विकासन्युज

४  दिनको बिदाले ढोरपाटनका होटल भरिभराउ, बास नपाएपछि सयौँ फर्किए

काठमाडौं । लगातार ४  दिन बिदा हुँदा ढोरपाटन उपत्यकामा पर्यटक बढेका छन् । एकै दिन सयौंको सङ्ख्यामा आन्तरिक पर्यटक पुगेपछि होटल भरिभराउ भएका छन् । कतिपय पर्यटकहरू होटलमा कोठा नपाएर फर्कनु समेत परेको छ । बिहीबारदेखि बिदा भए पनि बुधबारबाट ढोरपाटनका होटल भरिएका थिए । एकै दिन सर्यौंको सङ्ख्यामा पर्यटक आउँदा होटलमा व्यवस्थापनमा समस्या भएको ढोरपाटन उपत्यका होटल व्यवसायी सङ्घका अध्यक्ष जीवन पुनले बताए । ढोरपाटनमा २७ वटा होटल र १२ वटा घरवास (होमस्टे) छन् । पछिल्लो समय ढोरपाटनको प्रचार व्यापक हुँदा एक/दुई दिन बिदा हुँदा साथ पर्यटक आउने गरेको अध्यक्ष पुनले बताए । गत जेठ १२ गतेबाटै सम्पर्क गरेर आएका पाहुनालाई होटल व्यवसायीले राखे पनि अरूले बास पाउन नसकेको उनको भनाइ छ । ‘एकै पटक लामो बिदा भएर होला पाहुन थामि नसक्नु आउनुभएको छ, वरपरका खाली घरहरू पनि भएका छन्, होटल, होमस्टे कुनै पनि खाली छैनन्,’ अध्यक्ष पुनले भने, ‘मेरो सम्पर्कमा आएकै करिब १ सय जना पर्यटकले बास नपाएर फर्किनुभयो, अरू व्यवसायी साथीहरूको सम्पर्कमा आउनुभएका पाहुना पनि धेरैनै फर्किनु पर्यो, अब ढोरपाटन आउने पाहुनाले होटलको अवस्था बुझेर मात्रै आउन आग्रह गर्छौं ।’ ढोरपाटनमा १ रातमा ७०० जना पाहुन राख्न सक्ने होटल तथा होमस्टेको क्षमता छ । तर त्योभन्दा झन्डै दोब्बर बढी पर्यटक आउँदा होटल व्यवस्थापन गर्न समस्या भएको होटल व्यवसायी शिवराज कँडेलले बताए । अरू बेला पनि पर्यटक आइरहेको भन्दै अहिले बिदाले गर्दा एकै दिन हजार बढी पर्यटक ढोरपाटनमा आएको उनको भनाइ छ । आफूले ८० जना पाहुना राखेको सुनाउँदै २०० जनालाई अन्य होटलमा पठाउनु परेको बताए । यतिबेला पर्यटकको भीडभाड हुँदा ढोरपाटनमा मेला लागेजस्तो भएको उनको भनाइ छ । आएका पाहुनालाई फर्काउने चाहना नहुँदा नहुँदै पनि फर्काउन बाध्य भएको कँडेल बताउँछन् । पछिल्लो समय बुर्तिबाङ-ढोरपाटन सडक व्यवस्थित बनेपछि यहाँ आउने पर्यटकको सङ्ख्या ह्वात्तै बढेको हो । बुर्तिबाङ बजारदेखि करिब एक घण्टामै ढोरपाटन पुग्न सकिने हुँदा पर्यटकको आकर्षण बढ्दै गएको छ । गत वर्षसम्म सडकको दुरावस्था थियो । गुल्मीबाट शुक्रबार दिउँसो ढोरपाटन घुम्न पुग्नुभएका महेश खड्काले होटल नपाएपछि बुर्तिबाङ बजार झरेर बस्नु परेको सुनाए । १३ जनाको समूहमा तीन दिन घुम्ने योजनासहित आएको भन्दै होटलमा बास नपाएपछि एकै दिनमा फर्किनु परेको गुनासो गरे । बिहीबार ढोरपाटन पुगेकाहरूले मात्रै होटल पाएको खड्काले बताए । ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायतले यो याममा बेँसी क्षेत्रमा गर्मी हुने हुँदा ढोरपाटनमा शीतलता खोज्दै धेरै पर्यटक आउने गरेको बताए । एकै पटक पर्यटक आउँदा खाना, बस्न र अन्य व्यवस्थापनमा समस्या हुने भन्दै होटल व्यवसायीसँग सम्पर्क गरेर मात्रै ढोरपाटन आउन कायतले आग्रह गरे । 

