विकासन्युज

झडपपछि सुनसरीका ५ बजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

काठमाडौं । दुई समूहबीच झडप भएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका पाँच संवेदनशील बजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेका अनुसार साउन ११ गते बिहान ७ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु लागू गरिएको हो । कर्फ्यु हरिनगर, भुटाहा, कप्तानगञ्ज, घुस्की र देवानगञ्ज बजार क्षेत्रमा लागू गरिएको छ । हरिनगर बजार क्षेत्रको पूर्वमा नुनियाटोल, पश्चिममा पश्चिम खुनिया धार, उत्तरमा हरिनगर गाउँपालिका कार्यालय र दक्षिणमा वसन्तपुर मोडसम्म कर्फ्यु लागू गरिएको छ । त्यसैगरी, भुटाहा बजार क्षेत्रको पूर्वमा मोरिया धार खोला, पश्चिममा इदगाह फिल्ड, उत्तरमा सुनसरी खोला र दक्षिणमा हरिनगर गाउँपालिका कार्यालयसम्म कर्फ्यु तोकिएको छ । कप्तानगञ्ज बजार क्षेत्रमा पूर्वमा यादव टोल, पश्चिममा सिमल माध्यमिक विद्यालय, उत्तरमा कृष्ण माध्यमिक विद्यालय र दक्षिणमा नेपाल–भारत सीमासम्म कर्फ्यु आदेश लागू गरिएको छ । घुस्की बजार क्षेत्रमा पूर्वमा कासमिया मदरसा, पश्चिममा प्रहरी चौकी घुस्की, उत्तरमा इशा हार्डवेयर र दक्षिणमा हिलाल पब्लिक स्कुलसम्म कर्फ्यु जारी गरिएको छ । यस्तै, देवानगञ्ज बजार क्षेत्रमा पूर्वमा विराटनगर जाने सडकस्थित मुसहर टोल, पश्चिममा मोरिया खोला, उत्तरमा चिउरा मिल र दक्षिणमा गाउँपालिका कार्यालय क्षेत्रभित्र कर्फ्यु लागू गरिएको प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिए । जिल्ला प्रशासन कार्यालयले कर्फ्यु अवधिमा अत्यावश्यक सेवाबाहेक सर्वसाधारणलाई घरबाहिर ननिस्कन तथा सुरक्षा निकायको निर्देशन पालना गर्न आग्रह गरेको छ ।  

नारायणगढ-मुग्लिन सडक मर्मतको काम अघि बढ्यो, एमसीए–नेपालले खोल्यो ठेक्का

काठमाडौं । मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल (एमसीए-नेपाल) ले नारायणगढ-मुग्लिन सडक खण्डको आवधिक मर्मत सम्भारका लागि ठेक्का प्रक्रिया अघि बढाएको छ । एमसीए-नेपालले सोमबार सार्वजनिक सूचना जारी गर्दै ‘नारायणगढ-मुग्लिन सडक खण्डको आवधिक मर्मतसम्भार’का लागि योग्य निर्माण व्यवसायीबाट प्रतिस्पर्धात्मक बोलपत्र आह्वान गरेको हो ।  यो खरिद प्रक्रिया एमसीए-नेपालको खरिद नीति तथा निर्देशिका (पीपीजी) बमोजिम प्रतिस्पर्धात्मक बोलपत्र विधिमार्फत सञ्चालन हुनेछ । यस प्रक्रियामा पीपीजीअनुसार योग्य ठहरिएका सबै निर्माण व्यवसायीले सहभागिता जनाउन सक्नेछन् । इच्छुक निर्माण व्यवसायीले एमसीए-नेपालले उपलब्ध गराएको अनलाइन फाराम भरेर बोलपत्रसम्बन्धी सम्पूर्ण कागजात प्राप्त गर्न सक्नेछन् । कागजात प्राप्त गर्न समस्या भएमा एमसीए-नेपालले तोकेका इमेलमार्फत सम्पर्क गर्न सकिने जनाएको छ । नेपाल सरकारअन्तर्गत स्थापना भएको एमसीए-नेपालले ७४ करोड ७० लाख अमेरिकी डलर बराबरको पूर्वाधार कार्यक्रम कार्यान्वयन गरिरहेको छ । उक्त कार्यक्रमका लागि अमेरिकी सरकारको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले ५५ करोड अमेरिकी डलर अनुदान उपलब्ध गराएको छ भने नेपाल सरकारले १९ करोड ७० लाख अमेरिकी डलर बराबरको योगदान गरेको छ । कार्यक्रम अन्तर्गत विद्युत् प्रसारण आयोजना र सडक मर्मत आयोजना सञ्चालनमा छन् । नारायणगढ-मुग्लिन सडक खण्डको आवधिक मर्मतसम्भार सडक मर्मत आयोजनाअन्तर्गत सञ्चालन हुने एमसीए-नेपालले जनाएको छ ।

