विकासन्युज

करोडौँमा बिक्री हुने भन्दै पुरानो सिक्का देखाएर ठगी, तीन जना पक्राउ

भद्रपुर । पुरानो तामा वा धार्मिक आकृति भएको सिक्का देखाएर अस्वाभाविक मूल्यमा बिक्री हुने प्रलोभनमा पारी ठगी गर्ने गिरोह झापामा सक्रिय भएका छन् । ठगी धन्दामा संलग्न रहेको आरोपमा जिल्ला प्रहरी कार्यालय झापाले यसै साता तीन जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरूमा दुई भारतीय नगरिक र एक नेपाली रहेका छन् । भारतको किसनगन्ज घर भएका ३१ वर्षीय नाजबुल अन्सारी र २४ वर्षीय सरफराज मियाँलाई प्रहरीले झापाको हल्दिबारी गाउँपालिका–१ गोलधाप क्षेत्रबाट पक्राउ गरेको छ । यस्तै, बाह्रदशी गाउँपालिका–७ रुपनचवारी क्षेत्रबाट भगवान्को आकृति भएका चारवटा सिक्कासहित सुनसरीको इटहरी–८ का ३५ वर्षीय साबिर मियाँलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रञ्जन अवाका अनुसार ठगी गर्ने समूहले पुराना तथा धार्मिक आकृति भएका सिक्काहरू विदेश वा बजारमा करोडौँ मूल्यमा बिक्री हुने भन्दै सर्वसाधारणलाई प्रलोभनमा पार्ने गरेका छन् । सुरुमा विश्वास दिलाउन सिक्का देखाउने र त्यसपछि सिक्का परीक्षण वा खरिद प्रक्रियाको बहानामा रकम असुलेर ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । अधिकांश पीडितहरूले कानुनी जटिलता वा लाजका कारण उजुरी नगर्दा यस्ता गिरोह थप सलबलाउने गरेको प्रहरी नायब उपरीक्षक अवाले बताए । प्रहरीले कुनै पनि वस्तु रातारात करोडौँमा बिक्री हुने वा अस्वाभाविक नाफा हुने प्रलोभनमा परी आर्थिक कारोबार नगर्न आमनागरिकलाई अनुरोध गरेको छ ।

सुनसरी घटनाको विषयमा छलफल गर्न सर्वदलीय बैठक जारी

काठमाडौं । सुनसरी घटनालगायत विषयमा छलफल गर्न सिंहदरबारमा सर्वदलीय बैठक जारी रहेको छ । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले  आह्वान गरेको बैठकमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेल, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, श्रम संस्कृति पार्टीका महासचिव आरेन राईलगायत सहभागी रहेका छन् । बैठकका संयोजक दाहालले विगतमा भूकम्प, बाढीपहिरोजस्ता विपद्का बेला वा जटिल राजनीतिक अवस्थामा साझा सहमति  कायम गरिएको स्मरण गर्दै अहिले पनि त्यही राजनीतिक परिपक्वता, संवाद र जिम्मेवारीको आवश्यकता रहेको बताए । उनले राष्ट्रिय महत्वका यस्ता संवेदनशील विषयमा सरकार गम्भीर हुनुपर्नेमा जोड दिए ।   

