निर्वाचन नजिकिदै गर्दा गृहमन्त्री अर्याल मधेस भ्रमणमा जाँदै
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन नजिकिदै गर्दा गृहमन्त्री ओमप्रकाश अर्यालले मधेस प्रदेशको भ्रमण गर्ने भएका छन् । निर्वाचनको तयारी र शान्ति सुरक्षाको अवस्था प्रत्यक्ष बुझ्न उनी आज सोमबार जनकपुर प्रस्थान गर्न लागेका हुन् । मन्त्री अर्यालसँगै उद्योग तथा कानुन मन्त्री अनिलकुमार सिन्हा, युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता र गृहसचिव रामेश्वर दंगाल पनि भ्रमण दलमा रहने छन् । गृह मन्त्रालयका अनुसार उनीहरू दुई दिन सोमबार र मंगलबार मधेस प्रदेशमा रहने कार्यक्रम रहेको छ । भ्रमणका क्रममा मन्त्री अर्यालले प्रदेशभित्रका सुरक्षा निकायका प्रमुखहरू, प्रमुख जिल्ला अधिकारीहरू, र स्थानीय प्रशासनसँग समन्वय बैठक गर्ने तयारी गरेका छन् । अर्यालले निर्वाचन सुरक्षासँग सम्बन्धित तयारी, जोखिम मूल्यांकन, मतदाताको सुरक्षासम्बन्धी योजना, र संवेदनशील स्थानहरूको अनुगमन गर्ने कार्यक्रम समेत रहेको मन्त्रालयले जनाएको छ। यसै क्रममा मन्त्री अर्यालले जनकपुर स्थित सुरक्षा निकायका कार्यालयहरूको निरीक्षण गरी आगामी निर्वाचनका लागि आवश्यक स्रोत, जनशक्ति, र व्यवस्थापनका विषयमा प्रत्यक्ष जानकारी लिने बताइएको छ । भ्रमण दलका सदस्यहरूले सरकारी कार्यालयका प्रमुखहरूसँग अन्तरक्रिया गर्दै निर्वाचन अवधिमा हुने सम्भावित चुनौती र समाधानका उपायबारे छलफल गर्ने कार्यक्रम पनि तय गरिएको छ । गृहमन्त्री अर्यालले भ्रमणका क्रममा मधेसमा मनाइने छठ पर्वका केही कार्यक्रममा समेत सहभागी हुनेछन्। स्थानीय प्रशासनले छठ पर्व र आसन्न निर्वाचनलाई दृष्टि गत गर्दै सुरक्षा व्यवस्था कडा बनाएको जनाएको छ । गृह मन्त्रालय स्रोतका अनुसार निर्वाचन नजिकिदै गर्दा शान्ति सुरक्षाको स्थिति स्थिर राख्न र प्रदेश स्तरीय संयन्त्रबीचको सहकार्य सुदृढ बनाउन यो भ्रमणलाई विशेष महत्त्वका रूपमा लिइएको छ ।
प्रभु बैंकबाट एकैपटक १० जना सेयरधनी बाहिरिँदै
काठमाडौं । प्रभु बैंकका एकै पटक १० जना संस्थापक सेयरधनी सेयर बिक्री गरेर बाहिरिने भएका छन् । बैंकमा रहेको आफ्नो नामको सेयर बिक्री गरेर एकैपटक १० जना सेयरधनी बाहिरिन लागेका हुन् । बैंकका अनुसार सेयरधनीहरूले आफ्नो नाममा रहेको ४ लाख २२ लाख ८०७ कित्ता सेयर बिक्रीमा राखेका हुन् । जसमध्ये उमेशचन्द्र राइले १८ हजार ९२० कित्ता, बलराम न्यौपानेले २ लाख कित्ता, विनोद कुमार अग्रवालले ४० हजार ५५७ कित्ता, कोपिला ढुंगाना घिमिरेले १८ हजार २९५ कित्ता, देव प्रसाद श्रेष्ठले २८ हजार ६२ कित्ता सेयर बिक्रीमा राखेका हुन् । यस्तै, खेतराज सिटौलाले १४ हजार २१७ कित्ता, उत्तम बरालले ५६ हजार १४२ कित्ता, सन्ध्या थापा क्षेत्रीले १६ हजार ८८ कित्ता, निर बहादुर सुनुवारको २ हजार ७३४ कित्ता र महेश कुमार अग्रवालले २७ हजार ७९२ कित्ता सेयर बिक्रीमा राखेका हुन् । बैंकको उक्त संस्थापक सेयरमा जो कोहि लगानीकर्ताले आवेदन दिन सक्नेछन् । खरिद गर्न इच्छुक लगानीकर्ताले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।
