एनआईसी एशिया बैंकका ग्राहकलाई देवदह मेडिकल कलेज एण्ड रिसर्च इन्स्टिच्युटमा उपचार गर्दा ५० प्रतिशतसम्म छुट
काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकलाई देवदह मेडिकल कलेज एण्ड रिसर्च इन्स्टिच्युटमा उपचार गर्दा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा अस्पताल र बैंकबीच सम्झौता सम्पन्न भएको छ । यस समझदारीसँगै यस बैंकका ग्राहकले देवदह, रुपन्देहीमा रहेको उक्त अस्पतालमा सेवा लिई डिजिटल भुक्तानी गर्दा ५० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत (प्रमुख सूचना अधिकारी) अर्जुनराज खनियाले जानकारी दिए । यस अस्पतालमा सेवा लिँदा ओपीडी टिकटमा ५० प्रतिशत, नर्मल बेड चार्जमा २५ प्रतिशत, आईसीयू/एनआईसीयू/पीआईसीयू/सीसीयूमा १० प्रतिशत, सर्जिकल ट्रिटमेन्ट्समा १५ प्रतिशत प्याथोलोजिकल ल्याब चार्जमा १५ प्रतिशत, रेडियोलोजिकल सर्भिसमा १५ प्रशित (सीटी र एमआरआई बाहेक) र अन्य सेवाहरुमा १० प्रतिशत छुट सुविधा रहेको छ । यस सुविधाको उपयोग गर्न ग्राहकले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्ने छ । उक्त अस्पतालसँगको यस सहकार्यले ग्राहकलाई छुट सुविधा उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।
‘जेनजी’ प्रदर्शनका क्रममा भएको क्षति मूल्याङ्कन गर्न ४४ जिल्लामा ३८ टोली परिचालन
काठमाडौं । गत भदौ २३ र २४ गतेको ‘जेनजी’ प्रदर्शनका क्रममा सार्वजनिक सम्पत्ति, भौतिक संरचना तथा निजी प्रतिष्ठानमा भएको क्षतिको मूल्याङ्कन गर्न तथा पुनःनिर्माण योजना तयार गर्नका लागि अध्ययन गर्न ४४ जिल्लामा ३८ वटा टोली परिचालन गरिएका छन् । राष्ट्रिय योजना आयोगका सहायक प्रवक्ता डा. दिवाकर लुइँटेलका अनुसार आगामी हप्ताभित्र सबै क्षतिको विवरण सङ्कलन गरिसक्ने गरी टोली परिचालन गरिएको हो । तथ्याङ्क सङ्कलनमा एकरुपता तथा सहजताका लागि आयोगले ‘क्षति मूल्याङ्कन सर्वेक्षण पोर्टल’ समेत सञ्चालन गरेको र सम्बन्धित स्थानीय तह तथा प्रदेश र सङ्घका कार्यालयले अनलाइनमार्फत क्षतिको विवरण पेस गर्नुपर्ने व्यवस्था गरिएको उनले जानकारी दिए । ‘प्रदर्शनका क्रममा क्षति पुगेका ४४ जिल्लाका करिब २६० हाराहारी पालिका, सबै प्रदेश र सङ्घीय सरकारका विषयगत मन्त्रालय एवं केन्द्रीय निकायलाई ‘युजरनेम’ र ‘पासवर्ड’ उपलब्ध गराइएको छ । सङ्कलित तथ्याङ्क तथा विवरण सर्वेक्षण पोर्टलमा राख्नुपर्नेछ,’ सहायक प्रवक्ता लुइँटेलले भने । तथ्याङ्क उपलब्ध गराउनका लागि सम्बन्धित पालिका, प्रदेश कार्यालय तथा सङ्घीय निकायलाई जिम्मेवार