दसैँको मासु भित्र्याएर कुछिभ्वय् खाई महाअष्टमी मनाइँदै नेवार समुदाय
लक्ष्मी गारु काठमाडौं । मोहनी नखःको आज आठौँ दिन नेवार समुदायले विधिवत रुपमा दसैँको मासु भित्र्याएर ‘कुछीभ्वय’ खाई महाअष्टमी पर्व मनाउँदैछन् । बडा दसैँलाई महनी नखाःका रुपमा मनाउने नेवार समुदायले महाअष्टमीको साँझ कुछीभ्वय खाएर पर्व मनाइन्छ । विशेष गरेर अष्टमीलाई कुछिभ्वय, नवमीलाई स्याक्वट्याक्व नखाः र दशमीलाई चाँलका रुपमा भवानीको प्रसाद ग्रहण र टीकासँगै नेवार समुदायले मोहनी नखाः मनाइन्छ । आश्विन शुक्ल प्रतिपदाको दिन नलाः स्वनेगु अर्थात् जमरा राखेर नेवार समुदायले मोहनी नखाःको सुरुआत गर्दछन् भने अष्टमीको दिन कुछिभ्वय खाँदै मोहनी नखाःको भोजको सुरुआत गर्दछन् । कुछिभ्वय खाएदेखि दशमीको दिन बिहान भवानीको प्रसाद ग्रहण नगरेसम्म भात खान नहुने प्रचलन रहेको छ । वर्ष भरी मनाइने चाडपर्वमध्ये मोहनी नखाः सबैभन्दा महत्वपूर्ण र ठूलो चाड हो । मोहनी नखाः मनाउन घर परिवारदेखि टाढा परदेशमा नोकरी गर्ने, व्यापार व्यवसाय गर्नेहरू घर आउने गर्दछ । त्यसैगरी छुटिएर भिन्न बसेका दाजुभाइहरु एउटै घरमा घरका ज्येष्ठ सदस्य भएको घरमा जम्मा भई मोहनी नखाः मनाउने गर्दछ । विभिन्न चाडपर्वलाई विशेष र मौलिक परम्पराका साथ मनाउन सिपालु नेवार समुदायमा अष्टमीको खाने कुछीभ्वयको विशेष महत्व रहेको छ । यसको परिकारसमेत अन्य भोजको भन्दा भिन्न प्रकारको हुन्छ । कुछीभ्वय खान तरकारीका परिकार मात्रै १२ थरी चाहिन्छ भने छोयला १२ टुक्रा राखिन्छ । केराको पातमा दुई माना चिउरासँगै साग, आलु, छोयला, हिकासा (रक्ती), बारा, अण्डा, माछा, फर्सी, ख्यपीच्यपी (काँचो फर्सीका स–साना दुईथरी चाना), अदुवा, बोडी, केराऊ, मस्याङ, घिरौला, भटमासलगायत परिकार राखेर कुछीभ्वय खाने प्रचलन रहेको संस्कृतिकर्मी हरिशरण राजोपाध्यले बताए । कुछीभ्वय्मा फलफूलमा अम्बा र केरा अनिवार्य मानिन्छ । कुछिभ्वय खाने बेलामा माटोको सानो घैँटोमा जाँड अथवा रक्सी राखेर ‘थापिँचा स्वनेगु’ गर्ने प्रचलन रहेको राजोपाध्यले बताए । थापिँचा स्वने बेला माटोको सानो घैँटोलाई सलिँचाले घैँटोलाई छोप्ने र त्यसमाथि केराको पातमा राँगोको मासु एक टुक्रा राख्ने प्रचलन रहेको राजोपाध्यले बताए । यसरी थापिँचा स्वनेगु गर्दा राखेको जाँड र मासु नवमीको दिन प्रसादका रुपमा खाइन्छ । यो प्रसाद खाँदा पेटसम्बन्धी विकार हट्ने धार्मिक विश्वास रहेको छ । आफन्तको मृत्यु भएर जुठो परे पनि कुछीभ्वय खानुपर्ने मान्यता केही नेवार समुदायमा रहेको