निर्वाचन प्रहरी भर्ना : तेस्रो पटक म्याद थप्दा पनि मागअनुसार आवेदन परेन
बागलुङ । बागलुङमा निर्वाचन प्रहरी भर्नाका लागि तीन पटक म्याद थप गर्दा पनि माग अनुसारको आवेदन आउन सकेको छैन । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका जिल्लामा एक हजार २९८ जना नेपाल प्रहरीतर्फ र १८९ जना सशस्त्र प्रहरीबाट गरी कूल एक हजार ४८७ जना माग गरिएको थियो । तर हालसम्म नेपाल प्रहरीबाट एक हजार ४८ र सशस्त्र प्रहरीबाट तीन जना गरी एक हजार ५१ जनाको मात्र आवेदन परेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक तिलक भारतीले जानकारी दिए । हालसम्म पुरुष ८२३ जना र महिला २२८ जनाले आवदेन दिएको उनको भनाइ छ । गत पुस २४ गतेदेखि माघ १ गतेसम्म दरखास्त आह्वान गरिएको थियो । उक्त समय अवधिमा माग अनुसार दरखास्त नआएपछि थप माघ २ र ३ गते दुई दिन थप गरिएको प्रहरी उपरीक्षक भारतीले बताए । माग अनुसारको आवेदन पूरा हुनका लागि अझै ४३६ जना आवश्यक रहेको उनको भनाइ छ । मागअनुसारको आवेदन नआएपछि तेस्रो पटक आइतबारसम्मलाई आवेदन दिन म्याद थप गरेको छ । आवेदकहरूलाई सहज होस् भन्ने हिसाबले जिल्ला प्रहरी कार्यालय बागलुङसहित इलाका प्रहरी कार्यालय बुर्तिबाङ र गलकोटबाट पनि आवेदन दिन सकिने उनी बताउँछन् ।
काठमाडौं महानगरपालिकाका सामुदायिक विद्यालयमा बालबालिका भर्ना उल्लेख्य वृद्धि
काठमाडौं । विगतका वर्षहरूमा भन्दा आगामा शैक्षिक शत्रका लागि काठमाडौं महानगरपालिकाको सामुदायिक विद्यालयमा भर्ना हुन आउने नयाँ बालबालिकाको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । सरस्वती पूजाका दिन काठमाडौं महानगरभित्रका सामुदायिक विद्यालयमा एक हजार १ सय १५ जना नयाँ बालबालिकाको अक्षरारम्भ गरेका कामपा शिक्षा विभागले शिक्षा विभागका निमित्त प्रमुख केशव ज्ञवालीले जानकारी दिए । उनका अनुसार गएको वर्षभन्दा यस वर्ष १ सय ४४ जना बढी बालबालिकाले अक्षरारम्भ गरेका छन् । काठमाडौं महानगरपालिकाभित्रका सामुदायिक विद्यालयहरूमा सरस्वती पूजाको अवसर पारेर यस वर्ष एक हजार १ सय १५ बालबालिकाले अक्षरारम्भ गरेका छन् । यसरी अक्षरारम्भ गर्नेहरूमा ५ सय २५ जना छात्रा र ५ सय ९० छात्र छन् । यो सङ्ख्या गएको वर्षभन्दा १ सय ४४ जनाले बढी हो । गएको वर्ष यस दिन ९ सय ७१ जना बालबालिकाले अक्षरारम्भ गरेका थिए । महानगरपालिकाभित्र ८७ वटा सामुदायिक विद्यालय छन् । यीमध्ये कारागारभित्रका विद्यालयमा प्रारम्भिक बाल विकास कक्षा (इसिडी) छैनन् । बाँकी विद्यालयमा छन् । अक्षरारम्भ कार्यक्रमअन्तर्गत ज्ञानोदय माध्यमिक विद्यालयमा सहभागी हुँदै महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले, बालमैत्री