बनाइए पनि सहजीकरणका लागि प्राविधिक जनशक्तिसहितको टोली खटाइएको आयोगले जनाएको छ । आइतबारसम्म सबै टोली कार्यस्थलमा पुगिसक्ने र एक हप्ताभित्र तथ्याङ्क संकलन गरिसक्ने लुइँटेलले बताए । यसअघि, प्रदर्शनका क्रममा सार्वजनिक सम्पत्ति, भौतिक संरचना तथा निजी प्रतिष्ठानमा भएको क्षतिको मूल्याङ्कन तथा पुनःनिर्माण योजना तयारीका लागि गत असोज ५ गतेको मन्त्रिपरिषद् बैठकबाट राष्ट्रिय योजना आयोगका सचिवको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको थियो । उक्त समितिलाई क्षतिको मूल्याङ्कन र पुनःनिर्माण योजना तयार गर्नेगरी कार्यादेश दिइएको छ । यस्तै, योजना आयोगका सहसचिवको संयोजकत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ, गृह, सङ्घीय मामिला तथा सामान्य प्रशासन, सहरी विकास मन्त्रालय र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणका सहसचिवको प्रतिनिधित्व रहेनगरी सहजीकरण उपसमितिसमेत गठन गरिएको छ । योजना आयोगका सहसचिवको नेतृत्वमा सचिवालय गठन गरिएको छ । यस्तै, आयोगका अनुसार उपसचिवको नेतृत्वमा ४१ जिल्लामा ३४ र उपत्यकाका तीन जिल्लामा चार वटा टोली गरी ३८ टोली परिचालन गरिएको छ । साथै सुपरीवेक्षणका लागि सहसचिवको नेतृत्वमा सबै प्रदेश र उपत्यकामा गरी ११ वटा टोली परिचालन गरिएका छन् ।
भिजिट भिसासम्बन्धी नयाँ मापदण्ड जारी
काठमाडौं । सरकारले भिजिट भिसासम्बन्धी नयाँ मापदण्ड जारी गरेको छ । सरकारले शुक्रबार (आज) देखि नयाँ मापदण्ड जारी गरेको हो । अध्यागमन विभागको प्रस्तावमा यसअघिको ६ बुँदे मापदण्ड खारेज गर्दै नयाँ मापदण्ड जारी गरिएको हो । यसअघिको ६ बुँदे मापदण्ड लगायत यसअघि विभिन्न समयमा जारी गरिएका भिजिट भिसासम्बन्धी प्रावधानहरू सरकारले खारेज गरेको छ । यो व्यवस्था आजैको मितिदेखि कार्यान्वयन हुने विभागले जनाएको छ । साथै विभागले बिचौलियाको प्रभावमा नपरी आफ्नो गन्तव्य र यात्राको बारेमा पूर्ण रूपमा सुसूचित भई निर्धक्क भई यात्रा गर्नसमेत अनुरोध गरेको छ । विभागले सबै स्थानीय तह र जिल्ला प्रशासन कार्यालयहरूलाई नयाँ मापदण्डबारे सबैलाई सूचना दिन पनि अनुरोध गरेको छ । कागजपत्र निर्माणको प्रक्रिया झन्झटिलो भएको गुनासाहरू आएका कारण मापदण्ड परिमार्जन गरिएको हो । विभागका अनुसार नयाँ मापदण्ड अनुसार भिजिट भिसामा विदेश जाँदा ६ महिना अवधि भएको राहदानी, गन्तव्य मुलुकको भिसा, प्रस्थान गर्न गन्तव्यसम्मको हवाई टिकट र भ्रमणका लागि आवश्यक कागजात साथमा रहेको र यसबाट सिर्जित परिणाममा स्वयं जिम्मेवार रहने व्यवहोराको स्वघोषणा उल्लेख गरेको हुनुपर्नेछ ।