ड्रागन फ्रुट किलोको ४०० रुपैयाँ, कालिमाटीमा यस्तो छ आजको बजारभाउ

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ३०, आलु रातो (लाम्चो) प्रतिकिलो रु ५२, आलु रातो (गोलो) प्रतिकिलो रु ५३, आलु रातो (मुढे) प्रतिकिलो रु ५४, आलु रातो (भारतीय) प्रतिकिलो रु ३७, आलु सेतो प्रतिकिलो रु ३५, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ५७ रहेको छ । यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु ११०, गाजर (तराई) प्रतिकिलो रु ८०, बन्दा (लोकल) प्रतिकिलो रु ३०, काउली स्थानीय प्रतिकिलो रु ११०, रातो मूला प्रतिकिलो रु ३०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २०, भन्टा लाम्चो प्रतिकिलो रु ६० र भन्टा डल्लो प्रतिकिलो रु ७० कायम भएको छ । समितिका अनुसार बोडी तने प्रतिकिलो रु ९०, मकै बोडी प्रतिकिलो रु १००, घिउ सिमी (लोकल) प्रतिकिलो रु १५०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु १५०, घिउ सिमी (राजमा) प्रतिकिलो रु १६०, टाटे सिमी प्रतिकिलो रु १००, भटमास कोसा प्रतिकिलो रु १००, तीते करेला प्रतिकिलो रु ७०, लौका प्रतिकिलो रु ७०, परवर (लोकल) प्रतिकिलो रु ७०, परवर (तराई) प्रतिकिलो रु ७०, चिचिण्डो प्रतिकिलो रु ३५, घिरौँला प्रतिकिलो रु ७०, झिगुनी प्रतिकिलो रु ८०, फर्सी पाकेको प्रतिकिलो रु ६०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ९०, भिन्डी प्रतिकिलो रु ६०, सक्खरखण्ड प्रतिकिलो रु १२० र पिँडालु प्रतिकिलो रु १०० र स्कुस प्रतिकिलो रु ७० कायम भएको छ । रायोसाग प्रतिकिलो रु २००, पालुङ्गो प्रतिकिलो रु २००, तोरीको साग प्रतिकिलो रु १५०, प्याज (हरियो) रु २००, च्याउ (कन्य) प्रतिकिलो रु २८०, च्याउ (डल्ले) प्रतिकिलो रु ५००, राजा च्याउ प्रतिकिलो रु ३२० र सिताके च्याउ प्रतिकिलो रु १,००० निर्धारण भएको छ । कुरिलो प्रतिकिलो रु ५००, निगुरो प्रतिकेजी रु १००, ब्रोकाउली प्रतिकिलो रु १३०, चुकन्दर प्रतिकेजी रु ७०, रातो बन्दा प्रतिकिलो रु ४०, सजिवन प्रतिकिलो रु ३००, जिरीको साग प्रतिकिलो रु २००, सेलरी प्रतिकिलो रु २००, पार्सले प्रतिकिलो रु ५००, सौफको साग प्रतिकिलो रु २००, पुदिना प्रतिकिलो रु ४००, गान्टेमूला प्रतिकिलो रु २००, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १६०, तोफु प्रतिकिलो रु १६० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकिएको छ । स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (नेपाली) दर्जन ३००, केरा (मालभोग) २००, कागती प्रतिकिलो रु २००, अनार प्रतिकिलो रु ५००, आँप (मालदह) प्रतिकिलो रु २००, आँप (दशहरी) प्रतिकिलो रु २००, तरबुजा (हरियो) प्रतिकिलो रु ७०, जुनार प्रतिकिलो रु ३००, भुइँकटहर प्रतिगोटा रु २००, काँक्रो (लोकल) प्रतिकिलो रु ६०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु २५, काँक्रो (लोकलक्रस) प्रतिकिलो रु ६०, रूखकटहर प्रतिकिलो रु ६०, नास्पाती (लोकल) प्रतिकिलो रु ९०, मेवा (नेपाली) प्रतिकिलो रु ९०, मेवा (भारतीय) प्रतिकिलो रु १२०, लप्सी प्रतिकिलो रु ६०, आभोकाडो प्रतिकिलो रु ८००, अमला प्रतिकिलो रु २८०, नरिवल (काँचो) प्रतिकिलो रु ८० र नरिवल (हरियो) प्रतिकिलो रु १७० तोकिएको छ । ड्रागन फ्रुट (नेपाली) प्रतिकिलो रु ४००, अदुवा प्रतिकिलो रु २३०, सुकेको खुर्सानी प्रतिकिलो रु ५००, खुर्सानी हरियो (लाम्चो) प्रतिकिलो रु १००, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु १००, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ७०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो रु २५०, भेडे खुर्सानी प्रतिकिलो रु १००, लसुन हरियो प्रतिकिलो रु १५०, हरियो धनियाँ प्रतिकिलो रु ४००, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २४०, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु २००, छ्यापी सुकेको प्रतिकिलो रु २००, माछा सुकेको प्रतिकिलो रु ८००, ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३०० र ताजा माछा (छडी) प्रतिकिलो रु ३०० निर्धारण भएको छ । 

