हिमालयन लाइफका सीईओ कर्णले दिए राजीनामा
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजकुमार लाल कर्णले पदबाट राजीनामा दिएका छन् । बीमा अभिकर्ताहरूले प्रतिहजार ५० रुपैयाँ बोनसको माग गर्दै आएकोमा आफूले त्यसलाई सम्बोधन गर्न नसक्ने भएपछि विधानअनुसार नै राजीनामा दिएको सीईओ कर्णले विकासन्युजलाई जानकारी दिए । अभिकर्ताहरूले केही समयअघिदेखि बोनस, सुशासन र भ्रष्टाचारको विरुद्धमा आन्दोलन गर्दै आएका थिए । हिमालयन लाइफकी सिनियर एजेन्सी म्यानेजर एवं पेशागत बीमा अभिकर्ता संघ नेपालका केन्द्रीय सचिव अम्बिका गौतमले बोनससम्बन्धी माग सम्बोधन गर्न नसकेको कारण खुलाउँदै उनले राजीनामा दिएको बताइन् । सीईओले राजीनामा दिएसँगै अब अभिकर्तालाई गरेको व्यवहार, बीमितको बोनस दरमा सुधार आउने र सुशासन भएपछि बीमा कम्पनीले लय समात्ने उनको भनाइ छ ।
सम्मानजनक तलब र जोखिम भत्ताको माग गर्दै मणिपाल अस्पतालका नर्सहरू आन्दोलित
काठमाडौं । पोखराको मणिपाल शिक्षण अस्पतालका नर्सहरू सम्मानजनक तलब सुविधाको माग राख्दै आन्दोलित भएका छन् । सरकारी मापदण्डभन्दा कम तलबभत्ता,जोखिमभत्ता नपाएको तथा अपमानजनक व्यवहार भोग्नुपरेको भन्दै उनीहरू आन्दोलित भएका हुन् । मणिपाल शिक्षण अस्पतालमा काम गर्ने नर्सहरूको तलब १५ देखि २० हजार रुपैयाँ मात्रै तलबभत्ता पाउने गरेका छन् । जुन सरकारी मापदण्ड (पाँचौँ तहको ३४ हजार ७ सय ३० रुपैयाँ) भन्दा निकै कम हो । अतिरिक्त समयको भत्ता र अन्य सुविधा समेत नपाएको उनीहरुको गुनासो छ । विगत दुई हप्तादेखि आन्दोलनरत नर्सहरू ‘हामी नर्स हौं, मेसिन होइनौँ, १५ हजारमा गुजारा चल्दैन’ लगायतका नारा लेखिएको प्लेबोर्डसहित आन्दोलरत छन् । मणिपाल शिक्षण अस्पतालमा कार्यरत नर्स पूजा फगामीले तलब र सुविधाको विषयमा पटक–पटक अस्पताल प्रशासनसँग माग रोखको भएपनि कुनै सुनुवाई नभएको गुनासो गरिन् । बिरामीहरूको असुविधाको लागि माफी माग्दै उनले आफ्ना माग पूरा नभएसम्म आन्दोलन नरोक्ने उनको अडान छ । उनले भनिन्, ‘हामीले रहरले आन्दोलन गरेका होइनौं । कतिधेरै बिरामीहरु अस्पताल आएर फर्किरहनु भएको छ । तर अस्पताल प्रशासनले हाम्रो मागको सुनुवाई नै गरेको छैन । हामी सन्तुष्ट नै छैनौं । हाम्रो तलबभत्ता र हाम्रो मेहेनतलाई नै अस्पतालले नजरअन्दाज नगरोस् भन्ने हाम्रो चाहाना हो ।’ नर्सहरूले सम्मानजनक तलब, जोखिम भत्ता, ओभरटाइम सुविधा र बिदा दिनुपर्ने उनको माग छ ।
नेपाल पुनर्बीमाले बीमा कम्पनीहरूलाई भुक्तानी गर्यो डेढ अर्ब रुपैयाँ
