विकासन्युज

१८० एमएल प्याकसहित ‘द गभर्नर स्मोकवुड कास्क’ ह्विस्की बजारमा

काठमाडौं । सागर डिस्टिलरी लिमिटेडले ‘द गभर्नर स्मोकवुड कास्क’ ह्विस्कीको ७५० एमएल प्याक सफल भएपछि सोही ब्रान्डको १८० एमएल सानो प्याक बजारमा ल्याएको छ । प्रिमियम ब्लेन्डेड ह्विस्की पोर्टफोलियोलाई विस्तार गर्ने उद्देश्यसहित ल्याइएको नयाँ प्याकले उपभोक्तालाई ब्रान्डको स्वाद र शिल्पकला अनुभव गर्न सहज बनाउने कम्पनीले जनाएको छ । १० वर्षसम्म परिपक्व गरिएका हाइल्याण्ड र स्पेसाइड स्कच माल्टबाट तयार गरिएको ‘द गभर्नर’ ह्विस्कीले ‘दुई प्रख्यात माल्ट, एक उत्कृष्ट ब्लेन्ड’ भन्ने मूल दर्शनलाई प्रतिबिम्बित गर्ने बताइएको छ । हाइल्याण्ड माल्टले गहिराइ र संरचना दिने तथा स्पेसाइड माल्टले स्मूथनेस र सन्तुलन थप्ने विशेषता यसमा रहेको छ । स्मोकवुड कास्कमा तयार गरिएको यस ह्विस्कीमा भ्यानिला, ओक र क्यारामेलका नोटसँगै सौम्य स्मोक स्वाद पाइने कम्पनीको दाबी छ । नयाँ प्याक सार्वजनिकबारे प्रतिक्रिया दिँदै सागर डिस्टिलरी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सौरभ कारंजितले १८० एमएल प्याकले ब्रान्डको गुणस्तर कायम राख्दै उपभोक्ताका लागि अझ सहज पहुँच सुनिश्चित गर्ने बताए । ‘द गभर्नर स्मोकवुड कास्क’ ह्विस्कीको १८० एमएल प्याक अब देशभर खुद्रा मूल्य ७४५ रुपैयाँमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

