विप्लव नेतृत्वको नेकपा नाम परिवर्तन गरेर दल दर्ताको तयारीमा, निर्वाचन आयोग पुग्यो विप्लवको टीम
काठमाडौं । नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवको नेतृत्वमा रहेको नेकपा दल दर्ताका लागि मंगलबार निर्वाचन आयोगमा पुगेकाे छ । पार्टी स्रोतका अनुसार महासचिव विप्लवको नेतृत्वमा मंगलबार दिउँसो आयोगमा पुगेर दल दर्ताको प्रक्रिया सुरु गरेकाे छ । यसअघि नै नेकपाले दल दर्ता प्रक्रियालाई अघि बढाउन स्थायी समिति सदस्य कर्णजित बुढाथोकीको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको थियो । समितिमा केन्द्रीय सदस्य तथा काठमाडौं सेक्रेटरी चिरञ्जीवी ढकाल र वरिष्ठ अधिवक्ता कपिलचन्द्र पोखरेल सदस्यका रूपमा रहेका छन्। आयोगमा यस अघिनै नेकपा नामको दर्ता भइसकेकाले विप्लव नेतृत्वको समूहले पार्टीको नाम परिवर्तन सहित नयाँ रूपमा दर्ता गर्ने तयारी गरेको बताइएको छ ।
हिमाली क्षेत्रमा हिमपात : आरोही र पदयात्रीलाई सतर्कता अपनाउन आग्रह
काठमाडौं । नेपाल पर्वतारोहण संघले हाल देशका उच्च पहाडी र हिमाली क्षेत्रमा लगातार हिमपात भइरहेकाले ती क्षेत्रमा रहेका आरोहण दल र पदयात्रीहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । संघका अध्यक्ष फुर गेल्जे शेर्पाले जारी गरेको सूचनामा आरोही र पदयात्रीलाई हाल हिमपात भइरहेको क्षेत्रतर्फ नजान र पासहरू क्रस नगर्न अनुरोध गरिएको छ । संघले हिमाली क्षेत्रमा रहेका आरोहण दल तथा पदयात्रीलाई सुरक्षित स्थानमा एकत्रित भएर बस्न र नेपाल पर्वतारोहण संघ तथा सम्बन्धित ट्रेकिङ कम्पनीहरूसँग नियमित सम्पर्कमा रहन पनि आग्रह गरेको छ । त्यसैगरी, संघले सबै ट्रेकिङ कम्पनीहरूलाई आफ्ना आरोहण दल र पदयात्रीहरूको सुरक्षामा सर्तकता अपनाउन र आवश्यक समन्वय गर्न निर्देशन दिएको छ । मौसम पूर्वानुमान महाशाखा, जल तथा मौसम विज्ञान विभागले आगामी केही दिनसम्म देशका पहाडी र हिमाली भूभागमा हल्कादेखि भारी हिमपात हुने सम्भावना रहेको चेतावनी जारी गरेको छ । संघले उक्त पूर्वानुमानलाई मध्यनजर गर्दै सबै आरोही र पदयात्रीलाई अनावश्यक जोखिम नलिन र यात्रा अघि थप सावधानी अपनाउन पुनः अनुरोध गरेको छ ।
जेनजी आन्दोलनमा जलेकी रविलक्ष्मी चित्रकारको स्वास्थ्यमा सुधार
काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकारको स्वास्थ्यमा सुधार आएको छ । गत भदौ २४ गते जेनजी आन्दोलनमा घरमा भएको आगलागीमा गम्भीर घाइते भएकी चित्रकारको अहिले भारतको राजधानी नयाँ दिल्लीस्थित अपोलो अस्पतालमा उपचार भइरहेको छ । खनालका स्वकिय सचिव कृष्ण भट्टराईका अनुसार चित्रकारको स्वास्थ्य अवस्था पहिलेभन्दा निकै राम्रो भएको छ । 'निकै सुधार भएको छ, तर अझै पनि चिकित्सकहरूको निगरानीमा राख्नुपर्ने भएकाले उहाँ अस्पतालमै हुनुहुन्छ' भट्टराइले भने । उनका अनुसार चिकित्सकहरूले चित्रकारलाई क्रमिक रूपमा सामान्य जीवनतर्फ फर्काउने तयारी गरिरहेका छन्। भदौ २४ गतेको बिहान खनाल दम्पती बसोबास गर्ने निवासमा आगलागी भएको थियो । घटनामा चित्रकारको शरीरको करिब १५–१७ प्रतिशत भाग जलेको र देब्रे हातमा गम्भीर चोट लागेको बताइएको छ । सुरुमा उनलाई कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका लागि लगिएको थियो । तर, संक्रमण बढ्ने जोखिम देखिएपछि थप उपचारका लागि भारतको अपोलो अस्पताल लगिएको हो । अपोलो अस्पतालमा अन्तर्राष्ट्रिय स्तरको बर्न र रिकन्स्ट्रक्टिभ सर्जरीका विशेषज्ञ चिकित्सकहरूको टोलीले उनको उपचार गरिरहेको जनाइएको छ । अस्पतालका अनुसार, उपचारको पहिलो चरण सफल भएको छ र अहिले उनको शरीरमा संक्रमण नियन्त्रणमा छ । अपोलो अस्पतालले जारी गरेको चिकित्सकीय बुलेटिनमा चित्रकारको अवस्था स्थिर र सुधारोन्मुख रहेको उल्लेख छ । परिवारले केही दिनभित्र उनलाई सामान्य वार्डमा सार्ने योजना रहेको बताएको छ । पत्निको उपचारकालागी दिल्लीमा रहेका नेकपा एसका नेता खनाल पार्टीको केन्द्रीय कमिटी बैठककालागी सोमबार काठमाडौं आएका छन् ।
४८ वटा सडक ठेक्का तोड्ने तयारी, ठेकेदारलाई १५ दिनको समय
काठमाडौं । सडक डिभिजन कार्यालय काठमाडौंले मातहतका ४८ वटा सडक परियोजनाको ठेक्का तोड्ने प्रक्रिया अघि बढाएको छ । लामो समयदेखि निर्माण कार्यमा ढिलाइ र असन्तोषजनक प्रगतिका कारण कार्यालयले ठेकेदारहरुलाई १५ दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको हो । संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयअन्तर्गत काठमाडौं डिभिजनले मंगलबार सूचना प्रकाशित गर्दै भनेको छ, 'पटक-पटक मौखिक तथा लिखित निर्देशन दिइँदा पनि कार्यप्रगतिमा सुधार नभएको, संशोधित कार्यतालिकाअनुसार काम अघि नबढेको, ठेक्काको म्याद समाप्त भइसकेको तथा ठेक्का लामो समयदेखि अलपत्र अवस्थामा रहेकाले ठेक्का अन्त्य गर्नुपर्ने देखिन्छ ।' कार्यालयले ठेकेदारहरुलाई १५ दिनभित्र ठेक्का किन नतोडिने भन्ने बारे औपचारिक स्पष्टीकरणसहित उपस्थित हुन आग्रह गरेको छ । डिभिजनका अनुसार धेरैजसो सडक तथा पुल निर्माण कार्यहरू लामो समयदेखि रोकिएका वा सुस्त गतिमा रहेका छन् । निरन्तर ढिलाइका कारण सार्वजनिक सरोकारका परियोजनाहरू प्रभावित भएको भन्दै कार्यालयले ठेक्का सम्झौताअनुसार कानुनी प्रक्रिया अघि बढाउने चेतावनी दिएको छ । यदि तोकिएको समयभित्र ठेकेदारले सन्तोषजनक कारण प्रस्तुत नगरे, ती ठेक्काहरू स्वतः रद्द हुने र नयाँ ठेक्का प्रक्रिया अघि बढाइने बताइएको छ ।
प्रचण्डको अपिल - 'राष्ट्रिय स्वाधीनता र लोकतन्त्रको रक्षा गर्न वामपन्थी एउटै झण्डामुनि एकताबद्ध होऊँ'
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशका सामु देखिएका जटिल राजनीतिक परिस्थिति, जनअपेक्षा, राष्ट्रिय स्वाधीनता र लोकतन्त्र माथि देखा परेका चुनौती समाधानका लागि वामपन्थी शक्तिहरूबीच एकता र साझा आन्दोलन अपरिहार्य भएको बताएका छन् । सामाजिक सञ्जालमार्फत विचार व्यक्त गर्दै अध्यक्ष प्रचण्डले राष्ट्रले भोगिरहेका समस्या र संकटहरूको समाधान अग्रगामी क्रान्तिकारी विचार, प्रतिबद्ध संगठन र इमान्दार राजनीतिक पहलकदमीबाट मात्रै सम्भव हुने उल्लेख गरे । 'देशभक्त, प्रगतिशील, वामपन्थी शक्तिहरुबीच संगठनात्मक ध्रुवीकरण तथा लोकतान्त्रिक शक्तिहरूबीच राष्ट्रिय सहकार्य अपरिहार्य बनेको छ,' प्रचण्डले भने, 'राष्ट्रिय स्वाधीनता, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र समाजवाद निर्माणको आधार तयार पार्न माओवादी सहितका वामपन्थी शक्तिहरूले एकता र साझा आन्दोलनमार्फत अघि बढ्नु आजको आवश्यकता हो ।' प्रचण्डले सबै माओवादी धारासहितका वामपन्थीहरूलाई एउटै कम्युनिस्ट पार्टीको झण्डामुनि एकताबद्ध हुन अपिल गरेका छन् । साथै, उनले संविधानको रक्षा, समुन्नत लोकतन्त्रको विकास र राष्ट्रिय स्वाधीनताको सुदृढीकरणका लागि सबै गणतान्त्रिक शक्तिलाई राष्ट्रिय एकताको साझा मोर्चामा गोलबन्द हुन आह्वान गरे । प्रचण्डले आफ्नो सन्देशमा भनेका छन्, 'यतिखेर देशका सामु देखिएका जटिलता तथा जनअपेक्षा, राष्ट्रिय स्वाधीनता र लोकतन्त्र माथि देखा परेका चुनौती हल गर्ने ऐतिहासिक जिम्मेवारी हाम्रा सामु छ ।'
