विकासन्युज

ओलीमाथि लगाइएको स्थानहद विरुद्ध सर्वोच्चमा रिट

काठमाडौं । काठमाडौं उपत्यकाबाट बाहिर जान नपाउने गरी नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीमाथि तोकिएको स्थानहद निर्णयविरुद्ध सर्वोच्च अदालतमा नयाँ रिट दायर गरिएको छ । अधिवक्ता डा. प्रेमराज सिलवालले सार्वजनिक सरोकारको विषयका रूपमा मंगलबार उक्त रिट सर्वोच्च अदालतमा दर्ताका लागि पेश गरेका हुन् । उनले ओलीमाथि लगाइएको स्थानहद असंवैधानिक र कानूनी प्रावधानविपरीत रहेको दाबी गरेका छन् । सर्वोच्च अदालतका एक कर्मचारीका अनुसार रिट निवेदन अध्ययनको चरणमा रहेको छ । उनले भने, 'रिट पेश भइसकेको छ, हाल अध्ययन भइरहेको छ। अध्ययन पूरा भएपछि दर्ता हुने वा नहुने भन्ने निर्णय हुनेछ ।' यसअघि काठमाडौं उपत्यका प्रशासनले ओलीलाई उपत्यका बाहिर जान नपाउने गरी स्थानहद तोकेको थियो, जसको विरोधमा यो रिट सर्वोच्चमा दायर गरिएको हो ।  

ओरालो लागेको सुनको भाउ कतिसम्म घट्ला ?

काठमाडौं । हालसम्मकै उच्च बनेर रेकर्ड तोड्दै गइरहेको सुनको भाउ फेरि पछिल्ला दिनहरुमा ओरालो लाग्न थालेको छ । अन्तर्राष्ट्रिय बजारमा भाउ घटेसँगै नेपाली बजारमा पनि पछिल्लो तीन दिनयता सुनको मूल्यमा निरन्तर गिरावट देखिएको छ । गत आइतबार एकै दिन प्रतितोला ११ हजार ६ सयले घटेर दुई लाख ४१ हजार ९ सय कायम भएको सुनको मूल्य सोमवार पुनः तोलामा दुई हजार घटेर दुई लाख ३९ हजार ९ सयमा किनबेच भएको थियो । मंगलबार फेरि प्रतितोला दुई हजार ९ सय घटेपछि दुई लाख ३७ हजारमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रतिऔंस तीन हजार ९७५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ । यसरी पछिल्लो दिनहरुमा ओरालो लागेको सुनको भाउ अझै घट्ने व्यवसायीहरुको आकलन रहेको छ । महासंघका प्रथम उपाध्यक्ष धर्मरत्न बज्रचार्यले सुनको भाउ उच्च बिन्दुमा पुगिसकेकाले अब बढ्ने भन्दा पनि निरन्तर ओरालो लाग्नेक्रममा रहेको बताए । उनकाअनुसार प्रतितोला २ लाख ५८ हजार पुगेको सुनको भाउमा भारी गिरावट आइसकेको छ, यो क्रम निरन्तर चल्ने देखिन्छ । पछिल्लो समय अमेरीकामा सुनबाहेक अन्य क्षेत्रमा लगानीका लागि वातावरण बन्दै गर्दा लगानीकर्ता अन्यत्र डाइभर्ट भएकाले सुनको भाउ घट्ने क्रम शुरु भएको हो । महासंघका उपाध्यक्ष बज्रचार्यले भने, ‘सुनको भाउ धेरै नै बढिसकेको थियो, दुई लाख ५८ हजार भनेको धेरै नै बढी सकेको अवस्था हो । कुनै न कुनै दिन झर्न त पर्ने नै हो । अब माथि गएर झर्छ कि अब यहिँबाट झर्छ भन्ने कुरा थियो । तर यो बीचमा तिहार थियो । तिहारमा खासगरी नेपालसँगै भारतमा धेरै सुनको खपत हुन्छ । धेरै खपत हुने हुँदा भाउ बढ्न अलिकति मद्दत गरिरहेको थियो । चाडपर्व सकिएसँग भारतमा पनि अलिकति माग घटेको छ । र यहिँ दौरानमा जुन अस्तिको दिनहरूमा अमेरिकाले चाइनालाई जुन ट्यारिफहरू बढाइसकेपछि चाइनाबाट जुन रियर अर्थ चाइनाले अमेरिकामा सप्लाई गर्दिन भनेर नगरेको अवस्था देखियो ।’ बज्रचार्यकाअनुसार अहिले सुनको भाउ घटेपनि खासै कारोबार भएको छैन । अन्तर्राष्ट्रिय क्षेत्रमा टे्डवार कम हुँदै जाँदा लगानीकर्ताहरू डाइवर्ट भएको देखिएकाले सुनको किनबेच कम भएको छ । पछिल्ला परिस्थितिहरु आँकलन गर्दा अहिले तत्कालै सुन प्रतिऔंस दुई–चार सय डलर घट्ने सम्भावना रहेको उनले बताए।