अछाममा जिप दुर्घटना हुँदा २ जनाको निधन, ३ जना घाइते

काठमाडौं । अछामको पञ्चदेवल बिनायक नगरपालिका-४ थापामोड स्थित मध्यपहाडी राजमार्गमा गए राति जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु र तीन जना घाइते भएका छन् । दार्चुलादेखि जुम्ला जाँदैगरेको, सत्लोक आश्रम, जनकपुरको बाप्र ०१-०२७ च २२७७ नम्बरको जिप सडकबाट करिब २०० मिटर तल खसेको थियो । दुर्घटनामा घाइते हुनुभएका मकवानपुर, हेटौंडा उपमहानगरपालिका बस्ने वर्ष ४१ को नवीन तुलाधर र बर्दिया बाँसघारी नगरपालिका-५ बस्ने ४५ वर्षका रामप्रकाश थारूको उपचारका क्रममा प्रादेशिक अस्पताल सुर्खेतमा मृत्यु भएको अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।  उनका अनुसार घाइते सिराहा कल्याणपुर नगरपालिका-१० बस्ने २७ वर्षका सन्तकुमार साह, स्याङ्जा फेदीखोला गाउपालिका-४ बस्ने  अर्जुनकुमार पौडेल र जिप चालक नेपालगञ्ज उप-महागरपालिका-५ बस्ने २८ वर्षे राज राजेन्द्र भिमराज चट्टान गुप्ताको उपचार भइरहेको छ । घाइतेहरूको बेलखेतबाट खटिएको प्रहरी टोलीले तत्काल उद्धार दैलेखको राकमस्थित राकम कर्णाली आधारभूत अस्पतालमा पुर्याएको थियो । उनीहरुको उक्त अस्पतालमा प्राथमिक उपचार पछि थप उपचारका लागि सुर्खेत रेफर गरिएको थियो । 

