विकासन्युज

विकास नायक कार्यक्रमलाई निरन्तरता दिन माग, ‘सकारात्मक कामको कदरले राष्ट्र निर्माणमा ऊर्जा थप्छ’

काठमाडौं । देशको विकासमा विभिन्न क्षेत्रबाट महत्वपूर्ण योगदान पुर्याउने १० जना विकास नायकहरू सम्मानित भएका छन् । विकासन्युजद्वारा आयोजित कार्यक्रममा सहभागी विकास नायक एवं अन्य व्यक्तित्वले यस्ता पहलले राष्ट्र निर्माणमा थप ऊर्जा प्रदान गर्ने बताएका छन् । उनीहरूले विकास नायक कार्यक्रमलाई निरन्तरता दिइराख्नुपर्नेमा समेत जोड दिएका छन् ।  फर्स्ट च्वाइस फुड्स प्रालिका अध्यक्ष कृष्णप्रसाद पौडेलले कृषि क्षेत्रलाई अवार्डसँग जोड्ने प्रदर्शन असाध्यै राम्रो रहेको बताए । उनले भने, ‘हामी माटोमा रमाउने किसान हौं । कागजमा होइन, माटोमा रमाउने हो । हामी किसानसँगै रमाउँछौं । भविष्यमा पनि किसानलाई जोड्नुपर्छ र यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिनुपर्छ ।’  कृषि क्षेत्रमा आधुनिकीकरण, यान्त्रिकीकरण, व्यवसायीकरण उत्पादनको बिक्री प्रबन्ध गरी कृषकको जीवनस्तर सुधारमा टेवा दिएबापत अध्यक्ष पौडेललाई विकास नायक, २०८२ बाट सम्मानित गरिएको थियो ।  यसैगरी, सानीमा ग्रुपका सञ्चालक जीवा लामिछानेले नेपालको विकासमा विभिन्न क्षेत्रबाट योगदान पुर्याउने अग्रज तथा दिग्गजहरूलाई सम्मान गरिएकोमा खुसी व्यक्त गरे । उनले यसलाई ठूलो सम्मान र थपिएको जिम्मेवारीका रूपमा लिएको बताए ।  लामिछाने भने, ‘विभिन्न क्षेत्रमा उहाँहरूले गर्नुभएको योगदान एकदमै सराहनीय छ । इमान्दारीपूर्वक र निष्ठापूर्वक आबद्ध भएर ठूलो योगदान गर्नुभएको छ ।’ लामिछानेलाई श्रृजनशील र निष्ठापूर्ण व्यापार व्यवसाय गरी आर्थिक सम्बृद्धिमा योगदान गरेबापत विकास नायक, २०८२ बाट सम्मानित गरिएको थियो । यस्तै, नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर बमबहादुर मिश्रले विकासन्युजले देशको विकासलाई उजागर गर्ने उल्लेखनीय र उदाहरणीय काम गरेको प्रशंसा गरे ।   उनले कार्यक्रममार्फत विकास प्रक्रियामा सक्रिय विभिन्न १० क्षेत्रका अब्बल व्यक्तित्वहरूलाई ‘विकास नायक’का रूपमा सम्मान गरिएको उल्लेख गर्दै यसले सम्मानित व्यक्तिहरूलाई थप हौसला र प्रेरणा प्रदान गर्ने बताए । डेपुटी गर्भनर मिश्रले पछिल्लो समय समाजमा नकारात्मक समाचारहरूको प्रभाव बढिरहेको सन्दर्भमा यस्तो सकारात्मक पहल अत्यन्तै महत्वपूर्ण भएको उल्लेख गरे ।  उनले भने, ‘नकारात्मकता बढी फैलिरहेको वर्तमान अवस्थामा यस किसिमका कार्यक्रमहरूले सकारात्मक ऊर्जा प्रवाह गर्छन् । सम्मानित नायकहरूलाई अझ सक्रिय र जिम्मेवार बन्न प्रेरित गर्ने मात्र होइन, समाजमा पनि आशा र प्रेरणाको सन्देश फैलाउँछन् ।’ यस्ता कार्यक्रमहरूले देश विकासमा योगदान पु¥याएका व्यक्तित्वहरूको भूमिकालाई उजागर गर्दै समग्र राष्ट्रिय विकास प्रक्रियामा महत्वपूर्ण टेवा पुग्ने उनको दाबी छ । यस्तै, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले देशमा सकारात्मक काम गर्ने राष्ट्रिय अर्थतन्त्रलाई सहयोग गर्ने, समृद्धिमा योगदान दिने र रोजगारी सिर्जना गर्ने व्यक्तिहरूलाई प्रशंसा र पुरस्कृत गर्ने चलनले मानिसहरूलाई थप उत्साहित गर्ने बताए ।  ज्ञवालीले भने, ‘अहिले हरेक कुरामा नकारात्मकता मात्र देखिरहेको बेला एउटा अग्रणी सञ्चारमाध्यमले असल काम गर्ने मानिसहरूलाई सराहना गर्नुपर्छ भनेर विकास नायक घोषणा गर्यो, यो अत्यन्त सराहनीय छ ।’  उनले विकास नायकको भूमिका आफ्नो हरेक क्षेत्रबाट विकासलाई नेतृत्व गर्न सक्ने अब्बल र अगाडि रहेर अरूलाई बाटो देखाउने हुनुपर्नेमा जोड दिए ।  नबिल बैंकका अध्यक्ष तथा सीबीएफएनका अध्यक्ष उपेन्द्र पौडेलले यो पहिलो कार्यक्रम भए पनि परिपूर्णताको स्तर राम्रो रहेको बताए ।  पौडेलले यसको निरन्तरताको अपेक्षा गर्दै यो सम्मानले थप जिम्मेवारी बढाएको र भोलि कसैले पनि किन यिनलाई मान्यता दिइयो त भन्ने वातावरण नहोस् भन्ने कामना गरे ।  वित्तीय सेवामार्फत आर्थिक विकासमा विशिष्ट योगदान गरेबापत नबिल बैंकलाई सम्मानित भएको थियो । नबिल बैंकले विगत चार दशकको अवधिमा वित्तीय समावेशीकरण, नवप्रवर्तन, डिजिटल बैंकिङका साथै प्राथमिक क्षेत्रमा दीर्घकालीन लगानीमार्फत देशको सामाजिक तथा आर्थिक विकासमा महत्वपूर्ण योगदान गरेको छ । यस्तै, नेपाली उद्योग परिसंघ (सीएनआइ) का पूर्वअध्यक्ष हरिभक्त शर्माले विकास टोलीले असाध्यै राम्रो र रचनात्मक कामको थालनी गरेको बताए । उनले भने, ‘असल काम गर्ने मान्छेहरूलाई यो निकै ठूलो प्रेरणा हो । यस्ता खालका गतिविधिहरू भइरहनुपर्छ ।’  उनले यस्ता कार्यक्रमको निरन्तरताले नेपालको विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।  अभिनेत्री सुरक्षा पन्तले कार्यक्रमलाई एकदम व्यवस्थित र राम्रो उद्देश्य लिएर बनेको बताइन् । उनले भनिन्, ‘आफ्नो क्षेत्रमा लगनशील, निष्ठावान, इमान्दार र पूर्ण रूपमा इमानदारीसाथ काम गर्नु नै सायद त्योभन्दा ठूलो योगदान अरू केही हुनै सक्दैन ।’  उनी कला तथा मनोरञ्जन क्षेत्रबाट देशको प्रतिष्ठा बढाए बापत विकास नायक, २०८२ बाट सम्मानित भएकी हुन् ।  यस्तै, पोल्ट्री व्यवसायी गुणचन्द्र विष्टले कार्यक्रमको उद्देश्य राम्रो भएको औंल्याए । उनले अवार्ड दिने चलन भए पनि त्यसको कदर र पछि कामको खोजी गर्ने चलन नरहेकोमा भने असन्तुष्टि जनाए ।  ‘अवार्ड दिनेले पनि सम्मानित व्यक्तिले के गरिरहेको छ भन्नेबारे बहस चलाइरहनुपर्थ्यो,’ उनले भने ।  विज्ञापन व्यवसायी शम्भु अधिकारीले विकासन्युजले आयोजना गरेको विकास नायकको प्रयास प्रशंसनीय र सराहनीय रहेको बताए ।  राज्यले नचिनेका विकास नायकहरू विकासन्युजले खोजेर चिनाएको दाबी गरे  । विकासका नायकहरूलाई सत्तमार्गसँगै अगाडि बढ्ने हौसला र उत्सुकता दिएको बताए ।  