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले जेनजी आन्दोलनका क्रममा पुगेको सम्पत्ति क्षतिको बीमाबापतको भुक्तानी निर्जीवन बीमा कम्पनीहरूलाई सुरु गरेको छ । कम्पनीका अनुसार हालसम्म बीमा कम्पनीहरूमा डेढ अर्ब रुपैयाँभन्दा बढी रकम एडभान्स स्वरूप गइसकेको छ । कम्पनीले शुक्रबारदेखि बीमा कम्पनीहरूलाई दाबीबापतको भुक्तानी दिन सुरु गरेको जनाएको छ । कम्पनीका अनुसार ठूला दाबी परेका कम्पनीहरू सिद्धार्थ प्रिमियर, आइजीआई प्रुडेन्सियल, हिमालयन एभरेष्ट, शिखर इन्स्योरेन्स, सगरमाथा लुम्बिनी इन्स्योरेन्स(सलिको)लाई भुक्तानी दिइसकेको छ । कम्पनी स्रोतका अनुसार पहिलो चरणमा ठूला दाबी परेका कम्पनीहरूलाई भुक्तानी भइसकेको र दोस्रो चरणमा साना दाबी परेका कम्पनीहरुलाई पनि भुक्तानी दिन सुरु भइसकेको छ । ‘पहिलो चरणमा ठूला दाबी परेका कम्पनीहरुलाई हामीले भुक्तानी दिइसकेका छौं । अब दोस्रो चरणमा अरु दाबीहरुलाई पनि भुक्तानी दिन सुरु गरेका छौं, तिहारसम्मसबै कम्पनीहरुलाई एडभान्स बाँड्छौं,’ कम्पनी स्रोतले भन्यो । नेपाल बीमा प्राधिकरणको बुधबार (असोज २२ गते) सम्मको तथ्यांकअनुसार जेनजी आन्दोलनको क्रममा भएको क्षतिमा २३ अर्ब २२ करोड ८७ लाख रुपैयाँको दाबी परेको छ । प्राधिकरणका अनुसार १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीमा परेका ३ हजार ९९ वटा दाबीका आधारमा उक्त रकम बराबरको दाबी परेको हो । नेपाल पुनर्बीमा कम्पनीले कम्तीमा तिहारअघिसम्म कम्पनीहरुलाई ४ अर्ब रुपैयाँ हाराहारीमा भुक्तानी गर्ने गरी आन्तरिक तयारी गरिरहेको समेत स्रोतको दाबी छ । ‘बढीमा ४ अर्ब रुपैयाँसम्मको भुक्तानी तिहारअघि गर्ने गरी पैसाको व्यवस्थापन भइसकेको छ,’ स्रोतले भन्यो, ‘त्यसपछि बाँकी भुक्तानी सर्भेयरहरूको रिपोर्ट आएपछि बिना झन्झट अगाडि बढाउने हाम्रो तयारी छ ।
फोर्थिङ तिहार भाइब अभियान सुरु
काठमाडौं । लक्ष्मी ग्रुपअन्तर्गतको लक्ष्मी ई–मोबिलिटी प्रालि, नेपालमा फोर्थिङ ब्रान्डको अधिकृत वितरकले तिहारको अवसरमा आकर्षक अफर सहितको विशेष अभियान फोर्थिङ तिहार भाइब सुरु गरेको छ। यो अफर असोज २७ देखि कात्तिक ३ सम्म सञ्चालन हुनेछ । यस अवधिमा ग्राहकहरूले फोर्थिङको प्रिमियम इलेक्ट्रिक एसयूभी फोर्थिङ फ्राइडेमा विशेष पाउनेछन्। बुकिङमा आईफोन १७ जित्ने अवसर रहेको कम्पनीले जनाएको छ । त्यसैगरी आकर्षक नगद छुट, ८ वर्षको वारेन्टी, ६ वर्षसम्म निःशुल्क सर्भिसिङ, ७ किलोवाट होम चार्जर, स्पेयर टायर, १ वर्षको अटो प्लस बीमा र रोड ट्याक्स निःशुल्क रहेको छ । फोर्थिङ फ्राइडेले नेपाली ईभी बजारमा नयाँ स्तरको प्रिमियम अनुभव ल्याएको कम्पनीले जनाएको छ । ६४।४ किलोवाट ब्याट्री र ९९ किलोवाट मोटरसहितको यो एसयूभीले डब्ल्यूएलटीपी मापदण्ड अनुसार ४०० किलोमिटर सम्मको दायरा प्रदान गर्छ। कम्पनीले ग्राहकहरूलाई थापाथली र नमसालस्थित फोर्थिङको शोरुममा आमन्त्रणसमेत गरेको छ ।