सामसङ र एनभीडीयाको सहकार्यमा विश्वकै पहिलो एआई मेगाफ्याक्ट्री निर्माण हुने
काठमाडौं । दक्षिण कोरियाली प्रमुख सेमिकन्डक्टर कम्पनी सामसुङले बिहीबार मोबाइल उपकरण र रोबोटका लागि चिप उत्पादनमा सुधार गर्न ५० हजार एनभीडीया ग्राफिक प्रोसेसिङ युनिट (जीपीयू) खरिद गरी स्थापना गर्ने योजना बनाएको घोषणा गरेको छ । यी ५० हजार एनभीडीया जीपीयू प्रयोग गरी सामसङले ‘एआई मेगाफ्याक्ट्री’ नामक एक नयाँ सुविधा (फ्यासिलिटी) निर्माण गर्ने बताएको छ । कम्पनीले यो सुविधा कहिले निर्माण सुरु गर्ने भन्ने विवरण भने खुलाएको छैन । यो कदम एनभीडीयाका लागि अर्को ठूलो साझेदारीको रूपमा आएको हो, जसका चिपहरू उन्नत कृत्रिम बौद्धिकता (एआई) निर्माण र सञ्चालनका लागि अत्यावश्यक बनेका छन् । सामसङसँगको यो सहकार्य एनभीडीयाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङले मंगलबार वासिङटन डीसीमा दिएको घोषणापछि आएको हो, जहाँ उनले पलान्टिर, एली लिली, क्राउडस्ट्राइक, उबरजस्ता कम्पनीहरूसँग पनि सहकार्य भइरहेको बताएका थिए । स्थानीय मिडियाका अनुसार उक्त भाषणपछि हुआङ दक्षिण कोरियामा सामसङका अध्यक्ष ली जे–योंग र अन्य व्यापारिक नेतासँग बियर पिएको अवस्थामा देखिएका थिए । एनभीडीयाका अनुसार अन्य कोरियाली कम्पनीहरू जस्तै एसके ग्रुप र ह्युन्डाई पनि यस्तै मात्राको जीपीयू प्रयोगमा छन् । एनभीडीयाका एसिया–प्यासिफिकका वरिष्ठ उपाध्यक्ष रेमण्ड तेहले बुधबार पत्रकारहरूसँगको कुराकानीमा भने, ‘हामी कोरियाली सरकारसँग मिलेर एआई क्षेत्रमा त्यसको महत्त्वाकांक्षी नेतृत्व योजनालाई सहयोग पुर्याइरहेका छौं ।’ यी साझेदारहरूले हुआङको मंगलबारको दाबीलाई समर्थन गर्छन् कि एनभीडीयासँग हालको पुस्ताको ब्ल्याकवेल जीपीयू र आगामी पुस्ताको रुबिन जीपीयूबाट मात्रै ५०० अर्ब अमेरिकी डलर बराबरको कारोबार सुनिश्चित भएको छ । यसै पूर्वानुमानका कारण एनभीडीयाको सेयर मूल्य बढ्दै कम्पनी ५ ट्रिलियन अमेरिकी डलर बजार मूल्य पुगेको पहिलो कम्पनी बनेको छ । बिहीबार एनभीडीयाका प्रतिनिधिहरूले भने कि उनीहरूले सामसङसँग सहकार्य गरी त्यसको चिप निर्माणमा प्रयोग हुने लिथोग्राफी प्लेटफर्मलाई एनभीडीया जीपीयू अनुरूप अनुकूल बनाउनेछन् । उक्त प्रक्रिया पछि सामसङको प्रदर्शनमा २० गुणासम्म सुधार आउने जनाइएको छ । सामसङले एनभीडीयाको ओम्निभर्स नामक सिमुलेशन सफ्टवेयर पनि प्रयोग गर्नेछ । मोबाइल फोनका लागि प्रसिद्ध सामसङले आफ्ना उपकरणहरूका लागि आफ्नै