विकासन्युज

भू-राजनीतिक तनाव बढेसँगै सुन ऐतिहासिक उचाइमा, मूल्य प्रतिऔंस ५ हजार डलर नाघ्यो

काठमाडौं । विश्वभर भू–राजनीतिक तनाव र वित्तीय जोखिम बढ्दै जाँदा लगानीकर्ताहरू सुरक्षित लगानीको खोजीमा सुनतर्फ आकर्षित भएका छन् । यही कारण सोमबार सुनको मूल्य प्रतिऔंस ५ हजार अमेरिकी डलरको सीमा पार गर्दै नयाँ सर्वकालीन उच्च विन्दुमा पुगेको छ । सोमबार सुनको मूल्य बढेर प्रतिऔंस करिब ५ हजार ९० डलर पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । सुनसँगै चाँदीको मूल्य पनि बढेको छ । सोमबार चाँदी ३ प्रतिशतले वृद्धि भई प्रतिऔंस १०६.१ डलरमा पुगेको छ । औद्योगिक क्षेत्रमा बढ्दो मागले चाँदीको मूल्यलाई थप टेवा दिएको विश्लेषकहरूले बताएका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी चाँदीको मूल्य प्रतितोलामा ६ हजार ७६५ रुपैयाँमा कारोबार भइरहेको छ । ग्रीनल्यान्ड, भेनेजुएला र मध्यपूर्वलगायत विभिन्न क्षेत्रमा देखिएका तनावले विश्वव्यापी भू–राजनीतिक जोखिम बढेको संकेत गरेको छ । यस्तो अनिश्चित परिस्थितिमा जोखिमबाट जोगिनका लागि लगानीकर्ताहरूले सुनलाई ‘हेज’ अर्थात् सुरक्षाको माध्यमका रूपमा रोजिरहेका छन्, जसले सुनको आकर्षण अझ बलियो बनेको छ । एचएसबीसीले गत हप्ता जारी गरेको एक नोटमा भनेको छ, ‘सुन र चाँदीको मूल्यमा देखिएको पछिल्लो वृद्धि ग्रीनल्यान्डसँग सम्बन्धित भू–आर्थिक मुद्दाहरूको पृष्ठभूमिमा आएको हो ।’ युनियन बन्काएर प्रिभेका विश्लेषकहरूले शुक्रबार सार्वजनिक गरेको विश्लेषणमा संस्थागत तथा खुद्रा दुवै प्रकारका लगानीकर्ताबाट निरन्तर माग रहेकाले सुन र चाँदीको मूल्य उक्लिएको बताएका छन् । युबीपीले भनेको छ, ‘केन्द्रीय बैंकहरू र खुद्रा लगानीकर्ताबाट निरन्तर माग कायमै रहेकाले सुनले आगामी दिनमा पनि बलियो प्रदर्शन गर्ने अपेक्षा गरेका छौं । वर्षको अन्त्यसम्म सुनको मूल्य प्रतिऔंस ५ हजार २०० डलरसम्म पुग्ने  अनुमान गरिएको छ ।’ गोल्डम्यान स्याक्सका अनुसार हाल सुनको माग परम्परागत माध्यमहरूभन्दा बाहिर फैलिँदै गएको छ । सन् २०२५ को सुरुदेखि नै पश्चिमी ईटीएफहरूमा करिब ५०० टन सुन थपिएको बैंकले जनाएको छ । लगानी बैंक गोल्डम्यान स्याक्सले डिसेम्बर २०२६ का लागि सुनको मूल्य पूर्वानुमान बढाउँदै प्रतिऔंस ५ हजार ४०० डलर पु‍र्याएको छ । यसअघि उक्त अनुमान ४ हजार ९०० डलर थियो । विश्वव्यापी म्याक्रो आर्थिक अवस्था र नीतिगत जोखिमविरुद्धको हेज दीर्घकालीन हुने देखिएकाले यस वर्ष सुनको आधार मूल्य स्तर नै माथि सरेको बैंकको तर्क छ । केन्द्रीय बैंकहरूको सुन खरिद पनि मजबुत देखिएको छ । गोल्डम्यानका अनुसार हाल केन्द्रीय बैंकहरूले औसतमा महिनामा करिब ६० टन सुन खरिद गरिरहेका छन्, जुन सन् २०२२ अघिको औसत १७ टनको तुलनामा निकै बढी हो । उदीयमान बजारका केन्द्रीय बैंकहरूले विदेशी मुद्रा भण्डारलाई सुनतर्फ सार्ने क्रम पनि निरन्तर जारी छ । सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको वित्तीय दिगोपनसम्बन्धी चिन्तासहितका विश्वव्यापी म्याक्रो–नीति जोखिमविरुद्धका हेजहरू सन् २०२६ भरि कायम रहने गोल्डम्यानको अनुमान हो । यो अवस्था सन् २०२४ को अन्त्यतिर अमेरिकी निर्वाचनपछि छिट्टै हटेका निर्वाचनसम्बन्धी हेजहरूभन्दा फरक रहेको बैंकले जनाएको छ । गोल्डम्यान स्याक्सले गत हप्ता भनेको थियो, ‘हामी विश्वव्यापी म्याक्रो–नीति जोखिमविरुद्धका हेजहरू स्थिर रहने अनुमान गर्छौं किनभने जोखिमहरू सन् २०२६ मा पनि पूर्ण रूपमा समाधान नहुन सक्छन् ।’

