विकासन्युज

काठमाडौं–४ मा कांग्रेसबाट सचिन तिमल्सिनाले गराए उम्मेदवारी दर्ता

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका सचिन तिमल्सिनाले उम्मेदवारी दर्ता गराएका छन् । उनले मंगलबार (आज) उम्मेदवारी दर्ता गराएका हुन् ।  सचिव तिमल्सिना काठमाडौं महानगर- ३०, ज्ञानेश्वरका बासिन्दा हुन् ।  यसअगाडि  उक्त ठाउँमा कांग्रेस सभापति गगन थापाले चुनाव लड्दै आएका थिए । यस क्षेत्रबाट पछिल्ला तीन निर्वाचनमा उनी लगातार निर्वाचित भएका थिए । तिमल्सिना थापा निकट मानिन्छन् । सभापति थापा भने सर्लाही–४ बाट चुनाव लड्दैछन् । 

जेनजी सरकारका चार मन्त्री चुनावी मैदानमा

काठमाडौं । आगामी निर्वाचनको सरगर्मी सुरु भएसँगै पूर्वमन्त्रीहरू पनि कम्मर कसेर चुनावी मैदानमा उत्रिएका छन् । कोही नयाँ पार्टीबाट त कोही आफ्नै पुरानो विरासत जोगाउन लागि परेका छन् ।  काठमाडौं क्षेत्र नम्बर ३ मा यसपटक निकै रोचक प्रतिस्पर्धा हुने भएको छ । निवर्तमान भौतिक पूर्वाधार तथा यातायातमन्त्री एवं उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले यस क्षेत्रबाट चुनाव लड्ने भएका छन् । चुनावमा होमिनकै लागि उनले मन्त्री पदबाट राजीनामा दिएका थिए ।  घिसिङलाई टक्कर दिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट राजुनाथ पाण्डे मैदानमा उत्रिएका छन् । काठमाडौं महानगरपालिकाको प्रहरी प्रमुखबाट राजीनामा दिएर पाण्डे राजनीतिमा होमिएका हुन् ।  दुई एक्सन ओरिएन्टेड व्यक्तित्वहरूबीचको यो प्रतिस्पर्धालाई निकै चासोका साथ हेरिएको छ ।  निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले ललितपुर क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गरेका छन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरी चुनावी मैदानमा होमिएका हुन् ।  यस्तै, निवर्तमान शिक्षामन्त्री महावीर पुनले म्याग्दीबाट चुनाव लड्ने भएका छन् । मंगलबार बिहान मनोनयन दर्ता गर्न पुन म्याग्दीको निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए । उनले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । त्यसअघि उनले शिक्षामन्त्रीको पदबाट राजीनामा दिएका थिए ।   यसैगरी, सिराहा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट बब्लु गुप्ता चुनावी मैदानमा होमिएका छन् ।  उनले उम्मेदवारी दर्ता गराइसकेका छन् । जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारमा उनी खेलकुदमन्त्री बनेका थिए । उनले निर्वाचनमा सहभागी हुनका लागि खेलकुदमन्त्री पदबाट राजीनामा दिएका थिए। पूर्वस्वास्थ्य र शिक्षामन्त्रीहरू चुनावी मैदानमा, क-कसले दिए उम्मेदवारी ?

५ बजेसम्म २ हजार ६५५ जनाको उम्मेदवारी दर्ता

काठमाडौं । प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फका लागि मंगलबार साँझ ५ बजेसम्म कुल २ हजार ६५५ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार कुल दर्ता भएका उम्मेदवारमध्ये महिलाको संख्या भने ३०३ रहेको छ  ।  उमेदवारी दर्ता गर्ने पुरुष उम्मेदवार २ हजार ३५२ जना रहेको आयोगका सहप्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए । उनका अनुसार साँझ ५ बजेसम्म मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयभित्र प्रवेश गरिसकेका उम्मेदवारले उम्मेदवारी दर्ता गर्न पाउनेछन् ।  आयोगका अनुसार केही जिल्लामा उम्मेदवारी दर्ता प्रक्रिया रातिसम्म चल्ने सम्भावना रहेको छ ।

