देउवा दम्पत्ति आज सिंगापुर जाँदै
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दम्पत्ति सोमबार सिंगापुर जाने भएका छन् । देउवासहित उनकी पत्नी आज राति ९ बजे उपचारका लागि सिंगापुर जान लागेका हुन् । यसअघि नै उनीहरु विदेश उड्ने तयारी गरे पनि त्यो सम्भव हुन सकेको थिएन । तर, आज भने जाने तयारीमा छन् । उनीहरुले टिकट पनि काटिसकेको बुझिएको छ । गत भदौ २४ गते जेनजी आन्दोलनमा बूढानीलकण्ठस्थित निवासमा देउवा दम्पतीमाथि कुटपिट भएको थियो । सुरक्षाकर्मीले उद्धार गरेर देउवा दम्पतीलाई अस्पताल पुर्याएको थियो । उनीहरु लामो समय अस्पतालमै बसेका थिए । गत असोज २८ गते मात्रै उनीहरु सार्वजनिक भएका थिए ।
५ महिनामा यी काम गर्नेछिन् स्वास्थ्यमन्त्री शर्मा
काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्माले आइतबार पदभार ग्रहण गरेकी छन् । पदभार ग्रहणपछि स्वास्थ्य मन्त्रालयका कर्मचारीसँगको भेटघाट कार्यक्रममा मन्त्री शर्माले जेनजीहरूको भावना अनुसार काम गर्न तयार रहनुपर्ने निर्देशन दिइन् । स्वास्थ्य मन्त्रालय अन्तर्गतका विभिन्न महाशाखा तथा शाखाका प्रमुखहरूसँग उनले भ्रष्टाचार अन्त्य गर्दै सुशासनको पक्षमा काम गर्न आग्रह गरिन् । ‘जेनजीहरूले भ्रष्टाचार बढ्यो र सुशासन भएन भन्ने माग राख्दै आन्दोलन गरेका हुन् । अब स्वास्थ्य मन्त्रालयले यसलाई प्रमाणित गरेर देखाउनुपर्ने बेला आएको छ,’ उनले भनिन् । उनले सबै कर्मचारीलाई आग्रह गर्दै भनिन्, ‘कुनै पनि तहमा कतैबाट पनि भ्रष्टाचार भएको सुन्न नपरोस्, भ्रष्टाचार आर्थिक रुपमा पनि हुन्छ प्रशासनिक रुपमा पनि हुन्छ, हामीले अनावश्यक काममा दुःख दिने काखापाखा गर्नु पनि भ्रष्टाचारकै अङ्ग हुन्, अब यस्तो नहोस् भनेर हामीले ख्याल गर्नुपर्छ ।’ उनले यही मन्त्रालयमा तीन वर्ष स्वास्थ्य सचिवकै रुपमा काम गर्दा भ्रष्टाचारलाई कसरी हटाउने भन्ने कुरा मुख्य चुनौती रहेको बताउँदै प्रशासनिक रुपमा गरे पनि राजनीतिक रूपबाट गर्न नसकेको बताइन् । उनले राजनीतिक कारण भ्रष्टाचार हुन थालेपपछि राजीनामा दिएको स्मरण गर्दै उनले खरिद प्रक्रियालाई पूर्ण रुपमा पारदर्शी बनाउन र शून्य भ्रष्टाचार कसरी हुन्छ भन्ने कुरामा जोड दिनुपर्ने बताइन् । शर्माले केन्द्रको मन्त्रालयमात्र नभइ प्रदेश र स्थानीयस्तरमा रहेका स्वास्थ्य संस्थामा जनशक्तिको अभाव रहेको बताउँदै भएका स्रोत साधनको कसरी सदुपयोग गर्ने भन्नेतर्फ चनाखो हुनुपर्ने बताइन् । मन्त्रीका प्राथमिकता स्वास्थ्यमन्त्री डा. शर्माले मन्त्री भइसकेपछि आफूले प्राथमिकता दिएर गर्ने कामलाई सार्वजनिक गरेकी छन् । उनले सबैभन्दा पहिले