३६० वस्तुमा खारेजीसँगै कडा कर नीति, सरकारले बढायो यी वस्तुमा अन्तःशुल्क

काठमाडौं । सरकारले आर्थिक विधेयक २०८३ मार्फत् विभिन्न करका दरहरुमा हेरफेर गरेको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत् विभिन्न ३६० वस्तुमा लाग्दै आएको अन्तःशुल्क खारेज गरिएको अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बताए ।  मदिरा, सुर्तीजन्य वस्तुलगायतमा भने भने अन्तःशुल्कका दरहरु बढेका छन् । त्यस्तै, पत्रु खाना (जङ्क फुड), रङगरोगन, जुसलगायतका वस्तुमा पनि अन्तःशुल्क बढेको छ । आर्थिक विधेयकअनुसार गुड, सख्खर भेलीको अन्तःशुल्क प्रतिक्वीन्टल १३८ रुपैयाँबाट बढाएर १४० रुपैयाँ पुर्याइएको छ । त्यस्तै, उखुको खुदोको अन्तःशुल्क प्रतिक्विन्टल ११० रुपैयाँबाट बढाएर ११५ रुपैयाँ पुर्याइएको छ । चिनीले छोपेको वा नछोपेको तथा मिठो लेप लगाइएको वा नलगाइएको चुइगम, कोकोको धुलो, चिनी वा गुलियो पदार्थ नहालेको चक्लेट र अरु कोको मिसिएका वस्तुको अन्तःशुल्क १५ रुपैयाँबाट बढाएर १२ रुपैयाँ पुर्याइएको छ । स्पागेटी, म्याकरोनी, पास्ता जस्ता वस्तुमा प्रतिकिलो २० रुपैयाँ लाग्दै आएको अन्तःशुल्क बढाएर ३५ रुपैयाँ पुर्याइएको छ । पाउरोटी, कोको परेको पाउरोटी, क्रीप्स ब्रेड, जिन्जर ब्रेड, गुलियो बिस्कुट, केक, कुकिज, पेस्ट्री, वेफलहरु र बेफरहरुको अन्तःशुल्क १५ रुपैयाँबाट बढाइएको छ । कुरकुरे कुरमुरे, लेज, चिजबलजस्ता वस्तुको अन्तःशुल्क यसअघि प्रतिकिलो २० रुपैयाँ लाग्दै आएकामा त्यसलाई बढाएर प्रतिकिलो ७५ रुपैयाँ बनाइएको छ । यसअघि आलु चिप्समा प्रतिकिलो १८ रुपैयाँ अन्तशुल्क लाग्दै आएकामा त्यसलाई बढाएर प्रतिकिलो ३० रुपैयाँ बनाइएको छ । विभिन्न फलफूलहरूको जुस जस्तै सुन्तलाको जुस, भोगटेको जुस, भूइँकटहरको जुस, अङ्गुरको जुस, स्याउको जुस, गोलभेँडाको जुस, आँपको जुसको अन्तःशुल्क यसअघि प्रतिलिटर १३ रुपैयाँ ५० पैसाबाट बढाएर प्रतिलिटर १४ रुपैयाँ बनाइएको छ । सुर्तीरहित पान मसलामा यसअघि प्रतिकिलो ८७५ रुपैयाँ लाग्ने गरेको अन्तःशुल्क रकम अहिले बढाएर प्रतिकिलो १ हजार १५० रुपैयाँ बनाइएको आर्थिक विधेयकमा उल्लेख छ । त्यस्तै, सूर्तीरहित सुगन्धित सुपारीको अन्तःशुल्क प्रतिकिलो ३७५ रुपैयाँबाट बढाएर प्रतिकिलो ५०० रुपैयाँ बनाइएको छ । अल्कोहलरहित बियरमा अन्तःशुल्क प्रतिलिटर ४५ रुपैयाँ लाग्ने गरेकामा शतप्रतिशत बढाएर प्रतिलिटर ९० रुपैयाँ बनाइएको छ । इनर्जी ड्रिङ्क्समा अन्तःशुल्क प्रतिलिटर ५२ रुपैयाँ लाग्ने गरेकामा १२० रुपैयाँ पुर्याइएको छ । हल्का पेय पदार्थमा प्रतिलिटर २५ रुपैयाँ अन्तःशुल्क लाग्ने गरेकामा त्यसलाई बढाएर ६० रुपैयाँ बनाइएको छ । माल्टबाट बनाइएको बियरमा ५ प्रतिशतसम्म अल्कोहल भएकामा अन्तःशुल्क प्रतिलिटर २४० रुपैयाँ बाट बढाएर २५५ रुपैयाँ, त्यस्तै १२ प्रतिशतदेखि १७ सम्म अल्कोहल भएको वाइनमा अन्तःशुल्क प्रतिलिटर ४६० रुपैयाँ लाग्ने गरेकोमा अब प्रतिलिटर ४९० रुपैयाँ पुर्याइएको छ । त्यस्तै, १७ प्रतिशतभन्दा बढी अल्कोहल भएको वाइनमा अन्तःशुल्क प्रतिलिटर ५३५ रुपैयाँ लाग्ने गरेकामा अब प्रतिलिटर ५७० रुपैयाँ बनाइएको छ । छ्याङ अर्थात् कन्ट्री बियरको अन्तःशुल्क प्रतिलिटर ४८ रुपैयाँबाट प्रतिलिटर ५० रुपैयाँ बनाइएको छ । सेम्पेन, सेरी, मिड, पेरी साइडर लगायतका पदार्थको अन्तःशुल्क प्रतिलिटर ५१६ रुपैयाँबाट घटाएर ४९० रुपैयाँ बनाइएको छ । त्यस्तै, १७ प्रतिशतभन्दा बढी अल्कोहल भएको जडिबुटी मिश्रित मदिरा, कक्टेलमा ५१६ रुपैयाँ बराबर अन्तःशुल्क लाग्ने गरेकामा त्यसलाई बढाएर ५७० रुपैयाँ बनाइएको छ । त्यसैगरी, सुर्ती भएका सिगार, सेरुट र सानो सिगारमा प्रति खिल्ली ३१ रुपैयाँ लाग्ने अन्तःशुल्क अहिले बढेर ३५ रुपैयाँ भएको छ । फिल्टर नभएको सुर्तीको चुरोट प्रति एम ७७८ रुपैयाँ रहेकामा बढेर ७८० रुपैयाँ पुगेको छ । त्यस्तै, फिल्टर भएको ७० मिमिसम्म लम्बाई भइको चुरोटको अन्तःशुल्क १ हजार ७९२ रुपैयाँबाट बढेर १ हजार ८४५ रुपैयाँ पुगेको छ । सुर्तीजन्य वस्तु र चुरोटमा अन्तःशुल्क बढेको छ । त्यस्तै रङ्गलेप (पेन्ट), रङ्गरोगनका लागि चाहिने इनामेल, सडकमा चिन्ह लगाउने थर्मोप्लास्टिक पेन्टको अन्तःशुल्क ७ रुपैयाँबाट बढेर १५ रुपैयाँ बनाइएको छ । टायलको रुपमा वा रोलमा रहेका भुई ढाक्ने वस्तु (फ्लोर कभरिङ) का लागि प्रयोग हुने वस्तुहरूको अन्तःशुल्क १० रुपैयाँबाट बढाएर १५ रुपैयाँ पुर्याइएको छ ।