आजको विदेशी मुद्रा विनिमयदर : अमेरिकी डलर १५३ रुपैयाँ नाघ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ०७ पैसा र बिक्रीदर १५३ रुपैयाँ ७६ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ८३ पैसा र बिक्रीदर १७४ रुपैयाँ ५२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०३ रुपैयाँ २६ पैसा र बिक्रीदर २०४ रुपैयाँ ०६ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८६ रुपैयाँ ६१ पैसा र बिक्रीदर १८७ रुपैयाँ ३५ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ६२ पैसा र बिक्रीदर १०७ रुपैयाँ ०४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ४४ पैसा र बिक्रीदर १०८ रुपैयाँ ८७ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११८ रुपैयाँ ३३ पैसा र बिक्रीदर ११८ रुपैयाँ ७९ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ३४ पैसा र बिक्रीदर नौ रुपैयाँ ३८ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ६१ पैसा र बिक्रीदर २२ रुपैयाँ ७० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ७७ पैसा र बिक्रीदर ४० रुपैयाँ ९३ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ९९ पैसा र बिक्रीदर ४२ रुपैयाँ १५ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ५५ पैसा र बिक्रीदर चार रुपैयाँ ५७ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ६८ पैसा र बिक्रीदर ४१ रुपैयाँ ८४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५५ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ४८ पैसा र बिक्रीदर १० रुपैयाँ ५२ पैसा, स्विडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ७० पैसा र बिक्रीदर १५ रुपैयाँ ७७ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ २५ पैसा र बिक्रीदर २३ रुपैयाँ ३५ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ५२ पैसा र बिक्रीदर १९ रुपैयाँ ६० पैसा, कुवेती दिनार एकको खरिददर ४९७ रुपैयाँ ०६ पैसा र बिक्रीदर ४९९ रुपैयाँ ०१ पैसा, बहराइन दिनार एकको खरिददर ४०५ रुपैयाँ ८९ पैसा बिक्रीदर ४०७ रुपैयाँ ४८ पैसा, ओमनी रियाल एकको खरिददर ३९७ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३९९ रुपैयाँ १३ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ । 

मकवानपुरमा गत आर्थिक वर्षमा दुई हजार ३१५ मुद्दा फछ्र्योट

बागमती । मकवानपुर जिल्ला अदालतले गत आर्थिक वर्ष २०८२/८३ मा दुई हजार ३१५ मुद्दा फछ्र्योट गरेको छ । अदालतमा आव २०८१/८२ बाट जिम्मेवारी सरिआएका एक हजार २४३ मुद्दा र आव २०८२/८३ मा नयाँ दर्ता भएका दुई हजार ३९३ मुद्दा गरी कुल तीन हजार ६३६मुद्दा रहेको सूचना अधिकारी केशवराज कौशिकले जानकारी दिए । यसमध्ये १८ महिना नाघेका मुद्दा २६ रहेकामा दुई वर्ष नाघेका मुद्दा भने शून्य सङ्ख्यामा रहेको अदालतले जनाएको छ । गत आवमा इजलासको आदेशबमोजिम मेलमिलापमा पठाइएकामा मेलमिलापकर्तामार्फत मेलमिलाप भएको मुद्दा सङ्ख्या ५३  थियो । मेलमिलापकर्तामार्फत मेलमिलाप भइआएका मुद्दाको सफलता १९.७७ प्रतिशत रहेको सूचना अधिकारी कौशिकले जानकारी दिए ।  

सुनसरी घटनामा गगनको प्रश्न- सरकार कहाँ छ, के गर्दैछ ?