यस्तै, गोल्डस्टार सुजकी कार्यकारी निर्देशक विदुषी राणाले यस कार्यक्रमले समाजमा केही गरौं भन्नेहरूका लागि प्रेरणा जगाएको बताइन् । विकासन्युजले साँच्चिकै विकास नायकहरू सम्मानित गरेको उनको भनाइ छ ।  उनले भनिन्,‘ विकासन्युजले जुन व्यक्तिहरूलाई सम्मानित गरेको छ, ती व्यक्तिहरूले समाजलाई धेरै योगदान दिएका छन् । आगामी दिनहरूमा पनि हामीले यस्तै विकास नायकहरू चिन्न पाइयोस् ।’ टेक्सास इन्टरनेसल कलेजका बिजनेस डाइरेक्टर नारायण पोखरेलले देशमा खडेरी परेका बेला यो कार्यक्रमले आशा जगाएको बताए । विकासका नायक तथा विकास बहस देख्दा नयाँ आयाम देखाएको महसुस भएको दाबी उनको छ ।  उनले विकास नायकहरुले विभिन्न क्षेत्रहरूमा के योगदान पुर्याएको भन्दै प्रशंसा गरे । विकास नायक छनोट समितिका संयोजक कृष्णहरि बास्कोटाले मुलुकमा राम्रो काम गर्ने मानिस र संस्थाको कमी नभएको र उनीहरूका राम्रा कुराहरू प्रचारप्रसार गर्दा अरूलाई पनि प्रेरणा मिल्ने बताए ।  उनले भने, ‘डाक्टरले बिरामीको मन जित्ने, कलाकारले परिवर्तनकारी भनाइ पस्किने र व्यवसायीले उपभोक्ताको पक्षमा काम गर्ने भावना राख्नुपर्छ, ’ उनले भने ।  विकास नायकहरूले मुलुकलाई विश्वमै परिचित गराउने गरी योगदान गर्नुपर्ने बताउँदै कार्यक्रमलाई विशिष्टीकृत कार्यक्रममध्ये उत्कृष्टमध्ये उत्कृष्ट कार्यक्रमको संज्ञा दिए ।  उनले विकासन्युजको यो पहलले देशमा असल काम गर्ने व्यक्तिहरूलाई प्रोत्साहन दिने र विकासको गतिलाई तीव्रता दिने अपेक्षा गरिएको बताउँदै पारदर्शिता र निरन्तरतामा भने ध्यान दिनुपर्ने बताए ।    

महालक्ष्मी विकास बैंकको २४ औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । महालक्ष्मी विकास बैंकको २४ औं वार्षिक साधारण सभा बैंक  सोमबार (आज)  सम्पन्न भएको छ । सभामा २०८२ साल आषाढ मसान्तको वासलात तथा आर्थिक वर्ष २०८१/०८२ को नाफा नोक्सान हिसाव एवं सोही अवधिको नगद प्रवाह विवरण, नाफा/नोक्सान बाँँफाँड हिसाब, ईक्विटीमा भएको परिवर्तन लगायत वार्षिक आर्थिक विवरणसँग सम्बद्ध वित्तीय विवरणहरू छलफल गरी स्वीकृत भएका छन् ।  यसैगरी, सभामार्फत सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम १०.३७ प्रतिशत लाभाशं वितरण गर्ने प्रस्तावसमेत अनुमोदन भएको छ । यस अन्तर्गत आव २०८१/०८२ को वितरणयोग्य मुनाफा रकमबाट हाल कायम रहेको चुक्ता पुँजीको ५.३७ प्रतिशत नगद लाभांश (लाभांशमा लाग्ने कर प्रयोजनार्थ समेत) तथा ५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित भएको हो । अघिल्लो आर्थिक वर्षमा बैंकले ७ प्रतिशत लाभांश वितरण गरेको थियो ।  आव २०८०/८१ को तुलनामा आर्थिक वर्ष २०८१/८२ को अन्त्यमा बैंकका समग्र वित्तीय परिसूचकहरूमा सकरात्मक परिवर्तन देखिएको छ । आर्थिक वर्ष २०८०/८१ को अन्त्यमा आधार दर ९.३९ प्रतिशत रहेकोमा आज २०८१/८२ को अन्त्यमा ६.९४ प्रतिशत रहेको छ । साथै पुँजीकोष पर्याप्यता अनुपातमा उल्लेख्य सुधार भई १४.