आयकरमा ठूलो फेरबदल, १० लाखसम्म १ प्रतिशत, ४० लाखमाथि अतिरिक्त

काठमाडौं । सरकारले आर्थिक विधेयक २०८३ मार्फत् आयकर ऐनको व्यवस्थाअनुसार करयोग्य आय गणना गर्दा व्यक्ति वा दम्पत्ती दुवैको आय हेरेर कर निर्धारण गर्ने व्यवस्था ल्याएको छ । यसअघि आयकरका दरहरु निर्धारण गर्दा ‘प्राकृतिक व्यक्तिको हकमा’ भनिएकामा अहिले त्यसलाई संशोधन गरी ‘प्राकृतिक व्यक्ति वा दम्पत्तीको’ भन्ने शब्दहरु राखिएका छन् । नयाँ व्यवस्थाअनुसार कुनै आय वर्षमा प्राकृतिक व्यक्ति वा दम्पत्तीको १० लाख रुपैयाँसम्म करयोग्य आय भएमा एक प्रतिशत कर लाग्नेछ । यसअघि व्यक्तिको वार्षिक रु पाँच लाखसम्मको रोजगारीको करयोग्य आयमा एक प्रतिकर आयकर लाग्ने गरेको थियो । तर, एकलौटी फर्म दर्ता भएका करदाताको हकमा, निवृत्तभरण बापतको आय, निवृत्तभरण कोष र योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा योगदान गर्ने प्राकृतिक व्यक्तिको आयमा यस बमोजिमको कर लाग्ने छैन । त्यस्तै, कुनै व्यक्ति वा दम्पतीको वार्षिक आय १० लाख रुपैयाँभन्दा बढी तर १५ लाख रुपैयाँसम्म करयोग्य आय भएमा १० लाख रुपैयाँसम्म १० हजार रुपैयाँ र १० लाख रुपैयाँभन्दा बढी करयोग्य आयमा १० प्रतिशत आयकर लाग्ने व्यवस्था गरिएको छ । यसअघि रु पाँच लाखदेखि रु सात लाखसम्मको आयमा १० प्रतिशत कर लाग्ने व्यवस्था रहेको थियो । आर्थिक विधेयकको व्यवस्थाअनुसार १५ लाख रुपैयाँभन्दा बढी तर २५ लाख रुपैयाँसम्म करयोग्य आय भएमा १५ लाख रुपैयाँसम्म ६० हजार रुपैयाँ र १५ लाख रुपैयाँभन्दा बढी करयोग्य आयमा २० प्रतिशत आयकर लाग्ने व्यवस्था गरिएको छ । यस्तै, २५ लाख रुपैयाँभन्दा बढी करयोग्य आय भएमा २५ लाख रुपैयाँसम्म २ लाख ६० हजार रुपैयाँ र २५ लाख रुपैयाँभन्दा बढी करयोग्य आयमा २७ प्रतिशत आयकर लाग्नेछ । त्यसैगरी, ४० लाख रुपैयाँभन्दा बढी करयोग्य आय भएमा बढी भए जति करयोग्य आयमा थप २ प्रतिशत विन्दुले अतिरिक्त कर लाग्ने आर्थिक विधेयकमा उल्लेख छ ।