सिटिजन्स सन्तुलित योजनाको इकाइ बाँडफाँड सम्पन्न

काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेडद्वारा प्रवर्द्धन गरिएको सिटिजन्स सन्तुलित योजनाको इकाइ बाँडफाँड सम्पन्न भएको छ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड कोष प्रवर्द्धक रहेको यस सामूहिक लगानी कोषअन्तर्गत सञ्चालन हुने योजनाको इकाइ बाँडफाँड माघ ४ गते सम्पन्न गरिएको हो । सिटिजन्स म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुने बन्दमुखी योजनाअनुसार प्रतिइकाइ १० रुपैयाँका दरले कुल १० करोड इकाइ निष्कासन गरिएको थियो । जसमध्ये बीज पुँजी वापत न्यूनतम १ करोड ५० लाख इकाइ अर्थात् १५ करोड रुपैयाँ बराबरको इकाइ कोष प्रवर्द्धक सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडलाई सुरक्षित राखी बाँकी ८ करोड ५० लाख इकाइ सर्वसाधारणका लागि निष्कासन गरिएको थियो । उक्त योजनाको इकाइ पुस ४ गतेदेखि पुस १८ गतेसम्म निष्कासन तथा बिक्री खुला गरिएको थियो । सो अवधिमा मागभन्दा बढी आवेदन प्राप्त भएपछि प्रचलित कानुन बमोजिम योजनाको आकार २५ प्रतिशतले वृद्धि गरी कुल १ अर्ब २५ करोड रुपैयाँ बराबरको १२ करोड ५० लाख इकाइ कायम गरिएको क्यापिटलले जनाएको छ । बढाइएको आकारअनुसार योग्य ६७ हजार ७२० आवेदकलाई (बीज पुँजीसहित) इकाइ बाँडफाँड गरिएको छ। इकाइ निष्कासन तथा बिक्री प्रक्रियामा सहयोग र सद्भाव प्रदान गर्ने सम्पूर्ण लगानीकर्ता, सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, सिडिएस एण्ड क्लियरिङ, सञ्चार माध्यम तथा सम्बन्धित सबै निकायप्रति सिटिजन्स क्यापिटलले धन्यवाद तथा कृतज्ञता व्यक्त गरेको छ। सिटिजन्स क्यापिटलले योजना व्यवस्थापन तथा डिपोजिटरी, लगानी व्यवस्थापन सेवा, धितोपत्र प्रत्याभूति, धितोपत्र निष्कासन तथा बिक्री प्रबन्ध, सेयर रजिस्ट्रार तथा संस्थागत परामर्श सेवाजस्ता विभिन्न वित्तीय सेवाहरू प्रदान गर्दै आएको छ। कम्पनीले आगामी दिनमा पनि पारदर्शिता, सुशासन र लगानी जोखिम व्यवस्थापनलाई प्राथमिकतामा राख्दै प्रविधिमैत्री तथा लगानीमैत्री सेवा विस्तार गर्ने जनाएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सहायक कम्पनीका रूपमा रहेको सिटिजन्स क्यापिटलमा कर्मचारी सञ्चय कोष तथा प्रतिष्ठित उद्योगी–व्यवसायीहरूको समेत लगानी रहेको छ । कम्पनीका अध्यक्ष राजेन्द्रलाल श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठ रहेका छन् ।  

