नेकपा संयोजक प्रचण्ड दाहाल अस्पताल भर्ना
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्पताल भर्ना भएका छन् । उनलाई ज्वरो र रुघाखोकी बढेपछि शनिबार बिहान ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको निजी सचिव गोविन्द आचार्यले जानकारी दिए । संयोजक दाहाललाई टाइफाइडको लक्षण देखिएपछि अझै केही दिन अस्पतालमै राखेर उपचार गरिने उनले बताए ।
बजेटमा निजी क्षेत्रको छाप, अर्थतन्त्रमा गति ल्याउने
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटले मुलुकको अर्थतन्त्र र बजारलाई चलायमान बनाउन सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् । बजेटका विभिन्न प्रावधानहरूले आर्थिक गतिविधि विस्तारमा सहयोग पुग्ने उनले बताए । अध्यक्ष श्रेष्ठले आयकर दरमा गरिएको सुधार, मध्यम आयस्तर भएका नागरिकलाई प्रोत्साहन र युवा लक्षित कार्यक्रमहरू बजेटका सबल पक्ष भएको उल्लेख गरे । विशेषगरी सूचना प्रविधि (आईटी) क्षेत्रलाई प्राथमिकतामा राखेर ल्याइएका प्रोत्साहन कार्यक्रमहरूले डिजिटल अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने उनले बताए । त्यस्तै, लगानीको सुरक्षा र ऋण असुली प्रक्रियालाई थप व्यवस्थित बनाउन ‘क्रेडिट रिकभरी एक्ट’ (कर्जा असुली ऐन) अघि बढाउने सरकारको घोषणालाई निजी क्षेत्रले स्वागत गरेको छ । यसले लगानीकर्ताको लगानी सुरक्षित हुने र कारोबारमा सहजता आउने विश्वास गरिएको छ । पूर्वाधार विकासका आयोजनामा आइपर्ने व्यावहारिक तथा कानुनी अड्चनहरू, जस्तै रुख कटान तथा वातावरणीय प्रभाव मूल्याङ्कनका कारण हुने ढिलाइलाई सम्बोधन गर्न ‘सनसेट क्लज’ को अवधारणा ल्याइनुलाई पनि सकारात्मक कदमका रूपमा लिइएको छ। यसले ठूला पूर्वाधार तथा हाउजिङ परियोजनाहरूको कार्यान्वयनमा गति दिने श्रेष्ठको भनाइ छ । त्यस्तै, निर्माण व्यवसायीहरूले भोग्दै आएका समस्या र ठूला निर्माण आयोजनामा देखिएका अवरोधहरूलाई सम्बोधन गर्ने विषय बजेटमा समेटिनुले निर्माण क्षेत्रमा देखिएको गतिरोध अन्त्य हुने महासंघको अपेक्षा छ । 'अहिले बजेटमा केही राम्रा कुराहरू आएका छन् जस्तो लाग्छ। आयकर दरहरू घटाउने प्रयास गरिएको छ, मध्यम आयस्तरका वर्गलाई प्रोत्साहन गर्न खोजिएको देखिन्छ, युवालाई लक्षित कार्यक्रम छन्, र आईटी क्षेत्रमा पनि केही प्रोत्साहन गरिएको छ,' उनले भने, 'पूर्वाधार क्षेत्रमा पनि केही खर्च बढाउने प्रयास गरिएको छ। धेरै वर्षपछि पुँजीगत खर्च बढाइएको छ, करिब एक खर्बले भए पनि वृद्धि भएको देखिन्छ। यसले बजार चलायमान बनाउन सहयोग गर्छ कि भन्ने अपेक्षा छ।' उनका अनुसार क्रेडिट रिकभरी एक्टलाई अगाडि बढाउने कुरा गरिएको छ, जसले लगानी सुरक्षित बनाउन र उधारो असुलीलाई सहज बनाउन सहयोग पुर्याउने अपेक्षा छ । त्यस्तै, सनसेट क्लजको अवधारणा पनि ल्याइएको छ, जसले पूर्वाधार र हाउजिङ परियोजनामा देखिने अवरोधहरू घटाउन सहयोग पुर्याउने उनकाे भनाइ छ । अध्यक्ष श्रेष्ठले मुलुकको समग्र औद्योगिक विकासका लागि घरजग्गा तथा निर्माण क्षेत्रको सक्रियता अपरिहार्य रहेको बताए । निर्माण क्षेत्रलाई उद्योगहरूको पनि उद्योगका रूपमा चित्रण गर्दै उनले यो क्षेत्र चलायमान हुँदा मात्र अन्य सहायक उद्योगहरू फस्टाउने उल्लेख गरे । उनका अनुसार निर्माण क्षेत्रको विस्तारले सिमेन्ट, फलामे डन्डी तथा पछिल्लो समय नेपालमै उत्पादन सुरु भएका टाइल उद्योगहरूलाई प्रत्यक्ष सहयोग पुग्नेछ । नेपाल अति कम विकसित मुलुक (एलडीसी) बाट मध्यम आय भएको मुलुकमा स्तरोन्नति हुने लक्ष्यको सन्दर्भमा अध्यक्ष श्रेष्ठले आर्थिक समृद्धिसँगै नागरिकको जीवनस्तर पनि सुधार हुनुपर्नेमा जोड दिए । उनले नेपालीलाई व्यवस्थित आवास र उच्च जीवनस्तर उपलब्ध गराउन सरकारले उपयुक्त वातावरण निर्माण गर्नुपर्ने बताए । 