जेनजी आन्दोलनमा ज्यान गुमाएका मृतकका परिवारको निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था गर्ने बताएकी छन् । परिवारको भविष्यमा कमाएर पाल्न सक्ने छोरा वा छोरी नरहेकाले त्यो घरको आर्थिक अवस्था हेर्दै निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था गर्ने पहिलो निर्णय गरेकी छन् । यसका लागि अर्थमन्त्रालयसँग समन्वय गरेर बजेटको व्यवस्था गर्ने उनको योजना छ । यस्तै शहीद परिवारबाट योग्यता पुगेका व्यक्तिलाई स्वास्थ्य सम्बन्धी विषयमा अध्ययन गर्न निजी क्षेत्रको समेत सहभागितामा कार्यक्रम सञ्चालन गर्ने बताइन् । उनले यो विषयमा तत्काल छलफल अगाडि बढाउनुपर्ने बताएकी छन् । ‘अहिले हामी कहाँ स्वास्थ्य अन्तर्गतका विभिन्न कार्यक्रमहरू सञ्चालन भइरहेका छन् । ती कार्यक्रममा मृतकका परिवारका आवश्यक योग्यता पुगेका व्यक्ति छन् भने हामीले कार्यक्रममा समावेश गर्नुपर्छ, यसका लागि हामी तत्कालै काम सुरु गर्छौं,’ उनले भनिन् । मन्त्री शर्माले आन्दोलनका घाइतेलाई सरकारले निःशुल्क सेवा उपलब्ध गराइरहेको बताउँदै जबसम्म पूर्ण रुपमा निको हुँदैन तबसम्म यथावत राखिने बताएकी छन् । उनले घाइतेहरूको चोटपटकको वर्गीकरण कसरी भइरहेको छ, त्यसलाई हेरेर त्यही अनुरुप उनिहरूले पाउने क्षतिपूर्तीको व्यवस्था गर्ने बताइन् । स्वास्थ्यमन्त्री आफैले माओवादी द्धन्द्धकालमा चोटपटकको वर्गीकरण र उपचारको समन्वयकर्ताको रुपमा काम गरेकी थिइन् । आफूले यो विषयमा काम गरिसकेको र अनुवभव पनि भएकाले यसमा पनि आफैले काम गर्ने बताएकी छन् । मन्त्री शर्माले मानसिक स्वास्थ्यको विषलाई प्राथमिकतामा राख्ने बताएकी छन् । देशको वर्तमान परिस्थिती हेर्दा मानसिक स्वास्थ्य ठूलो चुनौतीको रुपमा देखा परेको बताउँदै उनले यसलाई सम्बोधन गर्नुपर्ने बताइन् । यो विषयमा कसरी अगाडि बढ्ने भन्ने विषयमा प्राविधिक टोलीसँग छलफल गरेर अगाडि बढ्ने योजना सुनाएकी छन् । डा. शर्मा प्रसूति तथा स्त्रीरोग विशेषज्ञ र महिला भएको बताउँदै जनसांखिक सर्वेक्षणको प्रतिवेदन हेर्दा मधेश, कर्णाली, सुदूरपश्चिम, लुम्बिनी प्रदेशमा मातृ शिशु मृत्युदर उच्च रहेको बताउँदै उनले ती प्रदेशको जोखिममा रहेको लक्षित समुदाय छनोट गरी विशेष कार्यक्रम सञ्चालन गर्ने बताइन् । वैदेशिक रोजगारीमा गएका व्यक्तिमा स्वास्थ्यका समस्या रहेको बताउँदै उनले ती समुदायलाई स्वास्थ्य सेवा प्रदान गर्ने बताइन् । उनले त्यसका लागि श्रम मन्त्रालयको समन्वयमा कार्यक्रम गर्ने योजना सार्वजनिक गरेकी छन् । अहिले नर्सहरू आन्दोलनमा रहेको बताउँदै उनले यस्ता समस्या सम्बोधनका लागि पहल गर्ने बताइन् । ‘यो