सूर्यबिना जीवन सम्भव छैन, छठले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउनेछ: राष्ट्रपति पौडेल
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले नेपालीको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् । छठ पर्व-२०८२ को अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उनले यस पर्वले समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत सबै प्रकारका विभेद, कुरिति एवं विसङ्गतिको अन्त्य गरी सम्पूर्ण नेपालीमा राष्ट्रिय एकता अभिवृद्धि गर्न, मौलिक संस्कृतिको संरक्षण तथा सम्वर्द्धन गर्न र आपसी सद्भाव थप सुदृढ पार्न प्रेरणा प्रदान गर्ने विश्वास लिए । छठ पर्वले दिगो शान्ति, सुशासन, विकास र समृद्धि प्राप्तिका लागि थप सहयोग पुग्ने राष्ट्रपति पौडेलको भनाइ छ । सूर्य, जल र पृथ्वीप्रति श्रद्धा गर्दै छठी माताको पूजा, अर्चना र व्रत गरी रातभर खोला, पोखरी तथा तालतलैयाको किनारमा जाग्राम बसी धुमधाम एवं हर्षोल्लासका साथ यो पर्व मनाउने चलन छ । छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोबाञ्छित फल पाइने, परिवारको कल्याण हुने र आफ्ना सम्पूर्ण दुःख र कष्ट हटेर शुभ हुँदै जाने जनविश्वास छ । राष्ट्रपति पौडेलले भने, ‘सूर्यबिना पृथ्वीमा जीवन सम्भव नरहने सन्दर्भलाई आत्मसात् गर्दै तन, मन लगाएर कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीका दिनसम्म जल प्रवाह हुने स्थानमा रहेर अस्ताउँदो र उदाउँदो सूर्यको किरणलाई दूधको अर्घय दिएर पूजा आराधना गरी यो पर्व मनाउनाले मानिसलाई प्रकृति प्रतिको दायित्व र पर्यावरणीय चेतना एवं पारिवारिक र सामाजिक ऐक्यबद्धता प्रकट गर्न सहयोग पुग्ने देखिन्छ ।’
आँबुखैरेनी मुग्लिन सडक आज राति २ घण्टा बन्द हुने
काठमाडौं । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी मुग्लिन सडक खण्ड आज सोमबार राति २ घण्टा पूर्ण रूपमा बन्द हुने भएको छ । आँबुखैरेनी गाउँपालिका-४ साँखरमा भूकम्प प्रतिरोधकता परीक्षणका लागि राति १२ देखि २ बजेसम्म उक्त खण्ड पूर्ण रूपमा बन्द हुने जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ । साँखरमा पहिरो नियन्त्रणका लागि भूकम्प प्रतिरोधकता परीक्षण अध्ययन गर्नुपर्ने भएकाले सडक बन्द गरिने कार्यालयका प्रशासकीय अधिकृत सिर्जना रेग्मीले जानकारी दिए । गत असोज १८ गते सडक भासिएको उक्त खण्ड हाल एकतर्फी रूपमा सञ्चालन भइरहेको छ । यसअघि विसं २०७९ जेठ २७ गते सोही ठाउँमा सडक भासिएपछि भित्ता काटेर मर्स्याङ्दी नदीतर्फबाट पर्खाल उठाइएको थियो । सोही ठाउँमा पुनः सडक भासिएको हो ।
आन्दोलनरत कर्मचारीलाई कार्यस्थलमा फर्कन युनिभर्सल मेडिकलको आह्वान