'घरजग्गा व्यवसाय वास्तवमै उद्योगहरूको पनि उद्योग हो । निर्माण क्षेत्र फस्टायो भने सिमेन्ट, डन्डी लगायत निर्माण सामग्रीका उद्योगहरू पनि विस्तार हुन्छन् । त्यसका लागि यो क्षेत्र अघि बढ्न आवश्यक छ,' उनले भने, 'एलडीसी ग्र्याजुएसनको विषयमा हामीले तयारी पूरा नभएको भन्दै केही समय सार्न अनुरोध गरेका थियौं । अहिले सरकारले राष्ट्रसंघमा निवेदन पठाइसकेको छ र सम्भवतः केही वर्षको समय पाउन सकिन्छ । तर त्यो अवधिमा तयारी गर्न जरुरी छ ।' अध्यक्ष श्रेष्ठले मध्यम आय भएको मुलुकमा स्तरोन्नति हुँदा केवल आर्थिक तथ्याङ्क मात्र होइन, नेपालीको जीवनशैली र आवास स्तरमा पनि सुधार आउनुपर्ने बताए । उनले व्यवस्थित आवास क्षेत्रलाई प्राथमिकतामा राखेर अघि बढे मात्र मुलुकको आर्थिक र सामाजिक छवि सुधार हुने विश्वास व्यक्त गरे ।
इन्धन राहतपछि जर्मनीको मूल्यवृद्धि दरमा कमी
काठमाडौं । जर्मनीमा मे महिनामा मुद्रास्फीति दर घटेर २.६ प्रतिशतमा पुगेको छ । मध्यपूर्व युद्धका कारण पछिल्ला दुई महिनादेखि तीव्र रूपमा बढिरहेको मूल्यवृद्धि सरकारको अस्थायी इन्धन कर कटौती योजनापछि केही कम भएको सरकारी तथ्यांकले शुक्रबार देखाएको हो । जर्मनीको सङ्घीय तथ्याङ्क कार्यालयका प्रारम्भिक तथ्याङ्कअनुसार अप्रिलमा २.९ प्रतिशत रहेको उपभोक्ता मूल्य वृद्धि मेमा घटेर २.६ प्रतिशतमा आएको हो । ऊर्जा मूल्य अझै पनि वार्षिक रूपमा ६.६ प्रतिशतले बढेको भए पनि यो अप्रिलको १०.१ प्रतिशत वृद्धिभन्दा निकै कम हो । अर्थशास्त्रीहरूले मे १ देखि लागू गरिएको दुई महिनाको इन्धन कर राहत योजनालाई यसको मुख्य कारण मानेका छन् । उक्त योजनाअन्तर्गत पेट्रोल र डिजेलमा प्रतिलिटर कर करिब १७ युरो सेन्टले घटाइएको छ । जर्मनीको केन्द्रीय बैंकले यो कदमले मे र जुन महिनामा मुद्रास्फीति करिब ०.२५ प्रतिशत बिन्दुले घटाउने अनुमान गरेको छ । तर विश्लेषकहरूले यो राहत अस्थायी हुन सक्ने चेतावनी दिएका छन् । एक अर्थविशेषज्ञले जुलाईपछि कर कटौती योजना समाप्त भए मुद्रास्फीति फेरि बढ्न सक्ने बताएका छन् । उनले मध्यपूर्व युद्धले ऊर्जा मात्र होइन, खाद्यान्न लगायतका क्षेत्रमा पनि मूल्यवृद्धिको दबाब कायम राख्न सक्ने उल्लेख गरे । सरकारी अनुमानअनुसार इन्धन कर कटौतीका कारण करिब १.६ अर्ब युरो राजस्व घाटा हुनेछ । जर्मनीका यातायात मन्त्रीले सरकारको यस्तो राहत कार्यक्रम दीर्घकालसम्म कायम राख्ने क्षमता सीमित रहेको बताएका छन् । उनका अनुसार यातायात लागत बढ्दै जाँदा खाद्यान्न र दैनिक उपभोग्य वस्तुको मूल्य पनि बढ्न सक्छ । यसैबीच, जर्मनीको आर्थिक विज्ञ परिषद्ले २०२६ मा जर्मनीको औसत मुद्रास्फीति ३ प्रतिशत र २०२७ मा २.८ प्रतिशत रहने प्रक्षेपण गरेको छ । २०२५ मा भने यो २.२ प्रतिशत थियो । विशेषज्ञहरूले उच्च ऊर्जा मूल्य र भूराजनीतिक अनिश्चितताले आगामी वर्षहरूमा पनि अर्थतन्त्रमा दबाब कायम रहने बताएका छन् । रासस
बग्दै गरेको खोलामा बोराभित्र महिलाको शव फेला