वातावरणमा उनीहरूको सर्वाङ्गीण विकासको जग बलियो बनाउने कामलाई महानगरपालिकाले प्राथमिकता राखेको उल्लेख गरे । ‘सामुदायिक विद्यालयहरूबाट प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्ने नतिजाका लागि नीति, योजना तथा कार्यक्रम तर्जुमा गरिएको, स्रोध, साधन र उपकरणमा लगानी बढाइएको, मानव संशाधन विकासमा जोड दिएका छौँ । यसबाट विद्यालयहरूबाट उत्कृष्ट नतिजा प्राप्त हुनेछ,’ उनको भनाइ थियो । धेरै बालबालिकाले अक्षरारम्भ गरेका विद्यालयमध्ये ज्ञानोदय माध्यमिक विद्यालय वाफलमा ८७ जना, नीलबाराही माध्यमिक विद्यालय, टङ्केश्वरमा ५० जना र भानु माध्यमिक विद्यालय, रानीपोखरीमा ४२ जना छन् । प्रारम्भिक बाल विकास कक्षाहरूमा बाल केन्द्रित सिकाइको स्तर वृद्धि गर्न महानगरपालिकाले विद्यार्थी सङ्ख्याका आधारमा प्रारम्भिक बाल विकास सहजकर्ता व्यवस्थापन गरेका कारण प्रारम्भिक बाल विकास कक्षामा बालबालिकाको आकर्षण बढेको हो । निमित्त प्रमुख ज्ञवालीका अनुसार अक्षरारम्भ गरेका बालबालिका नियमित विद्यालय आउन चाहेमा कक्षा कोठाको प्रबन्ध गरिएको छ । नियमित कक्षाका लागि भर्ना भने वैशाख महिनामा हुनेछ ।
हिमपातले सुदूरपहाडका राजमार्ग र विद्युत् सेवा अवरुद्ध, जनजीवन प्रभावित
बैतडी । भारी हिमपातका कारण सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका राजमार्ग अवरुद्ध भएका छन् । बैतडीको नारखोली, खोडपे, श्रीभावर, सतबाँझ, देहिमाडौँ क्षेत्रमा हिमपात हुँदा दशरथचन्द राजमार्ग र जयपृथ्वी राजमार्ग गए राति देखिनै अवरुद्ध रहेका हुन् । रातिदेखि नै राजमार्ग अवरुद्ध हुँदा सवारी आवागमन पूर्ण रूपमा ठप्प रहेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए । हिमपातले राजमार्ग अवरुद्ध हुनुका साथै विद्युत् सेवा पनि बन्द रहेको छ । उनले भने, 'रातिको भारी हिमपातले राजमार्ग र विद्युत् सेवा ठप्प छ । पुनः सञ्चालनका लागि पहल थालिएको छ ।' यस्तै डडेल्धुराको साहुखर्क, हगुल्टेलगायत क्षेत्रमा हिमपात हुँदा भीमदत्त राजमार्ग पनि ठप्प रहेको प्रहरीले जनाएको छ । शुक्रबार बेलुकादेखि नै बैतडीसहित दार्चुला, बझाङ, डोटी, डडेल्धुराका उच्च लेकाली भेगमा वर्षासँगै हिमपात भएको छ । यो वर्ष पहिलोपटक हिउँदे वर्षा र हिमपात भएपछि यहाँका किसान खुसी भएका छन् । गएको चार महिनादेखि वर्षा नहुँदा यहाँका हिउँदे बाली सुक्दै गएका थिए । हिमपात र वर्षा भएपछि किसानहरू बाली सप्रिने भन्दै खुसी भएका छन् । हिमपातका कारण अत्यधिक चिसो बढेपछि यहाँको जनजीवन प्रभावित भएको छ ।
हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
