सुपरमाई हाइड्रोपावरको सेयर व्यवस्थापन माछापुच्छ्रे क्यापिटलले गर्ने
काठमाडौं । सुपरमाई हाइड्रोपावर र माछापुच्छ्रे क्यापिटलबीच सम्झौता भएको छ । सुपरमाई हाईड्रोपावरले आफ्नो धितोपत्र कारोबारको रजिष्ट्रार सेवा माछापुच्छ्रे क्यापिटललाई सुम्पिएको हो । सम्झौताअनुसार माछापुच्छ्रे क्यापिटलले सुपरमाई हाईड्रोपावरका सेयरवालाको लगत अद्यावधिक राख्ने, दाखिल, खारेज, नामसारी, टुक्र्याउने लगायत सम्पूर्ण रजिष्ट्रार सम्बन्धी सेवा प्रदान गर्नेछ । सम्झौता समारोहमा माछापुच्छ्रे क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) उपेन्द्र मालाकार र सुपरमाई हाइड्रोपावरका सीईओ रवि पौडेलले हस्ताक्षर गरे । माछापुच्छ्रे क्यापिटल लिमिटेड, माछापुच्छ्रे बैंक लिमिटेडको सहायक कम्पनी हो र नेपाल धितोपत्र बोर्ड मार्फत धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्श, निष्काशन तथा बिक्री प्रबन्धक, सेयर रजिष्ट्रार र सामूहिक लगानी कोष सेवा प्रदान गर्दै आएको छ ।
सिद्धार्थ बैंकका ग्राहकलाई आईएमई हस्पिटालिटी ग्रुपमा १० प्रतिशतसम्म छुट
काठमाडौं । सिद्धार्थ बैंक र आईएमई हस्पिटालिटी ग्रुपबीच बैंकका ग्राहकहरूलाई विभिन्न होटल र रेष्टुरेन्टमा छुट प्रदान गर्ने सम्झौता भएको छ । सम्झौताअनुसार बैंकका ग्राहकहरूले लाजिम्पाटस्थित होटेल ले हिमालय र साके एण्ड फेङ्ग रेष्टुरेन्ट, हर्कपुर र बागलुङस्थित इला कम्फर्ट, मौलाकालीस्थित इला रिसोर्टस् तथा मौलाकाली र लुम्बिनी केबल कार, साथै पोखराको द् लेक रिट्रिटमा बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरी भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्। सिद्धार्थ बैंकका अनुसार यस सम्झौताले ग्राहकहरूलाई छुट सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जाने प्रोत्साहन दिने विश्वास लिइएको छ । थप जानकारीका लागि ग्राहकहरूले सिद्धार्थ बैंकको २४र७ ग्राहक सेवा केन्द्र ‘सिद्धार्थ केयर’ मार्फत सम्पर्क गर्न सक्नेछन् ।
निर्वाचनलाई प्रभावित पार्ने ९८ कन्टेन्टलाई कारबाही गर्न पत्राचार
काठमाडौं । निर्वाचन आयोगले ९८ वटा कन्टेन्टलाई कारबाही गर्न सिफारिस गरेको छ । शुक्रबार निर्वाचन आयोगमा भएको साप्ताहिक नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले गलत सूचना दिनेहरूलाई कारबाही गर्न विभिन्न निकायलाई ६ वटा पत्र पठाइसकेको जानकारी दिए । ‘गलत जानकारी दिने कन्टेन्टलाई कारबाही गर्न सिफारिस गरिएको छ, ’ उनले भने, ‘गलत सूचना दिने संस्था र सामाजिक सञ्जालका अकाउन्टलाई कारबाही गरिने छ ।’ यसैगरी, देशभरबाट ४९ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएको आयोगले जनाएको छ ।
सूर्यज्योति लाइफका बीमित र अभिकर्तालाई एनआईसी एशिया बैंकको लाइफटाइम फ्री क्रेडिट कार्ड सुविधा
काठमाडौं । एनआईसी एशिया बैंक र सूर्यज्योति लाइफ इन्स्योरेन्सबीच सम्झौता भएको छ । सम्झौताअनुसार सूर्यज्योति लाइफ इन्स्योरेन्सका बीमित र बीमा अभिकर्ताहरूलाई लाइफ टाइम निःशुल्क क्रेडिट कार्ड दिने छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुजितकुमार शाक्य र सूर्यज्योति लाइफका सीईओ प्रकाश विक्रम खत्रीले सम्झौता पत्रमा हस्ताक्षर गरे । यस सहकार्यबाट सूर्यज्योति लाइफ इन्स्योरेन्सका बीमित तथा अभिकर्ताहरूले वार्षिक शुल्क नतिरेको क्रेडिट कार्ड पाउने अवसर प्राप्त गर्दै आकस्मिक वित्तीय आवश्यकताहरू व्यवस्थापन गर्न सक्नेछन् । साथै डिजिटल भुक्तानी सेवा प्रयोग गर्न सजिलो हुने बैंकले बताएको छ । एनआईसी एशिया बैंकका अनुसार ग्राहकहरूलाई परिष्कृत र सुलभ बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले सूर्यज्योति लाइफसँग गरेको सहकार्यले बीमित र अभिकर्ताहरूलाई डिजिटल अर्थतन्त्रमा सहज पहुँच दिलाउनेछ।
देशभरबाट ४९ जना उम्मेदवारको मनोनयन फिर्ता