छ । जुठो परेको घरमा मासु खान नहुने भएकाले मासुको सट्टा अदुवा राख्ने र मासको बाराको सट्टा केराऊको बारा राख्ने प्रचलन रहेको छ । नेवार समसदायमा कुछिभ्वयका सन्दर्भमा दुई वटा भनाइ प्रचलनमा रहेको छ । एकथरी भनाइअनुसार कुछिको अर्थ ‘दुई माना’ हो भने भ्वयको अर्थ ‘भोज’ हो । दुई माना चिउरा राखेर खाने भएकाले यस भोजको नाम ‘कुछी भ्वय्’ रहन गएको एकथरीको भनाइ छ भने अर्कोथरी संस्कृतिकर्मीले कुलका सबै एक ठाउँमा भेला भएर खाने भोज भएकोले यसको नाम कुलछी भ्वय् हुन गएको र पछि अपभ्रंश भएर कुछीभ्वय हुन गएको भनाइ छ । महाअष्टीको अवसर पारेर नेवार समुदायले घरघरमा दसैँको मासु भित्र्याएका छन् । नेवार समुदायमा गुठी, टोल छिमेक मिलेर संयुक्त रुपमा राँगो काटेर भाग लगाउने र घरघरमा मासु भित्र्याउने प्रचलनअनुसार आज दसैँको मासु भित्र्याएको हो । मासु भित्र्याउँदा घरको मूलढोका अगाडि राखेर चोखो पानी छरेर तीनपटक दायाँबायाँ ढुटो, मासुको टुक्रा र रगत र्छकेर मन्छाएर मात्र घर भित्र्याउने प्रचलन रहेको छ । यो परम्परा घरको नकींबाट गर्ने चलन रहेको छ । रासस
पहिरो पन्छाएपछि बेनी-दरवाङ सडक सञ्चालन
काठमाडौं । पहिरोले अवरुद्ध बेनी-दरवाङ सडक सञ्चालन भएको छ । पहिरो पन्छाएर आज बिहानदेखि सडक सञ्चालन गरिएको पूर्वाधार विकास कार्यालयका निरीक्षक राम्जी आचार्यले जानकारी दिए । सडक खुलेसँगै अलपत्र परेका यात्री बोकेका सवारीसाधन गन्तव्यतर्फ लागेका छन् । बेनी नगरपालिका र मङ्गला गाउँपालिकाको सिमाना फापर खेतमा सामान्य वर्षा हुँदा पनि पहिरोको जोखिम हुने गरेको उनी बताउँछन् । पटक-पटकको पहिरोका कारण जिल्लाको पश्चिमी क्षेत्रका बासिन्दालाई आवागमनमा कठिनाइ भएको छ भने स्थानीय तहमा निर्माणाधीन सडक, विद्युत् सबस्टेशन, प्रसाररण लाइन र जलविद्युत् आयोजना प्रभावित भएका छन् ।
जनताले अपेक्षा गरेको सुशासन र जवाफदेहितामा जनप्रतिनिधिहरू उत्तरदायी बन्नुपर्ने
काठमाडौं । राष्ट्रिय सभाका उपाध्यक्ष निर्मला घिमिरेले जनताले अपेक्षा गरेको सुशासन र जवाफदेहितामा जनप्रतिनिधिहरू अझ उत्तरदायी बन्नुपर्ने खाँचो औंल्याएकी छिन् । उपाध्यक्ष घिमिरेले बडा दसैँका अवसरमा शुभकामना सन्देश दिँदै पछिल्लो समय संविधानको संरक्षण, राजनीतिक स्थायित्व र सुशासनप्रति नागरिकको अपेक्षा बढेको बताइन् । राष्ट्रिय सभाले निरन्तर संविधान कार्यान्वयन, संसदको गरिमा र लोकतान्त्रिक संस्कृतिको सुदृढीकरणमा ध्यान दिइरहेको उल्लेख गर्दै उहाँले पछिल्लो विकसित राजनीतिक घटनाक्रमका बीच राष्ट्रिय