विकासन्युज

खेलकुदमन्त्रीको पहिलो निर्णय : मन्त्रालयको छलफल लाइभ गर्ने

काठमाडौं । नवनियुक्त युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले आइतबार पदभार ग्रहण गर्दै पहिलो निर्णयका रूपमा मन्त्रालयको बैठक (छलफल) लाइभ गर्ने घोषणा गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ लिएपछि गुप्ता मन्त्रालय पुगेका थिए । पदभार ग्रहण समारोहपछि उनले मन्त्रालयमा पारदर्शिता र जिम्मेवारी बढाउने उद्देश्यले सबै प्रकारका बैठक तथा छलफलहरू लाइभ प्रसारण गर्ने निर्णय गरेका हुन् । मन्त्री गुप्ताले खेल क्षेत्रलाई व्यवस्थित, पारदर्शी र जनउत्तरदायी बनाउन मन्त्रालयभित्रबाटै सुधार थालिने बताउँदै खेलकुद मन्त्रालय अन्तर्गतका सबै निकायको बैठक पनि सार्वजनिक रूपमा लाइभ गरिने स्पष्ट पारेका छन् ।

खाद्य कम्पनीले कात्तिक ११ गतेदेखि १३ ठाउँमा धान खरिद केन्द्र सञ्चालन गर्दै

काठमाडौं । नेपाली किसानका लागि सुखद खबर आएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्ष देशभरका प्रमुख धान उत्पादन क्षेत्रलाई लक्षित गरी १३ वटा धान खरिद केन्द्र सञ्चालन गर्ने निर्णय गरेको छ । शनिबार कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यको अध्यक्षतामा बसेको बैठकले सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्ने निर्णय गर्दै धान किसानलाई प्रत्यक्ष राहत पुग्ने व्यवस्था मिलाएको हो ।  कम्पनीले यस वर्ष महेन्द्रनगर, धनगढी, राजापुर, नेपालगञ्ज, जुम्ला, तुलसीपुर, भैरहवा, पोखरा, वीरगञ्ज, लहान, जनकपुर, विराटनगर र बिर्तामोड गरी देशका १३ स्थानमा खरिद केन्द्र स्थापना गर्नेछ ।  बैठकले आवश्यकता अनुसार स्थानीय तहसँग समन्वय गरी उपकेन्द्र थप गर्न सकिने निर्णय पनि गरेको छ । साथै, भण्डारण क्षमताभन्दा बढी धान खरिद गर्नुपर्ने स्थिति आएमा खुला स्थानमा सुरक्षित रूपमा सञ्चय गरिने र त्यसका लागि स्थानीय प्रशासनको सहयोग तथा बीमा व्यवस्था मिलाइने कम्पनीले जनाएको छ ।  कम्पनीले गुणस्तर मापदण्ड अनुरुपको धान मात्र खरिद गर्ने र त्यसको सुनिश्चितता गुणस्तर प्राविधिक कर्मचारीमार्फत गरिने जनाएको छ । यसबाहेक, बजारमा उपलब्ध चामलको मूल्य र समर्थन मूल्यमा खरिद गरिएको धानबाट उत्पादन हुने चामलबीचको मूल्य फरक नेपाल सरकारसँग समायोजन गर्न अर्थ मन्त्रालयमा पत्राचार गरिने भएको छ ।  सरकारको यो कदमले किसानलाई न्यायसंगत मूल्य प्राप्त गर्न मद्दत पु¥याउने र घरेलु चामल उत्पादनलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ ।  

११ देशका नेपाली राजदूत फिर्ता प्रकरणमा सर्वोच्चको कडा प्रश्न - फिर्ता बोलाउने कानुनी आधार के हो ?