स्वास्थ्य मन्त्रालयले जेनजी आन्दोलनका घाइतेको वर्गीकरण गर्ने
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेनजी आन्दोलनमा घाइते भएककाहरुको वर्गीकरण गर्नेभएको छ । गत भदौ २३ र २४ गते जेनजी आन्दोलनमा घाइते भएका व्यक्तिहरुको वर्गीकरण गर्नका लागि स्वास्थ्य मन्त्रालयका गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा सरोज शर्माको संयोजकत्वमा प्राविधिक समिति गठन गरिएको छ । टोलीमा विभिन्न विज्ञ १० जनालाई समितिको सदस्यमा समावेश गरिएको छ । घाइतेहरुको वर्गीकरणको मापदण्ड बनाउने कार्य सुरु गरिएको संयोजक डा शर्माले जानकारी दिए । उनले भने, 'विशेषज्ञको टोलीसहित हामीले अधययन गरिरहेका छौँ । चोटपटक सामान्य, मध्यम वा गम्भीर भनेर ग्रेडिङ गर्ने काम भइरहेको छ ।' स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार हालसम्म अस्पतालमा उपचारका लागि भर्ना भएका घाइतेको सङ्ख्या दुई हजार ३१६ जना रहेको छ ।
पूर्वसभामुख महराविरुद्ध साढे ८ करोडको बिगो माग गर्दै मुद्दा दर्ता, ३ वर्ष बढी कैद सजाय माग
काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध मुद्दा दर्ता भएको छ । उनीमाथि सुन तस्करी प्रकरण मुद्दा दर्ता भएको हो । जिल्ला सरकारी वकिलको कार्यालयका प्रमुख रामहरि काफ्ले महराविरुद्ध मुद्दा दर्ता भएको जानकारी दिए । उनीविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३७४ रूपैयाँ बिगो र ३ वर्ष बढी अवधि कैद सजाय माग दाबी गरिएको छ। महरा आइतबार पक्राउ भएका थिए । के हो प्रकरण ? २०७९ पुस १० मा मा फ्लाई दुबईबाट काठमाडौं आएका चिनियाँ राहदानी बाहक लि हानसोङले २ वटा सुटकेश ल्याएका थिए । उक्त सुटकेशभित्र ७३ वटा बट्टामा रहेका ७३० थान भेप ल्याएका थिए । उक्त भेपमा भने सुन लुकाएर ल्याइएको थियो । सो सुटकेशमा ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बराबरको सुन ल्याइएको बुझिएको थियो । यो प्रकरणका महराका छोरा राहुल महरा पक्राउ भएर पनि कारागार चलान भएका थिए । सुन भित्र्याउन संलग्न चिनियाँ नागरिक लुई होनसोङ र दाओनिज वाङसँग महरा र उनका छोरा राहुलको निरन्तर संवाद भएको खुलेको थियो । यसअघि नै अनुसन्धानको दायरामा तानिएका महरा पटक–पटक पक्राउ हुँदै छुट्ने गरेका थिए ।
मेलम्चीको खानेपानी काठमाडौं ल्याइयो, तीन तीन दिनको फरकमा धारामा पानी आउने