सुन र चाँदीको मूल्यमा नयाँ रेकर्ड, सुन तोलामा ३ लाख ९ हजार पुग्यो

काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ । पछिल्ला तीन दिनदेखि सुन र चाँदीको मूल्य लगातार बढ्दै नयाँ–नयाँ रेकर्ड कायम गरिरहेको छ । सोमबार सुनको मूल्य प्रतितोला ५ हजार २०० रुपैयाँले वृद्धि भई नयाँ उचाइमा पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन प्रतितोला ३ लाख ३ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्यले पनि सोमबार नयाँ रेकर्ड बनाएको छ । चाँदीको मूल्य तोलामा २८५ रुपैयाँले बढेर प्रतितोला ६ हजार ७६५ रुपैयाँ पुगेको छ । आइतबार चाँदी प्रतितोला ६ हजार ४८० रुपैयाँमा कारोबार भएको थियो ।   

कार्टस इन्टरप्राइजेज प्रालिलाई विभागले तिरायो ५० हजार जरिवाना

काठमाडौं । नियमित रुपमा बजार अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कार्टस इन्टरप्राइजेज प्रालिलाई ५० हजार रुपैयाँ जरिवाना गरेको छ ।      अनुमगनका क्रममा कैफियत भेटिएपछि विभागले सो फर्मलाई उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार कारबाही गरेको हो । विभागले काठमाडौंका विभिन्न १७ वटा फर्ममा अनुगमन गरेको थियो ।       अन्य १६ वटालाई भने सुधारात्मक निर्देशन दिएको छ । लगातार बजार अनुगमन गर्दै सुधारात्मक अभियान चलाइरहेको विभागले स्थानीय प्रशासन, सरोकारवाला निकाय र उपभोक्ता अधिकारकर्मीको समेत साथ लिने गरेको छ ।  

गरिमा विकास बैंकले चार्टर्ड एकाउन्टेन्ट सदस्यलाई बिना धितो १५ लाखसम्म कर्जा दिने

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एसीएएन) मा आबद्ध चार्टर्ड एकाउन्टेन्टहरूलाई लक्षित गर्दै आकर्षक ब्याजदरमा विभिन्न कर्जा सुविधा उपलब्ध गराउने सम्बन्धमा संघसँग सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा गरिमा विकास बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्याय र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघका तर्फबाट अध्यक्ष अनुप नेपालले हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार एसीएएनमा आबद्ध चार्टर्ड एकाउन्टेन्ट सदस्यहरूले न्यूनतम आवश्यक कागजातका आधारमा ७५ हजार रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्मको क्रेडिट कार्ड सुविधा प्राप्त गर्न सक्नेछन् । साथै, आवश्यक प्रक्रिया पूरा गरेपछि बिना धितो अधिकतम १५ लाख रुपैयाँसम्मको व्यक्तिगत व्यावसायिक (प्रोफेसनल) कर्जा पनि उपलब्ध गराइनेछ । त्यसैगरी, गरिमा विकास बैंकले चार्टर्ड एकाउन्टेन्ट सदस्यहरूलाई आकर्षक ब्याजदरमा आवास कर्जा तथा सवारी साधन कर्जा समेत प्रदान गर्ने जनाएको छ । हाल बैंकले 'अब आफ्नै घर' भन्ने नाराका साथ ६.४९ प्रतिशतदेखि गरिमा आवास कर्जा तथा ५.९९ प्रतिशतदेखि गरिमा एसएमई तथा व्यवसाय कर्जा प्रवाह गर्दै आएको छ । हाल गरिमा विकास बैंक लिमिटेडको देशभर १२६ वटा शाखा कार्यालय, ५१ वटा एटिएम तथा नवीनतम डिजिटल बैंकिङ सेवामार्फत करिब ९ लाख ५० हजार ग्राहकलाई सरल, सुरक्षित र गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

