निफ्राको नाफा ४१ करोड रुपैयाँ, १७.८४ प्रतिशत बढायो कर्जा
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा खुद नाफा ३६.१५ प्रतिशत घटेर ४० करोड ९९ लाख ४० हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको दोस्रो त्रैमासमा बैंकले ६४ करोड १९ लाख ८६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आवको दोस्रो त्रैमासमा बैंकको खुद ब्याज आम्दानी २९ प्रतिशत घटेर ७४ करोड ७ लाख २० हजार रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब ४ करोड ४५ लाख ३३ हजार रुपैयाँ ब्याज आम्दानी गरेको थियो । समीक्षा अवधिमा बैंकको खुद शुल्क तथा कमिशन आम्दानी ४.५१ प्रतिशत बढेर १ करोड ५१ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी २८.६२ प्रतिशत घटेर ७५ करोड ५९ लाख ११ हजार रुपैयाँ, सञ्चालन नाफा ३६ प्रतिशत घटेर ५८ करोड ६५ लाख ९० हजार रुपैयाँ रहेको छ । समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा ३३.३७ प्रतिशत घटेर ३४ करोड ७८ लाख रुपैयाँमा झरेको छ । गत वर्षको दोस्रो त्रैमासमा बैंकको वितरणयोग्य नाफा ५२ करोड २१ लाख ११ हजार रुपैयाँ थियो । २१ करोड ६० लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोष १०.८३ प्रतिशत घटेर ३ अर्ब १८ करोड ५७ लाख रुपैयाँ रहेको छ । पुस मसान्तसम्ममा बैंकको निक्षेप संकलन ७.९९ प्रतिशत बढेर ८ अर्ब ११ करोड ६२ लाख रुपैयाँ र कर्जा लगानी १७.८४ प्रतिशत बढेर २७ अर्ब ४१ करोड १६ लाख रुपैयाँ पुगेको छ । गत वर्षको पुस मसान्तसम्ममा बैंकले ७ अर्ब ५१ करोड ५५ लाख रुपैयाँ निक्षेप संकलन गरी २३ अर्ब २६ करोड २५ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो । नाफासँगै बैंकको प्रतिसेयर आम्दानी २.१५ रुपैयाँ घटेर ३.८० रुपैयाँमा सीमित रहेको छ । पुस मसान्तसम्ममा बैंकको प्रतिसेयर नेटवर्थ ११४.७५ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ६८.४६ गुणा रहेको छ । गत वर्षको पुसमा ०.३० प्रतिशत रहेको बैंकको खराब कर्जा चालु आवमा शून्यमा झारेको छ ।
नेपाल आयल निगमको १० प्रतिशत लाभांश घोषणा, सेयरधनीलाई १ अर्ब १० करोड रूपैयाँ
काठमाडौं । नेपाल आयल निगमले लाभांश वितरण गर्ने भएको छ । आयल निगमको माघ ४ गते बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरूलाई चुक्ता पुँजीको १० प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको हो । निगमको तथ्याङ्क अनुसार चुक्ता पुँजी ११ अर्ब रुपैयाँ रहेको छ । सो आधारमा निगमले सेयरधनीहरूलाई १ अर्ब १० करोड रुपैयाँ बराबरको लाभांश वितरण गर्ने भएको हो । लाभांश प्रस्ताव पारित गर्न निगमले माघ २८ गते आयल निगमको सभा हल बबरमहल काठमाडौंमा अपरान्ह १ बजे ४४औं वार्षिक साधारण सभा समेत आह्वान गरेको छ । निगमको सभाले सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०८१/८२ को वासलात, नाफा तथा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण, लेखापरीक्षकको नियुक्ति, पारिश्रमिक एवं खर्च अनुमोदन गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षण गर्न महालेखापरीक्षकको कार्यालयबाट प्राप्त परामर्श बमोजिम लेखापरीक्षक नियुक्ति गर्ने र