काठमाडौं । सरकारले हालै ११ देशका आवासीय नेपाली राजदूतहरू फिर्ता बोलाउने निर्णय गरेको विषयमा सर्वोच्च अदालतले सरकारसँग कारण पेश गर्न आदेश जारी गरेको छ । चीन, अमेरिका, जापान, बेलायत, जर्मनी, स्पेन, रसिया, मलेसिया, साउदी अरब, कतार र इजरायलका लागि नियुक्त राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय कानुनसम्मत नभएको भन्दै रिट निवेदन दायर भएपछि सर्वोच्चले प्रारम्भिक सुनुवाइ गर्दै सरकारसँग लिखित जवाफ माग गरेको हो । रिटमा भनिएको छ, 'राजनीतिक स्वार्थमा आधारित राजदूत फिर्ता गर्ने निर्णयले कूटनीतिक परम्परा र सरकारी स्थायित्वमा प्रश्न उठाएको छ । अदालतले सरकारको निर्णय किन, कसरी र कुन कानुनी प्रावधानमा आधारित छ भन्ने स्पष्टिकरण मागेको हो ।' सर्वोच्चको आदेशपछि राजदूत फिर्ता बोलाउने निर्णयको औचित्य प्रमाणित गर्न अदालतमा उपस्थित हुनुपर्ने छ । यसले निकट भविष्यमा राजनीतिक र कूटनीतिक दुवै तहमा नयाँ बहस जन्माउने अनुमान गरिएको छ ।

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपक कुमार धूत नियुक्त

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नायव प्रमुख कार्यकारी अधिकृत (डिसिईओ) मा  मा दीपक कुमार धूत नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको असोज २८ मा बसेको ४२ औँ बैठकले धूतलाई डिसीईओ पदमा नियुक्त गरेको हो । निवर्तमान नायव प्रमुख कार्यकारी अधिकृत योगेश कृष्ण श्रेष्ठ उमेर हदका कारण कम्पनीको सेवाबाट निवृत्त भएपछि कम्पनीले नायब महाप्रबन्धकको रुपमा कार्यरत दीपक कुमार धूतलाई नायव प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति गरेको जनाएको छ ।  ३० वर्षदेखि नेपालको निर्जीवन बीमा क्षेत्रमा कार्यरत धूत, इन्स्योरेन्स इन्स्टिच्युट अफ इण्डियाको फेलो मेम्बर रहेका छन् । इन्धिरा गान्धी नेशनल ओपन युनिभर्सिटीबाट बजार व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका छन् । साथै उनले यूएनडीपीबाट इन्क्यूलिसिभ इन्स्योरेन्स सम्बन्धी अन्तराष्ट्रिय प्रशिक्षकको उपाधि समेत प्राप्त गरेका छन् ।

जेनजी आन्दोलनका घाइते तथा प्रभावितको लागि निःशुल्क मनोसामाजिम परामर्शको व्यवस्था गर्ने

काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतमले पदभार ग्रहण गरेकी छन् । मन्त्री गौतमले राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहण लगत्तै सिंहदरबारस्थित कार्यालय पुगेर पदभार ग्रहण गरेकी हुन् ।  पदभार ग्रहण गर्दै उनले जेनजी आन्दोलनका घाइते तथा प्रभावितको लागि निःशुल्क मनोसामाजिम परामर्शको व्यवस्था गर्ने निर्णय पनि गरेकी छन् । विज्ञहरुको सुझावको आधारमा मनोसामाजिक परामर्श कसरी दिने भन्नेबारे छलफल गरेर कार्य अगाडि बढाउने उनको भनाइ छ । उनले भनिन्, ‘जेन–जी आन्दोलनबाट प्रभावित सबै व्यक्तिहरुको लागि मनोसामाजिक परामर्श सेवाको व्यवस्थापन गर्ने पहिलो निर्णय भएको छ । यसको डिटेल हाम्रो विज्ञहरुबाट वर्कआउट हुन्छ त्यसपछि फेरी तपाईहरुलाई बताउँछु ।’ पूर्वस्वास्थ्य सचिव समेत रहनुभएकी उहाँले तत्कालीन स्वास्थ्यमन्त्रीहरू प्रदीप पौडेल, गगन थापाको सल्लाहकार समेत रहेकी थिइन् ।   