अस्पताल तोडफोड र चिकित्सकमाथि भएको कुटपिट घटनामा चिकित्सक संघको आपत्ती
काठमाडौं । किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल ललितपुरमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरू माथि भएको कुटपिट र अस्पताल तोडफोड घटनाप्रति नेपाल चिकित्सक संघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । कार्तिक ८ गते उपचारको क्रममा बिरामीको मृत्यु भएको विषयलाई लिएर अस्पतालजस्तो संवेदनशील क्षेत्रमा भएको आपराधिक कार्यको भत्सर्ना गरेको छ । संघले उपचारको क्रममा मृत्यु भएको दिवङ्गत आत्माको चीर शान्तिको कामना गर्दै शोकाकुल परिवार र नवजात शिशुको शिघ्र स्वास्थ्यको कामना गर्दै आफन्तहरूले अस्पतालमा गरेको क्रियाकलापप्रति खेद प्रकट गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘यदि उपचारको क्रममा लापरबाही भएको संका लागेमा कानूनी प्रकृयामा जान सकिने प्रावधान हुँदाहुँदै चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि कुटपिट तथा अमानवीय व्यवहार गर्नुका साथै स्वास्थ्य संस्था नै तोडफोड गर्ने जस्ता आपराधिक कार्यले चिकित्सक तथा स्वास्थ्यकर्मीको मनोबलमा आँच आई स्वास्थ्य सेवा प्रवाहमा नै असर पुग्ने छ ।’ समग्र स्वास्थ्य क्षेत्रलाई आतङ्कित तथा भयभीत पार्ने गरी घटाइएको यस्तो अस्वभाविक घटनामा संलग्न दोषीहरूलाई अविलम्ब कानुनको दायरामा ल्याई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ (पहिलो संशोधन २०७९) बमोजिम कडा भन्दा कडा कारबाही गर्न तथा सुरक्षित र भयरहित वातावरणमा स्वास्थ्य सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन माग गरेको छ ।
सुनको मूल्य तोलामा २ हजार ९ सय घट्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्य मंगलबार पनि घटेको छ । मंगलबार सुनको मूल्य प्रतितोला २ हजार ९ सय रुपैयाँले घटेर २ लाख ३७ हजार रुपैयाँमा झरेको छ । सोमबार सुनको मूल्य तोलाको २ लाख ३९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ६० रुपैयाँले घटेर २ हजार ९२० रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको तोलाको २ हजार ९८० रुपैयाँमा कारोबार भएको थियो । अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔंस तीन हजार ९७५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।
गोर्खाज फाइनान्सबाट बाहिरिए बुढाथोकी, अध्यक्ष बनिन् कल्पना खापुङ
काठमाडौं । गोर्खाज फाइनान्सको अध्यक्षमा कल्पना खापुङ नियुक्त भएकी छिन् । कात्तिक ११ गते बसेको सञ्चालक समिति बैठकले अध्यक्षमा खापुङलाई चयन गरेको कम्पनी सचिव यान सिं राईले जानकारी दिए । उनका अनुसार उनी संस्थापक सेयरधनीहरुकोतर्फबाट कम्पनीको सञ्चालक बनेकी थिइन् । फाइनान्सका अध्यक्ष गौरव बुढाथोकीले राजीनामा दिएपछि खापुङ अध्यक्षमा चयन भएकी हुन् । बुढाथोकीले व्यक्तिगत कारण देखाउँदै सञ्चालक समितिको अध्यक्ष र सञ्चालक समिति सदस्य दुवै पदबाट कात्तिक ९ गते राजीनामा दिएका हुन् । कम्पनीको कात्तिक ११ गते बसेको सञ्चालक समिति बैठकले आज मंगलबारदेखि लागू हुने गरी बुढाथोकीको राजीनामा स्वीकृत गरेको उनले बताए । खापुङ राष्ट्र बैंकबाट अवकाश कर्मचारी हुन् । उनी विभिन्न संघसंस्थामा समेत आवद्ध रहेको बताइएको छ ।