विकासन्युज

पृथ्वीराजमार्ग खुल्यो

मुग्लिन । पहिरोेले अवरुद्ध भएको पृथ्वीराजमार्ग आज अपराह्नदेखि सञ्चालनमा आएको छ । इलाका प्रहरी कार्यालयका अनुसार पहिरो पन्छाएर सडक सञ्चालन गरिएको हो ।  चितवनको इच्छाकामना–३ फिस्लिङमा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो । सडक सञ्चालन भएसँगै बाटोमा रोकिएका सवारीसाधन प्रस्थान गरेका छन् ।  

नदी किनारका बस्तीलाई सतर्क रहन मन्त्री घिसिङको आग्रह

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात, र सहरी विकास मन्त्री कुलमान घिसिङ तथा सहरी विकास सचिव गोपाल सिग्देलले चोभार–गल्छी क्षेत्रको निरीक्षण गरेका छन् । उक्त गल्छीबाट काठमाडौं उपत्यकाका नदीहरू एकीकृत भएर निस्कने भएकाले सो क्षेत्रको निरीक्षण गरिएको हो । मन्त्री घिसिङले धोवीखोला कोरिडोर, मनोहरा कोरिडोर, विष्णुमती कोरिडोर, बागमती नदी कोरिडोर लगायतका क्षेत्रहरूको अवलोकन गरी तिनको वरिपरिका बस्तीहरूको अवस्थाबारे जानकारी लिए । सो क्रममा उनले नदी किनारका बस्तीका बासिन्दाहरूलाई उच्च सतर्कताकासाथ सुरक्षित भएर बस्न आग्रह गरेका छन् ।  

गुल्मीको पश्चिमी क्षेत्रमा एकैपटक ४ पक्की पुल निर्माण, नागरिकमा खुसी

गुल्मी । गुल्मीमा मदन भण्डारी राजमार्ग योजना कार्यालयअन्तर्गत पश्चिमी क्षेत्रमा चार पक्की पुल निर्माणसँगै त्यस क्षेत्रका नागरिकलाई यतिबेला ठूलो खुसी मिलेको छ । यस पटकदेखि चाडबाडको समयमा खोला तरेर जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता लामो समयको प्रतीक्षापछि सधैँका लागि टरेको छ । जिल्लाको इस्मा गाउँपालिका, धुर्कोट गाउँपालिका र मालिका गाउँपालिका क्षेत्रभित्र रहेका खोलामा चारवटा पक्की पुल निर्माण भएसँगै त्यस क्षेत्रमा नागरिक निकै खुसी बनेका छन् । दसैँ, तिहार जस्ता चाडबाडको समयमा घरमा आउँदा सधैँ खोला तर्नुुपर्ने चिन्ताले पिरोलिरहने त्यस क्षेत्रका नागरिकले पुल बनेपछि सहज तरिकाबाट यात्रा गर्न पाएका छन् । उक्त क्षेत्रमा लामो समयको प्रयासपछि आर्थिक वर्ष २०८१/८२ मा एकै पटक चार पक्की पुल निर्माणसम्पन्न भएर सञ्चालनमा आएका हुन् । सञ्चालनमा आएका पक्की पुलमा फूलबारी खोला, घमिर खोला, हुलाके खोला र धनार्जी खोला गरी चारवटा रहेका छन । निर्माणसम्पन्न गरिएका पुलमा फूलबारी खोलाको पुल रु तीन करोड ३२ लाख ६८ हजार र घमिर खोला पुल रु तीन करोड १३ लाख ८४ हजारमा निर्माण सम्पन्न गरिएको हो । उक्त पुल निर्माणको काम पन्थ निर्माण सेवाद्वारा गरिएको थियो । त्यसैगरी सुनिल समिर निर्माण सेवाद्वारा हुलाके खोला पुल रु पाँच करोड ७९ लाख ५३ हजार र धनार्जी खोला पुल रु सात करोड ४८ हजार लागतमा निर्माणसम्पन्न भएकोे मदन भण्डारी राजमार्ग योजना कार्यालयका इन्जिनियर एवं सूचना अधिकारी होमनाथ पौडेलले जानकारी दिए । मदन भण्डारी राजमार्गअन्तर्गत तम्घास–सिमलटारी सडक खण्डमा खोलामा पक्की पुल नहुँदा वर्षातको समयमा त्यस क्षेत्रका नागरिकले ठूलो समस्या भोग्दै आउनुपरेको स्थानीय कृष्णप्रसाद अर्यालले बताए । पुल नहुँदा वर्षौंदेखि खोलाको बीचबाट सवारीसाधन सञ्चालन गर्नुपर्ने बाध्यता थियो । वर्षातको समयमा बाढी आउँदा कतिपय सवारीसाधन खोला तर्ने क्रममा बीचैमा अड्किने र कतिपय समयमा बाढीले बगाउने जस्ता समस्या झेल्नुपर्ने अवस्था थियो । त्यसकारण यात्रुलाई वर्षौंदेखि आवत–जावत गर्न सास्ती व्यहोर्दै आउनुपरेको थियो । पुल निर्माण नहुँदा उक्त क्षेत्रका राजनीतिक दल र नेतृत्वले समेत नागरिकबाट पटकपटक ठूलै आलोचना खेप्नुपरेको थियो । अहिले चारवटा पक्की पुल एकैचोटि निर्माणसम्पन्न भएर सहज रुपमा सवारीसाधन सञ्चालन भएपछि त्यस क्षेत्रका नागरिक निकै खुसी बनेको इस्मा–१ गुरुवाका स्थानीय दधिराम पन्थीले बताए । उक्त पक्की पुल निर्माण भएपछि जिल्लाको पश्चिमी क्षेत्रका चार स्थानीय तहसँगै बागलुङ र प्यूठानसम्मका नागरिकलाई समेत सहज बनेको मालिका–६ का पूर्ववडाध्यक्ष शोभाखर गिरीले बताए । 'पुल नहुँदा नागरिकले लामो समयदेखि पटकपटक समस्या र दुर्घटनाको जोखिम व्यहोर्दै आउनुपर्ने बाध्यता जस्तै बनेको थियो, अब खोलामा पक्की पुल बनेपछि विगतका समस्या समाधान गरिदियो, कालोपत्र सडकसँगै पुल निर्माण भएपछि यस क्षेत्रमा विकासले पनि नयाँ आयाम थप्ने भएको छ', गिरीले भने । तम्घास–सिमलटारी खण्डमा सडक र पुल निर्माण भएपछि छल्दी पनाहा, झरना, हुलाके, धनार्जी, चौरासी, राङ्दल, फुलबारी, सिमलटारीलगायतका स्थानमा व्यापारिक चहलपहल बढ्न थालेको इस्मा–६ का अगुवा कृषक कृष्णप्रसाद घिमिरेले बताए । जिल्लाको आधाजसो जनसङ्ख्या ओगटेको पश्चिमी क्षेत्रमा पुल निर्माण भएसँगै त्यस क्षेत्रका नागरिकमा सहज यात्रासँगै थप खुसी पनि थपिएको छ । रासस