रुकुम पूर्व । रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ । लोकमार्ग अवरुद्ध हुँदा सवारीसाधन वारपार गर्न सकिरहेका छैनन् । यस खण्डमा काठमाडौंबाट छुटेका बसहरू फसेको भन्ने खबर आएसँगै इलाका प्रहरी कार्यालय काक्रीबाट प्रहरी निरीक्षक हिमराज विकको नेतृत्वमा टोली खटाएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायब उपरीक्षक उमाशङ्करप्रसाद यादवले जानकारी दिए । अहिले पनि निरन्तर रूपमा हिमपात भइरहेको उनले बताए । फसेका गाडी र यात्रुहरूको उद्धारको प्रयास भइरहेको र बाटो खुलाउनको लागि भूमे गाउँपालिकासँग समन्वय गरिरहेको प्रमुख जिल्ला अधिकारी सीता परियारले बताए । स्काभेटर लगाएर हिउँ पन्छाउने र बाटो खुलाउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी परियारले बताए । रुकुम पूर्वको हिमाली तथा उच्च लेकाली क्षेत्रहरूमा गए रातिदेखि हिमपात भइरहेको छ भने तल्लो क्षेत्रमा वर्षा भएको छ । हिमपातका कारण चिसोले मानिसहरूको जनजीवन प्रभावित भइरहेको छ भने लामो समयको अन्तरालमा भएको वर्षा र हिमपातको कारण किसानहरू खुसी भएका छन् । आकाशेपानीको भरमा खेती गरिरहेका किसानको पानी नपर्दा गहुँ बाली सुकिसकेको थियो । लामो समयपछि पानी पर्दा खेतीपातीलाई राहत मिलेको सिस्ने गाउँपालिका–५ का विमल बिसीले बताए ।
डोङफेङले सञ्चालनमा ल्यायो विश्वकै सबैभन्दा ठूलो डाइ–कास्टिङ कम्पोनेन्ट प्लान्ट
काठमाडौं । चिनियाँ अटो निर्माता डोङफेङले विश्वको सबैभन्दा ठूलो डाइ–कास्टिङ मेसिन जडित अटोमोटिभ कम्पोनेन्ट प्लान्ट सञ्चालनमा ल्याएको छ । १६ हजार टन क्षमताको डाइ–कास्टिङ मेसिन जडित उक्त कारखानाले पहिलो उत्पादनका रूपमा ब्याट्री केसिङ उत्पादन गरेको हो । कम्पनीका अनुसार यस अत्याधुनिक मेसिनको सहायताले केवल दुई मिनेटमै गाडीका ब्याट्री ट्रे तथा ब्याट्री केसिङलाई आवश्यकताअनुसारको आकारमा डाइ–कास्ट गर्न सकिन्छ । कारखानामा विश्वकै सबैभन्दा ठूलो १६ हजार टन र १० हजार टन क्षमताका डाइ–कास्टिङ डुअल उत्पादन लाइन सञ्चालनमा रहेका छन् । चीनमै डिजाइन तथा निर्माण गरिएको उक्त डाइ–कास्टिङ मेसिनसहित डोङफेङले सञ्चालनमा ल्याएको यो प्लान्ट विश्वमै हालसम्मकै सबैभन्दा ठूलो एकीकृत डाइ–कास्टिङ कारखानाको रूपमा स्थापित भएको छ । आगामी अप्रिलदेखि ठूलो मात्रामा उत्पादन सुरु हुने अपेक्षा गरिएको यस प्लान्टबाट उत्पादित कम्पोनेन्टहरू डोङफेङ ००७, ००८ तथा भोयाह ड्रीमरजस्ता मोडेलहरूमा पहिलोपटक प्रयोग गरिने कम्पनीको अनुमान छ । कारखानाले मुख्यतया ब्याट्री केसिङसहित न्यू–इनर्जी भेइकलका लागि अल्ट्रा–लार्ज इन्टिग्रेटेड डाइ–कास्ट स्ट्रक्चरल कम्पोनेन्टहरूको अनुसन्धान, विकास, उत्पादन तथा बिक्रीमा