सभालाई संसदको जिम्मेवारी र संवैधानिक दायित्व पूरा गर्न क्रियाशील बनाउने दायित्व थपिएको बताइन् । उनले मुलुकलाई स्थिर, शान्त र समृद्ध बनाउन सबै राजनीतिक दल, नागरिक समाज, आम सञ्चारमाध्यम र प्रत्येक नागरिकको सक्रिय योगदान अपरिहार्य रहेको धारणा व्यक्त गरिन् । ‘नेपाल बहु जातीय, बहुभाषिक र बहु धार्मिक समाज भएको राष्ट्र हो । हाम्रो संस्कृति र परम्पराले विविधतालाई आत्मसात गर्दै सामूहिक शक्ति निर्माण गर्ने अवसर प्रदान गरेको छ । बडादसैँ जस्तो चाडपर्वले परिवार, समाज र राष्ट्र बीचको सम्बन्धलाई अझ मजबुत पार्ने काम गर्दछ । यस पर्वले हाम्रो सामाजिक मूल्य, सहिष्णुता र एकताको भावनालाई अझ गहिरो बनाउन सहयोग गर्नेछ । बडादसैँको पावन अवसरमा सबैलाई शुभकामना,’ उपाध्यक्ष घिमेरेको सन्देशमा उल्लेख छ ।
आगामी निर्वाचनले मुलुकलाई स्थायित्व दिने, निष्पक्ष, पारदर्शी र विश्वसनीय बनाउन अनुरोध
काठमाडौं । उपसभामुख इन्दिरा रानाले आगामी निर्वाचन मुलुकलाई स्थायित्व प्रदान गरी र संवैधानिक बाटोमा अघि बढाउने अवसरका रूपमा आएको बताएकी छिन् । बडादसैँ २०८२ को उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहने नेपालीलाई शुभकामना दिने क्रममा उपसभामुख रानाले प्रतिनिधिसभाको आसन्न निर्वाचनलाई निष्पक्ष, पारदर्शी र विश्वसनीय बनाउन सबैसँग अनुरोध गरिन् । ‘निर्वाचनमार्फत जनताको अधिकार प्रत्याभूत गर्ने, लोकतन्त्रलाई सबल बनाउने र जनप्रतिनिधिहरूमार्फत मुलुकको नीति निर्माण गर्ने कुरालाई संस्थागत गरिन्छ, आसन्न निर्वाचनलाई सफल बनाउन सम्बद्ध सबै पक्षको सक्रिय सहभागितासहित सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्दछु,’ शुभकामना सन्देशमा उल्लेख छ । आश्विन शुक्ल प्रतिपदाका दिनदेखि नवमीसम्म दुर्गा भवानीको पूजा आराधना गरी दसौँ दिनका विशेष अवसरमा टीका जमरा ग्रहण गरी पूर्णिमाका दिनसम्म मान्यजनहरूको हातबाट आशीर्वाद लिई मनाइने महान् चाड दसैँलाई पारिवारिक जमघटको विशेष अवसरका रुपमा लिइने उल्लेख गर्दै उपसभामुख रानाले भनिन्, ‘बडा दसैँका पावन अवसरमा सम्पूर्ण नेपाली सुस्वास्थ्य, समृद्धिसहित उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।’
४५.४० करोड डलरमा भारत-भुटान पहिलो सीमापार रेल बन्ने, ४ वर्षभित्र सम्पन्न हुने
