विकासन्युज

नेपाल पुनर्बीमाको सञ्चालकमा अर्थमन्त्रालयका उपसचिव निरौला नियुक्त

काठमाडाैं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेड (नेपाल रि) को सञ्चालक पदमा अर्थमन्त्रालयका उपसचिव शरद निरौला नियुक्त भएका छन् । कम्पनीको नियमावलीको नियम २७ को उपनियम (२) (क) को व्यवस्था बमोजिम नेपाल सरकारबाट प्रतिनिधित्व गर्नेगरी निरौला सञ्चालक पदमा नियुक्त भएका हुन् । उनलाई अर्थमन्त्रालयको असोज २५ गतेको निर्णयअनुसार नेपाल रिको सञ्चालक समितिको सदस्य पदमा नियुक्त गर्ने निर्णय गरेको हो । 

प्रभु महालक्ष्मी लाइफको अभिकर्ता लिडर एडुटेनमेन्ट कार्यक्रम सम्पन्न

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले आयोजना गरेको अभिकर्ता लिडर एडुटेनमेन्ट कार्यक्रम चितवनको सौराहामा सम्पन्न भएको छ । कार्तिक १३, १४ र १५ गते तीन दिनसम्म चलेको उक्त कार्यक्रम मनोरञ्जन, सीप विकास र क्षमता अभिवृद्धिमूलक गतिविधिसहित सम्पन्न भएको हो । कार्यक्रमको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईँले पानसमा दीप प्रज्वलन गरी गरेका थिए । उद्घाटन समारोहमा बोल्दै प्रसाईँले कम्पनीले नियमित रूपमा गर्दै आएको स्तरीय तालिम तथा कार्यक्रमहरूले अभिकर्ता लिडरहरूको व्यवसायिक क्षमता अभिवृद्धिमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएको बताए । उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा अभिकर्ताहरूको पहिचान स्थापित गर्न यसले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । साथै, राष्ट्रियस्तरका ख्यातिप्राप्त कलाकारहरूको उपस्थिति रहेको मनोरञ्जनात्मक साँझले सहभागीहरूलाई थप ऊर्जावान र प्रेरित बनाएको धारणा राखे । तीन दिनसम्म चलेको कार्यक्रममा देशभरबाट २ सयभन्दा बढी अभिकर्ता लिडरहरूको सहभागिता थियो । कार्यक्रममा 'द आर्ट अफ सेलिङ' का लागि प्रशिद्ध अन्तर्राष्ट्रिय प्रशिक्षक अरनिको सिंहले बीमा बिक्री कलासम्बन्धी क्षमता अभिवृद्धि तालिम दिएका थिए, जसले सहभागीहरूमा नयाँ उत्साह र आत्मविश्वास जगाएको थियो । कार्यक्रमको मुख्य आकर्षणमा लोकप्रिय गायक प्रमोद खरेल र परम्परा ब्याण्डको लाइभ सांगीतिक प्रस्तुति रहेको थियो, जसले कार्यक्रमलाई थप रंगिन बनाएको सहभागीहरूले बताएका छन् । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले अभिकर्ताहरूको प्रेरणा, सम्मान र सीप विकासका उद्देश्य राखी विभिन्न मोटिभेसनल, रिफ्रेसमेन्ट तथा मनोरञ्जनात्मक कार्यक्रमहरू निरन्तर रूपमा आयोजना गर्दै आएको जनाएको छ ।

बफेटको कम्पनीमा पैसाको वर्षा, ५४.४ लाख करोड रुपैयाँभन्दा बढी नगद जम्मा !