‘नेपाल लिबरल पार्टी’ गठनको घोषणा

काठमाडौं । आर्थिक उन्नतिको लक्ष्यसहित डा. गोपिलाल न्यौपानेको सभापतित्वमा नेपाल लिबरल पार्टी गठनको घोषणा गरिएको छ । मंगलबार आयोजित कार्यक्रममा डा. न्यौपानेको नेतृत्वमा नेपाल लिबरल पार्टी गठनको घोषणा गरिएको हो ।      आम नागरिकको व्यक्तिगत स्वतन्त्रता र आर्थिक सुधार गर्ने पार्टीको मुख्य लक्ष्य रहेको सभापति डा न्यौपानेले बताए । 'नेपाली जनतालाई सदाका लागि गरिबी, भय–त्रास बेरोजगारीबाट मुक्त गर्न, तत्काल न्यायको प्रत्याभूति दिन,  कानुनी शासन बहाल गर्न, सुशासनमार्फत जनताको दैनिकी सजिलो पार्न र आर्थिक उदारवादमार्फत आर्थिक समृद्धि हासिल गर्न यो पार्टी गठन गरिएको हो', उनले भने ।      पार्टीले उदारवादी अर्थव्यवस्था, कर–कटौती, खुलापन, पारस्परिक सम्मान, उत्तरदायी प्रशासन, बजार विनियमन, आधुनिकीकरण, औद्योगिकीकरण, शहरीकरण, नैतिक राजनीति र विश्वव्यापीकरणको व्यावहारिक प्रयोगको नीति रहेको सो पार्टीका महासचिव डा. सुशील पौडेलले बताए । 'हाम्रो पार्टीको एउटै एजेन्डाः आर्थिक उन्नति हो', उनले भने ।    

विप्लवको पार्टीले दर्ता गर्यो कम्युनिष्ट पार्टी नेपाल, के राख्यो चुनाव चिन्ह ?

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टीको नाममा लामो समयदेखि परीचित हुँदै आएको नेत्र बिक्रम नेतृत्वको दलको नाम अब कम्युनिष्ट पार्टी नेपाल हुने भएको छ । निर्वाचन आयोगमा दल दर्ताका लागि दिएको निवेदनमा पार्टीको नाम परिवर्तन गरिएको हो । मंगलवार महासचिव चन्दसहितका नेताहरु निर्वाचन आयोग पुगेर आगामी निर्वाचनका लागि दल दर्ता गर्ने प्रक्रिया सुरू गरेका हुन् । पार्टीले चुनाव चिन्ह भने खुलाएकाे छैन । 

प्रतिकूल मौसमले हवाई उडान सामान्य प्रभावित

काठमाडौं । प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ । मौसममा आएको खराबीले ‘भिजिबिलिटी’ कमजोर हुँदा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र अन्तरराष्ट्रिय दुबै उडान केही ढिला हुन गएका छन् ।      अहिले अन्तरराष्ट्रियतर्फ उडान केही समयदेखि ‘होल्ड’मा रहेका छन् । हिमाली क्षेत्रतर्फ लुक्लाको तेञ्जिङ हिलारी, हुम्लाको सिमीकोटलगायत विमानस्थलमा उडान सामान्य प्रभावित भएको बताइएको छ । विमानस्थलका महाप्रबन्धक हंसराज पाण्डेका अनुसार खराब मौसमका कारण अहिले विमानस्थलमा इन्स्टुमेन्ट फ्लाइट रुल्स (आइएफआर) उडान मात्रै भइरहेको छ । केही उडान डिले भए पनि रद्द नै गर्नुपर्ने अवस्था नभएको उनले बताए । निश्चित हवाई रुट भएकाले उडानमा सामान्य चाप बढेको छ ।      हाल देशमा पश्चिमी वायुका साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव छ । यस प्रणालीको प्रभावले गएरातिदेखि बुधबार बिहानसम्म गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपात तथा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकाको आकाशमा बिहानदेखि बद्ली रहेको छ ।  