बितेका १२ घण्टामा सबैभन्दा बढी वर्षा पर्सामा

काठमाडौं । बितेका १२ घण्टामा सबैभन्दा बढी वर्षा पर्साको वीरगञ्जमा भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार वीरगञ्जमा १४३ मिलिमिटर वर्षा भएको छ । बारामा १४०.४, रौतहटको गौर वर्षा मापन केन्द्रमा १२९, रौतहटकै महेशपुरमा १२४ मिलिमिटर वर्षा भएको छ ।   विभागले वारा र पर्सामा भएको वर्षा अति भारी भएको जनाउँदै देशको मध्य क्षेत्रमा बढी वर्षा भएको र तराइ केन्द्रित रहेको, नवलपरासीदेखि पूर्व धनकुटासम्म वर्षा भएको बताएको छ । यो अवधिमा सिन्धुपाल्चोकदेखि दोलखासम्म र काठमाडौं उपत्यकालगायत  १४ वटा जिल्लामा ५० मिलिमिटरभन्दा माथि वर्षा भएको छ । पचास भन्दा बढी मापन केन्द्रहरुमा ३० मिलिमिटरदेखि ५० मिलिमिटरसम्म वर्षा भएको छ ।  हाल देशभर बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाका कारण वर्षा भइरहेको तथा फेरि अर्को प्रणाली पनि सक्रिय हुने सम्भावना बढेकाले आज राति पनि धेरै स्थानमा वर्षा हुने विभागले जनाएको छ । 