एआई मोडेल सञ्चालन गर्न पनि एनभिडियाका जीपीयू प्रयोग गर्ने जनाएको छ । एनभीडीयाको साझेदार र ग्राहक मात्र नभई सामसङ त्यसको मुख्य आपूर्तिकर्ता पनि हो । सामसङले एनभीडीयाका एआई चिपहरूसँग प्रयोग हुने हाई–ब्यान्डविड्थ मेमोरी (एचबीएम) उत्पादन गर्छ । कम्पनीले भनेको छ कि एनभीडीयासँग मिलेर उक्त मेमोरीको चौथो पुस्ता एआई चिपहरूमा प्रयोग गर्न अझ परिष्कृत गर्नेछ । ट्रम्पले परमाणु परीक्षण पुनः सुरु गर्न आदेश दिएपछि रूस ‘रेड अलर्ट’ मा
सार्वजनिक जग्गा अतिक्रमणमाथि प्राधिकरणको कठोर कदम, बल प्रयोग गरी अवैध संरचना हटाइने
काठमाडौं । धोबीखोला करिडोरदेखि बागमती आसपासका अवैध संरचना हटाइने भएको छ । काठमाडौं उपत्यका प्राधिकरणका अनुसार धोबीखोला, बागमती नदी आसपासमा सार्वजनिक जग्गामा संरचना बनाएर अवैध रूपमा बसेकाहरूलाई हटाउन लागिएको हो । लामो समयदेखि मौखिक रुपमा त्यस्ता संरचना बनाएर बसेकाहरूलाई हट्न भनिएपनि सुनुवाइ नभएपछि ७ दिने अल्टिमेटम दिइएको प्राधिकरणकी विकास आयुक्त जानुका ढकालले बताइन् । उनका अनुसार त्यसरी सार्वजनिक जग्गा हडपेकाहरूले निर्धारित समयमै खाली नगराए बल प्रयोग गरेर हटाइनेछ। सुकुम्वासी बस्तीलाई हटाउने तयारी अहिले नगरिएको उनले जानकारी दिइन् । प्राधिकरणकी विकास आयुक्त ढकालले भनिन्, ‘धोवीखोला, बागमती नदी आसपासका सार्वजनिक जग्गा हडपेर संरचनाहरू बनाइएका छन् ती खाली गर्नू भनिएको हो । सात दिनभित्र खाली गर्न भनेका छौं । थापाथलीको सुकुम्वासी बस्तीलाई अहिले नै हटाउने योजना भने छैन । सुकुम्वासीकालाई यो सूचना जारी गरिएको होइन । सुकुम्बासी समस्या अर्कै समस्या हो । यसको समाधान खोजेर मात्रै हटाउनुपर्छ ।’ काठमाडौं विकास प्राधिकरण र काठमाडौं महानगरले आज सूचना जारी गर्दै त्यस्ता संरचना हटाउन ७ दिने अल्टिमेटम जारी गरेको थियो । अतिक्रमित जग्गा तथा मापदण्ड विपरितका संरचना खाली गर्न जारी गरिएको सूचनामा काठमाडौँ महानगरपालिका र काठमाडौं उपत्यका विकास प्राधिकरणको मिति २०८२ असोज २ गते बसेको संयुक्त बैठकबाट निर्णय भएको उल्लेख गरिएको छ । सार्वजिक सूचनामा भनिएको छ – ‘सूचना जारी गरी अतिक्रमित सार्वजनिक जग्गा र मापदण्ड विपरितका संरचना खाली गर्ने/हटाउने निर्णय भएको जानकारी गराइन्छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ के परिच्छेद ७ र दफा ४५ विपरीत भवनजन्य संरचना निर्माण गर्न नहुने र सोही ऐनको दफा ९७ अनुसार सार्वजनिक जग्गा तथा सम्पत्तिको संरक्षण, विकास व्यवस्थापन गर्ने जिम्मेवारी र दायित्व स्थानीय तहको भएकाले यस विपरीत भए/गरेका कार्यहरू ७ (सात) दिनभित्र हटाइ सहयोग गरिदिनुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ ।’ काठमाडौं महानगरपालिका क्षेत्रभित्र र सीमाना जोडिएका काठमाडौं जिल्ला भित्रका यस्ता सार्वजनिक स्थानका अतिक्रमित तथा मापदण्ड विपरीतका संरचना नहटाए कारबाही गरी खाली गर्न भनिएको छ ।