सरकारको अब ५ महिनामात्रै बाँकी छ, सबै कुरा हामीले चाहेर पनि गर्न सक्दैनौं तर सक्दो कोसिस गर्छौं,’ उनी भन्छिन्, ‘यो अवधिमा हामी अल्पकालिन, मध्येकालिन र दीर्घकालिन योजना बनाउँछौं । जसमा अल्पकालिन योजना पाँच महिनाको अवधिमा कार्यन्वयन गर्छाैं,मध्यकालिन योजना सुरुवात गर्छौ र दीर्घकालिन योजनामा कसरी अगाडि बढ्ने भन्नेबारे खाका बनाउँछौं ।
सुनको मूल्य तोलामा २ हजारले घट्यो
काठमाडौं । नेपाली बजारमा सोमबार पनि सुनको मूल्य घटेको छ । आइतबारको तुलनामा सोमबार सुनको मूल्य तोलामा २ हजार रुपैयाँले घटेको हो । सोमबार सुनको मूल्य तोलाको दुई लाख ३९ हजार ९०० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार सुनको मूल्य प्रतितोला दुई लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । साथै चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँ घटेको छ । आइतबार ३ हजार १५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आज २ हजार ९८० रुपैयाँमा झरेको छ। अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार ७५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।
नक्सालको भाटभटेनीमा बीमा गरिएकोभन्दा बढी क्षति, साढे २६ करोड रुपैयाँ ‘एडभान्स’
काठमाडौं । गत भदौ २३ र २४ गते जेनजी पुस्ताले गरेको प्रदर्शनमा नक्साल स्थित भाटभटेनीमा पुगेको क्षतिको शिखर इन्स्योरेन्समा ६६ करोड रुपैयाँ बराबरको बीमा दाबी परेको छ । शिखर इन्स्योरेन्सबाट सर्भेका लागि खटिएका सर्भेयर सूर्यप्रसाद जोशीका अनुसार सामानको मात्रै ६० करोड रुपैयाँ दाबी परेको छ । साथै, कम्पनीमा भवनको मात्रै ६ करोड रुपैयाँको दाबी परेको उनले बताए । उनका अनुसार बीमा दाबी परेको रकमको शिखर इन्स्योरेन्सले भाटभटेनीलाई ‘एडभान्स’ स्वरूप साढे २६ करोड रुपैयाँ भुक्तानी गरिसकेको छ । सर्भेयर सूर्यप्रसाद जोशीका अनुसार कम्पनीले भवनको सरसफाइ, पुनर्निर्माणमा राहत होस् भनेर परेको दाबीमध्ये २५ करोड रुपैयाँ र भवनमा परेको दाबी रकममध्ये डेढ करोड भुक्तानी गरेको हो । आन्दोलनको कारण क्षतिग्रस्त नक्सालको भाटभटेनीको क्षति मूल्यांकनका लागि शिखर इन्स्योरेन्सले सर्भेयर जोशी र नेपाल पुनर्बीमाको तर्फबाट जगन्नाथ गौतमलाई खटाइएको छ । भवन पूर्ण रुपले जलेर क्षति पुगेको हुँदा अहिले सर्भे जारी रहेको र यति नै भनेर क्षतिको मूल्यांकन भइ नसकेको उनले बताए । उनका अनुसार अहिले खरिद गरेको सामानको बिल कलेक्सन भइरहेको र सबै बिल प्राप्त भएपछि मात्रै कति क्षति पुगेको भन्न सकिनेछ । ‘हामीले हेर्ने भनेको खरिद गरेको सामानको बिल हो, जुन कलेक्सन भइरहेको