सुकेको खुर्सानी किलोको ४२० रुपैयाँ, यस्तो छ कृषिउपजको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ११०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १२०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ८७, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु १०८, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ९७, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ९५, आलु रातो प्रतिकिलो रु ३५, आलु रातो (भारतीय) प्रतिकिलो रु २७, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ५५ रहेको छ । यस्तै, गाजर (लोकल) प्रतिकिलो रु ८०, गाजर (तराई) प्रतिकिलो रु ७०, बन्दा (लोकल) प्रतिकिलो रु ४०, बन्दा (तराई) प्रतिकिलो रु ३५, बन्दा (नरिबल) प्रतिकिलो रु ३५, काउली स्थानीय प्रतिकिलो रु ६०, काउली स्थानीय (ज्यापु) प्रतिकिलो रु ८०, काउली तराई प्रतिकिलो रु ५०, रातो मूला प्रतिकिलो रु ४०, सेतो मूला (लोकल) प्रतिकिलो रु २०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ४०, भन्टा लाम्चो प्रतिकिलो रु ७०, भन्टा डल्लो प्रतिकिलो रु ८०, मकै बोडी प्रतिकिलो रु ७० कायम भएको छ । त्यसैगरी, मटरकोसा प्रतिकिलो रु १००, घिउ सिमी (लोकल) प्रतिकिलो रु १००, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ८०, घिउ सिमी (राजमा) प्रतिकिलो रु १६०, टाटे सिमी प्रतिकिलो रु ८०, तिते करेला प्रतिकिलो रु ११०, लौका प्रतिकिलो रु ७०, परबर (तराई) प्रतिकिलो रु १६०, घिरौँला प्रतिकिलो रु ११०, फर्सी पाकेको प्रतिकिलो रु ४०, हरियो फर्सी (लाम्चो) प्रतिकिलो रु ४०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ४५, सलगम प्रतिकिलो ९०, भिन्डी प्रतिकिलो ११०, सखरखण्ड प्रतिकिलो ७५, बरेला प्रतिकिलो रु ६०, पिँडालु प्रतिकिलो रु ८० र स्कुस प्रतिकिलो रु ३० कायम गरिएको छ । रायोसाग प्रतिकिलो रु ५०, पालुङ्गो साग प्रतिकेजी रु ७०, चमसुर प्रतिकिलो रु ८०, तोरीको साग प्रतिकिलो रु ५०, मेथीको साग प्रतिकिलो रु १००, हरियो प्याज प्रतिकिलो रु ६०, बकुला प्रतिकिलो रु ११०, तरुल प्रतिकिलो रु ७०, च्याउ (कन्य) प्रतिकिलो रु १२०, च्याउ (डल्ले) प्रतिकिलो रु ३८० र कुरिलो प्रतिकिलो रु २००० निर्धारण गरिएको छ । ब्रोकाउली प्रतिकिलो रु १२०, चुकुन्दर प्रतिकिलो रु ८०, रातो बन्दा प्रतिकिलो रु २००, जिरीको साग प्रतिकिलो रु १५०, गाँठकोभी प्रतिकिलो रु ८५, सेलरी प्रतिकिलो रु ३००, पार्सले प्रतिकिलो रु ७००, सौफको साग प्रतिकिलो रु ९०, पुदिना प्रतिकिलो रु ५००, गान्टेमुला प्रतिकिलो रु ८०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १२०, तोफु प्रतिकिलो रु १५० र गुन्द्रुक प्रतिकिलो रु ४०० तोकिएको छ । स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३२०, केरा (दर्जन) रु २००, कागती प्रतिकिलो रु ९०, अनार प्रतिकिलो रु ३५०, सुन्तला (नेपाली) प्रतिकिलो रु ११०, तरबुजा हरियो प्रतिकिलो रु १००, मौसम प्रतिकिलो रु ११०, जुनार प्रतिकिलो रु १२०, भुइँकटहर प्रतिगोटा रु १५५, काँक्रो (लोकल) प्रतिकिलो रु १००, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ४०, निबुवा प्रतिकिलो रु ७०, नास्पाती (चाइनिज) प्रतिकिलो रु २३०, मेवा (नेपाली) प्रतिकिलो रु ७०, मेवा (भारतीय) प्रतिकिलो रु १००, लप्सी प्रतिकिलो रु ७५, स्ट्रबेरी प्रतिकिलो रु ५००, किबी प्रतिकिलो रु ३५०, सरिफा प्रतिकिलो रु २०० र एभोकाडो प्रतिकिलो रु ३५० निर्धारण गरिएको छ । यसैगरी अमला प्रतिकिलो रु ७५, अदुवा प्रतिकिलो रु ८०, सुकेको खुर्सानी प्रतिकिलो रु ४२०, खुर्सानी हरियो प्रतिकिलो रु १००, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु १२०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु १००, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो रु ४००, भेडे खुर्सानी प्रतिकिलो रु ९०, हरियो लसुन प्रतिकिलो रु १००, हरियो धनियाँ प्रतिकिलो रु १२०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु ५००, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु २८०, छ्यापी सुकेको प्रतिकिलो रु २००, छ्यापी हरियो प्रतिकिलो रु १८०, माछा सुकेको प्रतिकिलो रु १०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २८०, ताजा माछा (छडी) प्रतिकिलो रु २५०, रूख टमाटर प्रतिकिलो रु २५०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकिलो रु १००० निर्धारण गरिएको छ ।

