तोलाको ३ लाख नजिक पुग्यो सुनको मूल्य, एकैदिन साढे १० हजारले बढ्यो
काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा १० हजार ४ सय रुपैयाँले वृद्धि भएको हो । मूल्य बढेसँगै बुधबार सुन तोलामा २ लाख ९५ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन तोलामा २ लाख ८४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । यसैगरी बुधबार चाँदीको मूल्य ४० रुपैयाँले बढेको छ । चाँदी तोलामा ५ हजार ९२० रुपैयाँ पुगेको छ । मंगलबार चाँदी तोलामा ५ हजार ८८० रुपैयाँमा कारोबार भएको थियो। अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार बुधबार अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७४० र त्यति नै परिमाणको सेतो धातु ९५ अमेरिकी डलरमा कारोबार भइरहेको छ । आर्थिक विश्लेषकहरूका अनुसार विश्व अर्थतन्त्रमा अनिश्चितता बढ्नु, मुद्रास्फीति र भूराजनीतिक तनावका कारण सुरक्षित लगानीका रूपमा माग बढेकाले सुन र चाँदीको मूल्य बढेको हो ।
असार मसान्तसम्मको दाबी लिन बीमितलाई आईजीआई प्रुडेन्सियलको अनुरोध
काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले बीमितलाई असरा मसान्तसम्मको दाबी बापत्को रकम लिन अनुरोध गरेको छ । कम्पनीले २०८२ असार मसान्तसम्ममा क्षति भई कम्पनीमा प्राप्त हुन आएका दाबी बापतको रकम लिन आह्वान गरेको हो । कम्पनीका अनुसार हालसम्म दाबी सम्बन्धमा सर्भेयर वा बीमा कम्पनीमा आवश्यक कागजात पेश नभएको र सम्पर्कमा नआएका बीमितलाई सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र आवश्यक कागजात सहित कम्पनी वा सम्बन्धित सर्भेयरसँग सम्पर्क गरी दाबी प्रक्रिया अघि बढाउन आग्रह गरेको छ । तोकिएको समयावधिभित्र पनि आवश्यक कागजातसहित सम्पर्कमा नआएमा बीमितको दाबीको फाइल बन्द गरिने कम्पनीले सूचनामा उल्लेख गरेको छ ।
२०२५ मा ल्याम्बोर्गिनीको कीर्तिमानी बिक्री
काठमाडौं । इटालीयन लक्जरियस स्पोर्ट्स कार निर्माता ल्याम्बोर्गिनीले मंगलबार सन् २०२५ मा विश्वभर १० हजार ७४७ सवारीसाधन डेलिभरी गरेको जनाएको छ । यो अघिल्लो वर्षको प्रदर्शनभन्दा केही सुधारसहित अहिलेसम्मकै उच्च कीर्तिमान हो । जर्मनीको फक्सवागन समूह अन्तर्गतको ल्याम्बोर्गिनीले उक्त सशक्त प्रदर्शनको श्रेय आफ्नो हाइब्रिड रणनीति तथा सबै क्षेत्रबाट आएको मजबुत नतिजालाई दिएको छ । क्षेत्रगत रूपमा युरोप, मध्यपूर्व र अफ्रिका (ईएमईए) अग्रस्थानमा रहँदै ४ हजार ६५० गाडी डेलिभरी भएका छन् । त्यसपछि अमेरिकामा ३ हजार ३४७ र एसिया–प्रशान्त क्षेत्रमा २ हजार ७५० गाडी डेलिभरी भएका छन् । जटिल विश्वव्यापी वातावरणबीच पनि ब्रान्डलाई अलग पहिचान दिलाउन सक्षम भएको प्रमाण यी कीर्तिमानी डेलिभरीहरूले पुष्टि गरेको ल्याम्बोर्गिनीका प्रमुख कार्यकारी अधिकृत स्टेफान विन्केलमानले विज्ञप्तिमा बताएका छन् ।
कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माणको अन्तिम चरणमा
काँक्रेविहार । निर्माणाधीन कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको काम अन्तिम चरणमा पुगेको छ । यही माघ २० गतेभित्रमा चार्जिङ गर्ने तयारीका साथ धमाधम काम भइरहेको छ । आयोजना प्रमुख रवि चौधरीका अनुसार अब ५०० मिटर तार तान्न बाँकी छ । छ वर्षअघि रु ७० करोडमा प्रसारण लाइनको काम प्रारम्भ भएको हो । आयोजनाले शतप्रतिशत भौतिक प्रगति गरेको छ । आगामी एक सातामा परीक्षणको सम्पन्न गरी १५ दिनमा विद्युत् प्रवाह गरिने छ ।
पाल्पाबाट सात स्वतन्त्रसहित ३० जनाको उम्मेदवारी दर्ता
