गौरी बहादुर कार्की नेतृत्वको आयोगविरुद्ध सर्वोच्चमा रिट
काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएको धनजनको क्षतिबारे जाँचबुझ गर्न गठित गौरी बहादुर कार्की नेतृत्वको आयोग विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको छ । अधिवक्ता विपिन ढकालले आइतबार आयोगको निष्पक्षतामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट पेश गरेका हुन् । उनले आयोगलाई काम कारबाही गर्नबाट रोक्न माग गरेका छन् । सर्वोच्च अदालत प्रशासनका अनुसार रिट दर्ताका लागि अध्ययन भइरहेको छ । जेनजी आन्दोलनको बलमा गठन भएको अन्तरिम सरकारले गत असोज ५ गते जाँचबुझ आयोग ऐन, २०२६ बमोजिम उक्त आयोग गठन गरेको थियो । आयोगलाई आन्दोलनका क्रममा भएको क्षतिको सत्य तथ्य छानबिन गर्ने जिम्मेवारी दिइएको छ । तर, आयोगका अध्यक्ष कार्कीले आन्दोलनकै बेला सामाजिक सञ्जालमा आन्दोलनकारीलाई उक्साउने खालका अभिव्यक्ति दिएका थिए । उनले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, निवर्तमान गृहमन्त्री रमेश लेखक लगायतका केही नेतामाथि छानबिन हुनुपर्ने, तुरुन्तै गिरफ्तारी गर्नुपर्ने र विदेश भाग्नबाट रोक्नुपर्ने जस्ता कुरा सामाजिक सञ्जालमा लेखेका थिए । अधिवक्ता ढकालका अनुसार कार्कीले आयोगमा पुगेपछि पनि आफ्ना पूर्व धारणाअनुसार काम गर्न थालेका कारण आयोगको निष्पक्षतामाथि गम्भीर प्रश्न उठेको छ । रिट निवेदनमा ढकालले उल्लेख गरेका छन्, ‘छानबिन गर्नुपर्ने विषयमा आफ्नो पूर्वमत सार्वजनिक गर्दै सामाजिक सञ्जाल र सञ्चारमाध्यममार्फत विचार व्यक्त गर्नु न्यायिक मर्म र सिद्धान्तविपरीत कार्य हो । यसले नेपालको संविधानको धारा ४८(ग) अन्तर्गतको कर्तव्य उल्लङ्घन गरेका छन् ।’ रिटको अन्तिम टुंगो नलागेसम्म अध्यक्ष र सदस्यहरूलाई कुनै कार्य नगर्न–नगराउन अन्तरिम आदेश जारी गर्न उनले थप माग गरेका छन् । रिट निवेदनमा जाँचबुझ आयोग ऐन, २०२६ र जाँचबुझ आयोग सदस्यहरूको सेवा सर्त नियमावली, २०५१ विपरीत कार्य भएको भन्दै सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ बमोजिम आदेश माग गरिएको छ ।
३ महिनामा ३० अर्बको सोयाविन तेल आयात
काठमाडौं । नेपालमा चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिना (साउन–असोज) महिनामा ३० अर्बभन्दा बढीको कच्चा सोयाविन तेल आयात भएको छ । भन्सार विभागले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार तीन महिनामा ३० अर्ब २४ करोड ८७ लाख रुपैयाँ बराबरको सोयाविन तेल आयात भएको हो । सो रकम बराबरको सोयाविन तेल आयात गर्दा सरकारले ९४ करोड ९४ लाख रुपैयाँको राजश्व संकलन भएको छ । नेपालमा सबैभन्दा धेरै आयात हुने वस्तुमध्येमा सोयाविन तेल पर्छ । तथ्यांकअनुसार असोजसम्ममा सबैभन्दा धेरै आयात हुने वस्तुमा सोयाविन तेल नै रहेको छ । भन्सार विभागका अनुसार अर्जेटिना, ब्राजिलगायतका मुलुकबाट सोयाविन तेल आयात हुँदै आएको छ । तीन महिनामा सबैभन्दा धेरै अर्जेटिनाबाट २४ अर्ब ६८ करोड ६८ लाख रुपैयाँको भित्रिएको छ । दोस्रो धेरै सोयाविन तेल ब्राजिलबाट ४ अर्ब ६१ करोड ८४ लाख रुपैयाँको भित्रिएको छ । त्यस्तै पराग्वेवबाट ९४ करोड ३४ लाख रुपैयाँ बराबरको आयात भएको छ ।
एनआईसी एशिया बैंकले सार्वजनिक गर्यो लिलाम बिक्रीका सम्पत्तिहरूका लागि अनलाइन पोर्टल