आजदेखि नेपाल औपचारिक रुपमा सरूङ युगमा प्रवेश, अब सुरुङमार्ग हुँदै यात्रा

काठमाडौं । आज (सोमबार)देखि नागढुङ्गा–नौबिसे सुरुङमार्गबाट सवारीसाधन सञ्चालनमा आउने भएका छन् । नेपालको पहिलो व्यवस्थित सडक सुरुङमार्गका रूपमा निर्माण गरिएको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमबार औपचारिक रूपमा उद्घाटन गरिँदैछ । भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साल, जापान सहयोग नियोग(जाइका)का प्रमुख लगायतको सहभागितामा उद्घाटन हुनेछ । सुरुङमार्ग वि.सं २०७६ कात्तिक ४ मा तत्काली प्रधानमन्त्री केपी शर्मा ओलीले औपचारिक उद्घाटन गरेका थिए । नागढुङ्गा–नौबिसे सुरुङमार्गअन्तर्गत २ हजार ६८८ मिटर कुल लम्बाइ रहेको छ । सुरुआती ठेक्का सम्झौताअनुसार यो आयोजना २६ अप्रिल २०२३ भित्रै सम्पन्न हुनुपर्ने थियो । ठेकेदार कम्पनीको ढिलासुस्ती र स्थानीयवासीको अवरोधका कारणले यो आयोजना निर्माणको कामले गति लिन नसकेको हो । आयोजनाका अनुसार अहिले सुरुङमार्ग सञ्चालन, व्यवस्थापन अभ्यासको काम सम्पन्न भइसकेको छ ।  आयोजनाका अनुसार नागढुङ्गा–नौबिसे सुरुङमार्ग उपयोग गरेबापत तिर्नुपर्ने दस्तुर (टोल) सङ्कलन गर्ने बैंकको छनोट र कार्ड छाप्नेलगायतको प्रक्रिया सबै सम्पन्न भइसकेका छन् । आयोजनाले नागढुङ्गा–नौबिसे सुरुङमार्गमा गुड्ने सवारीसाधनबाट तीन तरिकाबाट दस्तुत तिर्न मिल्ने व्यवस्था मिलाएको छ । ‘म्यानुअल’ रूपमा सवारी चालकबाट नगदै लिने व्यवस्था, ‘क्यूआर कोड’ स्कानिङ गरेर र सवारीसाधनमा टाँस्ने स्टिकरलाई उच्च क्षमताको क्यामेरामार्फत रिड गरेर पनि भुक्तानी गर्न मिल्ने व्यवस्था मिलाइएको छ । बोलपत्रमार्फत युसिन एआरटी कम्पनीले १ अर्ब १० करोड रुपैयाँ लागतमा पाँच वर्षका लागि सुरुङमार्गको सञ्चालन, व्यवस्थापन र मर्मतसम्भार लगायतको जिम्मेवारी पाएको छ । आयोजनाका निर्देशक नेपालले सुरुङमार्ग उपयोग गर्ने सवारीसाधनबाट उठेको दस्तुर रकम व्यवस्थापकले सङ्कलन गरेर सडक बोर्ड नेपालको खातामा दाखिला गर्नुपर्नेछ । सो बोलपत्रमा १० वटा कम्पनीको आवेदन परेको थियो । कम्पनीले ३६५ दिनमा चौबिसै घण्टा सञ्चालन गर्नेछन् ।  सुरुङमार्ग व्यवस्थापन र सञ्चालनमा १५० जना जनशक्ति खटिनेछन् । सुरुङमार्ग पूर्ण रूपमा सञ्चालनमा आउँदा दिउँसोको ‘पिकआवर’मा एकैपटक ४० कर्मचारी खटिनेछन् । असार महिनाभित्र सबै खालका तयारी पूरा गरेर सुरुङमार्गबाट सवारीसाधन गुडाउने लक्ष्य रहेको छ ।  आयोजनाका अनुसार काठमाडौं प्रवेश तथा बाहिरिने नागढुङ्गा–नौबिसेनाका हुँदै दैनिक औसतमा २ पाङ्ग्रेबाहेक करिब ८ हजारभन्दा धेरै साना तथा ठूला सवारीसाधन गुड्ने गर्छन् । आयोजनाका निर्देशक सौजन्य नेपालले नागढुङ्गा–नौबिसे सडकखण्डबाट भित्रिने र बाहिरिने सवारीसाधनमध्ये करिब ६० प्रतिशत सवारीसाधनले सुरुङमार्गको उपयोग गर्ने अनुमान गरिएको जानकारी दिए । आयोजनाका अनुसार यो सुरुङमार्ग हुँदै दुईपाङग्रे सवारीसाधन भने चलाउन पाइने छैन । यस्तो छ सुरुङमार्गबाट सवारी गुडाउँदाको शुल्क वि.सं २०८२ चैत २६ गते सरकारले राजपत्रमा सूचना प्रकाशित गरेर नागढुङ्गा–नौबिसे सुरुङमार्गमा सवारीसाधन गुडाउने शुल्क निर्धारण गरेको छ । सरकारले सवारीसाधनको क्षमताअनुसार सुरुङमार्गको प्रयोग गर्ने सवारीसाधनका लागि छुट्टाछुट्टै दस्तुर निर्धारण गरेको छ ।  कार, भ्यान, पिकअप, ट्याक्टर, माइक्रोबस र अन्य हलुका सवारीसाधनका लागि काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र सोही वर्गका सवारीसाधन काठमाडौंबाट प्रस्थान गर्दा भने ६० रुपैयाँ तोकिएको छ । त्यसैगरी, मिनीबस, मिनी टिपर÷ ट्रकका लागि काठमाडौं प्रवेश गर्दा १२५ रुपैयाँ र काठमाडौंबाट प्रस्थान गर्दा भने ८० रुपैयाँ दस्तुर तोकिएको छ । त्यसैगरी, बस, ट्रक (सिङ्गल रियर एक्सल) सवारीका लागि काठमाडौं प्रवेश गर्दा २६० रुपैयाँ दस्तुर तोकिएको छ । सोही सवारीसाधन काठमाडौंबाट प्रस्थान गर्दा भने २०० रुपैयाँ दस्तुर तोकिएको छ । मल्टिएक्सल ट्रक, सवारीसाधन, भारी उपकरणका लागि काठमाडौं प्रवेश गर्दा ६०० रुपैयाँ दस्तुर तोकिएको छ । त्यसैगरी, काठमाडौंबाट प्रस्थान गर्दा सोही वर्गका लागि भने २५० रुपैयाँ दस्तुर तोकिएको छ ।

