जलन उपचारका लागि वीर र कीर्तिपुर अस्पतालको क्षमता विस्तार गरिने
काठमाडौं । सरकारले जलन (बर्न) सम्बन्धी उपचार सेवालाई सुदृढ बनाउन देशका प्रमुख दुई अस्पतालको क्षमता विकास गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमार्फत सरकारले यस क्षेत्रलाई प्राथमिकतामा राखेको हो । अर्थमन्त्री स्वर्णीम वाग्लेले शुक्रबार संयुक्त सदनमा बजेट प्रस्तुत गर्दै जलन उपचारका लागि वीर र कीर्तिपुरको पूर्वाधार तथा सेवा क्षमता विस्तार गर्ने लक्ष्य राखिएको जानकारी दिएका हुन् । सरकारले जलन उपचारलाई आपतकालीन र विशिष्टीकृत स्वास्थ्य सेवाको महत्वपूर्ण हिस्सा मान्दै आधुनिक उपकरण, विशेषज्ञ जनशक्ति र उपचार प्रणाली सुदृढ बनाउने योजना अघि सारेको छ । यस योजनाले जलनका बिरामीलाई देशभित्रै गुणस्तरीय उपचार उपलब्ध गराउने र रेफरल प्रणालीमा निर्भरता घटाउने अपेक्षा गरिएको छ ।
सरकारी कर्मचारीको तलब २१ प्रतिशतले बढ्याे
काठमाडौं । सरकारले सरकारी कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि गर्ने घोषणा गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै कर्मचारीको जीवनस्तर सुधार र सेवा प्रवाहलाई प्रभावकारी बनाउन तलब संरचना पुनरावलोकन गरिएको बताएका छन् । बजेट अनुसार कार्यसम्पादनका आधारमा मासिक १० प्रतिशत अतिरिक्त भत्ता दिने व्यवस्था गरिएको छ। साथै, खाइपाइ आएको तलब संरचनामा समेत २१ प्रतिशतसम्म वृद्धि हुने गरी नयाँ व्यवस्था गरिएको छ। नयाँ तलब संरचना अनुसार कर्मचारीहरूको मासिक तलब ४० हजारदेखि १ लाख रुपैयाँसम्म कायम हुने सरकारको घोषणा छ । सरकारले कर्मचारीको मनोबल वृद्धि गर्दै सार्वजनिक सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउन तलब तथा भत्ता प्रणालीमा सुधार गरिएको जनाएको छ। अर्थमन्त्री वाग्लेले दक्ष जनशक्ति आकर्षित गर्न र सरकारी सेवा प्रतिस्पर्धी बनाउन यो कदम महत्वपूर्ण हुने बताए ।
नर्सहरूको रात्रिकालीन भत्ता दोब्बर
काठमाडौं । सरकारले नर्सिङ कर्मचारीको रात्रि ड्युटीको भत्ता दोब्बर बनाएको छ । शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले नर्सिङ कर्मचारीको रात्रि ड्युटी भत्ता बढाउने घोषणा गरेका हुन् । यस्तै, स्वास्थ्य स्वयंसेविकाको यातायात खर्चमा पनि ५० प्रतिशत वृद्धि गरिएको अर्थमन्त्री वाग्लेले जानकारी दिए ।
अब सवारी साधनमा दुर्घटना रोक्ने डिभाइस जडान अनिवार्य गरिने
काठमाडौं । सरकारले सवारी दुर्घटना न्यूनीकरण गर्न सबै सार्वजनिक तथा व्यावसायिक गाडीहरूमा दुर्घटना रोक्ने डिभाइस जडान अनिवार्य गर्ने घोषणा गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै सडक सुरक्षा सुधार र दुर्घटनाबाट हुने मानवीय क्षति घटाउन यस्तो व्यवस्था लागू गरिने बताएका छन् । सरकारका अनुसार नयाँ नीति अनुसार बस, ट्रक, माइक्रोबस तथा अन्य व्यावसायिक सवारी साधनमा गति नियन्त्रण, आपतकालीन चेतावनी प्रणाली र अन्य सुरक्षा प्रविधि जडान गर्नुपर्नेछ। यस कदमले चालकको लापरबाही, अत्यधिक गति र प्राविधिक कमजोरीका कारण हुने दुर्घटना घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
