विकासन्युज

बागमती प्रदेशमा मन्त्रालयको सङ्ख्या १४ बाट सातमा झार्ने तयारी

बागमती । बागमती प्रदेश सरकारले मन्त्रालयको सङ्ख्या घटाउने तयारी थालेको छ ।   खर्च कटौती र आर्थिक मितव्ययी अपनाउने निर्णय गरेको प्रदेश सरकारले हाल कायम रहेको प्रदेश मन्त्रालयको सङ्ख्या १४ बाट सातमा झार्ने तयारी थालेको छ । प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले प्रदेश सरकारलाई मन्त्रालयको सङ्ख्या घटाउन माग गर्दै केही दिनअघि ज्ञापनपत्र बुझाएको थियो ।   प्रमुख प्रतिपक्ष दलको ज्ञापनपत्रपश्चात केही दिनअघि बसेको सत्तारुढ दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलको संयुक्त बैठकमा प्रदेश सरकारको मन्त्रालय घटाउने विषयमा सहमति भएपछि सरकार मन्त्रालयको सङख्या घटाउने गृहकार्यमा जुटेको हो ।   'सत्तारुढ दलको संयुक्त बैठकमा मन्त्रालयको सङ्ख्या घटाउने सैद्धान्तिक सहमति भएसँगै सरकारले एउटा समिति नै बनाएर यस विषयमा अध्ययन सुरु गरिसकेको छ', मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भने, 'मन्त्रालयको सङ्ख्या कति घटाउने ? कुनकुन मन्त्रालय राख्ने ? कुनकुन मन्त्रालय समायोजन गर्ने, कर्मचारी व्यवस्थापन कसरी गर्नेलगायतका विषयमा समितिले अध्ययन गरिरहेको छ ।' प्रदेश सरकारको मन्त्रालयको घटाउने विषयमा दलहरू सहमत रहेकाले मन्त्रालयको सङ्ख्या घटाउने विषयमा ठोस निर्णयमा पुग्नका लागि हामीले प्रक्रिया सुरु गरिसकेका छौँ, मुख्यमन्त्री बानियाँको भनाइ छ ।   खर्च कटौती र सुशासन प्रदेश सरकारको प्रमुख प्राथमिकता भएकाले मन्त्रालय र संरचनाको विषयमा दलहरूसँग छलफल गरेर साझा धारणा निर्माण गरी यसलाई तार्किक निष्कर्षमा पुर्याउने मुख्यमन्त्री बानियाँले बताए ।  'अहिलेको परिस्थिति फेरिएको छ, हामी केबल मन्त्रालयको सङ्ख्या घटाउने भनेर मात्र होइन, कसरी व्यवस्थापन गर्ने भन्नेमा केन्द्रित छौँ', मुख्यमन्त्री बानियाँले भने, 'पहिलो चरणमा दलीय सहमति जुटाउने र त्यसपछि विज्ञहरूको सुझाव सल्लाहअनुसार मन्त्रालयको सङ्ख्या घटाउने र व्यवस्थापन गर्ने निचोडमा पुग्छौँ', मन्त्रालयको सङ्ख्या घटाउने विषय विशुद्ध प्रशासनिक सुधार र वित्तीय अनुशासनसँग जोडिएको विषय भएकाले दलीय सहमतिकै आधारमा टुङ्गो लगाउने मुख्यमन्त्री बानियाँले भने । रासस