ड्युटी छाडेर ११ प्रहरी सम्पर्कविहीन, ७ दिनको अल्टिमेटम

काठमाडौं । नेपाल प्रहरीका ११ जना कर्मचारी लामो समयदेखि सम्पर्क विहीन भएका छन् । प्रहरी प्रधान कार्यालय, नक्सालले सम्पर्क विहीन भएका ७ जना कर्मचारीलाई ७ दिनभित्र कार्यालयमा हाजिर हुन ताकेता गरेको छ ।  प्रहरी प्रधान कार्यालयका अनुसार यसअघि खोजतलास गर्नुका साथै सम्बन्धित कार्यालयमा सूचना टाँस गर्दा पनि उनीहरू सम्पर्कमा आएका थिएनन् । तोकिएको अवधिभित्र सम्पर्कमा नआए प्रहरी नियमावली, २०७१ को नियम ११३ को उपनियम (१) को खण्ड (च) बमोजिमको कसुरमा नियम १०९ को देहाय (ख) (१) अनुसार सेवाबाट हटाउने कारबाही प्रक्रिया अघि बढाइने चेतावनी दिइएको छ ।  आफूखुसी ड्युटीमा गैरहाजिर रहेका कर्मचारीलाई बाटोको म्यादबाहेक सात दिनभित्र सन्तोषजनक स्पष्टीकरणसहित कार्यालयमा हाजिर हुन अन्तिम अवसर प्रदान गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । सम्पर्क विहीन हुनेमा काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरी दरबन्दी रहेका प्रहरी सहायक निरीक्षक तीर्थबहादुर बुढा र इलाका प्रहरी कार्यालय लेकबेसी, सुर्खेतका प्रहरी सहायक निरीक्षक दुर्गाराज मल्ल रहेका छन् ।  यस्तै, ओखलढुंगामा प्रमुख जिल्ला अधिकारी निवास सुरक्षा गार्डमा कार्यरत प्रहरी जवान नागेश्वर यादव, मधेस प्रदेश प्रहरी तालिम केन्द्रका प्राविधिक प्रहरी जवान सुबोधप्रसाद पटेल, भरतपुर विमानस्थल सुरक्षा गार्डका प्रहरी जवान देवकृष्ण राउत, इलाका प्रहरी कार्यालय चन्द्रावती, तनहुँकी प्रहरी जवान जयन्ती थापामगर तथा इलाका प्रहरी कार्यालय कोहलपुर, बाँकेका प्रहरी जवान सञ्जय परियारलाई पनि स्पष्टीकरणसहित हाजिर हुन निर्देशन दिइएको छ ।  त्यसैगरी, कर्णाली प्रदेश प्रहरी कार्यालयका प्राविधिक प्रहरी जवान गीता मेदासी, प्रहरी जवान राजकुमार रावत, जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी जवान ध्रुवराज पाध्या तथा कारागार सुरक्षा गार्ड, लमजुङमा कार्यरत प्रहरी कार्यालय सहयोगी सुरेश कुमाल पनि लामो समयदेखि सम्पर्क विहीन रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

