निर्वाचन प्रचारप्रसारमा राष्ट्रिय झण्डाको प्रयोग गर्न नपाइने
काठमाडौं । राजनीतिक दल तथा उम्मेदवारले घरदैलो र सभा-सम्मेलनमा दशभन्दा बढी राष्ट्रिय झण्डा प्रयोग गर्न नपाउने भएका छन् । निर्वाचन आयोगका अनुसार दल तथा उम्मेदवारले प्रचारप्रसार गर्दा राष्ट्रिय झण्डाको प्रयोग गर्न पाउने छैनन् । 'दल वा उम्मेदवारले जुलुस, आमसभा, कोणसभा, घरदैलो भेटघाट वा जुनसुकै प्रकारको र्याली गर्दा दशभन्दा बढी झण्डा प्रयोग गर्न पाउने छैनन्,' आयोगले भनेको छ । पछिल्लो समय निर्वाचन लागि उम्मेदवारले घरदैलो कार्यक्रममा मत माग्न जाँदा वा सभा सम्मेलनमा राष्ट्रिय झण्डाको प्रयोग हुन थालेको छ । राष्ट्रिय झण्डाको गरिमा नबुझेको भन्दै सार्वजनिक रुपमै विरोध हुन थालेको छ ।
अण्डाको माग र मूल्य बढ्यो, प्रतिक्रेट चार सय ९५ रुपैयाँ पुग्यो
चितवन । प्रतिनिधिसभाको निर्वाचन नजिँकिदै जाँदा अण्डाको माग उच्च भएको छ । माग बढेसँगै अण्डाको मूल्य पनि क्रमशः बढ्दै गएको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले आइतबारदेखि लागू हुनेगरी अण्डाको मूल्यमा वृद्धि गरेको हो । यसअनुसार ठूलो अण्डा एक क्रेट (३० वटा)को फार्म मूल्य रु चार सय ९५ पुगेको छ । यसअघि प्रतिक्रेट रु चार सय ६५ मा बिक्री गरिएको ठूलो अण्डाको मूल्य रु ३० ले बढेको हो । यस्तै मझौला अण्डाको फार्म मूल्य रु चार सय ७५ कायम गरिएको छ । यसअघि यो अण्डा रु चार सय ४५ मा बिक्री हुँदै आएको थियो । गत मङ्सिरमा अण्डाको मूल्य हालसम्मकै उच्च भएको थियो । तत्कालीन समयमा फार्ममा ठूलो अण्डा रु पाँच सय ६५ प्रतिक्रेटमा बिक्री भएको थियो । मझौलाको रेट रु पाँच सय ५० थियो । सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार नेपालमा निर्वाचनको माहोल बन्नु, निर्वाचनसँगै सीमा क्षेत्रमा भएको कडाइका कारण अण्डाको मूल्यमा वृद्धि भएको हो । अण्डा उत्पादन गर्ने कुखुरामा कमी आउँदा अण्डा उत्पादन कम हुनु, बन्द भएका विद्यालयहरू खुल्नुलगायत कारणले अण्डाको मूल्यमा क्रमिक सुधार आउन लागेको हो । अण्डाको उत्पादन लागत मूल्य प्रतिगोटा १९ रुपैयाँ १२ पैसा पर्न आउँछ । यसलाई हिसाब गर्दा किसानको लागत मूल्य प्रतिक्रेट पाँच सय ७४ रुपैयाँ छ पैसा पर्न आउँछ । लागत मूल्य नजिक पुगेको अवस्थामा पुनः अण्डाको मूल्य घटेपछि किसान निरास बनेका थिए । अब मूल्य बढ्ने आशमा किसान रहेका छन् । सङ्घले बजारको अवस्थाअनुसार अण्डाको समर्थन मूल्य तय गर्दै आएको छ ।
आइतबार यस्तो छ विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ८१ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४१ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७२ रुपैयाँ ३१ पैसा र बिक्रीदर १७३ रुपैयाँ ०२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९८ रुपैयाँ ५८ पैसा र बिक्रीदर १९९ रुपैयाँ ३९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८५ रुपैयाँ ६१ पैसा र बिक्रीदर १८६ रुपैयाँ ३७ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०० रुपैयाँ ५५ पैसा र बिक्रीदर १०० रुपैयाँ ९६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ५० पैसा र बिक्रीदर १०६ रुपैयाँ ९४ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११४ रुपैयाँ ७५ पैसा र बिक्रीदर ११५ रुपैयाँ २२ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ २७ पैसा र बिक्रीदर नौ रुपैयाँ ३१ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ०८ पैसा र बिक्रीदर २१ रुपैयाँ १७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ १५ पैसा र बिक्रीदर ३९ रुपैयाँ ३१ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ २८ पैसा र बिक्रीदर ४० रुपैयाँ ४५ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ७१ पैसा र बिक्रीदर चार रुपैयाँ ७२ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ९७ पैसा र बिक्रीदर ४० रुपैयाँ १३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३६ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८० पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ र बिक्रीदर १० रुपैयाँ ०४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ २७ पैसा र बिक्रीदर १६ रुपैयाँ ३४ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ०७ पैसा र बिक्रीदर २३ रुपैयाँ १६ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ८३ पैसा र बिक्रीदर १८ रुपैयाँ ९० पैसा, कुवेती दिनार एकको खरिददर ४८० रुपैयाँ ३२ पैसा र बिक्रीदर ४८२ रुपैयाँ २८ पैसा, बहराइन दिनार एकको खरिददर ३८९ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३९० रुपैयाँ ९८ पैसा, ओमनी रियाल एकको खरिददर ३८१ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३८२ रुपैयाँ ९१ पैसा रहेको छ । यस्तै,भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
पाल्पा सिमेन्टको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । पाल्पा सिमेन्ट इण्डष्ट्रिजको आईपीओमा आवेदन दिने आज माघ ११ गते अन्तिम दिन रहेको छ । पुस २५ गतेदेखि बिक्री खुला गरेको कम्पनीको आईपीओमा उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूले आजसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले जारी पुँजी १ अर्ब ७५ करोड रुपैयाँको २० प्रतिशत अर्थात् ७५ करोड रुपैयाँको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य दरमा ७५ लाख कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुलाई बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । जसमध्ये उद्योग प्रभावित क्षेत्र पश्चिम नवलपरासी (साविकको नवलपरासी जिल्ला) र खानी रहेको क्षेत्र पाल्पाका स्थानीय बासिन्दाहरूलाई जारी पुँजीको ५ प्रतिशत अर्थात् १८ करोड ७५ लाख रुपैयाँको १८ लाख ७५ हजार कित्ता सेयर बिक्री गरिनेछ । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । स्थानीय बासिन्दाले उद्योगसँगै नबिल बैंकको तानसेन, बर्दघाट, बुलिबटार, गैँडाकोट, प्रभु बैंकको पाल्पा, बर्दघाट, परासी, बेलातारी, सिद्धार्थ बैंकको पाल्पा, बर्दघाट र परासी शाखाबाट आवेदन दिन सक्नेछन् ।
सांग्रिला बैंकको नाफामा ५३.९४ प्रतिशत उछाल, कर्जा ३.६९ प्रतिशत बढ्दा निक्षेप घट्यो
