विकासन्युज

राष्ट्रिय वाणिज्य बैंकको ६ महिनामा नाफा १ अर्ब ७५ करोड, निष्क्रिय कर्जा ४.५५ प्रतिशत

काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको चालु आर्थिक वर्षको प्रथम ६ महिनासम्मको निष्क्रिय कर्जा ४.५५ प्रतिशत रहेको तथा नाफा एक अर्ब ७५ करोड रुपैयाँ भएको जनाएको छ । यो अपरिस्कृत विवरण हो ।  बैंकको ६१ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष देवकुमार ढकालले उत्पादनशील क्षेत्रलाई प्राथमिकतामा राखेर बैंकले कर्जा प्रवाह गरिरहेको जानकारी दिए ।  'हाल पूँजीबजार, निर्माण, सेवा, लगानी प्रवद्र्धन एवं विकास निर्माणका क्षेत्रमा सकारात्मक संकेत देखिएका छन्, यसले अर्थतन्त्रमा आशाको सञ्चार गरेको छ', उनले भने । बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले नवीन सोच र सङ्कल्पका बैंकले वित्तीय सेवा प्रवाह गर्दै आएको बताए ।  कर्जा प्रवाह बढाउनु चुनौती भएको स्वीकार गर्दै  उनले भने,  'बैंकको पूँजीको आधार सुदृढ बनाउन तीन खर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासनको तयारीमा रहेको छ । बैंकसँग हाल कर्जा निक्षेपको अनुपातका आधारमा एक खर्ब ७१ अर्ब रुपैयाँ तथा तरलताका आधारमा एक खर्ब ३९ अर्ब रुपैयाँको लगानीयोग्य रकम देखिएतापनि पूँजी पर्याप्ताका आधारमा थप १८ अर्ब रुपैयाँ मात्र कर्जा प्रवाह गर्ने अवस्था छ ।'    कार्यक्रममा दिइएको जानकारीअनुसार बैंकले निक्षेपतर्फ ४७ लाख ४३ हजार र कर्जातर्फ दुई लाख २६ हजार भन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको छ । चुक्ता पूँजी १५ अर्ब ६३ करोड रुपैयाँ भएको बैंकले चालु आवका छ महिनामा कुल निक्षेप पाँच खर्ब ५३ अर्ब रुपैयाँ सङ्कलन तथा  १९ अर्ब रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको छ ।   

दीपेन्द्र अग्रवालसहित दुई हजार १०० जना एमालेमा प्रवेश

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य दीपेन्द्र अग्रवालसहित दुई हजार १०० जना नेपाल कम्युनिष्ट पार्टी (एमाले) मा प्रवेश गरेका छन् ।   ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा शनिबार आयोजित कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले उनीहरूलाई खादा र टीका लगाएर पार्टी प्रवेश गराएका हुन् ।       त्यस अवसरमा धितोपत्र व्यवसायी अग्रवाल, युवा व्यवसायीहरु सुरेन्द्र शाही, खगेन्द्र थापा, पदम साउद, अशोक साउदसहितका  नवप्रवेशीहरुले ‘सेयर बजारको विकास र विस्तारका लागि एउटै मञ्चबाट सम्बोधन’ को सन्देश दिएको बताए ।        

सुशासनका लागि अभियान सञ्चालन गर्दै रामप्रसादराई पालिका

भोजपुर । यहाँको रामप्रसादराई गाउँपालिकाले सुशासन कायम गर्न अभियान सञ्चालन गर्ने भएको छ  । शुक्रबार यहाँ आयोजित स्थानीय सरकारसम्बन्धी अभिमुखीकरण कार्यक्रममा उक्त जानकारी दिइएको हो । प्रमुख जिल्ला अधिकारी राजन पौडेलसहित जनप्रतिनिधि तथा सरोकार भएकाहरुको उपस्थितिमा भएको उक्त कार्यक्रममा गाउँपालिका अध्यक्ष थामबहादुर राईले परदर्शिता र जवाफदेहीता सुनिश्चित नभएसम्म सुशासन कायम गर्न सम्भव नहुने भएकाले अभियान नै सञ्चालन गर्नुपरेको बताए । सुशासन तथा स्थानीय सेवा समितिका संयोजक एकराज आचार्यले सुशासनको अभावमा सेवा प्रवाह प्रभावित हुने भएकाले हरेक कर्मचारीलाई जिम्मेवार बनाउन अभियान थालिने जानकारी दिए ।

हरिबोल गजुरेलसहित नेकपाबाट सात जना निष्कासित

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध मनोनयन दर्ता गराएका तथा उनीहरुलाई समर्थन गरेका सात जना नेता तथा कार्यकर्तालाई कारबाही गरेको छ ।     पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले आज जारी गरेको संयुक्त विज्ञप्तिमा पार्टीका निर्णय र निर्देशनविपरीत उम्मेदवार बनेका र त्यस्ता उम्मेदवारका प्रस्तावक, समर्थक तथा प्रचारक बनेका नेता तथा कार्यकर्तालाई पार्टीबाट निष्काशन गरिएको जनाइएको छ ।      नेकपाले सिन्धुलीका नेता हरिबोल गजुरेल र महेश्वर दाहाल, दाङका कुलप्रसाद केसी, उदयपुरका मेजर राई, सिरहाका धर्मनाथ साह, राजकुमारी साह र जिवछ साहलाई निष्काशन गरिएको जनाएको छ ।  