सिबिफिनको अध्यक्ष बने प्रचण्डबहादुर श्रेष्ठ, महासचिवमा गोयल र कोषाध्यक्षमा नेपाल

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)को अध्यक्षमा प्रचण्डबहादुर श्रेष्ठ, महासचिवमा मनोज गोयल र कोषाध्यक्षमा रमण नेपाल नियुक्त भएका छन् । मंगलबार बसेको सिबिफिनको कार्यसमिति बैठकले नयाँ पदाधिकारी चयन गर्ने निर्णय गरेको हो । हिमालयन बैंकका अध्यक्षसमेत रहेका श्रेष्ठ यसअघि सिबिफिनको महासचिव थिए । नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलको कार्यकाल समाप्त भएसँगै उनी सिबिफिनको अध्यक्ष पदबाट स्वतः हटेपछि रिक्त भएको पदमा श्रेष्ठलाई चयन गरिएको हो । सिबिफिनको विधानअनुसार अध्यक्ष बन्न बैंकको बहालवाला अध्यक्ष हुनुपर्ने व्यवस्था छ । सोही प्रावधानअनुसार श्रेष्ठ अध्यक्षमा नियुक्त भएका हुन् । श्रेष्ठ अध्यक्षमा नियुक्त भएसँगै सिबिफिनको महासचिवमा एनएमबि बैंकका अध्यक्ष मनोज गोयल नियुक्त भएका छन् । त्यस्तै, एनआईसी एशिया बैंकबाट तुलसीराम अग्रवालले राजीनामा दिएपछि रिक्त रहेको कोषाध्यक्ष पदमा लक्ष्मी सनराइज बैंकका अध्यक्ष रमण नेपाललाई चयन गरिएको छ । सिबिफिनमा पदाधिकारी पदका लागि बैंक सञ्चालक समितिको अध्यक्ष हुनुपर्ने व्यवस्था छ भने अन्य पदका लागि सञ्चालक भए पनि योग्यता पुग्ने प्रावधान रहेको छ । सिबिफिनको अध्यक्ष वाणिज्य बैंकका अध्यक्षमध्येबाटै चयन गरिने व्यवस्थाअनुसार वाणिज्य बैंकबाट प्रतिनिधित्व गर्ने अध्यक्षहरूकै बीचबाट नयाँ नेतृत्व चयन गरिएको हो ।

एमाले नेता ईश्वर पोखरेलले गराए काठमाडौं – ५ मा मनोनयन दर्ता

काठमाडौं । नेकपा एमालेका नेता ईश्वर पोखरेलले प्रतिनिधि सभा निर्वाचनका लागि काठमाडौंको निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । पोखरेलले मंगलबार निर्वाचन कार्यालयमा पुगेर मनोनयन दर्ता गरेका हुन् ।  पोखरेल यसअघि पनि सोही क्षेत्रबाट उम्मेदवार बन्दै आएका छन् । २०७९ मा भएको निर्वाचनमा पोखरेल नेपाली कांग्रेसका प्रदिप पौडेलसँग पराजित भएका थिए भने २०७४ मा भएको निर्वाचनमा भने जित हासिल गरेका थिए । यसपटक पनि काठमाडौं– ५ मा पोखरेल र पौडेल फेरि एक पटक आमने–सामने भएका छन् । यस क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीले पूर्वअध्यक्ष कमल थापालाई उम्मेदवार बनाएको छ । शिर्ष नेताहरुको प्रतिस्पर्धा हुने भएकोले काठमाडौं क्षेत्र नम्बर ५ को निर्वाचन रोचक हुने भएको छ । आगामी फाल्गुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागी मंगलवार देशभर मनोनयन दर्ता भइरहेको छ ।  

साढे ४ बजेसम्म २ हजार १७ जनाले गरे उम्मेदवारी दर्ता

काठमाडौं । फागुन २१ गते हुने निर्वाचनका लागि उमेदवारहरूको उम्मेदवारी दर्ता भइरहेको छ । निर्वाचन आयोगका सहप्रवक्ता कुलबहादुर जिसीका अनुसार अपरान्ह ४ः३० सम्म २ हजार १७ जना उमेदवारहरूले मनोनयन दाखिला गरेका छन् ।  आयोगले अहिले  साढे ५ बजे नियमित पत्रकार सम्मेलन गरेर मनोनयन सम्बन्धी जानकारी दिने जनाएको छ । 

सप्तरी–३ मा उपेन्द्र यादवको उम्मेदवारी

राजविराज । अगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गर्न जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सप्तरी क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गराएका छन् ।       यसअघिको निर्वाचनमा उनी सप्तरी क्षेत्र नं २ बाट उम्मेदवार बनेका थिए । त्यसबखत उनी जनमत पार्टीका अध्यक्ष सिके राउतसँग  पराजित भएका थिए ।