काठमाडौं । बोरा भित्र पोका पारेर राखेको अवस्थामा महिलाको शव फेला परेको छ । शनिबार बिहान ११ बजे झापा दमक नगरपालिका १० सेतुमाडीस्थित रतुवाखोलाको पुलमुनी बगिरहेको बोरामा पोको पारेको अवस्थामा शव फेला परेको हो । नामथर र ठेगाना नखुलेको दुई तीन दिन अगाडि देखि शव पानीमा रहेर ढाडिएको अवस्थामा फेला परेको झापा जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्र खड्काले जानकारी दिए । उनका अनुसार अन्दाजी ३०- ३२ वर्षकी महिलाले रातो भेष्ट र जिन्सको पेन्ट लगाएको जस्तो देखिएको छ । महिलाको शव सेतो पलाष्टिकको बोरामा पोको पारी संकास्पद अवस्थामा फेला परेको खड्काले जानकारी दिए । प्रहरी नायव उपरीक्षकको कमाण्डमा अनुसन्धान टोली घटनास्थल पुगेर घटनाको सुक्ष्म अनुसंधान भइरहेको उनले बताए । उनका अनुसार मृतकको हालसम्म पहिचान खुलेको छैन । सनाखत समेत नभएकाले मृतकलाई चिन्नु हुने अभिभावक, आफन्तजन, साथी भाइ तथा छर छिमेकहरूले नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ ।
ज्येष्ठ नागरिक भन्छन् - सन्तोषसँग बाँच्न धनले मात्र नहुँदो रहेछ, आफू जस्तै व्यक्तिसँग भेटघाट चाहिने रहेछ
काठमाडौं । बाहिरबाट हेर्दा काठमाडौं सहरको बसाई लोभलाग्दो देखिन्छ । बाहिरबाट हेर्दा जति लोभलाग्दो छ । शहर भित्रको सामाजिक अन्तरघुलन त्यत्तिकै उकुसमुकुस छ । जेठ १५ गते काभ्रेको पलाञ्चोक विजेश्वरी भवानीको दर्शन गर्न पुगेका वडा नं. ११ क्षेत्रका ज्येष्ठ नागरिकहरूको अभिव्यक्ति र खुला ठाउँमा पुग्दाको खुशीले यस्तै बताइरहेको थियो । सहर र घरमा एक्लिँदै गएका ७० वर्ष उमेर पुगेका १२५ जना ज्येष्ठ नागरिकलाई वडा नं. ११ कार्यालयले तीर्थाटन गराउन पलाञ्चोक लगेको थियो । गाडीमा आफूजस्तै पाका उमेरका व्यक्तिहरू देख्दा, समूहमा देवीको दर्शन गर्न पाउँदा, आफ्नै उमेरका सँग सामूहिक खाना र खाजा खाँदा उनीहरुको अनुहारमा उज्यालो देखिँदै गएको थियो । तीर्थाटनमा सहोदर दाजुभाइ ८७ वर्षीय हीरामान डंगोल र ८५ वर्षीय मचाम डंगोल एकै साथ थिए । उनीहरुले एकै ठाउँमा उभिएर अनुभव सुनाउँदै भने- ‘सहरमा म मात्र एक्लो होइन । मजस्तै अरु पनि एक्लै हुनुहुँदो रहेछ । भन्ने देख्न पाइयो । एक्लाएक्लाहरुका बिचमा भेटघाट गर्न पाउँदा त उमेर नै बढेको जस्तो भयो । मजस्तै विरामी भएका अरु पनि हुनुहुँदो रहेछ । यो पनि थाहा भयो । उहाँहरुलाई देखेर मलाई त बाँच्न आत्मबल बढ्यो ।’ उनीहरूसँगै यात्रामा रहेका ७७ वर्षीय कन्हैयाराज श्रेष्ठले विगत सम्झिँदै भने- ‘म वन कार्यालयको उपमहानिर्देशक पदबाट रिटायर्ड भएको हूँ । त्यो बेला सम्झँदा अहिले लाग्छ, ‘पदमा हुँदा मान्छे धरातलमा होइन । हावामा उडेको हुन्छ । आफूलाई अरुभन्दा माथि भएको लाग्छ । कसैलाई गन्दैन । कसैले भनेको मान्दैन ।’ मलाई पहिलेका कुरा सम्झँदा अहिले लाग्छ, ‘त्यसबेला सबै निरर्थक काम गरिएछ ।’ वडाले ज्येष्ठ नागरिकका लागि कार्यक्रम आयोजना गरेर म जस्ता व्यक्तिलाई सामाजिकीकरण गरायो । यसले जीवनप्रति उर्जा थपिएको छ । सामाजिक दुरी घटाएको छ ।’ ८० वर्षीया रत्नेश्वरी श्रेष्ठ गोर्खालीले धेरैपछि यसरी घुम्न पाएकोमा आनन्द अनुभूति भएको प्रतिक्रिया दिइन् । ७० इन्द्रलक्ष्मी महर्जनले वडाबाट यस्तै कार्यक्रम भइरहेमा मनका घाउ विर्सिन सजिलो हुने कुरा सुनाए । ७१ वर्षीया मीरा डंगोल महर्जनले र ७५ वर्षिया हिरामाया महर्जनले अनुभव सुनाउँदै भने- ‘मान्छेलाई सन्तोषसँग बाँच्न धनले मात्र नहुँदो रहेछ । समाज र आफू जस्तै व्यक्तिसँग भेटघाट चाहिने रहेछ ।’ ७४ वर्षीय गोपाल श्रेष्ठले तीर्थाटन अनुभव सुनाउँदै भने- ‘मोनोटनस जीवन विताउँदै थियौँ । आज खुव रमाइलो भयो । पुराना मित्र भेट्न पाइयो । मनै हलुका भए जस्तै भयो । पीडा कम भयो ।’ तपाईँहरुलाई घरमा बस्दा बस्दा दिक्क भएको रहेछ, अब महानगरपालिकाले तपाईँहरुका लागि कस्ता कार्यक्रम ल्याइदिए हुन्थ्यो जस्तो लाग्छ भन्ने प्रश्नको जवाफमा उनीहरुले भने- ‘यसरी घुमाउन लैजाने कार्यक्रम सधैँ चलाइरहनु पर्छ । औषधि किन्न जाने मान्छे, रोग जाँच्न लगिदिने मान्छे छैनन् । त्यो व्यवस्था मिलाइ दिनु पर्छ ।’ यसरी ज्येष्ठ नागरिकहरुसँग अन्तर संवाद गरिरहेका महानगरपालिकाका भवन व्यवस्था समितिका संयोजक एवं वडा ११ का अध्यक्ष हीरालाल तण्डुकारले भने- ‘घरमा ज्येष्ठ नागरिक एक्लो जीवन बाँचिरहेको छ । उसका चाहना सोध्ने कोही छैन । रुचि र अरुचिका कुरा कसैले सोध्दैन । कतै घुम्न मन लाग्यो भने एक्लै जान सकिँदैन । लैजानलाई कसैसँग फुर्सद छैन ।’ कुरा गर्दा-गर्दै आफैँ भक्कानिनु भएका तण्डुकारका आँखामा टलपल आँशु देखिए । भावुकता सम्हाल्दै ७६ वर्षीय उनले थपे- ‘म पनि यस्तै अवस्थामा छु । कोही परिवार भएर पनि एक्ला छन् । कोही श्रीमती, छोरा-छोरी कोही नभएर म जस्तै एक्ला छन् ।’ पहिलो पटक विसं २०४९ सालमा वडाध्यक्ष निर्वाचित भएका तण्डुकार २०७४ साल र २०७९ को स्थानीय तह सदस्य निर्वाचनबाट वडाध्यक्ष पदमा निर्वाचित भए । वडाध्यक्ष पदमा उनले २०५४ सालको निर्वाचनमा पराजय भोग्नु परेको थियो । वडामा तण्डुकार जस्तै धेरै ज्येष्ठ नागरिक छन् । उनीहरुमध्ये करिब ८५० जनाले सामाजिक सुरक्षा भत्ता र पोषण भत्ता प्राप्त गरिरहेका छन् । यस वर्ष १५१ जनालाई पोषण भत्ता बापत हरेकलाई १२ हजार रुपैयाँ प्रदान गरिएको छ । यो संख्या गएको वर्ष १८१ जना थियो । वडामा पोषण भत्ता प्राप्त गर्ने ९ जना पूर्ण अपाङ्गता भएका व्यक्ति हुनुहुन्छ । अति अशक्त १५ जना प्यारालाइसिस भएका कारण सामान्य जीवन जिउन कठिन भएका ७ जना व्यक्ति हुन् । अन्य सेवाबाट सुविधा लिने भएकाले वडाको सम्पर्कमा नहुनु भएका धेरै ज्येष्ठ नागरिक हुन् । उनीहरु कसरी जीवन विताइरहेका छन्,‌अभिलेखन हुन सकेको छैन । वडाले यस्ता ज्येष्ठ नागरिकलाई खोजेर सामाजिक क्रियाकलापमा आवद्ध गराएर मानसिक पीडा कम गराउने कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ ।
सञ्चालनमा आएको डेढ वर्षमै कजारियाको आम्दानी ३ अर्ब, ४.२९ अर्ब ऋण
काठमाडौं । सञ्चालनमा आएको करिब डेढ वर्षमै कजारिया रमेश टाइल्स लिमिटेडले ३ अर्ब रुपैयाँभन्दा बढी आम्दानी गरेको छ । कम्पनीले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ८ महिनामा १ अर्ब ५४ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको छ । त्यस्तै, गत आर्थिक वर्ष २०८१/८२ को १० महिनामा १ अर्ब ४७ करोड ६३ लाख रुपैयाँ आम्दानी गरेको कम्पनीले जनाएको छ । यसअनुसार कम्पनीले १८ महिनामै ३ अर्ब २ करोड रुपैयाँ आम्दानी गरेको हो । कम्पनीका अनुसार उत्पादन सुरु भएयता आम्दानी र नाफा मार्जिन सन्तोषजनक रूपमा वृद्धि भइरहेको छ । यस अवधिमा सञ्चालन नाफा मार्जिन करिब १८.