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सुनसरी घटनाको सन्दर्भमा सरकारको भूमिकाप्रति प्रश्न उठाउँदै प्रधानमन्त्रीले तत्काल सर्वदलीय बैठक बोलाएर समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।  सिंहदरबारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा सहभागी भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले सरकारको सक्रियता पर्याप्त नभएको टिप्पणी गरे । ‘माननीय सभापतिमार्फत हामीले सरकारलाई प्रश्न राखेका छौँ । यतिखेर सरकार के गर्दैछ ? कहाँ छ ?’ उनले भने । सरकारले समन्वयकारी भूमिका खेल्न नसकेको उल्लेख गर्दै थापाले सरकार बन्दुकको गोली वा सामाजिक सञ्जालको स्टाटसमै सीमित हुन नहुने बताए । ‘सरकार अभिभावक मात्र होइन, नेतृत्वकर्ता पनि हो । नेतृत्वको सबैभन्दा ठूलो शक्ति भनेको सबै पक्षसँग सहकार्य गर्न सक्ने क्षमता हो। सरकारले सबैलाई विश्वास गर्नुपर्छ र सबैले पनि सरकारमाथि विश्वास गर्न सक्ने वातावरण बनाउनुपर्छ,’ उनले भने । थापाले यस्तो परिस्थितिमा प्रधानमन्त्रीले तत्काल सर्वदलीय बैठक बोलाई राष्ट्रपतिसँग परामर्श गर्ने, प्रदेश तथा स्थानीय सरकारसँग संवाद बढाउने र साझा प्रयासका लागि आधार तयार गर्नुपर्ने धारणा राखे । उनले सरकारको पहल नहुँदा पनि रास्वपाले प्रमुख राजनीतिक दलहरूलाई एकै ठाउँमा ल्याएर बैठक आयोजना गरेकोमा धन्यवाद व्यक्त गरे। साथै, नेपाली कांग्रेसले पनि परिस्थितिलाई सामान्य बनाउन आवश्यक भूमिका निर्वाह गरिरहेको जानकारी बैठकमा गराएको उनले बताए । महामन्त्री थापाले धार्मिक सहिष्णुता र सामाजिक सद्भाव नेपाली समाजको मूल शक्ति भएको उल्लेख गर्दै सुनसरी मात्र होइन, स्थानीय तहसम्म पनि सर्वदलीय बैठक आयोजना गरी तनाव समाधानका लागि साझा पहल गर्नुपर्ने धारणा राखे । त्यसका लागि कांग्रेस आवश्यक भूमिका खेल्न तयार रहेको उनले बताए ।

