विकासन्युज

कछुवा बिक्री गर्दै हिँड्ने तिवारी ललितपुरबाट पक्राउ

काठमाडौं । कछुवा बिक्री गर्ने एक व्यक्ति ललितपुरबाट पक्राउ परेका छन् । ललितपुर महानगरपालिका ३ धोबिघाटबाट १९ वर्षीय रोहिम तिवारीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको हो ।  अवैध रूपमा संरक्षित वन्यजन्तु जीवित ‘कछुवा’ ओसारपसार गरी खरिद बिक्री गर्न बोकी हिँडेको भन्ने विशेष सूचनाको आधारमा उनलाई पक्राउ गरिएको सीआईबीका सूचना अधिकारी श्यामबाबु ओलियाले जानकारी दिए। उनका अनुसार पक्राउ गरी आवश्यक कानुनी कारबाहीको लागि डिभिजन वन कार्यालय गोदावरीमा बुझाइएको छ । चितवन भरतपुर महानगरपालिका वडा नम्बर १६ का तिवारी ललितपुर महानगरपालिका वडा नम्बर ३ धोबिघाटमा बस्दै आएका थिए ।

त्रिभुवन विश्वविद्यालयको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग

कीर्तिपुर । त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरुले परीक्षासम्बन्धी कामका लागि देशका जुनसुकै कुनाबाट पनि काठमाडौं नै आउनुपर्ने अवस्था अन्त्य गर्न माग गरेका छन् ।      विश्वविद्यालयका स्ववियु सभापति दीपकराज जोशीका अनुसार विश्वविद्यालयलले परीक्षा प्रणाली विकेन्द्रीकरण नगर्दा मौका परीक्षा तथा स–साना कामका लागि पनि काठमाडौं नै आउनुपर्ने विद्यार्थीको बाध्यता रहेको छ । 'खासगरी दुर्गमका र कमजोर शारीरिक अवस्थाका विद्यार्थी यसबाट बढी पीडित छन्', उनले भने ।       मागबारे ध्यानाकर्षण गराउन आजदेखि परीक्षा नियन्त्रण कार्यालयको प्रवेशद्वारमा धर्ना सुरु गरिएको सभापति जोशीले जानकारी दिए । यसको समाधानका लागि कम्तीमा आफ्ना प्रदेश भित्रै परीक्षा दिन पाउने व्यवस्था हुनुपर्ने विद्यार्थीको माग छ ।       'विश्वविद्यालय एप चलाउन पटक–पटक भन्यौँ, तर अहिलेसम्म भएको छैन । त्रिविको परीक्षा नियन्त्रण कार्यालय समयअनुरुप डिजिटल हुन नसक्नु र काठमाडौं केन्द्रित संरचनाका कारणले विद्यार्थीले अनावश्यक दुःख पाइरहेका छौँ', स्ववियु सदस्य प्रदीप कार्कीले भने । पहिलेभन्दा केही सुध्रिए पनि अधिकांश नतिजा ढिलो आउने गरेको उनको भनाइ छ ।      विद्यार्थीले हरेक प्रदेशमा मौका परीक्षा केन्द्र, परीक्षा प्रणालीको पुनःसंरचना, शोधपत्रको मूल्याङ्कन प्रदेशमै, समयमै परीक्षा र समयमै नतिजाको सुनिश्चितता, पूर्ण डिजिटल प्रणाली, प्रमाणपत्र वितरणको विकेन्द्रीकरण तथा पुनः योग र पुनःपरीक्षणको सुदृढीकरण जस्ता माग राखेका छन् ।   

तत्कालीन माओवादी केन्द्र काठमाडौं महानगर कमिटीका अध्यक्ष लामा एमालेमा प्रवेश

काठमाडौं । नेकपा माओवादी केन्द्रका काठमाडौं महानगर कमिटीका तत्कालीन अध्यक्ष राजेश लामा नेकपा एमालेमा प्रवेश गरेका छन् । सोमबार दिउँसो नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको गुण्डुस्थित आफ्नै निवासमा लामा र जिल्ला कमिटी सदस्य विष्णु जोशीलाई पार्टीको झण्डा, नेपालको झण्डा र खादा ओढाएर पार्टी प्रवेश गराएका हुन् । पार्टी प्रवेशपछि अध्यक्ष राजेश लामाले एमाले प्रवेश गर्न अलि ढिलो भएको महसुस भएको बताएका छन् ।  