पारिश्रमिक तोक्ने, साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न सेयरधनीहरू तथा सञ्चालकहरूको तर्फबाट एक÷एक जना प्रतिनिधि तोक्नेछ । यसअघि निगमले आर्थिक वर्ष २०८०/८१ मा सेयरधनीहरूलाई १० प्रतिशत नगद लाभांश वितरण गरेको थियो । आयल निगमले गत आर्थिक वर्षमा १३ अर्ब ६४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । साथै गत वर्ष निगमले कुल ३ खर्ब ६७ अर्ब रुपैयाँको व्यावसायिक कारोबार गरेको थियो भने राज्यलाई १ खर्ब २४ अर्ब रुपैयाँ राजस्व योगदान पुर्याएको जनाएको छ । निगमले वार्षिक रूपमा पेट्रोल ६३ हजार किलोलिटर, डिजेल २ लाख २२ हजार किलोलिटर, हवाई इन्धन १८ हजार किलोलिटर र ४६ हजार टन एलपी ग्यास आपूर्ति गर्दै आएको छ ।
उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने, माघ ८ गते अन्तिम नामावली प्रकाशन गरिने
काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारको विरोधमा आज उजुरी दिन सकिने व्यवस्था गरिएको छ । निर्वाचन आयोगले तय गरेको समयसीमा अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम अनुसार मनोनयन पत्र दर्ता भएका उम्मेदवारको विरोधमा उजुरी दिन सकिनेछ । उक्त उजुरीपछि माघ ८ गते बेलुका पाँच बजेसम्म मनोनयन पत्र र उजुरी उपर जाँचबुझ एवं आवश्यक निर्णय गरी अन्तिम नामावली प्रकाशन गरिने आयोगले जनाएको छ । आयोगले माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सक्ने व्यवस्था गरेको छ । सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने छ । प्रतिनिधिसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ उम्मेदवारको मनोनयन पत्र दर्ता कार्यक्रम सम्बन्धित मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा उत्साहजनक तथा शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । आयोगका अनुसार हालसम्म २ हजार ९२५ जनाको उम्मेदवारी परेको छ । उत्साहजनक र शान्तिपूर्ण रुपमा मनोनयन सम्पन्न भएकामा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले धन्यवाद व्यक्त गरे । निर्वाचनका बाँकी कार्यक्रममा पनि राजनीतिक दल र सरोकारवाला सबैको सहयोग पाउनेमा उहाँले अपेक्षा व्यक्त गर्नुभएको आयोगले जनाएको छ । निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतले २ हजार ९२५ उम्मेदवारी परेको जानकारी दिए । उनका अनुसार त्यसमा महिला उम्मेदवार ३३६ र पुरुष २ हजार ५८९ जना रहेका छन् । यस्तै अपाङ्गता भएका व्यक्ति ८५ र पिछडिएको क्षेत्रका १३८ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ ।
६ जना पूर्व अर्थमन्त्री चुनावी प्रतिस्पर्धामा
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फका १६५ सिटका लागि मङ्गलबार मनोनयन दर्ता भइसकेको छ । ती पदका लागि देशभरबाट ३ हजार ४०० भन्दा बढी व्यक्तिले उम्मेदवारी दिएका छन् । विभिन्न राजनीतिक दलको चुनाव चिह्नमा निर्वाचन लड्नेदेखि स्वतन्त्र उम्मेदवारी दिने र लामो राजनीतिक पृष्ठभूमि तथा संसदीय अभ्यासमा घुलेकादेखि पहिलोपटक आकांक्षी देखिएकासम्मबाट मनोनयन दर्ता भएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४ पूर्वप्रधानमन्त्री चुनावी मैदानमा