विकासन्युज

नेपाल एसबीआई बैंकद्वारा १०७ बालबालिकालाई न्यानो कपडालगायत सामग्री सहयोग

काठमाडौं । नेपाल एसबीआई बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत काठमाडौंको नक्सालस्थित नेपाल बाल संगठन (बाल मन्दिर) मा आश्रित १०७ जना बालबालिकालाई न्यानो कपडा, चप्पल, ब्ल्याङ्केट, म्याट्रेस, वाटर प्युरिफायरलगायत अत्यावश्यक सामग्री सहयोग गरेको छ । बैंकका अनुसार उक्त पहलबाट बालबालिकाको तत्काल आवश्यकता पूर्ति हुनुका साथै उनीहरूको समग्र विकासमा सहयोग पुर्‍याउने लक्ष्य लिइएको छ । सहयोग सामग्री हस्तान्तरण कार्यक्रमअन्तर्गत बैंकका अध्यक्ष वेंकट बंसीधर कुंचाले नेपाल बाल संगठनकी अध्यक्ष विद्या उपाध्याय न्यौपानेलाई सामग्री औपचारिक रूपमा हस्तान्तरण गरेका थिए । कार्यक्रममा बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारी, सञ्चालक रितेश सिन्हा, नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन अधिकृत विकास आनन्द, प्रमुख वित्तीय अधिकृत राजेश कुमार पण्डा, प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत प्रवीण मुनि बज्राचार्यलगायत बैंक तथा संस्थाका पदाधिकारीहरूको उपस्थिति रहेको थियो । बैंकले समुदायस्तरमा यस्ता सामाजिक गतिविधि समय–समयमा सञ्चालन गर्दै आएको जनाएको छ । विगत ३२ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको नेपाल एसबीआई बैंक लिमिटेडका हाल देशभर १०२ शाखा, २२ एक्सटेन्सन काउन्टर, २१ शाखारहित बैंकिङ सेवा, ७ प्रादेशिक कार्यालय, १२७ एटिएम तथा एक कर्पोरेट कार्यालय सञ्चालनमा रहेका छन् ।

देउवा पक्षका ३० केन्द्रीय सदस्यको शेखरसँग भेट, विवाद समाधानमा अग्रसर हुन आग्रह

काठमाडौं । नेपाली कांग्रेसका संस्थापन पक्षीय ३० जना केन्द्रीय सदस्यहरूले वरिष्ठ नेता डा. शेखर कोइरालासँग भेट गरी पार्टीभित्र देखिएको विवाद समाधानमा अग्रसर भूमिका खेल्न आग्रह गरेका छन् । नेताहरूले मंगलबार बिहान कोइरालासँग करिब साढे दुई घण्टा लामो छलफल गरेको वार्तामा सहभागी नेता पुष्पा भुसालले जानकारी दिइन् । भेटमा पार्टीभित्र बढ्दै गएको मतभेद, महाधिवेशनको मिति र प्रकृतिसँग सम्बन्धित विवाद तथा त्यसको समाधानका उपायबारे गहन छलफल भएको उनले जानकारी दिइन् । केन्द्रीय कार्यसम्पादन समितिको पुस १८ गतेको बैठकले बहुमतका आधारमा वैशाखमा महाधिवेशन गर्ने निर्णय गरेपछि देखिएको विवाद समाधानका लागि अग्रसर हुन आफूहरूले आग्रह गरेको अर्का केन्द्रीय सदस्य आङ्गेलु शेर्पाले जानकारी दिए । शेर्पाका अनुसार अहिले देखिएका समस्या समाधानका लागि तीनवटा प्रस्तावमा छलफल भइरहेको छ ।  पछिल्लो समयमा नेता कोइरालासँग पार्टी बचाउन आग्रह गर्दै पुग्ने नेताहरू बढिरहेका छन् । उनी विशेष महाधिवेशनको पक्षमा पनि खुलेर उभिएका छैनन् । तर, केन्द्रीय कार्यसमितिले सर्वसम्मत निर्णय गरे विशेष महाधिवेशन गर्न सकिने धारणा उनले राख्दै आएका छन् । आजको छलफलमा नेताहरू राजन केसी, उदयशमशेर राणा, योगेन्द्र चौधरी लगायतका नेताहरू सहभागी रहेको नेता शेर्पाले जानकारी दिए । छलफल पछि बोल्दै शेर्पाले भने, ‘पार्टीभित्रका विवाद समाधानका विषयमा हामीले नेता कोइरालासँग विस्तृत छलफल ग‍रेका छौं ।’ उनका अनुसार नेता कोइराला पार्टीभित्रका मतभेद न्यूनीकरण गर्दै अघि बढ्न सकारात्मक देखिएका छन् ।  बिहान कोइराला निवास पुगेका सहमहामन्त्री बद्री पाण्डेले नेता कोइरालाले अगाडि सारेका प्रस्तावहरूले मात्रै पार्टीको एकता मजबुत पार्ने दावी गरे । उनले भने, ‘सबै पक्षका नेताहरूले कोइरालालाई नेतृत्व लिन र विवाद समाधान गर्न आग्रह गरेका छन् ।’  