९३ प्रतिशत बाट वृद्धि भई १७.०६  प्रतिशत पुगेको छ । आव २०८१/८२ को अन्त्यमा बैंकको निक्षेप रु. ५६.२२ अर्ब रहेको छ भने कर्जा तथा सापटी रु.४७.२१ अर्ब रहेको छ ।  साथै यस बैंकको नियमावली बमोजिम संस्थापक समूह (क) बाट ३ जना र सर्वसाधारण समूह (ख) बाट ३ जना गरी जम्मा ६ जना सञ्चालक निर्वाचन गर्ने साधारण सभामा प्रस्ताव भए बमोजिम संस्थापक सेयरधनी समुह (क) बाट ३ जना क्रमशः राजेश उपाध्याय, सञ्जय गिरि र ग्रोइङ्ग प्रालिको तर्फबाट सागर मल्ल निर्वाचित भएका छन् भने सर्वसाधारण सेयरधनी समूह (ख) बाट ३ जना क्रमशः श्यामसुन्दर रुंगटा, राहुल अग्रवाल र शालिकराम अर्याल निर्वाचित भएका छन् । नवनिर्वाचित सञ्चालक समितिको आजै बसेको पहिलो बैठकबाट राजेश उपाध्यायलाई सञ्चालक समितिको अध्यक्षको रूपमा चयन गरेको छ । सभाका अध्यक्ष उपाध्यायले सेयरधनीहरूबाट प्राप्त सल्लाह सुझावलाई आत्मसाथ गर्दै बैंकले ग्राहकहरूको सन्तुष्टि एवं लगानीको उचित प्रतिफल प्रदान गर्न बैंकका क्रियाकलापहरूलाई थप परिमार्जन तथा विशिष्टीकरण गर्दै अझ बढी सक्षमताका साथ गुणस्तरीय वित्तीय सेवा प्रदान गर्न प्रतिवद्धतासमेत व्यक्त गरे ।

जेएफएलले थैबमा सञ्चालनमा ल्यायो ‘माटो’ को आठौं स्टोर, किसान र महिला उद्यमीलाई प्राथमिकता

काठमाडौं । जनता एग्रो एन्ड फरेस्ट्री लिमिटेड (जेएफएल) ले आफ्नो उपभोक्ता ब्रान्ड ‘माटो’ को आठौं स्टोर तथा गोदाम ललितपुरको थैबमा स्थापना गरेको छ ।  जेएफएलले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै किसानहरूका उत्पादनलाई प्लेटफर्म उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेको छ । १५ हजार वर्गमिटर क्षेत्रमा फैलिएको स्टोर करिब ५० लाख रुपैयाँमा सञ्चालनमा आएको हो । यसले प्रशोधन केन्द्रको रूपमा समेत कार्य गर्ने र त्यहाँ आधुनिक मेसिनरी तथा प्रणालीहरू जडान गरिएका जेएफएलले जनाएको छ ।  ‘माटोले रासायनिक कीटनाशक, मल तथा संरक्षक पदार्थको प्रयोग नगरी उत्पादन गरिएका स्थानीय वस्तुहरूको प्रवर्द्धन गर्दै आएको छ, जसले उपभोक्तालाई शुद्धता र ताजापनले चिनिएका उत्पादनहरू प्रदान गर्दछ,’ जेएफएलका अध्यक्ष पवनकुमार गोल्याणद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘महिला उद्यमीहरूलाई प्राथमिकता दिइने भएकाले समावेशी उद्यमशीलता र दीर्घकालीन दिगोपनलाई प्रोत्साहन गर्नेछ, यस प्लेटफर्ममार्फत महिला उद्यमीहरूलाई समेत खरिद प्रत्याभूति प्रदान गर्नेछ ।’ यस सुविधाले साना तथा मझौला उद्यमका लागि कार्यस्थल उपलब्ध गराउने भूमिकासमेत निर्वाह गर्ने जेएफलले जनाएको छ । जसको कारण सम्पूर्ण मूल्य श्रृंखलामा कार्यक्षमता, प्रभावकारिता, गुणस्तर र पहुँच अभिवृद्धि गने उसको भनाइ छ । जेएफएल नेपालको कृषि तथा वन क्षेत्रलाई रूपान्तरण र सशक्त बनाउने दीर्घकालीन प्रतिबद्धता बोकेको सार्वजनिक कम्पनी हो । राष्ट्रको हितलाई केन्द्रमा राखी दिगो विकास र समृद्धिका मूल्यहरूमा दृढ रूपमा आधारित रही कम्पनीले आफ्नो बलियो कृषि आधारमार्फत दीर्घकालीन सकारात्मक प्रभाव सिर्जना गर्दै आएको छ।  