काठमाडौं । भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (युसिएमएस) शिक्षण अस्पताल प्रशासनले आन्दोलनरत कर्मचारीलाई कार्यस्थलमा फर्कन आह्वान गरेको छ । युसिएसएसका प्रमुख कार्यकारी अधिकृत अजय कुमार पिएसले प्रेस विज्ञप्ति जारी गर्दै बिरामीको उपचारलाई मध्यनजर गर्दै आकस्मिकसहित सघन उपचार, प्रसूतिलगायत सबै सेवाहरू पूर्ण रूपमा सञ्चालनमा ल्याउने गरी नियमित कार्यमा फर्किन आह्वान गरे । वर्तमान परिवेशमा आन्दोलनका कारण कुनै पनि बिरामीलाई प्रतिकूल प्रभाव पर्न गएमा सोको जिम्मेवार तथा जवाफदेही आन्दोलनकारी पक्ष नै हुने समेत विज्ञप्तिमा जनाइएको छ । हाल देखिएका समस्यालाई वार्ताको माध्यमबाट समाधानका लागि आवश्यक ‘समन्वय तथा सहयोग’ गरिदिन स्थानीय प्रशासन तथा सरोकार भएका सबैमा अपिल समेत गरिएको छ । यस कलेजमा कार्यरत नर्सिङ तथा प्यारामेडिक्स कर्मचारीले प्रशासन समक्ष विभिन्न माग राखी विसं २०८२ कात्तिक २ गतेदेखि आन्दोलनमा उत्रिएका छन् । उनीहरूले कात्तिक ११ गते मङ्गलबार दिउँसो १ बजेसम्म पनि माग सम्बोधन नभए पूर्ण रूपमा ‘पेन डाउन’ गर्न बाध्य हुने चेतावनी दिएका छन् ।
पदयात्रामा जानु अघि मौसमबारे जानकारी लिन आग्रह
काठमाडौं । सरकारले हिमाली तथा उच्च पहाडी क्षेत्रको यात्रामा निस्कनुअघि जल तथा मौसम विज्ञान विभागबाट जारी हुने मौसम पूर्वानुमानको बारेमा आवश्यक जानकारी लिन आग्रह गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पदयात्रामा जानु पूर्व पूर्व सूचना एवं ‘अलर्ट’बारे जानकारी लिन, लेक लाग्ने जोखिमबारे जानकारी प्राप्त गर्न आग्रह गरेको हो । यस्तै, पदयात्राका लागि आवश्यक पूर्वतयारी गर्न एवं लेक लागि हालेमा यात्रा रोकी तलतिर झरेर उपचार प्रक्रियामा लाग्न एवं एक्लै यात्रामा ननिस्कन समेत अनुरोध गरेको छ । पछिल्ला दुई दिन अर्थात् यही कात्तिक ८ र ९ गते लेक लागेर मनाङ र कास्कीमा गरी चार जनाको ज्यान गएको छ भने एक जना स्पेनी नागरिकलाई उपचारका लागि काठमाडौं ल्याइएको छ । लेक लागेर जीवन गुमाएकाप्रति प्राधिकरणले गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ । साथै, मृतकका परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै लेक लागेर बिरामी परेका व्यक्तिको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको प्राधिकरणका प्रवक्ता शान्ति महतले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । जल तथा मौसम विज्ञान विभागबाट जारी मौसम पूर्वानुमान अनुसार यही कात्तिक १० र ११ गते केही प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ । बङ्गालको खाडी र अरब सागरमा बनेको दुई वटा न्यून चापीय प्रणालीले आगामी मङ्गलबारदेखि शुक्रबारसम्म नेपालमा वर्षा र हिमपात गराउने सम्भावना रहेको सन्दर्भमा जल तथा मौसम विज्ञान विभागबाट सोसम्बन्धी सूक्ष्म विश्लेषण भइरहेको र छिट्टै पूर्वानुमान जारी हुने जानकारीसमेत प्राप्त भएको प्राधिकरणले जनाएको छ ।
आज छठ पर्वको मुख्य दिन, अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घय दिइँदै
