विकासन्युज

आजसम्म सेयरधनी बने सिद्धार्थ बैंक र सिटिजन्स बैंकको लाभांश पाइने

काठमाडौं । सिद्धार्थ बैंक र सिटिजन्स बैंकको लाभांश सुरक्षित गर्ने आज कात्तिक १६ गते अन्तिम दिन रहेको छ । लाभांश तथा साधारण सभा प्रयोजनार्थ यी दुई बैंकले कात्तिक १७ गते बुक क्लोज गर्ने निर्णय गरेका छन् । त्यसैले आजसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबरा भई कायम सेयरधनीहरुले साधारण सभामा सहभागिता जनाई लाभांश प्राप्त गर्न सक्नेछन् ।  सिद्धार्थ बैंकले कात्तिक ३० गते काठमाडौंमा २४औँ वार्षिक साधारण सभा बिहान १० बजे बोलाएको छ । बैंकको सभाले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजी १४ अर्ब ८ करोड ९९ लाख ८० हजार रुपैयाँको ५ प्रतिशतका दरले ७० करोड ४४ लाख ९९ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहित ५.५३ प्रतिशतका दरले ७७ करोड ९१ लाख ७५ हजार रुपैयाँ नगद गरी कुल १०.५३ प्रतिशत अर्थात् १ अर्ब ४८ करोड ३६ लाख ७४ हजार रुपैयाँ लाभांश प्रस्ताव पारित गर्नेछ ।  यस्तै, सिटिजन्स बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी १४ अर्ब ७६ करोड ९० लाख १२ हजार रुपैयाँको ५ प्रतिशतका दरले ७३ करोड ८४ लाख ५० हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशतका दरले ३ करोड ८८ लाख ६५ हजार रुपैयाँ नगद गरी कुल ५.२६ प्रतिशत अर्थात् ७७ करोड ७३ लाख १६ हजार रुपैयाँ लाभांश प्रस्ताव गरेको छ ।  उक्त लाभांश १९औँ वार्षिक साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरूलाई वितरण गरिने छ । तर, हालसम्म बैंकले साधारण सभा आह्वान गरिसकेको छैन । 

४ बजे सातै प्रदेशका मुख्यमन्त्रीसँग प्रधानमन्त्री कार्कीको बैठक

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सातै प्रदेशका मुख्यमन्त्रीसहितको बैठक आह्वान गरेकी छिन् । आज आइतबार दिउँसो ४ बजे बालुवाटारमा बस्ने गरी सातै प्रदेशका मुख्यमन्त्रीलाई जानकारी गराइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री कार्कीले परिवर्तित अवस्थामा सङ्घ र प्रदेश सरकारबीच संवाद र सहकार्यलाई थप सघन बनाउनका लागि बैठक आह्वान गर्नुभएको उनका प्रेस संयोजक रामबहादुर रावलले जानकारी दिए ।  बैठकमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्की, मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार, बाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको उपस्थिति रहनेछ ।

दक्ष जनशक्ति नहुँदा नागढुङ्गा सुरुङ सञ्चालनमा आएन, अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट कम्पनी छनोट गर्ने