निजामती कर्मचारी अस्पतालका नर्सहरू पनि आन्दोलित
काठमाडौं । निजामती कर्मचारी अस्पताल (सिभिल हस्पिटल) मा नर्सहरूले पनि आन्दोलन सुरु गरेका छन् । शुक्रबार काठमाडौंको मीनभवनस्थित सो अस्पतालको मूल गेटमा धर्ना दिँदै उनीहरुले उचित पारिश्रमिक दिनुपर्ने लगायतका नेपाल नर्सिङ संघले सरकारलाई बुझाएको १५ बुँदे मागसहितको आन्दोलनमा ऐक्यवद्धता जनाएका हुन् । न्यूनतम सेवा र सुविधाबाट वञ्चित नगर्न माग गर्दै सो संघले जारी राखेको आन्दोलनमा आफूहरूले पनि धर्नामार्फत ऐक्यवद्धता जनाएको बताएका छन् । उनीहरुले योग्यता र अनुभवको आधारमा आफूहरूलाई सेवा दिने व्यवस्था गर्न पनि सरकारलाई दबाब दिए । आन्दोलनरत एक नर्सले भनिन्, ‘चौबिसै घण्टा सेवा दिने हामीहरु आवश्यक सेवा लिनबाट वञ्चित छौं । नेपाल नर्सिङ संघले मागेको आवश्यक सेवासुविधालाई हामीले पनि धर्नामार्फत साथ दिएका हौं ।’ बिहान १० बजेदेखि १२ बजेसम्म धर्नामा बसेका उनीहरूले श्रमको उचित मूल्यांकन गर, योग्यता र अनुभवकोअनुसार पारिश्रमिक कायम गर, जोखिम भत्ता र अतिरिक्त भत्ताको तत्काल व्यवस्था गर भन्ने प्लेकार्डसहित धर्नामा बसेका थिए । नेपाल नर्सिङ संघको आह्वानमा देशभर नर्सहरूले आफूहरूको न्यूनतम सेवा, सुविधाको तत्काल व्यवस्था गर्नुपर्नेलगायतका माग राखी देशभर विरोध प्रदर्शन गर्दै आएका छन् ।
अब शाखा धाउनु पर्दैन, बैंकले घरमै पुर्याउनेछ पैसा
काठमाडौं । तपाईंलाई पैसा चाहियो ? कि तपाईंसँग भएको नगद रकम बैंकमा जम्मा गर्नुपर्याे ? नयाँ चेक बुक आवश्यक परेको छ ? कि बैंक स्टेटमेन्ट हेर्नुपर्याे ? वा अन्य कुनै बैंक सेवाको खाँचो परेको छ ? तपाईंलाई यी वा यस्तै बैंकिङ सेवाको आवश्यकता परेको छ तर बैंकसम्म जान समय छैन ? अब काम व्यस्तताले बैंकसम्म जान सक्नु भएन भने ढुक्क हुनुस्, तपाईंको घरमै आएर बैंकिङ सेवा दिनेछ कामना सेवा विकास बैंकले । कामना सेवा विकास बैंकले विशिष्ट बचत खाता अन्तर्गत नेपालमै पहिलोपटक ‘डुअर स्टेप बैंकिङ सर्भिस’ प्रडक्ट ल्याएको छ । दैनिक कार्यमा व्यस्त रहने तथा बैंकसम्म नआई बैंकिङ सुविधा लिन चाहने ग्राहकहरूका लागि बैंकले यो सुविधा ल्याएको हो । अत्याधुनिक