विकासन्युज

कमल थापाका भाञ्जा प्रबल थापा कांग्रेसबाट काठमाडौं–१ मा उम्मेदवार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता कमल थापाका भाञ्जा प्रबल थापा नेपाली कांग्रेसबाट काठमाडौं क्षेत्र नम्बर एकमा प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका छन् ।  कांग्रेसले उनलाई उक्त निर्वाचन क्षेत्रबाट आधिकारिक उम्मेदवारका रूपमा अघि सारेको हो । प्रबल थापा नेपाली कांग्रेसको प्रदेश क्षेत्रीय समितिका सचिव हुन् । पार्टी संगठनमा सक्रिय भूमिका निर्वाह गर्दै आएका थापालाई यसपटक केन्द्रीय नेतृत्वले काठमाडौं–१ को जिम्मेवारी दिएको हो । यस निर्वाचन क्षेत्रमा यसअघि पार्टीका वरिष्ठ नेता प्रकाशमान सिंह निरन्तर निर्वाचन लड्दै आएका थिए । तर यसपटक सिंहलाई टिकट नदिएर कांग्रेसले नयाँ अनुहारका रूपमा प्रबल थापालाई अघि सारेको हो ।

हिमालयन एभरेष्ट इन्स्योरेन्सको साधारणसभा सम्पन्न, नगद लाभांश पारित

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सको ३२ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा काठमाडौंको शंखमूलस्थित अनमोल व्याङक्वेटमा सम्पन्न भएको हो । सभाले गत आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्तावित हाल कायम चुक्ता पुँजी २ अर्ब ५० करोड १ लाख ५७ हजार ४०० रुपैयाँको ८ प्रतिशतले हुन आउने २० करोड १२ हजार ९९२ रुपैयाँ नगद लाभांश (करसहित) पारित गरेको छ । सोही सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन अनुमोदन गरेको छ । सभाले चालु आर्थिक वर्ष २०८२/८३ का लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव स्वीकृत गरेको छ ।  

पूर्व पर्यटनमन्त्री आलेद्वारा प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवारी दर्ता

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मंगलबार उम्मेदवारी दर्ता गराएका छन् । उनले कैलाली जिल्ला निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका हुन् । निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएपछि पूर्वमन्त्री आलेले सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै कैलाली जिल्लाको समग्र विकास आफ्नो प्रमुख प्राथमिकता हुने बताए । उनले विशेष गरी गेटामा रहेको धनगढी विमानस्थल, सेती प्रादेशिक अस्पताल लगायतका महत्वपूर्ण पूर्वाधार परियोजनाको विकास र स्तरोन्नतिमा आफू सक्रिय रूपमा लाग्ने प्रतिबद्धता व्यक्त गरे ।    