पुनर्निर्माण कोषको आधिकारिक खातामा मात्रै रकम जम्मा गर्न अनुरोध

काठमाडौं । अर्थ मन्त्रालयले भौतिक पूर्वाधार पुनर्निर्माण कोषको आधिकारिक खातामा मात्र रकम जम्मा गर्न अनुरोध गरेको छ ।  मन्त्रालयले आज विज्ञप्ति जारी गरि स्वदेश तथा विदेशमा यस प्रयोजनका लागि सङ्कलित रकम दुरूपयोग हुनबाट रोक्न र पारदर्शी तथा जवाफदेही ढङ्गले परिचालन गर्न भौतिक पूर्वाधार पुनर्निर्माण कोषको नाममा रहेको राष्ट्रिय वाणिज्य बैङ्कको खाता नं. १९६०१००१०२०७०००४ मा मात्र  रकम जम्मा गर्न अनुरोध गरेको हो ।  सुशासन, सेवा प्रवाहमा सुधार र भ्रष्टाचार मुक्त नेपालको पवित्र माग सहित यही भाद्र २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा भएका सहिद परिवारलाई राहत र घाइते व्यक्तिको उपचारका लागि स्वदेश तथा विदेशमा सङ्कलित सहयोग रकम विभिन्न गैर सरकारी संघ संस्थाहरूमा जम्मा भइरहेको मन्त्रालयले जनाएको छ ।  

मुग्लिङ-नागढुङ्गा सडकखण्ड अन्तर्गत फिस्लिङमा पहिरो, सडक अवरुद्ध

काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिका-३ मा पहिरो खस्दा दुईतर्फी सडक बन्द भएको छ । शुक्रबार साँझदेखि परेको वर्षाका कारण १:४५ बजे मुग्लिङ-नागढुङ्गा सडकखण्ड अन्तर्गत फिस्लिङमा पहिरो खसेको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार पहिरो पन्छाउनका लागि कम्तीमा ३ घण्टा लाग्ने छ । पहिरो पन्छाउने काम सुरु गरिएको उनले बताए । नारायणगढ-मुग्लिङ सडक खण्डमा भने अहिलेसम्म अवरोध नभएको उनले जानकारी दिनुभयो । निरन्तर वर्षा भइरहेकाले सावधानी पूर्वक यात्रा गर्न स्थानीय प्रशासनले आग्रह गरेको छ ।

आइतबार र सोमबार बिदा दिने सरकारको निर्णय

काठमाडौं । सरकारले यही असोज १९ र २० गते  सार्वजनिक बिदा दिने निर्णय गरेको छ । विपद् व्यवस्थापन र अत्यावश्यक सेवासँग सम्बन्धित कार्यालयबाहेक नेपाल राज्यभर सार्वजनिक बिदा दिने निर्णय भएको हो । गृह मन्त्रालयले आज सूचना जारी गरी वर्षाका कारण उत्पन्न हुनसक्ने बाढी, डुबान, भू-क्षयलगायत जोखिमका साथै सडक तथा हवाई यातायात प्रभावित हुने र मानवीय क्षतिसमेत हुनसक्ने सम्भावनालाई दृष्टिगत गरी भोलि आइतबार र पर्सी सोमबार देशभर सार्वजनिक बिदा दिने निर्णय भएको बताएको हो ।  मन्त्रालयले जल तथा मौसम विज्ञान विभाग तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त सूचना अनुसार असोज १८ देखि २० गतेसम्म देशका विभिन्न स्थानमा भारीदेखि अतिभारी वर्षाको सम्भावना रहेको जनाउँदै हाल देशका विभिन्न भागमा वर्षासमेत भइरहेको हुँदा विशेष सतर्कता अपनाउन अनुरोध पनि गरेको छ । 

सरकारी कार्यालयका प्रमुखलाई आजै कार्य स्थल पुग्न निर्देशन

काठमाडौं । सरकारी कार्यालयका प्रमुखहरूलाई आजै कार्य स्थल पुग्न निर्देशन दिएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रालयका जिल्ला स्थित कार्यालय प्रमुखहरूलाई असोज १८ भित्र अनिवार्य रूपमा कार्य स्थल पुग्न निर्देशन दिएको हो ।  जल तथा मौसम विज्ञान विभागले असोज २० गतेसम्म वर्षाको सम्भावना रहेकाले आ-आफ्नो मन्त्रालय अन्तर्गतका जिल्लास्थित कार्यालय प्रमुखहरूलाई असोज १८ अर्थात् आजसम्ममा अनिवार्य रूपमा कार्यस्थल पुग्न सक्ने व्यवस्था मिलाउन भनिएको हो ।  कार्य स्थल पुगेर पूर्वतयारी र प्रतिकार्यको काममा जुट्नका लागि निर्देशन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट निर्देशन प्राप्त भएअनुसार सूचना निकालेको संघीय मामिला मन्त्रालयले जनाएको छ । ‘सबै जिल्ला समन्वय अधिकारी तथा स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूले निर्देशन कार्यान्वयन हुने व्यवस्था गर्न/गराउन हुन अनुरोध छ,’ मन्त्रालयका उपसचिव भुवनेश्वर लामिछानेले जारी गरेको सूचनामा उल्लेख छ ।