छ, उहाँहरूबाट सबै बिल प्राप्त भएपछि कति क्षति पुग्यो भन्न सकिने छ,' उनले भने । भवन पूर्ण रुपमा जलेर नष्ट भएको हुँदा बीमा गरेकोभन्दा बढी क्षतिको रकम आउन सक्ने जोशीको भनाई छ । क्षति रकम बढी आएपनि बीमा गरेको जति मात्रै भुक्तानी गर्ने कम्पनीको दायित्व भएको उनले बताए । उनले भने, ‘क्षति पुगेको सामानको हकमा चाडपर्व नजिकैको समयमा घटना भएको हुँदा बीमा गरेको भन्दा बढी छ भन्ने उहाँहरूको दाबी छ । तैपनि बीमा गरेअनुसार दाबी हुन्छ ।’ नक्सालमा रहेको भाटभटेनीमा अहिले भवन भत्काउने र सरसफाइको काम सुरु भएको छ । यस्तै देशभरका विभिन्न ठाउँमा क्षति पुगेको भवनमा कुनैमा पुनर्निर्माण भई सञ्चालनमा आइसकेको छ भने कुनै पुनर्निर्माणकै क्रममा रहेको छ । जेनजी प्रदर्शनका क्रममा देशभर भाटभटेनी सुपरमार्केटको १२ वटा स्टोर पूर्ण रुपमा क्षति पुगेको थियो । बाँकी ९ वटा आउटलेटमा भने लुटपाट र तोडफोड र आगजनी भएको छ ।
निर्वाचनलाई सफल बनाउन प्रधानमन्त्रीको आह्वान
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुन लागेको निर्वाचनलाई एक राष्ट्रिय अनुष्ठानका रुपमा ग्रहण आह्वान गरेकी छन् । प्रधानमन्त्री कार्कीले सूर्यको आराधना साथ मनाइने महान् पर्व छठको अवसरमा आज जारी गरेको शुभकामना सन्देशमार्फत उक्त आह्वान गरेकी हुन् । शुभकामना सन्देशमा भनिएको छ, 'आगामी निर्वाचनलाई पनि एक राष्ट्रिय अनुष्ठानका रुपमा ग्रहण गरी त्यसमा सहभागी हुन र सफल बनाउन सबै पक्षलाई आह्वान गर्दछु ।' जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिलाई सामान्यीकरण गर्दै आउँदो फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्नुपर्ने दायित्व भएको र सबै पक्षले परिस्थितिको संवेदनशीलता र आ–आफ्नो जिम्मेवारीको बोध गर्दै निर्वाचन सफल पार्न जुट्नुपर्ने बेला भएको सन्देशमा छ । 'सडक प्रदर्शन मात्र सबै समस्याको समाधान होइन', सन्देशमा भनिएको छ, 'आफ्ना कुनै अडान वा असन्तुष्टि छन् भने पनि शान्तिपूर्ण तवरले राखी आमजनताको मन जितेर निर्वाचनबाट अनुमोदित गराउनु लोकतन्त्रको सर्वोत्तम विधि हो ।' छठसहित हाम्रा चाडपर्वहरु सामाजिक एकता, सद्भाव र भ्रातृत्वका मानक पनि भएको र अहिलेको अवस्थामा हामी सबै नेपालीबीच अझै बढी एकता र सद्भावको खाँचो रहेको उल्लेख छ । प्रधानमन्त्रीको सन्देशमा भनिएको छ,'पवित्र आस्था, कठिन व्रत र सिङ्गारिएका नदी तथा तलाउका किनारा र त्यहाँका उत्सवले दिने शक्तिले सबैमा सद्भाव र खुसियाली छाओस् ।' सन्देशमा सत्य, अहिंसा र प्रकृति प्रेममा अभिप्रेरित गर्ने यस पर्वले नेपालीको सांस्कृतिक र सामाजिकरूपमासमेत तराई–पहाड जोड्ने सेतु बनिरहेको उल्लेख छ ।
