देशभरबाट ४९ जना उम्मेदवारको मनोनयन फिर्ता
काठमाडौं । देशभरबाट ४९ जना उम्मेदवारले फिर्ता लिएका छन् । शुक्रबार निर्वाचन आयोगमा भएको साप्ताहिक नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले ४९ जना उम्मेदवारले फिर्ता लिएको जानकारी दिए ।
विश्वप्रसिद्ध फुड चेन केएफसीमा माछापुच्छ्रे बैंकको ईआरपी इन्टिग्रेटेड पीओएस
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना ग्राहकलाई थप सुविधा प्रदान गर्ने तथा डिजिटल बैंकिङ कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यले विश्वप्रसिद्ध फुड चेन कम्पनी केएफसी र प्रविधि कम्पनी सिटीटेकसँग सहकार्य गरेको छ। नेपालमा पहिलो पटक हस्पिटालिटी उद्योगलाई लक्षित गरी गरिएको यस सहकार्य अन्तर्गत केएफसीका विभिन्न आउटलेटहरूमा भुक्तानी गर्नको लागि माछापुच्छ्रे बैंकका अत्याधुनिक पीओएस उपकरणहरू जडान गरिएको छ । यी उपकरणहरूद्वारा ग्राहक र व्यापारी दुवैका लागि छिटो, सुरक्षित र सहज तरिकाले कार्ड तथा क्यूआरमार्फत भुक्तानी प्रदान गरिेन्छ । बैंकले आफ्ना ग्राहकलाई उच्चस्तरीय सेवा प्रदान गर्ने तथा ग्राहक सन्तुष्टिलाई प्राथमिकता दिने उद्देश्यले यस्ता सहकार्यहरू गर्दै आएको छ । जसले दैनिक कारोबारहरूलाई अझ सरल, प्रभावकारी र पारदर्शी बनाउने अपेक्षा गरिएको छ। यसले सेवा समय घटाउनुका साथै ग्राहक सन्तुष्टि बढाउन पनि महत्त्वपूर्ण योगदान पुर्याउनेछ । स्थापनाकालदेखि नै नवीनतम प्रविधिमा आधारित सेवा तथा सुविधाहरू ग्राहकसमक्ष ल्याउन कटिबद्ध माछापुच्छ्रे बैंक लिमिटेडले हाल देशभर हिमाल, पहाड र तराई समेट्दै पूर्वदेखि पश्चिमसम्म फैलिएको सुदृढ सेवा सञ्जाल विस्तार गरेको छ । बैंकले हाल १६५ शाखा, ८८ शाखारहित बैंकिङ सेवा केन्द्र तथा ११ एक्सटेन्सन काउन्टरसहित कुल २७४ सेवा केन्द्रहरू सञ्चालनमा ल्याएको छ । साथै १९९ एटीएममार्फत बैंकले १८ लाखभन्दा बढी ग्राहकहरूलाई अत्याधुनिक प्रविधिसहित सम्पूर्ण बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।
१९ करोड बराबरको आईपीओ ल्याउँदै सुपर हेवा पावर, प्रत्याभूति मुक्तिनाथ क्यापिटलले गर्ने
काठमाडौं । सुपर हेवा पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासनको प्रक्रिया अघि बढाएको छ । कम्पनीले आईपीओ निष्काशनका लागि आवश्यक प्रत्याभूति व्यवस्थापन कार्य गर्न मुक्तिनाथ क्यापिटल लिमिटेडसँग सम्झौता गरेको हो । सम्झौताअनुसार कम्पनीले कुल १९ करोड २५ लाख रुपैयाँ बराबरको १९ लाख २५ हजार कित्ता साधारण सेयर निष्कासन गर्नेछ । उक्त सेयर निष्कासनको प्रत्याभूति व्यवस्थापन कार्य मुक्तिनाथ क्यापिटलले गर्नेछ । सम्झौता पत्रमा सुपर हेवा पावर कम्पनीका अध्यक्ष हर्कबहादुर तामाङ र मुक्तिनाथ क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीई‌ओ) कबिन्द्रध्वज जोशीले हस्ताक्षर गरे । सुपर हेवा पावर कम्पनीले संखुवासभा जिल्लाको चैनपुर नगरपालिका–४ मा अवस्थित हेवा खोलाको पानी प्रयोग गरी ६ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।
प्रभु महालक्ष्मी लाइफको एमडीआरटी सम्मान कार्यक्रम सम्पन्न
