विकासन्युज

हरि बोधिनी एकादशी : घरमा रोपिएको तुलसीलाई दामोदरसँग विवाह गरिँदै

काठमाडौं । वैदिक सनातन हिन्दू धर्मावलम्बीले भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गर्दैछन् । प्रत्येक वर्ष कात्तिक शुक्ल एकादशीका दिनमा मनाइने हरि बोधिनी एकादशी पर्व आज तुलसी र दामोदरको विवाह गरी  मनाउन लागिएको हो । आसार शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँतिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ । हरि शयनीदेखि हरि बोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दछन् । विष्णु क्षिर सागरमा सुतेकाले यी चार महिना विवाह ब्रतवन्धजस्ता माङ्गलिककार्य नगरिने परम्परा छ । यस समयमा खोला, नदी नालामा बाढी पहिरो आउने र सर्पजस्ता जीवको भयका कारण यात्रा नगर्नु शुभ मानिन्छ । हरिशयनी एकादशीका दिन घरघरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूल मालाले सजाएर विवाह गरिन्छ । तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको दामोदरसँग विवाह गर्ने परम्परा बसेको हो । तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रूपमा निगालाको लिङ्ग गाडेर विधिपूर्वक पूजा गरिन्छ । कात्तिक महिनाभर सबै देवदेवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ । हरिशयनी एकादशीदेखि पूजा गरिएको तुलसीको उद्यापन अग्निस्थापना विधिबाट विशेष पूजा र हवनसहित गरिन्छ । आजदेखि मार्गशीर्ष कृष्ण पञ्चमीसम्म अग्निस्थापना नजुरेका दिनपनि अग्निस्थापना विधिबाट विशेष पूजा र हवन गर्न सकिने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् प्रा. तोयराज नेपालले बताए । आदिकालदेखि पूजाको परम्परा बसेको तुलसीको महिमा वैज्ञानिकरूपमा पनि लाभदायक प्रमाणित भएको छ । यसैले तुलसीको मठ हुने घरलाई तीर्थ समान मानिन्छ। तुलसीको सुगन्धले दश दिशा पवित्र हुन्छ भनिन्छ । तुलसीको पूजा गरिएको घरमा यमदूत पनि पस्दैनन् भन्ने आस्थाका कारण हिन्दू धर्मावलम्बीले घरमा तुलसीको मठ बनाउँछन् । तुलसीको पात, डाँठ, वा फूलको रस रुघाखोकी र औलो लगायत रोगका लागि औषधि हुन्छ । यो रस शरीरमा लगाएर सुतेमा लामखुट्टेले टोक्दैन । तुलसीको मठ भएको स्थल वरपर विषालु सर्प पनि आउँदैन । मठको वरपर वहने हावाले विषालु कीटाणुलाई नष्ट गर्दछ । शरद ऋतुभर सबै प्राणीका लागि तुलसीलाई महा औषधि मानिन्छ । तुलसीबाट बनेको चिया मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्न उपयुक्त मानिन्छ। कात्तिक महिनामा तुलसीको माला लगाउँदा र एक लाख तुलसीपत्र विष्णुलाई अर्पण गर्दा मनोकांक्षा पूरा हुन्छ भन्ने विश्वास छ । गरुड पुराणमा उल्लेख भएअनुसार यस महिनामा एउटा तुलसीपत्र भगवान् विष्णुलाई अर्पण गर्दा १० हजार गाई दान गरे बराबरको फल मिल्दछ । आजका दिन भगवान् विष्णुको मूर्तिलाई रथमा राखी यात्रा गराउने प्रचलन पनि छ । रात्रिमा “गोविन्द उठ्नुस् तपाईँ सुते जगत् सुत्छ, तपाँई उठे जगत् उठ्छ” भन्दै शङ्ख, घन्ट र ढोल बजाएर विष्णुलाई जगाउने गरिन्छ । यसको प्रतीकका रूपमा मानवका पाँच ज्ञानेन्द्रिय र पाँच कर्मेन्द्रिय एवम् मन गरी एघार वटालाई जित्न उपयोग गरिने शास्त्रीय मान्यता छ । किसानले उखुको बोट मठमा गाड्छन् । आजको दिन अन्न खान नहुने भएकाले सखरखन्ड, पिँडालु र वनतरुल उसिनेर फलाहार गरिन्छ । यसरी व्रत गरेमा पापको नाश भई पुण्य वृद्धि हुने र मोक्ष प्राप्ति हुन्छ भन्ने धार्मिक विश्वास छ । ठूलो एकादशी पनि भनिने आजको एकादशी व्रतले हजार अश्वमेध यज्ञ तथा राजसूय यज्ञ गरे बराबरको फल पाइने शास्त्रीय मान्यता छ । कात्तिक महिनामा भगवान् विष्णुलाई भक्तिपूर्वक सम्झी गरिएको स्नान, दान, जप र होमले फल पाइने एवम् सय जन्मका पापबाट मुक्ति मिल्ने प्रसङ्ग विभिन्न ग्रन्थमा वर्णन गरिएको छ । आजका दिन धादिङको नीलकण्ठ नगरपालिका वडा ४ स्थित  ऐतिहासिक कालिका मन्दिरमा विशेष मेला लाग्ने गर्दछ । यसैगरी काठमाडौं उपत्यकाका चार नारायण, भक्तपुरको चाँगुनारायण, ललितपुरको विशङ्खुनारायण, काठमाडौंका शेष नारायण र इचँगुनारायण स्थानमा विशेष मेला लाग्दछ । यहाँ जान नसक्नेले काठमाडौंको उत्तरमा रहेका बूढानीलकण्ठ नारायणस्थानको दर्शन गर्दा चार नारायणको दर्शन र पूजा गरे बराबरको फल पाइने विश्वास गरिन्छ । यसैगरी नारायणहिटस्थित चातुव्र्युह नारायणस्थानमा गई पूजा, आराधना एवं दर्शन गर्नाले पनि काठमाडौं उपत्यकाका चारै नारायणस्थानमा पुगे बराबरको फल पाइने शास्त्रीय मान्यता रहेको मन्दिरका मठाधीश डा राजेश्वरानन्दले जानकारी दिए । आजै देशभरका नारायण मन्दिरमा विशेष पूजा गरी यो पर्व मनाइन्छ । रासस

कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । नेपालमा हाल पश्चिमी वायू र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहने छ । आज दिउँसो बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा, कोशी प्रदेश र मधेश प्रदेशका थोरै स्थानहरूमा तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा मध्यम हिमपात र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ । आज राति कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहनेछ । महाशाखाका अनुसार कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी र हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।

होटल व्यवसायमा जम्दै देशबन्धु, डेढ अर्ब लगानीमा इटहरीमा बनाए पाँचतारे होटल

काठमाडौं ।  पर्यटन व्यवसायी देशबन्धु बस्नेतले सुनसरीको इटहरीमा पाँचतारे होटल निर्माण गरेका छन् । केही महिनाअघि मात्रै काठमाडौंमा सुविधा सम्पन्न पाँचतारे होटल सञ्चालनमा ल्याएका उनले इटहरीमा पनि सोही स्तरको होटल निर्माण गरेका हुन् । बस्नेतले गत माघमा काठमाडौंको सुकेधारामा पाँचतारे होटल मक्युर सञ्चालनमा ल्याएका थिए । त्यसबाट उत्साहित भएर इटहरीमा पनि उनले पाँचतारे होटल निर्माण थालेका हुन् । होटल निर्माण लगभग सम्पन्न भएको छ।  उनले रमडा विश्वप्रसिद्ध अमेरिकी चेन होटेल भित्र्याएका छन् । एक अर्ब ६० करोड रुपैयाँ लागतको उक्त होटल ८ तलासहित ८० वटा कोठाको रहेको छ ।  होटेलमा रेस्टुरेन्ट, बार, लाउन्ज, हेल्थ क्लब, स्पा र आउटडोर स्विमिङ पुल लगायत सेवा सुविधा रहेका छन् । होटलको ९० प्रतिशत वित्तीय प्रगति भएको जानकारी छ ।  होटलले रेटिङ पनि गराएको छ । ग्राण्ड सेन्ट्रल होटल प्रालिले निर्माण गरेको होटलका लागि २ अर्ब १३ करोड रुपैयाँ ऋणको रेटिङ गराएको हो । जसका लागि कम्पनीले डबल बी माइनसको रेटिङ पाएको छ । होटल सञ्चालनमा आएपछि एक सय बढी जनाले रोजगारी पाउने उल्लेख छ । भारतीय सीमा जोगबनी तथा विराटनगर एअरपोर्टबाट आधा घण्टाको समयमा पुग्न सकिने होटलले धेरै मात्रामा भारतीय पर्यटकहरूलाई विश्वस्तरीय होटलको सुविधा दिने दाबी गरिएको छ । पूर्वी नेपालमा भित्रिने पर्यटक तथा व्यवसायीहरूलाई आरामदायी र सुरक्षित आवासका साथै व्यावसायिक कार्यक्रमसमेत गर्ने वातावरण होटलले प्रदान गर्ने बताइएको छ । नेपाल उद्योग वाणिज्य महासंघमा लगातार दुई कार्यकाल सदस्य रहेका बस्नेत अहिले महासंघको पर्यटन तथा हवाई यातायात समितिको सभापतिको रुपमा काम गरिरहेका छन् ।  