उत्रिँदा ६ पूर्वअर्थमन्त्री र एक पूर्वअर्थराज्यमन्त्री सङ्घीय सांसद बन्ने प्रतिस्पर्धामा होमिएका छन् । पूर्व अर्थमन्त्रीसमेत रहेका पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, ५ पटकसम्म अर्थमन्त्री बनेका निवर्तमान अर्थमन्त्री विष्णुप्रसाद पौडेल, समान २ पटक अर्थमन्त्री भएका वर्षमान पुन र जनार्दन शर्मा, अर्थमन्त्रीको जिम्मेवारी सम्हाले पनि वार्षिक बजेट ल्याउन नपाएका ज्ञानेन्द्रबहादुुर कार्की र अघिल्लोपटक समानुपातिक सांसद रहेर अर्थमन्त्री बनेका डा प्रकाशशरण महत आसन्न निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवार रहेका छन् । पूर्वअर्थराज्यमन्त्री उदयशम्शेर जबरा पनि प्रत्यक्षतर्फका उम्मेदवार हुन् । शीर्षस्थ दलसँगको आबद्धता, प्रभावशाली राजनीतिज्ञका रुपमा पहिचान र दरिलो विषयगत ज्ञान भए पनि यी कुनै पनि पूर्वअर्थमन्त्रीले लगातार दुई आर्थिक वर्षको बजेट ल्याउन पाएनन् । पटक-पटक फेरिने राजनीतिक गठबन्धन र सरकार बन्ने-भत्किने श्रृङ्खला चलिरहँदा यी कुनै पनि अर्थमन्त्रीले अघिल्लो वर्षका योजना र कार्यक्रम पछिल्लो वर्ष आफै निरन्तरता दिने अवसर पाएनन् । बजेट निर्माण गर्दा एउटा र कार्यान्वयन गर्दा अर्कै व्यक्ति अर्थ मन्त्रालयको नेतृत्वमा रहने क्रम पटक-पटक दोहोरियो । विसं २०६५ यताको बजेट इतिहास हेर्दा राष्ट्रिय सभा सदस्यका रुपमा संसद् छिरेका डा युवराज खतिवडाले ३ वटा, संविधानसभा सदस्य डा रामशरण महतले २ वटा र तत्कालीन अन्तरिम चुनावी मन्त्रिपरिषदका अर्थमन्त्री शङ्कर प्रसाद कोइरालाले २ वटा बजेट लगातार ल्याएको देखिन्छ । अध्यादेशमार्फत ल्याइएका पेस्की बजेट र पूरक बजेटलाई छोडेर हेर्ने हो भने प्रतिनिधिसभा सदस्यका रुपमा माथि उल्लिखित कुनै पनि पूर्वअर्थमन्त्रीले लगालग दुई आर्थिक वर्षको बजेट ल्याउन पाएका थिएनन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका डा भट्टराईले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गोरखा क्षेत्र नम्बर दुईबाट उम्मेदवारी दर्ता गरेका छन् । प्रगतिशील लोकतान्त्रिक पार्टीबाट चुनाव लड्न लागेका भट्टराईले अर्थमन्त्रीका रुपमा आर्थिक वर्ष २०६५/६६ को बजेट ल्याएका थिए । त्यो वर्ष असार र असोज गरी २ वटा बजेट ल्याइएको थियो । डा भट्टराईको राजनीतिक जीवन २०२७ सालमा तत्कालीन नेकपा (चौथो महाधिवेशन) बाट सुरु भई २०३४ मा अखिल भारत नेपाली एकता समाजको संस्थापक अध्यक्ष, २०४७ मा संयुक्त जनमोर्चाको अध्यक्ष, २०५१ सालमा तत्कालीन नेकपा (माओवादी) मा आबद्ध भएपछि २०६२ सम्म भूमिगत जीवन र त्यसपछि मूलधारको सक्रिय राजनीतिसम्म पुगेको देखिन्छ । पूर्वअर्थमन्त्री वर्षमान पुनले नेपाली कम्युनिष्ट पार्टीबाट रोल्पा क्षेत्र नम्बर १ मा उम्मेदवारी दर्ता गरेका छन् । उनी प्रतिनिधिसभा निर्वाचन २०७९ मा रोल्पा क्षेत्र १ बाट निर्वाचित भएका थिए । सांसदका रुपमा पहिलोपटक २०६४ सालमा संविधानसभा सदस्य बनेका पुन २०६७ सालमा शान्ति तथा पुनर्निमाण मन्त्री, २०६८ सालमा अर्थमन्त्री, २०७४ सालमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री र २०८० फागुनमा पुनःअर्थमन्त्री बनेका थिए । उनले आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेट र आर्थिक वर्ष २०६९/७० का लागि अध्यादेशमार्फत् बजेट ल्याएका थिए । प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि रुपन्देही २ मा नेकपा (एमाले) बाट उम्मेदवारी दर्ता गरेका पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेल प्रतिनिधिसभा निर्वाचन २०७९ मा सोही क्षेत्रबाट निर्वाचित भएका थिए । हालसम्म ५ पटकसम्म अर्थमन्त्री बनेका र तीन आर्थिक वर्षको बजेट ल्याएका पौडेल २०६४ र २०७० मा संविधानसभा सदस्य र २०७४ सालमा प्रतिनिधिसभा सदस्य थिए । हाल कार्यान्वयनमा रहेको चालु आर्थिक वर्ष २०८२/८३ को बजेट पौडेलले ल्याएका थिए । आर्थिक वर्ष २०७३/७४ र आर्थिक वर्ष २०७८/७९ को बजेट ल्याउँदा पौडेल अर्थमन्त्री थिए । विसं २०५१ मा पहिलोपटक सांसद बनेका पौडेल २०५३ सालमा युवा, खेलकुद तथा संस्कृति मन्त्री, २०६५ सालमा जलस्रोत मन्त्री, २०६७ सालमा रक्षामन्त्री र २०७२ सालमा पहिलोपटक अर्थमन्त्री बनेका थिए । प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि सुनसरी ४ मा नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की प्रतिनिधिसभा निर्वाचन २०७९ र २०७४ सालमा सोही क्षेत्रबाट प्रत्यक्षतर्फ निर्वाचित भएका थिए । उनले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री, कानुन न्याय तथा संसदीय मामिलामन्त्री र सञ्चार तथा सूचना प्रविधिमन्त्रीका रुपमा जिम्मेवारी निभाइसकेका छन् । पूर्वअर्थमन्त्री जनार्दन शर्माले प्रगतिशील लोकतान्त्रिक पार्टीबाट गृह जिल्ला रुकुम पश्चिमबाट उम्मेदवारी दर्ता गरेका छन् । विसं २०६३ मा अन्तरिम व्यवस्थापिका संसद्, २०६४ र २०७० सालमा संविधानसभा सदस्य तथा प्रतिनिधिसभा निर्वाचन २०७४ र २०७९ सालमा रुकुम पश्चिमबाट निर्वाचित भएका थिए । विसं २०६५ मा शान्ति तथा पुनःनिर्माणमन्त्री, २०७३ सालमा ऊर्जामन्त्री, २०७४ सालमा गृहमन्त्री र २०७८ सालमा अर्थमन्त्री बनेका थिए । उनले आर्थिक वर्ष २०७९/८० को बजेट ल्याएका थिए । नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा प्रकाशशरण महत नुवाकोट १ बाट उम्मेदवारी दिएका छन् । उनले नेपाल विद्यार्थी सङ्घको महामन्त्री, राष्ट्रिय योजना आयोगको सदस्य, प्रधानमन्त्रीको सल्लाहकार, परराष्ट्रमन्त्री, ऊर्जामन्त्रीको जिम्मेवारी निभाइसकेका छन् । प्रतिनिधिसभा निर्वाचन २०७९ मा उनी नेपाली कांग्रेसबाट समानुपातिक सांसदका रुपमा निर्वाचित भएका थिए । डा महतले आर्थिक वर्ष २०८०/८१ को बजेट ल्याएका थिए । पूर्वअर्थ राज्यमन्त्री उदयशमशेर जबराले ललितपुर १ बाट उम्मेदवारी दिएका छन् । उनले नेपाल तरुण दलको केन्द्रीय अध्यक्षका रुपमा २०६८ देखि २०७२ सालसम्म भूमिका निर्वाह गरेका थिए । संविधानसभा सदस्य २०७० सालमा रहेका राणा २०७४ सालमा अर्थ राज्यमन्त्री बनेका थिए । निर्वाचनमा होमिएका यी पूर्वअर्थमन्त्रीहरुले मात्र नभई अपवादबाहेक कसैले पनि आफूले ल्याएका बजेटको आफैं कार्यान्वयन गर्न सकेनन् । आर्थिक वर्ष २०७४/७५ को बजेट तत्कालीन उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले ल्याएका थिए भने आर्थिक वर्ष २०७५/७६, आव २०७६/७७, आव २०७७/७८ मा डा युवराज खतिवडा, आर्थिक वर्ष २०७१/७२ र आव २०७२/७३ मा डा रामशरण महत र आर्थिक वर्ष २०६९/७० र २०७०/७१ आवमा शङ्कर प्रसाद कोइरालाले वार्षिक बजेट ल्याएका थिए । त्यस्तै, आव २०६८/६९ का लागि तत्कालिन उपप्रधानमन्त्री तथा अर्थमन्त्री भरतमोहन अधिकारीले बजेट ल्याएका थिए भने आर्थिक वर्ष २०६७/६८ का लागि सुरेन्द्र पाण्डे र आर्थिक वर्ष २०६५/६६ का लागि डा बाबुराम भट्टराईले बजेट पेस गरेका थिए ।