गोरखामा च्याउ खाँदा एकाघरका चार जना बिरामी

गोरखा । यहाँ परालको टौवामा उम्रिएको च्याउको तरकारी बनाएर खाँदा एका परिवारका चार जना बिरामी परेका छन् । मकवानपुर जिल्ला बागमती नगरपालिका–१३ घर भई हाल गोरखा नगरपालिका–१४ स्थित प्युघरमा डेरा गरी बस्दै आएकी ३० वर्षीया हीरा पहरीको परिवार विषालु च्याउ खाएर बिरामी परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक  भरतबहादुर विकले जानकारी दिए । सोमबार साँझ घर नजिकै रहेको परालको थुप्रो (टौवा)मा उम्रेको च्याउ टिपेर तरकारी खाएपछि आमा हीरा पहरीसहित १२ वर्षीय छोरा किसान, छ वर्षीय छोरा हिमाल र पाँच वर्षीया छोरी सुजिता बिरामी परेका हुन् । च्याउ खाएलगत्तै पेट दुख्ने, वाकवाकी लाग्ने र अत्यधिक थकानजस्ता लक्षण देखिएपछि तत्काल सबैलाई उपचारका लागि तनहुँको आबुखैरेनी गाउँपालिका अस्पताल पुर्याएको र अहिले सोही अस्पतालमा उनीहरूको उपचार भइरहेको उनले बताए । बिरामी सबै बोल्न सक्ने अवस्थामा छन् । घटनाको थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।  

बृजेशकुमार गुप्ताले गरे नेकपा एमाले परित्याग

काठमाडौं । नेकपा एमालेका पूर्वकेन्द्रीय सदस्य तथा कपिलवस्तुबाट चारपटक संघीय सांसद निर्वाचित नेता बृजेशकुमार गुप्ताले पार्टी परित्याग गरेका छन् ।  लामो समयदेखि संसदीय राजनीतिमा सक्रिय रहेका गुप्ताले एमालेसँगको सम्बन्ध तोडेको घोषणा गरेका हुन् । पार्टीभित्र पछिल्लो समय देखिएको आन्तरिक असहमति, नीति निर्णय प्रक्रियामा बेवास्ता गरेको र क्षेत्रीय तथा राजनीतिक मुद्दामा पार्टी नेतृत्वको भूमिकाप्रति असन्तुष्टि बढ्दै गएपछि पार्टी छाड्ने निर्णयमा पुगेको गुप्ताको निकट स्रोतले जनाएको छ । कपिलवस्तु जिल्लामा प्रभावशाली नेताका रूपमा चिनिएका गुप्ता चारपटक संघीय सांसद निर्वाचित हुँदै संसदीय अभ्यासमा अनुभवी नेताका रूपमा स्थापित छन् । उनी एमालेको केन्द्रीय सदस्य रहेका थिए । गुप्ताले पार्टी परित्यागपछि आगामी राजनीतिक यात्राबारे भने औपचारिक घोषणा गरेका छैनन् । तर, समसामयिक राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै नयाँ विकल्पबारे छलफल भइरहेको बताएका छन् ।

सुनको मूल्य तोलामा २ लाख ६८ हजार १०० रुपैयाँ पुग्यो

काठमाडौं । मंगलबार नेपाली बजारमा सुन र चाँदीको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला ३ हजार १०० रुपैयाँले बढेको हो । महासंघका अनुसार मंगलबार सुन प्रतितोला २ लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन प्रतितोला २ लाख ६५ हजार रुपैयाँमा कारोबार भएको थियो। पछिल्ला दुई दिनयता सुनको मूल्य निरन्तर उकालो लागेको छ । त्यसैगरी, चाँदीको मूल्य पनि मंगलबार प्रतितोला १९५ रुपैयाँले बढेको छ । मंगलबार चाँदी प्रतितोला ४ हजार ८ सय ८० रुपैयाँमा खरिद–बिक्री भइरहेको छ । सोमबार चाँदी प्रतितोला ४ हजार ६ सय ८५ रुपैयाँमा खरिद–बिक्री भएको थियो ।

एमाले सचिवालय बैठक सुरु, राष्ट्रिय सभा निर्वाचन र प्रतिनिधि सभा उम्मेदवारबारे छलफल

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । बैठकमा राष्ट्रिय सभा निर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको छ । पार्टीको केन्द्रीय कार्यालय च्यासलमा जारी बैठकमा राष्ट्रिय सभाका लागि उम्मेदवारी चयन र आवश्यक गठबन्धनको विषयले पनि प्रवेश पाएको एक नेताले बताए । राष्ट्रिय सभाका १८ सिटका लागि प्रमुख राजनीतिक दलहरूबीच सहकार्य गरेर निर्वाचन लड्ने सहमति भइसकेको सन्दर्भमा कांग्रेस र माओवादीसँग भएको छलफल तथा सिट बाँडफाँडको अवस्थाबारे अध्यक्ष केपी शर्मा ओलीले सचिवालयलाई जानकारी गराएका छन् ।  पछिल्लो सहमति अनुसार एमालेले ६ सिटमा उम्मेदवारी दिने तयारी गरेको छ । यससँगै प्रतिनिधि सभाका लागि उम्मेदवार सिफारिसको प्रक्रिया र सो क्रममा विभिन्न स्थानमा देखिएका विवादसम्बन्धी विषय पनि सचिवालय बैठकमा उठ्ने सम्भावना रहेको नेताहरूले बताएका छन् । अध्यक्ष ओलीको ब्रिफिङपछि बैठक एजेन्डामा केन्द्रित हुने सचिवालयका एक नेताले जानकारी दिए ।

