बितेका १२ घण्टामा सबैभन्दा बढी वर्षा पर्सामा
काठमाडौं । बितेका १२ घण्टामा सबैभन्दा बढी वर्षा पर्साको वीरगञ्जमा भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार वीरगञ्जमा १४३ मिलिमिटर वर्षा भएको छ । बारामा १४०.४, रौतहटको गौर वर्षा मापन केन्द्रमा १२९, रौतहटकै महेशपुरमा १२४ मिलिमिटर वर्षा भएको छ । विभागले वारा र पर्सामा भएको वर्षा अति भारी भएको जनाउँदै देशको मध्य क्षेत्रमा बढी वर्षा भएको र तराइ केन्द्रित रहेको, नवलपरासीदेखि पूर्व धनकुटासम्म वर्षा भएको बताएको छ । यो अवधिमा सिन्धुपाल्चोकदेखि दोलखासम्म र काठमाडौं उपत्यकालगायत १४ वटा जिल्लामा ५० मिलिमिटरभन्दा माथि वर्षा भएको छ । पचास भन्दा बढी मापन केन्द्रहरुमा ३० मिलिमिटरदेखि ५० मिलिमिटरसम्म वर्षा भएको छ । हाल देशभर बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाका कारण वर्षा भइरहेको तथा फेरि अर्को प्रणाली पनि सक्रिय हुने सम्भावना बढेकाले आज राति पनि धेरै स्थानमा वर्षा हुने विभागले जनाएको छ ।
पुनर्निर्माण कोषको आधिकारिक खातामा मात्रै रकम जम्मा गर्न अनुरोध
काठमाडौं । अर्थ मन्त्रालयले भौतिक पूर्वाधार पुनर्निर्माण कोषको आधिकारिक खातामा मात्र रकम जम्मा गर्न अनुरोध गरेको छ । मन्त्रालयले आज विज्ञप्ति जारी गरि स्वदेश तथा विदेशमा यस प्रयोजनका लागि सङ्कलित रकम दुरूपयोग हुनबाट रोक्न र पारदर्शी तथा जवाफदेही ढङ्गले परिचालन गर्न भौतिक पूर्वाधार पुनर्निर्माण कोषको नाममा रहेको राष्ट्रिय वाणिज्य बैङ्कको खाता नं. १९६०१००१०२०७०००४ मा मात्र रकम जम्मा गर्न अनुरोध गरेको हो । सुशासन, सेवा प्रवाहमा सुधार र भ्रष्टाचार मुक्त नेपालको पवित्र माग सहित यही भाद्र २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा भएका सहिद परिवारलाई राहत र घाइते व्यक्तिको उपचारका लागि स्वदेश तथा विदेशमा सङ्कलित सहयोग रकम विभिन्न गैर सरकारी संघ संस्थाहरूमा जम्मा भइरहेको मन्त्रालयले जनाएको छ ।
मुग्लिङ-नागढुङ्गा सडकखण्ड अन्तर्गत फिस्लिङमा पहिरो, सडक अवरुद्ध
काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिका-३ मा पहिरो खस्दा दुईतर्फी सडक बन्द भएको छ । शुक्रबार साँझदेखि परेको वर्षाका कारण १:४५ बजे मुग्लिङ-नागढुङ्गा सडकखण्ड अन्तर्गत फिस्लिङमा पहिरो खसेको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार पहिरो पन्छाउनका लागि कम्तीमा ३ घण्टा लाग्ने छ । पहिरो पन्छाउने काम सुरु गरिएको उनले बताए । नारायणगढ-मुग्लिङ सडक खण्डमा भने अहिलेसम्म अवरोध नभएको उनले जानकारी दिनुभयो । निरन्तर वर्षा भइरहेकाले सावधानी पूर्वक यात्रा गर्न स्थानीय प्रशासनले आग्रह गरेको छ ।
आइतबार र सोमबार बिदा दिने सरकारको निर्णय