कम्पनीले उच्च मूल्यका कृषि उत्पादनहरू तथा जैविक कृषि अभ्यासमा आधारित पूर्वाधार विकासमा विशेष ध्यान दिँदै आएको विज्ञप्तिमा उल्लेख छ ।  ‘जेएफएलको मूल सिद्धान्त तथा सबैभन्दा पुरानो प्रतिबद्धता किसानहरूको उत्थान गर्नु र उनीहरूको उत्पादनलाई खरिद प्रत्याभूति सहित बजारसम्म पु¥याउनु हो,’ विज्ञप्तिमा भनिएको छ, ‘सशक्त आपूर्ति श्रृंखला निर्माणमार्फत कम्पनीले अन्तर्राष्ट्रिय विकास संस्थाहरू, विभिन्न निजी क्षेत्रका सरोकारवालाहरू तथा अनुसन्धान संस्थाहरूसँग सहकार्य गर्दै देशभरका किसानहरूलाई सशक्त बनाउने लक्ष्य लिएको छ ।’ कम्पनीका सम्पूर्ण लगानीहरू दिगो विकास लक्ष्यहरूमा सकारात्मक प्रभाव पार्ने दिशामा केन्द्रित रहेका जेएफलले जनाएको छ ।

कांग्रेसका पाँच प्रदेश सभापतिहरू भन्छन्– अब नियमित महाधिवेशनमै केन्द्रित हौं

काठमाडौं । नेपाली कांग्रेसका पाँच प्रदेश सभापतिहरूले विशेष महाधिवेशनको औचित्य समाप्त भएको निष्कर्ष निकाल्दै पार्टीका सम्पूर्ण नेता कार्यकर्तालाई नियमित महाधिवेशनको तयारीमा केन्द्रित हुन आग्रह गरेका छन् । उनीहरूले कांग्रेस केन्द्रीय कार्यसमितिले मंसिर १५ गतेको बैठकबाट पार्टीको १५औं महाधिवेशन पुस १६ गतेदेखि सुरु गरी पुस २६, २७ र २८ गते सम्पन्न गर्ने तालिका तय गरे पनि तालिका अनुसार काम हुन नसकेको दाबी गरेका छन् ।  पाँच सभापतिहरूले एक विज्ञप्ति जारी गदै भनेका छन्, ‘महाधिवेशन पूर्व अनिवार्य रूपमा सम्पन्न गर्नुपर्ने क्रियाशील सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरणको कार्य तोकिएको समयभित्र पूरा हुन नसकेपछि निर्धारित कार्यतालिकाअनुसार महाधिवेशन सम्पन्न गर्न नसकिएको हो ।’ विशेष महाधिवेशनको औचित्य सकिएको दाबी गर्दै ती सभापतिहरूले तोकिएकै समयमा महाधिवेशन गर्न सक्रिय रहन पार्टी सदस्यहरूलाई आग्रह गरेका छन् । उनीहरूले भनेका छन्, ‘अब एकताबद्ध हुँदै फागुन २१ को निर्वाचनमा दलका नेताहरूलाई जिताउन लागौं ।’

कांग्रेसमा विवाद चुलिँदा शेखरको सक्रियता, नीति र नेतृत्व महाधिवेशन छुट्टाछुट्टै गर्ने प्रस्तावमा छलफल

काठमाडौं । नेपाली कांग्रेसभित्र विशेष वा नियमित महाधिवेशन गर्ने भन्ने विषयमा विवाद चर्किँदै गएपछि वरिष्ठ नेता डा. शेखर कोइरालाले विवाद व्यवस्थापनमा सक्रियता बढाएका छन् । शनिबार बिहान आफू निकट नेताहरूसँग लामो छलफल गरेका कोइरालाले सोमबार पनि निरन्तर रूपमा नेताहरूसँग परामर्श गरेका हुन् । सोमबारको छलफलमा पार्टीका सहमहामन्त्री जीवन परियार र बद्री पाण्डे सहभागी थिए । साथै केन्द्रीय सदस्य डा. गोविन्दराज पोखरेल र काठमाडौंका नेता देवराज चालिसे पनि बैठकमा सहभागी रहेको एक नेताले जानकारी दिए । बैठकमा विशेष