विकासन्युज

भारतमा निपाह भाइरसका दुई सङ्क्रमण, अवस्था नियन्त्रणमा

मुम्बई । भारतका स्वास्थ्य अधिकारीहरूले पश्चिम बङ्गाल राज्यमा निपाह भाइरसका दुई सङ्क्रमण पुष्टि भए पनि अवस्था समयमै नियन्त्रणमा ल्याइएको जानकारी दिएका छन् । भारतको स्वास्थ्य मन्त्रालयले मङ्गलबार राति जारी गरेको विज्ञप्तिमा उन्नत निगरानी, प्रयोगशाला परीक्षण तथा क्षेत्रीय अनुसन्धानमार्फत सङ्क्रमण फैलिन नदिइएको स्पष्ट पारेको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार जनावरबाट मानिसमा सर्ने निपाह भाइरसको हालसम्म कुनै खोप उपलब्ध छैन र यसबाट हुने मृत्युदर ४० देखि ७५ प्रतिशतसम्म हुनसक्ने बताइएको छ । यति उच्च जोखिमका बाबजुद पनि हाल देखिएका दुईवटै सङ्क्रमणलाई समयमै नियन्त्रण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सङ्क्रमित व्यक्तिहरूसँग सम्पर्कमा आएका १९६ जनाको पहिचान गरी परीक्षण गरिएको छ र सबैको नतिजा नकारात्मक आएको छ । 'स्थिति निरन्तर निगरानीमा राखिएको छ र आवश्यक सबै जनस्वास्थ्यका उपायहरू कार्यान्वयनमा छन्', विज्ञप्तिमा उल्लेख छ । यद्यपि सङ्क्रमित बिरामीहरूको व्यक्तिगत विवरण सार्वजनिक गरिएको छैन । निपाह भाइरस पहिलो पटक सन् १९९८ मा मलेसियामा सुँगुरबाट किसानहरूमा फैलिएपछि पहिचान गरिएको थियो । भारतमा यसको पहिलो प्रकोप सन् २००१ मा पश्चिम बङ्गालमै देखिएको थियो । पछि सन् २०१८ मा केरलामा फैलिएको निपाहबाट कम्तीमा १७ जनाको मृत्यु भएको थियो भने सन् २०२३ मा सोही राज्यमा दुई जनाको ज्यान गएको थियो । यस भाइरसका प्रारम्भिक लक्षणमा उच्च ज्वरो, बान्ता र श्वासप्रश्वाससम्बन्धी समस्या देखिन्छन् । उहाँ फरक–फरक समय र विभिन्न सरकारमा गरी सबैभन्दा धेरै अवधिसम्म महाराष्ट्रको उपमुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्ने नेता थिए । स्वास्थ्य विज्ञहरूका अनुसार फल खाने चमेरा निपाह भाइरसका प्राकृतिक वाहक हुन् र विगतका प्रकोपहरूमा पनि उनीहरूलाई मुख्य स्रोतका रूपमा पहिचान गरिएको छ । हालको अवस्थामा पनि सतर्कता अपनाउँदै निगरानी अझ कडा बनाइएको भारतीय स्वास्थ्य अधिकारीहरूले बताएका छन् । रासस

सर्लाहीका चार वडाध्यक्ष नेपाली कांग्रेसमा प्रवेश, लोसपाका ३ केन्द्रीय सदस्यसहित ५०० जना भोलि प्रवेश गर्ने

काठमाडौं । सर्लाही जिल्लाको गोडैता नगरपालिकाका चार जना वडाध्यक्ष नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।  गोडैता नगरपालिका वडा नम्बर १ का अध्यक्ष सुजित महतो, वडा नम्बर २ का अध्यक्ष अजयप्रसाद शाह, वडा नम्बर ५ का अध्यक्ष प्रकाश गुप्ता र वडा नम्बर ११ का अध्यक्ष विश्वनाथ पण्डित कांग्रेसमा प्रवेश गरेको कांग्रेस नेता रघु कार्कीले जानकारी दिए । कांग्रेस सभापति गगनकुमार थापाले उनीहरूलाई औपचारिक रूपमा पार्टीमा स्वागत गरे । सभापति थापा सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका छन् । कार्कीका अनुसार लोकतान्त्रिक समाजवादी पार्टीका ३ केन्द्रीय सदस्यसहित ५०० नेता कार्यकर्ता भोलि (बिहीवार) पार्टी प्रवेश गर्दैछन् । गत स्थानीय तह निर्वाचनमा वडा नम्बर १ र २ का अध्यक्ष नेकपाबाट निर्वाचित भएका थिए भने वडा नम्बर ५ का अध्यक्ष जनता समाजवादी पार्टी र वडा नम्बर ११ का अध्यक्ष नेकपा एमालेबाट निर्वाचित भएका थिए ।  फरक–फरक दलबाट निर्वाचित वडाध्यक्षहरू एकैसाथ कांग्रेस प्रवेश गरेपछि सर्लाहीको स्थानीय राजनीति थप रोचक बनेको कार्कीले जानकारी दिए ।