निर्वाचन प्रहरी भर्ना : तेस्रो पटक म्याद थप्दा पनि मागअनुसार आवेदन परेन

बागलुङ । बागलुङमा निर्वाचन प्रहरी भर्नाका लागि तीन पटक म्याद थप गर्दा पनि माग अनुसारको आवेदन आउन सकेको छैन । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका जिल्लामा एक हजार २९८ जना नेपाल प्रहरीतर्फ र १८९ जना सशस्त्र प्रहरीबाट गरी कूल एक हजार ४८७ जना माग गरिएको थियो । तर हालसम्म नेपाल प्रहरीबाट एक हजार ४८ र सशस्त्र प्रहरीबाट तीन जना गरी एक हजार ५१ जनाको मात्र आवेदन परेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक तिलक भारतीले जानकारी दिए । हालसम्म पुरुष ८२३ जना र महिला २२८ जनाले आवदेन दिएको उनको भनाइ छ । गत पुस २४ गतेदेखि माघ १ गतेसम्म दरखास्त आह्वान गरिएको थियो । उक्त समय अवधिमा माग अनुसार दरखास्त नआएपछि थप माघ २ र ३ गते दुई दिन थप गरिएको प्रहरी उपरीक्षक भारतीले बताए । माग अनुसारको आवेदन पूरा हुनका लागि अझै ४३६ जना आवश्यक रहेको उनको भनाइ छ । मागअनुसारको आवेदन नआएपछि तेस्रो पटक आइतबारसम्मलाई आवेदन दिन म्याद थप गरेको छ । आवेदकहरूलाई सहज होस् भन्ने हिसाबले जिल्ला प्रहरी कार्यालय बागलुङसहित इलाका प्रहरी कार्यालय बुर्तिबाङ र गलकोटबाट पनि आवेदन दिन सकिने उनी बताउँछन् ।

काठमाडौं महानगरपालिकाका सामुदायिक विद्यालयमा बालबालिका भर्ना उल्लेख्य वृद्धि

काठमाडौं । विगतका वर्षहरूमा भन्दा आगामा शैक्षिक शत्रका लागि काठमाडौं महानगरपालिकाको सामुदायिक विद्यालयमा भर्ना हुन आउने नयाँ बालबालिकाको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । सरस्वती पूजाका दिन काठमाडौं महानगरभित्रका सामुदायिक विद्यालयमा एक हजार १ सय १५ जना नयाँ बालबालिकाको अक्षरारम्भ गरेका कामपा शिक्षा विभागले शिक्षा विभागका निमित्त प्रमुख केशव ज्ञवालीले जानकारी दिए । उनका अनुसार गएको वर्षभन्दा यस वर्ष १ सय ४४ जना बढी बालबालिकाले अक्षरारम्भ गरेका छन् । काठमाडौं महानगरपालिकाभित्रका सामुदायिक विद्यालयहरूमा सरस्वती पूजाको अवसर पारेर यस वर्ष एक हजार १ सय १५ बालबालिकाले अक्षरारम्भ गरेका छन् । यसरी अक्षरारम्भ गर्नेहरूमा ५ सय २५ जना छात्रा र ५ सय ९० छात्र छन् । यो सङ्ख्या गएको वर्षभन्दा १ सय ४४ जनाले बढी हो । गएको वर्ष यस दिन ९ सय ७१ जना बालबालिकाले अक्षरारम्भ गरेका थिए । महानगरपालिकाभित्र ८७ वटा सामुदायिक विद्यालय छन् । यीमध्ये कारागारभित्रका विद्यालयमा प्रारम्भिक बाल विकास कक्षा (इसिडी) छैनन् । बाँकी विद्यालयमा छन् । अक्षरारम्भ कार्यक्रमअन्तर्गत ज्ञानोदय माध्यमिक विद्यालयमा सहभागी हुँदै महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले, बालमैत्री वातावरणमा उनीहरूको सर्वाङ्गीण विकासको जग बलियो बनाउने कामलाई महानगरपालिकाले प्राथमिकता राखेको उल्लेख गरे । ‘सामुदायिक विद्यालयहरूबाट प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्ने नतिजाका लागि नीति, योजना तथा कार्यक्रम तर्जुमा गरिएको, स्रोध, साधन र उपकरणमा लगानी बढाइएको, मानव संशाधन विकासमा जोड दिएका छौँ । यसबाट विद्यालयहरूबाट उत्कृष्ट नतिजा प्राप्त हुनेछ,’ उनको भनाइ थियो । धेरै बालबालिकाले अक्षरारम्भ गरेका विद्यालयमध्ये ज्ञानोदय माध्यमिक विद्यालय वाफलमा ८७ जना, नीलबाराही माध्यमिक विद्यालय, टङ्केश्वरमा ५० जना र भानु माध्यमिक विद्यालय, रानीपोखरीमा ४२ जना छन् । प्रारम्भिक बाल विकास कक्षाहरूमा बाल केन्द्रित सिकाइको स्तर वृद्धि गर्न महानगरपालिकाले विद्यार्थी सङ्ख्याका आधारमा प्रारम्भिक बाल विकास सहजकर्ता व्यवस्थापन गरेका कारण प्रारम्भिक बाल विकास कक्षामा बालबालिकाको आकर्षण बढेको हो । निमित्त प्रमुख ज्ञवालीका अनुसार अक्षरारम्भ गरेका बालबालिका नियमित विद्यालय आउन चाहेमा कक्षा कोठाको प्रबन्ध गरिएको छ । नियमित कक्षाका लागि भर्ना भने वैशाख महिनामा हुनेछ ।