यस्तो छ बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ५० पैसा र बिक्रीदर १४४ रुपैयाँ १० पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ४८ पैसा र बिक्रीदर १६९ रुपैयाँ १९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ र बिक्रीदर १९३ रुपैयाँ ८१ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८० रुपैयाँ ९४ पैसा र बिक्रीदर १८१ रुपैयाँ ६९ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९५ रुपैयाँ ९४ पैसा र बिक्रीदर ९६ रुपैयाँ ३४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ ७१ पैसा र बिक्रीदर १०५ रुपैयाँ १५ पैसा, सिङ्गापुर डलर एकको खरिददर १११ रुपैयाँ ४८ पैसा र बिक्रीदर ११२ रुपैयाँ ५ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ १६ पैसा र बिक्रीदर नौ रुपैयाँ २० पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ५० पैसा र बिक्रीदर २० रुपैयाँ ५८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ २६ पैसा र बिक्रीदर ३८ रुपैयाँ ४२ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ २६ पैसा र बिक्रीदर ३९ रुपैयाँ ४३ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ५३ पैसा र बिक्रीदर चार रुपैयाँ ५५ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ७ पैसा र बिक्रीदर ३९ रुपैयाँ २४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५१ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ९५ पैसा र बिक्रीदर नौ रुपैयाँ ९९ पैसा, स्विडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ५९ पैसा र बिक्रीदर १५ रुपैयाँ ६६ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ५६ पैसा र बिक्रीदर २२ रुपैयाँ ६५ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ४४ पैसा र बिक्रीदर १८ रुपैयाँ ५१ पैसा, कुवेती दिनार एकको खरिददर ४६६ रुपैयाँ ८ पैसा र बिक्रीदर ४६८ रुपैयाँ २ पैसा, बहराइन दिनार एकको खरिददर ३८० रुपैयाँ ६४ पैसा र बिक्रीदर ३८२ रुपैयाँ २३ पैसा, ओमनी रियाल एकको खरिददर ३७२ रुपैयाँ ७३ पैसा बिक्रीदर ३७४ रुपैयाँ २९ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

पाल्पा सिमेन्टले पुस २५ गतेदेखि आईपीओ बिक्री गर्ने, क-कसले आवेदन दिन पाउँछन् ?

काठमाडौं । पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडले पुस २५ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ बिक्री खुला गर्ने भएको हो ।  कम्पनीले जारी पुँजी १ अर्ब ७५ करोड रुपैयाँको २० प्रतिशत अर्थात् ७५ करोड रुपैयाँको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य दरमा ७५ लाख कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुलाई बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।  जसमध्ये उद्योग प्रभावित क्षेत्र पश्चिम नवलपरासी (साविकको नवलपरासी जिल्ला) र खानी रहेको क्षेत्र पाल्पाका स्थानीय बासिन्दाहरूलाई जारी पुँजीको ५ प्रतिशत अर्थात् १८ करोड ७५ लाख रुपैयाँको १८ लाख ७५ हजार कित्ता सेयर बिक्री गरिनेछ ।  बाँकी सर्वसाधारण लगानीकर्तालाई छुट्याएको १५ प्रतिशत अर्थात् ५६ लाख २५ हजार कित्ता सेयरको १० प्रतिशत अर्थात् ५ लाख ६२ हजार ५ सय कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीलाई बिक्री गरिने कम्पनीले जनाएको छ ।  कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ । आयोजना प्रभावित क्षेत्रका स्थानीयले माघ ९ गतेसम्म आवेदन दिन सक्नेछन् । यदि उक्त अवधिमा पूर्ण बिक्री नभएमा माघ २५ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीले छिटोमा पुस ३० गते र ढिलोमा माघ ९ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । स्थानीय बासिन्दाले उद्योगसँगै नबिल बैंकको तानसेन, बर्दघाट, बुलिबटार, गैँडाकोट, प्रभु बैंकको पाल्पा, बर्दघाट, परासी, बेलातारी, सिद्धार्थ बैंकको पाल्पा, बर्दघाट र परासी शाखाबाट आवेदन दिन सक्नेछन् । यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई सीआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।