सुदूरपश्चिममा १६ निर्वाचन क्षेत्रका लागि २१० जनाको उम्मेदवारी
काठमाडौं । आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा २१० जनाले मङ्गलबार मनोनयन दर्ता गराएका छन् । १६ प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिममा २१० जनाले मनोनयन दर्ता गरेको सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयका प्रवक्ता दिलीप भाटले जानकारी दिए । प्रदेश निर्वाचन कार्यालयका अनुसार ५ निर्वाचन क्षेत्र रहेको कैलालीमा सबैभन्दा बढी उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । कैलाली निर्वाचन क्षेत्र नं १ मा १९ जना, कैलाली-२ मा १६, कैलाली-३ मा ११, कैलाली-४ मा १६ र कैलाली-५ मा १६ उम्मेदवारले मनोनयन दर्ता गराएको निर्वाचन कार्यालयका प्रवक्ता भाटले जानकारी दिए । त्यसैगरी कञ्चनपुर निर्वाचन क्षेत्र-१ मा १९ जना, कञ्चनपुर-२ मा १९ र कञ्चनपुर-३ मा १७ उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । अछाम क्षेत्र नं १ मा ८ र अछाम २ मा ९ जनाले मनोनयन दर्ता गरेका छन् । निर्वाचन कार्यालयका अनुसार डोटीमा ९, बाजुरामा ८, बझाङमा ७, बैतडीमा १२, दार्चुलामा ११ र डडेल्धुरामा १३ जनाले मनोनयन दर्ता गराएका छन् । कूल १७ लाख १६ हजार ६६० मतदाता रहेको सुदूरपश्चिममा प्रमुख राजनीतिक दलदेखि स्वतन्त्र उम्मेदवारसम्मले मनोनयन दर्ता गराएका हुन् ।
नेमकिपाले ५९ जिल्लाका १२० निर्वाचन क्षेत्रमा दियो उम्मेदवारी
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले ५९ जिल्लाका १२० निर्वाचन क्षेत्रमा आफ्नो उम्मेदवारी दिएको छ । नेमकिपाले ६७ पुरुष र ५३ महिलालाई उम्मेदवार बनाएको पार्टीका केन्द्रीय सदस्य सरोज राज गोसाईले जानकारी दिए । नेमकिपाले बागमती प्रदेशका १३ जिल्लामध्ये रसुवा बाहेक १२ जिल्लामा उम्मेदवारी दिएको जानकारी दिँदै उनले १२ जिल्लाको ३२ निर्वाचन क्षेत्रमा २० महिला र १२ पुरुषलाई उम्मेदवार बनाएको बताए । उक्त प्रदेशमा पार्टीका केन्द्रीय सचिव प्रेम सुवाललाई भक्तपुर क्षेत्र नं १ बाट उम्मेदवार बनाएको छ । कर्णाली प्रदेशमा सात जिल्लाको नौ निर्वाचन क्षेत्रमा एक महिलासहित ९ जनालाई उम्मेदवार बनाएको केन्द्रीय सदस्य गोसाईले बताए । कालिकोटमा नन्दबहादुर शाही, जुम्लामा बिर्ख बहादुर राउत र दैलेखमा बखत बहादुर थापा, सुर्खेतमा तुलसी खड्कालाई उम्मेदवार बनाइएको छ । त्यसैगरी कोशी प्रदेशको १२ जिल्लामा ८ महिला र १३ पुरुष, मधेश प्रदेशका ८ जिल्लामा ६ महिला र १६ पुरुषलाई उम्मेदवार बनाएको छ । लुम्बिनी प्रदेशको १२ जिल्लामध्ये सात जिल्लामा उम्मेदवारी दिएको नेमकिपाले ८ महिला र ६ पुरुषलाई उम्मेदवार बनाएको केन्द्रीय सदस्य गोसाईले बताए । गण्डकी प्रदेशमा ११ मध्ये ५ जिल्लामा ६ महिला र २ पुरुष तथा सुदूरपश्चिम प्रदेशमा बाजुराबाहेक ८ जिल्लामा ५ महिला र ९ पुरुषलाई उम्मेदवार बनाएको सो पार्टीले जनाएको छ ।