आज कर्णाली, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षा हुने

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा हाल सरदर स्थानको आसपासमा रहेको छ । हाल देशका अधिकांश हिमाली तथा पहाडी क्षेत्रमा साधारणतया बदली रहेको छ भने तराईका अधिकांश क्षेत्रमा आंशिक बदली छ । कोशी र बागमती प्रदेशका केही स्थान तथा गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार सोमबार हिमाली र पहाडी भू-भागका साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा साधारणतया बदली रहनेछ । कोशी र मधेस प्रदेशका तराई क्षेत्रमा भने आंशिक बदली रहने अनुमान गरिएको छ । आज हिमाली क्षेत्रका केही स्थान तथा पहाडी क्षेत्रका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ । उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानमा मध्यम वर्षा हुने तथा कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका तराईका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने अनुमान गरिएको छ । यस्तै, कर्णाली प्रदेशको पहाडी भू-भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराईका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । वर्षा, चट्याङ र सम्भावित बाढी-पहिरोको जोखिमलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले सर्वसाधारणलाई आग्रह गरेको छ ।

करिब ३२० किलो गाँजासहित १ जना पक्राउ

काठमाडौं । सर्लाहीको बलरा नगरपालिका-७ डुमरियास्थित कुखुरा फार्मबाट लागुऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।  करिब ३२० किलो अवैध लागुऔषध गाँजासहित सोही ठाउँ बस्ने २८ वर्षीय अमरजित राउतलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।  प्रहरीचौकी मधुवनीगाउँबाट खटिएको टोलीले शङ्का लागेर कुखुरा फार्ममा अवैध लागुऔषध भए/नभएको तलासी गर्ने क्रममा १९ वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी अमरजितलाई पक्राउ गरेको हो ।  साथै प्रहरीले बाप्र०१-०२६ च २८८६ नम्बरको गाडी, बिआर ०६ बिवाई १७६१ नम्बर र लु४७प २५२८ नम्बरको मोटरसाइकलसमेत बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

नेपालमै पहिलो ‘खल्ती इन्फ्लुएन्सर अवार्ड्स’, ५०० बढी कन्टेन्ट क्रिएटर प्रतिस्पर्धामा