ट्रिप टर्बो र नबिल बैंकबीच साझेदारी, एनबैंक एपमा यात्रा बुकिङ सुविधा सुरु

काठमाडौं । नेपालको सबैभन्दा ठूलो यात्रा बजार ट्रिप टर्बोले बैंक नबिल बैंक लिमिटेडसँग साझेदारी गरेको छ । यस साझेदारीले नबिल बैंकको एनबैंक मोबाइल एपमार्फत प्रयोगकर्तालाई यात्रा बुकिङ अझ सहज र पहुँचयोग्य बनाउने लक्ष्य राखेको छ । सम्झौता नबिल बैंकका उपमुख्य कार्यकारी अधिकृत आदर्श बजगाईं र ट्रिप टर्बोका वृद्धि तथा बजार समन्वय प्रमुख बिमलराज पौडेलले औपचारिक रूपमा हस्ताक्षर गरेका छन् । यस साझेदारीअनुसार नबिल बैंकका ग्राहकहरूले अब एनबैंक एपमार्फत सिधै ट्रिप टर्बोले उपलब्ध गराउने बस टिकट, आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान, र यात्रा गतिविधिहरू बुक गर्न सक्नेछन् । यसले बैंकिङ र यात्रा सेवाहरूलाई एउटै स्थानमा जोड्दै सहज डिजिटल अनुभव प्रदान गर्नेछ । प्रयोगकर्ताले एनबैंक एपमा घर- थप - बजारभाग (मार्केटप्लेस) मा गएर ट्रिप टर्बोलाई चयन गर्न सक्नेछन् । ट्रिप टर्बो चयन गरेपछि उनीहरू ट्रिप टर्बोको बुकिङ प्रणालीमा पुग्नेछन् र सजिलै यात्रा सेवाहरू खोजी, चयन र बुक गर्न सक्नेछन् । भुक्तानी पनि एनबैंक मार्फत सुरक्षित रूपमा सम्पन्न गर्न सकिनेछ । यस एकीकरणले ग्राहकहरूलाई विश्वासिलो बैंकिङ प्रणाली भित्रै यात्रा सेवा बुक तथा भुक्तानी गर्न सक्षम बनाएको छ, जसले विभिन्न एपहरू बीच सर्छ/स्विच गर्नुपर्ने झन्झट हटाउँदै समग्र सुविधा बढाउनेछ । ट्रिप टर्बोका संस्थापक शिखर प्रसाईंले भने, 'ट्रिप टर्बोमा हाम्रो लक्ष्य प्रविधिको माध्यमबाट यात्रा सरल बनाउनु हो । नबिल बैंकसँगको साझेदारीले ग्राहकहरूलाई एनबैंक एपबाट सिधै यात्रा योजना र बुकिङ गर्न अझ सहज र सुरक्षित तरीका उपलब्ध गराउने हाम्रो दृष्टिलाई अगाडि बढाएको छ ।' नबिल बैंकका उपमुख्य कार्यकारी अधिकृत आदर्श बजगाईंले भने, 'हामी एनबैंक एपको बजारभागमा अर्को साझेदार थप्न पाउँदा खुसी छौं । यस साझेदारीले हाम्रा ग्राहकहरूलाई एनबैंक एपमार्फत यात्रा योजना बनाउन अझ सजिलो बनाउनेमा हामी विश्वस्त छौं । बैंकले एनबैंकलाई दैनिक आवश्यकताका लागि एकल प्लेटफर्म बनाउन निरन्तर विस्तार गर्दै आएको छ । यस साझेदारीले ग्राहकहरूलाई एपभित्रै यात्रा बुकिङ र भुक्तानी गर्न सहज बनाउँछ ।' यो एकीकरण अहिले सबै एनबैंक प्रयोगकर्ताका लागि सक्रिय भइसकेको छ, जसले ग्राहकहरूलाई एनबैंक मोबाइल एपमार्फतै ट्रिप टर्बोका सम्पूर्ण यात्रा सेवाहरू पत्ता लगाएर बुक गर्न सजिलो र सुविधाजनक तरिका प्रदान गर्दछ ।  

अभिनेत्री निषा अधिकारीले गरिन् काठमाडौं–५ बाट उम्मेदवारी दर्ता

काठमाडौं । गतिशील लोकतान्त्रिक पार्टीकी केन्द्रीय सदस्य निषा अधिकारीले काठमाडौं क्षेत्र नम्बर ५ बाट मनोनयन गराएकी छन् । अधिकारीले मंगलबार उम्मेदवारी दर्ता गराएकी हुन् । अधिकारी अभिनेत्री हुन् । उनले ३० भन्दा धेरै फिल्ममा अभिनय गरेकी छन् ।

काठमाडौं– ५ मा प्रदीप पौडेलले दिए उम्मेदवारी

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले काठमाडौं क्षेत्र नम्बर ५ मा उम्मेदवारी दर्ता गराएका छन्। पौडेलले मंगलबार उम्मेदवारी दर्ता गराएका हुन् । यसअगाडि २०७९ को प्रतिनिधिसभा निर्वाचनमा पौडेलले क्षेत्र नम्बर ५ बाटै विजयी भएका थिए ।  उनले एमालेका ईश्वर पोखरेललाई पराजित गरेका हुन् । पोखरेलले पनि क्षेत्र नम्बर ५ बाटै उम्मेदवारी दर्ता गराएका छन् ।  

पूर्वस्वास्थ्य र शिक्षामन्त्रीहरू चुनावी मैदानमा, क-कसले दिए उम्मेदवारी ?