काठमाडौं । भारत र भुटानले पहिलो पटक दुवै देशलाई जोड्ने सीमापार रेलमार्ग निर्माण गर्ने सहमति गरेका छन् । करिब ४५ करोड ४० लाख डलर बराबरको यो विशाल परियोजना ४ वर्षभित्र सम्पन्न हुने घोषणा भारत सरकारले सोमबार गरेको छ । भारतीय विदेश सचिव विक्रम मिस्रीले भुटानको मुख्य व्यापारिक साझेदार भारतले हिमाली छिमेकी मुलुकको पूर्वाधार र अर्थतन्त्रको आधुनिकीकरणमा ‘महत्त्वपूर्ण योगदान’ दिइरहेको बताए । भारतका रेल मन्त्री अश्विनी वैष्णवले यो रेलमार्गले ‘भुटानका जनताका लागि ठुलो लाभ पुर्याउने बताए । साथै रेलमार्गले सम्पूर्ण क्षेत्र जोडिने र हाल केही दिन लाग्ने सामानको आवागमन केही घण्टामै सम्पन्न हुने आशा व्यक्त गरे । प्रारम्भिक ६९ किलोमिटर (४३ माइल) रेलमार्गले करिब ३४ अर्ब ५६ करोड अर्ब भारतीय रुपैयाँ (३९ करोड डलर) लागतमा भारतको उत्तर पूर्वी सहर कोक्राझारलाई भुटानको सीमा नजिकै अवस्थित १० हजार जनसङ्ख्या भएको सहर गेलेफूसँग जोड्नेछ । यस्तै, अनुमानित ५ अर्ब ७७ करोड भारतीय रुपैयाँ खर्च हुने दोस्रो २० किलोमिटर रेलमार्गले भुटानको उत्तर पश्चिमी औद्योगिक केन्द्र सामत्सेलाई पूर्वी भारतको बानरहाटसँग जोड्नेछ । ८ लाखभन्दा कम जनसङ्ख्या भएको सानो र भूपरिवेष्टित भुटान चीन र भारतबीच अवस्थित छ । विकासभन्दा ‘ग्रस नेशनल ह्याप्पीनेस’ (सामूहिक राष्ट्रिय खुशी) लाई प्राथमिकता दिने नीतिका लागि परिचित यस मुलुकले हाल विदेशी लगानी र पर्यटकलाई आकर्षित गर्न गेलेफुलाई आर्थिक क्षेत्रका रूपमा विकास गर्ने योजना अघि सारेको छ । ‘यो रेलमार्गले भुटानलाई दक्षिण एसिया र दक्षिण पूर्व एसियासँग जोड्ने आर्थिक केन्द्रका रूपमा स्थापित गर्नेछ,’ विदेश सचिव मिस्रीले भने । रेल मन्त्री वैष्णवले नयाँ रेललाइनहरू पूर्ण विद्युतीय हुने र सकेसम्म वातावरणमैत्री ढङ्गले निर्माण गरिने जानकारी दिए ।
ट्रम्प र नेतान्याहुबीच गाजा युद्ध अन्त्य गर्ने २० बुँदे योजना, समीक्षा गर्दै हमास
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग सहमतिमा गाजा युद्ध अन्त्य गर्ने र बाँकी बन्धकहरूलाई मुक्त गर्ने २० बुँदे योजना प्रस्तुत गरेका छन् । राष्ट्रपति ट्रम्पले रक्तपात पूर्ण द्वन्द्वप्रति असन्तुष्टि व्यक्त गर्दै वर्तमान अवस्थामा हमास लडाकूहरू निकै कमजोर भएको र अब यस प्रस्तावलाई स्वीकार गर्नु बाहेक विकल्प नरहेको बताए । प्रधानमन्त्री नेतान्याहुले समेत योजना अस्वीकार भएमा इजरायल आफैंले अन्तिम कार्यवाही गर्ने चेतावनी दिए । कतारका प्रधानमन्त्री र इजिप्टका गुप्तचर प्रमुख मार्फत यो योजना हमासलाई प्रस्तुत गरिएको छ । हमास वार्ताकारहरूले यसलाई ‘राम्रो विश्वासका साथ’ अध्ययन गरिरहेको जानकारी दिइएको छ । कब्जा गरिएको पश्चिम किनारको प्यालेस्टिनी