प्रविधिमा आधारित यस सेवा अन्तर्गत बैंकले नगद जम्मा गर्ने, खाताबाट नगद झिक्ने, चेक बुक माग गर्ने, बैंक स्टेटमेन्ट, ब्यालेन्स सर्टिफिकेट तथा अन्य सुविधा ग्राहकको घर वा कार्यालयमा नै गएर प्रदान गर्ने नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) विनय दाहाल बताउँछन् । ‘यो प्रडक्ट मोबाइल एपमा नै उपलब्ध छ । कुनै पनि ग्राहकले बैंक खाता खोलि सकेपछि नगद झिक्ने, झिक्ने जम्मा गर्ने, चेकबुक, स्टेटमेन्ट लगायत सेवा आवश्यक पर्याे भने मोबाइल एपबाटै अर्डर वा रिक्वेस्ट गर्न सक्नु हुन्छ । त्यसपछि ग्राहकले मागेको सुविधालाई बैंकले सम्बन्धित ग्राहक भएको ठाउँमा डेलिभरी गर्नेछ,’ डीसीईओ दाहालले भने । उनका अनुसार यो सुविधा सहकारी संस्थाले दिने भन्दा नितान्त फरक छ । कसरी भन्दा यस योजनामा सबै रेकर्ड हुन्छ । कुन समयमा अर्डर गरिएको छ भनेर समय पनि देखिन्छ । जस्तो कुनै ग्राहकलाई पैसा जम्मा गर्नुपर्नेछ भने सम्बन्धित ग्राहकले आफ्नो मोबाइल एपबाट अर्डर गर्नुपर्ने हुन्छ । त्यसपछि बैंकका कर्मचारीहरू ग्राहक भएको ठाउँमा पुगेर उक्त रकम ल्याएर बैंकमा जम्मा गरिदिने छन् । योजनामा जोखिम कति ? डीसीईओ दाहालका अनुसार यस योजनामा जोखिम छैन । जस्तो नगद माग गर्नु भएको छ भने ग्राहकले पैसा पाएपछि मात्रै स्क्यान गरेर ओटीपी कोड राखेपछि मात्रै रकम खाताबाट काटिनेछ । ‘रिक्वेस्ट गर्ने बित्तिकै रकम काटिने भन्ने हुँदैन । ग्राहकले हातमा नगद पाइ सकेपछि मात्रै खाताबाट रकम काटिने हाे । यो सेवा अनलाईनमार्फत सामान खरिद गरे जस्तै हो,’ डीसीईओ दाहालले भने, ‘जस्तो कुनै ग्राहकले डेबिट कार्डको लागि रिक्वेस्ट गर्नु भयो । त्यो रिक्वेस्ट कहाँबाट आयो, कुन स्थानबाट रिक्वेस्ट आयाे, कुन स्थानमा डेलिभरी गर्नुपर्ने हो सबै विवरण बैंकलाई उपलब्ध हुन्छ । त्यो भेरिफाइ पनि गरिन्छ । त्यसपछि डेलिभरी गरेर ग्राहक भएकाे ठाउँमा पुर्याइन्छ । ग्राहकले मैले पाए भनेर स्क्यान गर्नुपर्ने हुन्छ । स्क्यान गर्दा ओटीपी कोड आउँछ । त्यो ओटिपी कोड माेबाइल एपमा राखेपछि मात्रै कन्फरमेसन हुन्छ ।’ यो प्रडक्टकाे के फाइदा ? डीसीईओ दाहालका अनुसार यस योजनामा बैंकिङ सेवा लिने ग्राहकलाई सबैभन्दा पहिला बैंकमा धाइराख्नु परेन । काममा व्यस्त रहेका मान्छेलाई समयको बचत हुने र घरमै बसेर बैंक सेवा पाउन सकिनेछ । साथै विदेशमा बसेका छोराछोरीहरूले नेपालमा रहेका आफ्ना आमाबुवालाई यस योजनाबाट फाइदा लिन सक्ने उनको भनाइ छ । ‘जस्तो छोराछोरी विदेशमा र आमाबुवा घरमा हुनुहुन्छ । आमाबुवालाई बैंक सेवा चाहियो भने विदेशमा भएका छोराछोरीले उताबाटै अर्डर गर्न सक्नु हुन्छ । व्यापारीहरू, कर्मचारी वा जो व्यस्त छन् र बैंकमा जान गाह्रो हुनेहरूका लागि होम बैंकिङ सुविधा उपयुक्त हुन्छ,’ उनले भने, ‘घरमै बैंकको सेवा सुविधा पाइने भएपछि ग्राहकहरू थपिने छन् । यसले निक्षेप खाता ग्राहक बढ्नेछन् ।’ डीसीईओ दाहालका अनुसार तत्कालका लागि उक्त सुविधा काठमाडौं उपत्यका भित्र मात्रै सञ्चालन हुनेछ । निकट भविष्यमा यस प्रडक्टलाई उपत्यका बाहिरी पनि विस्तार गरिने योजना रहेको उनको भनाइ छ । दाहालका अनुसार यस योजनामा लागत धेरै लाग्ने छैन । रिक्वेस्टका आधारमा जनशक्ति तयार रहेको उनले बताए । उनका अनुसार यो सुविधा हेड अफिसबाट सञ्चालन हुनेछ । ‘एक दिनमा १ सय जनाले खाता खोल्नु भयो भने एकै दिन १ सय जनाले सेवा लिनु हुन्छ भन्ने हुँदैन । कुनै ग्राहकले आज, कुनैले भोलि र कुनैले पर्सि सेवा लिनु हुन्छ होला । त्यसैले केही कर्मचारीलाई मात्रै राखिएको छ,’ डीसीईओ दाहालले भने ।
नेशनल लाइफ इन्स्योरेन्सको सफलताको सुरुवात कार्यक्रम सम्पन्न
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले आफ्ना अभिकर्ताहरूका लागि ‘सफलताको सुरुवात’ कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीमा कार्यरत अभिकर्ताहरूका लागि २०८२ भाद्र महिनामा सञ्चालन गरेको मासिक योजनाअन्तर्गत लक्ष्य पुरा गर्न कार्यक्रमको आयोजना गरिएको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीको उपस्थितिमा सम्पन्न कार्यक्रममा विभागीय प्रमुखहरू, प्रदेश प्रमुख, तथा विभिन्न शाखाका शाखा प्रमुखहरूसहित देशै भरीबाट उत्कृष्ट व्यवसाय गरी योजनामा छनौट हुन सफल भएका करिब ३०० जना वरिष्ठ अभिकर्ताहरूले कार्यक्रममा सहभागिता जनाएका थिए । सीईओ खत्रीले अभिकर्ताहरूलाई सम्वोधन गर्दै कम्पनीले आर्थिक बर्ष २०८१।८२ मा उल्लेखनीय व्यवसाय गर्न सफल हुनुमा अभिकर्ताहरूको मुख्य भूमिका रहेकोमा दुईमत नरहेका बताए । उनले कम्पनीलाई अग्रस्थानमा पुर्याउन महत्त्वपूर्ण भुमिका खेल्ने अभिकर्ता समूहलाई उच्च प्राथमिकतामा राख्दै नयाँनयाँ योजनाहरू प्रस्तुत गरेका थिए । यसैगरी, कम्पनीका बजार विभाग प्रमुख विवेक शर्माले सेल्स स्किल सम्बन्धमा तालिम प्रदान गरेका थिए । कार्यक्रममा सहभागी अभिकर्ताहरूले महानायक राजेश हमालसँग साक्षात्कार गर्ने अवसर प्रदान गरेकोमा कम्पनीप्रति आभार व्यक्त गर्दै यस प्रकारको कार्यक्रमबाट वृत्ति विकासमा समेत योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए ।