विकासन्युज

बीमाको रकमले नपुगेपछि दुर्घटना पीडितका लागि छुट्टै कोष बनाउन माग

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले सार्वजनिक सवारी दुर्घटनाका पीडितलाई राहत तथा उपचारका लागि छुट्टै कोष स्थापना गर्न माग गरेको छ । महासंघले मंगलबार अर्थमन्त्री स्वर्णिम वाग्लेलाई भेटेर दुर्घटनामा घाइते तथा मृत्यु भएका व्यक्तिका परिवारलाई राहत उपलब्ध गराउन छुट्टै कोष स्थापना गर्न माग गरेको हो । महासंघका अध्यक्ष राजेन्द्र विक्रम बाँनियासहितको टोलीले अर्थमन्त्री वाग्लेलाई भेटेर आर्थिक वर्ष २०८३/८४ को बजेटमा दुर्घटनामा मृत्यु भएका व्यक्तिका परिवारका लागि बीमा रकम १० लाख रुपैयाँ र घाइतेको औषधि उपचारका लागि हालकै ३ लाख रुपैयाँको व्यवस्था रहेको भन्दै त्यसले वास्तविक उपचार खर्च धान्न नसक्ने अवस्था रहेको जानकारी गराएको थियो । महासंघका अनुसार सार्वजनिक सवारी दुर्घटनामा घाइतेको उपचारमा अस्पतालको बिल लाखौं रुपैयाँसम्म पुग्ने गरेको छ । बीमा निर्देशिकाले तोकेको रकमले उपचार खर्च नपुग्दा अतिरिक्त रकम व्यवसायी, सवारीधनी तथा सम्बन्धित संघसंस्थाले जुटाउनुपर्ने बाध्यता रहेको महासंघको भनाइ छ । महासंघले दुर्घटनामा मृत्यु भएका व्यक्तिका परिवारलाई थप क्षतिपूर्ति तथा राहत र घाइते तथा अपांगता भएका व्यक्तिको उपचार तथा पुनःस्थापनाका लागि व्यवसायीबाट संकलित सहयोग रकम परिचालन गर्न सकिने गरी ऐनमै छुट्टै ‘घाइते राहत कोष’ स्थापना गर्न माग गरेको छ । उक्त कोष सञ्चालनका लागि आवश्यक निर्देशिका बनाएर संघसंस्थामार्फत कोष सञ्चालन गर्ने व्यवस्था गर्न पनि महासंघले आग्रह गरेको छ ।  भेटमा अर्थमन्त्री वाग्लेले बीमा कानुनमा समावेश नभएका विषयलाई सम्बोधन गर्न राहतजन्य कार्यका लागि छुट्टै कोष स्थापना गर्ने विषयमा आफू सकारात्मक रहेको बताए । बीमाले कभर गर्न नसकेको रकम त्यस्तो कोषबाट व्यहोर्ने तथा कोष सञ्चालनमा व्यवसायी मात्रै वा सरकारको समेत केही दायित्व रहने गरी निर्देशिका बनाएर अघि बढ्न सकिने उनले बताए । महासंघले आफ्ना सदस्य संस्थाहरूले दुर्घटनाका पीडितलाई मानवीय सेवा र राहतस्वरूप अतिरिक्त उपचार खर्च तथा क्षतिपूर्ति उपलब्ध गराउँदै आएको भन्दै त्यस्तो रकमलाई मूल्य अभिवृद्धि करबाट छुट दिन पनि माग गरेको छ । महासंघका अनुसार संस्थाहरूले सदस्य व्यवसायीबाट संकलन गरेको रकम राहत तथा मानवीय सेवामा खर्च हुने भएकाले त्यस्तो कारोबारलाई मूल्य अभिवृद्धि कर ऐन, २०५२ को अनुसूची-१ मा समावेश गरी कर छुटको व्यवस्था गर्नुपर्ने माग गरिएको छ । भेटमा महासंघले अन्य करका दर हेरफेर गर्न सकिने भए पनि चालु आर्थिक वर्षमा मूल्य अभिवृद्धि करसम्बन्धी व्यवस्था तत्काल परिवर्तन गर्न नसकिने अर्थमन्त्री वाग्लेले बताए । आगामी बजेट आउनुभन्दा करिब पाँच महिना अगावै सम्पर्कमा आएर आवश्यक विषयमा छलफल गर्न उनले महासंघलाई आग्रह गरे । त्यस्तै महासंघले नेपाल-चीन व्यापारको प्रमुख प्रवेशद्वारका रूपमा रहेको तातोपानी नाका प्राकृतिक विपत्तिका कारण लामो समयदेखि अवरुद्ध हुँदा व्यापार व्यवसायमा परेको असरप्रति समेत सरकारको ध्यानाकर्षण गराएको छ। अविरल वर्षापछि गएको पहिरोका कारण सडक अवरुद्ध भएको हप्तौँ बितिसक्दा पनि तातोपानी नाका पूर्णरूपमा सञ्चालनमा आउन नसक्दा दैनिक अर्बौं रुपैयाँको राजस्वमा समेत असर परेको भन्दै महासंघले नाका तत्काल सञ्चालनमा ल्याउन सरकारको ध्यानाकर्षण गराएको हो ।

५ घण्टा सुने अर्थमन्त्रीले उद्योगी-व्यवसायीका भुइँका समस्या, कसले के भने ?

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले  ढुक्क भएर लगानी विस्तार गर्न उद्योगी व्यवसायीलाई आग्रह गरेका छन् । अर्थ मन्त्रालयले सुरु गरेको बजेट कार्यान्वयनको छलफल शृङ्खलाको पहिलो सत्रमा सहभागी तीन दर्जनभन्दा बढी उद्योगी व्यवसायीलाई मन्त्री वाग्ले सरकार व्यवसायीको पक्षमा सहज वातावरण बनाउन तयार रहेको बताए ।  सरकारले निजी क्षेत्रको फैलावटका लागि सबैखाले सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले लगानी विस्तार, रोजगारी सिर्जना र देशमै केही हुन्छ भन्ने वातावरण सिर्जना गर्न आग्रह गरे । सरकारले लगानीको सुरक्षा गर्नेमा ढुक्क रहन पनि उनले उद्योगी-व्यवसायीलाई अनुरोध गरे ।  ‘तपाईंहरू ढुक्क भएर लगानी विस्तार गर्नुहोस्, रोजगारी सिर्जना गर्नुहोस्, राज्यले के-के गर्नुपर्ने हो हामीलाई निर्धक्क भएर भन्नुहोस् । कानुनी, व्यावहारिक सबै अप्ठ्यारोमा सरकार तपाईंहरूसँगै छ । तपाईंहरूको लगानीको सुरक्षाको जिम्मेवारी सरकारको भयो,’ अर्थमन्त्री वाग्लेले भने ।  सरकारको २१ खर्ब २४ अर्ब रुपैयाँको बजेटले ६६ खर्ब रुपैयाँको अर्थतन्त्र चलायमान गराउनुपर्ने र त्यसको ड्राइभिङ सिटमा निजी क्षेत्र नै रहेको उनको भनाइ छ । बजेटमा निजी क्षेत्रलाई खुला भएर लगानी गरी अघि बढ्न यथेष्ट सुधारका प्रयास गरिएको भन्दै उनले उद्योगी-व्यवसायीलाई थप केही नीतिगत अप्ठ्यारो फुकाउनुपर्ने भए स्पष्टसँग भन्न पनि आग्रह गरे ।  ‘यो पाँच वर्षको स्पष्ट आर्थिक मार्गचित्रको पहिलो वर्ष हो । अहिले हामीले सुधारको सुरुआत मात्रै गरेका छौँ । आउने वर्ष अझै ठूला कामहरू गर्न बाँकी छ । निजी क्षेत्र हातेमालो गरेर अघि बढोस्, सरकार सधैँ साथमा छ,’ उनले भने ।  मङ्गलबार पाँच घण्टासम्म चलेको छलफलमा उनले उद्योगी-व्यवसायीका समस्याहरू सुनेका थिए ।  सो क्रममा उठेका अन्तःशुल्क र भन्सार महसुल, निर्यात अनुदान र बैंकिङ क्षेत्रसँग जोडिएर आएका गुनासोलाई संयन्त्र नै बनाएर समाधान गर्नेमा ढुक्क हुन उनले निजी क्षेत्रलाई आग्रह गरे ।  बजेटमा उल्लिखित नीति कार्यान्वयनले गति लिइसकेको भन्दै उनले सरकारले आयात प्रतिस्थापन, निजी क्षेत्रको लगानी सुरक्षा र मुनाफा आर्जन गर्न सक्ने निजी क्षेत्रसँग सहकार्य चाहेको स्पष्ट पारे ।  लगानी र उत्पादनशील अर्थतन्त्रको विकासका लागि सरकार-निजी क्षेत्र हातेमालो गरेर अघि बढ्नुपर्ने उनको भनाइ छ । अर्थसचिव डा घनश्याम उपाध्यायले निजी क्षेत्रले उठाएका जायज विषयवस्तु महसुस हुने गरी समाधान गर्ने बताए । बजेटको कार्यान्वयन सुरु भएको र जहाँ समस्या देखिन्छ, त्यहाँ समाधान गर्दै अघि बढ्ने उनको भनाइ छ । उनले निर्धक्क भएर आफ्नो कुरा राख्न पनि निजी क्षेत्रलाई आग्रह गरे ।  कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति सचिव नारायण दवाडीले उद्योगी-व्यवसायीका भुइँका समस्या सुन्न पाएको र यसलाई चरणबद्ध रूपमा एकीकृत समन्वय गरेर समाधान गरिने प्रतिबद्धता जनाए ।  लगानीमैत्री वातावरण निर्माण गर्न उद्योगमैत्री प्रशासन बनाउने, लागत घटाएर उत्पादन बढाउने, श्रम समस्या समाधान गर्ने, औद्योगिक क्षेत्र र सेज जस्ता उपयोगी संरचनालाई प्रतिस्पर्धी बनाउँदै सरकार अघि बढ्ने उनको भनाइ छ । निजी क्षेत्रको गुनासो सुनेपछि नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डितले अर्थतन्त्र चलायमान गराउन जायज समस्या समाधानका लागि राष्ट्र बैंक सदैव तयार रहेको स्पष्ट पारे ।  छलफलमा मुख्य गरेर चालु पुँजी कर्जाको विषय, पिजीको अनिश्चित दायित्व पुनरावलोकन र नेपाली उद्योगीले विदेशमा विज्ञापनमा खर्च गर्न पाउनुपर्ने जस्ता विषयमा सबल र दुर्वल पक्षहरू हेर्दै राष्ट्र बैंकले सहजीकरण गर्ने उनको भनाइ छ । कार्यक्रममा उद्योगी-व्यवसायीले अर्थ मन्त्रालयले उद्योगीका समस्या एक-एक गरेर बोलाएर सोधेको यो पहिलो अभ्यास भएको बताएका थिए । अर्थ र उद्योग मन्त्रालयमा गुनासोको चाङ बोकेर धाउने उद्योगी-व्यवसायीहरूलाई आफ्ना समस्या सुनाउन मन्त्रालय आउनुस् भनेर बोलाएको यो पहिलो घटना भएको उद्योगी-व्यवसायीहरूको भनाइ थियो । उद्योगी चन्द्रप्रसाद ढकालले स्वदेशी उत्पादन खपत गर्ने नीतिको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिए । पर्यटन उद्योगलाई विद्युत् खपतमा सुविधा प्रदान नगरिएकोमा उनको गुनासो छ । उद्योगी भरतराज आचार्यले स्वदेशी उत्पादन खपत नीति प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराए ।  उद्योगी रवि केसीले आफ्नो उद्योगले आयात गर्ने कच्चा पदार्थको भन्सार मूल्य बढ्दा लागत बढ्ने जोखिम रहेको बताए । साफ्टा सुविधाका कारण नेपाली उद्योगको प्रतिस्पर्धी क्षमता घटिरहेको भन्दै उद्योगी अम्बिका प्रसाद पौडेलले सरकारले त्यसमा ध्यान दिनुपर्ने बताए ।  उद्योगी विष्णुप्रसाद न्यौपानेले निर्यातमा अनुदानलाई निरन्तरता दिनुपर्ने भन्दै निर्यातमूलक उद्योगका लागि मूल्य अभिवृद्धि कर बैंक ‘ग्यारेन्टी’को सुविधा दिनुपर्ने माग गरे ।  उद्योगी विकास दुगडले गहुँको भन्सार महसुल पुनरावलोकन गर्न अर्थमन्त्रीको ध्यानाकर्षण गराए । यस्तै, उद्योगी दीपक श्रेष्ठले औद्योगिक क्षेत्रभित्र जग्गा पाउन कठिन भएको भन्दै त्यहाँको बिचौलियाराज अन्त्य गर्न ध्यानाकर्षण गराए । उद्योगी-व्यवसायीहरू बैंकको नीतिबाट पनि पीडित रहेको भन्दै उनले त्यसतर्फ पनि सरकारको ध्यान जानुपर्ने बताए ।  उद्योगी राहुल अग्रवालले भन्सार संरचना चुस्त-दुरुस्त बनाउन र निर्यातको लागत घटाउन सरकारले काम गर्नुपर्ने बताए । उधारो असुली कानुन तत्काल ल्याउन पनि उनले सरकारलाई आग्रह गरे । उद्योगी पशुपति मुरारकाले वनसम्बन्धी अव्यावहारिक कानुनका कारण खानीजन्य उद्योग चलाउनै समस्या भएको बताए ।  वनको कानुनका कारण उद्योगपति सबै फौजदारी कसुरका भागिदार भएको भन्दै यसलाई समाधान गर्नुपर्ने उनको भनाइ छ । अर्का उद्योगी पशुपतिदेव पाण्डेले निर्यात अनुदानको उत्कृष्ट विश्वव्यापी मोडलको अनुसरण गर्न सरकारलाई आग्रह गरे । बङ्गलादेश र श्रीलङ्काबाट नेपालले धेरै सिक्नुपर्ने उनको भनाइ छ । स्यानेटरी प्याड उद्योगी डोलराज अधिकारीले आफ्नो क्षेत्रले तत्काल सरकारबाट नीतिगत सुरक्षा खोजिरहेको बताए । उद्योगी शोभाकर न्यौपानेले बजेटको एउटा भन्सार दर आफ्नो उद्योगका लागि प्रतिकूल बनेको भन्दै त्यसलाई सच्याउन आग्रह गरे । अर्थमन्त्रीसँगको छलफलमा उद्योगीहरू नवीन घतानी, सुयश प्याकुरेल, उज्ज्वल श्रेष्ठ, अनुज पोदार, रवि राठी, प्रकाश रुँगटा, सुमित्रा केसी, गोकुल भण्डारी, राजेश अग्रवाल लगायतको सहभागिता थियो ।

ज्ञानका मार्गदर्शक गुरुको सम्मानमा आज देशभर गुरु पूर्णिमा मनाइँदै

काठमाडौं । आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ । ‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको बताइन्छ  । अन्धकारको नाश गरी जीवनमा उज्यालो फैल्याउने व्यक्तित्वलाई नै गुरु भनिन्छ । यस्ता गुरुलाई हाम्रो शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रूपमा समेत मानेको छ । यसैले विभिन्न ग्रन्थमा यसो भनिएको पाइन्छ– गुरुब्रह्मा  गुरुविष्णु  गुरुदेवो  महेश्वरः । गुरुः साक्षात् पर ब्रह्म तस्मै श्री गुरवे नमः ।।  माता पिताजस्तै गुरुलाई पनि देवता समान मानी ‘आचार्यदेवो भव’ भनिन्छ । गुरु पूर्णिमाका अवसरमा यस दिन विभिन्न विद्यालय एवम्सं संघस्थाले कार्यक्रम गरी शिक्षा, दीक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट गर्ने गरेका छन् ।  व्यास जयन्ती आजै वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा १८ पुराण र १८ उपपुराणको रचना गर्नुहुने वेदव्यासको सम्झनामा व्यास जयन्ती पनि मनाइन्छ । आषाढ शुक्ल पूर्णिमाकै दिन वेद व्यास जन्मिएकाले यसै दिन व्यास जयन्ती मनाउने गरिएको हो । व्यासले पुराण र उपपुराणका माध्यमबाट यस्तो सन्देश दिन खोज्नुभएको छ- ‘अष्टादश पुराणेषु व्यासस्य वचन द्वयम् । परोपकार पुण्याय, पापाय परपीडनम्’ ।।  अर्थात् अरूको उपकार गरे धर्म हुन्छ एवम् अरूलाई पीडा दिए पाप लाग्छ भनी मानवतावादी सन्देश दिनुभएको छ । पाँचौँ वेदसमेत भनिने महाभारत पनि व्यासले नै रचना गर्नुभएको हो । यस अवसरमा आज देशभरका विभिन्न गुरुकुल, शिक्षालय एवं सङ्घसंस्थाले पनि गुरु पूर्णिमा पर्व मनाउने जनाइएको छ । यस अवसरमा नेपाल महर्षि वैदिक फाउन्डेसनले चम्पादेवीस्थित ब्रह्मानन्द सरस्वती ग्राममा गुरु पूर्णिमा विशेष कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा गुरु पूर्णिमाको महत्वका बारेमा प्रकाश पारिने पूर्वमन्त्री एवं फाउन्डेसनका अध्यक्ष दिपकप्रकाश बास्कोटाले बताए । 