कर निर्धारण गर्ने समय घटाइयो, बढी कर तिरेको रकम फिर्ता माग्न ५ वर्ष पुर्याइयो

काठमाडौं । आयकर ऐनको व्यवस्थाअनुसार कर निर्धारण भएको व्यक्तिको कर दायित्व संशोधन गर्न सकिने साविकको समय सीमालाई आर्थिक विधेयक २०८३ मार्फत एक वर्ष घटाइएको छ । यसअघि आयकर ऐनको दफा ९९ बमोजिमको कर निर्धारणका लागि आय विवरण पेश गर्नुपर्ने मिति तथा दफा १०० बमोजिमको संशय कर निर्धारणको सूचना दिएको मितिका आधारमा चार वर्षभित्र संशोधित कर निर्धारण गरिसक्नुपर्ने व्यवस्था गरिएको थियो । त्यसलाई घटाएर अब तीन वर्षभित्रै संशोधित कर निर्धारण गरिसक्नुपर्ने व्यवस्था ल्याइएको हो । त्यस्तै, कुनै व्यक्तिले आफूले दाखिला गर्नुपर्ने कर दायित्वभन्दा बढी हुने गरी कर बुझाएमा त्यस्तो कर बुझाएको दुई वर्षभित्र रकम फिर्ता पाउनका लागि आवेदन दिइसक्नुपर्ने व्यवस्थालाई संशोधन गरेर पाँच वर्षभित्र आवेदन दिन सकिने व्यवस्था कार्यान्वयनमा ल्याइएको छ ।