उनले पर्यटकीय एवं धार्मिक स्थल मनकामनामा समेत ५० रोपनी क्षेत्रफलमा पाँच तारेस्तरकै सरोवर प्रिमियम ब्राण्डमा सरोबर होटल्स एण्ड रिसोर्ट निर्माण गरेका छन् ।  पेशाले इन्जिनियर रहेका बस्नेत नेपालका लागि जाम्बियाका वाणिज्य दूत तथा सार्क चेम्बर अफ कमर्सका समेत कार्यसमिति सदस्य हुन् । एवी होल्डिङ्सका अध्यक्ष रहेका बस्नेतले आफ्नो नेतृत्वमा परियोजना र पूर्वाधार विकास, होटल पर्यटन, उत्पादन, स्वास्थ्य, रियल स्टेट र पोर्टफोलियो अन्तरगत विभिन्न परियोजनामा लगानी गर्दै आएका छन् ।

विद्युत कटौतीको समस्या तत्काल समाधान गर्न सरकारलाई अध्यक्ष ढकालको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्योगहरुमा विद्युत कटौतीको समस्या तत्काल समाधान गर्न सरकारसँग आग्रह गरेका छन् । अर्थ मन्त्रालयमा शुक्रवार आयोजित सार्वजनिक निजी संवाद कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यस्तो आग्रह गरेका हुन् । उद्योगहरुको विद्युत लाइन काटिँदा देशभरका दर्जनौं उद्योगहरू बन्द हुन पुगेको र यसबाट हजारौं रोजगारी संकटमा परेको भन्दै वार्ता र सम्वादको माध्यमबाट समस्याको समाधान खोज्नुपर्ने उनको भनाइ छ ।  उनले लाइन काटिँदा राष्ट्रले नै ठूलो आर्थिक क्षति बेहोर्नु परेको, औद्योगिक उत्पादन, निर्यात र मुलुकको समग्र आर्थिक गतिविधिमा नकारात्मक असर पारेको बताए । उनले विवाद समाधानका लागि संवाद र सहकार्यको वातावरण सिर्जना गर्न सरकारसँग आग्रहसमेत गरे ।  यस्तै, अध्यक्ष ढकालले अर्थतन्त्र पुनरुत्थानका लागि उद्योगी व्यवसायीहरूको मनोबल उच्च राख्नु आजको आवश्यकता भएको बताए । उनले जेनजी आन्दोलनका क्रममा भएको घुसपैठबाट निजी उद्योग प्रतिष्ठानमाथि भएको आक्रमणले औद्योगिक सुरक्षाको अभाव देखिएको, लगानीकर्तामा भय पैदा गरेको र लगानीकर्ताले आत्मविश्वास कमजोर भएको बताए । अध्यक्ष ढकालले उद्योगी व्यवसायीहरूको मनोबल उच्च राख्न सकिएन भने देशमा लगानी आउने नभई भएको पूँजी समेत पलायन हुने अवस्था आउन सक्ने चिन्ता व्यक्त गरे ।    सरकारले औद्योगिक सुरक्षा तथा क्षतिग्रस्त उद्योगहरूको पुनर्निर्माण लगायतका विषय गरेका निर्णयहरू सराहनीय रहे पनि नीति कार्यान्वयन ढिलो हुने प्रवृत्तिमा सुधार गर्नु पर्नेमा उनले जोड दिए । साथै उनले सरकारले अनुकूल व्यवसायिक वातावरण तयार गर्न जिल्ला सुरक्षा समितिका पदाधिकारी समेतको उपस्थितिमा जिल्लास्थित उद्योग वाणिज्य संघलगायत व्यवसायीहरूको सहभागितामा बैठक राखी आवश्यक समन्वय गर्न सरकारको निर्णयको महासंघले स्वागत गरेको पनि बताए ।