३ प्रतिशत रहेको छ, जुन प्रारम्भिक सञ्चालन चरणका लागि सकारात्मक मानिएको छ । नवलपरासी जिल्लाको बर्दघाटमा रहेको कम्पनीको उत्पादन प्लान्टले २०२४ सेप्टेम्बर ७ देखि व्यावसायिक उत्पादन सुरु गरेको हो । जनवरी २०२३ मा स्थापना भएको कम्पनीले नेपालमा भित्ते तथा भुइँमा प्रयोग हुने गुणस्तरीय टाइल उत्पादन गर्दै आएको छ । कम्पनी भारतको कजारिया सिरामिक्स लिमिटेड र नेपालको रमेश कर्प समूहबीच ५०-५० प्रतिशत साझेदारीमा स्थापित संयुक्त उद्योग हो । उद्योगको वार्षिक उत्पादन क्षमता ५ करोड ४९ लाख वर्गफुट रहेको छ । जसमा २ करोड ५६ लाख वर्गफुट ग्लेज्ड भिट्रिफाइड टाइल (भुइँमा प्रयोग हुने) र २ करोड ९३ लाख वर्गफुट भित्ते टाइल उत्पादन क्षमता रहेको कम्पनीले जनाएको छ । कम्पनीले उत्पादन गर्ने सबै टाइल ‘कजारिया’ ब्रान्ड नामबाट नेपाली बजारमा बिक्री भइरहेको छ। कजारिया सिरामिक्स लिमिटेडले भारतमा ३७ वर्षभन्दा बढी समयदेखि सिरेमिक टाइल उत्पादन गर्दै आएको छ । साथै, नेपालसहित विभिन्न मुलुकमा ‘कजारिया’ ब्रान्डमार्फत निर्यात अनुभव रहेको कम्पनीले जनाएको छ । कजारिया सिरामिक्सको प्राविधिक दक्षता तथा उत्पादन व्यवस्थापन अनुभवले कम्पनीको सञ्चालन दक्षता बढाउने अपेक्षा गरिएको छ । साथै, नेपालमा पहिलेदेखि नै स्थापित ‘कजारिया’ ब्रान्ड, तयार डिलर सञ्जाल तथा रमेश कर्प समूहको वितरण क्षमताले बजार विस्तारमा सहयोग पुगेको कम्पनीको भनाइ छ । सरकारले स्वदेशी टाइल उत्पादकलाई दिएको उच्च भन्सार संरक्षणका कारण सस्तो आयातित टाइलसँगको प्रतिस्पर्धाबाट केही हदसम्म सुरक्षा मिलेको कम्पनीले जनाएको छ । केही वर्षअघिसम्म नेपाली बजार पूर्ण रूपमा आयातित टाइलमा निर्भर थियो । तर स्वदेशी उत्पादन सुरु भएपछि सरकारले आयातित तयारी टाइलमा भन्सार महसुल ४० प्रतिशत पुर्याएको छ भने कच्चा पदार्थमा ५ प्रतिशत मात्र कायम गरिएको छ । यसअघि तयारी टाइलमा करिब ३० प्रतिशत भन्सार लाग्ने गरेको थियो । कम्पनीका अनुसार नेपालमा बढ्दो सहरीकरण र आधुनिक निर्माण प्रविधिको प्रयोग विस्तारसँगै भुइँ तथा भित्तामा प्रयोग हुने टाइलको माग निरन्तर बढिरहेको छ । विशेषगरी शहरी क्षेत्रमा टाइलको प्रयोग बढ्दै जाँदा स्वदेशी उत्पादकहरूको दीर्घकालीन व्यावसायिक सम्भावना सकारात्मक देखिएको कम्पनीले जनाएको छ । तर पछिल्लो समय स्वदेशमै टाइल उद्योगहरूको संख्या बढ्दै जाँदा प्रतिस्पर्धा तीव्र बनेको छ, जसले मूल्य प्रतिस्पर्धा बढाएको कम्पनीको भनाइ छ । साथै, भविष्यमा सरकारी नीतिमा परिवर्तन भई भन्सार संरचनामा कुनै प्रतिकूल संशोधन भएमा उद्योगले नियामकीय जोखिम सामना गर्नुपर्ने अवस्था आउन सक्ने उल्लेख गरिएको छ । साथै, कम्पनीको माग निर्माण तथा रियल इस्टेट क्षेत्रको समग्र अवस्थासँग प्रत्यक्ष रूपमा जोडिएको छ। हाल निर्माण क्षेत्र अपेक्षाकृत सुस्त र अनिश्चित अवस्थामै रहेकाले मागमा उतारचढाव देखिने गरेको कम्पनीले जनाएको छ । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट २ अर्ब ६९ करोड ३६ लाख रुपैयाँ दीर्घकालीन र १ अर्ब ६० करोड रुपैयाँ अल्पकालीन गरी कुल ४ अर्ब २९ करोड ३६ लाख रुपैयाँ ऋण लिएको छ ।
भारतको कुशीनगरमा अलपत्र ४५३ नेपालीलाई उद्धार गरी नेपाल ल्याइयो
काठमाडौं । भारतमा अलपत्र परेका ४५३ जना नेपालीलाई नेपाल प्रहरीले उद्धार गरेको छ । उनीहरूलाई नेपाली दूतावास र भारतीय प्रहरीको समन्वयमा कुशीनगरमा अलपत्र परेका ४५३ जना नेपालीलाई नेपाल प्रहरीले स्वदेश ल्याएको हो । पुरुष ३ सय ४३ र महिला १ सय १० महिला रहेका छन् । भारतीय आठ वटा बसमा उनीहरूलाई अलपत्र परेका नेपालीलाई स्वदेश फर्काइएको हो । आठ वटा बसमा उनीहरू नेपाल भित्रिएको रुपन्देही जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी दिनेश बहादुर कुँवरले जानकारी दिए । उनका अनुसार विभिन्न जिल्लाका रहेका छन् । सबैभन्दा बढी सुदूर पश्चिम प्रदेशका नागरिकहरू बढी छन् । भारतमा काम गर्न जाने र अन्य मुलुक जाने नेपालीहरू रहेका छन् । 'भारतमा ती नेपालीलाई कसले लगेको हो र किन लगेको त्यस विषयमा अनुसन्धान भइरहेको छ,' उनले भने ।
आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर बजेट विनियोजन गरेकामा सरोकार भएकाले खुसी व्यक्त गरेका छन् । बजेटमा ऊर्जा क्षेत्रलाई आर्थिक रूपान्तरणको मुख्य आधारका रूपमा स्थापित गर्दै संरचनात्मक सुधार, पूर्वाधार विस्तार, निजी क्षेत्रको सहभागिता तथा हरित ऊर्जामा आधारित औद्योगिकीकरणलाई प्राथमिकतामा राखेको छ । यस्तै, उत्पादन वृद्धिका साथ ऊर्जा व्यापार, प्रसारण सञ्जाल, वित्तीय संरचना र नियामकीय सुधारलाई एकैसाथ अघि बढाउने प्रयास गरेको छ । सरकारले बजेटमार्फत ऊर्जा क्षेत्रलाई रणनीतिक महत्व दिँदै उत्पादनदेखि व्यापारसम्म निजी क्षेत्रलाई आकर्षित गर्ने नीति लिइएको छ । पूर्वऊर्जा सचिव मधुप्रसाद भेटुवालका अनुसार समग्रमा बजेटले ऊर्जा क्षेत्रको समग्र विकासका लागि नयाँ सोचका साथ काम गर्न खोजेको छ । तोकिएका समयमा आयोजना नबन्ने अवस्थाको अन्त्यका लागि लिएको पहल तथा निजी क्षेत्रलाई थप सबल बनाउन राखेको लक्ष्य आफैँमा नयाँ र महत्वपूर्ण रहेको पूर्वसचिव भेटुवालको टिप्पणी छ । यस्तै, केही कार्यक्रम विगतदेखिकै निरन्तरताका रुपमा अगाडि बढाइएको छ । नेपाल विद्युत् प्राधिकरणको खण्डीकरणको विषय नियमित जस्तै बजेटमा समेटिँदै आएको छ । विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने विषय बजेटमा समेटिएको छ । आयोजना निर्माणका लागि विभिन्न ‘फण्ड’ खडा गर्ने तथा १० मेगावाटसम्मका आयोजनाको तत्काल विद्युत् खरिद सम्झौता गर्नेजस्ता कार्यक्रम महत्वपूर्ण रहेको पूर्वसचिव भेटुवालले बताए । बजेटमार्फत आयोजना जिम्मा लिने तर निर्माण नगर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न खोजिएको छ । पूर्वसचिव भेटुवालले राजस्वको स्रोतको विविधीकरण गर्न ५० युनिटभन्दा बढी विद्युत् खपत गर्नेलाई केही कर थप भएको हुनसक्ने टिप्पणी गरे । ऊर्जा उत्पादन, प्रसारण तथा वितरण पूर्वाधारका लागि सरकारले ८५ अर्ब ५४ करोड रुपैयाँ विनियोजन गरेको छ । यसमध्ये निर्माणाधीन प्रसारण लाइन तथा सबस्टेशन निर्माण सम्पन्न गर्नमात्रै ७० अर्ब रुपैयाँ उपलब्ध गराइएको छ । हेटौँडा–ढल्केवर–इनरुवा ४०० केभी प्रसारण लाइन चालु आर्थिक वर्षभित्र सम्पन्न गर्ने घोषणा गरेको छ । नयाँ खिम्ती–बाह्रबीसे–काठमाडौं तथा हेटौँडा–रातमाटे–लप्सीफेदी–न्यू दमौली–न्यू बुटवल ४०० केभी प्रसारण लाइन निर्माणलाई तीव्रता दिने लक्ष्य राखेको छ । अन्तरदेशीय विद्युत् व्यापार विस्तारका लागि बुटवल–गोरखपुर र इनरुवा–पूर्णिया प्रसारण लाइन निर्माणलाई प्राथमिकतामा राखिएको छ । ढल्केवर–मुजफ्फरपुर–सीतामढी, लम्की–दोदोधरा–बरेली, लमही–लखनउ, निजगढ–मोतिहारी तथा चिलिमे हब–केरुङ प्रसारण लाइनको अध्ययन सम्पन्न गरी निर्माण प्रक्रिया अघि बढाउने लक्ष्य बजेटको छ । ती प्रसारण लाइन निर्माण सम्पन्न गरेर नेपाललाई दक्षिण एशियाली क्षेत्रीय ऊर्जा बजारसँग जोड्ने दीर्घकालीन