महाधिवेशन र नियमित महाधिवेशनका पक्षबीच बढ्दै गएको मनमुटाव कम गर्दै पार्टीलाई एकताबद्ध बनाउने उपायहरूबारे व्यापक छलफल भएको बताइएको छ । सहभागी एक नेताका अनुसार प्रस्तावको रूपमा नेपाली कांंग्रेसभित्र नीति महाधिवेशनको अवधारणा पनि अघि सारिएको छ । पार्टी विभाजनको जोखिम टार्न यसअघि केन्द्रीय समितिले तोकेको समयमै नीति महाधिवेशन गर्ने र त्यसपछि बैशाखमा नेतृत्व महाधिवेशन गर्ने विकल्पमा गम्भीर छलफल भएको स्रोतको भनाइ छ । उक्त प्रस्ताव केन्द्रीय सदस्य डा. गोविन्दराज पोखरेलले बैठकमा राखेका थिए, जसमा वरिष्ठ नेता डा. शेखर कोइराला पनि सकारात्मक देखिएको बताइएको छ । यस विषयमा डा. पोखरेलसँग बुझ्दा उनले भने, ‘हामी पार्टी एकता जोगाउन घनिभूत छलफलमा छौं । अहिले ठ्याक्कै कुन विषयमा के–के छलफल भयो भनेर भन्न हतार हुन्छ । तर यत्ति भन्न सकिन्छ डा. शेखर कोइरालाको नेतृत्वमा पार्टी विभाजन रोक्न अन्तिम समयसम्म छलफल जारी रहन्छ ।’ बैठकमा कार्यदल गठन गरेर सभापति शेरबहादुर देउवालाई प्रतिनिधिसभामा उम्मेदवार नबन्न अनुरोध गर्ने र प्रत्यक्षतर्फको टिकट बाँडफाँट गर्दा सभापति देउवा, वरिष्ठ नेता कोइराला र महामन्त्री गगन थापाको सहमतिमा गर्ने विषयमा पनि छलफल भएको छ । तिनै पक्षबीच सन्तुलन मिलाएर सहमति खोज्ने विषयमा पनि छलफल भएको थियो । यसै क्रममा सहमहामन्त्री बद्री पाण्डेले टिकट बाँड्ने अधिकार कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई दिएर अगाडि बढ्न सकिने प्रस्तावसमेत राखेका थिए । पाण्डेले पार्टी एकताका लागि सभापति देउवालाई आगामी निवचनमा त्याग गर्न आग्रह गर्न सकिने धारणा राखेका छन् । ‘यत्रो वर्ष कांग्रेसरूपी घरको ओतमा बसेका नेताले त्यही घर भत्किन लाग्दा घर जोगाउन देउवाज्यूले पक्कै त्याग गर्नुहुनेछ,’ पाण्डेले भने, ‘कांग्रेस जोगाउन देउवाज्यू त्याग गर्न तयार हुनुहोस भन्ने हाम्रो आग्रह हो ।’ त्यसैगरी, माघ ५ गते उम्मेदवारी दर्ता भएपछि माघ १० गते केन्द्रीय भेला आयोजना गरी एकताको सन्देशसहित उम्मेदवारहरूलाई मतदातामाझ पठाउने विकल्पमा पनि छलफल भएको स्रोतले जनाएको छ । पार्टीभित्र बढ्दो असमझदारीका बीच डा. शेखर कोइरालाको सक्रिय पहलले कांग्रेसलाई विभाजनबाट जोगाउने साझा आधार निर्माण हुने अपेक्षा नेताहरूले गरेको डा. पोखरेलले वताए । उनका अनुसार कांग्रेसको एकता जोगाउन अरू धेरै प्रस्ताव छन् । ती प्रस्ताव लिएर डा. कोइरालाले अव नियमित र विशेष महाधिवेशन पक्षधरहरूलाई भेट्ने तयारी गरिरहेका छन् ।

एनआईसी एशिया बैंकको स्वतन्त्र सञ्चालकमा रामकृष्ण खतिवडा नियुक्त