पृथ्वी राजमार्ग र नारायणगढ-मुग्लिन सडकमा अत्यावश्यकबाहेक यात्रा नगर्न प्रशासनको आग्रह

चितवन । अविरल वर्षाका कारण पृथ्वी राजमार्ग र नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरोको जोखिम बढेपछि चितवन जिल्ला प्रशासन कार्यालयले यात्रुहरूलाई अत्यावश्यक बाहेक यात्रा नगर्न आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार वर्षा नरोकिएपछि सडकका विभिन्न भागमा थप पहिरो खस्ने सम्भावना रहेकोले यात्रामा जोखिम बढेको छ ।  प्रमुख जिल्ला अधिकारी गणेश अर्यालद्वारा शुक्रबार जारी सूचनामा भनिएको छ, ‘नारायणगढ–मुग्लिन सडकको तुइनखोला क्षेत्र र पृथ्वी राजमार्गको मुग्लिनदेखि मलेखुबीच हिजो साँझदेखि लगातार स–साना पहिरो खसिरहेका छन् । अत्यावश्यक कारणबाहेक उक्त मार्गमा यात्रा नगर्न सबैलाई अनुरोध गरिन्छ ।’ सडकमा खसेका स–साना पहिरोलाई निरन्तर रूपमा सफा गर्दै बाटो खुलाउने काम भइरहेको भए पनि निरन्तर वर्षाका कारण थप ठूला पहिरो खस्ने जोखिम कायमै रहेको प्रशासनले जनाएको छ । प्रशासनले सडक प्रयोग गर्दा सतर्कता अपनाउन, मौसम सुधार नहुन्जेल यात्रा स्थगित गर्न र वैकल्पिक मार्ग अपनाउन सर्वसाधारण र सवारी चालकलाई आग्रहसमेत गरेको छ । यस्तै, प्रहरी र सशस्त्र प्रहरीका टोलीहरूलाई जोखिमयुक्त स्थानमा तयारी अवस्थामा राखिएको प्रशासनले जनाएको छ ।

विश्वको पहिलो ५ ट्रिलियन डलर कम्पनी बन्यो एनभीडीया, अमेरिकाको जीडीपीको १६ प्रतिशत बराबर