रणनीतिक सङ्केत दिएको छ । सरकारले कर्णाली करिडोर राष्ट्रिय प्रसारण लाइन निर्माणका अलावा राष्ट्रिय ग्रिड नपुगेका कर्णालीका स्थानीय तहमा विद्युतीकरण गर्ने घोषणा गरेको छ । सरकारले राहुघाट जलविद्युत् आयोजना यसैवर्ष सम्पन्न गर्ने तथा तनहुँ जलाशययुक्त आयोजना, माथिल्लो मोदी, माथिल्लो त्रिशूली–३ बी र बूढीगङ्गा आयोजनालाई तीव्रता दिने भएको छ । साथै, माथिल्लो अरुण, उत्तरगङ्गा, चैनपुर सेती, तामाकोशी–५ र घुन्सा खोला आयोजनाको वित्तीय व्यवस्थापन गरी ठेक्का प्रक्रिया अघि बढाइने भएको छ । नलगाड, अरुण–४ र नौमुरे आयोजनाको अध्ययन प्रक्रिया अगाडि बढाइने छ । कर्मचारी सञ्चय कोषको लगानीमा निर्माण हुने बेथान कर्णाली आयोजनालाई अघि बढाउने योजना छ । चर्चामा मात्रै सीमित रहेको एक हजार २०० मेगावाट क्षमताको बूढीगण्डकी जलाशययुक्त आयोजना अधिकार सम्पन्न प्राधिकरण मोडलमा निर्माण गर्ने कार्यक्रमलाई महत्वका साथ समावेश गरिएको छ । यसैगरी, ६७० मेगावाटको दूधकोशी जलाशययुक्त आयोजनाको ‘फाइनान्सियल क्लोजर’ गरी निर्माण प्रक्रिया सुरु गर्ने घोषणा बजेटले गरेको छ । विद्युत् खरिद सम्झौता (पिपीए) गरेर बसेका तर निर्माण सुरु नगरेका आयोजनाको अनुमतिपत्र खारेज गरी ‘टेक अर पे’ ढाँचामा नयाँ पिपीए गर्ने नीति लिइएको छ । साथै १० मेगावाटभन्दा कम क्षमताका आयोजनाको तत्काल पिपीए गर्ने तथा सुक्खायाममा प्रतिस्पर्धात्मक विद्युत् खरिददर निर्धारण गर्ने व्यवस्था गरिएको छ । निजी क्षेत्रलाई अन्तरराष्ट्रिय बजारमा विद्युत् व्यापार गर्न दिने तथा निजी लगानीमै प्रसारण लाइन निर्माण गरी प्रसारण शुल्क लिएर विद्युत् व्यापार गर्नसक्ने कानुनी व्यवस्थाको घोषणा बजेटले गरेको छ । स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)का उपाध्यक्ष उत्तम भ्लोन लामाका अनुसार सरकारको निर्णय सकारात्मक भएको प्रतिक्रिया दिए । उनले नयाँ पिपिएका बारेमा पनि बजेटले केही बोलिदिएको भए थप राम्रो हुने धारणा राखे । उनले आन्तरिक बिजुली खपतमा जोड दिए । ऊर्जा क्षेत्रलाई हरित औद्योगिकीकरणसँग जोड्दै सरकारले हेटौँडामा दुई दशमलव पाँच मेगावाटको ‘ग्रीन हाइड्रोजन प्लान्ट पाइलट’ परियोजनाका रूपमा अघि बढाउने घोषणा गरेको छ । काठमाडौं उपत्यकामा १०० मेगावाटको ‘ब्याट्री इनर्जी स्टोरेज’ प्रणाली सुरु गर्ने योजना अगाडि सारिएको छ । यो नयाँ योजना हो । स्वच्छ ऊर्जामा आधारित उद्योग प्रवद्र्धन, इलेक्ट्रिक सवारीसाधन उत्पादन, चार्जिङ स्टेशन विस्तार तथा ‘ब्याट्री’ व्यवस्थापनका लागि कर तथा पूर्वाधार प्रोत्साहनको नीति बजेटमा समेटिएको छ । निजी क्षेत्रको सहकार्यमा औद्योगिक क्षेत्र तथा औद्योगिक करिडोरमा स्वच्छ ऊर्जामा आधारित प्रविधिको प्रयोग गरी ‘ट्रिटमेन्ट प्लान्ट’सहितको ढल व्यवस्थापन गरिनेछ । सरकारले जलविद्युत् आयोजना हस्तान्तरण हुँदा वनको जग्गा भोगाधिकार तथा रुख कटानबापतको शुल्क समायोजन गर्ने व्यवस्था गरेको छ । आगामी आर्थिक वर्षमा ६७० मेगावाट जलविद्युत् र ३७० मेगावाट सौर्य ऊर्जा राष्ट्रिय प्रणालीमा थपिने लक्ष्य लिएको छ । यससँगै नेपालको कुल जडित विद्युत् क्षमता पाँच हजार ५३५ मेगावाट पुग्ने सरकारको अनुमान छ । बजेट वक्तव्यअनुसार आगामी आवको बजेटमार्फत सिँचाइ तथा नदी नियन्त्रण क्षेत्रमा ठूलो लगानी विस्तार गरिनेछ । बजेटले परम्परागत सिँचाइ पूर्वाधारको पुनःस्थापनासँगै बहुउद्देश्यीय