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले वित्तीय परामर्शदाताहरूको अन्तर्राष्ट्रिय फोरम एमडीआरटी २०२६ का लागि छनोट भएका अभिकर्ताहरूलाई सम्मान गरेको छ । कार्यक्रम रुपन्देहीको भैरहवामा माघ ७ देखि ९ गतेसम्म चलेको थियो । कार्यक्रमको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष प्रसाईंले गरे । कार्यक्रमलाई सम्बोधन गर्दै उनले उत्कृष्ट कार्यले नै सम्मानको लागि मार्ग तयार हुने बताए । उनले एमडीआरटी जस्तो अन्तर्राष्ट्रिय फोरममा छनोट हुनु आफैमा गौरवको कुरा भएकाले अभिकर्ताहरुलाई हार्दिक बधाई व्यक्त गरे । नायव महाप्रबन्धक एवं नेशनल सेल्स हेड सोनबहादुर मगरले अन्तर्राष्ट्रिय फोरम एमडीआरटीमा छनोट हुनु अभिकर्ता पेसाले दिएको मान सम्मानको एक उत्कृष्ट उदाहरण भएको बताए ।
अझै सुरु भएन नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति अझै सुरु हुन सकेको छैन । पार्टी केन्द्रीय कार्यालय, सानेपामा आज अपरान्ह १ बजे बस्ने भनिएको बैठक बस्न नसकेको हो । विशेष महाधिवेशनपछि पहिलोपटक सानेपामा बैठक बस्न लागेको हो । ‘बैठक अबको केही समयपछि बस्ने तयारी भइरहेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए । आजको बैठकमा विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका सदस्यहरूका साथै सातै प्रदेशका कार्यसमिति सभापतिहरूलाई पनि सहभागी गराइने भएको छ । आजको बैठकमा पार्टीको आगामी राजनीतिक कार्यदिशा र संगठनात्मक संरचनाबारे छलफल हुने पार्टी प्रवक्ता चालिसेले जानकारी दिए । पुस ३० गते सम्पन्न विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति चयन भएको थियो । सोही कार्यसमितिका पदाधिकारीहरूले आज औपचारिक रूपमा पदभार ग्रहण गर्ने कार्यक्रम पनि तय गरिएको छ । विशेष महाधिवेशनपछि यसअघि केन्द्रीय कार्यसमिति बैठकहरू कुपन्डोल र नयाँ बानेश्वरस्थित विभिन्न स्थानमा बसेका थिए । तर आजको बैठक भने पार्टीको केन्द्रीय कार्यालयमै बस्न लागेको हो ।
डा. भट्टराईले गोरखा २ बाट उम्मेदवारी फिर्ता लिए
काठमाडौं । गोरखा २ बाट डा. बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता लिएका छन् । शुक्रबार उनले सामाजिक सञ्जालमा बोल्दै उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका हुन् । उम्मेदवारी फिर्ता लिनुअघि आफूलाई विभिन्न दलका व्यक्तिले साझा व्यक्तिका रूपमा रहन उपयुक्त हुने र उमेदवार बन्दै गर्दा भूमिका संकुचित हुने भनेर उम्मेदवारी फिर्ता लिन सुझाव दिएको भट्टराईले बताए । उनले बाहिर रहेर नै दलहरूलाई सघाउने पनि बताएका छन् । यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लेले डा. बाबुराम भट्टराईलाई गोरखा २ बाट उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए । उनले भट्टराईलाई आगामी दिनमा राजकाजका विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई उदारतापूर्वक सहयोग गर्न अनुरोध गरेका हुन् । भट्टराईले गत निर्वाचनमा आफूले उम्मेदवारी नदिई तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई समर्थन गरेका थिए ।
रुपन्देही २ मा थापाको उम्मेदवारी फिर्ता
काठमाडौं । रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (राप्रपा)की उम्मेदवार कर्भिका थापाले आफ्नो उम्मेदवारी फिर्ता लिएकी छन् । शुक्रबार उनले एक विज्ञप्ति जारी गर्दै अध्ययनको सिलसिलामा अमेरिकामा स्थायी आवास अनुमति पत्र लिएकाले फिर्ता लिएको बताएकी छन् । थापाले विज्ञप्तिमा भनेकी छन्, ‘उम्मेदवारी दर्ता गरेपछि परित्याग गरे पनि हुने भन्ने मेरो बुझाइ थियो । आजको दिनसम्म मैले कुनै पनि अन्य देशको नागरिकता वा राहदानी लिएकी छैन । आजको मितिसम्म मेरो नेपाली राहदानी मात्र छ । तर पछि मलाई नेपालको संविधानको धारा २९१ अनुसार कार्ड परित्याग गरेको कम्तीमा तीन महिना पूरा भएपछि मात्र उम्मेदवारी दिन पाइने व्यवस्था रहेको जानकारी भयो। देशको संविधानलाई स्वीकार गर्नु हामी सबैको कर्तव्य हो भन्ने निष्कर्षमा पुगेकी छु ।’ थापाले विरोध र उजुरी नपरेको भए पनि राष्ट्रिय प्रजातन्त्र पार्टीले मनोनयन फिर्ता लिन अनुरोध गरेकाले फिर्ता लिएको उल्लेख गरेकी छन् । ‘संविधानको मर्म र भावनाअनुसार मैले ठूलो मन गरेर आफ्नो उम्मेदवारी फिर्ता लिने निर्णय गरेकी छु,’ उनले अगाडि भनेकी छन् ।