काठमाडौं । वारेन बफेटको कम्पनी बर्कशायर हाथवेको मुनाफा यो वर्ष १७ प्रतिशतले बढेको छ । सँगै कम्पनीको क्यास (नगद) पनि ठूलो मात्रामा जम्मा भएको छ ।  गत महिना कम्पनीले अक्सिकेममा ९.७ अर्ब डलरको लगानी गरेको थियो । त्यसका बावजुद पनि सेप्टेम्बरको अन्त्यसम्म बर्कशायरसँग ३८१.७ अर्ब डलर (झण्डै ५४.४ लाख करोड रुपैयाँ) बराबरको नगद जम्मा थियो, जुन घटेको छैन । कति भयो मुनाफा ? बर्कशायरले शनिबार जनाएको छ कि यस त्रैमासिक अवधिमा कम्पनीले ३०.७९६ अर्ब डलर नाफा कमायो जुन क्लास ए सेयरमा २१ हजार ४१३ डलर बराबर हो । गत वर्ष यही अवधिमा कम्पनीले २६.२५१ अर्ब डलर नाफा कमाएको थियो, जुन क्लास ए सेयरमा १८ हजार २७२ डलर बराबर थियो ।  तर यी कुल नाफाका तथ्यांकहरू सधैं बर्कशायरको विशाल लगानी पोर्टफोलियोको वर्तमान मूल्य र सेयर बिक्रीको स्थितिबाट प्रभावित हुन्छन् । यस वर्ष सेयर बिक्रीबाट मात्र कम्पनीको नाफामा १७.३ अर्ब डलरले वृद्धि भएको छ । ग्रेग एबेलले सम्हाल्नेछन् नेतृत्व वारेन बफेटपछि उनका उपाध्यक्ष ग्रेग एबेल जनवरीमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) बन्ने भएका छन् । बफेट भने अध्यक्षको भूमिकामा रहिरहनेछन् । ९५ वर्षका वारेन बफेट जनवरीमा कम्पनीको सीईओ पद छोड्न लागेका हुन् ।  बर्कशायरको क्लास ए स्टक मूल्य ८ लाख १२ हजार ८५५ डलरको उच्चतम स्तरबाट निकै तल आएको छ । यो मूल्य मे महिनामा वार्षिक बैठकअघि थियो, जब बफेटले सेयरधारकहरूलाई अचम्मित पार्दै पद छोड्ने घोषणा गरेका थिए । शुक्रबारको कारोबारमा स्टक ७ लाख १५ हजार ७४० डलरमा बन्द भयो ।  यो त्रैमासिक अवधिमा कम्पनीले आफ्ना सेयरहरू फिर्ता (बायब्याक) किनेन । बायब्याक भनेको आफ्नै सेयरहरू पुनः बजारबाट फिर्ता किन्ने प्रक्रिया हो । यसको मतलब वारेन बफेटका अनुसार अहिले बर्कशायरका सेयरहरू अझै पनि धेरै महँगा छन्, त्यसैले उनले अहिले किन्ने सही समय ठानेनन् । सीएफआरए रिसर्चकी विश्लेषक क्याथी सीफर्टका अनुसार जब ग्रेग एबेल सीईओ बन्छन्, लगानीकर्ताहरू उनलाई थप जानकारीका लागि हेर्नेछन् । साथै यदि कम्पनीसँग यति ठूलो नगद भण्डार छ र त्यसको राम्रो उपयोग गर्न सकेको छैन भने लगानीकर्ताहरूबाट डिभिडेन्ड (लाभांश) दिने दबाब बढ्नेछ । तर बफेट अध्यक्ष रहिरहेकाले तत्काल ठूला परिवर्तन हुने सम्भावना कम देखिन्छ । कम्पनीको रेकर्ड नगद भण्डार वारेन बफेटको बर्कशायर हाथवेसँग अहिले ३८१.७ अर्ब डलर बराबरको नगद जम्मा भएको छ । यो अमेरिकी कम्पनी इतिहासकै सबैभन्दा ठूलो रकम हो । यो रकम यति ठूलो छ कि यसको तुलना डेनमार्कजस्ता देशको कुल जीडीपीसँग गर्न सकिन्छ । अहिले लगानीकर्ताहरूबीच एउटै प्रश्न गुञ्जिरहेको छ — बफेट अब के गर्नेछन् ? बर्कशायरको नयाँ रिपोर्टअनुसार गत तीन महिनामा मात्र कम्पनीको नगदमा करिब ३० अर्ब डलरले वृद्धि भएको छ । वर्षको सुरुवातमा यो रकम करिब ३५० अर्ब डलर थियो ।  तीमध्ये झण्डै १९२ अर्ब डलर अमेरिकी ट्रेजरी बिलहरूमा लगानी गरिएको छ, जसबाट ५.४ प्रतिशतभन्दा बढी ब्याज पाइरहेको छ । यसबाट बफेटले ब्याजबाट मात्र वार्षिक करिब २० अर्ब डलर कमाइरहेका छन् । बाँकी रकम बैंक खातामा र छोटो अवधिका लगानीमा राखिएको छ । यसरी बर्कशायरसँग अहिलेसम्मकै सबैभन्दा ठूलो नगद भण्डार रहेको छ । सामसङ र एनभीडीयाको सहकार्यमा विश्वकै पहिलो एआई मेगाफ्याक्ट्री निर्माण हुने ट्रम्पले परमाणु परीक्षण पुनः सुरु गर्न आदेश दिएपछि रूस ‘रेड अलर्ट’ मा  