हिमपातपछि पदयात्रा स्थगित, पर्यटकलाई नारच्याङ र भुरुङ्ग तातोपानीमा ल्याइयो

म्याग्दी । हल्का वर्षा सहित हिमपात भएपछि म्याग्दी र मुस्ताङका पर्यटकीयस्थलका भ्रमणमा गएका पर्यटक समस्यामा परेका छन् ।  गए रातिदेखि ती जिल्लाका पहाडी क्षेत्रमा हल्का वर्षा र माथिल्लो क्षेत्रमा हिमपात भएको छ । हिमपातका कारण घुम्न आएका पर्यटक बास बसेकै ठाउँमा रोकिएका मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ का वडाध्यक्ष प्रमेश गुरुङले जानकारी दिए ।  'सडक र पदमार्गमा हिउँ जमेर यातायात सञ्चालन तथा पैदलयात्रा गर्न सक्ने अवस्था छैन', उनले भने, 'जोखिम हुने भएकाले पर्यटक बास बसेको ठाउँबाट बाहिर निस्किएका छैनन् । ननिस्कन आग्रह समेत गरेका छौँ ।' मौसम विज्ञान विभाग, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरण, म्याग्दी र मुस्ताङका जिल्ला प्रशासन कार्यालयले आजदेखि वर्षा र हिमपात हुने भएकाले पदयात्रामा नजान सोमबार सार्वजनिक सूचना जारी गरेकाले पर्यटक कम आएका जनाइएको छ ।   मुक्तिनाथ, लोमान्थाङ, चराङलगायत माथिल्लो क्षेत्रमा हल्का वर्षा सहित हिमपात भएको छ । म्याग्दीको अन्नपूर्ण आधार शिविर, पञ्चकुण्ड ताल, घोडेपानी, खोप्रालेक, मोहरेडाँडा, कोखेडाँडाका भ्रमणमा गएका पर्यटक पनि वर्षा र हिमपातका कारण प्रभावित भएका छन् ।  अन्नपूर्ण आधार शिविर जोड्ने मौरिस हर्जोग पदमार्गको प्रवेशबिन्दुमा रहेको हुमखोलाका होटल व्यवसायी तेज गुरुङले आज बिहानैदेखि पदमार्गमा आवतजावत नभएको जानकारी दिए । 'अघिपछि दैनिक पाँच सय जना पर्यटक आएकामा सोमबार दुई सय जना जति आएका थिए', उनले भने, 'वर्षात् र हिमपात भएकाले आजको पदयात्रा स्थगित गरेर बसेका छन् ।' अन्नपूर्ण गाउँपालिका–४ का वडाध्यक्ष लोकबहादुर पुनले गएराति १२ः०० बजेसम्म यातायात व्यवस्थापन गरेर मौरिस हर्जोग पदमार्ग भएर अन्नपूर्ण आधार शिविरमा पुगेका पर्यटकलाई नारच्याङ र भुरुङ्ग तातोपानीमा झारिएको जानकारी दिए । घोडेपानीका होटल व्यवसायी डमबहादुर पुनले  मौसममा खराबी आएपछि पर्यटकले पदयात्रा स्थगित गरेर बसेका जानकारी दिए ।  'पुनहिलको दृृश्यावलोकन हेर्न र गन्तव्यतर्फ जाने पर्यटक बिहानैदेखि ‘डाइनिङमा ब्रेक फास्ट’ खाएर कोठामै बसेका छन्', उनले भने, 'चिसोका कारण स्वास्थ्यमा समस्या आउने, हिउँले पदमार्ग ढाकिँदा बाटो बिराउने, लडेर दुर्घटना हुने जोखिम भएकाले पदयात्रा स्थगित गर्न अनुरोध गरेका छौँ ।' रासस

सङ्खुवासभाको किमाथाङका केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौं । सङ्खुवासभाको उत्तरी क्षेत्र किमाथाङ्का आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।  राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार सङ्खुवासभा जिल्लाको किमाथाङ्का आसपास केन्द्रबिन्दु भएर मंगलबार बिहान ७ बजेर ३२ मिनेट जाँदा चार दशमलव तीन रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पबाट क्षति भएको रनभएका सम्बन्धमा सोधपुछ भैराखेको र हालसम्म एकीन जानकारी नआएको जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले जनाएको छ ।  यसअघि यही कात्तिक ५ गते बझाङको हेमन्तवाडा आसपास केन्द्रबिन्दु भएर तीन दशमलव नौ रेक्टर स्केलको भूकम्प गएको थियो । नेपाल हिमालय क्षेत्र भएकाले विभिन्न समयमा सानाठूला भूकम्प जाने गरेको छ ।  

कतारमा अन्तर्राष्ट्रिय गहना प्रदर्शनी शुरु

काठमाडौं । अन्तर्राष्ट्रिय गहना प्रदर्शनी अस्जादको सातौं संस्करण कतारको राजधानी दोहामा शुरु भएको छ । ६ दिने प्रदर्शनीमा स्थानीय, खाडी, अरब र अन्तर्राष्ट्रिय गहना कम्पनीहरूका १ सय ३० ब्रान्डहरू समावेश छन् ।  जसले यसलाई यस क्षेत्रको आफ्नो प्रकारको सबैभन्दा ठूलो कार्यक्रमहरू मध्ये एक बनाउँछ । यस वर्षको संस्करणको विशेष आकर्षण मोतीहरूको लागि समर्पित मण्डप हो । जसले कतारको गहिरो जरा गाडेको सम्पदालाई प्रतिबिम्बित गर्ने उत्कृष्ट संग्रहहरू प्रदर्शन गर्दछ ।  