बिर्तामोडको आकाशमा उडे रकेट र चन्द्रयान, ४० लाखमा बन्याे एआई ल्याब

काठमाडौं । विमानस्थलको धावनमार्ग जस्तै गुञ्जायमान थियो विद्यालयको प्राङ्गण । आँखै अगाडि एकपछि अर्को गर्दै सरर्र उडेका हवाईजहाज, हेलिकप्टर, रकेट र चन्द्रयानको नमूना देखेर विद्यार्थीहरू एकाएक चकित परे । नहोस् पनि किन, किताबका पानामा मात्र सीमित हुने विज्ञान र प्रविधिको संसार सोमबार बिर्तामोड-१ स्थित ग्रीन फिल्ड वर्ल्ड स्कुलको प्राङ्ग्रणमै प्रत्यक्ष रूपमा देख्न पाइएको थियो । अन्तर्राष्ट्रियस्तरमै प्रतिष्ठित भारतको एरोबे कम्पनीको प्राविधिक सहकार्यमा आयोजित सो विशेष हवाई प्रदर्शनीमा विद्यार्थी मात्र होइन, उपस्थित अभिभावक र स्थानीय पनि रोमाञ्चित बने । ‘एरोबे रोबोटिक्स’को प्रयोगात्मक अभ्यास अन्तर्गत आयोजना गरिएको यो प्रदर्शनीले सबैलाई आधुनिक प्रविधिको कौतुहल र सम्भावनासँग प्रत्यक्ष साक्षात्कार गराएको थियो । आकाशमा रकेट र चन्द्रयान उडाउनु केवल एक दिनको रमाइलो मात्र थिएन, विद्यालयले आफ्ना विद्यार्थीलाई प्रविधिको भविष्यसँग स्थायी रूपमा जोड्ने आधार तयार पारेको छ । प्रदर्शनीसँगै विद्यालय परिसरमा करिब ४० लाख रुपैयाँको लगानीमा निर्मित ‘एरोबे रोबोटिक्स एन्ड आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ल्याब’ को औपचारिक उद्घाटन पनि गरियो । विद्यालयका संस्थापक अध्यक्ष एवम् राष्ट्रिय सभा सदस्य गोपाल कुमार बस्नेत र पूर्ण टुङ्ग बिर्तासिटी अस्पतालका वरिष्ठ फिजिसियन डा. शरद भट्टराईले विशेष समारोहबीच उक्त आधुनिक प्रयोगशालाको उद्घाटन गरे । उद्घाटन समारोहलाई सम्बोधन गर्दै संस्थापक अध्यक्ष गोपाल कुमार बस्नेतले आजको शिक्षा प्रणाली अब परम्परागत पाठ्यपुस्तकमा मात्र सीमित रहन नसक्ने स्पष्ट पारे । ‘भविष्यका चुनौतीसँग प्रतिस्पर्धा गर्न हाम्रा विद्यार्थीलाई सुरुदेखि नै सिर्जनशील, अनुसन्धानमुखी र प्रविधिमैत्री बनाउनु आजको आवश्यकता हो । अबका विद्यार्थीले केवल अरूले बनाएको प्रविधि प्रयोग गर्ने मात्र होइन, आफैं नयाँ प्रविधिको सिर्जना गर्ने क्षमता विकास गर्नुपर्छ । यो ल्याब उनीहरूको कल्पनाशक्तिलाई व्यवहारमा उतार्ने थलो बन्नेछ,’ उनले भने ।  डा शरद भट्टराईले आधुनिक शिक्षामा गरिएको यो दूरदर्शि लगानीले विद्यार्थीहरूको सिकाइ उपलब्धिमा गुणात्मक सुधार ल्याई भविष्यका चुनौतीहरूको सामना गर्न सक्षम बनाउने विश्वास व्यक्त गरे । विद्यालयले अन्तर्राष्ट्रिय स्तरको प्रविधिमैत्री शिक्षण वातावरण निर्माणमा देखाएको यो अग्रसरता प्रशंसनीय रहेको उनको भनाइ छ ।  विद्यालयका कार्यकारी निर्देशक आनन्द बस्नेतका अनुसार ल्याबमार्फत विद्यार्थीहरूलाई विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित शिक्षासँग प्रत्यक्ष जोड्दै अनुसन्धान र नवप्रवर्तनको क्षमता अभिवृद्धि गराइनेछ । ‘विश्वभर तीव्र रूपमा विकास भइरहेको रोबोटिक्स र एआईसम्बन्धी ज्ञान विद्यालय तहदेखि नै दिन पाउनु हाम्रा लागि गर्वको विषय हो,’ उनले भने । विद्यालयका कोअर्डिनेटर बर्नाट लामाले प्रयोगशालामा विद्यार्थीले रोबोट निर्माण, प्रोग्रामिङ, कोडिङ, डिजाइन थिंकिङ र स्वचालन प्रविधि जस्ता व्यावहारिक सीप सहज रूपमा सिक्ने जानकारी दिए । विद्यालयका सहायक प्रधानाध्यापक रोजीना कार्कीका अनुसार नेपालमा पहिलोपटक प्रतिष्ठित ‘एरोबे कम्पनी’ सँग सहकार्य गरेर यस प्रकारको आधुनिक ल्याब सञ्चालनमा ल्याइएको हाे । उनले विद्यार्थीहरूले विभिन्न तहअनुसार रोबोटिक्स, इलेक्ट्रोनिक्स र स्वचालित प्रणालीसम्बन्धी परियोजनामा सहभागी भई सृजनात्मक काम गर्ने क्षमता निखार्ने विश्वास व्यक्त गरिन् । 