स्ट्रबेरीखेती बिक्री गरेर एकवर्षमा २१ लाख आम्दानी

दाङ । अध्ययनको क्षेत्र कृषि प्राविधिक ,व्यवसाय स्ट्रबेरीखेती (भुइँऐसेलु) । अध्ययन र व्यवसाय मिलेपछि कैलालीका किसान दशरथ साउदको घोराहीमा रहेको स्ट्रबेरीखेती फस्टाएको छ । घोराही उपमहानगरपालिका–१५ भरतपुरमा रहेको उनको स्ट्रबेरीखेतीमा कपिलवस्तुका भाष्कर पङ्गेनीले साथ दिएका छन् । स्ट्रबेरीखेतीमा प्राविधिक पक्ष साउद आफैँले हेर्छन । चार वर्षअघिदेखि स्ट्रबेरीखेतीमा होमिएका २७ वर्षीय उनले गत वर्षमात्र रु २१ लाखबराबरको स्ट्रबेरीको कारोबार भएको बताए। गत वर्ष आधाभन्दा बढी रकम त बचत नै भयो, यो वर्ष पनि दैनिक ७० किलोभन्दा बढी बिक्री भइरहेको छ । यस वर्ष झन् क्षेत्रफल बढेकाले कारोबार बढ्ने उनले भने। उनका अनुसार यो वर्ष मङ्सिरबाट बेच्न सुरु गरेको र आम्दानी पनि राम्रो भइरहेको छ । एक किलोलाई रु सात सयका दरले बिक्री भइरहेको छ । उनले दुई बिघा जग्गा भाडामा लिएर स्ट्रबेरीखेती गरेका छन । किसान साउदले भने, 'कृषि प्रविधिसँग सम्बन्धित विषय अध्ययन गरेपछि यसैमा केही गरौँ भन्ने सोचले कृषि फार्म स्थापना गरी स्ट्रबेरीखेती सुरु गरेको हुँ, अहिले यसैबाट राम्रो आम्दानी भइरहेको छ ।' परम्परागत कृषिमा प्रविधिको प्रयोगले सफलता मिलेको उनले बताए । उनले घोराहीमामात्र होइन, कपिलवस्तुमा १० कट्ठामा र कैलालीमा दुई बिघामा व्यावसायिक रूपमा स्ट्रबेरीखेती गर्दै आएका छन । त्यसैगरी, घोराहीकै अर्का किसान वीरेन्द्र खड्काले पनि व्यावसायिक रूपमा स्ट्रबेरीको खेती गर्दै आएका छन । आफ्नै देशमा केही गर्नुपर्छ भन्ने सोचका साथ उनले केही वर्षदेखि स्ट्रबेरीखेती गर्दै आएका हुन् । उमेरले २८ वर्ष पुगेका उनले यही व्यवसायबाट राम्रो आम्दानी गर्दै आएका छन् । रोल्पा माडी गाउँपालिका–१ जबाङ दुदिलाबोट स्थायी घर भएका खड्काले दाङको घोराही उपमहानगरपालिका–१४ झिँगौरामा गरेको स्ट्रबेरीखेती सोचेभन्दा पनि राम्रो हुँदै गएको उनको भनाइ छ । किसान खड्काले भने, 'कृषिसम्बन्धी अध्ययन गरेको र आफ्नै ठाउँमा केही गर्नुपर्छ भन्ने उद्देश्यले आठ वर्षअघि कृषि फार्म स्थापना गरेर पुष्प व्यावसाय गर्दै आएको थिएँ, विगत दुई/तीन वर्षदेखि भने व्यावसायिक रूपमा स्ट्रबेरीखेती पनि गर्दै आएको छु ।' उनले घोराहीस्थित झिँगौरामा रहेको स्वर्गद्वारी आश्रमको जग्गा भाडामा लिएर व्यावसायिक स्ट्रबेरीखेती गर्दै आएका छन । दाङ एग्रोमार्ट कृषि फार्ममार्फत उनले चाडपर्वको समयमा सयपत्री फूलको पनि खेती गर्छन् भने गर्मी मौसममा खरबुजाको पनि व्यावसायिक खेती गर्दै आएका छन । स्ट्रबेरी फल स्वादिलोसँगै पौष्टिक गुणले समेत राम्रो फल मानिने र बिक्रीका लागि समस्या नहुने भन्दै खड्काले भने्, 'बिरुवा ल्याउँदा, थोपा सिँचाइका लागि मल्चिङ विधि अपनाउँदा सुरुमा रु आठ लाख बढी खर्च भएको छ । भदौको अन्तिमतिर रोपेका बिरुवाले अहिले उत्पादन दिएको र फल बिक्री भइरहेको छ । यसले अझै राम्रो आम्दानी दिने आशा छ ।' कृषि ज्ञान केन्द्र दाङका सूचना अधिकारी तथा कृषि अर्थविज्ञ पृथ्वीराज लामिछानेले उत्पादन भएको स्ट्रबेरी दैनिक बिक्री गर्न सकियो भने राम्रो हुने बताए । जिल्लामा बजार सानो भएको हँदा विशेष गरेर प्याकिङ र ढुवानीमा सावधानी अपनाउन आवश्यक रहेको उनको भनाइ छ । टिपेर धेरै दिनसम्म प्याकिङमा राख्दा बिगे्रर खेर जाने सम्भावना हुने हुँदा किसानले ख्याल गर्नुपर्ने बताए । जिल्लाको हावा, पानी, माटो सबै राम्रो रहेको बताउँदै उनले भने, 'स्ट्रबेरी चिसो ठाउँमा हुनेमध्येको फलफूलको बिरुवा हो, आजभोलिको समय राम्रो हुन्छ ।' जिल्लामा व्यावसायिक रूपमा धेरै खेती नगरेको भए पनि कहीँकतै घरका गमलामा थोरैथोरै लगाउने गरेको उनको भनाइ छ । रासस

किमाथाङ्का अरुण जलविद्युत स्वदेशी पुँजीमै निर्माण हुने, ९८ अर्बको वित्तीय मोडालिटी तयार