तीन दिनमा ५१ वटा फर्ममा वाणिज्यको अनुगमन, २ लाखसम्म जरिवाना
काठमाडौं । सरकारले पछिल्लो समय बजार अनुगमनलाई तीव्र पारेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीनदिनमा मात्रै ५१ वटा फर्ममा अनुगमन गरेको छ । बजारमा व्यवसायिक क्रियाकलाप स्वच्छ, पारदर्शी एवं प्रतिस्पर्धी बनाउँदै गुणस्तरीय वस्तु तथा सेवामा उपभोक्ताको पहुँच पुर्याई उपभोक्ताको अधिकार संरक्षण गर्नेे जिम्मेवारी पाएको उपभोक्ता संरक्षण विभागले पछिल्लो समय अनुगमनलाई तीव्र पार्दै कैफियत देखिएका दर्जनौं फर्महरूलाई कारबाही गरेको छ । विभागले मंगलबार, बुधबार र बिहीबार मात्रै काठमाडौं, ललितपुर, भक्तपुरका दर्जनौं फर्महरूमा अनुगमन गरेको थियो । मंगलवार १३ वटा फर्ममा विभागका अधिकारीहरू पुगेर अनुगमन गरेका थिए । सोही दिन खिलुङ्ग मार्केटिङ प्रालिलाई मात्रै विभागले ५० हजार जरिवाना गरेको थियो । अरू १२ वटा फर्मलाई सुधार्न निर्देशन दिएका थिए । बुधवार विभागका अधिकारीहरूले उपत्यकाका २० फर्ममा अनुगमन गरेका थिए । जसमा कैफियत देखिएको एसपी लिंकर हब, एसटी स्प्रीट वेभरेज इन्टरप्राइजेजलाई व्यवसायसँग सम्बन्धित कागजत लिएर तीन दिन भित्रमा हाजिर हुन विभागका अधिकारीहरुले निर्देशन दिए भने अरू फर्मलाई सुधार्न निर्देशन दिएका थिए । यस्तै, बिहीवार १८ फर्ममा विभागका अधिकारीहरु पुगेका थिए । जसमा कैफियतदेखिएका फर्मलाई २ लाखसम्म जरिवाना तोकिएको छ । अनुगमनका क्रममा कैफियत देखिएपछि न्यू शिव स्टोर काठमाडौँ–२९ नयाँ बसपार्कलाई रु दुई लाख एक हजार बराबरको जरिवाना गरेको छ । उपभोक्ता संरक्षण ऐन, २०७५ र उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम उक्त फर्मलाई कारबाही गरिएको विभागले जनाएको छ । त्यस्तै, सोही दिन हिमालयन ब्रुअरी प्रालिलाई व्यवसायसँग सम्बन्धित कागजात लिएर तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ । अन्य १६ वटा फर्मलाई भने सुधारात्मक निर्देशन दिइएको विभागका निर्देशक नरहरि तिवारीले जानकारी दिए । तिवारीका अनुसार पछिल्लो समय विभागले दर्ता प्रमाणपत्र नराखेको, उत्पादनमा एमआरपी नराखेको, रिलेबलिङ गरेको, गुणस्तर, परिमाण, मूल्य र नापतौलमा हेरफेर गरेको पाइएपछि जरिवाना तिराउँदै आएको छ। पछिल्लो समय हरेक महिनाजसो विभागले मूल्य विश्लेषण समेत गर्दै आएको छ । बजारमा अत्यधिक मूल्य उतारचढाव, कृत्रिम अभाव र कालोबजारी जस्ता समस्या नियन्त्रण गर्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मूल्य विश्लेषणलाई आधार बनाएर थप कडा र व्यवस्थित कदमहरू चाल्दै आएको तिवारी बताउँछन् । उनका अनुसार विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ को प्रभावकारी कार्यान्वयन गर्दै बजार अनुगमनलाई सघन, नियमित र प्रभावकारी बनाउने योजना अघि सारेको छ । विभागले पैठारी, उत्पादन तथा विक्री वितरण हुने हरेक वस्तुमा अधिकतम खुद्रा मूल्य अनिवार्य अंकित गर्नुपर्ने व्यवस्था कडाइका साथ लागू गरिरहेको छ भने यसबाहेक सिन्डिकेट, कार्टेलिङ र कालोबजारी जस्ता अपराधमा शून्य सहनशीलता अपनाई तुरुन्त कारबाहीको दायरामा ल्याउने नीति अंगीकार गरेको छ ।