पेट्रोल पम्पमा इभी चार्जिङ जडानको व्यवस्था मिलाउने
काठमाडौं । सरकारले देशभरका पेट्रोल पम्पमा इभी चार्जिङ जडानको व्यवस्था मिलाउने भएको छ । शुक्रबार प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/०८४ लागि बजेट सार्वजनिक गर्दै पेट्रोल पम्पमा इभी चार्जिङको व्यवस्था मिलाउने घोषणा गरेका हुन् ।
३३६ आधारभूत अस्पताल आगामी तीन वर्षभित्र सम्पन्न गर्ने सरकारको लक्ष्य
काठमाडौं । सरकारले ३३६ आधारभूत अस्पताल आगामी तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिएको छ । आगामी आर्थिक वर्षको बजेट विनियोजन गर्दै अर्थमन्त्री वाग्लेले बजेटमार्फत देशभर निर्माणाधीन ३ सय ३६ आधारभूत अस्पताल आगामी तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिएको हो । यस्तै, निर्माण सुरु नभएका अस्पतालहरूको वैज्ञानिक नक्सांकन तथा पूर्वतयारी कार्य अघि बढाइने र त्यसका लागि ५ अर्ब ९० करोड रुपैयाँ छुट्याइएको छ भने दूरदराजका क्षेत्रमा स्वास्थ्य पहुँच विस्तार गर्न कर्णाली र सुदूरपश्चिम प्रदेशमा टेलिमेडिसिन सेवा विस्तार गरिने भएको छ। साथै संघीय स्तरमा विशिष्टीकृत अस्पतालअन्तर्गत जलन उपचार केन्द्र स्थापना गरिने घोषणा गरिएको छ।
कृषि बीमा अनुदानका लागि २ अर्ब १९ करोड बजेट विनियोजन
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा कृषि बीमा अनुदानका लागि २ अर्ब १९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमा कृषि बीमा अनुदानका लागि उक्त रकम छुट्याएको जानकारी दिए ।
उद्योग मन्त्रालयका लागि ८ अर्ब ३१ करोड विनियोजन
काठमाडौं । सरकारले उद्योग तथा वाणिज्य मन्त्रालयका लागि आर्थिक वर्ष २०८३/८४ मा ८ अर्ब ३१ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसदमा बजेट प्रस्तुत गर्दै औद्योगिक विकास, व्यापार विस्तार र निर्यात प्रवर्द्धनलाई प्राथमिकतामा राखेर उक्त बजेट विनियोजन गरिएको बताए । विनियोजित बजेट औद्योगिक पूर्वाधार विकास, लगानीमैत्री वातावरण निर्माण, लघु तथा मझौला उद्योग प्रवर्द्धन तथा स्वदेशी उत्पादनको प्रतिस्पर्धात्मक क्षमता बढाउने कार्यक्रममा खर्च गरिने बताइएको छ। सरकारले आन्तरिक उत्पादन वृद्धि गर्दै आयात प्रतिस्थापन र निर्यात विस्तार गर्ने लक्ष्य लिएको छ। साथै, औद्योगिक क्षेत्रलाई रोजगारी सिर्जनाको प्रमुख आधारका रूपमा विकास गर्ने नीति पनि अघि सारिएको छ। अर्थमन्त्री वाग्लेले निजी क्षेत्रसँगको सहकार्यलाई मजबुत बनाउँदै उद्योग व्यवसाय विस्तारका लागि आवश्यक नीतिगत सुधार गरिने जानकारी दिए।