काठमाडौं । कृत्रिम बौद्धिकता (एआई) चिप बनाउने अमेरिकी कम्पनी एनभीडीयाको बजार मूल्य (मार्केट क्याप) हालै ५ ट्रिलियन डलर पुगेको छ । संसारमा पहिलोपटक कुनै कम्पनी यो स्तरमा पुगेको हो ।  एनभीडीयाको बजार मूल्य अमेरिकाको कुल जीडीपीको १६ प्रतिशत बराबर भइसकेको छ । यो प्रतिशत पछिल्ला दुई वर्षमा दोब्बर भएको हो । ३० नोभेम्बर २०२२ मा जब च्याटजीपीटीको सुरुवात भएको थियो, त्यतिबेला एनभीडीयाको बजार मूल्य अमेरिकाको जीडीपीको मात्र ४ प्रतिशत बराबर थियो । एनभीडीयाका एआई चिपहरूको उच्च मागका कारण कम्पनीको बजार मूल्य तीव्र रूपमा बढेको हो । यही कारणले कम्पनीलाई ४ ट्रिलियन डलरबाट ५ ट्रिलियन डलरसम्म पुग्न मात्र तीन महिना लागेको हो ।  यसअघि कम्पनीलाई ३ ट्रिलियन डलरबाट ४ ट्रिलियन डलरसम्म पुग्न १३ महिना लागेको थियो । यस वर्ष कम्पनीका सेयरहरूमा करिब ५० प्रतिशत वृद्धि भएको छ र यो पछिल्ला केही वर्षदेखि एसएन्डपी ५०० सूचकांकमा उत्कृष्ट प्रदर्शन गर्ने कम्पनीहरूमध्ये एक रहिआएको छ ।  विश्वभर एआईको प्रयोग तीव्र गतिमा बढ्दै गएको छ, जसका कारण आगामी दिनमा एनभीडीयाका सेयरहरू अझ बढ्ने अपेक्षा गरिएको छ । एनभीडीयाले बनाउने चिपहरूलाई ग्राफिक्स प्रोसेसिङ युनिट्स (जीपीयू‍) भनिन्छ, जुन एआई उद्योगको मेरुदण्ड मानिन्छ । विश्वका सबै देशहरू चिप आपूर्ति शृंखलामा आफ्नो प्रभुत्व जमाउन चाहन्छन् । अमेरिका र चीनबीचको वास्तविक प्रतिस्पर्धा पनि यही क्षेत्रमा केन्द्रित छ । एनभीडीयाको मुख्यालय अमेरिकाको क्यालिफोर्निया राज्यको सान्टा क्लारामा रहेको छ । यसको स्थापना सन् १९९३ मा ताइवानी इन्जिनियर जेनसन हुआङले गरेका थिए । एनभीडीयामा उनको करिब ३.५ प्रतिशत हिस्सेदारी छ । उनी १७६ अर्ब डलरको नेटवर्थका साथ विश्वका धनी व्यक्तिहरूको सूचीमा नवाैं स्थानमा छन् । सामसङ र एनभीडीयाको सहकार्यमा विश्वकै पहिलो एआई मेगाफ्याक्ट्री निर्माण हुने

एकीकृत समाजवादीभित्र माओवादी केन्द्रसँग एकताको विपक्षमा १४ नेता खुले, १५० पुग्ने आँकलन