निजी क्षेत्रमा परेको असर र भविष्यको मार्गचित्रबारे सरकारले उद्योगी–व्यवसायीसँग गर्‍यो छलफल

काठमाडौं । भदौ २३ र २४ गते देशव्यापी रूपमा भएको जेनजी आन्दोलन र सो क्रममा भएको जनधनको क्षतिले निजी क्षेत्रमा परेको असर, लगानीकर्ताले गरेको अनुभव एवं विद्यमान अवस्थाबाट अगाडि बढ्न गरिनुपर्ने पहलका सम्बन्धमा सार्वजनिक–निजी संवाद आयोजना गरिएको छ । शुक्रबार लगानी बोर्डको कार्यालय र नेपाल उद्योग परिसंघको संयुक्त आयोजनामा भएको हो । कार्यक्रममा अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिल सिन्हा, नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेल लगायतको सहभागिता रहेको थियो । छलफलमा अर्थमन्त्री खनालले सरकारले नीतिगत सुधारका कामलाई उच्च प्राथमिकतामा राखेको र केही सुधारका कामहरू निजी क्षेत्रले अनुभव गर्नेगरी भइसकेको बताए । लगानी र लगानीकर्ताको सुरक्षाको विषयमा शंका नगर्न स्वदेशी एवं विदेशी लगानीकर्तालाई आग्रह गरे । यस्तै, गृहमन्त्री अर्यालले निजी क्षेत्रले राखेको सुरक्षा प्रत्याभूतिको विषयलाई गृह मन्त्रालयले गम्भीर रूपमा लिएको बताए । उनले मुलुकमा सुशासन कायम गर्न अपरिहार्य रहेको भन्दै सुशासनका सम्बन्धमा सरकारसँगै निजी क्षेत्रमा पनि सुधार आवश्यक रहेको बताए । यसैगरी उद्योगमन्त्री सिन्हाले कुनै पनि निकायमा रोकिएका काम सम्पन्न गर्न तीव्र  गतिमा काम गरिरहेको बताए । कानुन नै सुधार गर्नुपर्ने बाहेकका प्रक्रियागत सुधारलाई उच्च प्राथमिकतामा राखिएको उनको धारणा छ । नेपाल राष्ट्र बैंकका गभर्नर पौडेलले बैंक तथा वित्तीय संस्थामा पर्याप्त लगानी योग्य रकम रहेको हुँदा लगानीका लागि राम्रो अवसर रहेको बताए । उनले लगानीका लागि आग्रह गर्दै विशेषगरी पूर्वाधार क्षेत्रमा लगानी गर्न सुझाव दिए । कार्यक्रममा परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले आन्दोलनका क्रममा सार्वजनिक एवं निजी सम्पत्तिमाथि भएको आगजनी, तोडफोड, लुटपाटको घटनाले उद्योगी व्यवसायीहरूलाई अत्यन्त दुखित एवं चिन्तित बनाएको बताए । मुलुकमा भ्रष्टाचार निवारण, पारदर्शिता एवं सुशासन बढाउन सार्वजनिक निकायबाट प्रवाह हुने सम्पूर्ण सेवाहरूलाई ‘फेसलेस’, ‘पेपरलेस’, ‘कन्ट्याक्टलेस’ बनाउन सार्वजनिक सेवाहरूलाई तीव्र गतिमा डिजिटलाइज गरिनुपर्नेमा जोड दिए ।  