उत्तरी गोरखामा हिमपातहुँदा मनास्लु क्षेत्र भ्रमणमा गएका पर्यटक प्रभावित

गोरखा । उत्तरी गोरखाका विभिन्न गाउँमा हिमपात भएको छ । चुमनुब्री गाउँपालिकाका विभिन्न गाउँबस्तीमा गए रातिदेखि हिमपात भइरहेको त्यहाँका स्थानीयले जनाएका छन् । हिमपात भएपछि जनजीवन प्रभावित भएको चुमनुब्री गाउँपालिका-७ का पासाङफुञ्जो लामाले जानकारी दिए । ‘गए राति हल्का पानी पर्न सुरु भएको थियो । राति नै हिउँ पर्न थाल्यो । अहिलेसम्म पनि हिउँ परिरहेको छ’, उनले भने, ‘अहिले मान्छेहरू घरभित्रै आगो तापेर बसिरहेका छन्, चौँरीहरू पनि भित्रको भित्रै छन् ।’ सो वडाको तीन हजार मिटरभन्दा धेरै उचाइमा रहेका निले, छुले, पाङ्दुन, लार, फुर्पे, लामागाउँ, बुर्जी, जोङ, छेकमलगायत गाउँ हिउँले ढाकिएका छन् । त्यस्तै वडा नं १ को सामागाउँ, साम्दो, वडा नं २ को स्याला, ल्होलगायतका गाउँ पनि हिउँले ढाकिएको छ । हिउँ परेपछि मनास्लु क्षेत्र भ्रमणमा गएका पर्यटक पनि प्रभावित भएका छन् । पाँच हजार १०६ मिटर अग्लो स्थानमा रहेको लार्केपासमा गएका पर्यटक सामागाउँ, साम्दोमै रोकिएका स्थानीयले बताएका छन् ।

एसवाई प्यानलले कात्तिक १९ गतेदेखि आईपीओ बिक्री गर्ने

काठमाडौं । एसवाई प्यानल नेपालले कात्तिक १९ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । पहिलो चरणमा उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर जारी गरे पश्चात् अब सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ बिक्री गर्न लागेको हो । कम्पनीले जारी पुँजी १ अर्ब ३० करोड ८१ लाख ३७ हजार १ सय रुपैयाँको ४० प्रतिशत अर्थात् ५२ करोड ३२ लाख ५४ हजार ८ सय रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ५२ लाख ३२ हजार ५४८ कित्ता सेयर जारी गर्नेछ । जसमध्ये २ प्रतिशत अर्थात् २ लाख ६१ हजार ६२७ कित्ता सेयर उद्योग प्रभावित क्षेत्र चितवनको रत्ननगर नगरपालिकाका स्थानीय बासिन्दा, १० प्रतिशत अर्थात् ४ लाख ९७ हजार ९२ कित्ता सेयर विदेशमा रोजगार गरिरहेका नेपालीलाई बिक्री गरिसकेको छ । अब बाँकी रहेको ४९ लाख ७० हजार ९२१ कित्ता सेयरमध्ये ३ प्रतिशत अर्थात् १ लाख ४९ हजार १२७ कित्ता कर्मचारीहरूलाई, ५ प्रतिशत अर्थात् २ लाख ४८ हजार ५४६ कित्ता सामूहिक लगानी कोष र ४० लाख ७६ हजार १५६ कित्ता सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री गरिने कम्पनीले जनाएको छ । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा छिटोमा कात्तिक २३ गतेसम्म आवेदन दिन सकिनेछ । यदि सो अवधिमा पूर्ण बिक्री नभए मंसिर ३ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयर वेब तथा एपबाट पनि आवेदन दिन सक्नेछन् ।

इक्रा नेपालको ४७.३१ प्रतिशत लाभांश घोषणा

काठमाडौं । इक्रा नेपालले लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको करसहित ४७.३१ प्रतिशतका दरले ३ करोड ४० लाख ६४ हजार २१९ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।  उक्त लाभांश पारित गर्न कम्पनीले मंसिर ३ गते काठमाडौंमा दिउँसो ३ बजे १३औँ वार्षिक साधारण सभा डाकेको छ । सभाले सञ्चालक समितिको बैठक भत्ता वृद्धि गर्ने प्रस्ताव पारित गर्नेछ । यस्तै, सञ्चालक समितिको निर्वाचन गर्ने, गत आव २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षक प्रतिवेदन पारित र चालु आव २०८२/८३ को लागि लेखापरीक्षण गर्न पिकेएफ टि आर उपाध्या एण्ड कम्पनीलाई नियुक्त र पारिश्रमिक निर्धारण गर्नेछ । 

आज देशभर वर्षा हुने, हिमाली भू-भागमा भारी हिमपात

काठमाडौं । हाल पश्चिमी वायुका साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहँदा आज देशभर साधारणतया बदली रहने छ । आज दिउँसो गण्डकी, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी तथा हिमाली भू-भागका केही स्थानमा मध्यम हिमपात र वर्षा हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा आज यहाँ जारी मौसम बुलेटिनमा उल्लेख छ । साथै बाँकी तराईका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । बागमती, गण्डकी  र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा भारी हिमपात/वर्षाको पनि सम्भावना छ । त्यसैगरी आज राति कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशलगायत बाँकी पहाडी भू-भागमा साधारणतया बदली रही तराई भू-भागमा आंशिक बदली रहनेछ ।  गण्डकी प्रदेशका केही स्थान तथा बागमती, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू-भागका केही स्थान तथा कोशी प्रदेशलगायत बाँकी पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा मध्यम हिमपात र वर्षाको सम्भावना रहेको छ । बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा भारी हिमपात र वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।