हिमपातले सुदूरपहाडका राजमार्ग र विद्युत् सेवा अवरुद्ध, जनजीवन प्रभावित

बैतडी । भारी हिमपातका कारण सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका राजमार्ग अवरुद्ध भएका छन् । बैतडीको नारखोली, खोडपे, श्रीभावर, सतबाँझ, देहिमाडौँ क्षेत्रमा हिमपात हुँदा दशरथचन्द राजमार्ग र जयपृथ्वी राजमार्ग गए राति देखिनै अवरुद्ध रहेका हुन् ।  रातिदेखि नै राजमार्ग अवरुद्ध हुँदा सवारी आवागमन पूर्ण रूपमा ठप्प रहेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए । हिमपातले राजमार्ग अवरुद्ध हुनुका साथै विद्युत् सेवा पनि बन्द रहेको छ । उनले भने, 'रातिको भारी हिमपातले राजमार्ग र विद्युत् सेवा ठप्प छ । पुनः सञ्चालनका लागि पहल थालिएको छ ।' यस्तै डडेल्धुराको साहुखर्क, हगुल्टेलगायत क्षेत्रमा हिमपात हुँदा भीमदत्त राजमार्ग पनि ठप्प रहेको प्रहरीले जनाएको छ । शुक्रबार बेलुकादेखि नै बैतडीसहित दार्चुला, बझाङ, डोटी, डडेल्धुराका उच्च लेकाली भेगमा वर्षासँगै हिमपात भएको छ । यो वर्ष पहिलोपटक हिउँदे वर्षा र हिमपात भएपछि यहाँका किसान खुसी भएका छन् । गएको चार महिनादेखि वर्षा नहुँदा यहाँका हिउँदे बाली सुक्दै गएका थिए । हिमपात र वर्षा भएपछि किसानहरू बाली सप्रिने भन्दै खुसी भएका छन् । हिमपातका कारण अत्यधिक चिसो बढेपछि यहाँको जनजीवन प्रभावित भएको छ । 

हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

रुकुम पूर्व । रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ ।  लोकमार्ग अवरुद्ध हुँदा सवारीसाधन वारपार गर्न सकिरहेका छैनन् । यस खण्डमा काठमाडौंबाट छुटेका बसहरू फसेको भन्ने खबर आएसँगै इलाका प्रहरी कार्यालय  काक्रीबाट प्रहरी निरीक्षक हिमराज विकको नेतृत्वमा टोली खटाएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायब उपरीक्षक उमाशङ्करप्रसाद यादवले जानकारी दिए । अहिले पनि निरन्तर रूपमा हिमपात भइरहेको उनले बताए  ।  फसेका गाडी र यात्रुहरूको उद्धारको प्रयास भइरहेको र बाटो खुलाउनको लागि भूमे गाउँपालिकासँग समन्वय गरिरहेको प्रमुख जिल्ला अधिकारी सीता परियारले बताए । स्काभेटर लगाएर हिउँ पन्छाउने र बाटो खुलाउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी परियारले बताए ।  रुकुम पूर्वको हिमाली तथा उच्च लेकाली क्षेत्रहरूमा गए रातिदेखि हिमपात भइरहेको छ भने तल्लो क्षेत्रमा वर्षा भएको छ । हिमपातका कारण चिसोले मानिसहरूको जनजीवन प्रभावित भइरहेको छ भने लामो समयको अन्तरालमा भएको वर्षा र हिमपातको कारण किसानहरू खुसी भएका छन् । आकाशेपानीको भरमा खेती गरिरहेका किसानको पानी नपर्दा गहुँ बाली सुकिसकेको थियो । लामो समयपछि पानी पर्दा खेतीपातीलाई राहत मिलेको सिस्ने गाउँपालिका–५ का विमल बिसीले बताए ।