काठमाडौं । नागढुङ्गा-सिस्नेखोला सुरुङ मार्ग सञ्चालन तथा मर्मतका लागि सेवा प्रदायक छनोटका लागि अन्तर्राष्ट्रिय बोलपत्र टेण्डर आह्वान भएको छ । नागढुङ्गा सुरुङ निर्माण आयोजनाले आइतबार अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट अनुभवी तथा सक्षम सेवा प्रदायक छनोटका लागि टेण्डर आह्वान गरेको हो ।  बोलपत्र बुझाउने अन्तिम दिन आगामी २ पुस (१७ डिसेम्बर २०२५) रहेको  छ । सुरुङ मार्गमार्फत सवारी साधन चलाउन सक्ने अवस्था भएता पनि दक्ष जनशक्ति एवं सुरक्षाका कारण सञ्चालनमा आउन सकिरहेको छैन । मुख्य सुरुङ मार्गको लम्बाइ २.७ किलोमिटर र आपत्कालीनको २.६ किलोमिटर रहेको छ । सरकारले सुरुङ मार्गबाट गुड्ने सवारी साधनका लागि सडक उपभोग दस्तुर (टोल) तोकिसकेको छ । सुरुङमा अत्याधुनिक प्रणाली समावेश रहेको तर सडक विभागको हालको कार्य बोझ तथा सीमित अनुभव र उपलब्ध जनशक्तिबाट सुरुङ संचालन एवं मर्मत कठिन हुने भएकाले विशेष तालिम प्राप्त दक्ष जनशक्तिमार्फत सञ्चालनका लागि अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट सेवा प्रदायक छनोट गर्न लागिएको हो । सेवा प्रदायकले पाँच बर्षको सुरुङ मार्ग संचालन तथा मर्मत गर्ने छ । यस अवधिमा पर्याप्त मात्रामा विदेशी विज्ञहरुबाट नेपाली प्राविधिक र व्यवस्थापकलाई प्रविधि हस्तान्तरण हुने र भविष्यमा अन्य सुरुङ, फास्ट ट्रयाकजस्ता संरचनाहरू स्वदेशी जनशक्तिबाटै संचालन गर्न सहज हुने देखिन्छ । सुरुङ २४ सै घण्टा सञ्चालन गर्नुपर्ने हुनाले दुर्घटना, आगलागी वा प्रणाली बिग्रिएमा तत्कालै आपत्कालीन सेवा आवश्यक हुन्छ । सेवा प्रदायकले शिफ्ट प्रणालीमा कर्मचारी खटाउने, आपत्कालीन टोली स्थापना गर्ने हुनाले समयमै सेवा दिने व्यवस्था गर्न सक्छ । यसका लागि १५० जनाको दरबन्दी प्रस्ताव गरिएको छ । सुरुङ सञ्चालन तथा मर्मत प्रमुखको नेतृत्वमा कर्मचारी रहनेछन् । सुरक्षा व्यवस्थापन युनिटमा सबैभन्दा बढी ६४ जना कर्मचारी रहने व्यवस्था गरिएको छ । त्यसपछि टोल उठाउन ५४ जना कर्मचारी रहनेछन् । ट्राफिक सुविधा अनुगमन तथा नियन्त्रणका लागि १४ जना, सिभिल संरचना तथा अन्य संरचना मर्मतका लागि ८/८ जना कर्मचारी रहने व्यवस्था गरिएको छ ।

सरकारको नगद मौज्दात ६५ अर्ब ८१ करोड रुपैयाँ

काठमाडौं । महालेखा नियन्त्रक कार्यालयले सरकारको आर्थिक वर्ष २०८१/८२ को केन्द्रीय लेखाको एकीकृत वित्तीय विवरण बुझाएको छ । उक्त विवरणमा आन्तरिक लेखापरीक्षणको वार्षिक प्रतिवेदन  र सम्पत्तिको एकीकृत वार्षिक विवरण समावेश छ । महालेखा नियन्त्रक शोभाकान्त पौडेलले अर्थमन्त्री रामेश्वर खनाललाई समग्र प्रतिवेदन बुझाएको उल्लेख गरे । प्रतिवेदनअनुसार आव २०८१/८२ मा सरकारको सञ्चित कोष १ खर्ब ९६ अर्ब ३४ करोड ५९ लाख रुपैयाँले ऋणात्मक रहेको छ । यस्तै, नगद अवस्था ३१ अर्ब ३४ करोड ६१ लाख रुपैयाँले ऋणात्मक रहेको छ । विभिन्न कोषको मौज्दात एवं एक्स्ट्रा बजेटरी निकायको बाँकी मौज्दात रकमको आधारमा नगद तथा बैंक मौज्दात ६५ अर्ब ८१ करोड २६ लाख रुपैयाँले धनात्मक रहेको प्रवक्ता लामिछानेले जानकारी दिए ।

पोखरा-बागलुङ राजमार्गको वैकल्पिक सडक जोखिमपूर्ण

काठमाडौं । पर्वतको सदरमुकाम कुश्मालाई जिल्लाको मध्य भागसँग जोड्ने दोबिल्ला-सिल्मी-ठुलीपोखरी-खौला-कार्कीनेटा सडक खण्ड निर्माण व्यवसायीको लापरबाहीले जोखिमपूर्ण बनेको छ । पोखरा-बागलुङ राजमार्गको वैकल्पिक मार्गका रूपमा रहेको यो सडकमा दैनिक सयौं सवारीसाधन चल्ने भए पनि समयमा काम नगर्दा यात्रुहरूलाई सास्ती भएको हो । सिल्मी-ठूलीपोखरी सडकको पोखरी घुम्ती, लौकेको उकालोलगायत ठाउँमा रहेको सोलिङका ढुङ्गा उप्काएर अन्यत्र लगिएको तर, उक्त ठाउँमा ग्राभेल लगायतका सामग्री नराख्दा बिरामी तथा विद्यालय जाने विद्यार्थीलाई समस्या भएको हो । सडक समयमा काम नहुँदा ठूलीपोखरी हुँदै दैनिक आवतजावत गर्ने सवारी साधन बाटैमा अलपत्र परेका हुन् । वैकल्पिक व्यवस्था नगरी सडक अलपत्र छाड्दा उकालो ठाउँमा हिलोले सवारी साधन जान सकिरहेका छैनन् । सवारीसाधन नियमित नहुँदा विद्यालय जाने विद्यार्थी तथा बिरामीलाई समेत समस्या भएको स्थानीय मिलन पौडेलले जानकारी दिए । हिलो हुने समयमा भइरहेको सोलिङ उप्काएर ढुङ्गा लाने तर बाटो नबनाउने गर्दा स्थानीय समस्यामा परेको कुश्मा नगरपालिका-१२ का वडाध्यक्ष झलकप्रसाद रिमालले बताए । वैकल्पिक सडकको उचित व्यवस्थापन तथा मर्मत हुनुपर्नेमा निर्माण व्यवसायीले ढिलासुस्ती गरेको उनको आरोप छ । ‘हामीले पटकपटक निर्माण व्यवसायीलाई बोलाएर समस्या समाधान गर्न आग्रह गरेका छौँ, तर खासै ध्यान दिइएको छैन । कतिपय समयमा उल्टो गाली गर्ने गरेको छ,’ उनले भने ।  स्थानीय बासिन्दा तथा यातायात व्यवसायी सुरेश केसीका अनुसार सडक बिग्रँदा दैनिक रूपमा कुश्मा, पोखरालगायत ठाउँमा जाने र आउने सवारीसाधन आवतजावत गर्न कठिनाइ भएको छ । निर्माण व्यवसायीलाई मर्मतको कुरा उठाउँदा धम्क्याउने गरेका उनले बताए । सो सडकको निर्माण र अनुगमनको जिम्मेवारी लिएको पूर्वाधार विकास कार्यालयका प्रमुख सन्तोष अर्यालले यस विषयमा निर्माण पक्षलाई पटकपटक निर्देशन दिएको बताए ।  ‘हामीले तत्काल सडक मर्मत गर्न भनिरहेका छौँ तर निर्माण व्यवसायीले अटेरी गर्दा यस्तो समस्या आएको हो, त्यसका लागि स्थानीय जनता र जनप्रतिनिधिले दबाब दिनुपर्छ,’ उनले भने । सडकमा सोलिङ भएको भाग उप्किएपछि साना गाडी, मोटरसाइकल र पैदल यात्रुहरू आवतजावत गर्दा दुर्घटनाको जोखिम बढेको छ । स्थानीयले सम्बन्धित निकाय तथा निर्माण कम्पनीलाई तत्काल मर्मत गरी सडक व्यवस्थित बनाउन आग्रह गरेका छन् । पूर्वाधार विकास कार्यालयको आर्थिक वर्ष २०८०/८१ को स्वीकृत बजेट ५ करोड ८० लाख रुपैयाँमा ५ किलोमिटर सडकको स्तरोन्नति सुरु भएको हो । उक्त सडक यस आवमा सकिनुपर्नेमा हालसम्म जम्मा २५ प्रतिशतमात्र काम भएको छ । सडकमा कालोपत्र, ढलान, नाली, टेवा पर्खाल तथा जाली लगाउने कार्य हुने जिल्ला पूर्वाधार कार्यालयले जनाएको छ ।

४ हजार ५९७ वटा विपद्जन्य घटना, ३३५ जनाको ज्यान गयो

काठमाडौं । यो वर्षको कात्तिक १५ गतेसम्म देशभर ४ हजार ५९७ वटा विपद्जन्य घटना भएका छन् । वैशाख यताका ती विपद्का घटनामा परेर शनिबारसम्म ३३५ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार उक्त अवधिमा ४१ जना बेपत्ता भएका छन् भने १ हजार २६४ जना घाइते भएका छन् ।  बाढीका मात्रै ३१६ घटना हुँदा ३७ जनाको मृत्यु र २७ जना बेपत्ता भएका छन् । त्यसैगरी, पहिरोका ५५० घटना हुँदा ६७ जनाको मृत्यु र ४ जना बेपत्ता तथा चट्याङका ३५६ घटना हुँदा ४४ जनाको मृत्यु, सर्प दंशका ५३८ घटना हुँदा ९२ जनाको मृत्यु भएको छ । त्यसैगरी, जनावरको आक्रमणका २६९ घटनामा २५ जनाको मृत्यु र १ बेपत्ता, लेक लागेका ८० घटनामा २७ जनाको मृत्यु भएको छ । भारी वर्षाका ४२० घटनामा ७, आगलागीका १ हजार ६१४ घटनामा २६ र हुरीबतासका २८६ घटनामा ८ जनाको मृत्यु भएको प्रवक्ता महतले जानकारी दिए ।  हिउँ पहिरोमा परी ९ जना बेपत्ता भएको प्राधिकरणले जनाएको छ । शनिबार मात्रै विभिन्न विपद्जन्य घटनामा २ जनाको मृत्यु भएको छ । विपदजन्य ४६ घटना भएको र उक्त विपद्ले ३१ जिल्ला प्रभावित बनाएको प्राधिकरणले जानकारी दिएको छ ।

