कुवेत अन्तर्राष्ट्रिय विमानस्थल पुनः सञ्चालनमा
काठमाडौं । मर्मतसम्भार तथा स्तरोन्नतिको कार्य सम्पन्न भएपछि कुवेत अन्तर्राष्ट्रिय विमानस्थलले सोमबारदेखि अरब तथा अन्तर्राष्ट्रिय वायुसेवाका लागि पुनः उडान सञ्चालन शुरु गरेको छ । विमानस्थललाई चरणवद्ध रूपमा खुला गर्ने योजनाअन्तर्गत यो सेवा पुनः शुरु गरिएको हो । कुवेत न्युज एजेन्सीकाअनुसार विमानस्थलको टर्मिनल १ बाट यात्रु सेवा शुरु गरिएको छ । हवाई ट्राफिक प्रवाहलाई सहज बनाउन, यात्रा प्रक्रियालाई व्यवस्थित तुल्याउन र उडान सङ्ख्यामा हुने क्रमिक वृद्धिलाई सम्बोधन गर्न आवश्यक प्राविधिक तयारीहरू पूरा गरिएको छ । नागरिक उड्डयनका कार्यवाहक महानिर्देशक दुआइज अल–ओतैबीले सञ्चालनको प्रारम्भिक चरणमा प्रत्येक वायुसेवा कम्पनीलाई दैनिक एक उडानको अनुमति दिइएको जानकारी दिए । उनकाअनुसार यो व्यवस्था सेवाको प्रभावकारिता मूल्याङ्कन गर्न र भविष्यमा थप उडानहरू विस्तार गर्नका लागि आधार तयार गर्न लागू गरिएको हो । क्षेत्रीय तनाव र द्वन्द्वका कारण गत फेब्रुअरीको अन्त्यदेखि बन्द रहेको उक्त विमानस्थल अप्रिल महिनामा चरणवद्ध रूपमा खोल्ने प्रक्रिया अघि बढाइएको थियो । यसैबीच, कुवेती सेनाले सोमबार आफ्ना हवाई प्रतिरक्षा प्रणालीले ’शत्रुतापूर्ण’ मिसाइल र ड्रोनहरू सफलतापूर्वक विफल पारेको जनाएको छ । कुवेतको परराष्ट्र मन्त्रालयले यी आक्रमणहरूको कडा शब्दमा निन्दा गर्दै यसलाई मुलुकको सुरक्षा र स्थिरताका लागि गम्भीर चुनौती एवं तनाव बढाउने कार्य भएको बताएको छ । स्थानीय सञ्चारमाध्यमकाअनुसार सोमबार बिहान ६ बजेदेखि कुवेतका विभिन्न क्षेत्रमा तीन पटक हवाई आक्रमणको चेतावनी दिने साइरनहरू बजेका थिए ।
सर्वोत्तम पेन्ट्सले जेठ २८ गतेदेखि आईपीओ बिक्री गर्ने
काठमाडौं । सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले जेठ २८ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर जारी गरिसकेपछि अब दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ बिक्री गर्ने भएको हो । कम्पनीले जारी पुँजी ३४ करोड रुपैयाँको २५ प्रतिशत अर्थात् ८ करोड ५० लाख रुपैयाँको १ सय रुपैयाँ अंकित मूल्य दरका ८ लाख ५० हजार कित्ता सेयर जारी गर्नेछ । जसमध्ये १० प्रतिशत अर्थात् ८५ हजार कित्ता विदेशमा रोजगार गरिरहेका नेपाली र ४२ हजार कित्ता साधारण सेयर सामूहिक लगानी कोषलाई बिक्री गरेर बाँडफाँड गरिसकेको छ । अब दोस्रो चरणमा कम्पनीले १७ हजार कित्ता कर्मचारी र बाँकी रहेको ७ लाख ५ हजार ५०० कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री गर्न लागेको हो । कम्पनीको आईपीओमा लगानीकर्ताहरुले न्यूनतम् १० कित्तादेखि अधिकतम ५ हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा छिटोमा असार २ गते र ढिलोमा असार ११ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताहरुले सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् ।
न्युरो केजीको ८० रुपैयाँ, यस्तो छ कृषिउपजको मूल्य