ध्यान केन्द्रित गर्ने जनाएको छ । परम्परागत उत्पादन विधिको तुलनामा डाइ–कास्ट ब्याट्री केसिङले ब्याट्री प्रणालीको सुरक्षा सुधार गर्नुका साथै गाडीको तौल र ऊर्जा खपत घटाउन तथा न्यू–इनर्जी भेइकलको ड्राइभिङ रेन्ज विस्तार गर्न मद्दत पुर्याउने अपेक्षा गरिएको छ । ४७ हजार वर्ग मिटर क्षेत्रफल ओगटेको यो कारखानाको निर्माण डोङफेङले नोभेम्बर २०२४ मा सुरु गरेको थियो । यसको मुख्य कारखाना भवन अगस्ट २०२५ मा १ अर्ब युआन (१४३.६ मिलियन अमेरिकी डलर) को कुल लगानीमा सम्पन्न भएको हो । हाल यो प्लान्टले वार्षिक दुई लाख अटोमोटिभ कम्पोनेन्ट उत्पादन गर्ने क्षमता राखेको छ । दोस्रो चरणमा विस्तार गरी थप चार उत्पादन लाइन निर्माण गर्ने योजना रहेको कम्पनीले जनाएको छ । विस्तारपछि वार्षिक छ लाख कम्पोनेन्ट उत्पादन गर्न सकिनेछ ।
गोल्यान ग्रुपको शैक्षिकवृत्ति प्राप्त ३ बालबालिकाको अक्षरारम्भ
काठमाडौं । जेनजी आन्दोलनका सहिदका सन्तानका लागि गोल्यान ग्रुपले घोषणा गरेको शैक्षिकवृत्ति कार्यक्रम अन्तर्गत शुक्रबार तीन बालबालिकाले अक्षरारम्भ गरेका छन् । सरस्वती पूजाका अवसरमा काठमाडौं, पोखरा र सिरहा (लहान) मा उनीहरूले शैक्षिक यात्राको पहिलो पाइला सुरु गरेका हुन् । गोल्यान ग्रुपले २४ असोजमा सहिदका बालबालिकाका लागि कक्षा १२ सम्मको शैक्षित्रवृत्ति योजना घोषणा गरेको थियो । उक्त योजनामा ३४ बालबालिका आवब छन् । तीमध्ये विद्यालय भर्ना हुने उमेर पुगेका तीन जनाले शुक्रबार अक्षरारम्भ गरेका हुन् । काठमाडौंको बानियाँटारस्थित काठमाडौं युरो स्कुलमा नेल्सन पराजुली, पोखराको रानीपौवास्थित अर्ली चाइल्डहुड एकेडेमीमा एनिक गुरुङ र सिरहा लहानस्थित स्कुल अफ स्कलरमा विवांशी चौधरीले अक्षरारम्भ गरेका हुन् । तीनै बालबालिका २ वर्षका छन् । काठमाडौं युरो स्कुलमा आयोजित अक्षरारम्भ समारोहमा गोल्यान ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक अक्षय गोल्यानले बालबालिकाका अभिभावकले देशका लागि दिएको बलिदानीको सम्मान गर्न सामाजिक जिम्मेवारी ग्रहण गरेको बताए । ‘हाम्रो सहयोग दया वा उपहार होइन, जिम्मेवारी हो, हामी बालबालिकाको शिक्षामा दीर्घकालीन रूपमा साथ दिन चाहन्छौं,’ उनले भने, ‘बालिबालिकाहरू पढेर डाक्टर, इन्जिनियर, शिक्षक, उद्यमी जे बन्न चाहन्छन, त्यो बन्न सकुन्, उनीहरूको सफलताले परिवारमात्र होइन, देशलाई बलियो बनाउने छ ।’ शिक्षाले आत्मविश्वास, अवसर र भविष्यको बाटो देखाउने उल्लेख गर्दै आज अक्षर चिन्ने नानीबाबु भोलि देश बनाउने नागरिक बन्न सक्ने उनले बताए । अक्षरारम्भ समारोहमा अध्यक्ष तथा प्रबन्ध निर्देशक गोल्यानले पराजुलीको एक वर्षको शैक्षिकवृत्ति रकम ३ लाख ७६ हजार रुपैयाँको चेक विद्यालयलाई प्रदान गरेका छन् । ग्रुपका कर्पोरेट अफेयर्स, कम्युनिकेसन्स एन्ड पब्लिक रिलेसन प्रमुख ज्योति गैह्रेका अनुसार शैक्षिकवृत्ति कार्यक्रम अन्तर्गत प्रत्येक बालबालिकाको मासिक ४० हजारका दरले अधिकतम वार्षिक ४ लाख ८० हजार रुपैयाँ खर्च बेहोर्ने गरी सहिद परिवार, सम्बन्धित विद्यालय र गोल्यान ग्रुपबीच त्रिपक्षीय सम्झौता भएको छ । ‘सम्झौता अनुसार बिल–भरपाइँपठाएका विद्यालयलाई शुल्क भुक्तानी पनि भइसकेको छ,’ उनले भनिन्, ‘हामीले प्रतिबद्धता अनुसार शैक्षिकवृत्ति कार्यक्रम कार्यान्वयन गरिरहेका छौं ।’ काठमाडौं युरो स्कुलका अध्यक्ष प्रमोद पाण्डेले जेनजी आन्दोलनका सहिदका बालबालिकाको शिक्षाको जिम्मेवारी बहन गरेर गोल्यान ग्रुपले‍ समाजप्रतिको आफ्नो दायित्व र जिम्मेवारी अझ फराकिलो बनाएको बताए । ‘शिक्षा नै सबैभन्दा ठूलो धन हो भन्ने भनाइ गोल्यान ग्रुपको परोपकारी मनले आत्मसाथ गरेको छ,’ उनले भने, ‘सहिदको सपना पूरा गर्न हामीले पनि आफ्नो दायित्व र जिम्मेवारी कुशलतापूर्वक बहन गर्ने छौं ।’ पोखरामा आयोजित अक्षरारम्भ समारोहमा अर्ली चाइल्डहुड एकेडेमीका प्रिन्सिपल सालभी बास्तोला मसानीले सहिदका सन्तानका लागि गोल्यान ग्रुपले गरेको सहयोगले विद्यालय परिवारलाई पनि थप जिम्मेवार महसुस गराएको बताइन् । ‘गोल्यान ग्रुपले सामाजिक क्षेत्रमा गरेको सहयोगबारे हामीले सुनिरहेका थियौं, आज सहिदका बालबालिकालाई पढाउन हाम्रै विद्यालयसँग सहकार्य हुँदा निकै खुसी बनाएको छ,’ उनले भनिन्, ‘अब हामी सबैको सहकार्यबाट बालबालिकाको भविष्य उज्यालो बनाउनुपर्ने अवसर र जिम्मेवारी आएको छ ।’ लहानको स्कुल अफ स्कलरमा विवांशीलाई भर्ना गरेपछि उनका ठूलो बुबा अजय चौधरीले भाइ (सहिद विजय चौधरी) ले छाडेर गएको सपना पूरा हुने विश्वास व्यक्त गरे । उनले गोल्यान ग्रुपप्रति आभार व्यक्त गर्दै भने, ‘सबै धनीहरू गोल्यान ग्रुप जस्तै मनकारी हुँदैनन्, गोल्यानले भने खुला दिलले सहयोग र सहकार्यको हात अघि बढाएको छ ।’
रामेछापमा निर्वाचन प्रहरीको पर्याप्त आवेदन नपरेपछि पुनः माग
मन्थली । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक प्रहरी भर्ना, छनोट तथा नियुक्तिको पुनः समय बढाइएको छ । भर्ना समिति रामेछापले निर्वाचन प्रहरी भर्नाका लागि आवेदन दिन माघ १० र ११ गतेसम्मका लागि दुई दिन म्याद थपेको हो । निर्वाचनका लागि जिल्लामा आवश्यक निर्वाचन प्रहरीको यसअघि खोलिएको विज्ञापनअनुसार पर्याप्त आवेदन नपरेपछि पुनः आवेदन दिने म्याद थपिएको जिल्ला प्रहरी प्रमुख भोला भट्टले बताए । रामेछाप जिल्लामा एक हजार ३३३ जना निर्वाचन प्रहरी आवश्यक रहे पनि हाल आवेदन दिएका ९०० जना निर्वाचन प्रहरीलाई मात्र तालिम दिने काम भइरहेको छ । यसअघि प्रकाशित सूचनामार्फत निर्वाचन प्रहरीका लागि शारीरिक परीक्षण, सहिष्णुता तथा लिखित परीक्षामा सहभागि हुन छुट भएका एवं नयाँ आवेदन दिन चाहानेहरूले समेत माघ ११ गतेसम्मका लागि पुनः म्याद थप गरिएको पनि प्रहरी नायब उपरीक्षक भट्टले बताए । रासस