काठमाडौं । कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घय दिइँदैछ । बिहानै स्नान गरी दिनभर निर्जल व्रत गरेका वर्तालुले बेलुकी अस्ताउँदो सूर्यलाई अर्घय दिने व्रत विधि रहेको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शनिबारदेखि सुरु भएको हो । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भए अनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । त्यस समयमा पाण्डवहरु विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोककथन बमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो । सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूर्यले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुवात भएको तथ्य सूर्य पुराणमा उल्लेख छ । संसारका सम्पूर्ण भौतिक विकास सूर्यमाथि नै आधारित छन् । सूर्यको शक्तिविना रुख, बिरुवा, वनस्पति, प्राणी, जीवजन्तु कसैको पनि अस्तित्व रहन सक्दैन । सूर्य किरणको चिकित्सा माथि कैयाँै चिकित्सकले ग्रन्थ लेखेको पाइन्छ । सूर्यको किरणवाट कैयौँ असाध्य तथा अक्षय रोगको आश्चर्यजनक उपचारसमेत खोजिएको छ । साम्व पुराणमा आफ्नै पिता श्रीकृष्ण तथा महर्षि दुर्वासाको सरापद्वारा कुष्ठरोगबाट पीडित साम्व सूर्यको आराधनाको फलस्वरूप रोग मुक्त हुन गएको भन्ने चर्चा छ । छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । यसमा झुप्पा–झुप्पा फलहरू चढाउँदा सूर्य देवता प्रसन्न भई बर्तालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता पाइन्छ । यस पर्वमा जो व्रत बस्न सक्दैन उसले अर्को व्रत गर्नेबाट कामना पूरा गराउने गर्छन् । आर्थिक अभाव भएका मानिसहरु भिक्षा मागेरै भए पनि यो पर्व मनाउने गर्छन् । व्रतविधि कार्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ । दोस्रो दिन कार्तिक शुक्ल पञ्चमीमा सखर हालेर बनाइएको खीर (खरना) षष्ठी मातालाई चढाई बर्तालुले प्रसादस्वरुप खाने र नुन नखाई एक छाक फलाहार गरिन्छ । यो पर्वको मुख्य दिन कार्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत गरी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घय दिने विधि विधान रहेको गुह्येश्वरी गौरीघाट छठ पूजा समिति गुह्येश्वरीले जनाएको छ । षष्ठीका दिन रातभर जागा बसी कार्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घयदिएपछि यो पर्व समापन हुन्छ । कार्तिक शुक्ल पक्षमा विधिपूर्वक सूर्यको पूजा आराधना गरी अर्घयदिएमा चर्म अर्थात् छाला रोग लाग्दैन भन्ने धार्मिक विश्वास छ । विसं २०४६ अघि तराईको सीमित क्षेत्रमा मनाइने छठले अहिले राष्ट्रिय स्वरुप ग्रहण गरेको छ । विसं २०४६ देखि सरकारले यो पर्वका अवसरमा राज्यभर सार्वजनिक बिदा दिने गरेको छ । बीचमा केही वर्ष बिदा काटिएकामा अहिले फेरि दिन थालिएको छ । छठ पर्वका लागि राजधानीको गुह्येश्वरीबाट गौरीघाट क्षेत्र, कमलपोखरी