काठमाडौं । देशभरबाट ४९ जना उम्मेदवारले फिर्ता लिएका छन् । शुक्रबार निर्वाचन आयोगमा भएको साप्ताहिक नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले ४९ जना उम्मेदवारले फिर्ता लिएको जानकारी दिए ।
विश्वप्रसिद्ध फुड चेन केएफसीमा माछापुच्छ्रे बैंकको ईआरपी इन्टिग्रेटेड पीओएस
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना ग्राहकलाई थप सुविधा प्रदान गर्ने तथा डिजिटल बैंकिङ कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यले विश्वप्रसिद्ध फुड चेन कम्पनी केएफसी र प्रविधि कम्पनी सिटीटेकसँग सहकार्य गरेको छ। नेपालमा पहिलो पटक हस्पिटालिटी उद्योगलाई लक्षित गरी गरिएको यस सहकार्य अन्तर्गत केएफसीका विभिन्न आउटलेटहरूमा भुक्तानी गर्नको लागि माछापुच्छ्रे बैंकका अत्याधुनिक पीओएस उपकरणहरू जडान गरिएको छ । यी उपकरणहरूद्वारा ग्राहक र व्यापारी दुवैका लागि छिटो, सुरक्षित र सहज तरिकाले कार्ड तथा क्यूआरमार्फत भुक्तानी प्रदान गरिेन्छ । बैंकले आफ्ना ग्राहकलाई उच्चस्तरीय सेवा प्रदान गर्ने तथा ग्राहक सन्तुष्टिलाई प्राथमिकता दिने उद्देश्यले यस्ता सहकार्यहरू गर्दै आएको छ । जसले दैनिक कारोबारहरूलाई अझ सरल, प्रभावकारी र पारदर्शी बनाउने अपेक्षा गरिएको छ। यसले सेवा समय घटाउनुका साथै ग्राहक सन्तुष्टि बढाउन पनि महत्त्वपूर्ण योगदान पुर्याउनेछ । स्थापनाकालदेखि नै नवीनतम प्रविधिमा आधारित सेवा तथा सुविधाहरू ग्राहकसमक्ष ल्याउन कटिबद्ध माछापुच्छ्रे बैंक लिमिटेडले हाल देशभर हिमाल, पहाड र तराई समेट्दै पूर्वदेखि पश्चिमसम्म फैलिएको सुदृढ सेवा सञ्जाल विस्तार गरेको छ । बैंकले हाल १६५ शाखा, ८८ शाखारहित बैंकिङ सेवा केन्द्र तथा ११ एक्सटेन्सन काउन्टरसहित कुल २७४ सेवा केन्द्रहरू सञ्चालनमा ल्याएको छ । साथै १९९ एटीएममार्फत बैंकले १८ लाखभन्दा बढी ग्राहकहरूलाई अत्याधुनिक प्रविधिसहित सम्पूर्ण बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।
१९ करोड बराबरको आईपीओ ल्याउँदै सुपर हेवा पावर, प्रत्याभूति मुक्तिनाथ क्यापिटलले गर्ने
काठमाडौं । सुपर हेवा पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासनको प्रक्रिया अघि बढाएको छ । कम्पनीले आईपीओ निष्काशनका लागि आवश्यक प्रत्याभूति व्यवस्थापन कार्य गर्न मुक्तिनाथ क्यापिटल लिमिटेडसँग सम्झौता गरेको हो । सम्झौताअनुसार कम्पनीले कुल १९ करोड २५ लाख रुपैयाँ बराबरको १९ लाख २५ हजार कित्ता साधारण सेयर निष्कासन गर्नेछ । उक्त सेयर निष्कासनको प्रत्याभूति व्यवस्थापन कार्य मुक्तिनाथ क्यापिटलले गर्नेछ । सम्झौता पत्रमा सुपर हेवा पावर कम्पनीका अध्यक्ष हर्कबहादुर तामाङ र मुक्तिनाथ क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीई‌ओ) कबिन्द्रध्वज जोशीले हस्ताक्षर गरे । सुपर हेवा पावर कम्पनीले संखुवासभा जिल्लाको चैनपुर नगरपालिका–४ मा अवस्थित हेवा खोलाको पानी प्रयोग गरी ६ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।
प्रभु महालक्ष्मी लाइफको एमडीआरटी सम्मान कार्यक्रम सम्पन्न
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले वित्तीय परामर्शदाताहरूको अन्तर्राष्ट्रिय फोरम एमडीआरटी २०२६ का लागि छनोट भएका अभिकर्ताहरूलाई सम्मान गरेको छ । कार्यक्रम रुपन्देहीको भैरहवामा माघ ७ देखि ९ गतेसम्म चलेको थियो । कार्यक्रमको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष प्रसाईंले गरे । कार्यक्रमलाई सम्बोधन गर्दै उनले उत्कृष्ट कार्यले नै सम्मानको लागि मार्ग तयार हुने बताए । उनले एमडीआरटी जस्तो अन्तर्राष्ट्रिय फोरममा छनोट हुनु आफैमा गौरवको कुरा भएकाले अभिकर्ताहरुलाई हार्दिक बधाई व्यक्त गरे । नायव महाप्रबन्धक एवं नेशनल सेल्स हेड सोनबहादुर मगरले अन्तर्राष्ट्रिय फोरम एमडीआरटीमा छनोट हुनु अभिकर्ता पेसाले दिएको मान सम्मानको एक उत्कृष्ट उदाहरण भएको बताए ।