सुदूरपश्चिमको तराई र अन्य ५ प्रदेशको पहाडमा भारी वर्षा हुने

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू-भागमा सरदर स्थानको आसपासमा तथा नेपालको पश्चिम भू-भागमा सरदरभन्दा उत्तरतर्फ रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लागेको छ । मधेस, बागमती र गण्डकी प्रदेशका तराई भू-भागमा आंशिक बादल लागेको छ । बागमती प्रदेशका केही स्थान तथा कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ । महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली र पहाडी भू-भाग तथा बागमती, गण्डकी, लुम्बिनी र  सुदूरपश्चिम प्रदेशका तराई भू-भागमा साधारणतया बादल लाग्नेछ । मधेस तथा कोशी प्रदेशका तराई भू-भागमा आंशिक बादल लाग्नेछ । देशका हिमाली भू-भागका केही स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । देशका पहाडी भू-भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थान तथा कोशी प्रदेशका तराई र मधेस प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ । सुदूरपश्चिम प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ । त्यसैगरी आज राति देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली भू-भागका थोरै स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । देशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । देशको तराई भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

२ अर्बमा ९ मेगावाटको खिम्ती-घ्वाङ आयोजना बन्दै, एनएमबि बैंकको १.२४ अर्ब लगानी

काठमाडौं । दोलखा र रामेछाप जिल्लामा निर्माणाधीन ९ मेगावाट क्षमताको खिम्ती-घ्वाङ साना जलविद्युत आयोजनामा एनएमबी बैंकले १ अर्ब २४ करोड रुपैयाँ ऋण लगानी गर्ने भएको छ । आयोजना प्रवर्द्धक वन्डर्स इनर्जी प्रालि र एनएमबी बैंकबीच मङ्गलबार ऋण लगानी सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतामा बैंकका तर्फबाट ‘सस्टेनेबल इनर्जी बैंकिङ’ विभाग प्रमुख दिनेश दुलाल र कम्पनीका तर्फबाट प्रबन्ध सञ्चालक प्रकाशचन्द्र दुलालले हस्ताक्षर गरेका थिए । कम्पनीका अनुसार दोलखाको जिरी नगरपालिका-१ र रामेछापको गोकुलगङ्गा गाउँपालिका-१ भएर बहने खिम्ती-घ्वाङ खोलामा निर्माण भइरहेको उक्त आयोजना २०८४ साल चैतभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आयोजनाका लागि आवश्यक सरकारी जग्गा प्राप्ति तथा रूख कटानको अनुमति मन्त्रिपरिषदबाट प्राप्त भइसकेको छ । आवश्यक जग्गा खरिद, पहुँच मार्ग, गोदाम, आवास गृह निर्माणलगायत पूर्व तयारीको काम सम्पन्न भइसकेको छ । यस्तै, सिभिल, हाइड्रो-मेकानिकल र इलेक्ट्रो-मेकानिकल निर्माणको ठेक्का सम्झौतापछि हालसम्म करिब ३० प्रतिशत काम सम्पन्न भएको कम्पनीले जनाएको छ । कुल १ अर्ब ८० करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा १ अर्ब २४ करोड रुपैयाँ बैंक ऋणबाट व्यवस्थापन गरिनेछ भने बाँकी ५६ करोड रुपैयाँ स्वपुँजीबाट जुटाइनेछ । त्यसमध्ये ३५ करोड रुपैयाँ जुटिसकेको र बाँकी रकम पनि चाँडै व्यवस्थापन गर्ने प्रक्रिया अघि बढाइएको प्रबन्ध सञ्चालक दुलालले जानकारी दिए ।  कम्पनीका अनुसार गौरीशङ्कर संरक्षण क्षेत्रभित्र निर्माण भइरहेको यो आयोजना सामाजिक तथा वातावरणीय अन्तर्राष्ट्रिय मापदण्डअनुसार ‘हाइड्रो सेलेक्ट’ उपकरण प्रयोग गरी निर्माण गरिने नेपालकै पहिलो जलविद्युत् आयोजना हुनेछ ।