साढे ७ करोडको सेयर बेचेर जीवन विकास लघुवित्तबाट बाहिरिँदै भरतलाल
काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाको साढे ७ करोड रुपैयाँ बराबरको संस्थापक सेयर बिक्रीमा राखिएको छ । लघुवित्तका संस्थापक सेयरधनी भरत लाल बहरदारले आफ्नो नाममा रहेको १ लाख ५० हजार कित्ता सेयर बिक्रीमा राखेका हुन् । उक्त सेयरको मूल्य प्रतिकित्ता न्यूनतम ५ सय रुपैयाँ तोकिएको छ । सो मूल्यका आधारमा संस्थापक सेयरधनी बहरदारले ७ करोड ५० लाख रुपैयाँ बराबरको सेयर बिक्रीमा राखेका हुन् । लघुवित्तको उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन पाउने छन् । खरिद गर्न इच्छुकले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । यदि सो अवधिभित्र आवेदन नदिएमा सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री खुला गरिने लघुवित्तले जनाएको छ । यस्तै, मातृभूमि लघुवित्तका एक जना सेयरधनीले आफ्नो नाममा रहेको २ हजार २६८ कित्ता सेयर बिक्रीमा राखेका छन् ।
अन्नपूर्ण र मुस्ताङमा पर्यटकको लर्को, व्यवसायी भन्छन्, ‘यति धेरै आउलान् भनेर कल्पना गरेका थिएनौँ’
सन्तोष गौतम काठमाडौं । म्याग्दी स्थित अन्नपूर्ण आधार शिविरमा गत असोजको अन्तिम सातादेखि सुरु भएको पर्यटकको लर्को यही कात्तिक दोस्रो हप्ताको सुरुआतसम्म पनि रोकिएको छैन । यी दुई ठाउँमा यस वर्ष यति धेरै पर्यटक आउलान् भनेर कसैले कल्पना गरेका थिएनन् । पछिल्ला दिन मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतका होटलहरू भरिभराउ भएका छन् । होटल सञ्चालकलाई आवास व्यवस्थापन चुनौतीपूर्ण बनेको छ । दसैँ, तिहार, छठलगायत चाडपर्वको लामो बिदामा विद्यालय कलेजका विद्यार्थी, युवा तन्नेरी, कर्मचारी, बैंक तथा वित्तीय संस्था र चाडपर्व मनाउन विदेशबाट जन्मथलो आएकाका रोजाइमा मुस्ताङ र अन्नपूर्ण आधार शिविर परेको हो । स्थल मार्गबाट घुम्नेहरूका रोजाइमा ती चार जिल्लाका पर्यटकीय स्थल परेको छ । आन्तरिक पर्यटकको पहिलो रोजाइमा मुस्ताङ जिल्लास्थित मुक्तिनाथ दर्शन गर्ने गन्तव्य बनेको छ । मुस्ताङ पुगेकाहरूले कोरला नाका, लोमानथाङ दरबार, छोसेर गुफा, चिउँसी गुफा, चराङ गुम्बा, मराङ गुम्बा, कागबेनी, ढुम्बाताल र मार्फा गाउँको भ्रमण गर्ने गर्दछन् । यहाँ बर्सेनि ८ लाख बढी आन्तरिक र डेढ लाख बढी विदेशी पर्यटकले मुस्ताङको भ्रमण गर्ने जनाइएको छ । छोटो अवधीमा पहाडी र हिमाली क्षेत्रको एकै पटक साहसिक यात्रामा रुची राख्नेहरू म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण हिमालको आधार शिविरमा पुगेका छन् । फुतफुते