्पनी नास आइटीका महासचिव एलिशा श्रेष्ठले नेपालमा धेरैलाई प्रविधिमा के–कस्ता विकास भइरहेको छ भन्ने थाहा नभएको र त्यसबारे प्रदर्शन गर्नुपर्ने समय भएको कारण भएको औंल्याइन् । ‘नेपालमा कस्तोकस्ता प्रडक्टहरूको विकास भइरहेको छ, त्यसबारे जानकारी दिनको लागि पनि यो खालको एक्स्पो आवश्यक छ,’ उनले भनिन् । दोस्रो उद्देश्य बिजनेस नेटवर्किङ र डिल्सहरु इनह्यान्स गर्नको लागि यो एक्स्पो आयोजना गर्न लागिएको हो । महासचिव श्रेष्ठले भनिन्, ‘नेपालका आइटी कम्पनीहरूले अहिलेसम्म बिजनेसमा गरेको ग्रोथ अग्रानिक हो, उहाँहरूले साथीभाइ, आफन्त र विदेशमा चिनजान भएकाहरूबाट बिजनेस बढाइरहनुभएको छ, उहाँहरूको नेटवर्किङ बढाउनको लागि एक्स्पो गर्नुको अर्को उद्देश्य हो ।’ त्यस्तै, सरकारले लिएको आइटी डिकेट २०२४–२०३३ को मिट पूरा गर्नको लागि एक्सपोजर दिनको लागि पनि यो एक्स्पोको आयोजना गर्न लागेको आयोजकको भनाइ छ । नेपालमा डोमेस्टिक मार्केटको भिजिविलिटी ग्याप छ, त्यो ग्याप भर्नको लागि यो एक्स्पोले केही हदसम्म मद्दत पुग्ने आयोजकको विश्वास छ । महासचिव श्रेष्ठका अनुसार दुई दिनको एक्सपोमा सरकारका विभिन्न अंग, बैंक तथा वित्तीय संस्था, उद्योग, कर्पोरेट संस्थालाई निमन्त्रणा गरिएको र यसबाट कम्पनीहरूले प्रत्यक्ष बिजनेस गर्न सहयोग पुग्ने छ । नेपालमा दिगो टेक इकोसिस्टमको विकास होस् भनेर पनि यो एक्स्पोको आयोजना गर्न लागिएको आयोजकको जनाएको छ । ३५ कम्पनीहरू सहभागी नास आइटीका अध्यक्ष गौरव पाण्डेले एक्स्पोमा ३५ कम्पनीहरूले सहभागी जनाउने जानकारी दिए । एक्स्पोमा ती कम्पनीहरूले आईटी सफ्टवेयर, प्रडक्ट र सेवाहरू प्रदर्शन गर्ने विशेष अवसर प्राप्त गर्नेछन् । सहभागी आइटी कम्पनीहरूमा लगपोइन्ट, इमेनेन्स वेएज, बिज सर्भ आइटी, र्यापिड स्वीफ्ट, फोनपे, जब इजी, ट्यालेन्ट कनेक्टस, मन्त्र आइडियाज्, आकाश टेकलगायत छन् । ‘एक्स्पोले नेपालको आईटी कम्पनी, नेतृत्व र लगानीकर्तालाई एउटै प्लेटफर्ममा ल्याएर सहकार्य अवसर र नवीनतम प्रविधिका सम्भावनाहरूमा केन्द्रित हुन सहयोग गर्नेछ,’ पाण्डेले भने । नास आईटीका उपाध्यक्ष दिपेन चापागाईंले एक्स्पोका लागि आईटी र व्यवसायिक समुदायबाट आएको प्रतिक्रियाबाट निकै उत्साहित भएको बताए । सहकार्य, नवप्रवर्तन र विश्वासको बलमा नेपालको डिजिटल भविष्य निर्माण गर्ने एक्स्पो एक ऐतिहासिक माइलस्टोन हुने उनको भनाइ छ । दुई दिनसम्म चल्ने कार्यक्रममा शीर्ष प्रायोजकमा टिग, सिल्भर प्रायोजकमा इसेवा रहेको छ । त्यस्तै, र्यापिङ, रिडक्ट, एनसेल बिजनेस, भायानेट कम्युनिकेसन र डेटा वर्ल्ड लगायतको सहकार्य रहेको छ । कार्यक्रममा दिगो विकास साझेदारमा ग्लोबल आईएमई बैंक र अर्किङ कलेज रहेका छन् । त्यस्तै इन्टरनेट पार्टनरमा डिस हो र मिडिया पार्टनरमा टेक जर्नलिस्ट एशोसिएसन (टिजिएफ) रहेको छ । साथै कम्पनीहरूले आफ्ना नवीनतम डिजिटल समाधानहरू सार्वजनिक गर्न र लाइभ पिच सेसनमार्फत आफ्नो सोच देखाउने सक्नेछन् । एक्सपोमा उद्यमी, निजी तथा सरकारी क्षेत्रका उच्च अधिकारी, नीति निर्माता, लगानीकर्ता लगायत सूचना प्रविधिमा इच्छुकहरू आउने छन् । एक्स्पो अवलोकन निःशुल्क गर्न सकिने छ । यसका लागि अनलाइन टिकट बाट लिन सकिने छ । नेपालका धेरै आइटी कम्पनीहरुले स्वदेशमा मात्रै नभएर विदेशका ठूला कम्पनीहरूलाई सप्टवेयर र आइटी सेवा प्रदान गर्दै आएको छ । विशेगगरी अमेरिका, युरोपियन मुलुक, अस्ट्रेलिया र एसियाका मुलुकहरमा काम गर्दै आएको छ। नेपाल सरकारले ‘सूचना प्रविधि दशक २०२४–२०३३’ घोषणा गरिसकेको अवस्थामा नास आइटीले पनि यो क्षेत्रको विकासको लागि भन्दै विभिन्न छलफल र बहस गर्दै आएको जनाएको छ । सरकारले घोषणा गरेको सुचना प्रविधि दशकको मूख्य टार्गेट रोजगारी बढाउने नै हो । जसअन्तर्गत पाँच लाखलाई प्रत्यक्ष र १० लाखलाई अप्रत्यक्ष रोजगारी दिने रहेको छ । त्यस्तै, सन् २०३३ सम्मममा २२ अर्ब रुपैयाँ अमेरिकी डलर बराबरको आइटी निर्यात गर्ने लक्ष्य सरकारको रहेको छ ।