काठमाडौं । सरकारले यही असोज १९ र २० गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । विपद् व्यवस्थापन र अत्यावश्यक सेवासँग सम्बन्धित कार्यालयबाहेक नेपाल राज्यभर सार्वजनिक बिदा दिने निर्णय भएको हो । गृह मन्त्रालयले आज सूचना जारी गरी वर्षाका कारण उत्पन्न हुनसक्ने बाढी, डुबान, भू-क्षयलगायत जोखिमका साथै सडक तथा हवाई यातायात प्रभावित हुने र मानवीय क्षतिसमेत हुनसक्ने सम्भावनालाई दृष्टिगत गरी भोलि आइतबार र पर्सी सोमबार देशभर सार्वजनिक बिदा दिने निर्णय भएको बताएको हो । मन्त्रालयले जल तथा मौसम विज्ञान विभाग तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त सूचना अनुसार असोज १८ देखि २० गतेसम्म देशका विभिन्न स्थानमा भारीदेखि अतिभारी वर्षाको सम्भावना रहेको जनाउँदै हाल देशका विभिन्न भागमा वर्षासमेत भइरहेको हुँदा विशेष सतर्कता अपनाउन अनुरोध पनि गरेको छ ।
सरकारी कार्यालयका प्रमुखलाई आजै कार्य स्थल पुग्न निर्देशन
काठमाडौं । सरकारी कार्यालयका प्रमुखहरूलाई आजै कार्य स्थल पुग्न निर्देशन दिएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रालयका जिल्ला स्थित कार्यालय प्रमुखहरूलाई असोज १८ भित्र अनिवार्य रूपमा कार्य स्थल पुग्न निर्देशन दिएको हो । जल तथा मौसम विज्ञान विभागले असोज २० गतेसम्म वर्षाको सम्भावना रहेकाले आ-आफ्नो मन्त्रालय अन्तर्गतका जिल्लास्थित कार्यालय प्रमुखहरूलाई असोज १८ अर्थात् आजसम्ममा अनिवार्य रूपमा कार्यस्थल पुग्न सक्ने व्यवस्था मिलाउन भनिएको हो । कार्य स्थल पुगेर पूर्वतयारी र प्रतिकार्यको काममा जुट्नका लागि निर्देशन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट निर्देशन प्राप्त भएअनुसार सूचना निकालेको संघीय मामिला मन्त्रालयले जनाएको छ । ‘सबै जिल्ला समन्वय अधिकारी तथा स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूले निर्देशन कार्यान्वयन हुने व्यवस्था गर्न/गराउन हुन अनुरोध छ,’ मन्त्रालयका उपसचिव भुवनेश्वर लामिछानेले जारी गरेको सूचनामा उल्लेख छ ।
हमास शान्ति वार्ताका लागि तयार, आक्रमण रोक्न इजरायललाई ट्रम्पको आग्रह
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायललाई प्यालेस्टिनी क्षेत्रमा आक्रमण रोक्न गरेको आव्हानको स्वागत गर्दै हमासले गाजामा युद्धको अन्त्य गर्न र बन्धकहरूलाई मुक्त गर्न तत्काल वार्ता सुरु गर्न तयार रहेको शुक्रबार बताएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको समर्थनमा ट्रम्पको शान्ति प्रस्तावले लामो द्वन्द्व र शत्रुता रोक्न, ७२ घण्टा भित्र बन्धकहरूको रिहाइ गर्ने गाजाबाट क्रमिक इजरायली फिर्ती र हमासको निशस्त्रीकरणको आह्वान गरेको छ । योजनाले हमास र अन्य गुटहरूको ‘गाजामा कुनै भूमिका छैन’ भन्ने कुरामा जोड दिँदै यस क्षेत्रको प्रशासन ट्रम्पको नेतृत्वमा रहेको युद्धको संक्रमणकालीन अवस्था पछि सम्बन्धित निकायले लिने जनाएको छ । गाजा पट्टीमा इजरायली आक्रमणको तत्काल अन्त्यबारे राष्ट्रपति ट्रम्पको शान्ति योजना उत्साहजनक रहेको हमासका प्रवक्ता ताहेर अल-नुनुलाई उदृत गर्दै एएफपीले जनाएको छ । हमास कैदी आदान-प्रदान गर्न, युद्धको अन्त्य गर्न र गाजा पट्टीबाट (इजरायली) सेनाको फिर्ती सुनिश्चित गर्न तुरुन्तै वार्ता सुरु गर्न तयार रहेको उनले बताए । नेतान्याहुको कार्यालयले जवाफमा इजरायलले सबै बन्धकहरूको रिहाइका लागि ट्रम्पको योजनाको पहिलो चरणको तत्काल कार्यान्वयनका लागि तयारी गरिरहेको जनाएको छ । राष्ट्रपति ट्रम्पको दृष्टिकोणसँगको समन्वयमा इजरायलले तय गरेको सिद्धान्त