काठमाडौं । आज प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि मनोनयन दर्ताको अन्तिम दिन । उम्मेदवारहरू आ–आफ्नो निर्वाचन क्षेत्रमा पुगेर मनोनयन दर्ता गराइरहेका छन् । फागुन २१ गते हुने निर्वाचनमा पूर्व स्वास्थ्यमन्त्रीहरू पनि दौडधुपमा लागेका छन् । स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका विभिन्न दलका नेताहरू यसपटक पनि चुनावी मैदानमा अग्रपङ्क्तिमा छन् । गगनकुमार थापा  पूर्वस्वास्थ्यमन्त्री एवं नेपाली कांग्रेसका सभापति गगनकुमार थापा यसपटक तराई झरेका छन् । काठमाडौं क्षेत्र नम्बर ४ बाट चुनाव जित्दै आएका उनले यसपटक निर्वाचन क्षेत्र बदलेका हुन् । पुख्र्यौली घर तराई मधेश भएका थापाले यसपटक सर्लाही ४ रोजेका छन् । थापा आज सर्लाही पुगेर मनोनयन दर्ता गर्दैछन् । विशेष महाधिवेशनबाट सभापति बनेका थापालाई आगामी प्रधानमन्त्रीका रूपमा चर्चा गरिँदै आएको छ ।  उपेन्द्र यादव जसपा नेपालका अध्यक्ष तथा पूर्वउपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव सप्तरी ३ बाट चुनाव लड्ने भएका छन् । यादवले आफ्नो पकड क्षेत्र मानिएका उम्मेदवारी दिने भएका हुन्। प्रदीप यादव  पूर्वस्वास्थ्यमन्त्री प्रदीप यादव यो पटक पर्सा १ बाट चुनाव लड्ने भएका छन् । जसपाबाट स्वास्थ्यमन्त्री बनेका यादव अहिले भने जसपा छाडेर नेकपा एमालेमा प्रवेश गरेका छन् । फागुन २१ गतेको निर्वाचनमा उनी एमालेबाट चुनावी मैदानमा उत्रिँदै छन् । प्रदीप पौडेल  नेपाली कांग्रेसका महामन्त्री एवं पूर्वस्वास्थ्यमन्त्री प्रदीप पौडेल काठमाडौं क्षेत्र नं ५ बाट लड्ने भएका छन् । यसअघि यही क्षेत्रबाट जितेका यादवले यो निवार्चनमा पनि यहीँ क्षेत्र रोजेका हुन् । पदम गिरी एमालेका नेता एवं पूर्वस्वास्थ्यमन्त्री पदम गिरी पर्वत १ बाट लड्ने भएका छन् । एमालेले टिकट दिएपछि उनले फागुन २१ गतेका लागि पुरानै क्षेत्र रोजेका छन् ।  शेरबहादुर तामाङ  एमालेबाटै चुनाव जितेर स्वास्थ्यमन्त्री बनेका शेरबहादुर तामाङ सिन्धुपाल्चोक २ बाट लड्ने भएका छन् ।  भानुभक्त ढकाल पूर्वस्वास्थ्यमन्त्री एवं एमाले नेता भानुभक्त ढकाल तेह्रथुमबाट लड्ने भएका छन् ।  कोरानाकालमा स्वास्थ्यमन्त्री बनेका ढकाल अघिल्लो चुनावमा मोरङ क्षेत्र नम्बर ३ बाट निर्वाचन लड्दा पराजित भएका थिए ।  मोरङ नफापेपछि ढकाल यो पटक आफ्नो गृहजिल्ला तेह्रथुमबाट चुनाव लड्ने भएका हुन् । पूर्वस्वास्थ्यमन्त्रीहरू धमाधम प्रतिस्पर्धामा गइरहेको बेला पूर्वशिक्षामन्त्रीको नाम भने खासै देखिँदैन । केही मन्त्रीको नाम चर्चामा आएपनि सुमना श्रेष्ठ, विद्या भट्टराई र रघुजी पन्त यो पटक चुनाव नलड्ने भएका हुन् ।  पूर्व शिक्षामन्त्रीहरूमा आजमात्रै राजीनामा दिएका शिक्षामन्त्री महावीर पुनको नाममा मात्र चुनावी प्रतिस्पर्धामा देखिएको हो ।  महावीर पुन मन्त्री पुन आजै राजीनामा दिएर म्याग्दीबाट स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव लड्ने भएका हुन् । पुनले आजै आफ्नो नाम मनोनयन गराइसकेका छन् । देवेन्द्र पौडेल  पूर्वशिक्षामन्त्री एवं नेपाल कम्युनिष्ट पाटीका नेता देवेन्द्र पौडेल पश्चिम नवलपरासीबाट निर्वाचन लड्ने भएका छन् । यसअघि बाग्लुङ २ बाट निर्वाचित भएका पौडेलले फागुन २१ गतेको निर्वाचनका लागि ठाउँ परिवर्तन गरेका हुन्।   शिशिर खनाल पूर्व शिक्षामन्त्री एवं रास्वपाका नेता शिशिर काठमाडौं क्षेत्र नम्बर ६ बाट चुनाव लड्ने भएका छन् । योभन्दा अगाडिको निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएका उनी फागुन २१ गतेको निर्वाचनका लागि पनि यही क्षेत्रबाट लड्ने भएका हुन् । यस अगाडिका शिक्षामन्त्री अशोक राई, सुमना श्रेष्ठ, विद्या भट्टराई, रघुजी पन्तले यो पटक चुनाव नलड्ने भएका हुन् ।   