नवनियुक्त दुई मन्त्रीले लिए शपथ

काठमाडौं । नवनियुक्त दुई मन्त्रीले शपथ लिएका छन् । शितलनिवासमा आइतबार आयोजित विशेष कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उनीहरुले शपथ लिएका हुन् । डा. सुधा गौतम र बब्लु गुप्ताले मन्त्रीको शपथ लिएका हुन् । डा. गौतमले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र गुप्ताले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका छन् । प्रधानमन्त्री सुशीला कार्कीले आइतबार बिहान मन्त्रीमण्डल विस्तारको लागि मन्त्रीको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेकी थिइन् ।  मन्त्रीमण्डलमा चार जनाको नाम सिफारिस भएपनि विवादका कारण दुई जनाको मात्रै आइतबार शपथ भएको हो । प्रधानमन्त्री कार्कीले गणपतिलाल श्रेष्ठलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र खगेन्द्र सुनारलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा सिफारिस गरेकी थिइन् । उनीहरुको भने शपथ रोकिएको हो । यसअघि प्रधानमन्त्री कार्कीले ७ जना मन्त्री नियुक्त गरिसकेकी छन् । नवनियुक्त मन्त्रीहरुको सपथग्रहण कार्यक्रममा उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री कार्की, प्रधानन्याधीश प्रकाशमानसिंह राउत, सभामुख देवराज घिमिरे, नेपाल सरकारका मन्त्री लगायत उच्चपदस्थ व्यक्तित्वहरुको सहभागिता रहेको छ । 

वैदेशिक रोजगारी सन्तति छात्रवृत्तिका लागि आवेदन आह्वान

काठमाडौं । सरकारले वैदेशिक रोजगार सन्तति छात्रवृत्तिका लागि आवेदन आह्वान गरेको छ ।      श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार बोर्डको सचिवालयले यही कात्तिक ३ गते एक सूचना प्रकाशन गरी आवेदन आह्वान गरेको हो । श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गई तोकिएको अवधिभित्र मृत्यु, अङ्गभङ्ग वा विरामी भई कल्याणकारी कोषबाट यस सचिवालयमार्फत शतप्रतिशत आर्थिक सहायता प्राप्त गरेका कामदारका सन्ततीलाई वैदेशिक रोजगार सन्तती छात्रवृत्तिका लागि आह्वान गरिएको जनाइएको छ ।       आफू अध्ययनरत रहेकै शैक्षिक संस्थामा वैदेशिक रोजगार सन्तती छात्रवृत्ति सञ्चालन कार्यविधि, २०८० को अनुसुची (१) बमोजिमको ढाँचामा यही कात्तिक मसान्तभित्र निवेदन पेस गर्न सम्बन्धित व्यक्तिलाई अनुरोध गरिएको छ  ।

तिहारपछि बढ्यो सेयर बजार, २ अर्ब ६६ करोडको कारोबार

काठमाडौं । तिहार विदापछिको पहिलो कारोबारको दिन आइतबार सेयर बजार समान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५ अंकले बढेर २५०९ बिन्दुमा पुगेको छ । आज ९८ कम्पनीको सेयर मूल्य बढ्दा १४६ कम्पनीको मूल्य घटेको छ । ४ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । आइतबार ३१३ कम्पनीको ५५ लाख कित्ता सेयर किनबेच हुँदा २ अर्ब ६६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार नेपाल रिइन्स्योरेन्सको भएको छ । नेपाल रिइन्स्योरेन्सको ३२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, १०.७५ प्रतिशत एसबीएल डीभेन्चरको २३ करोड, युनियन हाइड्रोपावरको १८ करोड, हिमालयन पावर पाटर्नरको १० करोड र हिमालयन डिस्टीलरीको ९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज १०.७५ प्रतिशत एसबीएल डीभेन्चर २०८९ को सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । आइतबार अन्य समूह सबैभन्दा धेरै ३.०५ प्रतिशतले बढेको छ ।  त्यस्तै जीवन बीमा ०.६१, उत्पादन तथा प्रशोधन ०.०२, निर्जीवन बीमा ०.०८ र व्यापार ०.८१ प्रतिशतले बढेको छ । बैंकिङ ०.३५, विकास बैंक ०.२९, फाइनान्स ०.७२, होटल तथा पर्यटन ०.५७, हाइड्रोपावर ०.३३, माइक्रोफाइनान्स ०.२३ र लगानी ०.३४ प्रतिशतले घटेको छ ।