सरकारले योजना स्वागत गरेको छ भने इजिप्ट, जोर्डन, इन्डोनेसिया, पाकिस्तान, टर्की, कतार, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्सले संयुक्त वक्तव्य जारी गर्दै ट्रम्पको पहलको प्रशंसा गरेका छन् । तर, दीर्घकालीन शान्तिको आधार मानिने प्यालेस्टिनी राज्यको प्रश्न प्रस्तावमा प्रष्ट उल्लेख नगरिएको भन्दै आलोचना पनि गरिएको छ । हमासको निःशस्त्रीकरणको सर्त विगतका वार्तामा अस्वीकार्य मानिँदै आएको थियो । यसपटक योजना अनुसार ट्रम्पको नेतृत्वमा र पूर्व बेलायती प्रधानमन्त्री टोनी ब्लेयरलाई समेत समावेश गरी अस्थायी प्रशासकीय समिति गठन गरिनेछ । योजनाले इजरायलले स्वीकृति दिए लगत्तै ७२ घण्टाभित्र हमासले सबै बन्धकहरू मुक्त गर्नुपर्ने प्रावधान राखेको छ । यससँगै इजरायलले सयौं प्यालेस्टिनीहरूलाई रिहा गर्ने उल्लेख गरिएको छ । यसमा आजीवन कारावास भोगिरहेका कैदी पनि समावेश हुनेछन् । राष्ट्रपति ट्रम्पले योजना सफल नहुँदा हमासविरुद्ध थप इजरायली कारबाहीमा आफ्नो ‘पूर्ण समर्थन’ हुने आश्वासन दिए । उनले हालको हमास नेतृत्व पहिलेको तुलनामा कमजोर भएको र भिन्न परिस्थितिमा वार्ता भइरहेको बताए । यसबीच प्रधानमन्त्री नेतान्याहुले कतारसँग सम्बन्ध सुधार्ने प्रयास स्वरूप हालै कतारमा भएको इजरायली आक्रमणप्रति खेद व्यक्त गरे । उक्त आक्रमणले कतारी सैनिकको ज्यान लिएको र वार्तामा अवरोध ल्याएको बताइएको थियो । ह्वाइट हाउसले नेतान्याहुको माफीलाई कतारी प्रधानमन्त्रीले स्वीकार गरेको जानकारी दिएको छ । यद्यपि इजरायली अति-दक्षिणपन्थी नेताहरूले भने कतारमा भएको सो सैन्य कारबाहीलाई ‘न्यायपूर्ण र नैतिक’ ठहर गर्दै समर्थन गरेका छन् । विशेष गरी कट्टर गठबन्धन साझेदारहरूले हमासको पूर्ण उन्मूलनको माग गरिरहेका बेला प्रस्तावबारे नेतान्याहु सरकारभित्रै दबाब कायम छ । योजनामा बन्धक मुक्त भएपछि शान्तिपूर्ण सहअस्तित्वमा प्रतिबद्ध हमास सदस्यलाई माफी दिइने र गाजा छोड्न चाहनेलाई सुरक्षित मार्ग उपलब्ध गराइने प्रावधान पनि राखिएको छ । राष्ट्रपति ट्रम्प हाल द्वन्द्वप्रति अझ निराश देखिनु भएको छ । उहाँले इरानसँगको छोटो युद्धमा इजरायललाई समर्थन गर्न अमेरिकी बम वर्षक प्रयोग गर्न आदेश दिनुभएको थियो भने नेतान्याहुविरुद्धको भ्रष्टाचार मुद्दालाई ‘विच हन्ट’ बताउँदै सहयोग गरेका थिए । तर, हालै कतारमा हमास अधिकारीमाथिको असफल आक्रमणले उहाँलाई असन्तुष्ट बनाएको छ । इजरायलले ४८ जना बन्धक रहेको बताएको छ, जसमा २० जना जीवित रहेको विश्वास गरिएको