काठमाडौं । नेकपा एकीकृत समाजवादीभित्र माओवादी केन्द्रसँग हुने भनिएको एकताको विषयमा गम्भीर मतभेद उत्पन्न भएको छ । पार्टीको जारी केन्द्रीय समिति बैठकमा १४ जना प्रमुख नेताहरूले खुलेर एकताको विरोध गरेका छन् ।  एकताको विपक्षमा उभिएका नेताहरूले पार्टीको स्वतन्त्र अस्तित्व, वैचारिक स्पष्टता र संगठनात्मक पहिचान जोगाउनुपर्ने तर्क गर्दै तत्काल एकता सम्भव नदेखिएको बताएका छन् ।  एक नेताका अनुसार पदाधिकारी, पोलिटब्युरो र केन्द्रीय कमिटीका गरेर १५० भन्दा धेरै नेताहरु अध्यक्ष नेपालको एकता प्रस्तावको विपक्षमा रहेका छन् । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी ३४३ सदस्यीय रहेको छ । सुकेधारामा जारी केन्द्रीय कमिटी बैठकमा सम्मानित नेता झलनाथ खनाल, वरिष्ठ नेता घनेन्द्र बस्नेत र महासचिव घनश्याम भुसालले एकीकृत समाजवादीलाई बचाउनुपर्ने राय व्यक्त गरेसँगै अरू नेताहरू पनि उक्त विचारमा सहमत हुँदै गएका छन् । शीर्ष नेताहरूसँगै पार्टीका अन्य तहका नेताहरू पनि एकताको विरोधमा खुलेको एक नेताले बताएका छन् । पूर्वपदाधिकारी तथा पोलिटब्युरो सदस्यहरू डाक्टर विजय पौडेल, रामकुमारी झाँक्री, जीवनराम श्रेष्ठले पनि अध्यक्ष नेपालको एकता सम्बन्धी आह्वानको विरोध गरेका छन् । जारी बैठकमा बोल्ने पोलिटब्युरो सदस्यहरू लक्ष्मण लम्साल, शिव भण्डारी, अब्दुल हुसैन, अशेष घिमिर, दामोदर अर्याल, धर्म निरौला, महेश रेग्मी र केन्द्रीय सदस्य आरती लामाले पनि नेकपा समाजवादीमा पुनर्गठन आवश्यक रहेको भन्दै एकताको विपक्षमा विचार व्यक्त गरेका थिए । यी सबै नेताहरूले माओवादी केन्द्रसँगको एकता हडबडीमा गरिएको निर्णय भएको दाबी गर्दै पार्टीले आफ्नै नीतिगत दिशा र संगठनात्मक सुदृढीकरणमा ध्यान दिनुपर्ने बताएका छन् । बैठकमा ती नेताहरूले एकताको सट्टा पार्टीभित्रको आन्तरिक सुदृढीकरण, नीति समीक्षा र जनतामाझ विश्वास पुनःस्थापनामा जोड दिनुपर्ने प्रस्ताव पनि राखेका छन् ।

जगदम्बा स्टील कम्पनी पूर्णरूपमा बन्द, २ हजार बढी कर्मचारी बेरोजगार

काठमाडौं । जगदम्बा स्टील कम्पनी पूर्णरूपमा बन्द भएको छ । नेपाल विद्युत प्राधिकरणले बिजुली लाइन काटेपछि जगदम्बा स्टील कम्पनी बन्द भएको हो । कम्पनी बन्द हुँदा हजारौं कामदार बेरोजगारी बनेका छन् । कम्पनीका प्रशासन प्रमुख अनिल गजुरेलका अनुसार अहिले कम्पनीमा काम गर्ने २ हजार २ सय कर्मचारी बेरोजगारी भएका छन् । यद्यपि सरसफाइ, मर्मतसम्भार, लेखा, बिक्री र वित्तीय जस्ता केही प्रशासनिक तथा आवश्यक काम मात्र सञ्चालनमा छन् ।  उनले भने, ‘कुल हामीसँग २ हजार २ सय कर्मचारी छन् । उनीहरूमध्ये अधिकांश अहिले घरमै बसेका छन् भने केही हाजिर गरेर घर फर्किने गरेका छन् । उनीहरूसँग अहिले खासै काम छैन । उद्योग बन्द नै बन्द भएपछि कर्मचारीलाई बोलाएर के गर्नु ?’  विसं २०५० सालमा स्थापना भएको जगदम्बा स्टीलले मासिक ८० हजार टन तथा दैनिक उत्पादन क्षमता ३००० मेट्रिक टन स्टीलउत्पादन गर्ने रहेको उनको भनाइ छ । प्राधिकरणका अनुसार जगदम्बा स्टिलले १ अर्ब ६० करोड १८ लाख रुपैयाँ बक्यौता तिरेका छैनन् ।  डेडिकेटेड फिडर र ट्रंकलाइनबाट बिजुली उपभोग गरेपछि थप प्रिमियम शुल्क भुक्तान नगरेको भन्दै नेपाल विद्युत् प्राधिकरणले देशभरका २५ उद्योगको विद्युत् लाइन काटेको छ । प्राधिकरणले कात्तिक ४ मा ६ उद्योग र कात्तिक ७ मा थप १८ उद्योगको बिजुली काटेपछि यस्तो अवस्था सिर्जना भएको हो ।