अण्डा र मासुको मूल्य उकालो, दैनिक उत्पादन ७ लाख केजी, मूल्य २१५ पुग्यो

काठमाडौं । पन्छीमा देखिएको बर्डफ्लु रोग नियन्त्रणमा आएसँगै पोल्ट्रीजन्य उत्पादनको मूल्य बढ्न थालेको छ । अण्डा, मासु र चल्लाको मूल्य पूर्ववत् अवस्थामा फर्किन सुुरु गरेको हो । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजबाट अण्डाको समर्थन मूल्य बढाएको छ । फार्महरूको दररेटलाई आधार मानेर मूल्य बढाइएको हो । सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार यसअघिको मूल्यमा प्रतिक्रेट ३० रुपैयाँ वृद्धि गरिएको छ । ठूलो अण्डा प्रतिक्रेट ५०० रुपैयाँबाट ५३० रुपैयाँ, मिडियम ४७० रुपैयाँबाट ५०० रुपैयाँ र सानो अण्डा प्रतिपेटी (सात क्रेट)को २ हजार ९०० रुपैयाँबाट ३ हजार रुपैयाँ पुर्याइएको छ । एक्सेल अण्डा ५१५ रुपैयाँबाट ५४५ रुपैयाँ पुगेको छ । अध्यक्ष पोखरेलले बर्डफ्लु नियन्त्रणमा आएसँगै खपत बढेको, उत्पादनमा कमी आएको लगायतका कारण अण्डाको समर्थन मूल्य बढाइएको बताए । बर्डफ्लुका कारण ठूलो अण्डा प्रतिक्रेट ४५० रुपैयाँमा झरेको थियो । प्रतिक्रेट ५६५ रुपैयाँबाट रोगको सङ्क्रमण देखिएसँगै मूल्य घटेको थियो । अण्डाको लागत मूल्य प्रतिगोटा १९.१२ रुपैयाँ पर्न आउँछ । यसरी हिसाब गर्दा किसानले प्रतिक्रेट ५७३.६० रुपैयाँ पाउँदा मात्रै लागत मूल्य पाउँछन् । बर्डफ्लुका कारण किसानले ठूलो नोक्सानी व्यहोरेको उनी बताउँछन् ।  उनका अनुसार झण्डै १० लाख लेयर्स कुखुरा बर्डफ्लु र एचनाईनका कारण मरेका छन् । चैत महिनादेखि असारसम्म दैनिक उत्पादन ४३ लाखबाट घटेर २८ लाखमा झरेको छ । यसलाई हेर्दा दैनिक १५ लाख हाराहारी अण्डा उत्पादन घटेकाले ठूलो नोक्सान भएको उनको भनाइ छ । यस्तै कुखुराको मासु र चल्लाको मूल्य पनि बढ्न थालेको छ । ब्रोइलर चल्लाको मूल्य प्रतिगोटा ७० रुपैयाँ पुगेको छ । रोगका कारण तीन ह्याच नष्ट गरेका उद्योगीले गोटाको १५ रुपैयाँमा समेत बिक्री गरेका थिए । ह्याचरीले सातामा दुई ह्याच चल्ला उत्पादन गर्दछन् ।  ह्याचरी उद्योग सङ्घ नेपालका केन्द्रीय अध्यक्ष राजेन्द्र लामिछानेका अनुसार ब्रोइलर चल्लाको लागत मूल्य प्रतिगोटा ६५ रुपैयाँ हो । यस्तै लेयर्स चल्लाको लागत मूल्य प्रतिगोटा १२५ रुपैयाँ हो भने अहिले बजारमा १५० रुपैयाँ मा बिक्री हुन थालेको छ । एक सातामा ब्रोइलर चल्ला २८ देखि ३० लाख र लेयर्स चल्ला एक लाख उत्पादन हुने गर्दछ । बर्डफ्लुभन्दा पहिला ब्रोइलर चल्ला साताको ४० देखि ४५ लाखसम्म उत्पादन हुने गरेको थियो । रोग सङ्क्रमणका कारण दैनिक ९ लाख किलो बिक्री भइरहेको कुखुराको मासु घटेर दैनिक ५ लाख किलोमा झरेको थियो । यो बढेर अहिले दैनिक ७ लाख किलो पुगेको छ । किसानले ब्रोइलरको जिउँदो कुखुरा प्रतिकिलो २६० रुपैयाँमा बिक्री गर्दै आएकामा घटेर १५० रुपैयाँमा झरेको थियो । अहिले बढेर २१५ रुपैयाँ पुगेको लामिछानेले जानकारी दिए । रोगका कारण भएको क्षतिको विवरण निकाल्ने काम भईरहेको भन्दै उनले अर्बौं गुमाउनुपरेको बताए । पशु सेवा विभागका अनुसार यही साउन १ गतेयता बर्डफ्लुको सङ्क्रमण देखिएको छैन । पछिल्लोपटक काठमाडौँको गोकणेश्वर–१ सुन्दरी जलमा सङ्क्रमण देखिएको थियो । विभागको तथ्याङ्कअनुसार चैत ४ गते केन्द्रीय पशु पन्छी रोग अन्वेषण प्रयोगशालामा पिसिआर विधिबाट गरिएको परीक्षणमा रोग पुष्टि भएको थियो । यससँगै चैत ६ गते कृषि तथा पशु पन्छी विकास मन्त्रालयबाट बर्डफ्लु प्रभावित क्षेत्र घोषणा गरिएको थियो । मोरङको उर्लाबारी-८ र सुन्दरहरैचा-४ मा पहिलोपटक बर्डफ्लु देखिएको थियो । विभागका वरिष्ठ पशु चिकित्सक डा मुकुल उपाध्यायका अनुसार नेपालभर ८ लाख ३५ हजार ५६३ वटा पन्छी नष्ट गरिएको छ । ११ लाख ६५ हजार ६६३ वटा अण्डा, २ लाख ४५ हजार ३५ किलो दाना नष्ट गरिएको छ । काठमाडौं उपत्यकाभित्र र काभ्रेमा मात्र ३ लाख ६७ हजार ८३५ वटा पन्छी नष्ट गरिएको थियो ।