पाल्पा । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पाल्पामा सात स्वतन्त्रसहित ३० जनाको उम्मेदवारी दर्ता भएको छ । उनीहरुले जिल्ला सदरमुकामस्थित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा गई मनोनयन पत्र दर्ता गराएका हुन् । जिल्लामा राष्ट्रिय जनमोर्चाले मात्र एक मात्र महिला उम्मेदवार अघि सारेको छ । दुई निर्वाचन क्षेत्र रहेको पाल्पामा १४ राजनीतिक दलका उम्मेदवारले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । पाल्पा क्षेत्र नं १ बाट ९ दल र ४ स्वतन्त्रले उम्मेदवारी दिएका छन् । यहाँ नेकपा (एमाले) बाट नारायणप्रसाद आर्चाय, नेपाली कांग्रेसबाट सन्दिप राना, नेपाली कम्युनिस्ट पार्टीबाट हुमबहादुर सुनारी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट बिमल पन्त र राष्ट्रिय जनमोर्चाबाट नरमती सिञ्जालीले उम्मेदवारी दर्ता गरेको निर्वाचन अधिकृत दशरथ पंगेनीले जानकारी दिए । यस्तै मङ्गोल नेशनल अर्गनाइजेसनबाट सलन चिदी, नेशनल रिपब्लिक नेपालबाट थमनसिंह रेग्मी मगर, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बृहस्पति अर्याल, नेपाल कम्युनिस्ट पार्टी ( माओवादी) बाट पुरन गैरे शर्मा तथा स्वतन्त्रबाट कौशल अर्याल, डिल्लीराज काफ्ले, जुद्धबहादुर विरकट्टा र वाछावली मियाले मनोनयन दर्ता गरेका छन् । यस्तै क्षेत्र नं २ बाट १४ राजनीतिक दल र तीन स्वतन्त्र उम्मेवारले मनोनयन दर्ता गरेका छन् । यहाँ नेकपा (एमाले) बाट ठाकुर गैरे, नेपाली कांग्रेसबाट हिमालदत्त श्रेष्ठ, नेपाली कम्युनिस्ट पार्टीबाट सोमप्रसाद पाण्डेय, राष्ट्रिय स्वतन्त्र पार्टीबाट माधवबहादुर थापाले उम्मेदवारी दिएका छन् । त्यसैगरी राष्ट्रिय जनमोर्चाबाट बालबहादुर दर्लामी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट डुलबहादुर कुँवर, नेशनल रिपब्लिक नेपालबाट देवप्रसाद श्रेष्ठ, सार्वभौम नागरिक पार्टीबाट रामबहादुर अस्लामी, जनता समाजवादीबाट खिकबहादुर रेश्मी, राष्ट्रिय जनमुक्तिबाट टोपबहादुर अस्लामी, मङ्गोल नेसनल अर्गनाइजेसनबाट मानबहादुर दर्लामी, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) बाट विष्णु ठडराई, प्रगतिशिल लोकतान्त्रिक पार्टीबाट बोधराज जैसी, नेपाल मजदुर किसान पार्टीबाट कृष्णशोभा मुस्याख्वले उम्मेदवारी दर्ता गराएका छन् । त्यसैगरी स्वतन्त्रबाट मोहनकुमार थापा, देवीप्रसाद भण्डारी र केशवप्रसाद बस्यालले उम्मेदवारी दिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका प्रवक्ता सहायक निर्वाचन अधिकृत केवश पराजुलीले जानकारी दिए । रासस
यस्तो छ बुधबारका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकन डलर एकको खरिददर १४५ रुपैयाँ २७ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८७ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ३६ पैसा र बिक्रीदर १७१ रुपैयाँ ०६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९५ रुपैयाँ ५६ पैसा र बिक्रीदर १९६ रुपैयाँ ३६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८३ रुपैयाँ ९० पैसा र बिक्रीदर १८४ रुपैयाँ ६६ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९७ रुपैयाँ ७८ पैसा र बिक्रीदर ९८ रुपैयाँ १९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०५ रुपैयाँ ०९ पैसा र बिक्रीदर १०५ रुपैयाँ ५३ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११३ रुपैयाँ २७ पैसा र बिक्रीदर ११३ रुपैयाँ ७३ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ २० पैसा र बिक्रीदर नौ रुपैयाँ २४ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ८७ पैसा र बिक्रीदर २० रुपैयाँ ९६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३८ रुपैयाँ ९० पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ८६ पैसा र बिक्रीदर ४० रुपैयाँ ०२ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ६८ पैसा र बिक्रीदर चार रुपैयाँ ७० पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३९ रुपैयाँ ७१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९८ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ८४ पैसा र बिक्रीदर ९ रुपैयाँ ८८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ९१ पैसा र बिक्रीदर १५ रुपैयाँ ९८ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ८० पैसा र बिक्रीदर २२ रुपैयाँ ९० पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ६३ पैसा र बिक्रीदर १८ रुपैयाँ ७१ पैसा, कुवेती दिनार एकको खरिददर ४७५ रुपैयाँ २० पैसा र बिक्रीदर ४७७ रुपैयाँ १७ पैसा , बहराइन दिनार एकको खरिददर ३८५ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३८६ रुपैयाँ ९० पैसा , ओमनी रियाल एकको खरिददर ३७७ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३७८ रुपैयाँ ९१ पैसा रहेको छ । यस्तै,भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
सुन्तला किलोको १४० रुपैयाँ, यस्तो छ कृषिउपजको थोक मूल्य
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १००, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ५३, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ९०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ७५, आलु रातो प्रतिकिलो रु ३१, आलु रातो (भारतीय) प्रतिकिलो रु २६, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ४४ रहेको छ । यस्तै, गाजर (लोकल) प्रतिकिलो रु ६०, गाजर (तराई) प्रतिकिलो रु ५०, बन्दा (लोकल) प्रतिकिलो रु ६०, बन्दा (तराई) प्रतिकिलो रु ५०, बन्दा (नरिबल) प्रतिकिलो रु ५०, काउली स्थानीय प्रतिकिलो रु ७०, काउली स्थानीय (ज्यापू) प्रतिकिलो रु १००, काउली तराई प्रतिकिलो रु ६५, रातो मूला प्रतिकिलो रु ४०, सेतो मूला (लोकल) प्रतिकिलो रु १८, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २५, भन्टा लाम्चो प्रतिकिलो रु ७०, भन्टा डल्लो प्रतिकिलो रु ८०, मकै बोडी प्रतिकिलो रु ५० कायम भएको छ । त्यसैगरी, मटरकोसा प्रतिकिलो रु ६०, घिउ सिमी (लोकल) प्रतिकिलो रु १३०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ११०, घिउ सिमी (राजमा) प्रतिकिलो रु १४०, टाटे सिमी प्रतिकिलो रु १००, तिते करेला प्रतिकिलो रु १७०, लौका प्रतिकिलो रु ८५, परबर (तराई) प्रतिकिलो रु २४०, फर्सी पाकेको प्रतिकिलो रु ५५, हरियो फर्सी (लाम्चो) प्रतिकिलो रु ४०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ४५, सलगम प्रतिकिलो ८०, भिन्डी प्रतिकिलो १२०, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो रु ७०, पिँडालु प्रतिकिलो रु ६५ र स्कुस प्रतिकिलो रु ८० कायम गरिएको छ । रायोसाग प्रतिकिलो रु ४०, पालुङ्गो प्रतिकेजी रु ८०, चमसुर प्रतिकिलो रु ८०, तोरीको साग प्रतिकिलो रु ५०, मेथी प्रतिकिलो रु ८०, हरियो प्याज प्रतिकिलो रु ६०, बकुला प्रतिकिलो रु १००, तरुल प्रतिकिलो रु ८०, च्याउ (कन्य) प्रतिकिलो रु १००, च्याउ (डल्ले) प्रतिकिलो रु ५००, राजा च्याउ प्रतिकेजी रु ३००, सिताके च्याउ प्रतिकेजी रु १००० र कुरिलो प्रतिकिलो रु १,८५० निर्धारण गरिएको छ । ब्रोकाउली प्रतिकिलो रु १००, चुकुन्दर प्रतिकिलो रु ८०, सजीवन प्रतिकेजी रु ४२०, रातो बन्दा प्रतिकिलो रु १२०, जिरीको साग प्रतिकिलो रु १३०, ग्याठकोभी प्रतिकिलो रु ७०, सेलरी प्रतिकिलो रु २२०, पार्सले प्रतिकिलो रु ६००, सौफको साग प्रतिकिलो रु ८०, पुदिना प्रतिकिलो रु ३००, गान्टे मुला प्रतिकिलो रु ८०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १२०, तोफु प्रतिकिलो रु १५०, गुन्द्रुक प्रतिकिलो रु ४०० र रूखटमाटर प्रतिकेजी रु २६० तोकिएको छ । स्याउ (झोले) प्रतिकिलो रु २८०, स्याउ (फुजी) प्रतिकिलो रु ३५०, केरा (दर्जन) रु १८०, कागती प्रतिकिलो रु ११०, अनार प्रतिकिलो रु ३५०, सुन्तला (नेपाली) प्रतिकिलो रु १४०, तरबुजा हरियो प्रतिकिलो रु १००, मौसम प्रतिकिलो रु १२०, जुनार प्रतिकिलो रु १२०, भुइँकटहर प्रतिगोटा रु १५५, काँक्रो (लोकल) प्रतिकिलो रु १२०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ८०, निबुवा प्रतिकिलो रु ७०, नास्पाती (चाइनिज) प्रतिकिलो रु २३०, मेवा (नेपाली) प्रतिकिलो रु ७०, मेवा (भारतीय) प्रतिकिलो रु ११०, लप्सी प्रतिकिलो रु १२०, किनु प्रतिकिलो रु ११०, स्ट्रबेरी प्रतिकिलो रु ५००, किबी प्रतिकिलो रु २८० र एभोकाडो प्रतिकिलो रु ३५० निर्धारण गरिएको छ । यसैगरी, अमला प्रतिकिलो रु ८०, अदुवा प्रतिकिलो रु ११०, सुकेको खुर्सानी प्रतिकिलो रु ४२०, खुर्सानी हरियो प्रतिकिलो रु ११०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु १२०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ८०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो रु ६५०, भेडे खुर्सानी प्रतिकिलो रु ८०, हरियो लसुन प्रतिकिलो रु ८०, हरियो धनियाँ प्रतिकिलो रु ७०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २५०, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु १८०, छ्यापी सुकेको प्रतिकिलो रु १६०, छ्यापी हरियो प्रतिकिलो रु २००, माछा सुकेको प्रतिकिलो रु १,०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २८० र ताजा माछा (छडी) प्रतिकिलो रु २५० निर्धारण गरिएको छ ।
एनपीएल घटेसँगै मञ्जुश्री फाइनान्सको नाफा १५.६२ प्रतिशत बढ्यो, यस्ता छन् अन्य सूचक
काठमाडौं । मञ्जुश्री फाइनान्सको चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा खुद नाफा १५.६२ प्रतिशत बढेर १३ करोड ५३ लाख ७८ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको दोस्रो त्रैमासमा फाइनान्सले ११ करोड ७० लाख ७९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आवको दोस्रो त्रैमासमा फाइनान्सको खुद ब्याज आम्दानी १३.८७ प्रतिशत बढेर ४५ करोड ३२ लाख ७३ हजार रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा फाइनान्सले ३९ करोड ८० लाख ५५ हजार रुपैयाँ ब्याज आम्दानी गरेको थियो । समीक्षा अवधिमा फाइनान्सको खुद शुल्क तथा कमिशन आम्दानी २.०२ प्रतिशत घटेर ५ करोड ८७ लाख ११ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी १२.६३ प्रतिशत बढेर ५३ करोड ६१ लाख ९२ हजार रुपैयाँ, सञ्चालन नाफा ११.५३ प्रतिशत घटेर १९ करोड १२ लाख १३ हजार रुपैयाँ रहेको छ । समीक्षा अवधिमा फाइनान्सको वितरणयोग्य नाफा २३ करोड ५६ लाख २० हजार रुपैयाँ रहेको छ । गत वर्षको दोस्रो त्रैमासमा फाइनान्सको वितरणयोग्य नाफा १५ करोड ९ लाख ४२ हजार रुपैयाँ थियो । १ अर्ब ३५ करोड १५ लाख ५२ हजार रुपैयाँ चुक्ता पुँजी रहेको फाइनान्सको जगेडा कोषमा ७८ करोड २० लाख १५ हजार रुपैयाँ रहेको छ । पुस मसान्तसम्ममा कम्पनीको निक्षेप संकलन ६.९१ प्रतिशत बढेर २२ अर्ब ४८ करोड ८२ लाख रुपैयाँ र कर्जा लगानी १०.७१ प्रतिशत बढेर १९ अर्ब ६१ करोड ६६ लाख रुपैयाँ पुगेको छ । गत वर्षको पुस मसान्तसम्ममा फाइनान्सले २१ अर्ब ३ करोड ४६ लाख रुपैयाँ निक्षेप संकलन गरी १७ अर्ब ७१ करोड ७९ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो । यस्तै, कम्पनीको कर्जा निक्षेप अनुपात (सीडी) रेसियो ८४.८४ प्रतिशत रहेको छ । नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी २.७ रुपैयाँ बढेर २०.०३ रुपैयाँ पुगेको छ । पुस मसान्तसम्ममा फाइनान्स प्रतिसेयर नेटवर्थ १७५.२९ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ३९.८९६ गुणा रहेको छ । समीक्षा अवधिमा कम्पनीले खराब कर्जा (एनपीएल) पनि घटाएको छ । गत वर्षको पुसमा ३.८६ प्रतिशत रहेको खराब कर्जा घटेर ३.६४ प्रतिशतमा झारेको छ ।