काठमाडौं । एनआईसी एशिया बैंकले बैंकका नाममा रहेका बैंकिङ सम्पत्ति, गैर–बैंकिङ सम्पत्ति तथा धितो सुरक्षणमा रहेका सम्पत्तिहरूको लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारी प्रदान गर्न अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ । बैंकले सार्वजनिक गरेको उक्त अनलाइन पोर्टलमार्फत लिलाम बिक्रीमा रहेका सम्पत्तिहरूको सम्पूर्ण विवरण—कित्तानम्बर, क्षेत्रफल, तस्बिर, नक्सा र स्थान पहिचानका लागि गुगल म्यापसहित हेर्न सकिने व्यवस्था गरिएको छ । ग्राहकहरूले लिलाम सम्बन्धी सूचनामा रहेको क्यूआर कोड स्क्यान गरी सो पोर्टलमा सहज रूपमा प्रवेश गर्न सक्नेछन् । त्यस्तै, इच्छुक ग्राहकहरूले आफूलाई रुचि भएको सम्पत्तिको बारेमा थप जानकारी लिन पोर्टलमा उपलब्ध ‘म्यासेज बक्स’ प्रयोग गरी आफ्नो नाम, इमेल ठेगाना, मोबाइल नम्बर र सम्पर्क ठेगाना उल्लेख गरेर सन्देश पठाउन सक्ने व्यवस्था गरिएको छ । बैंकले अनलाइन पोर्टलमा नियमित रूपमा बैंकिङ सम्पत्ति, गैर–बैंकिङ सम्पत्ति तथा धितो सुरक्षणमा रहेका लिलाम बिक्रीका विवरणहरू अद्यावधिक गर्दै जाने जनाएको छ । यसरी डिजिटल प्रणालीमार्फत लिलामसम्बन्धी जानकारी सार्वजनिक हुँदा पारदर्शिता र पहुँच दुवै सहज हुने बैंकको विश्वास छ ।
खेलकुदमन्त्रीको पहिलो निर्णय : मन्त्रालयको छलफल लाइभ गर्ने
काठमाडौं । नवनियुक्त युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले आइतबार पदभार ग्रहण गर्दै पहिलो निर्णयका रूपमा मन्त्रालयको बैठक (छलफल) लाइभ गर्ने घोषणा गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ लिएपछि गुप्ता मन्त्रालय पुगेका थिए । पदभार ग्रहण समारोहपछि उनले मन्त्रालयमा पारदर्शिता र जिम्मेवारी बढाउने उद्देश्यले सबै प्रकारका बैठक तथा छलफलहरू लाइभ प्रसारण गर्ने निर्णय गरेका हुन् । मन्त्री गुप्ताले खेल क्षेत्रलाई व्यवस्थित, पारदर्शी र जनउत्तरदायी बनाउन मन्त्रालयभित्रबाटै सुधार थालिने बताउँदै खेलकुद मन्त्रालय अन्तर्गतका सबै निकायको बैठक पनि सार्वजनिक रूपमा लाइभ गरिने स्पष्ट पारेका छन् ।
खाद्य कम्पनीले कात्तिक ११ गतेदेखि १३ ठाउँमा धान खरिद केन्द्र सञ्चालन गर्दै
काठमाडौं । नेपाली किसानका लागि सुखद खबर आएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्ष देशभरका प्रमुख धान उत्पादन क्षेत्रलाई लक्षित गरी १३ वटा धान खरिद केन्द्र सञ्चालन गर्ने निर्णय गरेको छ । शनिबार कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यको अध्यक्षतामा बसेको बैठकले सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्ने निर्णय गर्दै धान किसानलाई प्रत्यक्ष राहत पुग्ने व्यवस्था मिलाएको हो । कम्पनीले यस वर्ष महेन्द्रनगर, धनगढी, राजापुर, नेपालगञ्ज, जुम्ला, तुलसीपुर, भैरहवा, पोखरा, वीरगञ्ज, लहान, जनकपुर, विराटनगर र बिर्तामोड गरी देशका १३ स्थानमा खरिद केन्द्र स्थापना गर्नेछ । बैठकले आवश्यकता अनुसार स्थानीय तहसँग समन्वय गरी उपकेन्द्र थप गर्न सकिने निर्णय पनि गरेको छ । साथै, भण्डारण क्षमताभन्दा बढी धान खरिद गर्नुपर्ने स्थिति आएमा खुला स्थानमा सुरक्षित रूपमा सञ्चय गरिने र त्यसका लागि स्थानीय प्रशासनको सहयोग तथा बीमा व्यवस्था मिलाइने कम्पनीले जनाएको छ । कम्पनीले गुणस्तर मापदण्ड अनुरुपको धान मात्र खरिद गर्ने र त्यसको सुनिश्चितता गुणस्तर प्राविधिक कर्मचारीमार्फत गरिने जनाएको छ । यसबाहेक, बजारमा उपलब्ध चामलको मूल्य र समर्थन मूल्यमा खरिद गरिएको धानबाट उत्पादन हुने चामलबीचको मूल्य फरक नेपाल सरकारसँग समायोजन गर्न अर्थ मन्त्रालयमा पत्राचार गरिने भएको छ । सरकारको यो कदमले किसानलाई न्यायसंगत मूल्य प्राप्त गर्न मद्दत पु¥याउने र घरेलु चामल उत्पादनलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ ।
११ देशका नेपाली राजदूत फिर्ता प्रकरणमा सर्वोच्चको कडा प्रश्न - फिर्ता बोलाउने कानुनी आधार के हो ?