विश्व बाघ दिवसः पछिल्लो बाघ गणना सार्वजनिक गरिँदै, सङ्ख्या बढ्ने सङ्केत

काठमाडाैं । विश्व बाघ दिवस प्रत्येक वर्ष जुलाई महिनाको २९ मा मनाइन्छ । सन् २०१० मा रूसको सेन्ट पिटर्सबर्गमा भएको बाघ शिखर सम्मेलनको घोषणासँगै यो दिवस मनाउन थालिएको हो । तत्कालीन समयमा बाघको सङ्ख्या तीव्र रूपमा घट्दै गएको अवस्थालाई रोक्न र तिनको प्राकृतिक बासस्थानको संरक्षण गर्ने उद्देश्यले दिवस स्थापना गरिएको हो । कृषि, वन तथा पर्यावरण मन्त्रालयले दिवसका अवसरमा आज मन्त्री गिता चौधरीको उपस्थितिमा पछिल्लो राष्ट्रिय बाघ गणनाको सङ्ख्या सार्वजनिक गर्दैछ । नेपालमा प्रायः चार वर्षमा बाघ गणना गरिन्छ । सन् २०२२ को बाघ गणनाअनुसार मुलुकमा बाघको सङ्ख्या ३ सय ५५ रहेको छ । सन् २०२२ को गणनाअनुसार सबैभन्दा बढी बाघ चितवन राष्ट्रिय निकुञ्जमा १ सय २८, त्यसपछि बर्दिया राष्ट्रिय निकुञ्जमा १ सय २५, पर्सा राष्ट्रिय निकुञ्जमा ४१, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ३६ र बाँके राष्ट्रिय निकुञ्जमा २५ बाघ रहेको मन्त्रालयको तथ्याङ्क छ । पछिल्ला दिनहरूमा संरक्षण क्षेत्रका साथै मध्यवर्ती क्षेत्रमा देखिएको बाघको अवस्था, बासस्थानमा भएको सुधार, सिकार प्रजातिको वृद्धिलगायतका आधारमा यस गणनामा बाघको सङ्ख्या थपिने अनुमान गरिएको छ । बाघ स्वस्थ पारिस्थिकीय प्रणालीको सूचक र प्राकृतिक खाद्य शङ्खलाको उच्च तहमा रहेको महत्त्वपूर्ण प्रजाति हो । विश्वमा ५ हजार बढी बाघ बाघ नेपाललगायत भारत, चीन, बङ्गलादेश, भुटान, कम्बोडिया, लाओस, इन्डोनेसिया, मलेसिया, म्यान्मा, रसिया, थाइल्यान्ड र भियतनाम गरी एसियाका १३ देशमा मात्र पाइन्छ । विश्वमा सन् २०१० मा करिब तीन हजार २ सयको सङ्ख्यामा रहेको बाघको सङ्ख्या सन् २०२५ को तथ्याङ्कअनुसार बढेर पाँच हजार ३ सय ५७ पुगेको छ । त्यसमध्ये सबैभन्दा बढी भारतमा तीन हजार १ सय ६७, रुसमा ७ सय ५०, इन्डोनेसियामा ४ सय, नेपालमा ३ सय ५५, थाइल्यान्डमा १ सय ८९, भुटानमा १ सय ५१, मलेसियामा १ सय ५०, बङ्गलादेशमा १ सय ४६, म्यान्मामा २२, चीनमा २०, भियतनाममा पाँच र लाओसमा दुईवटा बाघ रहेका छन् । मन्त्रालयको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. बुद्धिसागर पौडेलका अनुसार नेपालमा बाघको