मृतकका आफन्त र अस्पताल प्रशासनबीच कुरो मिल्यो

काठमाडौं । सुत्केरी महिलाको मृत्युका कारण अशान्त बनेको किष्ट मेडिकल कलेज मंगलबार शान्त बनेको छ । मंगलबार ओपीडी  इमर्जेन्सी लगायतका सबै सेवा सुचारु भएको अस्पतालले जनाएको छ । अस्पतालमा कार्यरत एक चिकित्सकका अनुसार मंगलबार शान्तिपूर्णरूपमा काम भइरहेको छ । उनले अस्पताल प्रशासन र मृतकका आफन्तबीच सम्झौता भएसकेको तर कस्तो सम्झौता भयो भन्नेबारे जानकारी नभएको बताए । उनी भन्छन्, ‘सोमबार राती वार्ता भएको थियो, कुरा मिलेपछि आज अस्पतालको वातावरण शान्त बनेको छ, हामी पहिलेकै अवस्थामा काममा फर्केका छौं ।’ मेडिकल  कलेज प्रशासन र मृतकका आफन्तबीच गोप्य सम्झौता भएको छ ।  प्रशासनका एक कर्मचारी भन्छन्, 'अस्पतालले जानाजान लापरबाही गरेको होइन कहिलेकाँही प्रयास गर्दागर्दै यस्तो घटना हुन जान्छ, जुन अस्ति भयो ।' उनका अनुसार सोमबार राती भएको सम्झौता अनुसार मृतक महिलाको बच्चाको स्वास्थ्यको जिम्मा अस्पतालले लिएको छ । मृतक मीनाश्रीका एउटा नौ वर्षको छोरा र भर्खरै जन्मिएको बच्चाको कक्षा १२ सम्म पढाउनेदेखि सम्पूर्ण स्वास्थ्य खर्च अस्पतालले व्यहोर्ने सम्झौता भएको बताइएको छ ।  यस्तै  प्रदर्शनमा घाइते भएका व्यक्तिको उपचार पनि किष्ट मेडिकल कलेजले गर्ने र मृतक महिलाको उपचार खर्च अस्पतालले मिनाहा गर्ने सम्झौता भएको छ । खोटाङ हलेसी तुवाचुङ नगरपालिका ९ की ३४ वर्षीया मिनाश्री राईको शुक्रबार राति मृत्यु भएको थियो । सुत्केरी भइसकेपछि रक्तस्राव मृतकका आफन्तले अस्पताल तोडफोड गरेका थिए । चिकित्सकको लापरबाहीले सामान्य सुत्केरी गराउनुभएकी राइको मृत्युपछि बिरामीका आफन्त प्रदर्शन तथा तोडफोडमा उत्रिएका थिए भने अवस्था नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो ।

शान्ताको अचार अब आइएसओ प्रमाणित हुँदै, घरेलु स्वादलाई अन्तर्राष्ट्रिय स्तरमा पु‍र्‍याउने तयारी