पाण्डेले देशको अर्थतन्त्र, निजी क्षेत्रको प्रकृति र संकट झेल्न सक्ने सामर्थ्य अन्यत्रभन्दा भिन्न रहेको यथार्थ यसअघिका संकटहरूले समेत देखाइसकेको भन्दै हालको चुनौतीलाई पनि अवसरको रूपमा लिन सकिने बताए ।  'तर, यसका लागि सरकारले अभिभावकत्व दिन आवश्यक छ । यो वा त्यो वहानामा लगानीकर्तालाई निरुत्साहित बनाउन हुँदैन । विगतका संकटहरूको जस्तै हालको संकटको पनि पूर्ण रूपमा सामना गरी अगाडि बढ्न निजी क्षेत्र दृढ छ । दृढ रहेको निजी क्षेत्रलाई अगाडि बढ्न प्रेरित गर्ने दायित्व भने राज्यको नै हो,' पाण्डेले भने ।   लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले कार्यक्रमको महत्त्वबारे जानकारी गराउँदै परियोजनाका लगानीकर्ता तथा विकासकर्ताहरूका लागि सहज व्यावसायिक वातावरण निर्माण गर्न लगानी बोर्डको कार्यालय सक्रिय र विवेकपूर्ण ढंगले कार्यरत रहेको तथा उक्त प्रयासलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।  'लगानी बोर्डले अब लगानीकर्ताका लागि ‘एकल विन्दु सेवा प्रणाली लागु गर्दै छ । जसअन्तर्गत कुनै पनि निजी लगानीकर्ताले लगानी बोर्डमा सिधै आयोजना दर्ता (आवदेन) गर्न सक्नेछ, र उक्त आयोजनाको स्वीकृति प्रक्रिया एकीकृत रूपमा एकल विन्दु सेवामार्फत अघि बढ्नेछ,' उनले भने । विगत एक वर्षयता सार्वजनिक–निजी साझेदारी तथा लगानी ऐन, नियमावली लगायतका कानुनी संशोधन, संस्थागत सुधार र क्षमता विकासका प्रयासहरूको स्मरण गरे । उनले चालु आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट वक्तव्य, साथै लगानी बोर्डको आगामी चार वर्षे रणनीति र व्यावसायिक योजनाले निर्धारण गरेका महत्त्वाकांक्षी लक्ष्यहरू हासिल गर्नका लागि उच्च प्रतिबद्धताका साथ अघि बढ्ने बताए ।