अनुसार युद्ध अन्त्य गर्न पूर्ण सहयोगी भुमिका खेल्नै नेतान्याहुको कार्यालयले जनाएको छ । संक्षिप्त भिडियो सन्देश जारी गर्दै ट्रम्पले गाजा वार्तामा सबै पक्षलाई निष्पक्ष व्यवहार गरिने भन्दै यो घटनाक्रम भएको दिनलाई विशेष दिनको रूपमा प्रशंसा गरे । शुक्रबारको घटनाक्रमले अन्तर्राष्ट्रिय समुदायबाट आशावादी बनाई प्रतिक्रियाको लागि आकर्षित गरेको छ । प्रमुख मध्यस्थकर्ता कतार र इजिप्ट दुवैले हमासको बयानलाई स्वागत गर्दै यसले द्वन्द्वको अन्त्य सुनिश्चित गर्न मद्दत गर्ने आशा व्यक्त गरेका छन् । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले “सबै पक्षलाई यो अवसरको उपयोग गर्न आग्रह गरेको उहाँका प्रवक्ताले बताए । फ्रान्सका इमानुएल म्याक्रोन, जर्मनीका फ्रेडरिक मेर्ज र बेलायतका कीर स्टारमर सबैले यसलाई शान्तितर्फको ठूलो कदमका रूपमा स्वागत गरेका छन् । टर्कीले हमासको प्रतिक्रियाले गाजामा तत्काल युद्ध विराम स्थापना गर्ने अवसर प्रदान गरेको बताएको छ ।
विपद् व्यवस्थापनमा खटिए महानगर प्रहरी
काठमाडौं । गएरातिदेखि निरन्तर वर्षा भएपछि काठमाडौं महानगर प्रहरीले विपद् व्यवस्थापन कार्यमा १०० जना महानगर प्रहरी खटाएको छ । कुनै बस्तीमा डुबानका कारण समस्या भयो भने नजिकैको सुरक्षित विद्यालयमा सार्ने तयारी समेत महानगरले गरेको जनाइएको छ । कुनै समस्या परेमा तुरुन्त सम्पर्क गर्न पनि महानगरले आग्रह गरेको छ । विपद् व्यवस्थापन विभागका प्रमुख विष्णुप्रसाद जोशीका अनुसार गएरातिदेखिको निरन्तर वर्षाका कारण काठमाडौंलगायत देशका अधिकांश स्थानको अवस्था संवेदनशील रहेको छ । काठमाडौंको हकमा भने नगर प्रहरी परिचालन गरीसकिएको छ भने आवश्यकताअनुसार अन्य तयारी अवस्थामा रहेको प्रमुख जोशीले जानकारी दिए । महानगरले जोखिमयुक्त बस्तीमा सावधानी अपनाउन र अत्यावश्यक कामबाहेक अन्य अवस्थामा घरबाहिर नजान आग्रह गरेको छ । महानगरका जनप्रतिनिधि सम्भावित जोखिमयुक्त स्थानको अवलोकनमा खटिएको पनि जनाइएको छ । विशेषगरी सोल्टी मोडको पश्चिमतर्फ हनुमन्ते खोलाले बाटो भासिएको छ र खोलाले घर नजिक करिब पाँच फिट मात्र दूरी छाडेको छ । अहिले त्यहाँ थप क्षति रोक्न महानगर प्रहरी बल र विपद् व्यवस्थापन विभागको समन्वयमा नदी कटान रोक्न बोरामा ग्राभेल प्रयोग गरेर रोकथाम गर्ने प्रयास भइरहेको जोशीले बताए ।
सहयोगका निम्ति तयार रहन एमालेको आग्रह
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले सम्भावित विपद् व्यवस्थापनका निम्ति तयार रहन पार्टीका कार्यकर्तालाई आग्रह गरेका छन् । महासचिव पोखरेलले आज अपिल जारी गर्दै जन सुरक्षालाई प्राथमिकता दिई सरोकार भएका राज्यका निकायसँग सहकार्य गर्न स्थानीय पार्टी कमिटीलाई सक्रिय रहन निर्देशन दिए । साथै उनले जनतालाई सचेत रहँदै परस्पर सहयोग र एकताको भावनाका साथ विपद् व्यवस्थापनमा सहभागी हुन आह्वान गरे । ‘यो विपद्को बेला प्रत्येक जिम्मेवार नागरिक र हाम्रो पार्टी संरचना जनताको सुरक्षामा अग्रपङ्क्तिमा रहनुपर्छ । बाढी, पहिरो र डुबानबाट जोखिममा परेकालाई तत्काल सहयोग र उद्धार गर्न तयार रहन आग्रह गर्दछु,’ महासचिव पोखरेलले भने ।