छ । हमासले विगतमा गाजामा शासनबाट पछि हट्न सहमति जनाए पनि निःशस्त्रीकरण अस्वीकार गर्दै आएको थियो । गत हप्ता न्युयोर्कमा भएको संयुक्त राष्ट्र सङ्घ महासभाको साइडलाइनमा राष्ट्रपति ट्रम्पले विभिन्न अरब तथा इस्लामिक नेतासँग छलफल गर्नुभएको थियो । उहाँले यो सम्झौतालाई मध्यपूर्वमा स्थायी शान्ति र समृद्धिको नयाँ युगको सुरुआत बनाउन सक्ने अवसरका रूपमा चित्रण गरे । ‘म प्यालेस्टिनीहरूलाई आफ्नो भाग्यको जिम्मेवारी लिन चुनौती दिन्छु । हामीले अब उनीहरूलाई त्यो अवसर दिइरहेका छौँ,’ राष्ट्रपति ट्रम्पले भने ।
च्याङ्ग्रा व्यापारीको दुःख: कम मूल्यमै बेचेर गाउँ फर्किने
काठमाडौं । अघिअघि १ सय सङ्ख्यामा च्याङ्ग्रा । पछिपछि हातमा लौरो, शिरमा मैलिएको टोपी र पसिनाले लिछिप्प भिजेको शरीर । अनुहारमा केही थकान र केही निराशा लिएर हिँड्दै गरेका लोकबहादुर रोकाया सोमबार साझ मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको बडिगाडमा भेटिए । डोल्पाको काइके गाउँपालिका-४ का रोकाया दसैँको खर्च जोहोका लागि ११ दिन अगाडि डोल्पाबाट ३ सय च्याङ्ग्रा लिएर आएका थिए । २ सय च्याङ्ग्रा बडिगाड आउँदासम्म बिक्री भइसकेका थिए भने बाँकी १ सय सस्तो मूल्यमा दिने ‘मुड’मा रोकाया थिए । मङ्गलबारसम्म सबै च्याङ्ग्रा बिक्री गरेर घर फर्किने योजनामा उनी छन् । तर, बिक्री नहुँदा उनी निराश देखिन्छन् । रोकायाले दसैँमा च्याङ्ग्रा बेच्न थालेको अहिले मात्रै होइन । उनी १५ वर्षदेखि यही पेसा गर्दै आएका हुन् । तर, बागलुङमा भने उनको पहिलो यात्रा हो । डोल्पाबाट जाजरकोट झरेर रुकुम हुँदै बागलुङ आएका रोकाया पहिले दाङतिर जाने गरेको बताए । यसपालि पोहोरको भन्दा ५० बढी च्याङ्ग्रा बजारमा झारेको रोकायाको भनाइ छ । बिक्री भएका सबै च्याङ्ग्राले राम्रो मूल्य पाएको सुनाउँदै अब कम मूल्यमै भए पनि दिएर गाउँ फर्किने उनी बताउँछन् । बजार झर्न केही ढिला हुँदा घर खर्कन हतार भइसकेको रोकायाले सुनाए । ‘दसैँको बेला सहर बजारमा बस्ने मान्छेहरूले च्याङ्ग्राको मासु धेरै रुचाउनुहुन्छ, यो बेला च्याङ्ग्रा लिएर उहाँहरूलाई मासु खुवाउन पाउँदा हामीलाई पनि खुसी लाग्छ, च्याङ्ग्राको बिक्री भएपछि बालबच्चालाई एकजोर जुत्ता, कपडा आउँछ, छोराछोरी पठाउनु पर्यो, अरु के गर्ने ?,’ उनले भने, ‘डोल्पाबाट यहाँ आउन सजिलो छैन, तर पनि के गर्ने गाउँमै यति धेरै च्याङ्ग्रा बिक्री हुँदैनन्, सजिलै पैसा त कहाँबाट आउँथ्यो र ?’ उनका साथमा अर्का एक जना तिलमबहादुर खत्री पनि छन् । दुई जनाले साझेदारीमा डेढ÷डेढ सय च्याङ्ग्रा लिएर आएका हुन् । दसैँको समयमा च्याङ्ग्रा बेचेर कमाएको पैसाले परिवारको पालनपोषण र छोराछोरी पढाउन सहज भएको खत्रीले बताए । डोल्पादेखि बागलुङसम्म आउँदा कैयौँ चुनौती झेल्नु परेको उनले सुनाए । अहिले मध्यपहाडी लोकमार्गले बागलुङसम्मको यात्रालाई सहज बनाइदिएको हुँदा पहिलो पटक यहाँ आएको उनको भनाइ छ । यसवर्ष च्याङ्ग्राको अधिकतम मूल्य ३० देखि रु ४५ हजार हरेको खत्री जानकारी दिए । आफूहरूले बथानमा रहेका रोज्जा (रोजेको) च्याङ्ग्रालाई ४० हजार रुपैयाँमा दिने गरेको उनी बताउँछन् । यो मूल्य अघिल्लो वर्षकोभन्दा ४ हजार रुपैयाँले कम भएको खत्रीले बताए । उनी भन्छन्, ‘च्याङ्ग्रा उत्पादन गर्न गाह्रो छ, बिक्री गर्न पनिख उस्तै गाह्रो, बागलुङसम्म ल्याउँदा हाम्रो नै कति खर्च भएको हुन्छ, पोहोरसालको दसैँमा ४५/५० हजार रुपैयाँ भन्थे अहिले ३०/४० हजार रुपैयाँमा पाउनुहुन्छ, गाउँमाभन्दा सहर बजारमा च्याङ्ग्राको माग बढी हुनेहुँदा हामीहरुले उच्च ठाउँमै पुगेर ल्याउने गरेका छौँ, ग्राहकजति खुसी हुनुहुन्छ, हामीहरुलाई त्यति नै सन्तुष्टि मिल्छ, बाँकी रहेका च्याङ्ग्रा फर्काउने कुरा भएन, सस्तोमै दिएर फर्किनुपर्ने भयो ।’ दसैँको समयमा म्याग्दी, बागलुङ, पोखरा र काठमाडौंका व्यापारी मुस्ताङको माथिल्लो क्षेत्रमा रहेका गोठमै पुगेर च्याङ्ग्रा खरिद गरेर ल्याउने गर्छन् । गोठमा सस्तोमा खरिद गर्ने व्यापारीले काठमाडौं, पोखरासहित देशका ठूलो सहरमा पुर्याएर हजारौं नाफा कमाउने गर्दछन् । मुस्ताङसहित डोल्पा, मुगु, हुम्लालगायत ठाउँबाट दसैँका बेला बागलुङमा भेडा च्याङ्ग्रा लिएर सयौं व्यापारीहरू आउने गर्छन् । बागलुङसम्म आएका व्यापारी देशका ठूला सहरमा पनि पुग्ने गरेका छन् ।
प्रभु महालक्ष्मीको पौने ३ करोडको सेयर बिक्रीमा
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले असोज १९ गतेदेखि पौने ३ करोड रुपैयाँ बराबरको संस्थापक सेयर बिक्री गर्ने भएको छ । कम्पनीमा रहेको संस्थापक समूहको १ लाख ४२ हजार ३ सय कित्ता सेयर बिक्रीमा राखिएको छ । कम्पनीले प्रतिकित्ता २०३ रुपैयाँका दरले उक्त सेयर बिक्रीमा राखिएको हो । सो मूल्यका आधारमा कम्पनीको २ करोड ८८ लाख ८६ हजार रुपैयाँ बराबरको संस्थापक सेयर बिक्रीमा राखिएको हो । कम्पनीको सेयर खरिदका लागि असोज २२ गतेसम्म बोलपत्र पेस गर्नुपर्नेछ । प्राप्त बोलपत्र असोज २३ गते बिहान ११ बजे खोलिने जनाएको छ । कम्पनीको सेयर बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।