काठमाडौंको फोहोर संकट : मन्त्री घिसिङले गरे बञ्चरेडाँडा अनुगमन

काठमाडौं । काठमाडौं उपत्यकामा फोहोर व्यवस्थापनमा गम्भीर संकट निम्तिएपछि शहरी विकासमन्त्री कुलमान घिसिङले बञ्चरेडाँडास्थित ल्याण्डफिल्ड साइटको अनुगमन गरेका छन् । उपत्यकाका सडकहरू फोहोरले दुर्गन्धित हुँदै गएको अवस्थामा मन्त्री घिसिङले स्थानीय प्रशासन, फोहोर व्यवस्थापन सम्बन्धित अधिकारीहरू तथा स्थानीय प्रतिनिधिहरूसँग छलफल गर्न बञ्चरेडाँडाको अनुगमन गरेका हुन् ।  यो अनुगमन उपत्यकाको दैनिक जीवनलाई प्रभावित पारिरहेको फोहोर संकटलाई केन्द्रमा राखेर समाधानको बाटो खोज्ने प्रयासको रूपमा लिइएको छ । काठमाडौं महानगरपालिका र अन्य स्थानीय तहहरूबाट दैनिक १ हजार २ सय टनभन्दा बढी फोहोर उत्पादन हुने उपत्यकामा सिसडोल ल्याण्डफिल्ड साइटको क्षमता सिमित हुँदै गएपछि बञ्चरेडाँडा ल्याण्डफिल्डलाई वैकल्पिक स्थलको रूपमा विकास गरिएको थियो । तर विगतका वर्षहरूमा यस साइटसँग जोडिएका विभिन्न समस्याले गर्दा फोहोर व्यवस्थापन पूर्णरूपमा प्रभावकारी हुन सकेको छैन । मन्त्री घिसिङले अनुगमनका क्रममा साइटको पूर्वाधार, फोहोर विसर्जन प्रक्रिया तथा वातावरणीय प्रभावबारे विस्तृत जानकारी लिएका छन् ।  स्थानीयहरूले फोहोर विसर्जनले हुने वातावरणीय प्रदुषण, पानीका मुहानहरूको असर, स्वास्थ्य जोखिम र सडक अवरोध जस्ता समस्याबारे चिन्ता व्यक्त गर्दै आएका छन् । २०७९ भदौमा स्थानीयहरूले सडक अवरोध गरेपछि फोहोरका गाडीहरू नै बाटोमै रोकिएका थिए । जसले उपत्यकामा फोहोर थुप्रिने संकट निम्त्याएको थियो । अहिले पनि पुरानै स्थिति दोहारिएको छ । २०८० मा भएको एक अध्ययनले बञ्चरेडाँडा क्षेत्रमा फोहोरका कारण माटो र पानीको प्रदुषण बढेको देखाएको थियो । जसले स्थानीय किसानको कृषि उत्पादनमा असर पुर्याएको छ ।  स्थानीयहरूले विगतमा सरकारसँग १८ बुँदे सहमति गरे पनि ती कार्यान्वयन नभएको भन्दै पटकपटक विरोध प्रदर्शन गरेका छन् । असोज २०८२ मा भएको छलफलमा पनि सहमति जुट्न सकेन । जसले गर्दा फोहोर विसर्जनमा अवरोध सिर्जना भएको थियो । यी समस्याहरूले गर्दा उपत्यकाको फोहोर व्यवस्थापन दिगो हुन सकेको छैन । स्थानीयहरूले स्वास्थ्य जाँच, मुआब्जा तथा पूर्वाधार विकासको माग गर्दै आएका छन् । अनुगमनका क्रममा मन्त्री घिसिङले फोहोर छुट्याउने प्रक्रियालाई कडाइका साथ लागू गर्न र स्थानीयहरूसँगको सहमति कार्यान्वयन गर्न निर्देशन दिएका छन् ।   

सूर्योदय र सूर्यास्तसहित हिमशृङ्खलाको दृश्यावलोकन गर्न पुनहिल पुग्ने कि !