सम्पत्ति शुद्धीकरण निवारण दिवसमा नेपाल एसबिआई बैंकका कर्मचारीद्वारा प्रतिज्ञा

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले 'सम्पत्ति शुद्धीकरण राष्ट्रिय निवारण दिवस'को अवसरमा आफ्ना सबै कार्यालयका कर्मचारीहरूलाई सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी वा अन्य गैरकानुनी प्रयोजनका लागि बैंकिङ प्रणाली दुरुपयोग हुन नदिन उच्चतम एमएल/सीएफटी प्रावधानको पालना गर्ने प्रतिज्ञा गराएको छ । नेपाल सरकारले माघ १४ गतेलाई राष्ट्रिय सम्पत्ति शुद्धीकरण निवारण दिवसका रूपमा मनाउने निर्णयअनुसार बैंकले उक्त दिवस मनाएको हो । यस अवसरमा बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारीले प्रधान कार्यालय, काठमाडौंमा आयोजित कार्यक्रममा सम्पूर्ण कर्मचारीहरूलाई प्रतिज्ञा गराएका थिए । कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन अधिकृत विकास आनन्द, प्रमुख वित्तीय अधिकृत राजेश कुमार पण्डा, प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत प्रवीण मुनि बज्राचार्यसहित अन्य वरिष्ठ पदाधिकारीहरूको उपस्थिति रहेको थियो । साथै, बैंकका प्रदेश तथा शाखा कार्यालयका कर्मचारीहरूले पनि आ–आफ्ना कार्यालयहरूमा सोही अवसरमा प्रतिज्ञा लिएका थि ए। नेपाल एसबिआई बैंक लिमिटेडले विगत ३२ वर्षदेखि नेपालमा बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । हाल बैंकका १०२ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, २१ शाखारहित बैंकिङ सेवा, १२७ एटीएम तथा १ कर्पोरेट कार्यालय सञ्चालनमा रहेका छन् ।

रवि लामिछानेलाई के भएको हो ? सामाजिक सञ्जालमा भेटिएको फोटो वास्तविक होइन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सेलुलाइटिस भएको छ ।  महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालले औषधी सेवन गर्दा पनि सन्चो नभएर सेलुलाइटिस भएको कारणले मंगलबार हाडजोर्नी विभाग अन्तर्गत भर्ना भएको जनाएको छ । लामिछानेलाई गत ५ गते जनकपुरको कार्यक्रममा देब्रे खुट्टामा चोट लागेको तथा औषध‍ी सेवन गर्दा पनि सन्चो भएको थिएन ।  उनलाई नशाबाट आईभी एन्टिबायोटिक्सको माध्यमबाट उपचार भइरहेको अस्पतालका प्रवक्ता डा. गोपाल सेडाईले जानकारी दिए । लामिछानेको अवस्था सामान्य रहेको र सामाजिक सञ्जालमा भेटिएका फोटोहरू अस्पतालको नरहेको उनले जानकारी दिए । उनका अनुसार सामाजिक सञ्जालमा भाइरल भइरहेको तस्बिर एआईबाट बनाइएको हो ।  सभापति लामिछाने पछिल्लो समय रास्वापाले अन्तिम पटक मधेसमा गरेको जागरण सभादेखि देखिएका छैनन् । उनले चितवनको २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दर्ता गराएका छन् । गत निर्वाचनमा उनी दुवै पटक सोही क्षेत्रबाट विजयी बनेका थिए । चोटका कारणले आफ्नो निर्वाचन क्षेत्रमा घरदैलोसमेत गर्न सकेका छैनन् । रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह यतिखेर देश दौडाहामा लागिरहेका छन् ।

खल्तीको ‘खल्ती चलाऊ, वर्ल्ड कप जाऊ’ अभियान सार्वजनिक, प्रत्यक्ष विश्वकप हेर्ने अवसर