काठमाडौं ।  नेपालको डिजिटल कन्टेन्ट सिर्जना गर्ने प्रतिभाहरूलाई सम्मान र प्रोत्साहन गर्ने उद्देश्यले ‘खल्ती इन्फ्लुएन्सर अवार्ड्स’ आयोजना हुने भएको छ ।  नेपालमै पहिलोपटक कन्टेन्ट क्रिएटरहरूलाई केन्द्रमा राखेर आयोजना हुन लागेको यो अवार्ड कार्यक्रम आईएमई रेमिट्यान्स एण्ड पेमेन्ट्सले आयोजना गर्न लागेको हो ।  आयोजकका अनुसार प्रतियोगिताको ग्राण्ड फिनाले आगामी भदौको अन्तिम साता काठमाडौंमा आयोजना हुनेछ ।  गत जेठ महिनामै आवेदन आह्वान गरिए अनुसार देशभरबाट ५०० भन्दा बढी कन्टेन्ट क्रिएटरहरूले यो प्रतियोगितामा सहभागिता जनाउन आफ्नो कन्टेन्टहरु उपलब्ध गराइसकेका छन् ।  निर्णायक समुहले यो प्रतियोगिताका लागि प्राप्त कन्टेन्टको मूल्यांकनको आधारमा उत्कृष्ट १०० जना प्रतिस्पर्धीलाई फाइनल चरणमा प्रवेश गराउने छन् ।  आयोजक संस्थाले निर्णायकको निर्णयका आधारमा आगामी साता मनोनयन सूचि सार्वजनिक गर्दैछ ।  ग्राण्ड फिनालेमा विभिन्न १० विधामा अवार्ड वितरण गरिने छ, जसका लागि हरेक विधामा १०/१० क्रिएटरलाई मनोनयनमा समावेश गरिने छ ।  प्रतियोगिताको मूल्याङ्कनका लागि विभिन्न क्षेत्रका अनुभवी चार जना निर्णायक (जज) रहने छन् । निर्णायकहरूमा कोरियोग्राफर तथा अभिनेता प्रशान्त ताम्राकार, आइएमई ग्रुपका बद्री कटवाल, मिस यूनिभर्स नेपाल २०२२ सोफिया भुजेल तथा पत्रकार टेक नारायण भट्टराई रहेका छन् ।  कार्यक्रमको ग्राण्ड फिनाले हुने स्थान भने पछि घोषणा गरिने छ । प्रतियोगिताको सम्पूर्ण समन्वय तथा व्यवस्थापन स्पर्श मिडिया इन्टरटेन्मेन्टले गरिरहेको छ । आयोजकका अनुसार यो कार्यक्रमले नेपालमा डिजिटल कन्टेन्ट क्रिएटरहरूको सिर्जनात्मक क्षमता, प्रभाव र योगदानलाई राष्ट्रिय स्तरमा सम्मानित गर्दै नयाँ प्रतिभाहरूलाई अघि बढ्ने अवसर प्रदान गर्ने विश्वास लिएको  छ । सामाजिक सञ्जालको प्रभाव तीव्र रूपमा बढिरहेका बेला कन्टेन्ट क्रिएटरहरूको मेहनतलाई औपचारिक रूपमा सम्मान गर्ने उद्देश्यले ल्याइएको ‘खल्ती इन्फ्लुएन्सर अवार्ड्स’ नेपालकै पहिलो प्रकारको अवार्ड कार्यक्रमका रूपमा रहेको आयोजकको दावी छ । कार्यक्रमबारे विस्तृत जानकारी, निर्णायकहरूको परिचय, विभिन्न विधा तथा आवेदन प्रक्रियासम्बन्धी विवरण आगामी दिनमा सार्वजनिक गरिने जनाइएको छ ।

नारायणी अस्पतालको आकस्मिक सेवा बन्द, बिरामी प्रभावित

काठमाडौं ।  चिकित्सकमाथि कुटपिट भएको घटनाको विरोधमा यहाँस्थित नारायणी अस्पतालको आकस्मिक सेवा गरिएको छ । आकस्मिक कक्षमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीले आफूहरूमाथि शनिबार कुटपिटको भएको भन्दै विरोध जनाएपछि आजदेखि आकस्मिक सेवा बन्द गरेका हुन् । आकस्मिक सेवा बन्द हुँदा बिरामी प्रभावित भएका हुन् ।       अस्पताल स्रोतका अनुसार चिकित्सकले आकस्मिक कक्षमा काम गर्ने सुरक्षित वातावरण नरहेको भन्दै सेवा बन्द गरेका हुन् । शनिबार वीरगञ्ज महानगरपालिका(२५ निवासी ४५ वर्षीय राजकुमार पटेलको उपचारका क्रममा मृत्यु भएपछि निजका परिवारका सदस्य तथा आफन्तले उपचारमा लापरबाही भएको आरोप लगाउँदै आकस्मिक कक्षमा कार्यरत मेडिकल अफिसर डा. प्रमोद राम गम्भीर घाइते भएका थिए । उनको सोही अस्पतालकै सघन उपचार कक्ष (आइसियु) मा उपचार भइरहेको छ ।  यसैबीच, नेपाल चिकित्सक सङ्घले आज विज्ञप्ति जारी गरी वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत मेडिकल अफिसर डा. प्रमोद राममाथि भएको आक्रमणका दोषीलाई कानुनबमोजिम कारबाही गर्नुपर्ने माग गरेको छ ।  संघले मेडिकल अफिसर डा राममाथि शनिबार बेलुका ४०/५० जनाको अनियन्त्रित समूहले मरणासन्न हुनेगरी साङ्घातिक आक्रमण गरेको जनाउँदै उक्त घटनाको भत्र्सना गर्दै कानुनबमोजिम कारबाहीको माग गरेको हो ।