झरना र अन्नपूर्ण हिमालको फेदीमा रहेको नीलो रङको पञ्चकुण्ड ताल हुँदै ४ हजार १९० मिटर उचाइमा अवस्थित अन्नपूर्ण आधार शिविर पुगिन्छ । तीन दिनमा आधार शिविर पुगेर फर्कन सकिन्छ । निलगिरि र अन्नपूर्ण हिमालको फेदमा समथर फाँटमा रहेको अन्नपूर्ण आधार शिविर नयाँ गन्तव्य पनि हो । म्याग्दी हुँदै सडक मार्ग भएर दैनिक ८ हजार जना मुस्ताङ भित्रिएका छन् भने अन्नपूर्ण आधार शिविर जानेको सङ्ख्या दैनिक ५ सय जना भन्दा बढी छ । बेनीका होटल व्यवसायी हरिकृष्ण श्रेष्ठले अन्नपूर्ण आधार शिविर र मुस्ताङमा यसपालि कल्पना गरेको र भएका होटलहरुको क्षमता भन्दा धेरै सङ्ख्यामा पाहुना आएका बताए । ‘दसैँ र तिहारमा मुक्तिनाथ र उपल्लो मुस्ताङ भ्रमण गर्नेहरूको घुइँचो विगतदेखिनै भए पनि यसपालि अन्नपूर्ण आधार शिविर जानेहरू पनि थपिँदा होटल, रेष्टुरेन्ट र होमस्टेहरुले थेग्न नसकेका हुन्,’ उनले भने, ‘आन्तरिक तथा बाह्य पर्यटन प्रबर्द्धनका लागि राज्यले बनाएको नीतिको व्यवहारिक कार्यान्वयन नहुँदा घुमेर रमाउन आएका पाहुनाहरूले गोजीमा पैसा भएर पनि खाना र बस्नको लागि दुःख पाउने अवस्था आएको हो ।’ होटलको क्षमताले नथेकेपछि म्याग्दी र मुस्ताङका प्रशासन, सुरक्षा निकाय, होटल व्यवसायी र उद्योग वाणिज्य सङ्घले अग्रिम बुकिङ गरेर घुम्न आउन अनुरोध, कुश्मा, बागलुङ र पोखराका होटल, व्यक्तिका घर, सामुदायिक भवन र धर्मशालामा बसोबासको व्यवस्था मिलाएका छन् । म्याग्दीका होटलमा दैनिक २ हजार र मुस्ताङमा दैनिक ३ हजार जनासम्म पाहुनालाई सहज रुपमा व्यवस्थापन गर्न सकिने क्षमता छ । भुरुङ-तातोपानीका होटल व्यवसायी राजु हमालका अनुसार अन्नपूर्ण आधार शिविर जोड्ने मौरिस हर्जोग पदमार्ग, म्याग्दी र मुस्ताङका होटलहरु यो हप्ताको अन्तिमसम्म बुक भइसकेका छन् । ‘छठपछि स्कुल, कलेज, कार्यालय खुल्ने हुँदा पाहुनाको आगमन दर घटेपनि अकुपेन्सी राम्रो छ,’ उनले भने, ‘जेनजी आन्दोलनका कारण सोह्र श्राद्ध र प्रतिकूल मौसमले दसैँ लगत्तै पर्यटक आगमन नहुँदा निराश भएका व्यवसायीलाई राहत मिलेको छ ।’ सडक यातायातको सहज पहुँच र प्रचारप्रसारका कारण मुस्ताङ र अन्नपूर्ण आधार शिविर आन्तरिक पर्यटकको रोजाइमा परेको म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठले बताए । ‘मुक्तिनाथ, कागबेनीको तीर्थयात्रा गर्ने, हिमाल, उजाड पहाड, तालतलैया हेर्न, हिमाली जनजीवन र संस्कृतिमा रमाउने तथा गाडी चढेरै कोरला नाकासम्म पुग्न सकिने भएपछि मुस्ताङ धेरैको रोजाइमा परेको हो,’ उनले भने, ‘यात्रामा हिमालको फेदीमा पुग्न सकिने भएकाले युवायुवती अन्नपूर्ण आधार शिविरमा आकर्षित भएका हुन् ।’ सामाजिक सञ्जालका सामग्री र सञ्चार माध्यममा प्रकाशन भएका समाचारले पनि पर्यटकीयस्थलको प्रचारप्रसारमा सहयोग पुगेको अध्यक्ष अध्यक्ष श्रेष्ठको भनाइ छ । पर्यटक आगमनले म्याग्दी र मुस्ताङमा होटल व्यवसायीलाई क्षमता र सुविधा वृद्धिका लागि प्रेरित, नयाँ लगानीको सम्भावना देखाउनुका साथै अन्नपूर्ण आधार शिविरको पदमार्गमा सीमित सङ्ख्याको क्षमतामा रहेका होटलहरूको क्षमता बढाउन राज्यलाई दबाब पुगेको उनले बताए । भ्रमणमा आउने पाहुनाहरूले अग्रिम बुकिङ गरेर आएमा व्यवस्थापनमा सहज हुने उनको भनाइ छ । बेनी–जोमसोम सडकका म्याग्दी खण्डको अधुरो सडक स्तरोन्नतिलाई पूर्णता दिनुपर्ने, पहिरो तथा कटान प्रभावित ठाउँको सडकलाई सुरक्षित बनाउन, होटलहरूको वर्गीकरण गरी सेवा शुल्कमा नियमित गर्नुपर्ने पर्यटकले बताएका छन् । अन्नपूर्ण आधार शिविर जाने पर्यटकहरूले नारच्याङ-हुमखोला सडक मर्मत, यातायात भाडा दरमा एकरूपता, पदमार्गका होटलहरूको क्षमता र सुविधा थप, सञ्चार तथा विद्युत् सुविधाको व्यवस्थापनको आवश्यकता औंल्याएका छन् । म्याग्दी १ (क) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले तीनै तहका सरकारका निकाय, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), निजी क्षेत्र र सरोकारवालाहसँग समन्वय गरी पर्यटन क्षेत्रमा देखिएका समस्या पहिचान गरी समाधानको पहल गर्ने बताए । रासस
अमेरिका र चीनबीच दुर्लभ खनिज र भटमास खरिदको सम्झौता हुने सङ्केत
काठमाडौं । चीनले दुर्लभ खनिजहरूको निर्यात प्रतिबन्धलाई ढिलाइ गर्न र अमेरिकी भटमास खरिद पुनः सुरु गर्न अस्थायी सम्झौताका लागि सहमति नजिक पुगेको अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले बताएका छन् । यो सम्झौता भएमा अमेरिकाले चीनलाई लगाउने भनेको ठूलो कर वृद्धिलाई रोक्न सकिने सङ्केत पनि गरे । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेम्बर १ मा चीनले दुर्लभ खनिजको विश्वव्यापी निर्यात नियन्त्रण गरेमा चीन विरुद्ध १०० प्रतिशत कर बढाउने चेतावनी दिएका थिए । ‘मलाई लाग्छ कि हामीले यसलाई रोक्यौँ, यो सङ्कट हाललाई टरेको छ,’ बेसेन्टले एबीसीको ‘दिस विक’ सँग भने । चीनले दुर्लभ खनिजको निर्यात प्रतिबन्धलाई एक वर्षको लागि ढिलाइ गर्नेछ भने अमेरिकाले अवस्थालाई पुनः जाँच गर्नेछ र पछि निर्णय लिने लिनेछ,’ बेसेन्टले भने । बेइजिङले क्वालालम्पुरमा उपप्रधानमन्त्री हे लिफेङसँगको अमेरिकी प्रतिनिधिमण्डलसँगको वार्तामा व्यापार विवाद कम गर्ने सहमतिका लागि ‘पर्याप्त’ कृषि सामग्रीको खरिद गर्न सहमति जनाएको तर सम्झौतामा हस्ताक्षर भने नभएको जनाएको छ ।