काठमाडौं । सरकारले हालै ११ देशका आवासीय नेपाली राजदूतहरू फिर्ता बोलाउने निर्णय गरेको विषयमा सर्वोच्च अदालतले सरकारसँग कारण पेश गर्न आदेश जारी गरेको छ । चीन, अमेरिका, जापान, बेलायत, जर्मनी, स्पेन, रसिया, मलेसिया, साउदी अरब, कतार र इजरायलका लागि नियुक्त राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय कानुनसम्मत नभएको भन्दै रिट निवेदन दायर भएपछि सर्वोच्चले प्रारम्भिक सुनुवाइ गर्दै सरकारसँग लिखित जवाफ माग गरेको हो । रिटमा भनिएको छ, 'राजनीतिक स्वार्थमा आधारित राजदूत फिर्ता गर्ने निर्णयले कूटनीतिक परम्परा र सरकारी स्थायित्वमा प्रश्न उठाएको छ । अदालतले सरकारको निर्णय किन, कसरी र कुन कानुनी प्रावधानमा आधारित छ भन्ने स्पष्टिकरण मागेको हो ।' सर्वोच्चको आदेशपछि राजदूत फिर्ता बोलाउने निर्णयको औचित्य प्रमाणित गर्न अदालतमा उपस्थित हुनुपर्ने छ । यसले निकट भविष्यमा राजनीतिक र कूटनीतिक दुवै तहमा नयाँ बहस जन्माउने अनुमान गरिएको छ ।
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपक कुमार धूत नियुक्त
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नायव प्रमुख कार्यकारी अधिकृत (डिसिईओ) मा मा दीपक कुमार धूत नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको असोज २८ मा बसेको ४२ औँ बैठकले धूतलाई डिसीईओ पदमा नियुक्त गरेको हो । निवर्तमान नायव प्रमुख कार्यकारी अधिकृत योगेश कृष्ण श्रेष्ठ उमेर हदका कारण कम्पनीको सेवाबाट निवृत्त भएपछि कम्पनीले नायब महाप्रबन्धकको रुपमा कार्यरत दीपक कुमार धूतलाई नायव प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति गरेको जनाएको छ । ३० वर्षदेखि नेपालको निर्जीवन बीमा क्षेत्रमा कार्यरत धूत, इन्स्योरेन्स इन्स्टिच्युट अफ इण्डियाको फेलो मेम्बर रहेका छन् । इन्धिरा गान्धी नेशनल ओपन युनिभर्सिटीबाट बजार व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका छन् । साथै उनले यूएनडीपीबाट इन्क्यूलिसिभ इन्स्योरेन्स सम्बन्धी अन्तराष्ट्रिय प्रशिक्षकको उपाधि समेत प्राप्त गरेका छन् ।
जेनजी आन्दोलनका घाइते तथा प्रभावितको लागि निःशुल्क मनोसामाजिम परामर्शको व्यवस्था गर्ने
काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतमले पदभार ग्रहण गरेकी छन् । मन्त्री गौतमले राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहण लगत्तै सिंहदरबारस्थित कार्यालय पुगेर पदभार ग्रहण गरेकी हुन् । पदभार ग्रहण गर्दै उनले जेनजी आन्दोलनका घाइते तथा प्रभावितको लागि निःशुल्क मनोसामाजिम परामर्शको व्यवस्था गर्ने निर्णय पनि गरेकी छन् । विज्ञहरुको सुझावको आधारमा मनोसामाजिक परामर्श कसरी दिने भन्नेबारे छलफल गरेर कार्य अगाडि बढाउने उनको भनाइ छ । उनले भनिन्, ‘जेन–जी आन्दोलनबाट प्रभावित सबै व्यक्तिहरुको लागि मनोसामाजिक परामर्श सेवाको व्यवस्थापन गर्ने पहिलो निर्णय भएको छ । यसको डिटेल हाम्रो विज्ञहरुबाट वर्कआउट हुन्छ त्यसपछि फेरी तपाईहरुलाई बताउँछु ।’ पूर्वस्वास्थ्य सचिव समेत रहनुभएकी उहाँले तत्कालीन स्वास्थ्यमन्त्रीहरू प्रदीप पौडेल, गगन थापाको सल्लाहकार समेत रहेकी थिइन् ।