जलविद्युत प्रवर्द्धकलाई कर छुट, आयातमा बैंक जमानत सुविधा

काठमाडौं । सरकारले जलविद्युत आयोजनाका लागि आर्थिक विधेयक मार्फत केही छुट तथा राहतको प्रबन्ध गरेको छ । जलविद्युत आयोजनाको क्षमता अभिवृद्धि तथा डिजाइन परिवर्तन गर्ने सैद्धान्तिक सहमतिको आयोजना, सो को ठेकेदार वा आयोजनाको प्रवर्द्धकले उपकरणलगायतका सामग्री आयात गर्दा बैंक जमानत सुविधा दिइनेछ ।  आयोजनाको उत्पादन, प्रसारण तथा वितरणका लागि आवश्यक पर्ने पाटपुर्जा, औजार तथा सो को अत्यावश्यक सामग्री विष्फोटक पदार्थ, पेनस्टक पाइप तथा स्टिल प्लेट आयात गर्दा लाग्ने भन्सार महसुल, अन्तःशुल्क र मूल्य अभिवृद्धि कर बापतको रकम विद्युत् विकास विभागको सिफारिशमा बैंक जमानत सुविधा दिन सकिने प्रबन्ध गरिएको छ । यसबाट जलविद्युत आयोजना निर्माणमा सहज हुने विश्वास लिइएको छ । क्षमता वृद्धि तथा डिजाइन परिवर्तन स्वीकृत भएपछि विद्युत् विकास विभागको सिफारिससहित आयोजना, ठेकेदार वा प्रवर्द्धकले बैंक जमानत फुकुवाको लागि आयात भएको भन्सार कार्यालयमा निवेदन दिनुपर्नेछ । त्यस्तो निवेदन प्राप्त भएमा भन्सार कार्यालयले आवश्यक जाँचबुझ गरी पैठारीका बखत राखेको बैंक जमानतबाट एक प्रतिशत महसुल असुल गरी बाँकी कर महसुल छुट दिई बैंक जमानत फुकुवा गर्नुपर्ने व्यवस्था गरिएको छ । यसैगरी चालु आवमा सरकारले स्थापना गरेको राष्ट्रिय पुनः निर्माण कोषमा योगदान गरेको रकम सो आय वर्षको करयोग्य आय गणना गर्दा घटाउन सकिने  व्यवस्था आर्थिक विधेयकमा गरिएको छ । जेनजी आन्दोलनका क्रममा प्रभावित उद्योग, व्यापार वा व्यावसायिक प्रतिष्ठानमा भएको आगजनी वा तोडफोडबाट भवन, फर्नीचर, यन्त्र तथा उपकरणमा भएको क्षतिमध्ये बीमा सर्भेयरको प्रतिवेदनबाट यकिन भएको वस्तुको विवरणका आधारमा सो को पुनः स्थापनाका लागि त्यस्ता सामग्री आयात गर्दा लाग्ने भन्सार महसुल तथा अन्तःशुल्कमा ५० प्रतिशत बराबरको छुट दिइएको छ । जेनजी आन्दोलनका क्रममा क्षति भएका क्यासिनो व्यवसाय सञ्चालन नभएको अवधिको रोयल्टी तथा नवीकरण शुल्कमा पनि छुट दिइएको छ । 

सरकारले लगायो राइड-सेयरिङमा कर, सेवा बापत १ प्रतिशत तिर्नुपर्ने

काठमाडौं । सरकारले आर्थिक विधेयक २०८३ मार्फत राइड-सेयरिङ सेवामा अग्रिम कर असुल गर्नुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको छ ।  आर्थिक विधेयकमार्फत आयकर ऐनको दफा ९५ मा संशोधन गर्दै सरकारले यस्तो व्यवस्था ल्याएको हो । ‘बासिन्दा राइड-सेयरिङ सेवा सञ्चालन गर्ने व्यक्ति (राइड-सेयरिङ अपरेटर)ले आफ्नो प्लेटफर्ममा आबद्ध भई कुनै सेवा प्रदान गर्ने प्राकृतिक व्यक्तिलाई प्रदान गरेको सेवा बापतको रकमका एक प्रतिशतका दरले अग्रिम कर असुल गर्नुपर्नेछ,’ आर्थिक विधेयकमा उल्लेख छ ।

आजको मौसम: चट्याङसहित वर्षा हुने, हावाहुरी चल्ने

काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा, स्थानीय वायु तथा पश्चिमदेखि पूर्वसम्म नेपाल नजिक फैलिएको न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ। हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा पूर्णतया बदली रहेको छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू-भागमा सामान्य बदली रहेको छ। बाँकी तराई भू-भागमा आंशिक बदली रहेको छ। कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मध्यम वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका केही स्थानमा तथा मधेस प्रदेशलगायत कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। देशका तराई तथा पहाडी भू-भागका केही स्थानमा हावाहुरी चल्ने सम्भावना पनि रहेको छ। आज राति सुदूरपश्चिम प्रदेशलगायत देशका हिमाली तथा पहाडी भू-भागमा सामान्यदेखि पूर्ण बदली रहनेछ। बाँकी भू-भागमा आंशिक बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका थोरै स्थानमा तथा कोशी, बागमती र लुम्बिनी प्रदेशका हिमाली भू-भागका एक/दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।