निजी क्षेत्र अर्थतन्त्रको इन्जिन हो, सुरक्षित नभएसम्म मुलुक अघि बढ्दैन

काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले निजी क्षेत्रको खस्केको मनोबल उकास्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घद्वारा आयोजित ‘शान्ति स्थायित्व र समृद्धिका लागि सहकार्य-सामूहिक पहल’ विषयक कार्यक्रममा अर्थमन्त्री खनालले जेनजी प्रदर्शनका क्रममा निजी क्षेत्रले पनि ठूलो क्षति व्यहोरेको उल्लेख गर्दै अर्थमन्त्री खनालले निजी क्षेत्र थप मनोबलका साथ उठ्न आवश्यक रहेको बताए । उनले अहिले आर्थिक सूचक सकारात्मक दिशामा रहे पनि लगानी बढ्न नसकेको स्वीकार गरे । ‘चालु खाता बचतमा छ । शोधनान्तर बचतमा छ । बैंक वित्तीय संस्थामा पर्याप्त तरलता छ । ब्याजदर र मुद्रास्फीति घटेको छ । तर पनि कर्जा लगानी बढ्न सकेन,’ खनालले भने । निजी क्षेत्रको सम्पत्ति राज्यको पनि सम्पत्ति रहेको उल्लेख गर्दै उनले यसको सुरक्षा सबैको दायित्व रहेको प्रष्ट पारे ।  ‘निजी क्षेत्र अर्थतन्त्रको इन्जिन हो । यसलाई आफ्नो ढङ्गले काम गर्न दिनुपर्छ । निजी क्षेत्रले सिर्जना गरेको सम्पत्ति राज्यको पनि सम्पत्ति हो,’ उनले भने, ‘मुलुकभित्र जुनसुकै क्षेत्रबाट लगानी हुनु भनेको राज्यका लागि भएको लगानी हो । त्यसमा क्षति हुनु भनेको मुलुककै सम्पत्ति माथिको क्षति हो भनेर राजनीतिक दलका कार्यकर्ताले पनि बुझ्न जरुरी छ ।’ उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री अनिल कुमार सिन्हाले आर्थिक समृद्धिका लागि शान्ति र स्थायित्व पूर्वशर्त हुने बताए । ‘समृद्धि हासिल गर्न शान्ति चाहियो । त्यसका लागि स्थिर र बलियो सरकार चाहिन्छ । चुनाव पछि एउटै दलले स्थिर सरकार बनाउन सकेन भने पनि अरु दल मिलेर स्थायित्वसहितको वातावरण आवश्यक छ,’ उनले भने । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकारले राज्य र सरकार अन्तर्गतका निकायलाई स्वतन्त्र एवं व्यावसायिक रूपमा अघि बढाएको स्पष्ट पार्दै निजीक्षेत्रमा कुनै हस्तक्षेप नगरेको बताए । मन्त्री खरेलले निजी क्षेत्रलाई सुरक्षित राख्नु अपरिहार्य रहेको उल्लेख गरे ।  निजीक्षेत्रको सुरक्षा सबैको प्राथमिकता नबनेसम्म मुलुक अघि बढ्न नसक्ने उनले धारणा व्यक्त गरे ।  ‘समाजवाद उन्मुख राज्य व्यवस्था अघि बढाउन निजी क्षेत्रलाई नजरअन्दाज गर्न सकिँदैन । उद्योग, व्यापार र व्यवसायका लागि अनुकूल वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध छ,’ मन्त्री खरेलले भने ।  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन सुनिश्चित भइसकेको भन्दै निर्वाचन हुनेमा कुनै आशङ्का नरहेको स्पष्ट पारे । सरकारले दृढताका साथ निर्वाचन प्रक्रिया अघि बढाइरहेको उनको भनाइ छ ।

पेट्रोल र डिजेलको मूल्य घट्यो, अब कुन ठाउँमा कति पर्छ ?