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा खुद नाफा ५३.९४ प्रतिशत बढेर ३० करोड २५ लाख ९७ हजार रुपैयाँ गरेको छ । गत वर्षको दोस्रो त्रैमासमा बैंकले १९ करोड ६५ लाख ६१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आवको पुस मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी १८.४१ प्रतिशत बढेर १ अर्ब ८ करोड ८० लाख ७२ हजार रुपैयाँ गरेको छ । गत वर्षको पुसमा बैंकले ९१ करोड ८२ लाख ९८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । चालु आवको दोस्रो त्रैमासमा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी ११.२९ प्रतिशत बढेर १२ करोड ५३ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी १९.४६ प्रतिशत बढेर १ अर्ब २५ करोड ७२ लाख ८५ हजार रुपैयाँ र सञ्चालन नाफा ५९.३१ प्रतिशत बढेर ४५ करोड १३ लाख १३ हजार रुपैयाँ रहेको छ । पुस मसान्तसम्ममा बैंकको वितरणयोग्य नाफा ९ करोड ४६ लाख ६१ हजार रुपैयाँ रहेको छ । सो आधारमा बैंकको लाभांश क्षमता ५.०७ प्रतिशत रहेको छ । गत वर्षको सोही अवधिमा बैंकको वितरणयोग्य नाफा २५ करोड २५ लाख रुपैयाँ थियो । समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी ५ प्रतिशत बढेर ३ अर्ब ७३ करोड ४० लाख ६८ हजार रुपैयाँ, जगेडा कोषमा १ अर्ब ८९ करोड ३३ लाख २७ हजार रुपैयाँ रहेको छ । दोस्रो त्रैमाससम्ममा बैंकको निक्षेप संकलन ०.५० प्रतिशत घटेर ५४ अर्ब ३९ करोड २४ लाख ४६ हजार रुपैयाँ र कर्जा लगानी ३.६९ प्रतिशत बढेर ४४ अर्ब ४० करोड ८३ लाख २३ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधि सम्ममा बैंकले ५४ अर्ब ६६ करोड ८४ लाख ९४ हजार रुपैयाँ निक्षेप संकलन गरी ४२ अर्ब ८२ करोड ३८ लाख ९५ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो । यस अवधिमा बैंकको खराब कर्जा (एनपीएल बढेर ६.८७ प्रतिशत पुगेको छ । गत वर्षको पुसमा ४.९९ प्रतिशत रहेको खराब कर्जा थियो । यस्तै, बैंकको आधार दर ६.१७ प्रतिशत, कर्जा निक्षेप अनुपात ८३.५५ प्रतिशत रहेको छ ।
५२ जनाले तिरेनन् सरकारको रकम, तीनपुस्ते विवरण सार्वजनिक
काठमाडौं । सरकारलाई तिर्नुपर्ने रकम नतिरेका ५२ जनाको तीनपुस्ते विवरण सरकारले सार्वजनिक गरेको छ । महालेखा नियन्त्रकको कार्यालय अन्तर्गतको कुमारी चोक तथा केन्द्रीय तहसिल कार्यालय बबरमहलले व्यवसायीदेखि कर्मचारी, कृषि व्यवसायी, सशस्त्र प्रहरीलगायत विभिन्न क्षेत्रका व्यक्तिहरूको नामसहित तीनपुस्ते विवरण सार्वजनिक गरेको हो । कार्यालयले ५२ जनाको नाम, ठेगाना र तिर्नुपर्ने रकमसहितको विवरण सार्वजनिक गर्दै ३५ दिनभित्र साँवा र ब्याज बुझाउन आग्रह गरेको छ । तोकिएको समयभित्र रकम नतिरेमा उनीहरूको चल-अचल सम्पत्ति दाबी गरी प्रचलित कानुन बमोजिम असुल उपर गरिने चेतावनी पनि दिइएको छ । सार्वजनिक सूचनामा उल्लेख भएअनुसार सरकारी रकम तिर्न बाँकी रहेकाहरूको लगत कायम गरी उनीहरूको नाम वेबसाइटमा राखेर रकम बुझाउन आउन भनी विगतका वर्षहरूमा पनि पटक-पटक सूचना प्रकाशित गरिएको थियो । साथै सम्बन्धित व्यक्तिहरूको घर ठेगानामा पत्राचार गरी उपस्थित हुन समेत भनिएको थियो । तर, ती सबै सूचना र प्रयासका बाबजुद पनि सरकारी रकम बाँकी रहेकाहरूबाट रकम असुल हुन नसकेपछि बाध्य भएर तीनपुस्ते विवरण सार्वजनिक गरिएको केन्द्रीय तहसिल कार्यालयले जनाएको छ ।