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको स्वतन्त्र सञ्चालक पदमा रामकृष्ण खतिवडा नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको बैठकले उनलाई आगामी चार वर्षका लागि उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो । बैंक तथा वित्तीय क्षेत्रमा लामो अनुभव संगालेका खतिवडा चार्टर्ड फाइनान्सियल एनालिष्ट (सीएफए) तथा चार्टर्ड इकोनोमिस्ट (सीएचई) हुन् । उनी पूर्वाधार विकास, परियोजना विकास तथा व्यवस्थापन, ऊर्जा नियमन, सार्वजनिक–निजी साझेदारी (पीपीपी) लगायतका क्षेत्रमा दुई दशकभन्दा बढी व्यावसायिक अनुभव भएका वित्त तथा व्यवस्थापन विज्ञका रूपमा परिचित छन् । खतिवडाले यसअघि नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत, विद्युत नियमन आयोगको सदस्य, एनआईबीएल एस क्यापिटल लिमिटेडको महाप्रबन्धक तथा कम्पनी सचिव, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) को वित्तीय विश्लेषक तथा सहायक महाप्रबन्धक, लगानी बोर्ड नेपाललगायत विभिन्न संस्थामा उच्च पदमा रहेर काम गरेका छन् । एनआईसी एशिया बैंकको स्वतन्त्र सञ्चालक पदमा नियुक्त भएको अवसरमा बैंक परिवारले खतिवडालाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै हार्दिक स्वागत तथा बधाई ज्ञापन गरेको छ ।

त्रिभुवन विमानस्थलबाट १ वर्षमा अन्तर्राष्ट्रिय यात्रा गर्नेको संख्या करिब ५० लाख, ५ वर्षमा ३४९ प्रतिशतले वृद्धि

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक वर्षको अवधिमा साढे ५० लाखभन्दा बढी अन्तर्राष्ट्रिय हवाई यात्रुले यात्रा गरेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणको तथ्यांकअनुसार सन् २०२५ मा त्रिभुवन विमानस्थलबाट ४९ लाख ६३ हजार ४६६ जना यात्रुले यात्रा गरेका छन् । सन् २०२५ मा त्रिभुवन विमानस्थलबाट ४९ लाख ६३ हजार ४६६ जना यात्रुले यात्रा गरेका छन् । यो तथ्यांक आगमन र प्रस्थान गर्ने दुवैको संख्या हो । क्यानका अनुसार सन् २०२५ मा सन् २०२० को तुलनामा ३४९ प्रतिशतले वृद्धि भएको छ । सन् २०२० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ११ लाख ५ हजार ८५८ जनाले यात्रा गरेका थिए । तथ्यांकअनुसार हरेक वर्ष त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यात्रा गर्ने यात्रुको संख्या बढ्दो क्रममा देखिन्छ । तथ्यांकअनुसार सन् २०२२ मा २२ लाख २३ हजार ३३३ यात्रुले विमानस्थलबाट यात्रा गरेका छन् । सन् २०२३ मा यो संख्या दोब्बरले बढेको छ । क्यानको तथ्यांकअनुसार सन् २०२३ मा ४३ लाख २९ हजार ४ सय जना यात्रुले आवतजावत भएका छन् ।  आन्तरिकतर्फ ४५ लाख पर्यटकले गरे यात्रा वर्षभरिमा त्रिभुवन विमानस्थलबाट ४५ लाख १९ हजार ३२२ जना आन्तरिक यात्रुले आवतजावत गरेका छन् । यो संख्या आव २०२० को तुलनामा २२१.४८ प्रतिशतले वृद्धि भएको छ । सन् २०२० मा १४ लाख ५ हजार ७७७ जनाले यात्रा गरेका छन् । सन् २०२२ मा त्रिभुवन विमानस्थलबाट सबैभन्दा धेरै यात्रुले आन्तरिकमार्फत यात्रा गरेका छन् । उक्त वर्षमा ४९ लाख १३ हजार ३५७ जना पर्यटकले यात्रा गरेका छन् । सन् २०२१ मा त्रिभुवन विमानस्थलबाट ३५ लाख ७६ हजार ९४२ जना आन्तरिक हवाई यात्रुले यात्रा गरेका छन् । सन् २०२३ मा ४३ लाख २५ हजार ५६ जना यात्रुले यात्रा गरेका छन् ।  