काठमाडौं । नेकपा एमालेकी पोलिटब्युरो सदस्य तथा संविधानसभा सदस्य शान्ता चौधरीले सञ्चालन गरेको शान्ताको अचार ब्रान्ड ले आइएसओ गुणस्तर प्रमाणपत्र प्राप्त गर्ने अन्तिम तयारी थालेको छ । स्वदेशमै उत्पादन भएको नेपाली अचारलाई अन्तर्राष्ट्रिय बजारसम्म पु‍र्‍याउने उद्देश्यसहित चौधरीले सुरु गरेको यो उद्यम अहिले देशभर चर्चा कमाउँदै छ । दाङबाट सुरु गरिएको सानो घरेलु उद्योग अहिले ललितपुरसम्म विस्तार भइसकेको चौधरीले जानकारी दिइन् । शान्ताको अचारले हाल २२ भन्दा बढी प्रकारका अचार उत्पादन गर्दै आएको बताएकी छन् । यसले गुणस्तर र स्वच्छतामा नयाँ मापदण्ड अपनाएको छ । यही कारण अब यसले सेफ्टी म्यानेजमेन्ट प्रणाली अन्तर्गत आइएसओ २२००० प्रमाणपत्र का लागि आवश्यक सबै प्रक्रिया पूरा गर्न लागेको चौधरीले बताइन् । 'हामी नेपाली स्वादलाई विश्वस्तरीय रूपमा प्रस्तुत गर्न चाहन्छौँ,' चौधरीले भनिन् । उनले आइएसओ प्रमाणपत्रले उत्पादनमा विश्वसनीयता र प्रतिस्पर्धा बढाउने विश्वास व्यक्त गरिन् । शान्ताको अचारले दाङ र ललितपुरमा दुई उत्पादन केन्द्र सञ्चालनमा ल्याएको छ । अचारका लागि प्रयोग हुने कागती, अदुवा, खुर्सानी, लसुनजस्ता कच्चा पदार्थ स्थानीय किसानबाट खरिद गरिन्छ । यसले गाउँका महिलालाई रोजगारी र आम्दानीको नयाँ अवसर दिएको छ । हाल यस उद्योगमा ५० भन्दा बढी महिला प्रत्यक्ष रूपमा कार्यरत छन् । चौधरी भन्छिन्, 'हामीले व्यवसायलाई महिला स्वावलम्बनसँग जोड्ने लक्ष्य लिएका छौँ । अचारले आर्थिक र सामाजिक दुवै स्वाद दिन्छ ।' अचार उत्पादनमा स्वच्छता र प्याकेजिङलाई प्राथमिकता दिइएको छ । आधुनिक मेसिनरी, स्टेनलेस स्टीलका कन्टेनर र गुणस्तर परीक्षणका लागि ल्याब प्रणाली पनि सुरु गरिएको चौधरीले जानकारी दिइन् । चौधरीका अनुसार अचार अहिले देशभरका सुपरमार्केट, डिपार्टमेन्टल स्टोर र अनलाइन प्लेटफर्महरूमा उपलब्ध छ । ग्राहकको बढ्दो रुचिसँगै कम्पनीले छिट्टै विदेशी बजारमा पनि निर्यात विस्तार गर्ने योजना बनाएको छ ।

सरकारको निर्धारण मूल्यमा आजदेखि धान खरिद सुरु, किसान उत्साहित

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आजदेखि सरकारद्वारा तोकिएको मूल्यमा धान खरिद अभियान सुरु गरेको छ । किसानलाई उचित मूल्य सुनिश्चित गर्ने उद्देश्यसहित कम्पनीले यो आर्थिक वर्षका लागि धान खरिद प्रक्रिया औपचारिक रूपमा सुरु गरेको हो ।  सरकारले तोकेको धानको न्यूनतम समर्थन मूल्यअनुसार मोटा धानको मूल्य प्रतिक्विन्टल ३,४६३ रुपैयाँ ८१ पैसा र मध्यम धानको मूल्य प्रतिक्विन्टल ३,६२८ रुपैयाँ ३३ पैसा राखिएको छ । खाद्य कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यका अनुसार आजदेखि कैलालीको धनगढी लगायत पश्चिम तराईका क्षेत्रमा खरिद सुरु गरिएको छ ।  ‘पश्चिम नेपालमा धान छिटो भित्रिने भएकाले त्यहीँबाट खरिद सुरु गरिएको हो, क्रमशः पूर्वतिर धान पाक्दै गएपछि खरिद केन्द्र सर्दै लैजाने योजना छ,’ आचार्यले भने ।  यस वर्ष कम्पनीले प्रारम्भिक चरणमा १ लाख ९० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएको छ । धान खरिदका लागि कम्पनीले देशभरका १३ वटा शाखा कार्यालयहरू महेन्द्रनगर, धनगढी, राजापुर, नेपालगन्ज, जुम्ला, तुलसीपुर, भैरहवा, पोखरा, वीरगञ्ज, लहान, जनकपुर, विराटनगर र बिर्तामोडबाट सेवा सञ्चालन गर्नेछ ।  सरकारी मूल्यमा धान खरिद सुरु भएपछि किसानहरू उत्साहित भएका छन् ।  किसानहरूले सरकारको यो पहलले बजारमा मूल्य स्थिर रहनुका साथै उनीहरूलाई आफ्नो उत्पादनको उचित मूल्य प्राप्त हुने विश्वास व्यक्त गरेका छन् ।