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य घटाएको छ । इन्डियन आयल कर्पोरेशनले पेट्रोलमा प्रतिलिटर ४.१९ रुपैयाँ, डिजेलमा ५.६ रुपैयाँ र हवाई इन्धनमा प्रतिलिटर ८.१५ रुपैयाँ घटाएको छ । एलपी ग्यासको खरिद मूल्य प्रतिसिलिन्डर १००.३५ रुपैयाँले बढेर आएको छ । सेहीअनुसार निगम सञ्चालक समितिले खुद्रा बिक्री मूल्य समायोजन गरेको छ । नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर ४ रुपैयाँ, डिजेल/मट्टितेल प्रतिलिटर ५ रुपैयाँले घटाइएको छ । आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ६ रुपैयाँ र अन्तरराष्ट्रिय उडानतर्फ काठमाडौंका लागि प्रतिकिलोलिटर अमेरिकी डलर ४२ ले मूल्य घटाइएको छ । नयाँ मूल्य बिहीबार बिहानदेखि लागू हुनेछ । एलपी ग्यासको खरिद मूल्य बढे पनि उपभोक्ताको हितलाई ध्यानमा राख्दै ग्यासको खुद्रा बिक्री मूल्य यथावत राखिएको निगमले जनाएको छ । निगमका अनुसार डिपो वा कार्यालयदेखि १५ किलोमिटरसम्मका लागि पेट्रोलको नयाँ मूल्य पहिलो वर्गमा प्रतिलिटर १५६.५० रुपैयाँ, दोस्रो वर्गमा १५८ रुपैयाँ र तेस्रो वर्गमा १५९ रुपैयाँ कायम गरिएको छ । यस्तै, डिजेल/मट्टितेलको मूल्य क्रमशः १३४.५० रुपैयाँ, १३६ रुपैयाँ र १३७ रुपैयाँ प्रतिलिटर तोकिएको छ । पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज पर्दछ । दोस्रो वर्गमा सुर्खेत र दाङ तथा तेस्रो वर्गमा काठमाडौँ, पोखरा र दिपायल समेटिएका छन् । 

सन् २०२५ मा १ लाख ६१ हजार विदेशी पर्यटक मुस्ताङमा, १८ प्रतिशतभन्दा बढीले वृद्धि

काठमाडौं । धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा विदेशी पर्यटकको आगमन सङ्ख्या वृद्धि भएको छ । मुस्ताङमा सन् २०२४ को अनुपातमा सन् २०२५ मा २५ हजार ४०३ जना विदेशी पर्यटकको सङ्ख्या वृद्धि भएको राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमले जनाएको छ । सन् २०२५ मा समग्रमा गत वर्षभन्दा १८.७१ प्रतिशतले पर्यटकको आवागमन वृद्धि भएको जनाइएको छ ।  उक्त वर्षको जनवरीदेखि डिसेम्बर ३१ तारिखसम्म यहाँ कुल १ लाख ६१ हजार १२२ जना विदेशी पर्यटक भित्रिएको एक्याप जोमसोम कार्यालय प्रमुख राजेश गुप्ताले जानकारी दिए । उनका अनुसार सन् २०२४ मा १ लाख ३५ हजार ७१९ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएका थिए । गत वर्ष मुस्ताङ आउने पर्यटकमध्ये सार्क राष्ट्रबाट १ लाख ३२ हजार ८४७ र अन्य राष्ट्रबाट २८ हजार २७५ जना रहेका छन् । त्यसअघि सार्क राष्ट्रबाट १ लाख ९ हजार ५४९ र अन्य राष्ट्रबाट २६ हजार १७० जना विदेशी पर्यटक मुस्ताङ आएको तथ्याङ्क छ । एक्याप प्रमुख गुप्ताका अनुसार सन् २०२४ को अनुपातमा सन् २०२५ को १२ महिनाको अवधिमा सार्क राष्ट्रतर्फ २३ हजार २९८ र अन्य राष्ट्रबाट २ हजार १०५ जना विदेशी पर्यटकको सङ्ख्या वृद्धि भएको हो । यस हिसाबले सार्कतर्फ १७.५७ प्रतिशत र अन्य राष्ट्रतर्फ ७.४४ प्रतिशत पर्यटकको सङ्ख्या वृद्धि भएको हो । हिमाली जिल्ला मुस्ताङमा आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढ्दो रहेको छ । यद्यपि, गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको प्रभावका कारण अपेक्षा गरिएअनुरुपको विदेशी पर्यटकको सङ्ख्या वृद्धि हुन नसकेको एक्याप प्रमुख गुप्ताको भनाइ छ । सन् २०२५ मा यहाँ करिब ३० प्रतिशत विदेशी पर्यटकको सङ्ख्या वृद्धि हुने अनुमान गरिए पनि सेप्टेम्बर, अक्टोबर र नोभेम्बरमा पर्यटक सङ्ख्या कम हुँदा अनुमानअनुसार पर्यटक वृद्धि हुन नसकेको हो । युवा आन्दोलनको असरले यहाँ सन् २०२४ को भन्दा सन् २०२५ को सेप्टेम्बरमा ३ हजार ६३८, अक्टोबरमा ८५४ र नोभेम्बरमा ७० जना विदेशी पर्यटक घटेका जनाइएको छ । एक्याप प्रमुख गुप्ताले सन् २०२५ मा जनवरीदेखि अगस्त र डिसेम्बर अन्तिमसम्म पर्यटकको सङ्ख्या वृद्धि भएको बताए । मुस्ताङ भ्रमण गर्नेमा बढी मात्रामा भारतीय पर्यटक रहेका छन् ।  एक्याप प्रमुख गुप्ताले मुस्ताङ भित्रिएका पर्यटकमध्ये ८२ प्रतिशत सार्क राष्ट्र र १८ प्रतिशत अन्य मुलुकका रहेकामा सार्क राष्ट्रका कुल पर्यटकमध्ये ९० प्रतिशतभन्दा बढी भारतीय रहेको जानकारी दिए । 