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ६०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७५, गोलभेँडा ठूलो सानो (लोकल) प्रतिकिलो रु ३०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ४०, आलु रातो (लाम्चो) प्रतिकिलो रु ३५, आलु रातो (गोलो) प्रतिकिलो रु ३२ र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ४३ रहेको छ । यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु ८०, बन्दा (लोकल) प्रतिकिलो रु ४५, काउली स्थानीय प्रतिकिलो रु ८०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २०, भन्टा लाम्चो प्रतिकिलो रु ४० र भन्टा डल्लो प्रतिकिलो रु ५० कायम भएको छ । त्यसैगरी, बोडी (तने) प्रतिकिलो रु ९०, मकै बोडी प्रतिकिलो रु ९०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ९०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ८०, घिउ सिमी (राजमा) प्रतिकिलो रु ११०, टाटे सिमी प्रतिकिलो रु १३०, भटमास कोसा प्रतिकिलो रु १५०, तीते करेला प्रतिकिलो रु ३०, लौका प्रतिकिलो रु ८०, परवर (लोकल) प्रतिकिलो रु ६५, घिरौँला प्रतिकिलो रु ६०, चिचिण्डो प्रतिकिलो रु ४२, झिगुनी प्रतिकिलो रु ६०, फर्सी पाकेको प्रतिकिलो रु ६०, फर्सी हरियो (लाम्चो)प्रतिकिलो रु ८०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ५०, भिन्डी प्रतिकिलो रु ५०, सखरखण्ड प्रतिकिलो रु ८० र पिँडालु प्रतिकिलो रु ४०, स्कुस प्रतिकिलो ८०० कायम गरिएको छ । रायोसाग प्रतिकिलो रु ६०, पालुङ्गो प्रतिकिलो रु ९०, चमसुरको साग प्रतिकिलो रु ९०, तोरीको साग प्रतिकिलो रु ५०, मेथीको साग प्रतिकिलो रु ६०, हरियो प्याज प्रतिकिलो रु १००, च्याउ (कन्य) प्रतिकिलो रु २६०, च्याउ (डल्ले) प्रतिकिलो रु ५००, राजा च्याउ प्रतिकिलो रु ३२० र सिताके च्याउ प्रतिकिलो रु १,००० निर्धारण गरिएको छ । कुरिलो प्रतिकिलो रु ३५०, न्युरो प्रतिकेजी रु ८०, ब्रोकाउली प्रतिकिलो रु १२०, चुकन्दर प्रतिकेजी रु ६०, सजीवन प्रतिकेजी रु १२०, रातो बन्दा प्रतिकिलो रु ५०, जिरीको साग प्रतिकिलो रु १००, सेलरी प्रतिकिलो रु १३०, पार्सले प्रतिकिलो रु २२०, सौफको साग प्रतिकिलो रु ९०, पुदिना प्रतिकिलो रु १२०, मकै हरियो प्रतिकिलो रु ५०, गान्टेमूला प्रतिकिलो रु ६०, इमली प्रतिकिलो रु २००, तामा प्रतिकिलो रु १४०, तोफु प्रतिकिलो रु १६० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकिएको छ । स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (नेपाली) दर्जन २००, केरा (मालभोग) २२०, कागती प्रतिकिलो रु २२०, अनार प्रतिकिलो रु ४२०, आँप (मालदह) प्रतिकिलो रु १२०, आँप (दशहरी) प्रतिकिलो रु १३०, तरबुजा (हरियो) प्रतिकिलो रु ४५, भुइँकटहर प्रतिकिलो रु २००, काँक्रो (लोकल) प्रतिकिलो रु ८०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु २५, काँक्रो (लोकलक्रस) प्रतिकिलो रु ७०, रुखकटहर प्रतिकिलो रु ५०, नासपाती (चाइनिज) प्रतिकिलो रु १६०, मेवा (नेपाली) प्रतिकिलो रु ९०, मेवा (भारतीय) प्रतिकिलो रु १०० र लिची (लोकल) रु २५०, लिची (भारतीय) रु ३००, नरिवल (काँचो) प्रतिकिलो रु ८० र नरिवल (हरियो) प्रतिकिलो रु १८० निर्धारण गरिएको छ । यसैगरी, अदुवा प्रतिकिलो रु १३०, सुकेको खुर्सानी प्रतिकिलो रु ४५०, खुर्सानी हरियो (लाम्चो) प्रतिकिलो रु ५०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ४०, माछे खुर्सानी प्रतिकिलो रु ६०, अकबरे खुर्सानी प्रतिकिलो रु ४००, भेडेखुर्सानी प्रतिकिलो रु ७०, हरियो लसुन प्रतिकिलो रु १८०, हरियो धनियाँ प्रतिकिलो रु १२०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २२०, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु १८०, ताजा सुकेको प्रतिकिलो रु १,०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३०० र ताजा माछा (छडी) प्रतिकिलो रु २५० निर्धारण गरिएको छ ।
प्रधानमन्त्री बालेनले डाके १२ बजे मन्त्रिपरिषद् बैठक
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आज दिउँसो मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक मध्यान्ह १२ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बताइएको छ ।
११ वर्षे विकास ऋणपत्र-२०९४ निश्काशन, १० अर्ब रुपैयाँ उठाउँदै सरकार,
काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ। अर्थ मन्त्रालयअन्तर्गतको कार्यालयका अनुसार ‘११ वर्षे विकास ऋणपत्र-२०९४’ बोलकबोल प्रक्रियामार्फत बिक्री गर्न लागिएको हो । ऋणपत्रको बोलकबोल जेठ २० गते हुने र चैत २१ गते निष्कासन गरिने जनाइएको छ । इच्छुक खरिदकर्ताले बोलकबोल प्रक्रियामार्फत आवेदन दिन सक्नेछन् । उक्त ऋणपत्रमा बैंक तथा वित्तीय संस्था, गैर-बैंक वित्तीय संस्था, बीमा कम्पनीका साथै नेपाली नागरिकहरूले समेत सहभागिता जनाउन सक्ने कार्यालयले जनाएको छ ।
न्याय सम्पादन सुधारका लागि प्रधानन्यायाधीश डा. शर्माका २१ निर्देशन
काठमाडौं । प्रधानन्यायाधीश डा। मनोजकुमार शर्माले उच्च अदालतका मुख्य न्यायाधीश तथा जिल्ला अदालतका प्रमुख न्यायाधीशहरूलाई न्याय सम्पादनमा इमान्दार, जिम्मेवार र समर्पित भएर काम गर्न २१ बुँदे निर्देशन जारी गरेका छन् । आम नागरिकले न्यायपालिकाबाट स्वच्छ, निष्पक्ष, छिटोछरितो, गुणस्तरीय र प्रभावकारी न्यायसम्पादन तथा सुशासनयुक्त न्याय प्रशासनको अपेक्षा राखेको उल्लेख गर्दै उनले न्यायालयप्रतिको जनआस्था कायम राख्न समर्पणभाव, जिम्मेवारी बोध, लगनशीलता र इमान्दारिताका साथ काम गर्न निर्देशन दिएका हुन् । प्रधानन्यायाधीश शर्माले वर्तमान समयमा जनताको चाहनाअनुसार राज्यका सबै निकायले सुशासन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औंल्याउँदै प्रविधिको प्रयोगमार्फत सार्वजनिक सेवा प्रवाहलाई छिटो, सहज तथा प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् । न्यायपालिकाले तयार गरेको पाँचौँ पञ्चवर्षीय रणनीतिक योजना तथा गत वर्ष भदौ २३ र २४ गतेपछि तयार गरिएको संकट व्यवस्थापन कार्य योजनाको प्रभावकारी कार्यान्वयनमार्फत न्यायपालिकाप्रतिको जनविश्वास कायम राख्नुपर्ने उनले बताएका छन् । निर्देशनमा रणनीतिक योजना तथा कार्ययोजनालाई सुधारको आधार बनाउने, बक्यौता मुद्दा न्यूनीकरण गर्ने, मुद्दा व्यवस्थापन प्रभावकारी बनाउने, पेशी, कजलिस्ट