सुनसरी घटनापछि बालेनले भने- मान्छेको पहिलो धर्म मान्छे जोगाउनु हो

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीमा भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका परिवारलाई न्याय, पीडितलाई क्षतिपूर्ति तथा दोषीमाथि कानुनबमोजिम कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। उनले घटनाबाट प्रभावित परिवारको पीडा सरकारले महसुस गरेको बताउँदै न्याय र क्षतिपूर्ति उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको उल्लेख गरे ।  उनले सुरक्षाकर्मीको गोली लागेर नागरिकको ज्यान जानु र घाइते हुनु अत्यन्त गम्भीर विषय भएको बताउँदै घटनाबारे अनुसन्धान सुरु भइसकेको र दोषीमाथि कानुनअनुसार कारबाही हुने स्पष्ट पारे । साथै, सम्पूर्ण घटनाको गम्भीर समीक्षा भइरहेको र भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक निर्णय तथा सुधारका कदम चालिने उनले बताए ।  प्रधानमन्त्रीले नागरिकलाई उत्तेजना, आक्रोश र बदलाको भावना त्यागेर संयम अपनाउन आग्रह गर्दै सामाजिक सद्भाव, आपसी विश्वास र सहिष्णुता कायम राख्न सबैलाई आह्वान गरेका छन् । उनले भने, ‘फेरि पनि आग्रह गर्छु, मनमा छन् भने पनि तुष, रिस, डर र आक्रोशलाई हटाउनु होला । उत्तेजित हुने वा गराउने कुनै पनि काममा सरिक नभइदिनुहोला । सुरक्षित र संयमित भएर बसौँ। एकअर्कालाई प्रेम र सम्मान गरौँ। सामाजिक सद्भाव कायम राखौँ ।’ प्रधानमन्त्रीले मान्छेको सबै भन्दा पहिलो धर्म मान्छे जोगाउनु भएको उल्लेख गर्दै सरकारको पहिलो दायित्व नागरिकको सुरक्षा सुनिश्चित गर्नु, कसुरदारलाई कानुनी दायरामा ल्याउनु तथा पीडितलाई न्याय र क्षतिपूर्ति दिलाउनु रहेको बताए । उनले उक्त दायित्व पूरा गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको उल्लेख गर्दै यी सबै काम यथाशीघ्र सम्पन्न गरिने विश्वास व्यक्त गरे ।

८० चिकित्सकमध्ये ७१ जनाले दिए सामूहिक राजीनामा

काठमाडौं । नारायणी अस्पतालमा कार्यरत चिकित्सकले सामूहिक राजीनामा दिएका छन् । गत शनिबार अस्पतालको आकस्मिक कक्षमा उपचाररत एक बिरामीको मृत्यु भएपछि अस्पतालमा तोडफोड र चिकित्सकमाथि कुटपिट भएको घटनाको विरोधमा उनीहरूले राजीनामा दिएका हुन् । शनिबार वीरगञ्ज महानगरपालिका–२५ का ४५ वर्षीय राजकुमार पटेलको उपचारका क्रममा मृत्यु भएको थियो । त्यसपछि मृतकका परिवार र आफन्तले उपचारमा लापरबाही भएको आरोप लगाउँदै आकस्मिक कक्षमा कार्यरत मेडिकल अधिकृत डा प्रमोद राममाथि कुटपिट गरेका थिए । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा चित्र रञ्जन साहका अनुसार अस्पतालमा कार्यरत ८० चिकित्सकमध्ये ७१ जनाले मङ्गलबार सामूहिक राजीनामा दिएका छन् । कुटपिटबाट गम्भीर घाइते भएका डा. रामको हाल काठमाडौं स्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ । घटनाको विरोधमा वीरगन्जका चिकित्सकहरूले आइतबारदेखि आन्दोलन गर्दै आएका छन् ।