काठमाडौं । संखुवासभाको भोटकोला गाउँपालिका-२ मा पहिचाहन गरिएको ४५४ मेगावाटको किमाथाङ्का अरुण अर्धजलाशययुक्त जलविद्युत आयोजना स्वदेशी पूँजीमा निर्माण गर्ने गरी  लगानी ढाँचा -मोडालिटी तयार भएको छ ।   निर्माण अवधिको व्याजसहित ९७ अर्ब ९४ करोड रुपैयाँ अनुमानित लागत रहेको आयोजना सरकार र सरकारी निकायहरु संस्थापक रहेको विद्युत उत्पादन कम्पनील आफैंले गर्नेछ । आयोजनाको कुल लागतमध्ये ७० प्रतिशत अर्थात ६८ करोड ५५ लाख ऋणबाट र ३० प्रतिशत अर्थात २९ अर्ब ३८ स्वःपुँजी (इक्विटी)बाट जुटाउने गरी वित्तीय व्यवस्थापनको मोडालिटी तयार गरिएको छ ।  हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलप्मेन्ट कम्पनी (एचआइडिसिएल), कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष, बीमा कम्पनीहरु र बैंक तथा वित्तीय संस्थाको सहवित्तीयकरणमार्फत ऋण लिने प्रस्ताव गरिएको छ । इक्विटीबाट प्राप्त हुने रकम कम्पनीका संस्थापक र गैह्रआवासीय तथा वैदेशिक रोजगारीमा रहेका नेपाली, आयोजना प्रभावित जिल्लाका स्थानीय बासिन्दा,अतिविपन्न परिवारका सदस्य र सर्वसाधारणलाई सेयर निष्कासन गरी संकलन गरिनेछ ।  ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले वित्तीय विश्लेषणसहित तयार पारिएको प्रस्तावित लगानी मोडालिटीको जानकारी लिंदै आयोजनाको अनुमानित लागतलाई अद्यावधिक गरी सोही बमोजिम तत्काल वित्तीय व्यवस्थापनको प्रक्रिया अगाडि बढाउन निर्देशन दिए । विद्युत उत्पादन कम्पनीसँग विद्युत आयोजनाहरुको अनुमतिपत्र (लाइसेन्स) रहेको तर कुनै पनि आयोजना निर्माणमा जान नसकेको उल्लेख गर्दै मन्त्री घिसिङले कम्पनीको दीर्घकालिन आम्दानी तथा दिगोपनका लागि पनि किमाथाङ्का आयोजना आफैंले बनाउनु पर्ने बताए ।  घिसिङले आयोजनाको प्रस्तावित लगानी ढाँचा र त्यस बमोजिम कम्पनीको संस्थागत इक्विटी योजनालाई तत्काल कम्पनी सञ्चालक समितिबाट पारित गरी पेश गर्न निर्देशन दिए । किमाथाङ्का अरुणको अध्ययन तथा पूर्वनिर्माण खर्च ७३ करोड १४ लाख रुपैयाँ खर्च भएको छ । आयोजनाको कार्यालय तथा कर्मचारी आवास (क्याम्प) निर्माणका लागि जग्गा अधिग्रहण भइसकेको छ । बाँध, जलाशय, विद्युतगृहलगायतका संरचना निर्माणका लागि आवश्यक पर्ने जग्गा अधिग्रहणका लागि मुआब्जा तथा क्षतिपूर्ति निर्धारण भइसकेको छ । यसका लागि करिब ४५ करोड रुपैयाँ लाग्नेछ ।  आयोजनाबाट वार्षिक रुपमा २ अर्ब ६९ करोड युनिट (२६९०.९७ गिगावाट आवर) विद्युत उत्पादन हुनेछ । यसमध्ये हिउँदयामको पिक तथा अफ पिक ऊर्जा क्रमश : ४७ करोड ३१ लाख तथा ३५ करोड ३३ लाख र वर्षायामको १ अर्ब ८६ करोड ४६ लाख युनिट रहेको छ । उक्त विद्युत बिक्रीबाट वार्षिक रुपमा १६ अर्ब ९१ करोड रुपैयाँ आम्दानी हुनेछ । विद्युत उत्पादन कम्पनीमा सरकारको ३० प्रतिशत, नेपाल विद्युत प्राधिकरण, कर्मचारी सञ्चय कोष तथा नेपाल टेलिकमको १०-१०, नागरिक लगानी कोषको ५, एचआइडिसिएल ४, राष्ट्रिय जीवन बीमा कम्पनीको २ प्रतिशत संस्थापक शेयर स्वामित्व रहेको छ । सर्वसाधारणका लागि २९ प्रतिशत सेयर छुट्याइएको छ ।