कुन विमानस्थलबाट कति पर्यटकले यात्रा गरे ? क्यानको तथ्यांकअनुसार भैरहवा विमानस्थलबाट सन् २०२३ र २०२४ मा मात्रै अन्तर्राष्ट्रिय यात्रुले यात्रा गरेका छन् । तथ्यांकअनुसार उक्त विमानस्थलबाट सन् २०२३ मा २ हजार ३ सय १५ र सन् २०२४ मा ९ हजार २०२ जना यात्रुले आवतजावत गरेका छन् । आन्तरिकतर्फ सन् २०२४ मा ६ लाख १० हजार ४३७ जनाले यात्रा गरेका छन् । सन् २०२० मा उक्त विमानस्थलबाट १ लाख ८१ हजार ७०३ जना यात्रुले आवतजावत गरेका थिए । तथ्यांकअनुसार गौतमबुद्ध विमानस्थलबाट सन् २०२१ मा ५ लाख ५८ हजार र सन् २०२३ मा ५ लाख ४९ हजार यात्रुले यात्रा गरेका छन् । एक वर्षको अवधिमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट १० लाख १६ हजार, नेपालगञ्ज एयरपोर्टबाट ४ लाख ९९ हजार, विराटनगर एयरपोर्टबाट  ६ लाख ५९ हजार, चन्द्रगढी एयरपोर्टबाट ३ लाख ७२ हजार आन्तरिक यात्रुले यात्रा गरेका छन् । त्यस्तै, लुक्ला एयरपोर्टबाट २ लाख ४ हजार, भद्रपुर एयरपोर्टबाट २ लाख ३४ हजार, सुर्खेत एयरपोर्टबाट १ लाख ५९ हजार, जनकपुरबाट २ लाख ९५ हजार, सिमराबाट २ लाख ७३ हजार, धनगढी एयरपोर्टबाट २ लाख ८५ हजार यात्रुले यात्रा गरेका छन् । जोमसोम एयरपोर्टबाट २४ हजार, जुम्ला एयरपोर्टबाट ११ हजार, रामेछाप एयरपोर्टबाट ४६ हजार, सिमकोट एयरपोर्टबाट १६ हजार, फाप्लु एयरपोर्टबाट ११ सय, बाजुरा एयरपोर्टबाट ८८ हजार यात्रुले यात्रा गरेका छन् ।  त्यसैगरी, एक वर्षमा डोल्पाबाट ५ हजार, सल्लेबाट २ हजार, तुम्लिङटार एयरपोर्टबाट ३१ हजार, ताप्लेजुङबाट २ हजार, राराबाट ८ हजार, भोजपुरबाट ४ हजार, राजविराजबाट ३६ हजार, गुलीमीबाट १ हजार साँफेबजारबाट ७५१, दाङबाट ७७६, खानीडाँडाबाट ७५२, बझाङबाट २ हजार, इलामबाट ५३१ र थामखर्कबाट ६२ जना आन्तरिक यात्रुले यात्रा गरेका छन् ।  २०२५ मा पर्यटन क्षेत्रलाई फर्केर हेर्दा

युके पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।  पक्राउ पर्नेमा दाङ राप्ति गाउँपालिका–१ बस्ने प्युठान, प्युठान नगरपालिका–९ घर भएका ३९ वर्षीय इन्द्रबहादुर केसी, काठमाडौं स्वयम्भू बस्ने धादिङ थाक्रे गाउँपालिका–५ का ४० वर्षीय आइते तामाङ र काठमाडौं महानगरपालिका–१५ बस्ने ३४ वर्षीय विजय गुरूङ रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए । उनले भने, 'पक्राउ परेकामध्ये इन्द्र र आइतेले युके पठाइदिने भन्दै सात जना पीडितबाट १३ लाख रुपैयाँ र विजयले युके पठाइदिने भन्दै एक जना पीडितबाट पाँच लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा पक्राउ गरिएको हो ।' पक्राउ परेकामध्ये इन्द्र र आइतेलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं तथा विजयलाई वैदशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रवक्ता आचार्यले बताए ।