नेशनल लाईफले दियो कोशी प्रदेशका अभिकर्तालाई एकदिने तालिम

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कोशी प्रदेशका विभिन्न शाखा कार्यालयमा आबद्ध भई कार्यरत अभिकर्ताहरूलाई एकदिने व्यावसायिक तालिम प्रदान गरेको छ । कम्पनीले प्रेरणा, प्रगति र पेशागत उत्कृष्टताको अवधारणासहित सञ्चालन गरेको मासिक योजना 'मन्थन २०८२' अन्तर्गत तोकिएको बीमाशुल्क संकलन गरी छनोट भएका १२० जना अभिकर्तालाई इलामको फिक्कलस्थित होटल एकोममा तालिम दिइएको हो । तालिम अन्तर्राष्ट्रिय प्रशिक्षक सैयद अल्फाज अहमदले प्रदान गरेका थिए । उनले बीमा क्षेत्रको प्रतिष्ठित उपाधि एमडिआरटीको लक्ष्य हासिल गर्ने उपायबारे विभिन्न उदाहरणसहित अभिकर्ताहरूलाई प्रशिक्षण दिएका थिए । कार्यक्रममा एजेन्सी विभाग प्रमुख सुशील प्रताप राणाले अभिकर्ताको पेशागत क्षमता अभिवृद्धिका लागि कम्पनीले निरन्तर रूपमा विभिन्न प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गरे । सोही उद्देश्यका साथ मासिक योजना ‘मन्थन २०८२’ अघि बढाइएको उनको भनाइ थियो । त्यस अवसरमा कोशी प्रदेशका विभिन्न शाखामा उत्कृष्ट कार्य गरी शाखास्तरीय प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्न सफल अभिकर्ताहरूलाई पोलिसी सर्भिसिङ विभाग प्रमुख सुस्मिता राणाले मायाको चिनो प्रदान गरेकी थिइन् । तालिममा सहभागी अभिकर्ताहरूले अन्तर्राष्ट्रिय स्तरका प्रशिक्षकबाट सिक्ने अवसर प्रदान गरेकोमा कम्पनीप्रति आभार व्यक्त गरेका थिए । सम्मानित अभिकर्ताहरूले पनि आफूले गरेको मेहनतको कदर भएको महसुस भएको प्रतिक्रिया दिएका थिए ।

गृहमन्त्री अर्याल र अमेरिकी कार्यवाहक राजदूत अर्बमबीच शिष्टाचार भेट

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमले शिष्टाचार भेटवार्ता गरेका छन् ।  सोमबार गृह मन्त्रालयमा भएको भेटमा उनीहरूबीच पछिल्लो राजनीतिक परिस्थिति, चुनाव र अमेरिकाले नेपालमा गरेको सहयोग र सहायताको बारेमा छलफल भएको छ। मन्त्री अर्यालले फाल्गुन २१ को प्रतिनिधि सभाको निर्वाचनमा शान्ति सुरक्षा कायम गरी भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सरकारले तीव्र रूपमा काम गरिरहेको बताए। राजदूत अर्बमले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध सधैं निरन्तर रहने र आगामी दिनमा थप प्रगाढ हुने बताए ।

चलचित्र विधेयक, २०८१ को मस्यौदा प्रतिवेदन पारित

काठमाडौं । संसदीय समितिले चलचित्र विधेयक, २०८१ को मस्यौदा प्रतिवेदन पारित गरेको छ ।  सोमबार सिंहदरबारमा बसेको संघीय संसद राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकले सो विधेयक परिमार्जनसहित पारित गरिएको हो ।  समसामयिक हुने गरी सो विधेयकलाई पारित गरिएको समितिकी सभापति तुलसाकुमारी दाहालले जानकारी दिइन् । उनले भनिन्, ‘२०२६ सालमा बनेको ऐनलाई हामीले हरेक दफाहरूमा हेरेर समसामयिक बनाउने प्रयास गरेका छौं । र त्यो अनुरुप यो विधेयक परिमार्जित भएको छ । धेरै संशोधनहरूलाई स्विकार पनि गरिएको छ । अहिले जुन यो डिजिटलको युग छ । त्यो युग अनुसार हामीले यो विधेयकलाई परिमार्जन गरेका छौं ।’ विधेयकमा सेन्सर बोर्डका ठाउँमा प्रमाणिकरण समिति राखिएको छ । त्यसैगरी सो समितिको अध्यक्षमा विज्ञहरुलाई नियुक्त गर्ने प्रावधान राखिएको छ ।  सभापति दाहालका अनुसार सो विधेयकको मस्यौदा प्रतिवेदनलाई भोलि (मंगलबार) बस्ने राष्ट्रिय सभा बैठकमा पेश गर्ने कार्यसूची तय गरिएको छ । 