काठमाडौं । नेपाली क्रिकेट टोलीले टी–२० विश्वकपमा ऐतिहासिक स्थान सुरक्षित गरेसँगै देशभर क्रिकेटप्रतिको उत्साह चुलिएको छ । यही उत्साहलाई थप उचाइमा पुर्‍याउने उद्देश्यसहित नेपालको अग्रणी डिजिटल वालेट खल्तीले ‘खल्ती चलाऊ, वर्ल्ड कप जाऊ’ अभियान सार्वजनिक गरेको छ, जसअन्तर्गत एक भाग्यशाली जोडीले सबै खर्च व्यहोरेर प्रत्यक्ष रङ्गशालामा बसेर विश्वकप हेर्ने अवसर पाउनेछ । क्रिकेट प्रशंसकहरूको सपना वास्तविकतामा बदल्ने लक्ष्यसहित ल्याइएको यो अभियानलाई खल्तीले गेमिफाइड अनुभवका रूपमा प्रस्तुत गरेको छ । खल्ती एपमार्फत मान्य कारोबार गर्दा प्रयोगकर्ताले डिजिटल स्क्र्याच कार्ड प्राप्त गर्नेछन्, जसमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका ११ खेलाडीमध्ये कुनै एकको कार्ड रहनेछ । बम्पर पुरस्कारको लक्की ड्रमा सहभागी हुन प्रयोगकर्ताले ११ वटै फरक–फरक खेलाडीका कार्ड संकलन गरी सेट पूरा गर्नुपर्नेछ । अभियानमा अन्तिम विजेतामात्र होइन, कार्ड संकलनको प्रत्येक चरणमा आकर्षक पुरस्कारहरू पनि समावेश छन् । २, ५, ७ र ११ वटा युनिक प्लेयर कार्ड संकलन गर्ने प्रयोगकर्ताले प्रोमोकोड प्राप्त गर्नेछन् । यस्तै, ५ वटा युनिक कार्ड संकलन गर्ने प्रयोगकर्तामध्येबाट प्रत्येक १५ दिनमा एक जना भाग्यशाली विजेताले ब्रान्ड न्यू जेडटिई स्मार्टफोन जित्ने अवसर पाउनेछन् । ११ वटै कार्ड पूरा गर्ने प्रयोगकर्ताहरू अन्तिम लक्की ड्रमा सहभागी हुनेछन्, जहाँ एक भाग्यशाली जोडीले पूर्ण प्रायोजित विश्वकप यात्रा जित्नेछ । खल्तीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले टी–२० विश्वकपमा नेपालको छनोट सम्पूर्ण नेपालीका लागि गर्वको क्षण भएको उल्लेख गर्दै ‘खल्ती चलाऊ, वर्ल्ड कप जाऊ’ अभियान सामान्य अफरभन्दा बढी रहेको बताए । प्रयोगकर्तालाई यो ऐतिहासिक यात्राको हिस्सा बनाउने उद्देश्यसहित उनीहरूलाई प्रत्यक्ष रङ्गशालासम्म पुर्‍याउन पाउँदा खल्ती उत्साहित रहेको उनले बताए । यो अभियान २०८२ साल असोज १३ गतेदेखि कार्तिक ११ गतेसम्म लागू हुनेछ । खल्ती प्रयोगकर्ताले युटिलिटी बिल भुक्तानी, टप–अप तथा अन्य दैनिक कारोबारहरू खल्ती एपमार्फत गरी यस योजनामा सहभागी हुन सक्नेछन् ।

निर्जीवन बीमा कम्पनीहरूको व्यापार १३.३७ प्रतिशतले बढ्यो, कसको व्यापार कस्तो ?