लगायत वागमती, नख्खु र विष्णुमतीलगायत नदी किनारमा सजावट गरिएको छ । छठका व्रतालुले कार्तिक शुक्ल चतुर्थीदेखि नै चोखो खानपान गरी शुद्ध भएर बस्ने गर्छन् । केही बर्तालुले भने कोजाग्रत पूर्णिमाको भोलिपल्ट अर्थात् कार्तिक कृष्ण प्रतिपदादेखि लसुन, प्याजलगायत तामसी खाद्यपदार्थ नखाइ चोखो अर्थात् सात्विक भोजन गरेर बस्छन् । यसैले यो पर्व अत्यन्तै पवित्र भएर मनाउने चाडका रुपमा स्थापित भएको छ ।
हयात होटल सञ्चालनमा आउन एक वर्ष लाग्ने
काठमाडौं । तारागाउँ रिजेन्सी होटल्स लिमिटेड (हयात रिजेन्सी) सञ्चालनमा आउन एक वर्ष लाग्ने भएको छ । हयात रिजेन्सीका कार्यकारी निर्देशक (ईडी) सुरेश लाल श्रेष्ठका अनुसार भदाै २३ र २४ गतेको जेनजी आन्दोलनका कारण क्षतिग्रस्त होटल सञ्चालनमा ल्याउन करिब एक वर्षको समय लाग्ने अनुमान गरिएको छ । उनका अनुसार हाल होटलमा भएको क्षतिको मूल्याङ्कन गर्ने कार्य चलिरहेको छ भने क्षतिको पूर्ण मूल्याङ्कन पश्चात् यस होटललाई स्तरोन्नति तथा पुनर्निर्माण गर्दै अझ विस्तारित र उत्कृष्ट सेवासहित यथासिघ्र पुनः सञ्चालनमा ल्याउने उनले प्रतिबद्धता जनाए । ‘करिब एक वर्षको समय लाग्ने अनुमान छ । यस होटलले आगामी दिनमा सरकारको राजश्व स्रोतमा वृद्धि गरी देशको आर्थिक विकासमा थप योगदान पुर्याउने र नेपालको फ्ल्यागशिप होटलको अभिभारा बोक्दै पर्यटन क्षेत्रमा नेपालको मान प्रतिष्ठा अझ उच्च बनाउने दृढ संकल्प बोकेका छौं,’ उनले भने । जेनजी आन्दोलनकारीहरुले होटलमा तोडफोड, लुटपाट तथा आगलागीजन्य क्रियाकलापबाट अतिथि कक्ष, कार्य कक्ष, रिसेप्सन, लबी, रेष्टुरेन्ट, बैंक्युट, चैत्यहरु लगायत संरचनामा ठूलो क्षति पुगेकाले पूर्ण रूपमा बन्द रहेको श्रेष्ठले जानकारी दिए । उनका अनुसार पछिल्ला साढे दुई दशकमा उक्त होटल नेपालमा भएका विभिन्न राजनीतिक तथा सामाजिक परिवर्तनहरूको साक्षी रहँदै आएको छ । यस अवधिमा चरम सशस्त्र द्वन्द्व, शान्ति प्रक्रिया, संविधान निर्माण, भूकम्प तथा कोरोना महामारी जस्ता चुनौती पूर्ण अवस्थाहरूको सामना गर्दै वर्षोंदेखि हजारौं व्यक्तिलाई रोजगारी दिँदै मुलुकको पर्यटन अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको उनको भनाइ छ । साथै, नेपाल सरकारले हयात रिजेन्सीलाई आर्थिक वर्ष २०७९/८० मा समेत गरि ७ औं पटकसम्म पर्यटन क्षेत्रमा सबैभन्दा बढी आयकर तिर्ने करदाताको रुपमा र २ पटकसम्म पर्यटन क्षेत्रमा सबैभन्दा धेरै विदेशी मुद्रा सङ्कलन गर्ने होटलको रुपमा सम्मानित गरिसकेको उनले जानकारी दिए । ‘देशको आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पुर्याएको यस होटलमाथि आन्दोलनको क्रममा गरिएको आक्रमण निन्दनीय छ । प्रधानमन्त्री सुशीला कार्की र अर्थमन्त्री रामेश्वर प्रसाद खनालले यस विषम परिस्थितिलाई सम्बोधन गर्दै सरकारबाट आवश्यक साथ सहयोग प्रदान गरिने भनी दिनुभएको आश्वासनप्रति हामी हार्दिक आभार व्यक्त गर्दछौं,’ ईडी श्रेष्ठले भने ।