पश्चिमी वायुको आंशिक प्रभाव कायम, तराईमा हुस्सु लाग्ने
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भू-भागका केही स्थानमा हुस्सु लाग्ने सम्भावना छ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहने जनाइएको छ भने देशका बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ । तराई क्षेत्रमा बिहान र बेलुका बाक्लो हुस्सुका लाग्ने सम्भावना छ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बादल लाग्ने तथा अन्य भागमा मौसम सामान्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ । महाशाखाले हुस्सु र कुहिरोका कारण हवाई सेवामा ढिलाइ हुनसक्ने तराईका विभिन्न विमानस्थलहरुमा दृश्यता घट्दा उडानमा अवरोध हुनसक्ने तथा लामो तथा छोटो दूरीका सवारी साधनका चालकलाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।
उत्साहजनक मनोनयनले निजी क्षेत्र र समग्र अर्थतन्त्रमा सकारात्मक ऊर्जा थपेको छ: प्रधानमन्त्री कार्की
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्धारित समय तालिकाभित्र उत्साहजनक रूपमा मनोनयन दाखिला गराउनुहुने सबै राजनीतिक दल तथा उम्मेदवारहरूमा हार्दिक आभार व्यक्त गरेकी छिन् । आज सन्देश जारी गर्दै आगामी फागुन २१ गते सम्पन्न हुने निर्वाचनका लागि आज अर्को महत्त्वपूर्ण कोशेढुंगा मनोनयन दाखिला पार गर्न सफल भएको उल्लेख गरिन् । उनले भनिन्, ‘निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय वातावरणमा सम्पन्न गर्न नेपाल सरकार पूर्ण इमान र सामर्थ्यका साथ लागिपरेको यहाँहरूलाई पुनः स्मरण गराउँछु, सुरक्षा व्यवस्थामा कत्ति पनि सम्झौता गरिने छैन, हाम्रा सबै सुरक्षा संयन्त्रहरू उच्च सतर्कता र व्यावसायिक मनोबलका साथ परिचालित छन् ।’ प्रतिनिधिसभाको १६५ पदका लागि ३ हजार ४०० भन्दा बढी उम्मेदवारहरूले मनोनयन दर्ता हुनु लोकतान्त्रिक विश्वासप्रति प्रगाढ विश्वासको प्रमाण भएको उल्लेख गर्दै उहाँले नेपाली जनता लोकतान्त्रिक प्रणालीलाई सुदृढ बनाउन सचेत र सक्षम छन् भन्ने आजको राष्ट्रिय उत्साहले पुनः पुष्टि गरेको बताइन् । निर्वाचन प्रक्रियामा देखिएको यस उत्साह र प्रतिबद्धताले राजनीतिक वृत्तमा मात्र नभइ निजी क्षेत्र र समग्र अर्थतन्त्रमा समेत सकारात्मक ऊर्जा सञ्चार गरेको बताउँदै उहाँले अब मुलुकबाट अन्योल र अनिश्चितताको अवस्था पूर्णतः अन्त्य भएको छ । सिङ्गो राष्ट्र निर्वाचनको महाकुम्भमा होमिएको उल्लेख गरिन् । उनले भनिन्, ‘निर्वाचन कार्यतालिका बमोजिम अहोरात्र खटिएर आफ्नो जिम्मेवारी कुशलता पूर्वक निर्वाह गरेकोमा निर्वाचन आयोगलाई नेपाल सरकारको तर्फबाट धन्यवाद दिन चाहन्छु, साथै, यो लोकतान्त्रिक अभ्यासलाई सफल पार्न राजनीतिक दल, नागरिक समाज र सञ्चार माध्यमको रचनात्मक भूमिकाको अपेक्षा गर्दछु ।’ प्रधानमन्त्री कार्कीले दिगो लोकतान्त्रिक स्थायित्वका लागि सबै नेपाली दिदीबहिनी तथा दाजुभाइलाई निर्वाचनमा सक्रिय र संयम साथ सहभागी हुन हार्दिक अपिल पनि गरिन् ।