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमास (साउन–पुस) सम्म २३ अर्ब ६७ करोड रुपैयाँ बराबरको व्यापार गर्न सफल भएका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार १४ निर्जीवन बीमा कम्पनीहरूले ६ महिनासम्ममा १४ लाख १९ हजार ५४८ वटा बीमालेख जारी गरेर २३ अर्ब ६७ करोड ६२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन् । जुन अघिल्लो आवको यही अवधिको तुलनामा १३.३७ प्रतिशतले बढेको छ ।  अघिल्लो आवको यही अवधिमा बीमा कम्पनीहरूले १३ लाख ८९ हजार ३१९ वटा बीमालेख जारी गरेर २० अर्ब ८८ करोड ३५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका थिए । पुस महिनामा मात्रै निर्जीवन बीमा कम्पनीहरूले २ लाख ५७ हजार ३५२  बीमालेख जारी गरेर ४ अर्ब १८ करोड ६५ लाख रुपैयाँ आर्जन गरेका छन्। चालु आवको ६ महिनामा अघिल्लो आवको तुलनामा १३ बीमा कम्पनीको व्यापार बढेको छ भने एउटाको घटेको छ । यस अवधिमा सबैभन्दा धेरै शिखर इन्स्योरेन्सले व्यापार भित्र्याएको छ भने वृद्धिको हिसाबले हिमालयन एरभेष्ट इन्स्योरेन्स अग्रस्थानमा रहेको छ । पुससम्ममा शिखर इन्स्योरेन्सले १ लाख ४७ हजार ६०९ वटा बीमालेख जारी गरेर २ अर्ब ७७ करोड ६४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्ष पुससम्म कम्पनीले २ अर्ब ५९ करोड २ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । अघिल्लो आवको तुलनामा समीक्षा वर्षमा कम्पनीको व्यापार ७.१९ प्रतिशतले बढेको छ ।  त्यस्तै, दोस्रो धेरै व्यापार भित्र्याउने बीमा कम्पनीमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) रहेको छ । सलिकोले समीक्षा अवधिसम्ममा १ लाख ३२ हजार २२ वटा बीमालेख जारी गरेर २ अर्ब ६१ करोड ३३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । जुन अघिल्लो आवका तुलनामा कम्पनीको व्यापार २.३४ प्रतिशतले बढेको छ । अघिल्लो आवको यही अवधिमाा कम्पनीले २ अर्ब ५५ करोड ३६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । तेस्रो धेरै व्यापार भित्र्याउनेमा हिमालयन एभरेष्ट इन्स्योरेन्स रहेकोले पुससम्म २ अर्ब ४९ करोड २९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीहरूले १ अर्ब ७१ करोड ८४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । अघिल्लो आवको तुलनामा कम्पनीको व्यापार ४५.०७ प्रतिशतले बढेको छ । पुससम्ममा सिद्धार्थ प्रिमियर एभरेस्ट इन्स्योरेन्सले २ अर्ब २९ करोड ६५ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीले २ अर्ब १३ करोड रुपैयाँ आर्जन गरेको थियो । अघिल्लो आवको तुलनामा चालु आवमा कम्पनीको व्यापार २.७३ प्रतिशलते वृद्धि भएको छ ।  त्यस्तै, पुससम्ममा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले २ अर्ब ६ करोड ८० लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सले १ अर्ब ८७ करोड ९० लाख रुपैयाँ, नेको इन्स्योरेन्सले १ अर्ब ८० करोड २८ लाख रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्सले १ अर्ब ५३ करोड २२ रुपैयाँ, ओरिएन्टल इन्स्योरेन्सले १ अर्ब ५० करोड १३ लाख रुपैयाँ र सानिमा जीआईसी इन्स्योरेन्सले १ अर्ब ४२ करोड ८३ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले १ अर्ब १८ करोड १२ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सले ९३ करोड ७२ लाख रुपैयाँ, नेसनल इन्स्योरेन्सले ६९ करोड ९३ लाख रुपैयाँ र राष्ट्रिय बीमा कम्पनीले ५६ करोड ७२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । अघिल्लो आवको तुलनामा चालु आवको पुससम्ममा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको १९.०५ प्रतिशत, एनएलजी इन्स्योरेन्सको ३३.५५ प्रतिशत, नेको इन्स्योरेन्सको ८.२७ प्रतिशत, युनाइटेड अजोडको २७.२९ प्रतिशत, ओरिएन्टल इन्स्योरेन्सको ११.५७ प्रतिशत र सानिमा जीआईसीको १९.७१ प्रतिशत, नेपाल इन्स्योरेन्सको ८.०५ प्रतिशत, प्रभु इन्स्योरेन्सको ३.६९ प्रतिशत र नेशनल इन्स्योरेन्सको १२.४४ प्रतिशत व्यापार बढ्दा राष्ट्रिय बीमा कम्पनीको २०.३४ प्रतिशतले घटेको छ ।