नयाँ वर्ष सन् २०२६ सुरु, उल्लासपूर्वक मनाउने चलन बढ्दै

काठमाडौं । ग्रेगोरियन पात्रोअनुसार आजदेखि इस्वी संवत्को नयाँ वर्ष सन् २०२६ सुरु भएको छ । येशु ख्रिस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले सुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिएको हो । नयाँ वर्ष सन् २०२६ का अवसरमा यो पात्रो अनुसारको चाड पर्व मान्नेले आज एकापसमा शुभकामना आदानप्रदान गरी मनाउँछन् । ग्रेगोरियन पात्रोका आधारमा चलाइएको इस्वी सन् सौरमासका आधारमा मात्र निर्माण गरिएको बताइन्छ । यसको आलोचना गर्नेहरूले सोही आधारमा पात्रो वैज्ञानिक नभएको समेत भन्ने गरेका छन् । विभिन्न संवतको अध्ययन अनुसन्धानमा लागेका डा शास्त्रदत्त पन्तले सौरमास र चन्द्रमासको समन्वयबाट वैदिककालदेखि नै सुरु भएको विसं जति वैज्ञानिक नभए पनि हाल इस्वी सनकाे प्रभाव विश्वव्यापी बन्दै गएको बताउँछन् । ३६५ दिन ६ घण्टा ४९ मिनेट ६ सेकेन्डको एक वर्ष हुन्छ, तर दिनभन्दा सानो घण्टा मिनेट र सेकेन्डको एकाइले गणनामा असर पर्ने भएकाले उल्लेख गरिँदैन । त्यसको व्यवस्थापनका लागि विसंका आधारमा गणना हुने पात्रोमा तीन वर्षमा अधिकामासको व्यवस्था गरिएको छ । इस्वी सन् अनुसारको पात्रोमा ‘लिपियर’ का रूपमा त्यसलाई व्यवस्थापन गर्न खोजे पनि पश्चिमा देशमै मतैक्यता हुन नसकेको डा पन्तले बताए । पछिल्लो समय नेपालमा पनि अङ्ग्रेजी नयाँ वर्ष उल्लासपूर्वक मनाउने चलन बढ्दै गएको छ । नयाँ वर्ष २०२६ का अवसरमा विदेशीको बढी उपस्थिति हुने काठमाडौँको ठमेल, बौद्ध तथा उपत्यका बाहिरका पोखरा, सौराहालगायत स्थानमा विभिन्न कार्यक्रम आयोजना गरी नयाँ वर्षको स्वागत भइरहेको छ ।