आयोजना, भूमिगत सिँचाइ, लिफ्ट सिँचाइ तथा नदी व्यवस्थापनलाई एकीकृत रूपमा अघि बढाइनेछ । आगामी आवमा थप १५ हजार ८०० हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा विस्तार गर्ने लक्ष्य छ । यससँगै देशभर सिञ्चित खेतीयोग्य जमिनको अनुपात ६४ प्रतिशत पुग्नेछ । नदी नियन्त्रणतर्फ ७० किलोमिटर तटबन्ध निर्माण तथा २१० हेक्टर जमिन उकास्ने योजना बजेटमा समावेश गरिएको छ । बबई सिँचाइ आयोजनाअन्तर्गत आगामी वर्ष थप एक हजार ६६ हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार हुनेछ । आगामी आवमा राजापुर सिँचाइ आयोजनाको पुनःस्थापना तथा भेरी–बबई डाइभर्सन आयोजनाको हेडबक्र्स निर्माण सम्पन्न गर्ने लक्ष्य छ । यी आयोजनाका लागि पाँच अर्ब ६३ करोड रुपैयाँ विनियोजन गरिएको छ । सिक्टा सिँचाइ आयोजनाअन्तर्गत बाँकेको पूर्वी तथा पश्चिमी क्षेत्रमा थप पाँच हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पु¥याउन दुई अर्ब ५५ करोड रुपैयाँ विनियोजन गरिएको छ । सुनकोशी–मरिन डाइभर्सन आयोजनाको बाँध तथा विद्युत्गृह निर्माण पुनःठेक्का प्रक्रियामार्फत अघि बढाइने भएको छ । चार वर्षभित्र आयोजना सम्पन्न गर्ने लक्ष्यसहित दुई अर्ब ९८ करोड रुपैयाँ छुट्याएको छ । सुनकोशी–मरिन आयोजनाबाट प्राप्त अतिरिक्त पानीलाई उपयोग गर्दै बागमती सिँचाइ आयोजनाको स्तरोन्नति गरी बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषामा एक लाख २२ हजार हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा विस्तार गर्ने योजना पनि बजेटमा समेटिएको छ । यसका लागि ५३ करोड रुपैयाँ बजेट छ । महाकाली सिँचाइ आयोजनाको कमाण्ड क्षेत्र विस्तार गर्ने तथा रानी–जमरा–कुलरिया आयोजनाको लम्की खण्डमा पूर्वाधार विकासलाई तीव्रता दिइने भएको छ । यी आयोजनाका लागि पाँच अर्ब १३ करोड रुपैयाँ उपलब्ध गराइने छ । बृहत् दाङ उपत्यका सिँचाइ आयोजना र प्रगन्ना–बड्कापथ सिँचाइ आयोजनामार्फत थप दुई हजार ३८० हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार गर्न एक अर्ब २१ करोड बजेट छुट्याइएको छ । सरकारले नौमुरे बहुउद्देश्यीय सिँचाइ आयोजनाबाट कपिलवस्तु क्षेत्रमा सिँचाइ विस्तार गर्ने उद्देश्यसहित आवश्यक पूर्वतयारी कार्य सम्पन्न गर्ने जनाएको छ । वाणगङ्गा तथा नारायणी सिँचाइ आयोजनाको पुनःस्थापना र मर्मतसम्भारका लागि बजेट विनियोजन गरिएको छ । सुनसरी–मोरङ, चन्द्र नहर, कमला, नारायणी, गण्डक तथा कोशी पम्पजस्ता पुराना सिँचाइ प्रणालीको पुनःस्थापना तथा मर्मतका लागि ४४ करोड रुपैयाँ विनियोजन गरिएको छ । विगतमा निर्माण भएका तर जीर्ण बनेका प्रणालीलाई पुनःप्रभावकारी बनाउनेतर्फ सरकारले ध्यान दिएको छ । तराई–मधेसमा सतह सिँचाइको पहुँच नपुगेका थप तीन हजार ९८० हेक्टर खेतीयोग्य जमिनमा भूमिगत सिँचाइ सुविधा विस्तार गर्न अर्ब ८३ करोड रुपैयाँ विनियोजन गरिएको छ । सर्लाही र धनुषामा ‘स्मार्ट’ प्रविधिमा आधारित भूमिगत सिँचाइ प्रणाली विस्तार गर्ने योजना पनि अघि सारिएको छ । पहाडी तथा हिमाली क्षेत्रमा लिफ्ट सिँचाइलाई प्राथमिकतामा राख्दै सरकारले ८० करोड रुपैयाँ विनियोजन गरेको छ । आगामी वर्ष पहाडी टार क्षेत्रमा दुई हजार २३० हेक्टर जमिनमा थप लिफ्ट सिँचाइ सुविधा विस्तार गर्ने लक्ष्य छ । महाकाली, कर्णाली, नारायणी र कोशीजस्ता ठूला नदीको व्यवस्थापनका लागि पनि बजेट विनियोजन गरिएको छ । रासस