सानिमा बैंकका नवनियुक्त सीईओ पवनकुमार आचार्यद्वारा पदभार ग्रहण

काठमाडौं । सानिमा बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) पवनकुमार आचार्यले आइतबार औपचारिक रूपमा पदभार ग्रहण गरेका छन् । बैंक सञ्चालक समितिको गत कात्तिक २४ गते बसेको बैठकको निर्णयअनुसार आचार्य प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका हुन् । २१ वर्षदेखि सानिमा बैंकमा निरन्तर रूपमा विशिष्ट योगदान पुर्‍याउँदै आएका आचार्य पदभार ग्रहणअघि बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा कार्यरत थिए । आफ्नो लामो सेवाकालमा उनले दशभन्दा बढी विभाग तथा शाखाको नेतृत्व गर्दै बैंकको संस्थागत विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । शैक्षिक योग्यताका हिसाबले आचार्यले संयुक्त राज्य अमेरिकाको पिट्सबर्ग स्टेट युनिभर्सिटीबाट स्नातकोत्तर तथा भारतको एनआईटी जयपुरबाट इन्जिनियरिङमा स्नातक डिग्री हासिल गरेका छन् । साथै, उनले एसएलसी परीक्षा आदर्श विद्या मन्दिर हाई स्कुलबाट बोर्ड तेस्रो श्रेणीमा उत्तीर्ण गरेका थिए । उनको प्रमुख कार्य क्षेत्र कर्जा मूल्याङ्कन, डिजिटलाइजेसन तथा परियोजना वित्तमा केन्द्रित रहेको छ । हाल उनी सानिमा बैंकको सहायक कम्पनी सानिमा क्यापिटल लिमिटेडको अध्यक्षको रूपमा पनि कार्यरत छन् । बैंकिङ क्षेत्रबाहेक उनले इन्जिनियरका रूपमा चार वर्षभन्दा बढी व्यावसायिक अनुभव हासिल गर्नुका साथै पाँच वर्षसम्म भिजिटिङ फ्याकल्टीको रूपमा समेत सेवा प्रदान गरेका छन् । उनको विश्लेषणात्मक क्षमता, रणनीतिक सोच र दीर्घ बैंकिङ अनुभवका आधारमा आचार्यको नेतृत्वमा सानिमा बैंकले थप सफलता र प्रतिष्ठा हासिल गर्ने विश्वास बैंकले व्यक्त गरेको छ ।

झापामा ५५ जना नयाँ कुष्ठरोगी फेला, नयाँ रोगीको संख्या बर्सेनि बढ्दै

बनियानी । झापामा पछिल्लो छ महिनाका अवधिमा ५५ नयाँ कुष्ठरोगी फेला परेका छन् । चालु आर्थिक वर्ष २०८२/८३ को पुस मसान्तसम्म एक बालबालिकासहित ५५नयाँ कुष्ठरोगी फेला परेको स्वास्थ्य कार्यालय झापाका कुष्ठरोग फोकल पर्सन वीरेन्द्र दासले जानकारी दिए ।  उनका अनुसार जिल्लाका १५ वटा पालिकामध्ये सबैभन्दा धेरै दमक नगरपालिका र कचनकवल गाउँपालिकामा १२र१२ नयाँ कुष्ठरोगी फेला परेका छन् । त्यस्तै, मेचीनगर नगरपालिकामा तीन जना, बुद्धशान्ति गाउँपालिकामा दुई जना, शिवसताक्षी नगरपालिकामा पाँच जना, गौरादह नगरपालिका र गौरीगञ्ज गाउँपालिकामा दुई/दुईजना, बाह्रदशी गाउँपालिका र बिर्तामोड नगरपालिकामा पाँच/पाँच जना र भद्रपुर नगरपालिकामा चार जना नयाँ कुष्ठ रोगी फेला परेका छन् । चालु आर्थिक वर्षमा ५३  कुष्ठरोगीले उपचारसमेत पाएको फोकल पर्सन दासले बताए ।  पछिल्लो पाँच वर्षको तथ्यांक हेर्दा झापा जिल्लामा नयाँ कुष्ठरोगी फेला पर्ने सङ्ख्या बढ्दै गएको देखिन्छ । जिल्लामा गत आर्थिक वर्ष २०७७/७८ मा ९५ जना कुष्ठरोगी फेला परेका थिए भने आर्थिक वर्ष २०७८/७९ मा एक सय २१ , आव २०७९/८० मा एक सय ५७ , आव २०८०/८१ मा एक सय २१ र २०८०/८१ मा एक सय ४७ नयाँ कुष्ठरोगी फेला परेको कार्यालयले जनाएको छ । तथ्यांकको आधारमा हेर्दा २०७७/७८ मा सङ्क्रमण दर १.०२ प्रतिशतबाट आव २०८०/८१ मा आइपुग्दा १.४७५ पुगेको देखिन्छ । विश्वमा बर्सेनि झण्डै दुई लाख नेपालमा बर्सेनि करिब दुई हजार पाँच सय नयाँ कुष्ठरोगी फेला पर्ने गरेको फोकल पर्सन दास बताउँछन् । चिह्न र लक्षणको आधारमा कुष्ठरोग दुई प्रकारको हुने उनले बताए ।  'कम सर्ने खालको कुष्ठरोग र सर्ने खालको कुष्ठरोग हुन्छ', उनले भने, 'बहु–औषधि उपचार पद्धतिद्वारा छ देखि १२ महिनाको अवधिसम्म तीन प्रकारका औषधिको प्रयोगबाट कुष्ठरोग निको हुन्छ र समयमै कुष्ठरोगको उपचार भएमा अपाङ्गता पनि हुँदैन ।' सामाजिक अवहेलनाको डरले गाउँघरमा अझै पनि धेरै कुष्ठरोगी लुकेर रहेकाले सूक्ष्म रूपमा खोजपतड्ला गर्नुपर्ने उनको भनाइ छ । रासस 