कांग्रेसले आसन्न निर्वाचनलाई लक्षित गर्दै २१ माघदेखि विशेष रणनीति लागू गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आसन्न निर्वाचनलाई लक्षित गर्दै २१ माघदेखि विशेष रणनीति लागू गर्ने भएको छ ।  निर्वाचन केन्द्रित संगठनात्मक सक्रियता बढाउने उद्देश्यसहित पार्टीले देशव्यापी रूपमा पदाधिकारी तथा सदस्यहरूलाई जिम्मेवारीसहित मैदानमा खटाउने तयारी गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए । उनका अनुसार केन्द्रीय, प्रदेश, जिल्ला तथा स्थानीय तहका जिम्मेवारीमा रहेका कांग्रेसका पदाधिकारी र सदस्यहरू २१ माघदेखि २१ फागुनसम्म आ–आफ्नो जिम्मेवारी क्षेत्रमै रहेर संगठन सुदृढीकरण, मतदाता समन्वय र चुनावी तयारीमा सक्रिय रहनेछन् । प्रवक्ता चालिसेका अनुसार स्थानीय तहसम्म संगठनलाई चुस्त बनाउँदै कार्यकर्ता परिचालन, जनसम्पर्क विस्तार र चुनावी सन्देश प्रभावकारी रूपमा प्रवाह गर्नु नै विशेष रणनीतिको मुख्य लक्ष्य हो ।  यस अभियानलाई कांग्रेसले आगामी निर्वाचनको आधार तय गर्ने निर्णायक चरणका रूपमा लिएको प्रवक्ता चालिसेले जानकारी दिए ।

रमाडा बाइ विन्डहम इटहरी र धरान गल्फ कोर्स संघबीच सहकार्य

इटहरी । पूर्वी नेपालको पहिलो अन्तर्राष्ट्रिय पाँचतारे होटल रमाडा बाइ विन्डहम इटहरी र धरान गल्फ कोर्स संघबीच रणनीतिक आतिथ्य साझेदारी भएको छ । होटलको उद्घाटनको पूर्वसन्ध्यामा सम्पन्न उक्त सहकार्यले प्रिमियम मनोरञ्जन, खेल पर्यटन तथा उच्चस्तरीय आतिथ्य सेवाको विकासमा नयाँ सम्भावना सिर्जना गर्ने विश्वास लिइएको छ  । साझेदारी अन्तर्गत धरान गल्फ कोर्स संघका देशभरका विशिष्ट सदस्य तथा गल्फ खेलाडीहरूले रमाडा बाइ विन्डहम इटहरीका अन्तर्राष्ट्रिय मापदण्डअनुसारका सेवा–सुविधा होटल सञ्चालनपूर्व नै अनुभव गर्न पाउनेछन् । यस पहलले गल्फ पर्यटनको बढ्दो संस्कृतिलाई स्तरीय आतिथ्य सेवासँग जोड्दै पूर्वी नेपाललाई उच्च मूल्यका आन्तरिक तथा विदेशी पर्यटकका लागि आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्य राखेको जनाइएको छ । साझेदारीबारे प्रतिक्रिया दिँदै रमाडा बाइ विन्डहम इटहरीका महाप्रबन्धक अभिमन्यु कायस्थले धरान गल्फ कोर्स संघसँगको सहकार्य दीर्घकालीन दृष्टिकोणको हिस्सा भएको बताए। उनले यस सहकार्यमार्फत गन्तव्यको समग्र आकर्षण वृद्धि गर्दै विश्वस्तरीय आतिथ्य सेवा र स्थानीय सान्दर्भिकतालाई एकीकृत गर्ने प्रयास गरिएको उल्लेख गरे । महेन्द्र राजमार्ग र कोशी राजमार्गको संगमस्थलमा अवस्थित रमाडा बाइ विन्डहम इटहरी विराटनगर विमानस्थलबाट करिब २१ किलोमिटर दूरीमा रहेको छ।  होटलमा ८१ आधुनिक कोठा तथा सुइट, स्वीमिङ पुल, वेलनेस सुविधा तथा ‘ग्लोबल अल डे डाइनिङ’, ‘सत्रा लाउन्ज’, ‘पूलसाइड डाइनिङ’ र छतमा अवस्थित ‘शुक्रा बार’ जस्ता विशेष भोजन तथा मनोरञ्जन स्थल रहने जनाइएको छ । विश्वकै ठूला होटल समूहहरूमध्ये एक विन्डहम होटल्स एन्ड रिसोर्ट्स अन्तर्गत सञ्चालनमा आउन लागेको रमाडा बाइ विन्डहम इटहरीले रणनीतिक साझेदारी, सेवा उत्कृष्टता र अन्तर्राष्ट्रिय मापदण्डमार्फत पूर्वी नेपालमा लक्जरी आतिथ्य र गन्तव्य–आधारित पर्यटनको भविष्य निर्धारण गर्ने अपेक्षा गरिएको छ ।