५ कम्पनीको सेयर मूल्य १० प्रतिशत बढ्यो, १६ अर्बको कारोबार

काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजार समान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३ अंकले घटेर २७६९ बिन्दुमा झरेको हो ।  नेप्सेका अनुसार ८८ कम्पनीको सेयर मूल्य बढ्दा १६५ कम्पनीको मूल्य घटेको छ । ७ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । सोमबार ३३२ कम्पनीको ३ करोड कित्ता सेयर किनबेच हुँदा १६ अर्ब ३५ करोड रुपैयाँ बराबरको कारेबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार हिमालयन पावर पार्टनरको भएको छ । हिमालयनको ६५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै आँखु खोला जलविद्युतको ५६ करोड, मन्जुश्री फाइनान्सको ५२ करोड, एसवाई प्यानलको ५० करोड र बन्दिपुर केबलकारको ४० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज ५ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । एसवाई प्यानल, हिमस्टार ऊर्जा, सान्भी इनर्जी, सप्तकोशी डेभलपमेन्ट र माउन्टेन हाइड्रोको सेयर मूल्य १० प्रतिशतले बढेका छन् ।    सोमबारको कारोबारमा १३ उपसमूहमध्ये ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ । होटल तथा पर्यटन उपसमूहको परिसूचक सबैभन्दा धेरै १.६७ प्रतिशत बढेको हो । जलविद्युत, उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य बढेको हो ।

आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह

काठमाडौं । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फाुगन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि सञ्चार माध्यमहरुले आधिकारिक स्रोतलाई मात्र आधार मानेर समाचार एवं सूचनाको प्रवाह गर्न आग्रह गरेका छन् । सार्वजनिक सेवा प्रसारण नेपालले आयोजना गरेको ‘प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ आचारसंहिता अभिमुखीकरण’ विषयक कार्यक्रममा प्रमुख आयुक्त भण्डारीले निर्वाचनका क्रममा भ्रामक समाचार फैलाउनबाट जोगिन सुझाव दिएका हुन् । उनले नागरिकलाई यतिबेला अत्यन्त सत्यतथ्य समाचार सामग्रीको खाँचो हुने हुँदा खास गरी सञ्चार माध्यममले आचारसंहिताको पालना गर्ने र गराउने भूमिका निर्वाह गर्नुपर्ने बताए । उनले भने, ‘सञ्चार माध्यमले सकेसम्म निर्वाचनका समाचार लेख्दा आधिकारिक स्रोतमा मात्रै आधार बनाउन अनुरोध गर्छु ।’ डिटिल प्लेटर्फम कृत्रिम बुद्धिमता (एआई) जस्ता एप्स प्रयोग गरेर यतिबेला सामाजिक सञ्जालमा कसैको छविमा आँच आउने खालका श्रव्यदृश्य सामग्री देखिएकाले यसलाई व्यवस्थापन गर्न निर्वाचन आयोगले मेटा, टिकटकलगायत सामाजिक सञ्जालसँग सम्झौता गर्न लागेको जानकारी दिए । कार्यक्रममा आयोगका सचिव कृष्णबहादुर राउतले निर्वाचनको आचारसंहिता पालना गर्ने र गराउनका लागि निगरानी गर्ने दायित्व सञ्चार माध्यमको हुने बताए ।  सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेतले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा नागरिकलाई सही सूचना दिने र निर्वाचन सफल पार्न सघाउ पुर्‍याउन सञ्चारमाध्यमले अहम् भूमिका खेल्नुपर्ने बताए । सार्वजनिक सेवा प्रसारण नेपालका अध्यक्ष डा. महेन्द्र विष्टले सञ्चारमाध्यमले निर्वाचन आचारसंहितासँगै पत्रकारको आचारसंहिता ध्यानमा राखेर पत्रकारिता गर्न सुझाव दिए । उनले सञ्चारकर्मी आफैँबाटै आचारसंहिता पालना भएको छ कि छैन भनी जाँच गर्नुपर्ने धारणा राखे । कुनै पनि पार्टीका उम्मेदवार वा विचार धाराका कुरा सामाजिक सञ्जालमा राख्ने जस्ता गतिविधि नगरी निष्पक्ष ढङ्गले पत्रकारिताको धर्म निभाउनुपर्ने उनले बताए । टेलिभिजनले देशभरका आफ्नो समाचारदातालाई भिडियो कलमार्फत निर्वाचन आचारसंहिताबारे अभिमुखीकरण तालिम दिएको छ ।