निर्वाचनका लागि बैंक खाता खोल्ने व्यवस्था गरिदिन आयोगको केन्द्रीय बैंकलाई पत्राचार
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको उमेदवारका लागि बैंकिङ खाता सञ्चालन गरिदिन नेपाल राष्ट्र बैंकले आग्रह गरेको छ । आयोगले केन्द्रीय बैंकलाई पत्राचार गर्दै उमेदवारले निर्वाचनसम्बन्धी खर्च गर्दा बैंक खातामार्फत गर्न र उसको तर्फबाट खर्च गर्ने जिम्मेवार पदाधिकारी तोक्नुपर्ने व्यवस्था भएकाले खाता सञ्चालन गर्ने व्यवस्था मिलाइदिन आग्रह गरेको हो । प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ बमोजिम जारी निर्वाचन आचारसंहिताको दफा १६ मा उमेदवारले निर्वाचनसम्बन्धी खर्च गर्दा बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोली सोही खाताबाट गर्नुपर्ने उल्लेख छ । राजनीतिक दलले पनि निर्वाचनसम्बन्धी खर्च गर्दा बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोली दलले तोकेको जिम्मेवार पदाधिकारीद्वारा सोही खाताबाट खर्च गर्नुपर्ने, २५ हजारभन्दा बढी आर्थिक सहयोग प्राप्त गर्दा बैंक वा वित्तीय संस्थामार्फत गर्नुपर्ने व्यवस्था छ । कुनै व्यक्ति वा संस्थाबाट स्वेच्छिक सहयोगको रुपमा नगद लिएमा सो रकम बुझेको रसिद वा भरपाई दिनुपर्नेछ । राजनीतिक दलका नाममा सहयोग प्राप्त भएको भए दलको र उमेदवारका नाममा प्राप्त भएको भए उमेदवारको बैंक खातामा जम्मा गर्नुपर्नेलगायत प्रावधान छन् । सो व्यवस्थाको प्रभावकारी रूपमा कार्यान्वयन गराई आमनिर्वाचन स्वच्छ, निष्पक्ष, मितव्ययी र पारदर्शी तुल्याउन राजनीतिक दल र ती दलबाट पहिलो हुने निर्वाचित हुने उमेदवारलाई बैंक खाता खोल्न सहजीकरण गरिदिन आयोगले आग्रह गरेको हो । सो व्यवस्था समानुपातिक निर्वाचन प्रणालीतर्फका उमेदवारको हकसमेतमा लागु हुनेछ । दुवै निर्वाचन प्रणालीतर्फका राजनीतिक दल र स्वतन्त्र उमेदवारका लागि बैंकिङ कारोबार गर्ने बैंक तथा वित्तीय संस्थामा आमनिर्वाचन सम्पन्न भई आयोगद्वारा निर्णय गरी बन्द गर्न नलगाउँदासम्म सञ्चालन हुनेछ । निर्वाचनसँग सम्बन्धित आम्दानी खर्चका लागि प्रत्येक राजनीतिक दलका लागि अलग्गै एउटा र हरेक उमेदवारलाई एउटा एउटा बैंक खाता खोली सञ्चालन गर्ने व्यवस्था मिलाई दिन आयोगले केन्द्रीय बैंकलाई पत्राचार गरेको हो । रासस