सङ्ख्या सन् २०१० मा १ सय २१, सन् २०१४ मा १ सय ९८ र २०१८ मा २ सय ३५ रहेको थियो । सन् २०१० मा रसियामा भएको बाघ शिखर सम्मेलनबाट यसको सङ्ख्या सन् २०२२ सम्म दोब्बर बनाउने लक्ष्यअनुरुप नेपालले बाघको संरक्षण र सङ्ख्या वृद्धि गरेर विश्वमै उदाहरणीय काम गरेको छ । नेपालको तराई भूपरिधिका पाँचवटा राष्ट्रिय निकुञ्जहरू (पर्सा, चितवन, बाँके, बर्दिया, शुक्लाफाँटा) र वरिपरिको मध्यवर्ती तथा राष्ट्रिय वनक्षेत्र एवं जैविक मार्गमा मात्र बाघ पाइन्छ । नेपालले सन् १९९० को दशकदेखि बाघ संरक्षण कार्ययोजना तर्जुमा गरी कार्यान्वयन गरिरहेको छ । यसरी गरिएको थियो पछिल्लो बाघ सर्वेक्षण बाघको गणना हरेक चारदेखि पाँच वर्षको अन्तरालमा गरेर बाघको सङ्ख्या र यसको आहारा प्रजाति साथै वासस्थानको बारेमा समेत तथ्याङ्क सङ्कलन गर्ने गरिन्छ । बाघ सर्वेक्षणका लागि राष्ट्रिय बाघ तथा आहारा प्रजातिको अनुगमन विधि (प्रोटोकल) तर्जुमा गरिएको छ । प्रोटोकलबमोजिम पछिल्लो बाघ र यसको बासस्थान सर्वेक्षण गत पुस १ गतेदेखि सुरुआत गरिएको निकुञ्ज विभागका सूचना अधिकारी एवं वरिष्ठ इकोलोजिष्ट हरिभद्र आचार्यले जानकारी दिए । बाघको बासस्थान रहेका राष्ट्रिय निकुञ्जहरू एवं वरपरको वनक्षेत्र समेटेर चितवन-पर्सा कम्प्लेक्स, बाँके-बर्दिया कम्प्लेक्स र शुक्लाफाँटा-लालझाडी कम्प्लेक्स गरी तीन क्षेत्रमा करिब तीन महिना लगाएर बाघ सर्वेक्षण कार्य सम्पन्न गरिएको हो । बाघ पाइने कम्प्लेक्सलाई विभिन्न ब्लकहरूमा विभाजन गरी ब्लकभित्र दुई किमी लम्बाइ र दुई किमी चौडाइका वर्गाकार ग्रिड बनाई हरेक ग्रिडमा एक जोडी स्वचालित क्यामेरा जडान गरी निरन्तर रूपमा कम्तीमा १५ दिन ९रात०सम्म बाघको तस्बिर खिचेर र ती तस्बिरहरूको विश्लेषण गरी बाघको सङ्ख्या निकालिएको थियो । राष्ट्रिय बाघ सर्वेक्षण निकुञ्ज विभागको नेतृत्वमा वन तथा भू-संरक्षण विभाग, प्रदेश सरकार, नेपाली सेना, राष्ट्रिय प्रकृति संरक्षण कोष, डब्लुडब्लुएफ नेपाल र जेडएसएल नेपालको सहयोगमा सम्पन्न गरिएको थियो । साथै यस कार्यमा राष्ट्रिय निकुञ्ज कार्यालय, डिभिजन वन कार्यालय, हात्तीसार, मध्यवर्ती क्षेत्र उपभोक्ता समिति, सामुदायिक वन उपभोक्ता समूह, वन प्राविधिक र स्वयंसेवकहरू परिचालन गरिएको थियो । यस