म्याग्दी । सूर्योदय, सूर्यास्त, गुर्जा हिमालदेखि धवलागिरि, अन्नपूर्ण, माछापुच्छ्रे निलगिरिलगायतका हिमशृङ्खलाको दृश्यावलोकनका लागि यहाँस्थित पुनहिल पछिल्लो समय  पर्यटकीय आकर्षक स्थल बनेको छ ।  अन्नपूर्ण गाउँपालिका वडा ६ स्थित घोडेपानी पुनहिल क्षेत्रको भ्रमणका लागि असोज, कात्तिक, फागुन, चैत र वैशाख महिना उपयुक्त समय हो ।   यस क्षेत्रमा वार्षिक ३० हजारको हाराहारीमा पर्यटक भित्रिने गरेका पर्यटक प्रहरी चौकी घोडेपानीको तथ्याङ्क छ । प्रवेश शूल्क सङ्कलन र चिया पसल सञ्चालनको ठेक्का पाएका व्यवसायी सुदीप पुर्जा पुनले यसपालि मौसम र राजनीतिक अवस्था प्रतिकूल हुँदा अपेक्षाकृत सङ्ख्यामा पर्यटक नआएका बताए ।  यसअघिका वर्षका शरदयाममा दैनिक चार सय जनाको अनुपातमा पर्यटक आएका थिए । घोडेपानीमा बास बसेका पर्यटक एकाबिहानै करिब ४० मिनेट उकालो पैदलयात्रा गरेर सूर्योदय र हिमशृङ्खलाको अवलोकनका लागि पुनहिल पुग्ने गर्छन् । घोडेपानीमा हाल दैनिक एक हजार जनाभन्दा बढी बास बस्न सक्ने क्षमताको २३ सुविधासम्पन्न होटल छन् ।   त्यसैगरी, कास्कीको घान्द्रुक, म्याग्दीको भुरुङ तातोपानी र मोहरेडाँडा भएर घोडेपानी–पुनहिल पुग्न सकिन्छ । कास्कीको वीरेठाँटी–उलेरी–घोडेपानी, नयाँपुल–घान्द्रुक–घोडेपानी, म्याग्दीको नागी–महरे–फूलबारी–घोडेपानी र तातोपानी–घार–शिख हुँदै घोडेपानी पुग्न सकिनेगरी पदमार्ग सञ्चालनमा छन् ।  अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगर हुँदै घार, शिख हुँदै सडकको प्रयोग गरेर घोडेपानी पुग्न सकिन्छ । सङ्घीय र प्रदेश सरकारसँग सहकार्य गरेर पोखरेबगरदेखि घोडेपानी जोड्ने सडकलाई स्तरोन्नतिलाई निरन्तरताका साथै र कास्कीको नयाँपुल हुँदै घोडेपानी जोड्ने सडकको मार्ग खोलिएको अन्नपूर्ण –६ का वडाध्यक्ष रामबहादुर खड्काले बताए ।  'पुनहिलको ठेक्काबाट हुने आम्दानीको केही हिस्सा सोही क्षेत्रको पर्यटन पूर्वाधार विकासमा लगानी गरिरहेका छौँ', उनले भने, 'पदयात्रा गर्न रुचाउने विदेशी पर्यटक र सवारीसाधनको सुविधा खोज्ने नेपाली दुवैथरि पर्यटकलाई भित्र्याउन प्रयास गरेका छौँ ।'   यसैबिच अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२–८३ मा वडा नं ६ मा रहेको पर्यटकीयस्थल पुनहिलबाट करिब रु ४६ लाख आम्दानी गरेको छ । पुनहिल भ्रमणमा आउने पर्यटकबाट प्रवेश शुल्क सङ्कलन र चिया पसल सञ्चालनका लागि रु ४५ लाख ९० हजारमा ठेक्का सम्झौता भएको हो ।  ठेक्का प्रतिस्पर्धामा सबैभन्दा बढी कबोल गरेको होटल शिखर प्रालिले अग्रिम रकम जम्मा गरेर नियमानुसार १० प्रतिशत छुट पाएको गाउँपालिकाका सूचना अधिकारी भगवती खड्काले बताइन् । गत वर्ष रु ४० लाख आम्दानी भएको थियो ।  समुद्री सतहदेखि तीन हजार २१० मिटर उचाइमा रहेको पुनहिल भ्रमण गर्ने विदेशी पर्यटकबाट प्रतिव्यक्ति रु एक सय ५० र स्वदेशीबाट प्रतिव्यक्ति रु ५० का दरले प्रवेशशुल्क सङ्कलन तथा चिया पसल सञ्चालन गर्न गाउँपालिकाले ठेक्का लगाउँदै आएको छ । रासस