मोन्था आँधीको प्रभाव कमजोर बन्दै, केही स्थानमा वर्षाको सम्भावना कायमै

काठमाडौं । बङ्गालको खाडीबाट उठेको ‘मोन्था आँधी’का कारण प्रभावित भएको देश भरको मौसममा क्रमशः सुधार हुँदै गए पनि केही स्थानमा वर्षाको सम्भावना कायमै छ । जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।  पहाडी भू-भागमा केही बदली भए पनि बाँकी भू-भागमा भने मौसम आज मुख्यतया सफा रहने विभागले जनाएको छ । पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव बलियो भएकाले बदली जारी रहेको छ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बदली रही मधेस प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहने तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।  यस्तै, आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी प्रदेशमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भू-भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । 

महामन्त्रीद्वयले प्रधानमन्त्रीलाई भने - एमाले पनि चुनावबाट भाग्न सक्दैन, सहमतिमा ल्याउने प्रयास गर्दैछौं

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले विभिन्न राजनीतिक दलका नेताहरूसँग निर्वाचनका विषयमा परामर्श जारी राखेकी छन् । यसै सन्दर्भमा उनले नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग छलफल गरेकी छन् । छलफलका क्रममा प्रधानमन्त्री कार्कीले आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनबारे हालसम्म सरकार र राजनीतिक दलका तर्फबाट भएका तयारी तथा आगामी दिनमा गर्नुपर्ने कामका विषयमा छलफल गरेको प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले जानकारी दिए । प्रधानमन्त्री कार्कीले निर्वाचनमा राजनीतिक दलको स्पष्ट प्रतिबद्धता आउनुपर्नेमा जोड दिएकी छन् । सो क्रममा महामन्त्रीद्वयले भने, ‘औपचारिक निर्णय गर्न बाँकी भए पनि कांग्रेस निर्वाचनमा जान प्रतिबद्ध छ। शीघ्र यसबारे आधिकारीक निर्णय पनि गर्छौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) पनि राष्ट्रलाई निकास दिनका लागि निर्वाचनबाट भाग्न सक्दैन भन्ने विश्वास छ । एमालेलाई सहमतिमा ल्याउन सरकारले पनि थप प्रयास गर्नुपर्ने देखिन्छ। हामी पनि प्रयासरत छौँ ।’ उनीहरूले आफ्नो पार्टीले जेनजी युवासहित अन्य दलसँग पनि शीघ्र निर्वाचनलगायत समसामयिक विषयमा गहन संवाद गर्ने बताए । महामन्त्रीद्वय थापा र शर्माले जेनजी युवालगायत सबै राजनीतिक दलसँग गहन छलफल गरेर युवा आन्दोलनका मागलाई निर्वाचन अघि केकसरी सम्बोधन गर्न सकिन्छ र निर्वाचनपछिको संसद्को पहिलो बैठकले केके निर्णय गर्ने भन्ने विषयमा अहिले नै सहमति गरेर जानुपर्ने धारणा राखेका थिए। प्रधानमन्त्री कार्कीले एमाले नेतालाई पनि छलफलका लागि बोलाएको उनको सचिवालयले जनाएको छ । आज एमाले सचिवालय बैठक भएकाले छलफल अर्को दिन गर्ने एमाले नेतृत्वले बालुवाटारमा जानकारी गराएको प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव श्रेष्ठले जानकारी दिए । प्रधानमन्त्री कार्कीले यसअघि पनि विभिन्न चरणमा फरकफरक दलका नेताहरूसँग छलफल गरेकी थिइन् । प्रधानमन्त्रीकै आह्वानमा यसअघि सरकार, राजनीतिक दल र जेनजी युवाबीच त्रिपक्षीय संवाद पनि भइसकेको छ ।