काठमाडौं । वर्षातका कारण बन्द रहेको मेलम्चीको खानेपानी काठमाडौं ल्याइएको छ । वर्षायाममा मेलम्ची नदीमा आउने बाढी र पहिरोका कारण खानेपानी आयोजनामा क्षति पुग्ने भन्दै गत वर्षको असार १० गते बन्द गरिएको पानी मर्मतपश्चात् काठमाडौं ल्याइएको हो । वर्षातले क्षति गरेको कहीँ ठाउँमा मर्मतपश्चात् अहिले पानी सङ्कलन तथा प्रशोधन केन्द्र सुन्दरीजलमा दैनिक १७ करोड लिटरभन्दा बढी पानी आइरहेको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जगरनाथ दासले जानकारी दिए । उनले भने, 'वर्षातले क्षति गरेको ठाउँमा मर्मत गरी र पानीको बहाव कम भएसँगै अहिले हामीले मेलम्चीको पानी काठमाडौँ ल्याउन सफल भएका छौँ । सुन्दरीजलमा दैनिक १७ करोड लिटरभन्दा बढी पानी आइरहेको छ ।' काठमाडौं उपत्यकामा दैनिक ४३ करोड लिटर पानीको माग रहेको छ । मेलम्ची खानेपानी बन्द गरिएको बेला विभिन्न स्रोतबाट दैनिक १३ देखि १४ करोड लिटर पानी मात्रै उपत्यकामा आपूर्ति हुने गरेको थियो । दैनिक १७ करोड लिटरभन्दा बढी मेलम्चीको खानेपानी सुन्दरीजलमा पुगेसँगै काठमाडौं उपत्यकामा उक्त पानी वितरण गर्न सुरु गरिएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का कार्यकारी निर्देशक अशोककुमार पौडेलले बताए । उनले भने, 'मेलम्चीबाट दैनिक १७ करोड लिटरभन्दा बढी पानी आइपुगेसँगै हामीले पानी वितरण प्रक्रिया सुरु गरेका छौँ । विगतमा ६ दिनमा एक दिन मात्रै धारामा आउने पानी आजबाट अब तीन तीन दिनको फरकमा प्रत्येक घरका धारामा पानी आउँछ ।' विसं २०७८ असार १ गते मेलम्ची खोलामा आएको बाढी पहिरोले आयोजनाको हेडवक्र्स पूर्णरूपले क्षतिग्रस्त भएपछि त्यसयता हिउँदमा मात्र मेलम्चीको पानी उपत्यकामा वितरण हुँदै आएको छ । बाढीका कारण मेलम्चीको मुहान बन्द गरिएपछि रिबर्मा खोलाबाट दैनिक रूपमा छ देखि सात करोड लिटर पानी स्थानान्तरण गरेर काठमाडौंमा वितरण भइरहेको कार्यकारी निर्देशक दासले बताए । उनका अनुसार विसं २०७८ चैत १५ गते पूर्ण क्षमताअनुसार दैनिक १७ करोड लिटर काठमाडौं उपत्यकामा पानी वितरण थालिएको हो । सोही वर्षको असार र साउनमा मेलम्ची तथा इन्द्रावतीमा आएको भीषण बाढीले आयोजनामा ठूलो क्षति पुर्याएपछि काठमाडौंमा हालसम्म बाह्रैमहिना पानी ल्याउन सकिएको छैन । रासस
नवप्रवर्तन–सञ्चालित आर्थिक वृद्धिको सिद्धान्तका तीन अर्थशास्त्रीलाई नोबेल सम्मान