यस्तो छ सोमबारका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ८१ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४१ पैसा तोकिएको छ । युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ६५ पैसा र बिक्रीदर १७४ रुपैयाँ ३६ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर २०० रुपैयाँ ३२ पैसा र बिक्रीदर २०१ रुपैयाँ १४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८८ रुपैयाँ १५ पैसा र बिक्रीदर १८८ रुपैयाँ ९१ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०१ रुपैयाँ २४ पैसा र बिक्रीदर १०१ रुपैयाँ ६५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ १६ पैसा र बिक्रीदर १०७ रुपैयाँ ५९ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११५ रुपैयाँ ४२ पैसा र बिक्रीदर ११५ रुपैयाँ ८९ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ४३ पैसा र बिक्रीदर नौ रुपैयाँ ४७ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ०८ पैसा र बिक्रीदर २१ रुपैयाँ १७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ १४ पैसा र बिक्रीदर ३९ रुपैयाँ ३०  पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ २८ पैसा र बिक्रीदर ४० रुपैयाँ ४५ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ७४ पैसा र बिक्रीदर चार रुपैयाँ ७६  पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ९७ पैसा र बिक्रीदर ४० रुपैयाँ १३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३६ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८० पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ १५ पैसा र बिक्रीदर १० रुपैयाँ १९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ४० पैसा र बिक्रीदर १६ रुपैयाँ ४६ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ २६ पैसा र बिक्रीदर २३ रुपैयाँ ३५  पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ८३ पैसा र बिक्रीदर १८ रुपैयाँ ९१ पैसा, कुवेती दिनार एकको खरिददर ४८० रुपैयाँ ९५ पैसा र बिक्रीदर ४८२ रुपैयाँ ९२ पैसा , बहराइन दिनार एकको खरिददर ३८९ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३९० रुपैयाँ ९८  पैसा , ओमनी रियाल एकको खरिददर ३८१ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३८२ रुपैयाँ ८७ पैसा रहेको छ । यस्तै,भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको  छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

वीरगञ्ज नाकाबाट आयात १५.३० प्रतिशत बढ्यो, ६ महिनामा ४ खर्ब ३८ अर्बको सामान भित्रियो

काठमाडौं । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको ६ महिनामा ४ खर्ब ३८ अर्ब २१ करोड रुपैयाँ का वस्तु तथा सामान आयात भएको छ । गत आवको छ महिनाका तुलनामा चालु आवको सोही अवधिमा यो नाका हुँदै हुने आयात १५.३० प्रतिशतले बढी आयात भएको हो । जबकी गत आवको ६ महिनामा भने ३ खर्ब ८० अर्ब ६ करोड रुपैयाँ बराबरका वस्तु तथा सामान भित्रिएको थियो । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले चालु आवको ६ महिनामा यो नाका हुँदै हुने आयातमा उल्लेखनीय वृद्धि भएको बताए ।  चालु आवको छ महिनामा ९० अर्ब ६ करोड रुपैयाँको पेट्रोलियम पदार्थको आयात भएको छ । ३९ अर्ब ३ करोड रुपैयाँ पर्ने फलाम तथा फलामबाट बनेका सामान आयात भएका छन् । चालु आवको छ महिनामा ३० अर्ब १ करोड रुपैयाँ पर्ने मेसिनरी तथा पार्टपुर्जा आयात भएका छन् भने २७ अर्ब ७२ करोड रुपैयाँ पर्ने भटमासको कच्चा तेल आयात भएको छ । सोही अवधिमा २४ अर्ब ६१ करोड रुपैयाँ पर्ने ‘इलेक्ट्रिक मेसिनरी’, उपकरण र तिनका पार्टपुर्जा आयात भएका छन् । त्यस्तै १९ अर्ब ४ करोड रुपैयाँ पर्ने कपडाहरु आयात भएका छन् ।