नेक्सजेन म्यानेजमेन्टको साधारणसभा सम्पन्न, पूँजी ६२ करोड पुर्‍याउने प्रस्ताव पारित

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्स लिमिटेडले साधारण सभा सम्पन्न गरेको छ । सभाले कम्पनीको जारी तथा चुक्ता पूँजी ६२ करोड ५० लाख रुपैयाँ पुर्‍याउने प्रस्ताव पारित गरेको हाे । यसअघि कम्पनीको जारी तथा चुक्ता पूँजी ५० करोड रुपैयाँ थियो । सभाले संस्थापक र सर्वसाधरणको सेयर स्वामित्व ८०ः२० हुने गरी साविकको व्यवस्थामा संशोधन गर्ने प्रस्ताव पनि पारित गरेको छ । सोमबार काठमाडौंको आनन्दभूमि इभेन्ट्समा सम्पन्न सभाको अध्यक्षता कम्पनीका अध्यक्ष देवेन्द्र प्रताप शाहले गरेका थिए । नेक्सजेनले लगानी कम्पनीको रुपमा निकट भविष्यमा सेयर सर्वसाधरणमा जारी गर्ने तयारी गर्दै नेपाल धितोपत्र बोर्ड (सेबोन)का आवश्यक शर्तहरु पूरा गर्ने प्रक्रियामा लागेको छ । कम्पनीले तीन वर्षभन्दा बढी समयदेखि सञ्चालन गर्दै आएको, तीन वर्ष लगातार खुद मुनाफामा रहेको र कम्पनीको नेटवर्थ अंकित मूल्यभन्दा बढी रहेको दावी गर्दै, विशेष साधारण सभाबाट पूँजी वृद्धिको प्रस्ताव सर्वसम्मतिले पारित भएको कम्पनीले जनाएको छ । सभाले प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने तथा सर्वसाधरणलाई सेयर जारी गर्ने शिलशिलामा आवश्यक तयारी र निर्णयका लागि सञ्चालक समितिलाई अधिकार दिने प्रस्ताव पनि सर्वसम्मतिले पारित गरेको छ । सभामा एक सयभन्दा बढी सेयरधनीको उपस्थिति रहेको थियो । प्रबन्ध संचालक रमेश कुमार भट्टराईले स्वागत मन्तव्य राखेका थिए भने अध्यक्ष देवेन्द्र प्रताप शाहले प्रतिवेदन पेश गरेका थिए । सेयरधनीहरुको जिज्ञासाको उत्तर सञ्चालक विजय बहादुर शाहले दिएका थिए र कार्यक्रमको समापनमा सञ्चालक अजय कुमार मिश्रले धन्यवाद ज्ञापन गरेका थिए ।