काठमाडौं । नवप्रर्वतन र नवीनताद्वारा प्रेरित आर्थिक वृद्धिको व्याख्या गर्ने असाधारण योगदानका लागि प्रख्यात अर्थशास्त्री जोएल मोकिर, फिलिप अघियन र पिटर होविटलाई यस वर्षको अर्थशास्त्रतर्फको नोबेल स्मारक पुरस्कार प्रदान गरिएको छ । मोकिर अमेरिकाको नर्थवेस्टर्न विश्वविद्यालयसँग सम्बद्ध छन् । अघियन फ्रान्सको कलेज डे फ्रान्स र लन्डन स्कूल अफ इकोनोमिक्ससँग तथा हाविट अमेरिकाकै ब्राउन विश्वविद्यालयसँग आबद्ध छन् । नोबेल समितिले विज्ञप्तिमा उल्लेख गरेको छ, 'मोकिरले आविष्कारहरू कसरी आत्म–उत्पादन प्रक्रियामा एकअर्कालाई प्रोत्साहित गर्छन् भन्ने देखाउनुभयो । उहाँको शोधले के काम गर्छ भन्ने मात्रै होइन, किन गर्छ भन्ने वैज्ञानिक स्पष्टीकरणको आवश्यकता पनि औँल्याएको छ ।' त्यस्तै अघियन र हाविटले सन् १९९२ मा प्रकाशित एक प्रसिद्ध शोधपत्रमार्फत निरन्तर आर्थिक वृद्धिको संयन्त्र स्पष्ट गरे । उनीहरूले ‘रचनात्मक विनाश’ (क्रिएटिभ डिस्ट्रक्सन) को अवधारणामा आधारित गणितीय मोडेल विकास गरे — जसमा नयाँ र उन्नत उत्पादन बजारमा प्रवेश गर्दा पुराना उत्पादनहरू र तिनीहरू बेच्ने कम्पनीहरू प्रतिस्थापित हुने प्रक्रिया समावेश छ । अर्थशास्त्र पुरस्कार समितिका अध्यक्ष प्राध्यापक ह्यासलरले भने, 'आर्थिक वृद्धि कुनै सहज विषय होइन भन्ने यी पुरस्कार विजेताहरूको कार्यले देखाउँछ । हामीले रचनात्मक विनाशका संयन्त्रहरूलाई समर्थन गर्नुपर्छ, ताकि अर्थतन्त्र स्थिरतामा नफँसियोस् ।' गत वर्ष यो पुरस्कार तीन अर्थशास्त्री डारोन एसेमोग्लु, साइमन जोनसन र जेम्स ए। रोबिन्सनलाई प्रदान गरिएको थियो । उनीहरूले किन केही देशहरू धनी र अरूहरू गरिब छन् भन्ने विषयमा गहिरो अध्ययन गर्दै स्वतन्त्र र खुला समाजहरू आर्थिक रूपमा समृद्ध हुने सम्भावना बढी रहने निष्कर्ष प्रस्तुत गरेका थिए । अर्थशास्त्र पुरस्कारलाई औपचारिक रूपमा ‘अल्फ्रेड नोबेलको सम्झनामा आर्थिक विज्ञानमा बैंक अफ स्विडेन पुरस्कार’ भनिन्छ । स्विडेनको केन्द्रीय बैंकले यसलाई सन् १९६८ मा स्थापनागरेको थियो । बैंकले १९औँ शताब्दीका प्रसिद्ध आविष्कारक, व्यापारी र रसायनशास्त्री अल्फ्रेड नोबेलको स्मृतिमा यो सम्मान सुरु गरेको हो । नोबेलले डाइनामाइटको आविष्कार गर्दै पाँचवटा नोबेल पुरस्कारको परम्परा आरम्भ गरेका थिए । स्थापनाको सुरुआतदेखि अहिलेसम्म यो पुरस्कार ५६ पटकमा ९६ जना विज्ञलाई प्रदान भइसकेको छ । यसमा तीन जना मात्र महिला रहेका छन् । नोबेल परम्पराका शुद्धतावादीहरूले भने यस पुरस्कारलाई प्राविधिक रूपमा ‘नोबेल पुरस्कार’ नभएको तर्क गर्छन्, तर अन्य नोबेल पुरस्कारहरूसँगै हरेक वर्ष डिसेम्बर १० मा, सन् १८९६ मा अल्फ्रेड नोबेलको निधनको वार्षिकोत्सवका दिन नै यो सम्मान पनि प्रदान गरिन्छ । गत हप्तासम्म चिकित्सा, भौतिक विज्ञान, रसायन विज्ञान, साहित्य र शान्तिका नोबेल पुरस्कारहरूको घोषणा भइसकेको छ । रासस