पहिराले कान्तिलोकपथ अवरुद्ध

बागमती । हेटौँडा–काठमाडौं जोड्ने कान्तिलोकपथमा यातायात सेवा अवरुद्ध भएको छ । अविरल वर्षासँगै मकवानपुरको बकैया गाउँपालिका–११ घट्टेपाखास्थित सडकमा ढुङ्गा खस्दा सो सडकमा आवातजावत रोकिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । पहिरो पन्छाएर सडक सञ्चालन गराउन डोजर र जनशक्ति परिचालन गरिएको उनले बताए । त्यसैगरी, हेटौँडा–काठमाडौं जोड्ने हेटौँडा–कुलेखानी–सिस्नेरी–दक्षिकाली सडक अझै सञ्चालन हुनसकेको छैन । अविरल वर्षासँगै मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ ज्यामिरेमा पहिरो खस्दा शनिबार साँझबाट सो सडक अवरुद्ध भएको थियो । प्रहरी नायब उपरीक्षक बोगटीका अनुसार सडक अवरुद्ध भएपछि काठमाडौँबाट हेटौँडा आउने र हेटौँडाबाट काठमाडौं जाने सवारीसाधन बीच बाटोमै रोकिएका छन् । पहिरो पन्छाउने कार्य भइरहे पनि निरन्तर वर्षाका कारण माटो भिजेको र ढुङ्गामाटो झर्ने क्रम जारी रहेकाले बाटो खुलाउन समस्या भइरहेको प्रहरी नायब उपरीक्षक बोगटीले बताए । सडक सञ्चालन गराउन समय लाग्ने भएकाले वैकल्पिक सडकको प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ । रासस

नेप्सेमा २ कम्पनीको सेयर मूल्य समायोजन, कतिमा खुल्नेछ कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा २ कम्पनीको सेयर मूल्य समायोजन भएको छ । लाभांश तथा साधारण सभा प्रयोजनार्थ गुराँस लघुवित्त र मुक्तिनाथ कृषि कम्पनीले बुकक्लोज गरेसँगै नेप्सेले सेयरकाे मूल्य समायोजन गरि नयाँ मूल्य निर्धारण गरेको हाे । नेप्सेका अनुसार गुराँस लघुवित्तको १४.२५ प्रतिशत र मुक्तिनाथ कृषि कम्पनीको ८ प्रतिशत बोनस सेयर समायोजन गरिएको हो । समायोजन पश्चात गुराँस लघुवित्तको सेयर मूल्य २ हजार २१.८८ रुपैयाँ र मुक्तिनाथ कृषिको १ हजार ४५८.३३ रुपैयाँ कायम भएको छ । समायोजित मूल्यमा आज आइतबार सेयर कारोबार खुल्नेछ । नेप्सेले बिहीबारको अन्तिम मूल्यका आधारमा यी दुई कम्पनीको सेयर मूल्य समायोजन गरेको हो । बिहीबार गुराँस लघुवित्तको प्रतिकित्ता २ हजार ३१० रुपैयाँ र मुक्तिनाथ कृषि कम्पनीको १ हजार ५७५ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । गुराँस लघुवित्त वित्तीय संस्थाले कात्तिक २३ गते धनकुटामा १०औँ वार्षिक साधारण सभा बिहान ९ बजे डाकेको छ । सभाले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजी ११ करोड ५८ लाख ४९ हजार रुपैयाँको १४.२५ प्रतिशतका दरले १ करोड ६५ लाख ८ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहित ०.७५ प्रतिशतका दरले ८ लाख ६८ हजार रुपैयाँ नगद गरी कुल १५ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ । मुक्तिनाथ कृषि कम्पनीले कात्तिक २१ गते साढे ११ बजे काठमाडौंमा वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको सभाले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी ७० करोड रुपैयाँको ८ प्रतिशतका दरले ५ करोड ५९ लाख ९३ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.४२ प्रतिशतका दरले २९ लाख ४७ हजार रुपैयाँ नगद गरी कुल ८.४२ प्रतिशत अर्थात् ५ करोड ८९ लाख ४० हजार रुपैयाँ लाभांश प्रस्ताव पारित गर्नेछ ।