कार्यका लागि करिब २ सय ५० जना जनशक्ति र करिब एक हजार १ सय ट्याप क्यामेरा प्रयोग गरिएको थियो । सङ्ख्या बढेसँगै व्यवस्थापनमा चुनौती नेपालमा बाघको सङ्ख्या लक्ष्यभन्दा धेरै वृद्धि भएसँगै यिनको व्यवस्थापन, मानव-बाघ द्वन्द्व, बासस्थानलगायत विविध चुनौतीसमेत देखिएका छन् । मध्यवर्ती क्षेत्रका स्थानीय घाँस दाउरा, निहुरो टिप्न र गाईभैँसी चराउन जाने क्रममा बाघको आक्रमणमा पर्ने गरेका छन् । त्यस्तै कतिपय अवस्थामा बाघको चोरी सिकारी हुने, स्थानीय जनताको आक्रोशको निशानामा पर्ने र ठूला तथा लामा पूर्वाधारमा वारपार गर्ने क्रममा बाघ मर्ने क्रम पनि उत्तिकै छ । बाघको सङ्ख्याको वृद्धि भएसँगै यसको आवश्यक सङ्ख्याका बारेमा बहससमेत सुरु भएको छ । तत्कालको वातावरणीय क्षमताका हिसाबले नेपालमा बाघको सङ्ख्याको ‘धान्ने क्षमता’ ९क्यारिङ क्यापासिटी० ४०० हाराहारी रहेको पछिल्लो अध्ययनले देखाएको छ । समस्याग्रस्त बाघका लागि ‘टाइगर सेन्चुरी’ बाघको सङ्ख्यासँगै राष्ट्रिय निकुञ्ज, संरक्षण क्षेत्र र आसपासका क्षेत्रमा समस्याग्रस्त बाघको समस्या पनि बढेको छ । मुलुकभर समस्याग्रस्त बाघको हाल सङ्ख्या १६ रहेको छ । मानव बस्तीमा पसेका, मानव तथा घरपालुवा जनावरलाई आक्रमण गरेका र घाइते अवस्थामा भेटिएका समस्याग्रस्त बाघलाई उद्धार गरी खोरमा राख्ने गरिएको छ । हाल चितवन र बर्दिया राष्ट्रिय निकुञ्ज तथा ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना पाँच-पाँच, बाँके राष्ट्रिय निकुञ्जमा एक बाघ खोरमा राखिएका छन् । दुःखमा परेका बाघको दैनिक आहारा, हेरचाह, उपचार र अन्य व्यवस्थापनमा बर्सेनि ठूलो रकम खर्च हुँदै आएको छ । यही विषयलाई मध्यनजर गर्दै मन्त्रालयले अध्ययन गरी समस्यामा परेका बाघको व्यवस्थापनका लागि चितवनको देवनगरमा ‘टाइगर सेन्चुरी’ योजना अघि बढाएको छ । हाल देशभर १६ समस्याग्रस्त बाघ ‘इन्क्लोजर’मा राखिएको छ । तिनको व्यवस्थापन खर्चिलो बन्दै गएको पृष्ठभूमिमा सरकारले देवनगरमा करिब ५२ हेक्टर क्षेत्रफलमा ‘टाइगर सेन्चुरी’ बनाउने योजना अघि बढाएको हो । मन्त्रालयले ‘टाइगर सेन्चुरी’ निर्माण भएमा समस्याग्रस्त र घाइते बाघहरूले प्राकृतिक वातावरण पाउनेमात्र नभई पर्यापर्यटनमा समेत ठूलो टेवा पुग्ने विश्वास लिएको छ ।