रौतहटको जयनगरमा फर्निचर मेलामा उपभोक्ता र व्यवसायी आकर्षित
काठमाडौं । रौतहटस्थित गरुडा नगरपालिका-१ जयनगरमा काठ तथा फलामका सामग्रीको फर्निचर मेला जारी रहेको छ । श्रीपञ्चमीको अवसर पारेर शुक्रबारदेखि थालिएको सो मेलामा घरायसी प्रयोजनका काठका फर्निचरका साथै कृषिसँग सम्बन्धित फलामका विभिन्न सामग्री बिक्रीका लागि राखिएका छन् । मेला दुई महिनासम्म जारी रहने छ । विसं २०६५ देखि निरन्तर रूपमा आयोजना हुँदै आएको यो मेला हरेक वर्ष सञ्चालन हुँदै आइरहेको छ । ग्रामीण क्षेत्रमा लाग्ने यो मेला आकार, व्यापार र सहभागिताका हिसाबले देशकै ठूलो ग्रामीण फर्निचर मेलाका रूपमा परिचित हुँदै गएको नेपाल विश्वकर्मा लोहार सङ्घका अध्यक्ष विवेक शर्माले बताए । मेलामा पलङ, डाइनिङ सेट, कुर्सी, खाट, खटिया, चारपाई, बेञ्च, ढोका, टेबल, ड्रेसिङ टेबल, झ्याल, दराज, बालबालिकाका खेलौनालगायत घरायसी प्रयोगका प्रायः सबै प्रकारका काठका फर्निचर उपलब्ध छन् । त्यसैगरी फलामका कोदालो, हँसिया, कुटो, बन्चरो, खुकुरीलगायत सामग्री पनि बिक्रीका लागि राखिएको उनले जानकारी दिए । मेलामा रौतहट, सर्लाही, महोत्तरी, बारा, पर्सालगायत विभिन्न जिल्लाका दुई सयभन्दा बढी फर्निचर व्यवसायीले आफ्ना सामग्री बिक्रीका लागि ल्याएका छन् भने फर्निचर आउने क्रम अझै जारी रहेको अध्यक्ष शर्माले बताए । मेलामा नेपालका विभिन्न स्थानबाट मात्र नभई भारतको बिहार प्रान्तबाट समेत उपभोक्ता तथा व्यापारी आएर घरायसी प्रयोग र पुनः बिक्रीका लागि फर्निचर खरिद गर्ने गरेको उनले जानकारी दिए । जयनगर फर्निचर मेलामा अन्य स्थानको तुलनामा २५ प्रतिशतभन्दा बढी सस्तोमा फर्निचर उपलब्ध हुने र आफ्नै काठ प्रयोग गरी स्थानीय सीप र श्रमबाट फर्निचर निर्माण गरिने भएकाले मूल्य तुलनात्मक रूपमा सस्तो पर्ने अध्यक्ष शर्माको भनाइ छ । विवाहमा दाइजोका लागि फर्निचर खरिद गर्नेहरू तथा सस्तो र गुणस्तरीय सामान खोज्ने उपभोक्ताको पहिलो रोजाइ यो मेला बनेको छ । मेलाबाट रौतहट, सर्लाही, बारा, पर्सा, धनुषा, काठमाडौं, पोखरा, विराटनगर, जनकपुरलगायत नेपालका विभिन्न भाग तथा भारतको बिहार प्रान्तका सीतामढी, पूर्वी चम्पारण, मुजफ्फरपुर र पटनासम्म फर्निचर ढुवानी हुँदै आएको उनले बताए । यातायातको सहज पहुँच, गुणस्तरीय सामग्री र सस्तो मूल्यका कारण जयनगरको फर्निचर मेला उपभोक्ता र व्यवसायी दुवैका लागि आकर्षणको केन्द्र बन्दै गएको उनको दाबी छ ।
आजको मौसम: उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपात र वर्षाको सम्भावना
काठमाडौं । हाल नेपालमा न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका उच्च पहाडी तथा हिमाली भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भागमा आंशिक बादल लाग्नेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थान तथा बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना छ । पूर्वी तथा मध्य तराई भू-भागका केही स्थानमा बिहानीपख हुस्सु रहनेछ । त्यसैगरी, आज राति सुदूरपश्चिम प्रदेशलगायत पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्नेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।