तथा इजलास व्यवस्थापनमा सुधार गर्ने तथा विकृति, विसङ्गति र अनियमितताप्रति शून्य सहनशीलता अपनाउने उल्लेख छ । त्यसैगरी, गुनासो सुनुवाइ संयन्त्र सुदृढ गर्ने, नागरिक बडापत्र तथा सेवाग्राहीमैत्री सेवा प्रवाह प्रभावकारी बनाउने, म्याद तामेली व्यवस्थित गर्ने, सूचना प्रविधिको प्रयोग विस्तार गर्ने, अनलाइन बहस, भिडियो कन्फरेन्सिङ तथा लाइभ स्ट्रिमिङको उपयोग बढाउने, स्वचालित पेशी–तारेख प्रणाली लागू गर्ने तथा पारदर्शिता र फैसला कार्यान्वयनलाई तीव्रता दिन निर्देशन दिइएको छ। यसैगरी, पीडितमैत्री न्याय सुनिश्चित गर्ने, क्षतिपूर्तिसहितको न्याय प्रवर्द्धन गर्ने, मेलमिलाप तथा वैकल्पिक विवाद समाधानलाई प्रभावकारी बनाउने, न्यायमा पहुँच विस्तार गर्ने, बयान तथा प्रमाण परीक्षणमा निगरानी सुदृढ गर्ने, वित्तीय अनुशासन कायम गर्ने तथा न्यायाधीश र कर्मचारीको आचरण, उपस्थिति र जनआस्था अभिवृद्धिमा विशेष ध्यान दिन पनि निर्देशनमा उल्लेख गरिएको छ ।
सामान्य बिरामीलाई आकस्मिक सेवा दिए दाबी भुक्तानी हुँदैन: स्वास्थ्य बीमा बोर्ड
काठमाडाैं । स्वास्थ्य बीमा बोर्डले निजी सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई आकस्मिक स्वास्थ्य सेवासम्बन्धी प्रावधान कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिएको छ। बोर्डले जारी गरेको पत्रअनुसार आकस्मिक उपचार आवश्यक पर्ने अवस्थामा मात्र बिरामीलाई आकस्मिक स्वास्थ्य सेवा दिनुपर्ने स्पष्ट गरिएको छ । त्यस्ता बिरामीको उपचारका क्रममा आवश्यक परेमा भर्ना वा शल्यक्रिया समेत उपचार पद्धति अनुसार गर्न सकिने व्यवस्था रहेको छ । तर सामान्य प्रकृतिका बिरामीलाई आकस्मिक सेवाका रूपमा उपचार गरी दाबी पेश गरिएमा त्यस्ता दाबीको भुक्तानी नहुने बोर्डले जनाएको छ । साथै, यस्ता कार्य प्रचलित कानुनअनुसार अघि बढाइने पनि स्पष्ट पारिएको छ । बोर्डका वरिष्ठ मेडिकल सुपरिन्टेन्डेन्ट डा. पवन कुमार साहका अनुसार उक्त व्यवस्था स्वास्थ्य बीमा प्रणालीको दुरुपयोग रोक्न तथा सेवा प्रवाहलाई व्यवस्थित बनाउन लागू गरिएको हो । साथै, सेवाग्राहीहरूलाई आवश्यक उपचार सेवाका लागि तोकिएको प्रक्रिया पालना गर्न तथा सेवा प्रदायक संस्था र स्वास्थ्यकर्मीमाथि अनावश्यक दबाब नदिन आग्रह गरिएको छ ।
वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह पक्राउ
काठमाडाैं । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई पक्राउ गरेको छ। जिल्ला अदालत पर्साले लिखत सम्बन्धी कसुरमा उनी विरुद्ध पक्राउ पुर्जी जारी गरेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार पर्साको ठोरी क्षेत्रबाट आइतबार बिहान सवा ६ बजे सिंहलाई पक्राउ गरिएको हो । जिल्ला अदालत पर्साले जेठ १२ गते नै उनीसहित तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । स्थानीय लियाकत अलीले दिएको जाहेरीका आधारमा अदालतले उक्त आदेश जारी गरेको बताइएको छ । पक्राउ परेका मेयर सिंहलाई हाल जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखी थप अनुसन्धान तथा सोधपुछ भइरहेको प्रहरीले जनाएको छ ।